नेपाली सेनाको बेकम्बा वा बेचल्तीका नियन्त्रित सामान मिन्हा र रद्दी गर्ने नियमहरू, २०२६
नेपाल राजपत्रमा प्रकाशित मिति २०२६।०८।९
संशोधन सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० २०७०।०१।३०
सैनिक ऐन, २०१६ को दफा १६५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “नेपाली सेनाको बेकम्बा वा बेचल्तीका नियन्त्रित सामान मिन्हा र रद्दी गर्ने नियमहरू, २०२६” रहेको छ। (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमाः– (क) “नियन्त्रित सामान (कण्ट्रोल स्टोर)” भन्नाले नेपाली सेनाको हात हतियार, खर खजाना र वलाधिकृत विभागले समय समयमा नियन्त्रित सामान भनी तोकिदिएको सामान सम्झनु पर्छ।
३. समितिको गठनः (१) नियन्त्रित सामानहरू बेकम्बा वा बेचल्ती हुन गएमा सो सामानहरू र तत्सम्बन्धित सबै विवरणहरू जाँचबुझ गरी आफ्नो सिफारिस पेश गर्न देहायमा लेखिए बमोजिमका समितिहरू रहनेछन्। (क) वाहिनीको लागि (अ) वाहिनी पतिले खटाएको अधिकृत एक - सदस्य (आ) नजिकको गणका गुल्मबाट वलाधिकृत विभागले खटाएको प्रतिनिधि एक - सदस्य
(इ) सम्बन्धित नियन्त्रित सामान सम्बन्धी विशेषज्ञ - सदस्य
(ख) गण र सो सरहको फर्मेशनको लागि: (अ) नजिकको गण वा फर्मेशनबाट अधिकृत विभागले खटाएको अधिकृत एक - सदस्य (आ) सम्बन्धित गण वा गुल्म वा फर्मेशनको पतिले खटाएको अधिकृत एक - सदस्य (इ) सम्बन्धित नियन्त्रित सामान सम्बन्धी विशेषज्ञ एक - सदस्य
(ग) गुल्म र सो सरहका फर्मेशनका लागि: (अ) सम्बन्धित विभाग वा अड्डाले खटाएको अधिकृत एक - सदस्य (आ) सम्बन्धित गुल्म मुख्य अधिकृतद्वारा मनोनीत प्रतिनिधि एक (पाएसम्म अधिकृत) - सदस्य (इ) सम्बन्धित नियन्त्रित सामान विशेषज्ञ एक - सदस्य
(घ) डिपोको लागि: (अ) बलाधिकृत विभाग (व्य.यु.नि.) ले खटाएको अधिकृत एक - सदस्य (आ) सम्भार रक्षी विभागले खटाएको अधिकृत एक - सदस्य (इ) नियन्त्रित सामान सम्बन्धी विशेषज्ञ एक - सदस्य
(२) समितिहरूको अध्यक्ष समितिको सदस्यहरूमध्ये सबैभन्दा वरिष्ठ व्यक्ति हुनेछ।
४. बैठक बस्ने समय र बैठक बोलाउने अभिभारा: (१) समितिहरूको बैठक वर्षमा एक पटक बस्नेछ।
(२) बैठक बोलाउने अभिभारा डिपोको हकमा डिपो कमाण्डर र अरूको हकमा सम्बन्धित फर्मेशन गण गुल्म वाहिनीका पतिको हुनेछ।
५. नियन्त्रित सामान जाँचाउने ढाँचाः (१) बेकम्बा वा बेचल्ती नियन्त्रित सामानहरू जाँचाउने वाहिनी, गण, गुल्म, फर्मेसन, डिपोहरूले अनुसूची बमोजिमको फाराममा सामानहरूको विवरण भरी सम्बन्धित कागजहरू समेत संलग्न राखी सम्बन्धित समिति समक्ष पेश गर्नुपर्छ।
(२) डिपोको हकमा उप–नियम (१) मा उल्लेखित विवरणको अतिरिक्त स्टोर वा ग्रुप इञ्चार्जको प्रतिवेदन समेत सामेल गर्नुपर्छ।
६. समितिको अधिकार तथा कर्तव्यः (१) समितिलाई नियम ५ को उप–नियम (१) अनुसार पेश हुन आएको विवरण तथा कागजात जाँचबुझको सन्दर्भमा देहाय बमोजिमको अधिकार तथा कर्तव्य हुनेछः–
(क) पेश हुन आएका विवरण तथा कागजातबाट निश्चित नबुझे अरू कागजात पेश गराउनु र अन्य आवश्यक कुरा सोधपूछ गर्ने।
(ख) विवरण तथा कागजात अनुसारको नियन्त्रित सामान एक–एक गन्ती गरी हेर्ने वा जाँच्ने।
(ग) चाहिएको कागजात पेश नगरेको वा खुलाउनु पर्ने कुरा नखुलाएकोमा त्यसको कारण लेखाई लिने र कारण मनासिब भए जाँच्ने र कारण मनासिब नभए सिफारिसमा सोही कुरा उल्लेख गर्ने।
(घ) नियन्त्रित सामान जाँच्दा कसैको गफलत वा लापरवाहीबाट बेकम्बा ठहरिन आएमा जसको गफलत वा लापरवाहीबाट भएको हो सो व्यक्तिको नाम उल्लेख गरी निजसँग त्यस्तो नोक्सानी सामानको मोल असूल गर्ने वा अरू कारबाही गर्ने हो सो समेत आफ्नो रायसार्ह सिफारिस पेश गर्ने।
(ङ) जाँच गरी सकेपछि बेकम्बा ठहरिएका नियन्त्रित सामान कहिले नमेटिने गरी रद्दी भनी चिन्ह लगाई दिने।
(च) जाँचाउन ल्याउन नसकिने नियन्त्रित सामान भए त्यस्तो सामान रहेको ठाउँमा गै जाँच्ने।
(छ) रद्दी ठहरिएका नियन्त्रित सामान नेपाल सरकारको कुनै अडडा खाना वा अन्य संस्थालाई काम लाग्ने देखिए त्यस्ता सामानको मोल लिई वा नलिई (मोल लिने भए त्यसको अंक कायम गरी) दिन सिफारिस गर्ने।
(ज) नियन्त्रित सामान जाँच्दा धुलाउनु वा सडाउनु पर्ने भए सो कुरा र सो सामान प्रयोगमा ल्याउन सकिने देखिएमा कहाँबाट कुन तरीकाले मर्मत गराउँदा किफायत पर्छ सो समेत खुलाई सिफारिस गर्ने।
(झ) विवरण बमोजिमको नियन्त्रित सामान जाँच्दा मनासिब कारणले कम हुन आएको देखिए कम भए जितनीको मिनाहाको लागि सिफारिस गर्ने।
(२) उप–नियम (१) बमोजिमको काम समाप्त भएपछि समितिले आफ्नो ठहर सहित रीतपूर्वकको सिफारिस सम्बन्धित तह मार्फत वलाधिकृत विभागमा पठाउनु पर्छ।
(३) समितिले आफ्नो कार्यविधि भित्रको कुनै काम कारबाहीको सम्बन्धमा सुधार ल्याउन आवश्यक देखेमा त्यसको सुझाव दिनु पनि समितिको कर्तव्य हुनेछ।
७. वलाधिकृत विभागको अधिकारः नियम ६ को उप–नियम (२) र (३) बमोजिम प्राप्त सिफारिस वा सुझावमा कुनै कैफियत नदेखे आवश्यक निकासा दिने अधिकार वलाधिकृत विभागलाई हुनेछ।
८. रद्दी ठहरिएको नियन्त्रित सामानको पूनतः समितिलेको सिफारिसमा वलाधिकृत विभागबाट निकासा प्राप्त भएपछि सम्बन्धित वाहिनी, गण, गुल्म, डिपोले, मर्मत गर्नु पर्ने बाहेक अरू रद्दी ठहरिएका नियन्त्रित सामानको आफ्नो दरबन्दी अनुसार पूनतः गर्नु पर्छ।
९. धुलाउने वा सडाउने व्यवस्थाः समितिको सिफारिसमा वलाधिकृत विभागबाट नियन्त्रित सामान धुलाउन वा सडाउन निकासा भएमा त्यस्तो सामान वाहिनी, गण, गुल्म, वा फर्मेसनको भए सम्बन्धित वाहिनी पति वा विभागीय प्रमुख वा निजले खटाएको अधिकृतको रोहवरमा र डिपोको हकमा वलाधिकृत विभागले खटाएको अधिकृतको रोहवरमा वलाधिकृत विभागले तोकिदिएको तरीका अनुसार धुलाउन वा सडाउन पर्छ।
१०. लिलाम गर्ने व्यवस्थाः (१) रद्दी ठहरिएको नियन्त्रित सामान लिलाम बिक्री गर्नु पर्दा समितिको सिफारिसमा वलाधिकृत विभागबाट निकास भएपछि बहिनी, गण, गुल्म फर्मेशन वा डिपोले देहायको कुराहरू खुलाई स्थानीय पत्र पत्रिका भएको ठाउँमा स्थानीय पत्र पत्रिका समेत र पत्रपत्रिका नभएको ठाउँमा "जिल्ला प्रशासन कार्यालय, माल अड्डा, भन्सार अड्डा वा नजिकको सरकारी अड्डा र "गाउँ विकास समिति" वा नगरपालिकामा सबैले देख्ने ठाउँमा सूचना टाँसी प्रचार गर्नु पर्छ।
(क) नियन्त्रित सामानको विवरण, (ख) बढाबढ हुने स्थान, (ग) लिलाम हुने मिति, (घ) अन्य आवश्यक कुराहरू।
(२) उप–नियम (१) बमोजिम लिलाम गर्दा नजिकको सरकारी अड्डा वा "गाउँ विकास समिति" वा नगरपालिकालाई साक्षी राखी लिलाम बढाबढ गर्नु पर्छ।
(३) उप–नियम (१) बमोजिम सूचना प्रचार गर्दा लिलाम हुन नसकेमा पुनः सूचना प्रचार गर्नु पर्छ।
(४) उप–नियम (३) बमोजिम पुनः सूचना प्रचार गर्दा पनि लिलाम हुन नसकेमा वा लिलाम बढाबढ गर्दा उचित मोल प्राप्त हुन नआएकोमा सो लिलाम रोक्का गरी सम्बन्धित लिलाम गर्ने अधिकारीले वलाधिकृत विभागमा निकासको लागि पेस गरी निकास भै आए बमोजिम गर्नु पर्छ।
११. बचाउः यी नियमहरूमा लेखिएका जति कुरामा यी नियमहरू बमोजिम र अरूमा प्रचलित कानुन बमोजिम हुनेछ।
~ सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा संशोधित। ¤ हाल गाउँपालिका कायम भएको।
टिप्पणी:– १. सैनिक (तेस्रो संशोधन) ऐन, २०४० द्वारा “शाही सेना” को सट्टा “शाही नेपाली सेना” राखी रूपान्तर गरिएको। २. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” राखी रूपान्तर गरिएको। ३. सैनिक ऐन, २०६३ द्वारा “शाही नेपाली सेना” को सट्टा “नेपाली सेना” राखी रूपान्तर गरिएको।
बेकम्मा वा बेचल्ती नियन्त्रित सामान बारे भर्ने फाराम
(नियम ५ सँग सम्बन्धित)
शा.से.फा.नं.— पहिलो समिति बसेको मिति:— नाम: हाल समिति बसेको मिति:—
पेश गर्ने अधिकृतको नाम:— दर्जा:— ठेगाना:—
समितिको अध्यक्ष र सदस्यको नामावली अध्यक्ष: सदस्य: सदस्य:
मिति:— मिति: