नेपाली सैनिक अल्पसेवा नियमावली, २०४१
नेपाल राजपत्रमा प्रकाशित मिति २०४१।०९।२४
संशोधन सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० २०७०।०१।३०
सैनिक ऐन, २०१६ को दफा १६५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “नेपाली सैनिक अल्पसेवा नियमावली, २०४१” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “प्रवर समिति” भन्नाले सैनिक प्राविधिक सेवा नियमहरू, २०१९ को नियम ४ बमोजिम गठन हुने प्रवर समिति सम्झनु पर्छ। (ख) “प्राविधिक पद” भन्नाले नेपाली सेनाको प्राविधिक उप-सेनानी र प्राविधिक सह-सेनानीको पद सम्झनु पर्छ। (ग) “बेसिक तालीम” भन्नाले “जङ्गी अड्डाबाट बेसिक तालीम भनी निर्धारण गरेको तालीमलाई सम्झनु पर्छ।
३. नियुक्तिः (१) प्रवर समितिले सैनिक प्राविधिक सेवा नियमहरू, २०१९ मा तोकिएका योग्यता भएका व्यक्तिमध्येबाट छनौट गरी प्राविधिक उप-सेनानीमा नियुक्तिको लागि सिफारिस गर्नेछ। (२) उप-नियम (१) बमोजिम सिफारिस गरिएको उम्मेदवारलाई नेपाल सरकारले नियुक्ति दिनेछ।
४. सेवा अवधि: अल्पसेवाको अवधि पाँच वर्षको हुनेछ।
५. स्थायी सेवामा नियुक्ति: अल्पसेवामा नियुक्त भएको व्यक्ति प्रवर समितिको सिफारिसमा नेपाली सेनाको रिक्त प्राविधिक पदमा स्थायी नियुक्त हुन सक्नेछ।
६. बढुवा: अल्पसेवाको प्राविधिक उप–सेनानीमा दुई वर्षको सेवा अवधि पूरा गरी सकेका र बेसिक तालीम प्राप्त गरेका व्यक्तिलाई अल्पसेवाको प्राविधिक सह–सेनानीमा बढुवा गर्न सकिनेछ।
७. स्थायी नियुक्ति भएमा अल्पसेवाको अवधि गणना गरिने: नियम ५ बमोजिम स्थायी नियुक्त भएमा अल्पसेवामा रही काम गरेको पूरै अवधि स्थायी सरह गणना गरिनेछ।
८. सुहिलियत: अल्पसेवामा काम गर्ने व्यक्तिले नेपाली सेनाले पाउने सबै सुहिलियत र सुविधा पाउनेछ।
९. बचाउ: यस नियमावलीमा लेखिएको कुरा यसै नियमावली बमोजिम र अन्य कुरा सैनिक सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।
द्रष्टव्य:– १. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरु: “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”। २. सैनिक ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरु: “शाही नेपाली सेना” को सट्टा “नेपाली सेना”। ३. सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा नियमहरुको ठाउँ ठाउँमा रहेको “शाही” भन्ने शब्द हतिएको।