पारस्परिक कानूनी सहायता नियमावली, २०७९
नेपाल राजपत्रमा प्रकाशित मिति २०७९।१०।०९
पारस्परिक कानूनी सहायता ऐन, २०७० को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “पारस्परिक कानूनी सहायता नियमावली, २०७९” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,– (क) "ऐन" भन्नाले पारस्परिक कानूनी सहायता ऐन, २०७० सम्झनु पर्छ। (ख) "अनुसन्धान अधिकारी" भन्नाले प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान र अभियोजन गर्न अधिकारप्राप्त अधिकारी सम्झनु पर्छ। (ग) "मन्त्रालय" भन्नाले नेपाल सरकारको परराष्ट्र मन्त्रालय सम्झनु पर्छ। (घ) "समिति" भन्नाले नियम ७ बमोजिमको समन्वय समिति सम्झनु पर्छ।
३. विदेशी राज्यबाट कानूनी सहायता माग गर्ने प्रक्रिया: (१) अनुसन्धान अधिकारीले कुनै कसूरको अनुसन्धान वा अभियोजनमा सहयोग पुग्ने ऐनको दफा ५ मा उल्लिखित कुनै विषयमा कुनै विदेशी राज्यसँग पारस्परिक कानूनी सहायता माग गर्नु पर्ने भएमा ऐनको दफा १४ मा उल्लिखित विवरण खुलाई अनुसूची–१ बमोजिमको ढाँचामा केन्द्रीय अधिकारी समक्ष अनुरोध गर्नु पर्नेछ। (२) कुनै अदालतले न्यायिक कारबाहीको सिलसिलामा ऐनको दफा ५ मा उल्लिखित कुनै विषयमा विदेशी राज्यसँग पारस्परिक कानूनी सहायता माग गर्ने आदेश गरेमा सम्बन्धित अदालतले ऐनको दफा १४ मा उल्लिखित विवरण खुलाई अनुसूची–२ बमोजिमको ढाँचामा केन्द्रीय अधिकारी समक्ष अनुरोध गर्नु पर्नेछ। (३) उपनियम (१) वा (२) बमोजिम अनुरोध प्राप्त भएमा केन्द्रीय अधिकारीले ऐनको दफा १४ र १५ मा उल्लिखित विवरण खुलाई अनुसूची-३ बमोजिमको ढाँचामा कुटनैतिक माध्यम मार्फत सम्बन्धित विदेशी राज्य समक्ष अनुरोध गर्नु पर्नेछ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी राज्यले पारस्परिक कानूनी सहायता माग गर्दा अनुसूची-३ मा उल्लेख भए भन्दा फरक ढाँचा अपनाएको वा संलग्न गर्नु पर्ने विवरणको सम्बन्धमा अन्य कुनै व्यवस्था गरेको रहेछ भने केन्द्रीय अधिकारीले सोही बमोजिमको ढाँचामा सोही बमोजिमको विवरण संलग्न गरी पारस्परिक कानूनी सहायता माग गर्न सक्नेछ।
४. विदेशी राज्यलाई पारस्परिकताको आधारमा कानूनी सहायता उपलब्ध गराउने प्रक्रिया: (१) पारस्परिक कानूनी सहायता आदान प्रदान गर्ने सम्बन्धमा नेपालसँग द्विपक्षीय सन्धि नभएको कुनै विदेशी राज्यले ऐनको दफा ३ को उपदफा (२) बमोजिम कुटनैतिक माध्यम मार्फत नेपाल सरकार समक्ष अनुरोध गरेमा मन्त्रालयले सो सम्बन्धमा प्रारम्भिक अध्ययन गर्नेछ। (२) उपनियम (१) बमोजिमको अध्ययन त्यस्तो अनुरोध प्राप्त भएको मितिले बढीमा पन्ध्र दिनभित्र गरिसक्नु पर्नेछ। (३) उपनियम (१) बमोजिम अध्ययन गर्दा त्यस्तो विदेशी राज्य वा सो राज्यको कानून बमोजिम अधिकार प्राप्त निकायले भविष्यमा त्यस्तै प्रकृतिको न्यायिक कारबाहीमा नेपालबाट पारस्परिक कानूनी सहायताको लागि अनुरोध हुँदा त्यस्तो सहायता प्रदान गर्ने आश्वासन कुटनैतिक माध्यम मार्फत दिएको र अनुरोध भई आएको विषयमा कानूनी सहायता प्रदान गर्दा नेपालको सार्वभौमसत्ता वा सार्वजनिक व्यवस्थामा प्रतिकूल असर नपर्ने देखेमा ऐनको दफा ३ को अधीनमा रही मन्त्रालयले पारस्परिकताको आधारमा पारस्परिक कानूनी सहायता उपलब्ध गराउने सिफारिस सहित सो सँग सम्बद्ध विवरण, कागजात र प्रमाण आवश्यक कारबाहीका लागि केन्द्रीय अधिकारी समक्ष पठाउनु पर्नेछ। (४) कुनै विदेशी राज्यले पारस्परिक कानूनी सहायता माग गर्दा तत्सम्बन्धी विषयमा गोपनीयता कायम गरिदिन अनुरोध गरेको भए केन्द्रीय अधिकारीले त्यस्तो विषयलाई प्रचलित कानून बमोजिम गोपनीयता कायम गर्नु पर्नेछ। (५) उपनियम (१) बमोजिम अध्ययन गर्दा पारस्परिकताको आधारमा कानूनी सहायता उपलब्ध गराउन नसकिने देखेमा मन्त्रालयले सोको जानकारी सम्बन्धित मुलुक तथा केन्द्रीय अधिकारीलाई दिनु पर्नेछ। (६) ऐन र यस नियमावली बमोजिम विदेशी राज्यले नेपाल समक्ष पारस्परिक कानूनी सहायताको माग गर्दा अनुसूची-४ बमोजिमको ढाँचामा माग गर्नु पर्नेछ।
(७) विदेशी राज्यले नेपाल समक्ष पारस्परिक कानूनी सहायता माग गर्दा उपनियम (६) बमोजिमको ढाँचामा माग नगरेमा वा आवश्यक विवरण संलग्न नभएमा पारस्परिक कानूनी सहायता उपलब्ध गराउन नसकिने जानकारी सम्बन्धित मुलुकलाई दिनु पर्नेछ। (८) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी राज्यले नेपाल समक्ष पारस्परिक कानूनी सहायताका लागि गरेको अनुरोध उपनियम (६) बमोजिमको ढाँचामा नभए तापनि आवश्यक विवरण र कागजात संलग्न रहेको भए पारस्परिक कानूनी सहायता उपलब्ध गराउन बाधा पर्नु छैन।
५. पारस्परिक कानूनी सहायता बापतको शुल्क वा दस्तुर भुक्तानी लिने प्रक्रियाः (१) कुनै विदेशी राज्यबाट पारस्परिक कानूनी सहायताको लागि अनुरोध प्राप्त भएको र त्यस्तो अनुरोध उपर ऐनको दफा २७ बमोजिम केन्द्रीय अधिकारीले गरेको जाँचबुझबाट पारस्परिक कानूनी सहायता उपलब्ध गराउने निर्णय भएकोमा सो बापत कुनै शुल्क वा दस्तुर लाग्ने रहे छ भने पारस्परिकतालाई समेत विचार गरी सोको जानकारी केन्द्रीय अधिकारीले सम्बन्धित विदेशी राज्यलाई दिनु पर्नेछ। (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पारस्परिक कानूनी सहायता उपलब्ध गराउँदा लाग्ने शुल्क वा दस्तुर सम्बन्धित विदेशी राज्यबाट प्राप्त हुन ढिलाई भएको अवस्थामा केन्द्रीय अधिकारीले सो बापतको शुल्क वा दस्तुर व्यहोर्ने गरी पारस्परिक कानूनी सहायता सम्बन्धी कारबाहीलाई तत्काल अघि बढाउनु पर्नेछ। (३) उपनियम (२) बमोजिम केन्द्रीय अधिकारीले शुल्क वा दस्तुर व्यहोरेकोमा त्यस्तो शुल्क वा दस्तुर बापतको रकम सम्बन्धित विदेशी राज्यले केन्द्रीय अधिकारीले तोकेको बैङ्क खातामा जम्मा गरी सोभनाथ गर्नु पर्नेछ। (४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी राज्यलाई कानूनी सहायता उपलब्ध गराउने कार्यमा लाग्ने कुनै शुल्क वा दस्तुर विदेशी राज्यबाट लिन उपयुक्त नदेखिएमा केन्द्रीय अधिकारीले त्यस्तो शुल्क वा दस्तुर नलिन वा सो बापतको रकम नेपाल सरकारले व्यहोर्ने गरी आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार, अर्थ मन्त्रालयमा लेखी पठाउन सक्नेछ। (५) उपनियम (४) बमोजिम केन्द्रीय अधिकारीबाट लेखी आएमा नेपाल सरकार, अर्थ मन्त्रालयले विदेशी राज्यलाई कानूनी सहायता उपलब्ध गराउने कार्यमा लाग्ने कुनै शुल्क वा दस्तुर नलिने गरी वा नेपाल सरकारले व्यहोर्ने गरी आवश्यक व्यवस्था मिलाउन सक्नेछ।
६. जानकारी दिनु पर्ने: ऐनको दफा ३ बमोजिम विदेशी राज्यबाट पारस्परिक कानूनी सहायताको लागि भएको अनुरोध ऐनको दफा २६ बमोजिम केन्द्रीय अधिकारी समक्ष प्राप्त भएपछि केन्द्रीय अधिकारीले सोको जानकारी अनुसूची-५ बमोजिमको ढाँचामा सम्बन्धित विदेशी राज्यलाई कुटनैतिक माध्यम मार्फत दिनु पर्नेछ।
७. समन्वय समिति: (१) ऐन तथा यस नियमावली बमोजिमको कामकारबाही प्रभावकारी रूपमा सम्पादन गर्ने कार्यमा केन्द्रीय अधिकारीलाई सहयोग गर्नेको लागि देहाय बमोजिमको एक समन्वय समिति रहनेछ:- (क) सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय - संयोजक (ख) प्रतिनिधि, परराष्ट्र मन्त्रालय - सदस्य (ग) प्रतिनिधि, सर्वोच्च अदालत - सदस्य (घ) प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालय - सदस्य (ङ) प्रतिनिधि, अनुसन्धान तथा तहकिकात गर्ने वा अन्य सम्बन्धित निकाय - सदस्य (च) उपसचिव (सम्बन्धित शाखा हेर्ने), कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय - सदस्य-सचिव
(२) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ । (३) समितिको बैठक बस्ने मिति, समय, स्थान तथा छलफलको विषय समितिको संयोजकले निर्धारण गरे बमोजिम हुनेछ। (४) समितिले आवश्यकता अनुसार विषय विज्ञ वा सरोकारवाला निकायको प्रतिनिधिलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ। (५) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
८. समितिको काम, कर्तव्य र अधिकार: समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क) अदालतको आदेश बमोजिम वा अनुसन्धान अधिकारीबाट विदेशी राज्यसँग पारस्परिक कानूनी सहायता माग गर्ने सम्बन्धमा अनुरोध भई आएमा सोसँग
सम्बन्धित प्राप्त कागजात अध्ययन गर्ने, अपुग कागजात माग गर्ने र कानूनी सहायता प्रदान गर्ने वा नगर्ने सम्बन्धमा केन्द्रीय अधिकारीलाई सिफारिस गर्ने, (ख) कुनै विदेशी राज्यबाट पारस्परिक कानूनी सहायताको अनुरोध भई आएमा प्राप्त कागजातको सम्बन्धमा आवश्यक अध्ययन तथा जाँचबुझ गर्ने, सो सम्बन्धमा कुनै कुरा बुझ्नु पर्ने भए मन्त्रालयमार्फत सम्बन्धित विदेशी राज्यसँग पत्राचार गर्ने, (ग) विदेशी राज्यलाई पारस्परिक कानूनी सहायता प्रदान गर्न उपयुक्त हुने देखिएमा वा नदेखिएमा सोको कारण सहित केन्द्रीय अधिकारीलाई सिफारिस गर्ने, (घ) पारस्परिक कानूनी सहायता आदान प्रदान गर्ने सम्बन्धमा केन्द्रीय अधिकारीलाई आवश्यक सहयोग गर्ने, (ङ) अनुवादकहरुको रोष्टर राख्न र अद्यावधिक गर्न केन्द्रीय अधिकारीलाई सिफारिस गर्ने, र (च) केन्द्रीय अधिकारीले तोकिदिएका अन्य कार्यहरु गर्ने ।
९. अनुवाद सम्बन्धी व्यवस्थाः (१) कुनै विदेशी राज्यबाट ऐनको दफा ४० को उपदफा (२) बमोजिम नेपाली बाहेक अन्य भाषामा प्राप्त हुन आएको अनुरोधपत्र र सोसँग संलग्न लिखित वा कागजात वा नेपालको तर्फबाट कुनै विदेशी मुलुकमा पारस्परिक कानूनी सहायताको लागि गरिने अनुरोधपत्र, सोसँग संलग्न लिखित वा कागजातको अनुवाद केन्द्रीय अधिकारीले गर्नेछ। (२) उपनियम (१) बमोजिम अनुवाद गर्ने प्रयोजनको लागि केन्द्रीय अधिकारीले विभिन्न भाषाका अनुवादकहरुको रोष्टर तयार गरी प्रत्येक आर्थिक वर्षको लागि त्यस्तो रोष्टर अद्यावधिक समेत गर्नु पर्नेछ । तर विशेष परिस्थिति परी वा कुनै खास भाषाको ज्ञान भएको व्यक्ति रोष्टरमा नभएको अवस्थामा रोष्टरमा नभएको व्यक्तिबाट समेत अनुवाद गराउन बाधा पर्ने छैन । (३) उपनियम (१) बमोजिम केन्द्रीय अधिकारीले अनुवाद गर्नु पर्ने अनुरोधपत्र, सोसँग संलग्न लिखित वा कागजात सार्वजनिक खरीद सम्बन्धी प्रचलित कानूनको अधिनमा रही अनुवाद गराउनु पर्नेछ ।
१०. क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन: (१) केन्द्रीय अधिकारीले सरोकारवाला निकायका अधिकारीलाई पारस्परिक कानूनी सहायता सम्बन्धमा तालीम तथा अन्तर्क्रिया जस्ता क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सक्नेछ। (२) उपनियम (१) को प्रयोजनको लागि केन्द्रीय अधिकारीले विदेशी मुलुकको समान काम गर्ने निकाय वा सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासँग आवश्यक सहकार्य गर्न सक्नेछ ।
११. केन्द्रीय अभिलेख राख्नु पर्ने: केन्द्रीय अधिकारीले नेपालबाट विदेशी राज्यसँग माग गरिएको र प्राप्त भएको वा नभएको तथा विदेशी राज्यको अनुरोधमा त्यस्तो राज्यलाई नेपालले उपलब्ध गराएको वा उपलब्ध गराउन नसकिएको जानकारी गराएको पारस्परिक कानूनी सहायताका विषयको अद्यावधिक र एकीकृत केन्द्रीय अभिलेख अनुसूची-६ बमोजिमको ढाँचामा राख्नु पर्नेछ।
१२. वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने: ऐनको दफा ४४ बमोजिम केन्द्रीय अधिकारीले पेश गर्नु पर्ने वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्नु पर्नेछ ।
१३. खारेजी र बचाउ: (१) पारस्परिक कानूनी सहायता नियमावली, २०७० खारेज गरिएको छ। (२) पारस्परिक कानूनी सहायता नियमावली, २०७० बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
अनुसूची–१ (नियम ३ को उपनियम (१) सँग सम्बन्धित) अनुसन्धान अधिकारीले पारस्परिक कानूनी सहायता माग गर्न अनुरोध गर्ने ढाँचा
मिति: विषयः पारस्परिक कानूनी सहायताको लागि अनुरोध गरिएको ।
श्री केन्द्रीय अधिकारी, .................. काठमाडौं ।
यस निकायबाट अनुसन्धान भइरहेको देहाय बमोजिमको मुद्दामा विदेशी राज्यबाट देहाय बमोजिमको पारस्परिक कानूनी सहायता आवश्यक भएकोले देहायको विवरण खुलाई पठाइएको व्यहोरा अनुरोध छ।
१. मुद्दाः २. पक्षहरुको नाम, थर र बतनः ३. अनुरोध गर्नु पर्ने विदेशी राज्यको नामः ४. मुद्दाको तथ्य सम्बन्धी विवरणः ५. सम्बन्धित कसूर र दण्ड सजाय सम्बन्धी कानूनी व्यवस्थाः ६. पारस्परिक कानूनी सहायता माग गरिएको विषयः ७. पारस्परिक कानूनी सहायता प्राप्त गरिसक्नु पर्ने मितिः ८. छिटो प्राप्त गर्नु पर्ने भए त्यसको कारणः ९. पारस्परिक कानूनी सहायता सम्बन्धी ऐन, २०७० को दफा १४ बमोजिम खुलाउनु पर्ने अन्य विवरण: १०. सम्पर्क ठेगानाः (क) नामः (ख) फोन नं. (ग) ईमेलः (घ) वेबसाइटः
कार्यालयको छापः
माग गर्ने अधिकारीको,- दस्तखत: नामः पदः कार्यालयः
अनुसूची–२
(नियम ३ को उपनियम (२) सँग सम्बन्धित) अदालतले पारस्परिक कानूनी सहायता माग गर्न अनुरोध गर्ने ढाँचा
मिति: विषयः पारस्परिक कानूनी सहायताको लागि अनुरोध गरिएको ।
श्री केन्द्रीय अधिकारी, .................. काठमाडौं ।
यस अदालत/कार्यालयमा विचाराधीन रहेको देहाय बमोजिमको मुद्दामा विदेशी राज्यबाट देहाय बमोजिमको पारस्परिक कानूनी सहायता माग गर्ने मिति ........... मा आदेश भएकोले देहायको विवरण खुलाई पठाइएको व्यहोरा अनुरोध छ ।
१. मुद्दा नं / मुद्दा दर्ता नं. २. पक्षहरुको नाम, थर र बतनः ३. अनुरोध गर्नु पर्ने विदेशी राज्यको नामः ४. विदेशी राज्यको अदालत वा निकायको नाम र ठेगानाः ५. मुद्दाको तथ्य सम्बन्धी विवरणः ६. सम्बन्धित कसूर र दण्ड सजाय सम्बन्धी कानूनी व्यवस्थाः ७. पारस्परिक कानूनी सहायता माग गरिएको विषयः ८. पारस्परिक कानूनी सहायता प्राप्त गरि सक्नु पर्ने मितिः ९. छिटो प्राप्त गर्नु पर्ने भए त्यसको कारणः १०. पारस्परिक कानूनी सहायता सम्बन्धी ऐन, २०७० को दफा १४ बमोजिम खुलाउनु पर्ने विवरण: ११. सम्पर्क ठेगानाः (क) फोन नं. (ख) फ्याक्स नं (ग) ईमेल (घ) वेबसाइटः
अदालत/कार्यालयको छापः
माग गर्ने अधिकृतको कर्मचारीको,- दस्तखत: नामः पदःअदालत/कार्यालयः
अनुसूची-३
(नियम ३ को उपनियम (३) र (४) सँग सम्बन्धित) केन्द्रीय अधिकारीले विदेशी राज्यसँग पारस्परिक कानूनी सहायताको लागि अनुरोध गर्ने ढाँचा
१. विदेशी राज्यको नाम: २. विदेशी राज्यको अदालत वा निकायको नाम र ठेगाना: ३. मुद्दा: ४. मुद्दा दर्ता नं. ५. मुद्दाका पक्षहरुको नाम, थर र बतन: ६. मुद्दाको तथ्य सम्बन्धी विवरण: ७. नेपालको सम्बन्धित अदालतको नाम: ८. सम्बन्धित कसूर र दण्ड सजाय सम्बन्धी कानूनी व्यवस्था: ९. पारस्परिक कानूनी सहायता माग गरिएको विषय: १०. पारस्परिक कानूनी सहायता प्राप्त भइसक्नु पर्ने मिति: ११. कुनै निश्चित अवधिभित्र पारस्परिक कानूनी सहायता प्राप्त गर्नु पर्ने भए त्यसको कारण: १२. पारस्परिक कानूनी सहायता सम्बन्धी ऐन, २०७० बमोजिम खुलाउनु पर्ने अन्य विवरण: १३. गोपनीयता कायम गर्नु पर्ने भए सोको कारण: १४. कानूनी आधार र पारस्परिकताको आवश्यकता: १५. सम्पर्क ठेगाना: (क) फोन नं. (ख) फ्याक्स नं: (ग) ईमेल: (घ) वेबसाइट:
केन्द्रीय अधिकारीको तर्फबाट अनुरोध गर्ने अधिकारीको,- दस्तखत: नाम: पद: कार्यालयको छाप:
अनुसूची–४ (नियम ४ को उपनियम (६) सँग सम्बन्धित) विदेशी राज्यले नेपाल सरकारसमक्ष पारस्परिक कानूनी सहायताको लागि अनुरोध गर्ने ढाँचा
१. अनुरोध गर्ने विदेशी राज्यको नामः २. विदेशी राज्यको अदालत वा निकायको नाम र ठेगानाः ३. सम्पर्क ठेगानाः (क) फोन नः (ख) फ्याक्स नः (ग) ईमेलः (घ) वेबसाइटः ४. माग गरिएको पारस्परिक कानूनी सहायतासँग सम्बन्धित नेपालको अदालत वा निकायको नामः ५. मुद्दाः ६. मुद्दा दर्ता नं. ७. मुद्दाका पक्षहरुको नाम, थर र बतनः ८. पारस्परिक कानूनी सहायता माग गरिएको विषय: (क) ..... (ख) ..... (ग) ....... (घ) ....... ९. पारस्परिक कानूनी सहायता प्राप्त भई सक्नु पर्ने मितिः १०. कुनै निश्चित अवधिभित्र पारस्परिक कानूनी सहायता प्राप्त गर्नु पर्ने भए त्यसको कारणः ११. पारस्परिक कानूनी सहायता माग गरिएको विषय गोप्य राख्नु पर्ने हो $\square$ होइन $\square$। गोप्य राख्नु पर्ने भए सो को कारण: १२. आवश्यक अन्य विवरण:
कार्यालयको छापः सम्बन्धित राज्यको तर्फबाट अनुरोध गर्ने अधिकारीको,- नामः पदः दस्तखत: मितिः
अनुसूची–५ (नियम ६ सँग सम्बन्धित) केन्द्रीय अधिकारीले पारस्परिक कानूनी सहायताको अनुरोध प्राप्त गरेको जानकारी गराउने ढाँचा मिति:
विषयः पारस्परिक कानूनी सहायताको लागि अनुरोध प्राप्त गरेको जानकारी ।
१. अनुरोध दर्ता नं: २. अनुरोध दर्ता मिति: ३. अनुरोध प्राप्त गर्ने निकायको विवरणः (क) नामः (ख) ठेगानाः (ग) फोन नं: (घ) फ्याक्स नं: (ङ) ईमेलः (च) वेबसाइटः ४. सरकारी कामकाजको भाषाः ५. पारस्परिक कानूनी सहायताको अनुरोध कार्यान्वयन गर्न सहयोग लिनु पर्ने निकायहरुः (क) ..... (ख) ..... (ग) ....... ६. पारस्परिक कानूनी सहायता उपलब्ध गराउन सकिने मिति: ७. निर्धारित समयभित्र पठाउन सकिने वा नसकिनेः ८. नसकिने भए त्यसको कारणः ९. आवश्यक अन्य विवरण:
कार्यालयको छापः जानकारी दिने अधिकारीको,- दस्तखत: नामः पदः
अनुसूची–६ (नियम ११ सँग सम्बन्धित) केन्द्रीय अभिलेखको ढाँचा
(क) नेपालबाट विदेशी राज्यलाई अनुरोध गरिएको पारस्परिक कानूनी सहायताको विवरण
(ख) नेपालले प्राप्त गरेको वा नगरेको पारस्परिक कानूनी सहायताको विवरण
(ग) विदेशी राज्यबाट अनुरोध गरिएको पारस्परिक कानूनी सहायताको विवरण
(घ) नेपालबाट उपलब्ध गराएको/नगराएको पारस्परिक कानूनी सहायता विवरण
अभिलेख तयार गर्नेको,- $\quad\quad\quad\quad\quad\quad\quad\quad$ अभिलेख जाँच गर्ने अधिकृतको,- दस्तखत: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ दस्तखत: नाम थर: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ नाम थर: पद: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ पद: मिति: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ मिति: