पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण कोष (सञ्चालन) नियमावली, २०७१
नेपाल राजपत्रमा प्रकाशित मिति २०७१।१२।२३
संशोधन १. पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण कोष (सञ्चालन) (पहिलो संशोधन) नियमावली, २०७४ २०७४।०२।२९ २. पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण कोष (सञ्चालन) (दोस्रो संशोधन) नियमावली, २०७७ २०७७।०७।२४
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण कोष (सञ्चालन) नियमावली, २०७१” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ। (ख) “कोष” भन्नाले नियम ३ बमोजिम स्थापना भएको मूल्य स्थिरीकरण कोष (प्राइस स्टेबलाइजेसन फण्ड) सम्झनु पर्छ। (ग) “ग्यास” भन्नाले तरल पेट्रोलियम ग्यास (एल.पी.जी.), तरलीकृत प्राकृतिक ग्यास (एल.एन.जी) तथा खाँदिएको प्राकृतिक ग्यास (सी.एन.जी) सम्झनु
पछी र सो शब्दले मिथेन, इथेन, प्रोपेन र ब्यूटेन ग्यास समेतलाई जनाउँछ।
(घ) “निगम” भन्नाले नेपाल आयल निगम लिमिटेडलाई सम्झनु पर्छ।
(ङ) “पेट्रोलियम पदार्थ” भन्नाले पेट्रोल, डिजेल, मट्टितेल वा हवाई इन्धन सम्झनु पर्छ र सो शब्दले प्रशोधन नगरिएको कच्चा तेललाई समेत जनाउँछ।
(च) “पैठारीकर्ता” भन्नाले नेपालमा पेट्रोलियम पदार्थ तथा ग्यास पैठारी गर्ने नेपाल आयल निगम लिमिटेडलाई सम्झनु पर्छ।
(छ) “मन्त्रालय” भन्नाले *उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्झनु पर्छ।
(ज) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र सदस्य-सचिवलाई समेत जनाउँछ।
(झ) “सदस्य-सचिव” भन्नाले समितिको सदस्य-सचिव सम्झनु पर्छ।
(ञ) “समिति” भन्नाले नियम ५ बमोजिमको कोषको सञ्चालक समिति सम्झनु पर्छ।
परिच्छेद–२ कोषको स्थापना र उपयोग
३. कोषको स्थापना : (१) पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्यमा स्थिरता कायम गर्न एक मूल्य स्थिरीकरण कोषको स्थापना गरिएको छ।
(२) उपनियम (१) बमोजिमको कोषमा देहायका रकमहरू रहने छन् :–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ वा संस्थाबाट ऋण, अनुदान वा सहयोग वापत प्राप्त रकम,
(ग) पेट्रोलियम पदार्थ तथा ग्यासको खुद्रा बिक्री मूल्यको एक प्रतिशत बराबर हुन आउने पैठारीकताबाट प्राप्त रकम,
(घ) कोषको रकम लगानी गरी प्राप्त भएको रकम,
(ङ) यो नियमावली लागु हुनु भन्दा अघि नेपाल सरकारले उपलब्ध गराएको र पेट्रोलियम पदार्थको बिक्रीबाट मूल्य स्थिरीकरण कोषमा जम्मा गर्न संकलन भएको रकम, र
(च) अन्य कुनै स्रोतबाट प्राप्त रकम।
(३) उपनियम (२) को खण्ड (ख) बमोजिमको रकम प्राप्त गर्नु अघि अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
(४) कोषमा जम्मा हुने रकम बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम वित्तीय कारोबार गर्न स्थापना भएको “क” वर्गको इजाजत प्राप्त कुनै बैङ्कमा खाता खोली जम्मा गरिनेछ।
(५) कोषको खाताको सञ्चालन सदस्य–सचिव र निगमको अर्थ विभागको निर्देशकको संयुक्त दस्तखतबाट हुनेछ।
४. कोषको उपयोग : कोषमा जम्मा भएको रकम देहाय बमोजिमको कार्यमा खर्च गरिनेछ :–
(क) कुनै पेट्रोलियम पदार्थ वा ग्यासको खुद्रा बिक्री मूल्य उच्चतम मूल्य अन्तरसीमा भन्दा बढी हुन जाने अवस्था भएमा त्यसरी बढी हुन गएको रकम निगमलाई अनुदान दिन,
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “उच्चतम मूल्य अन्तरसीमा” भन्नाले पेट्रोलियम पदार्थको सम्बन्धमा प्रचलित खुद्रा बिक्री मूल्यमा दुई प्रतिशत थप गर्दा हुन आउने मूल्य र ग्यासको सम्बन्धमा प्रचलित खुद्रा बिक्री मूल्यमा पच्चीस रुपैयाँ थप गर्दा हुन आउने मूल्यालाई जनाउँछ।
*(ख) .......................
(ग) पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य वृद्धिको कारणबाट उपभोक्ता वर्गमा पर्न जाने चापलाई कम गरी मूल्य स्थिरता कायम गर्ने, र
(घ) नेपाल सरकारले दिएको निर्देशन बमोजिमको कार्य गर्ने।
परिच्छेद–३ सञ्चालक समितिको गठन, काम, कर्तव्य र अधिकार
५. सञ्चालक समितिको गठन : (१) कोषको तर्फबाट गर्ने सम्पूर्ण काम कारबाहीको सञ्चालन, रेखदेख तथा नियन्त्रण गर्न एक कोष सञ्चालक समिति रहनेछ।
(२) समितिको गठन देहाय बमोजिम हुनेछ :–
(क) सचिव (वाणिज्य तथा आपूर्ति हेर्ने), मन्त्रालय - अध्यक्ष (ख) सहसचिव (आपूर्ति हेर्ने), मन्त्रालय - सदस्य (ग) सहसचिव (आर्थिक तथा पूर्वाधार हेर्ने), प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय - सदस्य (घ) सहसचिव, अर्थ मन्त्रालय - सदस्य (ङ) कार्यकारी निदेशक, नेपाल आयल निगम लिमिटेड - सदस्य-सचिव
६. समितिको काम, कर्तव्य र अधिकार : यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) कोष सञ्चालन सम्बन्धी नीति तथा योजना तयार गरी कार्यान्वयन गर्ने, (ख) यस नियमावलीको प्रयोजनका लागि पैठारीकर्ताले कोषमा जम्मा गर्नु पर्ने रकम निर्धारण गर्ने,
(ग) नियम ४ को खण्ड (क) बमोजिम निगमलाई अनुदान दिने,
(घ) .........................
(ङ) पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्यमा स्थिरता कायम गर्न आवश्यक कार्य गर्ने,
(च) कोषको कार्यक्रम तथा बजेट स्वीकृत गर्ने, र
(छ) पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरता कायम गर्नका लागि नेपाल सरकारले तोकेको अन्य कार्य गर्ने।
७. समितिको बैठक र निर्णय : (१) समितिको बैठक वर्षमा कम्तीमा दुई पटकमा नघट्ने गरी आवश्यकता अनुसार बस्नेछ।
(२) समितिको बैठक अध्यक्षले तोकेको समय, मिति र स्थानमा बस्नेछ।
(३) समितिको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगावै सदस्य (सचिवले बैठकमा छलफल हुने कार्यसूची सहितको सूचना सबै सदस्यहरूलाई दिनु पर्नेछ।
(४) समितिको कूल सदस्य संख्याको कम्तीमा पचास प्रतिशतभन्दा बढी सदस्यको उपस्थिति भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ।
(५) समितिको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा समितिका उपस्थित सदस्यहरूले आफू मध्येबाट छानेको सदस्यले गर्नेछ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
(७) समितिले आवश्यकता अनुसार कुनै पनि निकायका पदाधिकारी एवं कर्मचारी, विशेषज्ञ वा अन्य कुनै व्यक्तिलाई समितिको बैठकमा आमन्त्रित सदस्यको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।
तर त्यस्तो आमन्त्रित सदस्यलाई बैठकमा मत दिने अधिकार हुने छैन।
(८) समितिको निर्णय सदस्य-सचिवले प्रमाणित गरी राख्नेछ।
(९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
परिच्छेद–४ अनुदान तथा राहत सम्बन्धी व्यवस्था
■ ८. अनुदान माग गर्न सक्ने : (१) नियम ४ को खण्ड (क) बमोजिमको अवस्था परी अनुदान आवश्यक परेमा निगमले समितिसँग अनुदान माग गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम अनुदान माग गर्दा निगमले नियम ४ को खण्ड (क) को अवस्था रहेकोको पुष्ट्याई गर्ने कागजात सहितको विवरण समितिमा पेश गर्नु पर्नेछ।
■ ९. अनुदान दिने :(१) नियम ८ बमोजिम अनुदान माग भई आएमा समितिले निगमबाट प्राप्त कागजात सहितको विवरण जाँचबुझ गर्दा नियम ४ को खण्ड (क) बमोजिमको अवस्था देखिएमा निगमलाई आवश्यक अनुदान दिन सक्नेछ।
$\times$(२) ........................
(३) उपनियम (१) बमोजिम प्राप्त हुने अनुदान रकमलाई निगमले आयको रूपमा जोडी बोनस तथा लाभांश वितरण गर्न पाउने छैन।
$\Sigma$ १०. .............................
परिच्छेद – ५ अभिलेख, लेखा र लेखापरीक्षण सम्बन्धी व्यवस्था
११. अभिलेख राख्ने : समितिले आफूले गरेको काम कारबाहीको अभिलेख दुरुस्त राख्नु पर्नेछ।
■ पहिलो संशोधनद्वारा संशोधित। $\times$ दोस्रो संशोधनद्वारा खारेज गरिएको। $\Sigma$ पहिलो संशोधनद्वारा खारेज गरिएको।
१२. लेखा र लेखापरीक्षण :(१) कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राख्नु पर्नेछ।
(२) कोषको आन्तरिक लेखापरीक्षण कोष तथा लेखा नियन्त्रक कार्यालयबाट हुनेछ।
(३) कोषको आय व्ययको अन्तिम लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ।
(४) नेपाल सरकारले चाहेमा कोषको आय व्ययको लेखा तथा सोसँग सम्बन्धित कागजात जुनसुकै बखत जाँच्न वा जाँच गराउन सक्नेछ।
परिच्छेद–६ विविध
१३. विवरण पठाउनु पर्ने : पैठारीकर्ताले नेपालभित्र पैठारी गरेको पेट्रोलियम पदार्थ तथा ग्यासको परिमाण, मूल्य र समितिले समय समयमा तोके बमोजिमका अन्य विवरण संलग्न गरी प्रत्येक त्रैमासिक अवधि समाप्त भएको सात दिनभित्र समिति समक्ष पठाउनु पर्नेछ।
१४. अनुगमन गर्ने : कोष सञ्चालन सम्बन्धी कार्यको अनुगमन तथा रेखदेख समितिले गर्नेछ।
१५. बैठक भत्ताः समिति तथा नियम २२ बमोजिम गठित उपसमितिका सदस्यहरूले समिति वा उपसमितिको बैठकमा भाग लिए बापत अर्थ मन्त्रालयबाट स्वीकृत मापदण्डको अधीनमा रही मन्त्रालयले तोके बमोजिमको रकम बैठक भत्ता वापत पाउने छन्।
१६. कोषमा रहेको रकम लगानी : समितिले नेपाल सरकार, मन्त्रिपरिषद्को स्वीकृति लिई कोषमा मौज्दात रहेको रकम बैंक तथा वित्तीय संस्था वा नेपाल सरकारले तोकेको अन्य क्षेत्रमा लगानी गर्न सक्नेछ।
१७. आवर्ती (रिवल्भिङ) कोषको रूपमा रहने : कोष आवर्ती (रिवल्भिङ) कोषको रूपमा रहनेछ।
♦ दोस्रो संशोधनद्वारा संशोधित। ❖ पहिलो संशोधनद्वारा संशोधित।
१८. कोषको सचिवालय : कोषको सचिवालय ¤निगममा रहनेछ।
Σ१९. .............................
२०. निर्देशन दिन सक्ने : (१) पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरणका सम्बन्धमा नेपाल सरकारले समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम दिइएको निर्देशन पालना गर्नु समितिको कर्तव्य हुनेछ।
२१. अधिकार प्रत्यायोजन गर्न सक्ने : समितिले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारहरू मध्ये आवश्यकतानुसार केही अधिकार ◆सदस्य-सचिव वा यस नियमावली बमोजिम गठन भएको उपसमितिलाई प्रत्यायोजन गर्न सक्नेछ।
२२. उपसमिति गठन गर्न सक्ने : (१) यस नियमावली बमोजिम समितिले आफूले गर्नु पर्ने काम सुचारू रूपले गर्नको निमित्त आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम गठन गरिएको उपसमितिको काम, कर्तव्य, अधिकार, कार्यविधि तथा अन्य व्यवस्था त्यस्तो उपसमिति गठन गर्दाका बखत समितिले तोके बमोजिम हुनेछ।
२३. प्रतिवेदन पेश गर्ने : (१) समितिले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र आफूले वर्षभरिमा गरेका काम कारबाहीको प्रतिवेदन तयार गरी मन्त्रालयको समक्ष पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त समितिले वर्ष भरिमा सञ्चालन गरेको कार्यक्रम, विभिन्न स्रोतबाट प्राप्त रकम, पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरणमा भएको खर्च, कोषमा रहेको मौज्दात रकम समेतका विवरणहरू समावेश गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम समितिले पेश गरेको प्रतिवेदन मन्त्रालयले सार्वजनिक गर्न सक्नेछ।
¤ पहिलो संशोधनद्वारा संशोधित। Σ पहिलो संशोधनद्वारा खारेज गरिएको। ◆ दोस्रो संशोधनद्वारा संशोधित।
२४. कार्यविधि तथा निर्देशिका बनाई लागू गर्न सक्ने : (१) समितिले यस नियमावलीको कार्यान्वयन गर्दा आवश्यक पर्ने कार्यविधि तथा निर्देशिका बनाई मन्त्रालयको स्वीकृति लिई लागू गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिमको कार्यविधि तथा निर्देशिका बनाउँदा अनुदान तथा राहतको विषयलाई पनि समावेश गर्नु पर्नेछ।
२५. कोषको खारेजी : (१) कुनै कारणबस कोष सञ्चालन गर्न आवश्यक नभएमा नेपाल सरकारले समितिको सिफारिसमा कोष खारेज गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम कोष खारेज भएमा कोषको सम्पत्ति तथा दायित्व नेपाल सरकारमा स्वतः हस्तान्तरण हुनेछ।