प्राचीन स्मारक संरक्षण नियमावली, २०४६
नेपाल राजपत्रमा प्रकाशन मिति २०४६।१२।२०
संशोधन १. प्राचीन स्मारक संरक्षण (पहिलो संशोधन) नियमावली, २०४९ २०५०।२।३२ २. प्राचीन स्मारक संरक्षण (दोस्रो संशोधन) नियमावली, २०५३ २०५३।६।७ ३. प्राचीन स्मारक संरक्षण (तेस्रो संशोधन) नियमावली, २०५६ २०५६।५।२१
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१.१ संक्षिप्त नाम र प्रारम्भः १.१.१ यी नियमहरूको नाम “प्राचीन स्मारक संरक्षण नियमावली, २०४६” रहेको छ। १.१.२ यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
१.२ परिभाषाः १.२.१ विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा, — १.२.१.१ “ऐन” भन्नाले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ सम्झनुपर्छ। १.२.१.२ “विभाग” भन्नाले नेपाल सरकार, पुरातत्व विभाग सम्झनुपर्छ। १.२.१.३ “प्राविधिक समिति” भन्नाले नियम २.१ बमोजिम गठित प्राविधिक समिति सम्झनुपर्छ। १.२.१.४ “सहयोग समिति” भन्नाले नियम ३.१ बमोजिम गठित प्राचीन स्मारक संरक्षण सहयोग समिति सम्झनुपर्छ।
१.२.१.५ “वर्गीकरण समिति” भन्नाले नियम २.३ बमोजिम गठित प्राचीन स्मारक सर्वेक्षण एवं वर्गीकरण समिति सम्झनुपर्छ।
१.२.१.६ “कोष” भन्नाले नियम ४.१० बमोजिम खडा गरिएको प्राचीन स्मारक संरक्षण कोष सम्झनुपर्छ।
परिच्छेद-२ प्राविधिक समिति
२.१ प्राविधिक समितिको गठन:
२.१.१ संरक्षित स्मारक क्षेत्रभित्र निजी हकभोगको जग्गामा बनाइने घरको शैली तथा मापदण्डका सम्बन्धमा विभागलाई परामर्श दिन देहाय बमोजिमको एउटा प्राविधिक समिति गठन गरिएको छः–
२.१.१.१ विभागले तोकेको प्राविधिक अधिकृत – अध्यक्ष
२.१.१.२ प्रतिनिधि, भवन विभाग – सदस्य
२.१.१.३ प्रतिनिधि, आवास तथा शहरी विकास विभाग – सदस्य
२.१.१.४ प्रतिनिधि, काठमाडौँ उपत्यका नगर विकास योजना कार्यान्वयन समिति – सदस्य
२.१.१.५ विभागले तोकेको वास्तुकलाविद् – सदस्य
२.१.१.६ विभागले तोकेको अधिकृत – सदस्य–सचिव
२.१.२ प्राविधिक समितिले स्वदेशी वा विदेशी विशेषज्ञ वा विदेशी विशेषज्ञ वा सल्लाहकार वा नेपाल सरकारको कुनै अधिकृतलाई प्राविधिक समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।
२.१.३ प्राविधिक समितिको बैठक आवश्यकता अनुसार बस्नेछ।
२.१.४ प्राविधिक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि प्राविधिक समिति आफैले व्यवस्थापन गर्न सक्नेछ।
२.२ प्राविधिक समितिको काम, कर्तव्य र अधिकारः
२.२.१ संरक्षित स्मारक क्षेत्रभित्रको निजी हकभोगको जग्गामा बनाइने घर, भवन वा अन्य निर्माण कार्यका शैली तथा मापदण्ड के कस्तो हुनु पर्छ सो निर्धारण गरी पुरातत्व विभागलाई परामर्श दिनु प्राविधिक समितिको कर्तव्य हुनेछ।
२.२.२ प्राविधिक समितिले चाहेमा उपनियम २.२.१ मा उल्लेखित कुनै खास कामको लागि उपसमितिहरू गठन गर्न सक्नेछ र त्यस्तो उपसमितिमा प्राविधिक समितिले तोकेबमोजिमका सदस्यहरू रहनेछन्।
२.२.३ उपनियम २.२.२ बमोजिम गठन हुने उपसमितिले प्राविधिक समितिले तोकिदिएको अधिकार प्रयोग गरी काम गर्नेछ।
२.३ प्राचीन स्मारक सर्वेक्षण एवम् वर्गीकरण समितिः
२.३.१ प्राचीन स्मारकको सर्वेक्षण एवं वर्गीकरण गर्नको निमित्त देहाय बमोजिमको एउटा प्राचीन स्मारक सर्वेक्षण एवं वर्गीकरण समिति गठन गरिएको छः–
२.३.१.१ महानिर्देशक, विभाग – संयोजक
२.३.१.२ विभागीय प्रमुख, नेपाली, इतिहास, संस्कृति, पुरातत्व केन्द्रीय शिक्षण विभाग, त्रिभुवन विश्वविद्यालय – सदस्य
२.३.१.३ विभागीय प्रमुख, वास्तुकला विभाग, इन्जिनियरिङ्ग अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय – सदस्य
२.३.१.४ प्रशासक, गुठी संस्थान – सदस्य
२.३.१.५ प्राचीन स्मारकको सर्वेक्षण एवं वर्गीकरण क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरू मध्येबाट नेपाल सरकारले
तोकेको दुईजना – सदस्य
२.३.१.६ प्रतिनिधि, गुम्बा व्यवस्था तथा विकास समिति – सदस्य
२.३.१.७ विभागले तोकेको अधिकृत – सदस्य–सचिव
२.३.२ वर्गीकरण समितिले सम्बन्धित गाउँ विकास समितिको अध्यक्ष वा नगरपालिकाको प्रमुख वा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको प्रतिनिधि, प्राचीन स्मारकको सर्वेक्षण एवं वर्गीकरण क्षेत्रसँग सम्बन्धित स्वदेशी वा विदेशी विशेषज्ञ वा नेपाल सरकारको कुनै अधिकृतलाई वर्गीकरण समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।
२.३.३ वर्गीकरण समितिको बैठक आवश्यकता अनुसार बस्नेछ।
२.३.४ वर्गीकरण समितिको बैठकसम्बन्धी कार्यविधि सो समिति आफैले व्यवस्थित गर्न सक्नेछ।
२.४ वर्गीकरण समितिको काम, कर्तव्य र अधिकारः
२.४.१ वर्गीकरण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
२.४.१.१ प्राचीन स्मारकलाई स्वामित्व र महत्त्वको दृष्टिले वर्गीकरण गर्ने सम्बन्धमा विभागलाई परामर्श दिन समय–समयमा प्राचीन स्मारकको सर्वेक्षण गरी सर्वेक्षण प्रतिवेदन तयार गर्ने।
२.४.१.२ उपनियम २.४.१.१ बमोजिम तयार पारिएको सर्वेक्षण प्रतिवेदनको आधारमा प्राचीन स्मारकलाई स्वामित्व र महत्त्वको दृष्टिले वर्गीकरण गर्ने आधार तयार गरी सोही आधारमा प्राचीन स्मारकहरूको वर्गीकरण गर्न विभागलाई परामर्श दिने।
२.४.१.३ उपनियम २.४.१.१ मा उल्लेख भए बमोजिम प्राचीन स्मारकहरूको सर्वेक्षण गरी प्रतिवेदन तयार गर्न आवश्यकता अनुसार उपसमितिहरू गठन गर्ने।
२.४.१.४ प्राचीन स्मारकको सर्वेक्षण एवं वर्गीकरण गर्ने सम्बन्धमा नेपाल सरकारले सुम्पिएको अन्य आवश्यक कार्यहरू गर्ने।
२.४.२ उपनियम २.४.१.३ बमोजिम गठन हुने उपसमितिहरूको गठन विधि, कार्य अवधि, काम, कर्तव्य तथा अधिकार र अन्य कुराहरू वर्गीकरण समितिले तोकिदिएबमोजिम हुनेछ।
परिच्छेद-३ प्राचीन स्मारक संरक्षण सहयोग समिति
३.१ प्राचीन स्मारक संरक्षण सहयोग समिति:
३.१.१ प्रत्येक संरक्षित स्मारक क्षेत्रमा प्राचीन स्मारकको संरक्षणमा सहयोग पुर्याउन विभागले देहाय बमोजिमको एउटा प्राचीन स्मारक संरक्षण सहयोग समिति गठन गर्न सक्नेछ:–
३.१.१.१ विभागले तोकेको पुरातत्व अधिकृत — संयोजक
३.१.१.२ $सम्बन्धित $\rightarrow$ गाउँ विकास समितिको अध्यक्ष वा नगरपालिकाको प्रमुख — सदस्य
३.१.१.३ प्रतिनिधि, गुठी संस्थान र गुठी संस्थानको स्थानीय कार्यालय नभएको ठाउँमा माल वा मालपोत कार्यालयको प्रतिनिधि — सदस्य
३.१.१.४ प्रतिनिधि, काठमाडौँ उपत्यका नगर विकास योजना कार्यान्वयन समिति (काठमाडौँ उपत्यकाभित्र) र अन्य जिल्लामा $\bullet$ भवन र आवास तथा शहरी विकास शाखाको इन्जिनियर — सदस्य
३.१.१.५ प्रतिनिधि, सम्बन्धित जिल्ला कार्यालय — सदस्य
$\bullet$ पहिलो संशोधनद्वारा संशोधित। $\rightarrow$ हाल गाउँपालिका कायम रहेको।
३.१.१.६ प्रतिनिधि, सम्बन्धित जिल्ला प्रहरी कार्यालय — सदस्य
३.१.१.७ प्रतिनिधि, *पर्यटन मन्त्रालय (काठमाडौँ उपत्यकाको लागि) — सदस्य
३.१.१.८ विभाग अन्तर्गतका दरबार हेरचाह अड्डा भएको ठाउँमा दरबार हेरचाह अड्डा प्रमुख — सदस्य
३.१.१.९ विभागले तोकेको आर्किटेक्ट — सदस्य
३.१.२ विभागले आवश्यकता अनुसार सहयोग समितिका सदस्यहरूमा फेरबदल वा रुपघट गर्न सक्नेछ।
३.१.३ सहयोग समितिले स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकार वा नेपाल सरकारको कुनै अधिकारीलाई सहयोग समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।
३.१.४ सहयोग समितिको बैठक आवश्यकता अनुसार बस्नेछ।
३.१.५ सहयोग समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सहयोग समिति आफैले व्यवस्थित गर्न सक्नेछ।
३.२ सहयोग समितिको काम, कर्तव्य र अधिकार:
३.२.१ संरक्षित स्मारक क्षेत्रमा रहेका प्राचीन स्मारकको संरक्षण, संरक्षित स्मारक क्षेत्रको वातावरणको संरक्षण, सरसफाई तथा स्याहार सम्भारको काममा सहयोग गर्नु सहयोग समितिको कर्तव्य हुनेछ।
३.२.२ संरक्षित स्मारक क्षेत्रको मौलिकता तथा प्राचीनता कायम राख्ने सम्बन्धमा र तसम्बन्धी अन्य विषयमा समेत पुरातत्व विभागलाई आवश्यक परामर्श दिनु समितिको कर्तव्य हुनेछ।
३.२.३ आफ्नो कार्य सुचारु रूपले सञ्चालन गराउन सहयोग समितिले आफ्ना सदस्यहरूमध्येबाट विभिन्न उपसमितिहरू गठन गर्न सक्नेछ।
३.२.४ उपनियम ३.२.३ बमोजिम गठन हुने उपसमितिको काम, कर्तव्य र अधिकार सहयोग समितिले तोकिदिए बमोजिम हुनेछ।
परिच्छेद-४ विविध
४.१ विभागको स्वीकृति लिनुपर्नेः
४.१.१ ऐनको दफा ३ को उपदफा (५) बमोजिम संरक्षित स्मारक क्षेत्रभित्र टेलिफोन वा विद्युत लाइन जडान गर्न, खानेपानी वा ढलको लागि जमीन खन्न, सडक बनाउन वा मर्मत गर्न, पर्व, मेला मनाउन, नाचगान गर्न वा सवारीको साधन पार्किङ्ग गर्न वा पोष्टर वा तस्वीर टाँस्न चाहने व्यक्ति वा संस्थाले विभागको स्वीकृतिको लागि अनुसूची–१ बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ।
४.१.२ उपनियम ४.१.१ बमोजिमको निवेदन पर्ख आएमा मुख्य पुरातत्व अधिकृतले तत्सम्बन्धमा आवश्यक जाँचबुझ गरी उपनियम ४.१.१ बमोजिमको कुनै काम गर्दा संरक्षित स्मारक क्षेत्रमा कुनै प्रतिकूल असर नपर्ने भएमा अनुसूची–२ बमोजिमको ढाँचामा त्यस्तो काम गर्न स्वीकृति दिनेछ।
४.२ निर्माण सम्बन्धी मापदण्डः संरक्षित स्मारक क्षेत्रभित्र कसैको हकभोगको जग्गामा निर्माण गरिने घर वा भवन, स्वाभाविक आकारमा परिवर्तन हुने गरी गरिने मर्मत, रुपट वा पुनः निर्माण सम्बन्धमा विभागले प्राविधिक समितिको परामर्श लिई त्यस्तो क्षेत्रको महत्त्वलाई समेत ध्यानमा राखी त्यस्तो क्षेत्रमा गरिने निर्माण कार्यको शैली र आवश्यक मापदण्ड तोकी सार्वजनिक सूचनाको रूपमा सम्बन्धित स्मारक क्षेत्रको कार्यालयको सूचना पाटीमा टाँस्ने व्यवस्था गर्नेछ।
४.३ पुरातात्विक वस्तुको विवरणः
४.३.१ प्रमुख जिल्ला अधिकारीले प्रत्येक वर्ष आषाढ मसान्तभित्र आफ्नो जिल्लाभित्र रहेका पुरातात्विक वस्तुहरूको विवरण अनुसूची–३ बमोजिमको फाराममा भरी सम्भव भएसम्म त्यस्तो वस्तुको फोटो समेत मुख्य पुरातत्व अधिकृतसमक्ष पठाउनु पर्नेछ।
४.३.२ प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाभित्र कुनै पुरातात्विक वस्तु फेला परेको जानकारी पाएमा त्यसरी जानकारी पाएको मितिले पैंतीस दिनभित्र सो वस्तुको सम्पूर्ण
विवरण अनुसूची–४ बमोजिमको फाराममा भरी सम्भव भएसम्म त्यस्तो वस्तुको फोटो समेत मुख्य पुरातत्व अधिकृतसमक्ष पठाउनु पर्नेछ।
४.३.३ उपनियम ४.३.१ वा उपनियम ४.३.२ बमोजिम विवरण प्राप्त भएमा मुख्य पुरातत्व अधिकृतले त्यस्तो पुरातात्विक वस्तुको संरक्षणको लागि आवश्यक व्यवस्था गर्नु पर्नेछ।
४.४ पुरातात्विक उत्खनन गर्न स्वीकृतिः
४.४.१ कुनै प्राचीन स्मारक रहेको ठाउँमा पुरातात्विक उत्खनन गर्न चाहने व्यक्ति वा संस्थाले नेपाल सरकारको पूर्व स्वीकृतिको लागि अनुसूची–५ बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनु पर्नेछ।
४.४.२ उपनियम ४.४.१ बमोजिमको दरखास्त पर्दा आएमा विभागले तत्सम्बन्धमा आवश्यक जाँचबुझ गरी उत्खनन गर्न दिन उपयुक्त देखेमा उत्खनन गर्न सिफारिस सहित नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउनु पर्नेछ र नेपाल सरकारबाट स्वीकृति दिने निर्णय भएमा अनुसूची–६ बमोजिमको ढाँचामा स्वीकृति दिनु पर्नेछ।
४.५ प्राचीन स्मारकको मर्मत तथा जीर्णोद्धारः
४.५.१ प्राचीन स्मारकको मर्मत तथा जीर्णोद्धार गर्दा स्मारकको मौलिकता, संवेदनशीलता, राष्ट्रिय कला र संस्कृतिको संरक्षण गरी अनुसन्धानमूलक ढंगबाट स्मारकको मर्मत तथा जीर्णोद्धार गर्नु गराउनु पर्नेछ।
४.५.२ आर्थिक प्रशासन सम्बन्धी नियमहरू, २०४२ अनुसार बोलपत्र प्रથાद्वारा प्राचीन स्मारकको मर्मत तथा जीर्णोद्धार कार्य गर्दा, गराउँदा उपनियम ४.५.१ को मनसाय अनुरूप गर्न नसकिने वा स्मारक नै नष्ट हुने वा विग्रिन सक्ने सम्भावना देखिएमा त्यस्ता कामहरू प्राचीन स्मारक सम्बन्धी अनुभव भएका व्यक्ति वा फर्महरू मध्येबाट विभागले दरभाउपत्र (कोटेसन) वा अमानतबाट गर्न गराउन सक्नेछ।
पहिलो संशोधनद्वारा रप।
४.५.३ उपनियम ४.५.२ बमोजिम मर्मत तथा जीर्णोद्धार कार्य गराउँदा विभागले दरभाउपत्र (कोटेसन) वा अमानतबाट गर्न गराउन गोरखापत्रमा सूचना प्रकाशित गरी प्राचीन स्मारक सम्बन्धी अनुभव भएका व्यक्ति वा फर्महरूबाट दरखास आह्वान गरी प्राप्त हुन आएका दरखासवाला व्यक्ति वा फर्मलाई प्रि–क्वानलिफिकेसन (पूर्व योग्यता) गर्ने काम उपनियम ४.६.१ बमोजिमको मर्मत तथा जीर्णोद्धार प्रक्रिया निर्धारण समितिले गर्नेछ।
४.६ मर्मत तथा जीर्णोद्धार प्रक्रिया निर्धारण समितिः
४.६.१ नियम ४.५ बमोजिम प्राचीन स्मारकको मर्मत तथा जीर्णोद्धार कार्य गर्नको लागि नेपाल सरकारले देहाय बमोजिम मर्मत तथा जीर्णोद्धार प्रक्रिया निर्धारण समिति गठन गर्नेछः–
४.६.१.१ महानिदेशक, पुरातत्व विभाग – संयोजक ४.६.१.२ प्रतिनिधि, आर्किटेक्ट (रा.प.द्वितीय श्रेणी), भवन विभाग – सदस्य ४.६.१.३ डिभिजनल इन्जिनियर, पुरातत्व विभाग – सदस्य ४.६.१.४ प्रतिनिधि, (अधिकृतस्तर) महालेखा नियन्त्रक कार्यालय – सदस्य ४.६.१.५ प्रतिनिधि, (अधिकृतस्तर) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – सदस्य ४.६.१.६ प्रमुख पुरातात्विक स्थल संरक्षण तथा जीर्णोद्धार शाखा, पुरातत्व विभाग – सदस्य–सचिव
४.६.२ मर्मत तथा जीर्णोद्धार प्रक्रिया निर्धारण समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले व्यवस्थापन गर्न सक्नेछ।
४.७ विशेष ज्यालादर तथा मूल्य निर्धारण समितिः
४.७.१ नेपाल सरकारले देहायका पदाधिकारीहरू रहेको एक विशेष ज्यालादर तथा मूल्य निर्धारण समिति गठन गर्नेछः–
४.७.१.१ प्रधान अन्वेषण अधिकारी, पुरातत्व विभाग — अध्यक्ष ४.७.१.२ सिनियर डिभिजनल इन्जिनियर, भवन विभाग — सदस्य ४.७.१.३ प्रतिनिधि, (अधिकृतस्तर) महालेखा नियन्त्रकको कार्यालय — सदस्य ४.७.१.४ प्रतिनिधि, (अधिकृतस्तर) जिल्ला प्रशासन कार्यालय, काठमाडौँ — सदस्य ४.७.१.५ सिनियर डिभिजनल इन्जिनियर, पुरातत्व विभाग — सदस्य–सचिव
४.७.२ नियम ४.७.१ बमोजिम गठित समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।
४.८ विशेष ज्यालादर तथा मूल्य निर्धारण समितिको काम कर्तव्य र अधिकारः
४.८.१ नेपाल सरकार, भवन विभागले तोकिदिएको मापदण्ड अनुसार गर्नुपर्ने गरी तोकिएका प्राचीन स्मारक बाहेक अन्य प्राचीन स्मारकहरूको मर्मत, जीर्णोद्धार तथा पुनर्निर्माण गर्ने सम्बन्धमा विशेष ज्यालादर तथा मूल्य निर्धारण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ।
४.८.१.१ प्राचीन स्मारकको मर्मत, जीर्णोद्धार तथा पुन निर्माण गराउँदा कामदार तथा कालिगढहरूलाई दिइने विशेष ज्याला दरको रकम निर्धारण गर्ने।
४.८.१.२ प्राचीन स्मारकको मर्मत, जीर्णोद्धार तथा पुनर्निर्माण गराउँदा आवश्यक पर्ने परम्परागत निर्माण सामग्रीहरूको मूल्य निर्धारण गर्ने।
४.८.१.३ प्राचीन स्मारकको मर्मत, जीर्णोद्धार तथा पुनर्निर्माण गराउँदा लाग्ने कामदार तथा कालिगढहरूको संख्या तोक्ने।
४.९ बैठक भत्ता: यस नियमावली बमोजिम गठित विभिन्न समितिहरूका पदाधिकारीहरूले ती समितिहरूको बैठकमा भाग लिए बापत विभागले तोकिदिए बमोजिम बैठक भत्ता पाउन सक्नेछन्।
तर विभागले बैठक भत्ता तोक्नु अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहमति लिनुपर्नेछ।
४.१० प्राचीन स्मारक संरक्षण कोष:
४.१०.१ ऐतिहासिक तथा कलात्मक दृष्टिकोणबाट महत्वपूर्ण मानिएका प्राचीन स्मारकहरूको संरक्षण गर्नको निमित्त एक प्राचीन स्मारक संरक्षण कोष रहनेछ।
४.१०.२ कोषमा देहाय बमोजिमका रकमहरू रहनेछन्:–
४.१०.२.१ नेपाल सरकारबाट प्राप्त रकम।
४.१०.२.२ कुनै व्यक्ति वा संस्थाले चन्दा वा सहायता स्वरूप प्रदान गरेको रकम।
४.१०.२.३ अन्तर्राष्ट्रिय संघ संस्था, विदेशी सरकार वा व्यक्तिबाट प्राप्त रकम।
४.१०.२.४ संरक्षित स्मारक क्षेत्रहरूमा चलचित्र, टेलिचलचित्र, वृत्तचित्र आदि छायाङ्कन गर्दा लाग्ने शुल्कबाट प्राप्त रकम।
४.१०.२.५ स्मारक क्षेत्रमा प्रवेश गर्न लगाइएको प्रवेश शुल्क वा अन्य शुल्कबाट प्राप्त रकम।
४.१०.२.६ विभागबाट प्रकाशित हुने पुस्तक पुस्तिका, पत्रिका तथा पोष्टर आदिको बिक्रीबाट प्राप्त रकम।
४.१०.३ कोषमा जम्मा हुन आएको रकम इतिहास, कला, वास्तुकला, धार्मिक एवं सांस्कृतिक दृष्टिकोणबाट महत्त्वपूर्ण मानिएका निजी वा सार्वजनिक स्मारकहरूको जीर्णोद्धार तथा संरक्षणको निमित्त खर्च गरिनेछ।
तर कुनै खास स्मारकलाई नै तोकेर प्राप्त हुन आएको रकम सोही स्मारकको जीर्णोद्धार तथा संरक्षण कार्यमा मात्र खर्च गरिनेछ।
४.१०.४ कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखी महालेखा परीक्षकको विभाग वा सो विभागबाट तोकेको लेखापरीक्षकबाट लेखापरीक्षण गराउनु पर्नेछ।
४.११ कोष सञ्चालन समिति:
४.११.१ नियम ४.१० को उपनियम ४.१०.३ को प्रयोजनको लागि कोषको सञ्चालन गर्न देहाय बमोजिमको एक सञ्चालक समिति रहनेछः–
४.११.१.१ सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – अध्यक्ष
४.११.१.२ महानिदेशक, विभाग – सदस्य
४.११.१.३ प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
४.११.१.४ प्रतिनिधि, संस्कृति र पुरातत्व सम्बन्धी केन्द्रीय शिक्षण विभाग, त्रिभुवन विश्वविद्यालय – सदस्य
४.११.१.५ प्राचीन स्मारक संरक्षण सम्बन्धी कार्यमा संलग्न गैरसरकारी संस्थाहरू मध्येबाट नेपाल सरकारले मनोनित गरेको एक जना व्यक्ति – सदस्य
४.११.२ उपनियम ४.११.१.५ बमोजिम मनोनित व्यक्तिको पदावधि एक वर्षको हुनेछ। पुनः अर्को एक अवधिीको लागि निजको मनोनयन हुन सक्नेछ।
४.११.३ कोषको रकम कोषको सञ्चालक समितिले तोकेको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ। त्यस्तो खाताको सञ्चालन विभागको महानिदेशक र सञ्चालक समितिले तोकेको विभागको अधिकृत कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ।
४.११.४ कोष सञ्चालक समितिको सचिवको काम गर्न विभागले कुनै अधिकृत कर्मचारीलाई तोक्न सक्नेछ।
४.१२ संरक्षित स्मारक क्षेत्रभित्र चलचित्र छायाङ्कन सम्बन्धी व्यवस्थाः
४.१२.१ संरक्षित स्मारक क्षेत्रहरुभित्र चलचित्र, टेलिचलचित्र, वृत्तचित्र आदिको छायाङ्कन गर्न चाहने स्वदेशी वा विदेशी व्यक्तिले विभागको पूर्व स्वीकृति लिनु पर्नेछ।
४.१२.२ उपनियम ४.१२.१ बमोजिम विभागको स्वीकृति लिनु पर्दा अनुसूची–७ मा तोकिए बमोजिमको दस्तुर सहित विभाग समक्ष निवेदन दिनु पर्नेछ।
४.१२.३ उपनियम ४.१२.२ बमोजिम विभाग समक्ष निवेदन दिँदा छायाङ्कन गर्ने चलचित्र, टेलिचलचित्र, वृत्तचित्र आदिको कथा वा स्क्रिप्टको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ।
४.१२.४ छायाङ्कनका लागि उपयोग गरिने संरक्षित स्मारक क्षेत्र निजी स्वामित्वमा रहेको भए त्यस्ता स्मारक क्षेत्रको सञ्चालकको समेत अनुमति लिनु पर्नेछ।
४.१२.५ यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको कार्यक्रम वा नीति अनुसारको कार्यमा सघाउ पुर्याउन वा मुनाफा रहित उद्देश्यले सार्वजनिक कल्याणकारी संस्थाको लागि छायाङ्कन गर्दा नेपाल सरकारले अनुसूची-७ मा तोकिए बमोजिम दस्तुर मिनाहा गर्न सक्नेछ।
४.१३ चलचित्र सेन्सर गर्दा प्रतिनिधि आमन्त्रण गर्नु पर्नेः प्रचलित कानून बमोजिम चलचित्र, टेलिचलचित्र, वृत्तचित्र आदिको सेन्सर गर्दा संरक्षित स्मारक क्षेत्रमा छायाङ्कन गरिएको चलचित्र, टेलिचलचित्र, वृत्तचित्र आदि भए विभागका अधिकृत प्रतिनिधिलाई समेत आमन्त्रण
गर्नु पर्ने र स्वीकृति विपरीतका दृश्यहरु छायाङ्कन गरिएको देखिएमा त्यस्ता दृश्यहरु हटाउन सकिनेछ ।
अनुसूची-१ (उपनियम ४.१.१ सँग सम्बन्धित) निवेदनपत्र
श्री पुरातत्व विभाग,
........................... अञ्चल ............... जिल्लास्थित .................... ठाउँमा रहेको ........................... संरक्षित स्मारक क्षेत्रभित्र मैले/हामीले देहायको अवधिभित्र देहायको काम गर्न लागेकोले सो को लागि त्यस विभागको स्वीकृति पाउन यो निवेदन पेश गरेको छु/छौं। लेखिए बाहेक अन्य काम कुरा गरेमा प्रचलित कानून बमोजिम सुल्झाउँला बुझाउँला।
संरक्षित स्मारक क्षेत्रभित्र गर्न लागेको कामको विवरण र सो कामको लागि लाग्ने अवधि ............................................................................................................................
निवेदक, –
नाम, थर:–
दस्तखत:–
मिति:–
पूरा ठेगाना:–
अस्थायी ठेगाना:–
अनुसूची-२ (उपनियम ४.१.२ सँग सम्बन्धित) नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभाग
प.सं. मिति:–
विषय:– स्वीकृति।
श्री ................................. ...................................... ......................................।
महाशय,
तपाईंले ........................ अञ्चल .................... जिल्ला .............................(ठाउँ) को ............................... प्राचीन स्मारक रहेको क्षेत्रभित्र तपसीलमा लेखिएको काम गर्न स्वीकृतिको लागि यस विभागमा निवेदन दिनुभएकोमा देहायका शर्तहरू पालन गर्ने गरी तपसीलका काम गर्न दिने भनी मिति ................. मा निर्णय गरिएकोले यो स्वीकृति दिइएको छ। तत्सम्बन्धी ऐन नियम र उल्लेखित शर्तहरूको पूर्ण पालन गरी उल्लेखित अवधिभित्र काम पूरा गर्नुहोला, अन्यथा कानून बमोजिम हुने व्यहोरा समेत अवगत गराइन्छ।
तपसील
शर्तहरू र कामको अवधि
............................. पुरातत्व अधिकृत
अनुसूची-३ (उपनियम ४.३.१ सँग सम्बन्धित) पुरातात्विक वस्तुको विवरण फाराम – १
अञ्चल ....................... जिल्ला .......................
–––––––––––––– प्रमुख जिल्ला अधिकारी मिति:– ..................
$\bullet$ पहिलो संशोधनद्वारा संशोधित।
अनुसूची-४ (उपनियम ४.३.२ सँग सम्बन्धित) पुरातत्त्विक वस्तुको विवरण फाराम–२
अञ्चल ....................... जिल्ला .......................
––––––––––––––––––––– प्रमुख जिल्ला अधिकारी मिति:– ....................
$\bullet$ पहिलो संशोधनद्वारा संशोधित।
अनुसूची-५ (उपनियम ४.४.१ सँग सम्बन्धित) निवेदनपत्र
श्री पुरातत्व विभाग, .............................
मैले/हामीले यस संस्थाले .................................. अञ्चल .................... जिल्ला स्थित ................................... (ठाउँ) को ........................... प्राचीन स्मारक रहेको ठाउँमा तपसीलको चार किल्लाभित्रको क्षेत्रमा मिति ...................... देखि ................ सम्म पुरातात्विक उत्खनन् गर्न चाहेकोले सो को पूर्व स्वीकृतिको लागि उक्त स्थानको फोटो, नक्सा र तत्सम्बन्धी अन्य विवरण समेत यसै साथ संलग्न राखी यो निवेदन गरेको छु/छौं।
तपसील निवेदक
पूर्वः– व्यक्ति वा संस्थाको नामः–
पश्चिमः– दस्तखतः–
उत्तरः– मितिः–
दक्षिणः– अस्थायी ठेगानाः–
अनुसूची-६ (उपनियम ४.४.२ सँग सम्बन्धित) नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभाग
प.सं. मिति:–
विषय:– पुरातात्विक उत्खनन् गर्ने स्वीकृति।
श्री ............................ .............................।
महाशय,
तपाईंले .................... अञ्चल ................... जिल्ला ..................... (ठाउँ) को ........................ प्राचीन स्मारक रहेको ठाउँमा तपसीलको चार किल्लाभित्रको क्षेत्रमा पुरातात्विक उत्खनन् गर्ने पूर्व स्वीकृतिको लागि यस विभागमा निवेदन दिनु भएकोमा आवश्यक जाँचबुझ गर्दा उक्त ठाउँमा देहायका शर्तहरू पालन गर्ने गरी पुरातात्विक उत्खनन् गर्न स्वीकृति दिने भनी मिति ................... मा नेपाल सरकारको निर्णय भएकोले उत्खनन् गर्ने स्वीकृति प्रदान गरिएको छ। तत्सम्बन्धमा ऐन नियम र उल्लिखित शर्तहरूको पूर्ण पालन गरी गर्नुहोला, अन्यथा कानून बमोजिम हुने व्यहोरा समेत अवगत गराइन्छ।
तपसील ............................... पुरातत्व अधिकृत
पूर्व:–
पश्चिम:–
उत्तर:–
दक्षिण:–
शर्तहरू:–
अनुसूची-७ (उपनियम ४.१२.२ सँग सम्बन्धित) चलचित्र छायाङ्कन गर्दा लाग्ने दस्तुर
१. नेपाली नागरिक वा अन्य कुनै संस्थाबाट निर्माण गरिने प्रत्येक कथानक चलचित्रका लागि दुई हजार रुपैयाँ।
२. नेपाली नागरिक वा अन्य कुनै संस्थाबाट निर्माण गरिने प्रत्येक टेलचलचित्र, वृत्तचित्र वा विज्ञापनका लागि प्रयोग हुने चलचित्रका लागि पाँच सय रुपैयाँ।
३. विदेशी नागरिक वा संस्थाबाट निर्माण गरिने प्रत्येक कथानक चलचित्रका लागि अमेरिकी डलर तीन सय वा सो बराबरको नेपाली रुपैयाँ।
४. विदेशी नागरिक वा संस्थाबाट निर्माण गरिने प्रत्येक टेलचलचित्र, वृत्तचित्र वा विज्ञापनको लागि प्रयोग हुने चलचित्रका लागि अमेरिकी डलर एक सय वा सो बराबरको नेपाली रुपैयाँ।