प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण नियमावली, २०६६
नेपाल राजपत्रमा प्रकाशित मिति २०६६।१०।१८
प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ को दफा ३९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण नियमावली, २०६६” रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ सम्झनु पर्छ।
(ख) “उपसमिति” भन्नाले ऐनको दफा २४ को उपदफा (२) बमोजिम गठन गरिएको उपसमिति सम्झनु पर्छ।
३. उजुरी दिन सकने: (१) ऐनको दफा २३ बमोजिम उजुरी दिन चाहिने व्यक्तिले देहायका विवरण खुलाई बोर्ड वा बजार संरक्षण अधिकृत समक्ष उजुरी दिन सक्नेछ –
(क) स्वच्छ प्रतिस्पर्धा विपरीतको काम कारबाही गर्ने व्यक्ति वा प्रतिष्ठानको नाम र ठेगाना,
(ख) स्वच्छ प्रतिस्पर्धा विपरीत भएको काम कारबाही र सो काम कारबाही भएको स्थान तथा मिति,
(ग) स्वच्छ प्रतिस्पर्धा विपरीत काम कारबाहीबाट भएको वा हुन सक्ने हानी नोक्सानीको विवरण,
(घ) उजुरीलाई पुष्टी गर्ने प्रमाण,
(ङ) उजुरीकर्तालाई उजुरीको सम्बन्धमा जानकारी भएको अन्य व्यहोरा,
(च) उजुरीकर्ताले आफ्नो नाम गोप्य राख्न चाहेमा सो व्यहोरा,
(छ) उजुरीकर्ताको नाम, थर र बतन।
(२) उपनियम (१) बमोजिम उजुरी दिँदा उजुरीकर्ताले आफ्नो नाम गोप्य राख्न चाहेमा सो व्यहोरा समेत उजुरीमा खुलाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम उजुरीकर्ताले आफ्नो नाम गोप्य राख्न अनुरोध गरेमा बजार संरक्षण अधिकृतले उजुरीकर्ताको नाम गोप्य राख्न सक्ने छ।
४. बजार संरक्षण अधिकृतको योग्यता: बजार संरक्षण अधिकृत हुनको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कुनै विषयमा कम्तीमा स्नातकोत्तर हासिल गरेको हुनु पर्नेछ।
५. बजार संरक्षण अधिकृतको काम, कर्तव्य र अधिकार: (१) ऐन तथा यस नियमावलीमा अन्यत्र लेखिएका बाहेक बजार संरक्षण अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ–
(क) कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण गर्दा स्वच्छ प्रतिस्पर्धा विपरीतको काम कारबाही भए नभएको सम्बन्धमा सम्बन्धित ठाउँको निरीक्षण गर्ने,
(ख) अनुसन्धान तथा तहकीकातको सिलसिलामा सम्बन्धित व्यक्ति वा प्रतिष्ठानसँग सोधपुछ गर्ने वा बयान लिने,
(ग) निरीक्षणबाट कुनै व्यक्ति वा प्रतिष्ठानलाई कारबाही गर्न आवश्यक भएमा सो गर्ने,
(घ) कुनै ठाउँको खानतलासी गर्दा स्वच्छ प्रतिस्पर्धा विपरीतको काम कारबाही भएको पाइएमा त्यस्तो काम कारबाहीमा प्रयोग भएको वस्तु कब्जामा लिने।
(२) उपनियम (१) को खण्ड (क) बमोजिम निरीक्षण गर्दा उपभोक्ता वा बजार संरक्षण क्षेत्रमा काम गर्ने कुनै सङ्घ संस्थाको सहयोग लिन सकिनेछ।
६. निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा अपनाउनु पर्ने कार्यविधि: बोर्ड बजार संरक्षण अधिकृत वा उपसमितिले ऐन तथा यस नियमावली बमोजिम कुनै ठाउँको निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा देहाय बमोजिमको प्रक्रिया अपनाउनु पर्नेछ:—
(क) निरीक्षण, जाँचबुझ वा खानतलासीको लागि कुनै घर, कम्पाउण्ड, गोदाम, कारखाना वा यस्तै अन्य ठाउँमा प्रवेश गर्दा सम्बन्धित व्यक्तिलाई यथासम्भव सूचना दिई प्रवेश गर्ने,
(ख) खण्ड (क) बमोजिम प्रवेश गर्नु अघि सो ठाउँमा उपस्थित व्यक्तिलाई आफ्नो शरीरको तलासी लिन दिने,
(ग) सम्भव भएसम्म स्थानीय निकायका प्रतिनिधि वा कर्मचारी वा सम्बन्धित व्यक्तिको रोहवरमा निरीक्षण, जाँचबुझ वा खानतलासी गर्ने,
(घ) सम्भव भएसम्म कुनै किसिमको हानि नोक्सानी नहुने गरी निरीक्षण, जाँचबुझ वा खानतलासी गर्ने,
(ङ) निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा कुनै वस्तु बरामद गर्नु पर्ने भएमा सोको बरामदि मुचुल्का तयार गर्ने र त्यस्तो मुचुल्कामा रोहवरमा रहेका व्यक्तिको सहीछाप गराउने।
७. बजार अनुगमन गर्ने: (१) कुनै व्यक्ति वा प्रतिष्ठानले स्वच्छ प्रतिस्पर्धा विपरीतको कुनै काम कारबाही गरे वा नगरेको सम्बन्धमा बोर्डले समय समयमा अनुगमन गर्न गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम अनुगमन गर्नेले उपभोक्ता वा बजार संरक्षणको क्षेत्रमा काम गर्ने कुनै संघ संस्थाको सहयोग लिन सक्नेछ।
(३) बोर्ड बाहेक अन्य व्यक्तिले उपनियम (१) बमोजिम अनुगमन गरेको भए त्यसरी अनुगमन गरेको सात दिनभित्र बोर्ड समक्ष आफ्नो प्रतिवेदन पेश गर्नु पर्नेछ।
८. नमूना संकलन तथा परीक्षण गर्न सकिने (१) बजार संरक्षण अधिकृत वा उपसमितिले निरीक्षण तथा जाँचबुझको क्रममा सम्बन्धित व्यक्ति वा प्रतिष्ठानबाट परीक्षण गर्ने प्रयोजनको लागि कुनै वस्तुको नमूना सङ्कलन गर्न सकिनेछ।
(२) उपनियम (१) बमोजिम नमूना संकलन गर्दा बजार संरक्षण अधिकृत वा उपसमितिले परीक्षणको लागि आवश्यक पर्ने न्यूनतम परिमाण भन्दा कम नहुने गरी तीनवटा नमूना प्याकेट तयार गर्नु पर्नेछ र त्यस्तो प्याकेटमा आफ्नो तथा उपलब्ध भएसम्म सम्बन्धित व्यक्ति वा प्रतिष्ठानका प्रतिनिर्ध र अन्य दुईजना व्यक्ति समेतको सहीछाप गराई तसलबन्दी गर्नु पर्नेछ।
(३) बजार संरक्षण अधिकृत वा उपसमितिले उपनियम (२) बमोजिम तयार गरेको नमूना प्याकेटहरूमध्ये एउटा प्याकेट परीक्षणको लागि प्रयोगशालामा पठाउनु पर्नेछ र बाँकी प्याकेट आफू समक्ष सुरक्षितसाथ राख्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्रयोगशालाले गरेको परीक्षणबाट प्राप्त परिणामलाई सम्बन्धित व्यक्ति वा प्रतिष्ठानले चित्त नबुझाई पुन: परीक्षण गराउन चाहेमा बजार संरक्षण अधिकृत वा उपसमितिले उपनियम (३) बमोजिम आफू समक्ष सुरक्षित राखेको नमूना प्याकेटमध्येको एउटा प्याकेट पुन: परीक्षण गराउन प्रयोगशालामा पठाउनु पर्नेछ।
(५) उपनियम (३) वा (४) बमोजिम नमूना परीक्षण गराउँदा परिणाममा तात्विक भिन्नता आएमा बजार संरक्षण अधिकृत वा उपसमितिले आफू समक्ष रहेको तेस्रो प्याकेटको नमूना परीक्षणको लागि प्रयोगशालामा पठाउन सकनेछ ।
(६) उपनियम (३), (४) र (५) बमोजिम परीक्षण गराई प्राप्त परिणाममध्ये दुईवटा परीक्षणको परिणाम समान भएमा त्यस्तो परिणाम र तीनवटै परीक्षणको परिणाम फरक फरक भएमा उपनियम (३) बमोजिमको परीक्षणबाट आएको परिणाम मान्य हुनेछ।
(७) उपनियम (४) वा (५) बमोजिम कुनै वस्तुको नमूना प्रयोगशालामा परीक्षण गराउँदा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा प्रतिष्ठानले व्यहोर्नु पर्नेछ।
९. वस्तु वा सेवाको आपूर्ति रोक्का राख्न सकने (१) ऐनको दफा ३१ बमोजिम कुनै वस्तु वा सेवाको आपूर्ति वा वितरणमा रोक लगाउन अदालतबाट आदेश
भएमा बोर्ड वा बजार संरक्षण अधिकृतले त्यस्तो वस्तु वा सेवासँग सम्बन्धित घर, स्थान, गोदाम, पसल, बाकस वा अन्य यस्तै चीज सिलबन्दी गरी सोको दुई प्रति मुचुल्का तयार गरी एक प्रति आफ्नो जिम्मामा राख्नु पर्नेछ र एक प्रति सम्बन्धित व्यक्ति वा प्रतिष्ठानलाई दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सिलबन्दी गर्दा बोर्डबाट खटिने कर्मचारी वा बजार संरक्षण अधिकृतले कार्यालयको छाप लगाई त्यस्तो सिलबन्दीमा आफ्नो सहीछाप समेत गर्नु पर्नेछ।
१०. वस्तु वा सेवा फुकुवा गर्न लेखी पठाउनु पर्ने: नियम ९ बमोजिम रोक्का गरिएको कुनै वस्तु वा सेवाको सम्बन्धमा जाँचबुझ गर्दा मुद्दा चलाउन नपर्ने भएमा बोर्ड वा बजार संरक्षण अधिकृतले रोक्का राखेको त्यस्तो वस्तु वा सेवा फुकुवा गर्न अदालतमा लेखी पठाउनु पर्नेछ।
११. रोक्का राखिएको वस्तु लिलाम बिक्री वा नष्ट गर्न सकिने: (१) नियम ९ बमोजिम रोक्का राखिएको कुनै वस्तु तत्काल प्रयोग नगरेमा सडी गली वा प्रयोग गर्ने म्याद समाप्त हुने भएमा बोर्ड वा बजार संरक्षण अधिकृतले सार्वजनिक बढबढ गरी त्यस्तो वस्तु लिलाम बिक्री गर्नु पर्नेछ।
तर गुणस्तर वा अन्य कुनै कारणबाट त्यस्तो वस्तुले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएमा वातावरणलाई असर नगर्ने गरी सो वस्तु नष्ट गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम लिलाम बिक्री गरिएको वस्तुबाट प्राप्त भएको रकम बोर्ड वा बजार संरक्षण अधिकृतले पछि अदालतबाट ठहरे बमोजिम हुने गरी आफ्नो कार्यालयको धरौटी खातामा जम्मा गर्नु पर्नेछ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ९ बमोजिम रोक्का राखिएको वस्तु कबुबाहिरको परिस्थिति परी सडे गलेमा वा लिलाम बिक्री हुन नसकी सो उपनियम बमोजिम नष्ट गरिएकोमा त्यस्तो वस्तुप्रति बोर्ड वा बजार संरक्षण अधिकृत जिम्मेवार हुने छैन।
१२. विभागीय कारबाहीको लागि सिफारिस गर्ने: (१) बजार संरक्षण अधिकृतले ऐन तथा यस नियमावली बमोजिम कुनै काम कारबाही गर्दा कुनै व्यक्ति वा प्रतिष्ठानलाई दुःख वा हैरानी दिने उद्देश्यले जानीजानी वा बदनीयतपूर्वक कुनै
काम कारबाही गरेको देखिन आएमा बोर्डले त्यस्तो बजार संरक्षण अधिकृतलाई प्रचलित कानून बमोजिम विभागीय कारबाही गर्नको लागि अख्तियारवाला समक्ष लेखि पठाउनु पर्नेछ।
(२) उपसमितिका सदस्यले उपनियम (१) बमोजिमको काम गर्दा र त्यस्ता सदस्य सरकारी वा सार्वजनिक संस्थाको कर्मचारी भएमा त्यस्तो कर्मचारी उपर विभागीय कारबाही गर्नको लागि बोर्डले अख्तियारवाला समक्ष लेखि पठाउनु पर्नेछ।
१३. ऐन लागू नहुने व्यवसाय तोक्न सकिने: ऐनको दफा ११ को खण्ड (ख) को प्रयोजनको लागि ऐन लागू नहुने साना किसानबाट उत्पादित कृषि उत्पादन तथा कृषिजन्य सहकारी व्यवसायको नाम बोर्डको सिफारिसमा, नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ।
१४. निर्देशन दिन सकिने: (१) बोर्ड वा बजार संरक्षण अधिकृत वा उपसमितिले निरीक्षण, जाँचबुझ, खानतलासी, अनुसन्धान वा तहकीकातको सिलसिलामा कुनै व्यक्ति वा प्रतिष्ठानलाई आवश्यक निर्देशन दिन सकिनेछ।
(२) बोर्ड वा बजार संरक्षण अधिकृत वा उपसमितिले उपनियम (१) बमोजिम दिएको निर्देशनको पालना गर्नु सम्बन्धित व्यक्ति वा प्रतिष्ठानको कर्तव्य हुनेछ।
(३) उपनियम (१) बमोजिम बजार संरक्षण अधिकृतले दिएको निर्देशन उपर चित्त नबुझ्ने व्यक्ति वा प्रतिष्ठानले त्यस्तो आदेश पाएको मितिले पन्ध्र दिनभित्र बोर्ड समक्ष उजुरी दिन सक्नेछ र त्यस्तो उजुरीको सम्बन्धमा बोर्डले आवश्यक जाँचबुझ गरी उपयुक्त निर्णय गर्नु पर्नेछ।
१५. बजार संरक्षण अधिकृतको अधिकार प्रयोग गर्न सकने: उपसमितिले ऐनको दफा २५ को उपदफा (१) बमोजिम कुनै ठाउँको निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा यस नियमावली बमोजिम बजार संरक्षण अधिकृतलाई भएको अधिकारको समेत प्रयोग गर्न सकिनेछ।
१६. बाधा विरोध गर्न नहुने: (१) यस नियम बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासीको सिलसिलामा कसैले बाधा विरोध गर्न हुँदैन।
(२) उपनियम (१) बमोजिम कसैले बाधा विरोध गरेमा बजार संरक्षण अधिकृत वा उपसमितिले स्थानीय सुरक्षा अधिकारीको सहयोग लिई पक्राउ गर्न सक्नेछ।
१७. प्रतिवेदन पेश गर्ने: (१) बजार संरक्षण अधिकृत वा उपसमितिले यस नियमावली बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गरेको सात दिनभित्र निरीक्षण, जाँचबुझ वा खानतलासी सम्बन्धी प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि बोर्डले तत्सम्बन्धमा आवश्यक कारबाही गर्न बजार संरक्षण अधिकृत वा उपसमितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र बजार संरक्षण अधिकृत वा उपसमितिले बोर्डको निर्देशन बमोजिम कारबाही गर्नु पर्नेछ।
१८. बैठक भत्ता: बोर्डको बैठकमा भाग लिए बापत बोर्डका सदस्यले नेपाल सरकारले तोकिदिए बमोजिमको बैठक भत्ता पाउने छन्।
१९. सूचना केन्द्रको रूपमा काम गर्ने: वाणिज्य विभागले प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण सम्बन्धी सूचना केन्द्रको रूपमा समेत काम गर्नेछ।