प्रमाणीकरण र प्रकाशन मिति २०७२।०४।२७
संशोधन गर्ने ऐन १. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ | २०७२।११।१३ २. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ | २०८२।०४।१४
संवत् २०७२ सालको ऐन नं. ३ राष्ट्रिय युवा परिषद्को सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: युवाको हक हितको संरक्षण र संवर्धन गरी समुन्नत मुलुक निर्माणका लागि सक्षम नागरिक तयार गर्न तथा युवालाई सशक्तीकरण गरी युवा सम्बन्धी विषयको नीति निर्माण देखि कार्यान्वयन तहसम्म आवश्यकता अनुसार उनीहरूलाई संलग्न गराई राष्ट्रिय विकासको मूलप्रवाहमा समावेश गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका-संसद्को हैसियतमा संविधान सभाले यो ऐन बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “राष्ट्रिय युवा परिषद् ऐन, २०७२” रहेको छ। (२) यो ऐन प्रमाणीकरण भएको एकानब्बेऔँ दिनदेखि देशभर प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा,– (क) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनुपर्छ। (ख) “उपाध्यक्ष” भन्नाले परिषद्को उपाध्यक्ष सम्झनुपर्छ। (ग) “जिल्ला युवा समिति” भन्नाले दफा ११ बमोजिमको जिल्ला युवा समिति सम्झनुपर्छ। (घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐनअन्तर्गत बनेको नियम वा विनियमामा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ।
१ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित।
(ङ) “परिषद्” भन्नाले दफा ३ बमोजिम स्थापना भएको राष्ट्रिय युवा परिषद् सम्झनुपर्छ।
(च) “मन्त्रालय” भन्नाले युवा तथा खेलकुद मन्त्रालय सम्झनुपर्छ।
(छ) “युवा” भन्नाले सोह्र वर्षदेखि चालीस वर्षसम्मको उमेर भएको व्यक्ति सम्झनुपर्छ।
(ज) “विशेष समुदायका युवा” भन्नाले द्वन्द्व पीडित, जोखिममा परेका, अपाङ्गता भएका वा सीमान्तकृत अल्पसङ्ख्यक समुदायका युवा सम्झनुपर्छ।
(झ) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनुपर्छ र सो शब्दले परिषद्को अध्यक्ष, उपाध्यक्ष र सदस्य-सचिव समेतलाई जनाउँछ।
(ञ) “समिति” भन्नाले दफा ८ बमोजिमको कार्यकारी समिति सम्झनुपर्छ।
परिच्छेद–२ परिषद्को स्थापना
३. परिषद्को स्थापनाः (१) युवाको हक हितको संरक्षण र संवर्द्धन गर्ने काम समेतका लागि राष्ट्रिय युवा परिषद् स्थापना गरिएको छ।
(२) परिषद्को केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ।
(३) परिषद्ले आवश्यक अनुसार काठमाडौँ उपत्यका बाहिर पनि आफ्नो कार्यालय खोल्न सक्नेछ।
४. परिषद् स्वायत्त र संगठित संस्था हुनेः (१) परिषद् अविच्छिन्न उत्तराधिकारवाला एक स्वायत्त र संगठित संस्था हुनेछ।
(२) परिषद्को सबै काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ।
(३) परिषद्ले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेच बिक्री गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ। तर परिषद्ले अचल सम्पत्ति बेच बिक्री गर्नु अघि नेपाल सरकारको स्वीकृति अनिवार्य रूपमा लिनुपर्नेछ।
(४) परिषद्ले व्यक्ति सरह आफ्नो नामबाट नामिलिस उजुर गर्न सक्नेछ र परिषद् उपर पनि सोही नामबाट नामिलिस उजुर लाग्न सक्नेछ।
(५) परिषद्ले व्यक्ति सरह करार गर्न, करार बमोजिमको अधिकार प्रयोग गर्न तथा दायित्व निर्वाह गर्न सक्नेछ ।
परिच्छेद–३ परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
५. परिषद्को गठन : (१) परिषद्को गठन देहाय बमोजिम हुनेछः-
(क) युवा तथा खेलकुद मन्त्री वा राज्यमन्त्री – अध्यक्ष (ख) नेपाल सरकारले नियुक्त गरेको व्यक्ति – उपाध्यक्ष (ग) सचिव, अर्थ मन्त्रालय – सदस्य (घ) सचिव, उद्योग मन्त्रालय – सदस्य (ङ) सचिव, कृषि विकास मन्त्रालय – सदस्य (च) सचिव, युवा तथा खेलकुद मन्त्रालय – सदस्य (छ) सचिव, श्रम तथा रोजगार मन्त्रालय – सदस्य (ज) सचिव, शिक्षा मन्त्रालय – सदस्य (झ) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – सदस्य (ञ) सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय – सदस्य (ट) युवासम्बन्धी विभिन्न संघ, संस्थाबाट प्रतिनिधित्व हुने गरी चार जना – सदस्य (ठ) युवाको हक, हितको संरक्षण र संवर्द्धनमा विशेष योगदान पुर्याएका युवाहरुमध्येबाट आदिवासी/जनजाति, मधेशी, दलित, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक समुदाय वा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने पन्चर जना – सदस्य (ड) उद्योग, श्रम, कृषि, खेलकुद, विज्ञान, प्रविधि तथा वातावरण, साहित्य तथा कलाको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी छ जना – सदस्य
(२) उपदफा (१) को खण्ड (ट), (ठ) र (ड) बमोजिमका सदस्यहरुको मनोनयन समावेशी सिद्धान्तको आधारमा मन्त्रालयले गर्नेछ र त्यसरी मनोनयन गर्दा कम्तिमा पचास प्रतिशत महिलाको प्रतिनिधित्व गराइनेछ।
(३) परिषद्को वरिष्ठतम कर्मचारीले परिषद्को सदस्य-सचिवको रुपमा काम गर्नेछ।
(४) मनोनित सदस्यहरुको पदावधि चार वर्षको हुनेछ।
(५) उपदफा (४) मा जुनसुकै कुराले लेखिएको भए तापनि कुनै मनोनित सदस्यले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको भनी परिषद्ले निर्णय गरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत सदस्यको पदबाट हटाउन सक्नेछ।
(६) उपदफा (५) बमोजिम मनोनित सदस्यहरुलाई पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौका दिनु पर्नेछ।
६. परिषद्को काम, कर्तव्य र अधिकारः यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) युवा सम्बन्धी दीर्घकालीन नीति तर्जुमा गरी नेपाल सरकारसमक्ष सिफारिस गर्ने,
(ख) नेपाल सरकारबाट स्वीकृत नीतिको अधीनमा रही युवा सम्बन्धी योजना तथा कार्यक्रम बनाई लागू गर्ने,
(ग) परिषद्सँग आवद्धता प्राप्त गर्ने संघ, संस्थाहरुले पालन गर्नु पर्ने शर्तहरु निर्धारण गर्ने,
(घ) विकास निर्माण तथा समाज सेवाको क्षेत्रमा युवालाई स्वयंसेवकको रुपमा परिचालन गर्ने सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने,
(ङ) युवालाई राष्ट्र निर्माणमा सहभागी हुनु तथा मुलुकको निर्माणमा केन्द्रित भई अघि बढ्न उत्प्रेरित गर्ने,
(च) परिषद्को वार्षिक योजना कार्यक्रम तथा बजेट स्वीकृत गर्ने,
(छ) युवा विकास, सशक्तीकरण एवं मूलप्रवाहिकरण सम्बन्धी विषयमा नेपाल सरकारलाई सुझाव दिने,
(ज) परिषद्को लागि आवश्यक कर्मचारीको दरबन्दी संख्या निर्धारण गर्ने,
(झ) तोकिएबमोजिमका काम गर्ने, गराउने।
७. परिषदको बैठक र निर्णय: (१) परिषदको बैठक आवश्यकता अनुसार बस्नेछ।
दुई बैठक बीचको अन्तर सामान्यतया तीन महिना भन्दा बढी हुने छैन।
(२) परिषदको बैठक अध्यक्षको निर्देशनमा उपाध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(३) परिषदको बैठक हुनुभन्दा कम्तीमा अठ्चालीस घण्टा अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना परिषदका सदस्य-सचिवले सदस्यहरुलाई दिनेछ।
(४) परिषदमा तत्काल कायम रहेका कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा परिषदको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ।
(५) परिषदको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ।
(६) परिषदको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
(७) परिषदको बैठकको निर्णय उपाध्यक्षले प्रमाणित गरी राख्नेछ।
(८) परिषदले आवश्यक ठानेमा परिषदको कामसँग सम्बन्धित कुनै विशेषज्ञ वा पदाधिकारीलाई परिषदको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।
(९) परिषदको बैठक सम्बन्धी अन्य कार्यविधि परिषद आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
परिच्छेद–४ समितिको गठन तथा काम, कर्तव्य र अधिकार
८. समितिको गठन: (१) परिषदको कार्यकारी निकायको रुपमा काम गर्न एक कार्यकारी समिति रहनेछ।
(२) समितिको गठन देहाय बमोजिम हुनेछ: -
(क) उपाध्यक्ष – अध्यक्ष (ख) मन्त्रालयले तोकेको सो मन्त्रालयको युवा कार्यक्रम हेर्ने सहसचिव – सदस्य
(ग) परिषद्का सदस्यहरूमध्येबाट कम्तीमा दुईजना महिला रहने गरी परिषद्ले मनोनित गरेका चारजना – सदस्य
(घ) परिषद्को वरिष्ठतम कर्मचारी – सदस्य-सचिव
(३) उपदफा (२) को खण्ड (ग) बमोजिमका सदस्यको पदावधि परिषद्को सदस्य कायम रहेसम्मको अवधिका लागि हुनेछ।
९. समितिको बैठक र निर्णयः (१) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ।
(२) उपाध्यक्षले तोको मिति, समय र स्थानमा समितिको बैठक बस्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएर भए तापनि उपाध्यक्षको अनुपस्थितिमा सदस्य-सचिवले समितिका सदस्यहरूसँग परामर्श गरी तोको मिति, समय र स्थानमा समितिको बैठक बस्न सक्नेछ।
(४) समितिको बैठक हुनुभन्दा कम्तीमा चौबीस घण्टा अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना सदस्य-सचिवले समितिका सदस्यहरूलाई दिनेछ।
(५) समितिको कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ।
(६) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले र निजको अनुपस्थितिमा समितिका सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले गर्नेछ।
(७) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
(८) समितिको बैठकको निर्णय बैठकको अध्यक्षता गर्ने व्यक्तिले प्रमाणित गरी राख्नेछ।
(९) समितिले आवश्यक ठानेमा समितिको कामसँग सम्बन्धित कुनै विशेषज्ञ वा पदाधिकारीलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।
(१०) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
१०. समितिको काम, कर्तव्य र अधिकार: यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) परिषद्को वार्षिक योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृतिको लागि परिषद् समक्ष पेश गर्ने,
(ख) परिषद्सँग आवद्ध हुन चाहने संघ, संस्थालाई आवद्धता प्रदान गर्ने सम्बन्धी शर्त, विधि र प्रक्रिया निर्धारण गरी स्वीकृतिको लागि परिषद् समक्ष पेश गर्ने,
(ग) परिषद्बाट स्वीकृत नीति र मार्गदर्शनको अधीनमा रही युवा विकास, परिचालन तथा युवा सशक्तीकरण सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(घ) युवालाई विकासको मूलप्रवाहमा परिचालन गर्न अभियानमूलक कार्य सञ्चालन गर्ने, गराउने,
(ङ) युवका लागि स्वरोजगार प्रवर्द्धन तथा उद्यमशीलता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(च) युवालाई विकास निर्माण तथा समाज सेवाको क्षेत्रमा स्वयंसेवकको रुपमा परिचालन गर्ने, गराउने,
(छ) युवालाई राष्ट्रिय विकासमा समाहित गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ज) युवा विकास तथा युवा परिचालन सम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, गराउने,
(झ) युवालाई आत्मनिर्भर हुन सहयोग पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ञ) युवालाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराउन पहल गर्ने,
(ट) परिषद्बाट सम्पादन गरिने कार्य मितव्ययी र प्रभावकारी ढंगबाट सम्पादन गर्न तथा वित्तीय उत्तरदायित्व प्रणालीलाई विश्वसनीय बनाउन आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्ने,
(ठ) युवा सम्बन्धी विभिन्न निकायद्वारा सञ्चालित कार्यक्रमको समन्वय गर्ने,
(ड) युवा सम्बन्धी सूचनाको व्यवस्थापन गर्ने तथा एकीकृत त्यांक तयार गर्ने,
(ढ) युवासम्बन्धी संघ, संस्थाको क्षमता अभिवृद्धि गर्ने, गराउने,
(ण) तोकिएबमोजिमका अन्य कार्य गर्ने, गराउने।
परिच्छेद–५ जिल्ला युवा समिति
११. जिल्ला युवा समितिको गठन: (१) जिल्लास्तरमा युवा सम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्ने काम समितिको लागि प्रत्येक जिल्लामा एक जिल्ला युवा समिति रहनेछ।
(२) जिल्ला युवा समितिको गठन देहाय बमोजिम हुनेछः–
(क) नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी स्थानीय तहमा युवाको संरक्षण, संवर्धन र युवा विकास परिचालनको क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरी विशेष योगदान पुर्याएका व्यक्तिहरुमध्येबाट परिषद्ले मननानी गरेको व्यक्ति – अध्यक्ष (ख) महिला तथा बालबालिका कार्यालयको प्रमुख – सदस्य (ग) जिल्ला समन्वय समितिको प्रतिनिधि – सदस्य (घ) जिल्ला शिक्षा कार्यालयको अधिकृत स्तरको प्रतिनिधि – सदस्य (ङ) परिषद्मा आवद्ध युवासम्बन्धी स्थानीय संघ, संस्थाहरुमध्येबाट एक जना प्रतिनिधि – सदस्य (च) युवाको हक, हितको संरक्षण र संवर्द्धन र समाज सेवाको क्षेत्रमा विशेष योगदान पुर्याएका युवाहरुमध्येबाट मनोनीत तीन जना – सदस्य (छ) जिल्ला युवा समितिको कार्यालय प्रमुख – सदस्य-सचिव
(३) उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिमका सदस्यहरुको मनोनयन समावेशी सिद्धान्तको आधारमा परिषद्ले गर्नेछ र त्यसरी मनोनयन गर्दा कम्तीमा पचास प्रतिशत महिलाको प्रतिनिधित्व गराइनेछ।
(४) जिल्ला युवा समितिको अध्यक्ष तथा मनोनित सदस्यहरुको पदावधि चार वर्षको हुनेछ।
(५) उपदफा (४) मा зазнаइएका कुरा लेकिएका भएतापनि जिल्ला युवा समितिको अध्यक्ष वा मनोनित कुनै सदस्यले आफ्नो पद अनुरूपको आचरण नगरेको वा जिम्मेवारी पुरा नगरेको देखिएमा परिषद्ले त्यस्तो अध्यक्ष वा सदस्यलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन।
(६) जिल्ला युवा समितिको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
(७) जिल्ला युवा समितिको कार्यालय परिषद्ले तोकेको स्थानमा रहनेछ।
१२. जिल्ला युवा समितिको काम, कर्तव्य र अधिकार: जिल्ला युवा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) परिषद्बाट स्वीकृत नीतिको अधीनमा रही युवा सम्बन्धी जिल्लास्तरीय योजना तथा कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्ने, गराउने, (ख) स्थानीय तह, युवा सम्बन्धी संघ, संस्था, गैरसरकारी संस्था तथा निजी क्षेत्रको साझेदारीमा जिल्लास्तरमा युवासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने, (ग) स्थानीयस्तरमा सञ्चालन हुने युवा सम्बन्धी कार्यक्रमको समन्वय एवं सहजीकरण गर्ने, (घ) युवा सम्बन्धी कार्यक्रम सञ्चालन गर्न स्थानीयस्तरमा स्रोत साधन जुटाउने, (ङ) विशेष समुदायका युवालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने, गराउने, (च) परिषद्ले तोके बमोजिमको काम गर्ने, गराउने।
परिच्छेद–६ परिषद्सँग आवद्धता र कार्यक्रम सञ्चालन
१३. युवा सम्बन्धी संघ, संस्थालाई आबद्धता प्रदान गर्नेः (१) युवाको हक, हितको संरक्षण गर्ने उद्देश्य राखी प्रचलित कानून बमोजिम दर्ता भएका युवा सम्बन्धी कुनै संघ वा संस्था परिषद्मा आबद्ध हुन चाहेमा देहायको विवरण खुलाई परिषद् समक्ष निवेदन दिनु पर्नेछः-
(क) संघ वा संस्थाको नाम, (ख) संघ वा संस्थाको उद्देश्य, (ग) संघ वा संस्थाको नवीकरण बहाल रहने अवधि, (घ) संघ वा संस्थाका कार्य समितिका सदस्यहरूको नाम र ठेगाना।
(२) उपदफा (१) बमोजिम निवेदन दिँदा सम्बन्धित संघ वा संस्थाको विधान समेत संलग्न गर्नु पर्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिम प्राप्त निवेदन सहितका कागजात जाँचबुझ गर्दा निवेदकको माग बमोजिम त्यस्तो संघ वा संस्थालाई परिषद्सँग आबद्धता प्रदान गर्न उपयुक्त देखिएमा परिषद्ले तोकिए बमोजिमको दस्तुर लिई सो संघ वा संस्थालाई परिषद्सँग आबद्धता प्रदान गर्नेछ।
(४) उपदफा (३) बमोजिम परिषद्मा आबद्ध भएका युवा सम्बन्धी संघ वा संस्थाले आफ्नो आबद्धता कायम राख्न चाहेमा प्रत्येक पाँच वर्षमा तोकिए बमोजिमको दस्तुर परिषद्मा बुझाई नवीकरण गर्नु पर्नेछ।
(५) उपदफा (३) बमोजिम परिषद्सँग आबद्ध भएका युवा सम्बन्धी संघ वा संस्थाले आफूले वर्षभरि गरेको कामको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र परिषद् समक्ष पेश गर्नु पर्नेछ।
(६) युवा सम्बन्धी संघ वा संस्थाको आबद्धता नवीकरण, आबद्धता रद्द र तसम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
१४. कार्यक्रम सञ्चालन गर्नेः दफा १३ बमोजिम परिषद्सँग आबद्ध भएका युवा सम्बन्धी संघ, संस्थाले आफ्नो विधानको अधीनमा रही बेरोजगार युवालाई विभिन्न ज्ञान र सीप सम्बन्धी तालिम प्रदान गर्न, युवालाई सशक्तिकरण गर्न र पिछडिएको समुदाय वा वर्गको युवाको हक, हितको संरक्षण हुने विभिन्न कार्यक्रम सञ्चालन गर्न सक्नेछ।
परिक्च्छेद–७ उपाध्यक्ष तथा कर्मचारी
१५. उपाध्यक्ष सम्बन्धी व्यवस्थाः (१) नेपाल सरकारले परिषद्को कार्यकारी प्रमुखको रुपमा काम गर्न दफा २० बमोजिमको समितिको सिफारिसमा उपाध्यक्षको नियुक्ति गर्नेछ।
(२) उपाध्यक्षले नेपाल सरकारले तोके बमोजिमको पारिश्रमिक र सुविधा पाउनेछ।
(३) उपाध्यक्षको पदावधि चार वर्षको हुनेछ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि उपाध्यक्षले आफ्नो पद अनुरूपको आचरण नगरेमा, पदिय जिम्मेवारी पूरा नगरेमा वा परिषद्लाई हानी नोक्सानी पुर्याएमा नेपाल सरकारले निजलाई जुनसुकै बेला उपाध्यक्षको पदबाट हटाउन सक्नेछ।
(५) उपदफा (४) बमोजिम उपाध्यक्षलाई पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौका दिनु पर्नेछ।
(६) उपाध्यक्षको सेवाको अन्य शर्त तोकिए बमोजिम हुनेछ।
१६. उपाध्यक्षको काम, कर्तव्य र अधिकारः यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त उपाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ–
(क) परिषद्बाट स्वीकृत नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्ने, गराउने, (ख) परिषद्को वार्षिक कार्यक्रम, योजना तथा बजेट तयार गरी समिति समक्ष पेश गर्ने, (ग) परिषद् तथा समितिको निर्णय कार्यान्वयन गर्ने, गराउने, (घ) परिषद्बाट सञ्चालित योजना तथा कार्यक्रमको अनुगमन गर्ने, गराउने, (ङ) परिषद्को कर्मचारी व्यवस्थापन तथा अन्य व्यवस्थापकीय कार्य गर्ने, (च) तोकिए बमोजिमका अन्य काम गर्ने।
१७. कर्मचारी सम्बन्धी व्यवस्थाः (१) परिषद्को कार्यसञ्चालन गर्न परिषद्ले स्वीकृत गरे बमोजिमको संगठन संरचना र कर्मचारी दरबन्दी अनुसारका कर्मचारीहरू रहनेछन्।
(२) परिषद्का कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरू तोकिए बमोजिम हुनेछन्।
(३) उपदफा (२) बमोजिमका कर्मचारी नियुक्त नभएसम्मको लागि परिषद्को अनुरोधमा मन्त्रालयले नेपाल सरकारको कुनै कर्मचारीलाई परिषद्मा काम गर्ने गरी खटाउन सक्नेछ ।
परिच्छेद–८ परिषद्को कोष
१८. परिषद्को कोष: (१) परिषद्को आफ्नो एउटा छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्: – (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) कुनै व्यक्ति वा संघ, संस्थाबाट सहयोग स्वरूप प्राप्त रकम, (ग) विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्तिबाट प्राप्त रकम, (घ) युवा सम्बन्धी संघ, संस्थालाई अवधि प्रदान गर्दा वा नवीकरण गर्दा प्राप्त रकम, (ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि परिषद्ले नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(४) परिषद्को नामबाट गरिने सबै खर्चहरू उपदफा (१) बमोजिमको कोषबाट व्यहोरीनेछ ।
(५) परिषद्को कोषमा रहने सम्पूर्ण रकम परिषद्ले तोकेको कुनै वाणिज्य बैंकमा खाता खोली रिसाइमा गरिनेछ ।
(६) परिषद्को कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
१९. लेखा र लेखापरीक्षण: (१) परिषद्ले आफ्नो आय व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राख्नु पर्नेछ ।
(२) परिषद्को आन्तरिक लेखापरीक्षण परिषद्ले नियुक्त गरेको लेखापरीक्षकबाट र अन्तिम लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ ।
(३) मन्त्रालयले परिषद्को आय व्ययको लेखा, तस्का सम्बन्धी कागजात र अन्य नगदी जिन्सी जुनसुकै बेला जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।
परिच्छेद–९
विविध
२०. सिफारिस समिति: (१) नेपाल सरकारले उपाध्यक्षको पदमा नियुक्तिको लागि नाम सिफारिस गर्न मन्त्रालयका सचिवको अध्यक्षतामा अन्य दुईजना विज्ञ रहेका तीन सदस्यीय एक सिफारिस समिति गठन गर्नेछ।
(२) उपदफा (१) बमोजिमको समितिले नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी युवाको हक, हितको संरक्षण, संवर्द्धन र युवा विकास र परिचालनको क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका प्रतिष्ठित व्यक्तिहरूमध्येबाट उपाध्यक्षको पदमा नियुक्तिको लागि सिफारिस गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको सिफारिस समितिको बैठक लगायत सिफारिस गदान अवलंबन गर्नुपर्ने अन्य कार्यविधि सो समितिले आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
२१. भाग लिन नहुने: परिषद् समिति र जिल्ला युवा समितिको कुनै सदस्य वा पदाधिकारीले परिषद्को ठेक्का पट्टा लिन वा आफ्नो निजी स्वार्थ भएको कुनै काम कुरामा भाग लिन हुँदैन।
२२. उपसमिति वा कार्यदल गठन गर्न सक्ने: (१) समितिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूले गर्नुपर्ने कुनै कार्यको सम्पादन गर्नको निमित्त आवश्यकता अनुसार उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम गठित उपसमिति वा कार्यदलको काम, कर्तव्य र अधिकार तथा कार्यविधि सो उपसमिति वा कार्यदल गठन गर्दाका बखत समितिले तोके बमोजिम हुनेछ।
२३. पारिश्रमिक, सुविधा तथा बैठक भत्ता: (१) जिल्ला समितिको अध्यक्षले पाउने सुविधा तोकिए बमोजिम हुनेछ।
(२) परिषद्का अध्यक्ष, उपाध्यक्ष र सदस्य, जिल्ला समितिका अध्यक्ष र सदस्य तथा दफा २२ बमोजिमको उपसमिति वा कार्यदलका सदस्यले बैठकमा भाग लिए बापत तोकिए बमोजिमको बैठक भत्ता पाउनेछन्।
२४. वार्षिक प्रतिवेदन: (१) जिल्ला युवा समितिले आफूले वर्षभरि गरेको कामको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र परिषद् समक्ष पेश गर्नु पर्नेछ।
(२) परिषद्ले आफूले वर्षभरि गरेको कामको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र मन्त्रालयमार्फत नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त परिषद् र जिल्ला युवा समितिले वर्षभरिमा सम्पादन गरेका कामहरु र तिनको उपलब्धि, त्यस्ता कामको लागि गरेको खर्च, परिषद्को कोष तथा स्रोत साधनको अवस्था, परिषद्बाट भएका अन्य काम कारबाही तथा युवाको क्षेत्रमा देखिएका समस्या र सोको समाधानका उपायसमेतको विवरण उल्लेख गर्नुपर्नेछ।
(४) परिषद्ले आफूलाई प्राप्त स्रोत साधन, सम्पादन गरेका कार्य र तिनको उपलब्धि एवं गरेको अन्य काम कारबाहीको विवरण सर्वसाधारणको जानकारीको लागि प्रत्येक वर्ष प्रकाशन गर्नुपर्नेछ।
२५. निर्देशन दिन सक्ने: (१) नेपाल सरकारले परिषद्को काम कारबाही तथा सुधारको विषयमा आवश्यक निर्देशन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम दिइएको निर्देशनको पालन गर्नु परिषद्को कर्तव्य हुनेछ।
२६. अधिकार प्रत्यायोजन: (१) परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार समिति, अध्यक्ष वा उपाध्यक्षलाई प्रत्यायोजन गर्न सक्नेछ।
(२) समितिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार समितिको अध्यक्ष, कुनै सदस्य, सदस्य सचिव वा परिषद्को कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।
२७. शपथ: परिषद्, समिति र जिल्ला युवा समितिका पदनन्न सदस्य बाहेकका अन्य सदस्यले आफ्नो कार्यभार सम्हाल्नु अघि तोकिए बमोजिम शपथ लिनुपर्नेछ।
२८. सहयोग गर्नु पर्ने: परिषद्, समिति र जिल्ला युवा समितिको काम कारबाहीको सम्बन्धमा आवश्यक सहयोग गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ।
२९. परिषद्को विघटन: (१) परिषद्ले यस ऐनको उद्देश्य बमोजिम काम गर्न नसकेमा नेपाल सरकारले जुनसुकै बेला परिषद् विघटन गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम परिषद् विघटन भएमा परिषद्को चल अचल सम्पत्ति नेपाल सरकारको हुनेछ।
३०. नेपाल सरकारसँग सम्पर्क: परिषद्ले नेपाल सरकारसँग सम्पर्क राख्दा मन्त्रालय मार्फत राख्नु पर्नेछ।
३१. नियम बनाउने अधिकार: यस ऐनको कार्यान्वयनको लागि नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।
३२. विनियम बनाउने अधिकार: (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही परिषद्ले आवश्यक विनियम बनाउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम आर्थिक व्ययभार पर्ने विषयमा विनियम बनाउँदा परिषद्ले मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।