राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९
लालमोहर र प्रकाशन मिति २०५०।२।२०
२०५० सालको ऐन नं. ५ $\times$............ राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना र व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : चिया तथा कफी खेती र प्रशोधन गर्ने कार्यमा सामञ्जस्य ल्याउन, आधुनिक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरको चिया तथा कफी उत्पादन गर्ने र बजार व्यवस्थापन तथा निकासी पैठारी गर्नेको लागि एक ठोस नीति निर्माण गरी देशमा भएका चिया तथा कफी उद्योगको योजनाबद्ध रुपमा विकास गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना र त्यसको कार्य सञ्चालन सम्बन्धी व्यवस्था गर्न वांछनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको बाइसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९” रहेको छ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “बोर्ड” भन्नाले दफा ३ बमोजिम स्थापना भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड सम्झनु पर्छ ।
$\otimes$ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा छरितिएको ।
(ख) “समिति” भन्नाले दफा ८ बमोजिम गठन भएको कार्यकारी समिति सम्झनु पर्छ । (ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ । (घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष, उपाध्यक्ष तथा त्यसरी सचिवलाई समेत जनाउनेछ । (ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा १४ बमोजिम नियुक्त भएको वा तोकिएको कार्यकारी निर्देशक सम्झनु पर्छ । (च) “प्रशोधन” भन्नाले चियाको हरियो पत्ती तथा कफीको गेडा कुनै यान्त्रिक प्रकृयाबाट प्रशोधन गरिने कार्य सम्झनु पर्छ । (छ) “उत्पादक” भन्नाले चिया वा कफी उत्पादन गर्ने व्यवसायी सम्झनु पर्छ । (ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
३. बोर्डको स्थापना : राष्ट्रियस्तरमा चिया तथा कफी उद्योगको विकास सम्बन्धी योजनाहरु तजुमा गरी निजी तथा सरकारी क्षेत्रमा सञ्चालित चिया तथा कफी उद्योगलाई सुव्यवस्थित एवं प्रभावकारी ढङ्गबाट बढी सबल तुल्याउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना गरिएको छ ।
४. बोर्ड सङ्गठित संस्था हुने : (१) बोर्ड अविच्छिन्न उत्तराधिकारवाला एक स्वाशासित र सङ्गठित संस्था हुनेछ । (२) बोर्डको काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ । (३) बोर्डले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ । (४) बोर्डले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र बोर्ड उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।
५. बोर्डको कार्यालय : (१) बोर्डको मुख्य कार्यालय काठमाण्डौ उपत्यकामा रहनेछ ।
(२) बोर्डले आवश्यकता अनुसार नेपाल $\times$............ भित्र शाखा कार्यालयहरु खोल्न सक्नेछ ।
६. बोर्डको उद्देश्य : बोर्डको उद्देश्य देहाय बमोजिम हुनेछ :- (क) चिया तथा कफी उद्योगको विकासको लागि उत्पादन, प्रशोधन, बजार व्यवस्थापन तथा निकासी पैठारी सम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने, (ख) चिया तथा कफी खेती उद्योगको विकासमा देखा परेका समस्याहरुको निराकरणका उपायहरु पत्ता लगाउने, (ग) चिया तथा कफी उद्योगको विकासको लागि चिया तथा कफी खेती र प्रशोधनको लागि आवश्यक पर्ने सामग्रीहरुको आपूर्तिको व्यवस्था गर्ने, गराउने, (घ) चिया तथा कफी उद्योगको विकासको लागि तालिम तथा अनुसन्धान केन्द्र स्थापना गरी चिया तथा कफी उद्योगमा कार्यरत व्यक्ति वा संस्थाहरुलाई आधुनिक प्राविधिक ज्ञान, प्रशिक्षण र प्राविधिक सहयोग उपलब्ध गराउने, (ङ) चिया तथा कफी उद्योगको विकासको लागि आवश्यक अध्ययन गर्ने, गराउने, (च) चिया तथा कफी उद्योगको क्षेत्रमा कार्यरत संस्थाहरुसँग समन्वय गर्ने, (छ) चिया तथा कफी उद्योगलाई सहयोग पुर्याउने ।
७. बोर्डको काम, कर्तव्य र अधिकार : बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) नेपाल $\times$............ मा चिया तथा कफी खेतीको विस्तार तथा विकास गराउन चिया तथा कफी उद्योगको स्थापना, सुधार, प्रवर्द्धन तथा संरक्षण गर्न आवश्यक नीति तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने,
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा क्षेपित भएको ।
(ख) चिया तथा कफी खेतीको विकास र विस्तारका लागि आवश्यक पर्ने प्राविधिक एवं वित्तीय आधारहरु तयार पारी सोही अनुसार कार्यान्वयन गर्ने, गराउने, (ग) चिया तथा कफीको मूल्यको सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने, (घ) साना स्तरमा चिया तथा कफी खेती गर्ने कृषकहरुलाई आवश्यक पर्ने कर्जा, बीउ, बेर्ना, रासायनिक मल, कीटनाशक औषधि, औजार, इन्धन, प्राविधिक सेवा, आदिको आपूर्तिको व्यवस्था गर्ने, गराउने, (ङ) चिया तथा कफी लगाउन उपयुक्त सरकारी ऐलानी जग्गाहरु नेपाल सरकारबाट उपलब्ध गरी चिया तथा कफी लगाउने वा लीज वा किस्ताबन्दीमा दिई चिया तथा कफी खेती गराउने, (च) चिया तथा कफी बजार व्यवस्थालाई विकास गर्न समय समयमा बजार सर्वेक्षण गरी उपभोक्ताले रुचाएका चिया तथा कफीको ग्रेड र किस्म आदि यकीन गर्ने र चिया तथा कफीको गुणस्तर निर्धारण गर्ने, गराउने, (छ) अन्तर्राष्ट्रिय बजारमा चिया तथा कफीको माग सम्बन्धमा निर्यातकर्ताहरुलाई जानकारी गराउने, (ज) नेपाल $\times$............ मा चिया तथा कफी उद्योगको विकास तथा विस्तार गर्नको लागि आवश्यक अध्ययन गर्ने, गराउने, (झ) चिया तथा कफी उद्योगमा कार्यरत व्यक्ति वा संस्थाहरुलाई प्राविधिक ज्ञान, प्रशिक्षण तथा प्राविधिक सहयोग प्रदान गर्न तालिम तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, गराउने, (ञ) चिया तथा कफी उद्योगमा संलग्न व्यक्तिहरुको सीप विकासको लागि ती व्यक्तिहरुलाई विदेशमा आवश्यक तालिम, सेमिनार एवं उच्च शिक्षा दिलाउन आवश्यक व्यवस्था गर्ने,
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा छिकिएको ।
(ट) चिया तथा कफी उद्योगको विकासको लागि सरकारी तथा निजी क्षेत्रहरुमा भईरहेका प्रयासहरुलाई समन्वय गर्ने, गराउने, (ठ) चिया तथा कफी उद्योगसँग सम्बन्धित व्यवस्थापन र मजदुर बीच समझदारी वृद्धि गर्न गराउनका लागि आवश्यक कार्य गर्ने, गराउने, (ड) चिया तथा कफी उद्योगहरुको दर्ताको लगत राख्ने, (ढ) चिया तथा कफी उद्योगहरुमा व्यवस्थापन सुधार गर्नका लागि आवश्यक कार्य गर्ने, गराउने, (ण) नेपाल सरकारको स्वीकृति लिई चिया तथा कफीमा सेवा शुल्क (सेस) लगाउने, (त) चिया तथा कफी उद्योगको विकास सम्बन्धी अन्य आवश्यक कार्य गर्ने, गराउने ।
८. कार्यकारी समितिको गठन : (१) बोर्डको कार्य सञ्चालनको निमित्त देहाय बमोजिमको एउटा कार्यकारी समिति हुनेछः– (क) कृषि तथा पशुपंक्षी विकास मन्त्री वा राज्यमन्त्री – अध्यक्ष (ख) नेपाल सरकारबाट मनोनीत व्यक्ति – उपाध्यक्ष (ग) निजी चिया तथा कफी उत्पादकहरुबाट एक/एक जना – प्रतिनिधि सदस्य (घ) साना चिया तथा कफी किसानबाट एक/एक जना प्रतिनिधि – सदस्य (ङ) नेपाल चिया उत्पादक संघबाट एक जना प्रतिनिधि – सदस्य (च) सहसचिव, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय – सदस्य (छ) सहसचिव, अर्थ मन्त्रालय – सदस्य (ज) सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – सदस्य (झ) कार्यकारी निर्देशक, राष्ट्रिय कृषि अनुसन्धान परिषद् – सदस्य (ञ) महाप्रबन्धक, कृषि विकास बैंक – सदस्य (ट) महाप्रबन्धक, नेपाल चिया विकास निगम लिमिटेड – सदस्य
√ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
(ठ) महाप्रबन्धक, व्यापार प्रवर्द्धन केन्द्र – सदस्य (ड) कार्यकारी निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड – सदस्य-सचिव
(२) उपदफा (१) बमोजिमको समितिको गठन भएपछि समितिले चिया तथा कफी उद्योगमा कार्यरत मजदुरहरु मध्येबाट एक एक जना व्यक्तिलाई दुई वर्षको लागि समितिको सदस्यमा मनोनीत गर्नेछ । (३) उपदफा (१) बमोजिमको समितिमा मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ र निज पुनः मनोनीत हुन सक्नेछ ।
९. समितिको बैठक : (१) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा वर्षको कम्तीमा दुईपटक बस्नेछ । (२) समितिको सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशत सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ । (३) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ । अध्यक्ष तथा उपाध्यक्ष दुवैको अनुपस्थितिमा सदस्यहरुले आफू मध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ । (४) समितिको निर्णय सदस्य-सचिवद्वारा प्रमाणित गरिनेछ । (५) समितिको बैठक सम्बन्धी अन्य कुराहरु समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
१०. समितिको काम, कर्तव्य र अधिकार : (१) यो ऐन र यस ऐन अन्तर्गत बनेको विनियमको अधीनमा रही बोर्डले गर्नु पर्ने सम्पूर्ण काम कारबाही गर्नु, अधिकारहरुको प्रयोग तथा कर्तव्यको पालन गर्नु समितिको कर्तव्य हुनेछ । (२) समितिले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारहरु मध्ये सबै वा कुनै अधिकार आवश्यकता अनुसार कुनै सदस्य वा दफा ११ बमोजिमको उप–समिति वा बोर्डको कुनै अधिकृत कर्मचारीलाई सुम्पन सक्नेछ ।
११. उपसमिति गठन गर्न सक्ने : (१) समितिले आफ्नो कार्य सञ्चालनको लागि आवश्यकता अनुसार उपसमितिहरु गठन गर्न सक्नेछ । (२) उपसमितिको काम, कर्तव्य, अधिकार, कार्यक्षेत्र तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।
१२. बोर्डको कोष : (१) बोर्डको एउटा छुट्टै कोष हुनेछ । (२) बोर्डको कोषमा देहायका रकमहरु रहनेछन्ः– (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ संस्थाहरुबाट प्राप्त रकम, (ग) चिया तथा कफी खेती र प्रशोधन सम्बन्धी परामर्श सेवा बापत प्राप्त हुने रकम, (घ) चिया तथा कफीमा लगाइएको सेवा शुल्क (सेस) बाट प्राप्त रकम, (ङ) अन्य स्रोतबाट प्राप्त रकम । (३) कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ संस्थाहरुबाट अनुदान रकम लिंदा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ । (४) बोर्डलाई प्राप्त हुने सबै रकम नेपाल $\times$............ भित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ । (५) बोर्डद्वारा गर्नु पर्ने सबै खर्चहरु उपदफा (१) बमोजिमको कोषबाट व्यहोरीनेछ ।
१३. लेखा र लेखापरीक्षण : (१) बोर्डको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राखिनेछ । (२) बोर्डको लेखापरीक्षण महालेखा परीक्षकद्वारा हुनेछ ।
१४. कार्यकारी निर्देशक : (१) बोर्डको प्रशासकीय प्रमुखको रुपमा एक कार्यकारी निर्देशक रहनेछ । (२) नेपाल सरकारले कार्यकारी निर्देशक पदमा उपयुक्त व्यक्तिलाई नियुक्ति गर्न वा तोक्न सक्नेछ ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा क्षिप्तिकिएको ।
(३) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ र निज पुनः बढीमा चार वर्षको लागि नियुक्त हुन वा तोकिन सक्नेछ । (४) कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१५. बोर्डको कर्मचारी : (१) बोर्डले आफ्नो कार्य सञ्चालनको निमित्त आवश्यक कर्मचारी तोकिए बमोजिम नियुक्त गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम नियुक्त कर्मचारीहरुको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१६. नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नु पर्ने : बोर्डले आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
१७. नेपाल सरकारसँग सम्पर्क : बोर्डले नेपाल सरकारसँग सम्पर्क राख्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
१८. बोर्डको विघटन : (१) कुनै मनासिब कारणबाट बोर्डलाई खारेज गर्ने गरी नेपाल सरकारले निर्णय गरेमा बोर्ड विघटन हुनेछ । (२) उपदफा (१) बमोजिम बोर्ड विघटन भएमा बोर्डको हक र दायित्व नेपाल सरकारमा सर्नेछ ।
१९. विनियम बनाउने अधिकार : यो ऐनको उद्देश्य कार्यान्वयन गर्न बोर्डले नेपाल सरकारको स्वीकृति लिई आवश्यक विनियमहरु बनाउन सक्नेछ ।
$\sqrt{}$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित । द्रष्टव्य :– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्त्तर गरिएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।