प्रेस काउन्सिल (कार्य व्यवस्था) नियमावली, २०४९ नेपाल राजपत्रमा प्रकाशित मिति २०५०।०१।०७
संशोधन १. प्रेस काउन्सिल (कार्यव्यवस्था) (पहिलो संशोधन) नियमावली, २०५६ २०५६।०५।२८ २. प्रेस काउन्सिल (कार्यव्यवस्था) (दोस्रो संशोधन) नियमावली, २०६४ २०६४।०६।०७ ३. प्रेस काउन्सिल (कार्यव्यवस्था) (तेस्रो संशोधन) नियमावली, २०७७ २०७७।०५।०१
प्रेस काउन्सिल ऐन, २०४८ को दफा १७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “प्रेस काउन्सिल (कार्य व्यवस्था) नियमावली, २०४९” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा, - (क) “ऐन” भन्नाले प्रेस काउन्सिल ऐन, २०४८ सम्झनु पर्छ । (ख) “काउन्सिल” भन्नाले प्रेस काउन्सिल सम्झनु पर्छ । (ग) “समिति” भन्नाले ऐनको दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण, संपरीक्षण समिति सम्झनु पर्छ । (घ) “अध्यक्ष” भन्नाले काउन्सिलको अध्यक्ष सम्झनु पर्छ । (ङ) “सदस्य-सचिव” भन्नाले काउन्सिलको सदस्य सचिव सम्झनु पर्छ ।
३. काउन्सिलको बैठक : (१) काउन्सिलको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । (२) सदस्य सचिवले काउन्सिलको बैठकमा छलफल हुने विषय सूची सहितको सूचना साधारणतया बैठक बस्नु भन्दा अठ्तालीस घण्टा अगाडि सबै सदस्यहरूले पाउने गरी पठाउनु पर्नेछ ।
३क. कार्यवाहक अध्यक्ष तोक्न सक्ने : (१) अध्यक्ष पद रिक्त भएमा वा कुनै कारणले अध्यक्षले काउन्सिलको कामकाज गर्न नसक्ने वा नपाउने अवस्था भएमा काउन्सिलको कुनै सदस्यलाई
नेपाल सरकारले बढीमा एक वर्षसम्मका लागि कार्यवाहक अध्यक्ष भई कामकाज गर्न तोक्न सक्नेछ। (२) उपनिर्म (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्ष मनोनित भएमा वा अध्यक्षले कामकाज गर्न सक्ने अवस्था भएमा कार्यवाहक अध्यक्षको जिम्मेवारी स्वतः समाप्त हुनेछ।
४. समितिको बैठक र निर्णय : (१) समितिको बैठक समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ। (२) बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ। निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आफू मध्येबाट छानेको सदस्यले अध्यक्षता गर्नेछ। (३) समितिको कुल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ। (४) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा समितिको अध्यक्षले निर्णायक मत दिन सक्नेछ। (५) समितिको निर्णय समितिको सचिवद्वारा प्रमाणित गरिनेछ। (६) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।
५. वितरण संपरीक्षण : (१) पत्रपत्रिकाको प्रकाशकले आफ्नो प्रकाशन वितरणको प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र कानून बमोजिम लेखापरीक्षकको प्रमाणपत्र प्राप्त लेखापरीक्षकबाट संपरीक्षण गराई त्यसको प्रतिवेदन समिति समक्ष पठाउनु पर्नेछ। (२) उपनिर्म (१) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि समितिले सो प्रतिवेदन आवश्यक जाँचबुझ गरी प्रकाशकलाई अनुसूची बमोजिमको ढाँचामा पत्रपत्रिका वितरण संपरीक्षणको प्रमाणपत्र दिनु पर्नेछ।
६. झुट्टा विवरण दिएमा : (१) नियम ५ को उपनिर्म (१) बमोजिम समितिमा पेश गरिएको प्रतिवेदनमा उल्लिखित विवरण झुट्टा हो भन्ने कसैलाई लागेमा सो प्रतिवेदन पेश गरेको मितिले एक महिनाभित्र समिति समक्ष उजुरी दिन सकिनेछ।
$\beta$ दोस्रो संशोधनद्वारा संशोधित ।
(२) उपनिर्म (१) बमोजिम उजुरी परेमा समितिले त्यस्तो विवरण सहितको प्रतिवेदन जाँच गर्न वा पुनः संपरीक्षण गराउन सक्नेछ। (३) उपनिर्म (२) बमोजिम जाँच गर्दा वा पुनः संपरीक्षण गराउँदा उजुरी ठीक ठहरेमा समितिले त्यस्तो प्रकाशकलाई पत्रपत्रिका वितरण संपरीक्षणको प्रमाणपत्र दिने छैन र दिइसकेको भए त्यस्तो प्रमाणपत्र निष्कृष्ट गरेको साथै समितिको सिफारिसमा निजले पाउने सुविधा समेत अवधि तोकी निलम्बन गर्न सक्नेछ। (४) उपनिर्म (३) बमोजिम जाँच गराउँदा वा पुन संपरीक्षण गराउँदा उजुरी ठीक ठहरेमा समितिबाट जाँच गराउँदा लागेको मनासिब खर्च वा पुनः संपरीक्षण गराउँदा लागेको खर्च समेत प्रकाशकबाट असुल गरिनेछ। (५) उपनिर्म (२) बमोजिम जाँच गराउँदा वा पुनः संपरीक्षण गराउँदा झुट्टा उजुरी दिएको ठहर हुन आएमा समितिबाट जाँच गराउँदा लागेको मनासिब खर्च वा पुनः संपरीक्षण गराउँदा लागेको खर्च उजूरवालाबाट असुल गरिनेछ। (६) यस निर्देश बमोजिम गरिने संपरीक्षण र जाँचबुझ सम्बन्धी कार्यविधि समितिले निर्धारण गरे बमोजिम हुनेछ।
७. प्रकाशन वितरणको विवरण : (१) पत्रपत्रिकाको प्रकाशन वितरणको विवरण लिन चाहने व्यक्तिले समिति समक्ष निवेदन दिन सक्नेछ। (२) उपनिर्म (१) बमोजिमको निवेदन प्राप्त भएपछि समितिले एकसय रूपैयाँ दस्तुर लिई निवेदकलाई माग बमोजिमको विवरण दिनु पर्नेछ।
८. वितरण संपरीक्षणको प्रतिवेदनमा समावेश हुनु पर्ने : (१) लेखा परीक्षकले पत्रपत्रिका वितरण संपरीक्षणको प्रतिवेदनमा प्रत्येक अङ्कमा प्रकाशित पत्रपत्रिकाको सङ्ख्या र त्यसको वितरण सङ्ख्या देहाय बमोजिम खुलाउनु पर्नेछ :- (क) ग्राहकलाई बिक्री वितरण गरिएका सङ्ख्या, (ख) प्रकाशनसँग सम्बन्धित कर्मचारी, सदस्य, एजेन्ट वा नियमित रूपमा सहयोग गर्नेलाई वितरण भएका सङ्ख्या, (ग) पुस्तक पसल वा एजेन्टमार्फत नियमित रूपमा ग्राहकहरूलाई बिक्री वितरण हुने सङ्ख्या, (घ) पुस्तकालय वा वाचनालयमा निःशुल्क वितरण हुने सङ्ख्या।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा फकायिएका वा नबिकेको पत्रपत्रिकाको सङ्ख्या समेत खुलाउनु पर्नेछ।
९. सचिवालय र कर्मचारी सम्बन्धी व्यवस्था : (१) काउन्सिलको एउटा छुट्टै सचिवालय हुनेछ। (२) काउन्सिलको सबै काम कारबाही तथा दैनिक कार्य सञ्चालन गर्नको लागि काउन्सिलले आवश्यक कर्मचारीहरू नियुक्ति गर्न सक्नेछ। (३) काउन्सिलका कर्मचारीहरूको पारिश्रमिक तथा सेवा शर्त सम्बन्धी व्यवस्था विनियममा तोकिए बमोजिम हुनेछ।
१०. सचिवालय रहने ठाउँ : काउन्सिलको सचिवालय काठमाडौँ उपत्यकामा रहनेछ।
११. खारेजी : प्रेस काउन्सिल (कार्य व्यवस्था) नियमावली, २०४१ खारेज गरिएको छ।
द्रष्टव्यः- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर गरिएका शब्दहरूः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची (नियम ५ को उपनियम (२) सँग सम्बन्धित) पत्रपत्रिका वितरण संपरीक्षणको प्रमाण-पत्र
श्री .................
$\beta$ तपाईँलाई आर्थिक वर्ष ..........को लागि पत्रपत्रिका वितरण संपरीक्षणको यो प्रमाण-पत्र दिइएको छ ।
(क) प्रकाशकको नाम र ठेगाना: (ख) पत्रिकाको नाम र किसिम: (ग) लेखा परीक्षकको नाम र ठेगाना: (घ) लेखा परीक्षण अवधिभित्र कुल प्रकाशन अङ्क: (ङ) लेखा परीक्षकको प्रतिवेदन अनुसार वितरण विवरण:
(च) पत्रपत्रिका वितरणको विवरण: १. वितरण संस्थाबाट वितरण हुने सङ्ख्या :
२. प्रकाशकबाट सिधै ग्राहकमा वितरण हुने सङ्ख्या : ३. खुद्रा बिक्रेताबाट वितरण हुने सङ्ख्या : ४. सरकारी कार्यालय, संघ, संस्था, आदिमा वितरण हुने सङ्ख्या : ५. विभिन्न व्यक्ति तथा संस्थालाई निःशुल्क वितरण गरिएको सङ्ख्या :
$\beta$ दोस्रो संशोधनद्वारा संशोधित ।
६. विज्ञापन एजेन्सी तथा विज्ञापन कर्तालाई वितरण गरिएको सङ्ख्या : ७. पत्रपत्रिकाको प्रबन्धकलाई वितरण गरिएको निःशुल्क सङ्ख्या : ८. कुल वितरण सङ्ख्या : ९. वाचनालय पुस्तकालय आदिमा वितरण गरिएको सङ्ख्या :
प्रमाण-पत्र दिने अधिकारीको नाम : सही : पद : कार्यालय : मिति :
कार्यालयको छाप
द्रष्टव्य : हुलाक मार्फत पठाएका, तोकिएको मूल्य भन्दा कम मूल्यमा बिक्री गरिएका आदि प्रतिरूपको विवरण प्रकाशकको विवरणमा जनाउनु पर्छ।