बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली, २०५३
नेपाल राजपत्रमा प्रकाशित मिति २०५३।५।२४
संशोधन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० २०७०।१।३०
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली, २०५३” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनु पर्छ । (ख) “निकुञ्ज” भन्नाले बर्दिया राष्ट्रिय निकुञ्ज, सम्झनु पर्छ । (ग) "सहायक संरक्षक” भन्नाले राष्ट्रिय निकुञ्जको सहायक संरक्षक सम्झनु पर्छ। (घ) "सवारी साधन" भन्नाले मोटर इन्जिन जडान भएको सवारी साधन सम्झनु पर्छ । (ङ) "राजमार्ग" भन्नाले निकुञ्जभित्र भएर गएको राजमार्ग सम्झनु पर्छ ।
३. राष्ट्रिय निकुञ्जको सीमाना: राष्ट्रिय निकुञ्जको सीमाना ऐनको दफा ३ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी घोषणा गरिए बमोजिम हुनेछ ।
४. राष्ट्रिय निकुञ्जभित्र प्रवेश: राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्न चाहने व्यक्तिले अनुसूची-१ बमोजिमको दस्तुर बुझाउनु पर्ने छ र त्यस्तो दस्तुर बुझाउने व्यक्तिलाई संरक्षक वा राष्ट्रिय निकुञ्जको कुनै कर्मचारीले अनुसूची-२ बमोजिमको प्रवेशपत्र दिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम २० बमोजिम सुविधा प्राप्त बाटो प्रयोग गर्ने व्यक्तिहरूले सम्बन्धित प्रवेश चौकीबाट अनुमति लिई राष्ट्रिय निकुञ्जभित्रबाट हिँड्दामा कुनै दस्तुर तिर्नु पर्ने छैन । (३) राष्ट्रिय निकुञ्जको अध्ययन भ्रमण गर्न चाहने कुनै व्यक्ति, शिक्षण संस्था वा अन्य कुनै संस्थाको टोली वा सरकारी कर्मचारीलाई संरक्षकले अनुसूची-३ बमोजिमको निःशुल्क प्रवेशपत्र दिन सक्नेछ ।
५. राष्ट्रिय निकुञ्जमा प्रवेश आफ्नो दायित्वमा हुने: प्रवेशपत्र लिई वा नलिई राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिलाई राष्ट्रिय निकुञ्जभित्र कुनै किसिमको हानी नोक्सानी भएमा वा चोटपटक लागेमा वा निजको मृत्यु भएमा समेत त्यस्तो हानी नोक्सानी चोटपटक वा मृत्यु भएबापत क्षतिपूर्तिको निमित्त नेपाल सरकार जिम्मेवार हुनेछैन ।
६. राष्ट्रिय निकुञ्जभित्र गर्न निषेद्ध गरिएका कार्यहरू: संरक्षक वा सो कामको लागि नेपाल सरकारबाट अधिकार प्राप्त कर्मचारीको लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्जभित्र देहायका कामहरू गर्न पाउने छैन:- (क) जुनसुकै प्रकारको घर, छाप्रो, आश्रय वा आकार बनाउन वा भोग गर्न, (ख) कुनै भूभाग कब्जा गर्न, फाँड्न वा आबाद गर्न, (ग) घरपालुवा पशु वा पंक्षी चराउन वा तिनीहरूलाई पानी खुवाउन, (घ) रुख, बिरुवा, झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, छेक्न, छाँट्न वा वन पैदावार सुक्ने कुनै काम गर्न, आगो लगाउन वा अरु कुनै किसिमले हानी पुर्याउन, (ङ) क्याम्प गर्न भनी छुट्याइएको स्थान बाहेक अन्यत्र रात बिताउन वा क्याम्प गर्न, (च) क्याम्प गर्न छुट्याइएको स्थान वा संरक्षकले तोकिदिएको स्थान बाहेक अन्य स्थानमा आगो बाल्न, (छ) नियम २० बमोजिम तोकिएको बाटो बाहेक अन्य बाटो वा ठाउँबाट कुनै घरपालुवा पशु लैजान वा हिँडाउन ।
७. साथमा राख्न वा लैजान निषेध गरिएका वस्तुहरू: संरक्षकको लिखित अनुमति विना कुनै व्यक्तिले राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा वा रहँदा नियम २० अन्तर्गत तोकिएको बाटोबाट हिँड्दा देहायका चीज वस्तुहरू साथमा लैजान, राख्न वा प्रयोग गर्न पाउनेछैन:-
(क) हात हतियार, खरखजाना, विष, विष्फोटक पदार्थ वा सो प्रयोग गर्ने साधनहरू, (ख) आखेटोपहार वा कुनै वन्यजन्तुको सुकेको वा आलो मासु । (ग) धनुषवाण, भाला, जाल, पासो, धराप, गुलेली वा चोट पुर्याउन सकिने अन्य यस्तै वस्तुहरू । तर राजमार्गबाट सवारी साधनद्वारा यात्रा गर्ने हिँड्ने यात्रुहरूले इजाजत प्राप्त हातहतियार साथमा लैजान कुनै बाधा पर्दैन ।
८. क्षति पुर्याउन नहुने: (१) राष्ट्रिय निकुञ्जको सीमानाभित्र वा बाहिरबाट आगो बाली वा अन्य कुनै प्रकारबाट राष्ट्रिय निकुञ्जभित्रको वनस्पति, झारपात वा अन्य चीज वस्तुलाई क्षति पुर्याउन हुँदैन । (२) राष्ट्रिय निकुञ्जभित्रको बाटो, पुल, मचाण, घर कार्यालय भवन, तारवार, चिन्हपट्ट वा अन्य कुनै चीजवस्तुलाई क्षति पुर्याउन हुँदैन ।
९. बैज्ञानिक अनुसन्धानको लागि नमूना संकलन गर्न सकिने: (१) राष्ट्रिय निकुञ्जको हितका लागि उपयुक्त हुने काम वा बैज्ञानिक अनुसन्धानको निमित्त ऐन बमोजिम नमूना संकलन गर्न चाहेको व्यक्तिले संरक्षक समक्ष लिखित निवेदन दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम निवेदन पर आएमा संरक्षकले ऐनको अनुसूची-१ मा उल्लेखित वन्यजन्तु बाहेक अन्य वन्यजन्तुलाई पक्री अनुसन्धान गर्न आवश्यक शर्तहरू तोकी वा नतोकी अनुमतिपत्र दिन सक्नेछ । (३) उपनियम (२) बमोजिम अनुमतिपत्र दिँदा लाग्ने दस्तुर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० बमोजिम हुनेछ ।
१०. शिकार गर्न र चराहरुको गुँड हटाउन वा विगार्न नहुने: राष्ट्रिय निकुञ्जको हितको लागि उपयुक्त हुने काम गर्न वा बैज्ञानिक अनुसन्धानको निमित्त नमूना सङ्कलन अनुमति प्राप्त गरेकोमा बाहेक अन्य अवस्थामा कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्जभित्र कुनै पनि वन्यजन्तुलाई मार्न, पक्रिन, लखेट्न, तर्साउन वा चोटपटक पुर्याउन वा कुनै पनि पंक्षीहरुको फुल वा गुँड हटाउन, भत्काउन, विगार्न वा खलबल्याउन हुँदैन ।
११. माछा मार्न अनुमति लिनु पर्ने: (१) राष्ट्रिय निकुञ्जभित्रको नदी, खोला नाला, ताल वा पोखरीमा माछा मार्न चाहेको व्यक्तिले अनुसूची-१ बमोजिमको दस्तुर बुझाउनु पर्नेछ । (२) उपनियम (१) बमोजिम दस्तुर बुझाएपछि संरक्षक वा राष्ट्रिय निकुञ्जका कर्मचारीले आवश्यक शर्त तोकी वा नतोकी अनुसूची-४ दस्तुर बुझाउनु पर्नेछ ।
१२. नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्ने: (१) नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्जनभित्र माटो, ढुंगा, बालुवा वा अन्य कुनै खनिज पदार्थ खोज्न, खन्न वा हटाउन पाउने छैन । (२) कसैले राष्ट्रिय निकुञ्जनभित्र अनुसन्धान सम्बन्धी कुनै काम गर्न चाहेमा नेपाल सरकारको स्वीकृति प्राप्त गरी गर्न सक्नेछ र त्यस्तोमा निजले गरेको अनुसन्धानको एकप्रति नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
१३. विज्ञापन टाँस्न वा राख्न नपाइने: ऐन बमोजिम राष्ट्रिय निकुञ्जनभित्र स्थापित होटल, लज वा अन्य सेवा व्यवसायीहरुले बाहेक राष्ट्रिय निकुञ्जनभित्र कुनै पनि व्यक्तिले कुनै किसिमको चिन्हपट्ट, सूचना, विज्ञापन वा अन्य यस्तै किसिमका पोष्टरहरु टाँसी प्रचार प्रसार गर्नु गराउनु हुँदैन ।
१४. बाजाहरू बजाउन नपाइने: राष्ट्रिय निकुञ्जनभित्रका सरकारी कार्यालय, भवन वा ऐन बमोजिम स्थापित होटल, लज वा अन्य सेवा स्थलहरु बाहेक अन्यत्र रेडियो, टेप रेकर्ड र संगीतका यस्तै अन्य बाजाहरू बजाउन पाइनेछैन ।
१५. फोहर मैला फाल्न नपाइने: कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्जनभित्र फोहर मैला गर्न वा फाल्न हुँदैन ।
१६. विषालु पदार्थ फ्याँक्न नपाइने: राष्ट्रिय निकुञ्जनभित्र वा राष्ट्रिय निकुञ्जनभित्र पुग्ने गरी बाहिरबाट कुनै पनि व्यक्तिले कुनै किसिमको कीटनाशक विष वा रासायनिक पदार्थ वा लठ्याउने वा विषालु पदार्थ फ्याँक्न वा राष्ट्रिय निकुञ्जनभित्र भएर बग्ने नदी खोला वा पानीको अन्य कुनै स्रोतमा हाल्न वा छर्न वा राष्ट्रिय निकुञ्जनभित्र पुग्ने गरी अरु तरिकाबाट हाल्न समेत हुँदैन ।
१७. राष्ट्रिय निकुञ्जनभित्र सवारी साधन चलाउँदा पालन गर्नु पर्ने कुराहरू: (१) राष्ट्रिय निकुञ्जनभित्र सवारी साधन चलाउने व्यक्तिले देहायका कुराहरुको अधीनमा रहेर मात्र सवारी साधन चलाउनु पर्नेछ:- (क) पाँच टन भन्दा बढी वजनको सवारी साधन चलाउन पाइने छैन । (ख) बयलगाडा चलाउन पाइने छैन । (ग) सवारी साधन, पैदल यात्री वा अन्य वस्तुको आवागमनमा बाधा पर्ने गरी सवारी साधन चलाउन वा अड्याई राख्नु हुँदैन ।
(घ) यस नियमावली बमोजिम सुविधा प्राप्त बाटो बाहेक अन्य बाटो वा ठाउँबाट कुनै घर पालुवा जीवजन्तु लैजान वा हिँडाउनु हुँदैन । (ङ) हर्न बजाउन वा ३० कि.मि. प्रतिघण्टा भन्दा बढी रफ्तारमा सवारी साधन चलाउनु हुँदैन । (च) नियम २० को उपनियम (३) बमोजिम कुनै बाटो बन्द गरिएको अवस्थामा त्यस्ता बाटोबाट सवारी साधन चलाउन वा यात्रा गर्नु हुँदैन ।
(२) राजमार्गमा सवारी साधन चलाउने व्यक्तिले देहायका कुराहरुको अधिनमा रहेर मात्र सवारी साधन चलाउनु पर्नेछ । (क) राजमार्गबाट जाने सवारी साधनमा रहेका सबै सामानहरु प्रवेश चौकीमा जाँचाई लैजानु पर्नेछ । (ख) राजमार्गमा आवश्यकतानुसार राखिएको तगारो र सवारी साधनको गति कम गराउन बनाइएको गति नियन्त्रकको पालना गर्नु पर्नेछ । (ग) राष्ट्रिय निकुञ्जभित्र राखिएको तगारो भाँच्न, बिगार्न वा कुनै क्षति पुर्याउन हुँदैन । (घ) सवारी साधनले कुनै पनि वन्यजन्तुलाई लखेट्न, ठक्कर दिन, घाइते बनाउन, कुल्चिन् वा मार्न हुँदैन । (ङ) राजमार्गमा सवारी साधन चलाउँदा प्रतिघण्टा ४० कि.मि. को गतिभन्दा बढी चलाउनु हुँदैन ।
१८. इशारा वा सङ्केत मान्नु पर्ने: राष्ट्रिय निकुञ्जकोभित्र सबै सवारी साधनका चालकले राष्ट्रिय निकुञ्जको कर्मचारीले गरेको इशारा वा सङ्केतलाई पालना गर्नु पर्नेछ र त्यस्तो इशारा वा सङ्केत जनाउनको लागि राखिएको कुनै चिन्हपट्ट बमोजिम सवारी साधन चलाउनु पर्नेछ ।
१९. आवागमनमा प्रतिबन्ध: राष्ट्रिय निकुञ्जभित्रको होटल, लज, क्याम्प अनुमति प्राप्त स्थान वा राजमार्गमा बाहेक अन्य स्थानमा लिखित अनुमति बिना सूर्यास्तदेखि सूर्योदयसम्म पस्न, हिँडडुल गर्न वा सवारी साधन चलाउनु हुँदैन ।
२०. बाटोको सुविधा: (१) राष्ट्रिय निकुञ्जभित्र अनुसूची -५ बमोजिमको बाटोबाट पैदल यात्रा गर्न, घर पालुवा जीवजन्तु हिँडाउन वा सवारी साधन चलाउन संरक्षकले चिन्हपट्ट लगाई तोकेको बाटोबाट सुविधा प्राप्त हुनेछ । (२) संरक्षकको लिखित अनुमति बिना उपनियम (१) बमोजिमको चिन्हपट्ट लगाई तोकिएको बाटो बाहेक अन्य बाटोको प्रयोग गर्न पाइनेछैन । (३) उपनियम (१) मा जुनसुकै कुरा ले लेखिएको भए तापनि प्रतिकूल मौसममा चिन्हपट्ट लगाई तोकिएको कुनै बाटो बन्द गर्न संरक्षकले उपयुक्त ठाउँमा मौसम अनुकूल नहुन्जेलसम्म बन्द गरी अन्य कुनै बाटो तोक्न सक्नेछ ।
२१. दस्तुर बुझाउनु पर्ने: (१) राष्ट्रिय निकुञ्जभित्र देहायको काम कुरा गरे बापत अनुसूची -१ बमोजिमको दस्तुर बुझाउनु पर्नेछ:- (क) सवारी साधन चलाएमा, (ख) क्याम्प गरेमा, (ग) राष्ट्रिय निकुञ्जको गाइडको सेवा उपलब्ध गरेमा, (घ) खरखडाई वा बन्क्स काटेमा । (२) उपनियम (१) बमोजिम दस्तुर बुझाउने व्यक्तिलाई अनुसूची -६ बमोजिमको दस्तुर बुझाएको रसिद दिइनेछ ।
२२. सवारी साधन वा वस्तु पक्राउ गरिने: यस नियमावली बमोजिम राष्ट्रिय निकुञ्जभित्र सुविधा दिइएको बाटो बाहेक अन्य बाटोबाट सवारी साधन वा वन्यजन्तु हिँडाएको भेटिएमा संरक्षकले तोकिएको दर्जाको राष्ट्रिय निकुञ्जको कर्मचारीले पक्रि सम्बन्धिथ अधिकारी समक्ष कारबाहीका लागि बुझाउनेछ ।
२३. गिरफ्तार गर्न सकिने: (१) संरक्षकबाट वारेन्ट प्राप्त गरी सहायक संरक्षक, रेञ्जर, वन्यजन्तु गाईड वा राष्ट्रिय निकुञ्जका अन्य कर्मचारीहरुले ऐनको विरूद्ध काम गरेको अभियोगमा कुनै व्यक्तिलाई गिरफ्तार गर्न वा त्यस्तो व्यक्तिको मालसामान वा सवारी साधनको खानतलासी गर्न सक्नेछ । (२) उपनियम (१) मा जुनसुकै कुरा ले लेखिएको भए तापनि कुनै अभियुक्त भागी जाने अवस्था भएमा विना वारेन्ट पनि अभियुक्तलाई पक्राउ गर्न वा निजको सरसामान वा सवारी साधनको खानतलासी गर्न सकिनेछ ।
२४. दुर्घटना वा मृत्यु भएमा सूचना गर्नुपर्ने: राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्ने कुनै व्यक्तिको दुर्घटना वा मृत्यु भएमा त्यस्तो व्यक्तिको साथमा गएका अन्य व्यक्तिले वा सो दुर्घटना वा
मृत्यु भएको थाहा पाउने व्यक्तिले सो कुराको सूचना नजिकको प्रहरी चौकी वा राष्ट्रिय निकुञ्जको कार्यालयमा दिनु पर्नेछ ।
२५. सरकारी कामको लागि राष्ट्रिय निकुञ्जभित्र प्रवेशमा छुट: यस नियमावलीमा लेखिएको कुनै कुराले पनि राष्ट्रिय निकुञ्ज वा अन्य कुनै सरकारी कार्यालयका कुनै कर्मचारीलाई आफ्नो कार्यालय वा अन्य कुनै सरकारी कार्यालयको आदेश अनुसार कुनै सरकारी काम कारबाही कार्यान्वयन गर्ने लागि राष्ट्रिय निकुञ्जभित्र कुनै पनि समयमा प्रवेश गर्ने बाधा पुर्याएको मानिने छैन ।
२६. मुद्दा हेर्ने अधिकारी: (१) यस नियमावली अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार संरक्षकलाई हुनेछ । (२) उपनियम (१) को सामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायका कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सहायक संरक्षक रहेकोमा सहायक संरक्षकलाई र निज नभएकोमा रेञ्जरलाई हुनेछ:- (क) नियम ४ विपरीत अनुमति नलिई राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेमा, (ख) दुईहजार पाँचसय रुपैयाँसम्म मोल पर्ने वन पैदावार अनियमित ढंगबाट हटाएमा, काटेमा वा झिकेमा, (ग) घरपालुवा जीवजन्तु वा पंक्षीलाई राष्ट्रिय निकुञ्जभित्र चराएमा वा पानी खुवाएमा, (घ) छुट्याइएको क्याम्प वा स्थान बाहेक अन्यत्र रात बसेमा, क्याम्प गरेमा वा आगो बालेमा, (ङ) नियम ११ विपरीत अनुमति नलिई माछा मारेमा, (च) नियम १३ को बखिलाफ कुनै चिन्हपट्ट, सूचना, विज्ञापन वा पोष्टरहरू राखेमा वा टाँसेमा, (छ) नियम १४ को बखिलाफ कुनै बाजा बजाएमा, (ज) नियम १५ बखिलाफ फोहर मैला गरेमा, (झ) नियम १७ र १८ को बखिलाफ हुने गरी सवारी साधन चलाएमा, (ञ) नियम १९ विपरीत सूर्यास्तदेखि सूर्योदयसम्म अनुमति विना निकुञ्जभित्र प्रवेश गरेमा वा हिँडडुल गरेमा, तर राजमार्गमा चल्ने सवारी साधनको लागि २४ सै घण्टा खुल्ला रहनेछ ।
(ट) नियम २० विपरीत तोकेको बाटो बाहेक अन्य ठाउँबाट पैदल यात्रा गरे, घर पालुवा जीवजन्तु हिँडाए वा सवारी साधन चलाएमा ।
२७. अधिकार प्रत्यायोजन गर्न सकिने: संरक्षकले आफूले प्राप्त अधिकार मध्ये नियम २६ बमोजिम मुद्दा हेर्ने अधिकार बाहेक अन्य अधिकार आफूमुनिका कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
२८. सवारी साधन र पर्यटक संख्यामा नियन्त्रण: राष्ट्रिय निकुञ्जको वातावरणमा प्रतिकूल असर पर्न देखिएमा संरक्षकले त्यस्तो क्षेत्रमा प्रवेश गर्ने सवारी साधनमा प्रतिबन्ध लगाउन र पर्यटक संख्यामा नियन्त्रण गर्न सक्नेछ ।
२९. अनियमित तरिकाबाट संकलन गरेको वन पैदावार लिलाम बिक्री गर्ने: (१) कसैले राष्ट्रिय निकुञ्जभित्र गैरकानूनी तरिकाले संकलन गरेको वन पैदावारलाई संरक्षकले वा निजले खटाएको राष्ट्रिय निकुञ्जको अन्य कुनै कर्मचारीले त्यस्तो वन पैदावारको बिगो कायम गरी लिलाम बिक्री गर्नेछ । (२) उपनियम (१) बमोजिम लिलाम बिक्री गर्दा अपनाउनु पर्ने कार्यविधि प्रचलित कानून बमोजिम हुनेछ ।
३०. अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने: नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीको अनुसूचीहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
द्रष्टव्य:- (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरू “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”। (२) राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी केही नियमहरूलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा संशोधन भएका शब्दहरू “शाही बर्दिया राष्ट्रिय निकुञ्ज” को सट्टा “बर्दिया राष्ट्रिय निकुञ्ज”।
*अनुसूची-१ (नियम ४, ११ र २१ संग सम्बन्धित)
दस्तुर
(ख) मोटरसाइकल, बयल गाडा र टाँगाको लागि २५।-
(२) व्यावसायिक जङ्गल ड्राइभ कार १,५००।- जिप ३,०००।- भ्यान ४,०००।-
(३) सुविधा प्राप्त बाटो बाहेक अन्य बाटोको लागि मोटर इन्जिन जडान भएको सवारी साधनका लागि ५००।-
(४) हेलिकप्टर अवतरण/Hovering समेत प्रत्येक पटकको लागि ७,०००।-
(छ) खर खुदाई, वनकस दस्तुर (प्रति पुँजी) ५०।-
(ज) सिनेमा (डकुमेन्टरी, फिल्म) छायाङ्कन दस्तूरः कायम गरिएको दस्तुर (रू.) नेपाली नागरिकलाई रू. १०,०००।- सार्क मुलुकभित्रका नागरिकलाई रू. ५०,०००।- अन्य राष्ट्रका नागरिकलाई यू.एस. डलर १,५००।- बराबरको नेपाली रूपैयाँ
द्रष्टव्यः ड्रोनबाट सिनेमा (डकुमेन्टरी, फिल्म) छायाङ्कन गर्दा यसको अतिरिक्त थप २५ (पच्चीस) प्रतिशत शुल्क लाग्नेछ । छायाङ्कन टोलीका साथ विभागले एकजना सम्पर्क अधिकारी खटाउनेछ।
(झ) डकुमेन्टरी बाहेक अन्य प्रयोजनको लागि ड्रोनको प्रयोग गर्दा प्रचलित प्रक्रिया पूरा गरेपछि सिनेमा (डकुमेन्टरी, फिल्म) छायाङ्कनको लागि तोकिएको दस्तुर लाग्नेछ।
द्रष्टव्य: (क) उल्लेखित दस्तुरमा मूल्य अभिवृद्धि कर समावेश भएको छ । (ख) रीतपूर्वकको प्रवेशपत्र बाहकलाई मात्र निकुञ्जभित्र प्रवेश गर्न दिइनेछ । (ग) घरपालुवा जीवजन्तुलाई राष्ट्रिय निकुञ्जको सुविधा प्राप्त बाटोबाट लै जाँदा दस्तुर लाग्ने छैन । (घ) खर खडाई पूजीको म्याद तीन दिनको हुनेछ ।
(ङ) गाइड शुल्क बुझाउने गाइडलाई निकुञ्ज प्रवेश दस्तुर लाग्ने छैन ।
(च) व्यावसायिक जङ्गल ड्राइभमा प्रयोग गरिने सवारी साधनमा देहायको संख्या भन्दा बढी पर्यटक राख्न पाइने छैन:- (क) कार - ४ जना (ड्राइभर र गाइड बाहेक) (ख) जिप - १० जना (ड्राइभर र गाइड बाहेक) (ग) भ्यान - १५ जना (ड्राइभर र गाइड बाहेक)
(छ) प्रवेशपत्र वा अनुमतिपत्र नलिई राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्ने वा उपरोक्त बमोजिम कुनै काम गर्ने व्यक्तिलाई तोकिएको दस्तुरमा शत प्रतिशत अतिरिक्त दस्तुर लिई प्रवेशको अनुमति दिइनेछ ।
(ज) उद्धारको लागि खटिएको हेलिकप्टरलाई शुल्क लाग्ने छैन ।
अनुसूची-२ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेशपत्र
मिति:...............
क्र.सं. १. प्रवेशपत्र लिने व्यक्तिको नाम:- २. ठेगाना: ३. राष्ट्रियता: ४. प्रवेशद्वार: ५. प्रवेश गर्ने दस्तुर: ६. प्रवेश गर्ने मिति: ७. प्रवेशपत्र बहाल रहने अवधि:
............................ प्रवेशपत्र प्रदान गर्नेको दस्तखत
द्रष्टव्य:- (१) प्रवेशपत्र हस्तान्तरण गर्न पाइनेछैन । (२) राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली, २०५३ को पालना गर्नु पर्नेछ ।
अनुसूची-३ (नियम ४ को उपनियम (३) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बर्दिया राष्ट्रिय निकुञ्ज नि:शुल्क प्रवेशपत्र
मिति:- क्र.सं. १. प्रवेशपत्र लिने व्यक्तिको वा संस्थाको नाम :- २. ठेगाना: ३. प्रवेश गर्ने व्यक्तिको संख्या:- ४. प्रवेशद्वार: ५. प्रवेश गर्ने उद्देश्य: ६. प्रवेशपत्र बहाल रहने अवधि: ............................ प्रवेशपत्र प्रदान गर्नेको दरखास्त
द्रष्टव्य:- (१) यो प्रवेशपत्र हस्तान्तरण गर्न पाइनेछैन । (२) राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली, २०५३ को पालना गर्नु पर्नेछ ।
अनुसूची-४ (नियम ११ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बर्दिया राष्ट्रिय निकुञ्ज
माछा मार्ने अनुमतिपत्र
क्र.सं. मिति:................
१. अनुमतिपत्र लिने व्यक्तिको नाम: २. ठेगाना:- ३. नागरिकता:- ४. माछा मार्न पाइने नदी खोला वा पोखरीको नाम वा त्यसको खण्ड वा हिस्साको विवरण:- ५. माछा मार्ने दस्तुर:- ६. अनुमतिपत्र बहाल रहने अवधि:-
................................................... अनुमतिपत्र प्रदान गर्नेको दस्तखत
द्रष्टव्य: यो अनुमति प्राप्त गर्ने व्यक्तिले संरक्षकले तोकेको शर्तको अधिनमा रही माछा मार्नु पर्नेछ ।
अनुसूची-५ (नियम २० सँग सम्बन्धित)
घर पालुवा जीवजन्तु, सवारी साधन र पैदल यात्रीको लागि बाटोहरू
१. बबईदेखि सैनिकबारसम्मको राजमार्ग । २. अस्रेनीदेखि कर्णाली पुलसम्मको राजमार्ग । ३. अस्रेनी दानुवाताल हुँदै तेलपानीसम्म । ४. रोँझागाउँबाट आउने बाटोको किनारा च्यामा खोलादेखि निकुञ्जको वनपथ हुँदै चिसापानी करेली खोलासम्म ।
अनुसूची-६ (नियम २१ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बर्दिया राष्ट्रिय निकुञ्ज दस्तुर बुझाएको रसिद
क्र. सं. मिति:- दस्तुर बुझाउनेको नाम, थर: ठेगाना: दस्तुर बुझाउने प्रयोजन:
१. सवारी चलाउन २. क्याम्प गर्न ३. निकुञ्जको गाइड सेवा उपलब्ध गर्न ४. खरखडाई वा वनकस काट्न
..................... दस्तुर बुझिलिनेको दस्तखत
द्रष्टव्य: यो रसिद दस्तुर बुझाउने व्यक्तिले राष्ट्रिय निकुञ्जभित्र रहँदा साथमा राख्नु पर्नेछ ।*