बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१
नेपाल राजपत्रमा प्रकाशित मिति २०७१।९।१४
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा, - (क) “ऐन” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनुपर्छ । (ख) “निकुञ्ज” भन्नाले बाँके राष्ट्रिय निकुञ्ज सम्झनु पर्छ । (ग) “सहायक संरक्षक” भन्नाले निकुञ्जको सहायक संरक्षण अधिकृतलाई सम्झनु पर्छ । (घ) “सवारी साधन” भन्नाले मोटर इन्जिन जडान भएको सवारी साधन सम्झनु पर्छ । (ङ) “राजमार्ग” भन्नाले निकुञ्जभित्र भएर गएको राजमार्ग सम्झनु पर्छ ।
३. निकुञ्जको सिमानाः (१) निकुञ्जको सिमाना ऐनको दफा ३ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी घोषणा गरे बमोजिम हुनेछ । (२) उपनियम (१) बमोजिमको निकुञ्जको सिमाङ्कन र संरक्षण गर्ने दायित्व संरक्षकको हुनेछ ।
४. निकुञ्जभित्र प्रवेश: (१) निकुञ्जभित्र प्रवेश गर्न चाहने व्यक्तिले अनुसूची-१ बमोजिमको दस्तुर बुझाउनु पर्नेछ र त्यस्तो दस्तुर बुझाउने व्यक्तिलाई संरक्षक वा निकुञ्जको कुनै कर्मचारीले अनुसूची-२ बमोजिमको प्रवेशपत्र दिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम २० बमोजिम सुविधा प्राप्त बाटो प्रयोग गर्ने व्यक्तिले सम्बन्धित प्रवेश चौकीबाट अनुमति लिई निकुञ्जभित्रबाट हिँड्दामा कुनै दस्तुर तिर्नु पर्ने छैन ।
(३) निकुञ्जको अध्ययन भ्रमण गर्न चाहने कुनै व्यक्ति, शिक्षण संस्था वा अन्य कुनै संस्थाको टोली वा सरकारी कर्मचारीलाई संरक्षकले अनुसूची-३ बमोजिमको निःशुल्क प्रवेशपत्र दिन सक्नेछ ।
५. निकुञ्जमा प्रवेश आफ्नै दायित्वमा हुने: प्रवेशपत्र लिई वा नलिई निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिलाई निकुञ्जभित्र कुनै किसिमको हानी नोक्सानी भएमा वा चोटपटक लागेमा वा निजको मृत्यु भएमा समेत त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिमा नै रहनेछ । त्यस्तो हानी नोक्सानी, चोटपटक वा मृत्यु भएबापत क्षतिपूर्तिको निमित्त नेपाल सरकार जिम्मेवार हुने छैन ।
६. निकुञ्जभित्र गर्न निषेध गरिएका कार्यहरु: संरक्षक वा सो कामको लागि नेपाल सरकारबाट अधिकार प्राप्त कर्मचारीको लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले निकुञ्जभित्र देहायका कामहरु गर्न पाउने छैनः-
(क) जुनसुकै प्रकारको घर, छाप्रो, आश्रम वा आकार बनाउन वा भोग गर्न,
(ख) कुनै भू-भाग कब्जा गर्न, फाँड्न वा आबाद गर्न,
(ग) घरपालुवा पशु वा पंक्षी चराउन वा तिनीहरुलाई पानी खुवाउन,
(घ) रुख, बिरुवा, झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, ओसारपसार गर्न, छेक्न, छाँट्न वा वन पैदावार सुक्ने कुनै काम गर्न, आगो लगाउन वा अरु कुनै किसिमले हानी पुर्याउन,
(ङ) क्याम्प गर्ने भनी छुट्याइएको स्थान बाहेक अन्यत्र रात बिताउन वा क्याम्प गर्न,
(च) क्याम्पिङ छुट्याइएको स्थान वा संरक्षकले तोकिदिएको स्थान बाहेक अन्य स्थानमा आगो बाल्न, वा
(छ) नियम २० बमोजिम तोकिएको बाटो बाहेक अन्य बाटो वा ठाउँबाट हिँडडुल गर्न वा कुनै घरपालुवा पशु लैजान वा हिँडाउन ।
७. साथमा राख्न वा लैजान निषेध गरिएका वस्तुहरुः कुनै व्यक्तिले निकुञ्जभित्र प्रवेश गर्दा वा रहँदा वा नियम २० अन्तर्गत तोकिएको बाटोबाट हिँड्दा संरक्षकको लिखित अनुमति बिना देहायका चीजवस्तुहरु साथमा लैजान, राख्न वा प्रयोग गर्न पाउने छैनः-
(क) हातहतियार, खरखजाना, विष, विष्फोटक पदार्थ वा सो प्रयोग गर्ने साधनहरु,
(ख) आखेटोपहार वा कुनै वन्यजन्तुको सुकेको वा आलो मासु,
(ग) धनुषबाण, भाला, जाल, पासो, धराप, गुलेली वा चोट पुर्याउन सकिने अन्य यस्तै वस्तुहरु ।
तर राजमार्गबाट सवारी साधनद्वारा यात्रा गर्ने यात्रुहरुले इजाजत प्राप्त हातहतियार साथमा लैजान कुनै बाधा पर्ने छैन ।
८. क्षति पुर्याउन नहुनेः (१) निकुञ्जको सिमानाभित्र वा बाहिरबाट आगो बाली वा अन्य कुनै प्रकारबाट निकुञ्जभित्रको वनस्पति, झारपात वा अन्य चीज वस्तुलाई क्षति पुर्याउन हुँदैन ।
(२) निकुञ्जभित्रको बाटो, पुल, मचान, घर, कार्यालय भवन, तारवार, चिन्हपट्ट वा अन्य कुनै चीजवस्तुलाई क्षति पुर्याउन हुँदैन ।
९. वैज्ञानिक अनुसन्धानको लागि नमूना सङ्कलन गर्न सकिनेः (१) निकुञ्जको हितका लागि उपयुक्त हुने काम वा वैज्ञानिक अनुसन्धानको निमित्त ऐन बमोजिम नमूना सङ्कलन गर्न चाहने व्यक्तिले संरक्षक समक्ष लिखित निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन परेका संरक्षकले ऐनको अनुसूची-१ मा उल्लिखित वन्यजन्तु बाहेक अन्य वन्यजन्तुलाई पक्री अनुसन्धानको निमित्त नमूना सङ्कलन गर्न आवश्यक शर्तहरु तोकी अनुमतिपत्र दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम अनुमतिपत्र दिँदा लाग्ने दस्तुर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० बमोजिम हुनेछ ।
१०. वन्यजन्तुको शिकार गर्न वा पंक्षीहरुको गुँड हटाउन वा बिगार्न नहुनेः (१) निकुञ्जको हितको लागि उपयुक्त हुने काम गर्न वा वैज्ञानिक अनुसन्धानको निमित्त नमूना सङ्कलन गर्न अनुमति प्राप्त गरेकोमा बाहेक अन्य अवस्थामा कुनै पनि व्यक्तिले निकुञ्जभित्र कुनै पनि वन्यजन्तुलाई मार्न, पक्रिन, लखेट्न, तसाउन वा चोटपटक पुर्याउन वा सो को उद्योग गर्न वा कुनै पनि पंक्षीहरुको फूल वा गुँड हटाउन, भत्काउन, बिगार्न वा खलबल्याउन हुँदैन ।
११. माछा मार्न अनुमति लिनु पर्नेः (१) निकुञ्जभित्रको नदी, खोला, नाला, ताल वा पोखरीमा माछा मार्न चाहने व्यक्तिले अनुसूची-१ बमोजिमको दस्तुर बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दस्तुर बुझाएपछ सं रक्षक वा निकुञ्जको कर्मचारीले आवश्यक शर्त तोकी अनुसूची-४ बमोजिमको माछा मार्ने अनुमतिपत्र दिनेछ ।
१२. पूर्व स्वीकृति लिनु पर्नेः (१) नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै पनि व्यक्तिले निकुञ्जभित्र माटो, ढुङ्गा, बालुवा वा अन्य कुनै खनिज पदार्थ खोज्न, खन्न वा हटाउन पाउने छैन ।
(२) कसै ले निकुञ्जभित्र अनुसन्धान सम्बन्धी कुनै काम गर्न चाहेमा नेपाल सरकारको स्वीकृति प्राप्त गरी गर्न सक्नेछ र त्यस्तोमा निजले गरेको अनुसन्धानको एकप्रति नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
१३. विज्ञापन टाँस्न वा राख्न नपाइनेः ऐन बमोजिम निकुञ्जभित्र स्थापित होटल, लज वा अन्य सेवा वा व्यवसायीहरुले बाहेक निकुञ्जभित्र कुनै पनि व्यक्तिले कुनै किसिमको चिनहट, सूचना, विज्ञापन वा अन्य यस्तै किसिमका पोष्टरहरु टाँसी प्रचार प्रसार गर्नु, गराउनु हुँदैन ।
१४. बाजाहरु बजाउन नपाइनेः निकुञ्जभित्र सरकारी कार्यालय, भवन वा ऐन बमोजिम स्थापित होटल, लज वा अन्य सेवा स्थलहरुमा बाहेक अन्यत्र रेडियो, टेप रेकर्ड र सङ्गीतका यस्तै अन्य बाजाहरु बजाउन पाइने छैन ।
१५. फोहर मैला फाल्न नपाइनेः कुनै पनि व्यक्तिले निकुञ्जनभित्र फोहर मैला गर्ने वा फाल्न हुँदैन ।
१६. विषालु पदार्थ फ्याँक्न नपाइनेः निकुञ्जनभित्र वा निकुञ्जनभित्र पुग्ने गरी बाहिरबाट कुनै पनि व्यक्तिले कुनै किसिमको कीटनाशक विष वा रासायनिक पदार्थ वा लठ्याउने वा विषालु पदार्थ फ्याँक्न वा निकुञ्जनभित्र भएर बग्ने नदी खोला वा पानीको अन्य कुनै स्रोतमा हाल्न वा छर्न वा निकुञ्जनभित्र पुग्ने गरी अरु तरिकाबाट हाल्न समेत हुँदैन ।
१७. निकुञ्जनभित्र सवारी साधन चलाउँदा पालन गर्नु पर्ने कुराहरुः निकुञ्जनभित्रको राजमार्ग वा राजमार्ग बाहेकको अन्य क्षेत्रमा सवारी साधन चलाउने व्यक्तिले देहायका कुराहरुको अधीनमा रहेर मात्र सवारी साधन चलाउनु पर्नेछः-
(क) सवारी साधनमा रहेका सबै सामानहरु प्रवेश चौकीमा जाँचाई लैजानु पर्नेछ ।
(ख) राजमार्ग बाहेकको अन्य क्षेत्रमा सवारी साधन चलाउँदा पाँच टनभन्दा बढी वजनको सवारी साधन चलाउन पाइने छैन ।
(ग) अन्य सवारी साधन, पैदल यात्री वा अन्य वस्तुको आवागमनमा बाधा परे गरी सवारी साधन चलाउन वा अड्याई राख्न हुँदैन ।
(घ) हर्न बजाउन हुँदैन ।
(ङ) राजमार्गको हकमा चालीस किलोमिटर प्रतिघण्टा र राजमार्ग बाहेकको अन्य क्षेत्रमा बीस किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा सवारी साधन चलाउन हुँदैन ।
(च) राजमार्गका आवश्यकता अनुसार राखिएको तगारो र सवारी साधनको गति कम गराउन बनाइएको गति नियन्त्रकको पालना गर्नु पर्नेछ ।
(छ) निकुञ्जनभित्र राखिएको तगारो भाँच्न, बिगार्न वा कुनै क्षति पुर्याउन हुँदैन ।
(ज) सवारी साधनले कुनै पनि वन्यजन्तुलाई लखे ट्न, ठक्कर दिन, घाइते बनाउन, कुल्चिन्च वा मार्न हुँदैन ।
(झ) राजमार्ग बाहेकको अन्य क्षेत्रमा सवारी साधन चलाउँदा नियम २० को उपनियम (३) को खण्ड (ग) बमोजिम कुनै बाटो बन्द गरिएको अवस्थामा त्यस्तो बाटोबाट सवारी साधन चलाउन हुँदैन ।
१८. इशारा वा सङ्केत मान्नु पर्नेः निकुञ्जभित्र चलाउने सबै सवारी साधनका चालकले निकुञ्जको कर्मचारीले गरेको इशारा वा सङ्केत पालना गर्नु पर्नेछ र त्यस्तो इशारा वा सङ्केत जनाउनको लागि राखिएको चिन्हपट्ट बमोजिम सवारी साधन चलाउनु पर्नेछ ।
१९. आवागमनमा प्रतिबन्धः निकुञ्जभित्रको होटल, लज, क्याम्प, अनुमति प्राप्त स्थान वा राजमार्गमा बाहेक अन्य स्थानमा कसैले पनि संरक्षकको लिखित अनुमति बिना सूचीयस्तै सूचीयसम्यम प्रवेश गर्ने, हिँडडुल गर्ने वा सवारी साधन चलाउनु हुँदैन ।
२०. बाटोको सुविधाः (१) निकुञ्जभित्र अनुसूची-५ बमोजिमको बाटोबाट पैदल यात्रा गर्ने, घर पालुवा जीवजन्तु हिँडाउन वा सवारी साधन चलाउन संरक्षकले चिन्हपट्ट लगाई तोके बमोजिम बाटोको सुविधा प्राप्त हुनेछ ।
२) संरक्षकको लिखित अनुमति बिना उपनियम (१) बमोजिमको चिन्हपट्ट लगाई तोकिदिएको बाटो बाहेक अन्य बाटोको प्रयोग गर्न पाइने छैन ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा देहाय बमोजिम हुनेछः-
(क) निकुञ्जभित्र पर्ने अनुसूची-६ बमोजिमको सांस्कृतिक, धार्मिक र ऐतिहासिक स्थलमा परम्परागत रुपमा चल्न आएको धार्मिक कार्यको लागि पैदल मार्गको अनुमति माग भई आएमा संरक्षकले उक्त क्षेत्रमा जाने बाटो तोकी अनुमति दिन सक्नेछ ।
(ख) निकुञ्जभित्रको अनुसूची-७ बमोजिमको पानीका श्रोत प्रयोग गरी परापूर्व काल देखि स्थानीयवासीले प्रयोग गर्दै आएको खानेपानी तथा सिंचाईको मर्मत तथा सम्भारको लागि अनुमति माग भई आएमा संरक्षकले उक्त क्षेत्रमा जाने बाटो तोकी मर्मत तथा सम्भारको लागि प्रवेश गर्न अनुमति दिन सक्नेछ ।
(ग) चिन्हहट लगाई तोकिदिएको कुनै बाटो प्रतिकूल मौसमका कारण बन्द गर्न उपयुक्त ठाउँमा संरक्षकले मौसम अनुकूल नहुन्जेलसम्म बन्द गरी अन्य कुनै बाटो तोक्न सक्नेछ ।
२१. दस्तुर बुझाउने पर्नु: (१) निकुञ्जभित्र देहायको कार्य गरे बापत अनुसूची-१ बमोजिमको दस्तुर बुझाउनु पर्नेछ:-
(क) सवारी साधन चलाएमा (राजमार्ग बाहेक), (ख) क्याम्प गरेमा, (ग) निकुञ्जको गाइडको सेवा उपलब्ध गरेमा, (घ) खरखडाई वा वनकस काटेमा, (ङ) सुन चालेमा, (च) च्याउ टिपेमा ।
(२) उपनियम (१) बमोजिम दस्तुर बुझाउने व्यक्तिलाई अनुसूची-८ बमोजिमको दस्तुर बुझाएको रसिद दिइनेछ ।
२२. सवारी साधन वा वस्तु पक्राउ गरिने: यस नियमावली बमोजिम निकुञ्जभित्र सुविधा दिइएको बाटो बाहेक अन्य बाटोबाट कुनै सवारी साधन वा घरपालुवा जीवजन्तु हिँडाएको भेटिएमा संरक्षकले तोकिदिएको दर्जाको निकुञ्जको कर्मचारीले पकिरी सम्बन्धित अधिकारी समक्ष कारबाहीका लागि बुझाउनेछ ।
२३. गिरफ्तार गर्न वा नियन्त्रणमा लिन सकिने: (१) ऐन तथा यस नियमावली विपरीत काम गरेको अभियोगमा संरक्षकबाट वारेन्ट प्राप्त गरी सहायक संरक्षक, रेञ्जर वा निकुञ्जका अन्य कर्मचारीहरुले कुनै व्यक्तिलाई गिरफ्तार गर्न वा त्यस्तो व्यक्तिको मालसामान वा सवारी साधनको खानतलासी गर्न वा नियन्त्रणमा लिन सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अभियुक्त भागी जाने अवस्था भएमा वा सबूत नष्ट हुन सक्ने आशंका भएमा वारेन्ट बेगर पनि अभियुक्तलाई पक्राउ गर्न वा निजको सरसामान वा सवारी साधनको खानतलासी गर्न वा नियन्त्रणमा लिन सकिनेछ ।
(३) यस नियम बमोजिम नियन्त्रणमा लिएको वा बरामद भएको काठ वा अन्य सरसामान निकुञ्जले तोकेको स्थानसम्म ल्याउन संरक्षकले अनुमति दिन सक्नेछ ।
२४. दुर्घटना वा मृत्यु भएमा सूचना गर्नुपर्नेः निकुञ्जभित्र प्रवेश गर्ने कुनै व्यक्तिको दुर्घटना वा मृत्यु भएमा त्यस्तो व्यक्तिको साथमा गएका अन्य व्यक्तिले वा सो दुर्घटना वा मृत्यु भएको थाहा पाउने व्यक्तिले सो कुराको सूचना नजिकको प्रहरी चौकी वा निकुञ्जको कार्यालयमा दिनु पर्नेछ ।
२५. सरकारी कामको लागि निकुञ्जभित्र प्रवेशमा छुटः यस नियमावलीमा लेखिएको कुनै कुराले पनि निकुञ्ज वा अन्य कुनै सरकारी कार्यालयका कुनै कर्मचारीलाई आफ्नो कार्यालय वा अन्य कुनै सरकारी कार्यालयको आदेशानुसार कुनै सरकारी काम कारबाही गर्नको लागि निकुञ्जभित्र कुनै पनि समयमा प्रवेश गर्न बाधा पुर्याएको मानिने छैन ।
२६. मुद्दा हेर्ने अधिकारीः (१) ऐन र यस नियमावली बमोजिम सजाय हुने मुद्दाको कारबाही र किनारा गर्ने अधिकार संरक्षकलाई हुनेछ ।
(२) उपनियम (१) को सर्वसामान्यतयामा प्रतिकूल असर नपर्ने गरी देहायका मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार सहायक संरक्षक रहेकोमा सहायक संरक्षकलाई हुनेछः-
(क) नियम ४ विपरीत अनुमति नलिई निकुञ्जभित्र प्रवेश गरेको,
(ख) दसहजार रुपैयाँसम्म मोल गर्ने वन पैदावार अनियमित ढङ्गबाट हटाएको, काटेको वा झिकेको,
(ग) घरपालुवा जीवजन्तु वा पंक्षीलाई निकुञ्जभित्र चराएको वा पानी खुवाएको,
(घ) छुट्याइएको क्याम्प वा स्थान बाहेक अन्यत्र रात बसेको, क्याम्प गरेको वा आगो बालेको,
(ङ) नियम ११ विपरीत अनुमति नलिई माछा मारेको,
(च) नियम १३ विपरीत कुनै चिन्हपट्ट, सूचना, विज्ञापन वा पोष्टरहरु राखेको वा टाँसेको,
(छ) नियम १४ विपरीत कुनै बाजा बजाएको,
(ज) नियम १५ विपरीत फोहर मैला गरेको वा फालेको,
(झ) नियम १७ र १८ विपरीत हुने गरी सवारी साधन चलाएको,
(ञ) नियम १९ विपरीत निकुञ्जभित्र प्रवेश गरेको, हिँडडुल गरेको वा सवारी साधन चलाएको,
(ट) नियम २० विपरीत तोकेको बाटो बाहेक अन्य ठाउँबाट पैदल यात्रा गरेको, घर पालुवा जीवजन्तु हिँडाएको वा सवारी साधन चलाएको ।
२७. अधिकार प्रत्यायोजन गर्न सकिनेः संरक्षकले आफूलाई प्राप्त अधिकार मध्ये नियम २६ बमोजिम मुद्दा हेर्ने अधिकार बाहेक अन्य अधिकार आफू मातहतका कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
२८. सवारी साधन र पर्यटक सङ्ख्यामा नियन्त्रणः निकुञ्जको वातावरणमा प्रतिकूल असर पर्ने देखिएमा संरक्षकले निकुञ्ज क्षेत्रमा प्रवेश गर्ने सवारी साधनमा प्रतिबन्ध लगाउन र पर्यटक सङ्ख्यामा नियन्त्रण गर्न सक्नेछ ।
२९. अनियमित तरिकाबाट सङ्कलन गरेको वन पैदावार लिलाम बिक्री गर्नेः कसैले निकुञ्जभित्र गैरकानूनी तरिकाले सङ्कलन गरेको वन पैदावारलाई संरक्षकले तोकेको निकुञ्जको कुनै कर्मचारीले बिगो कायम गरी संरक्षक समक्ष पेश गर्नु पर्नेछ । त्यसरी बिगो कायम गरिएको वन पैदावारको प्रचलित कानुन बमोजिम लिलाम बिक्री गरिनेछ ।
३०. चौपाया वा सडीगली जाने माल वस्तु लिलाम गर्न सकिनेः (१) ऐन अन्तर्गत सजाय हुने कसुरको सम्बन्धमा कब्जा गरेको वा नियन्त्रणमा लिएको सडीगली जाने माल वस्तु र चौपायालाई संरक्षकले तत्कालै लिलाम बिक्री गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम लिलामबाट आएको रकम मुद्दा किनारा हुँदा ठहरे बमोजिम हुने गरी धरौटी खातामा आम्दानी बाँधी राख्नु पर्नेछ ।
३१. जग्गा दर्ता गर्न नहुनेः (१) निकुञ्ज भित्रको कुनै पनि जग्गा कसैले कुनै पनि तरिकाले कब्जा गर्न र दर्ता गर्न वा गराउन हुँदैन । कसैले यस नियम विपरीत जग्गा दर्ता गराएमा त्यस्तो दर्ता स्वतः बदर हुनेछ ।
(२) उपनियम (१) बमोजिम जग्गा निकुञ्ज घोषणा हुनु भन्दा अघि कसैले नेपाल सरकारको स्वीकृति बेगर गैरकानूनी रुपले दर्ता गराएको रहेछ भने त्यस्तो दर्ता निकुञ्ज घोषणा भएकै मितिबाट स्वतः बदर भएको मानिनेछ र सोको व्यहोरा अभिलेखमा जनाउन निकुञ्ज कार्यालयले सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनु पर्नेछ । त्यसरी लेखी आएको सात दिन भित्र मालपोत कार्यालयले अभिलेखमा जनाई सोको जानकारी निकुञ्ज कार्यालयलाई गराउनु पर्नेछ ।
३२. बिगो कायम गर्नेः (१) निकुञ्जको वन जङ्गल नोक्सान भई ठुटासम्म भएको तर काठ फेला नपरेकोमा सोको बिगो कायम गर्नु पर्दा लोकल भोलुम टेबल प्रयोग गरी ठुटाबाट आयतन निकाली नेपाल सरकारले तोकेको काठको प्रचलित दर अनुसार बिगो कायम गर्नु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि ठुटा फेला नपरी काठ मात्र फेला परेमा प्राप्त काठको उपनियम (१) बमोजिम आयतन निकाली त्यसमा चालीस प्रतिशत थप गरी नेपाल सरकारले तोकेको काठको प्रचलित दर अनुसार बिगो कायम गर्नु पर्नेछ ।
३३. निकुञ्जको कार्य योजना तयार गर्नेः निकुञ्जको जैविक विविधता संरक्षणका लागि अनुसूची-९ बमोजिमका कुराहरु खुलाई संरक्षकले निकुञ्जको व्यवस्थापन कार्य योजना तयार गर्नु पर्नेछ ।
३४. असल नियतले गरेको कामको बचाउः ऐन वा यस नियमावलीद्वारा प्रदत्त अधिकार असल नियतले प्रयोग गरेकोमा कुनै पनि सरकारी कर्मचारी व्यक्तिगत तवरले उत्तरदायी हुने छैन ।
३५. निकुञ्जको व्यवस्थापन र विकास निर्माणमा वन पैदावार उपयोग गर्न सकिनेः नेपाल सरकारबाट स्वीकृत कार्यक्रम अनुसार सञ्चालन गरिने निकुञ्ज व्यवस्थापन एवं सोको विकास निर्माण कार्यका लागि ढुङ्गा, गिट्टी, बालुवा, सुकेका काठ लगायतका वन पैदावारहरुको आवश्यकता परेमा उपलब्ध गराउन सकिने स्थानबाट संरक्षकको अनुमति लिई लागत अनुमानको आधारमा सङ्कलन, ओसार पसार र प्रयोग गर्न सकिनेछ ।
३६. अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने: नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीको अनुसूचीहरुमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
'अनुसूची- १ (नियम ४, ११ र २१ सँग सम्बन्धित)
दस्तुर
मिति २०७५।६।२९ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।
(ङ) निकुञ्जभित्र वा निकुञ्जको नदी नालामा पर्यटक घुमाउन डुङ्गा, र्याफ्टिङ्ग, बोटिङ्ग चलाए वापत दस्तुर
(१) डुङ्गा (प्रति व्यक्ति प्रति ट्रिप) २००।- १,५००।- २,०००।- (२) र्याफ्टिङ्ग (प्रति व्यक्ति प्रति ट्रिप) २००।- २,०००।- ४,०००।- (३) बोटिङ्ग १,०००।- ४,०००।- ८,०००।-
(च) तालीम प्राप्त पञ्जीकृत गाइडले निकुञ्जभित्र गाइड सेवा उपलब्ध गराए वापत प्रति गाइड प्रति वर्ष गाइड शुल्क १,५००।-
(छ) सवारी साधन दस्तुर (प्रति सवारी प्रति पटक)
(१) राजमार्ग बाहेक सुविधा प्राप्त बाटोको लागि (क) कार, जीप, ट्रक, बस, ट्रयाक्टर, लरी (५ टन सम्म) को लागि १००।- (ख) मोटर साइकल, बयलगाडा र टाँगाको लागि २०।-
(२) व्यावसायिक जङ्गल ड्राइभ कार १,५००।- जीप २,५००।- भ्यान ३,०००।-
(३) सुविधा प्राप्त बाटो बाहेक अन्य बाटोको लागि मोटर इन्जिन जडान भएको सवारी साधनको लागि ३००।-
(४) हेलिकप्टर अवतरण/Hovering समेत (प्रत्येक पटकको लागि) ५,०००।-
(ज) खर खदाई वनकस दस्तुर (प्रति पुजी) ५०।-
(झ) फुकि च्याउ र बगाले च्याउ (असार एक गते देखि भदौ मसान्तसम्म संरक्षकले तोकेको क्षेत्रमा १ पटकमा बढीमा ७ दिन खुल्ला गर्ने गरी वर्षमा दुईपटक) प्रति के.जी. १००।-
(ञ) हात्ती सफारी (१) नेपाली नागरिक ५००।- (२) सार्क मुलुकका नागरिक १,५००।- (३) अन्य विदेशी नागरिक २,५००।-
(ट) सिनेमा (डकुमेन्ट्री, फिल्म) छायाङ्कन दस्तुर (१) नेपाली नागरिकलाई रु. १०,०००।- (२) सार्क मुलुकका नागरिकलाई रु. ५०,०००।- (३) अन्य राष्ट्रका नागरिकलाई यू.एस.डलर १,५००।- बराबरको नेपाली रुपैयाँ
द्रष्टव्यः ड्रोनबाट सिनेमा (डकुमेन्ट्री, फिल्म) छायाङ्कन गर्दा यसको अतिरिक्त थप २५ (पच्चीस) प्रतिशत शुल्क लाग्नेछ । छायाङ्कन टोलीका साथ विभागले एकजना सम्पर्क अधिकारी खटाउनेछ ।
(ठ) डकुमेन्ट्री बाहेक अन्य प्रयोजनका लागि ड्रोनको प्रयोग गर्दा प्रचलित प्रक्रिया पुरा गरेपछि सिनेमा (डकुमेन्ट्री, फिल्म) छायाङ्कनको लागि तोकिएको दस्तुर लाग्नेछ ।
द्रष्टव्यः (क) उल्लिखित दस्तुरमा मूल्य अभिवृद्धिकर समावेश भएको छ । (ख) रित पूर्वपुस्तको प्रवेशपत्र बाहकलाई मात्र निकुञ्जभित्र प्रवेश गर्न दिइनेछ ।
(ग) घरपालुवा जीवजन्तुलाई राष्ट्रिय निकुञ्जको सुविधा प्राप्त बाटोबाट लैजाँदा दस्तुर लाग्ने छैन ।
(घ) खर खडाई पूजीको म्याद तीन दिनको हुनेछ ।
(ङ) गाइड शुल्क बुझाउने गाइडलाई निकुञ्ज प्रवेश दस्तुर लाग्ने छैन ।
(च) व्यावसायिक जङ्गल ड्राइभमा प्रयोग गरिने सवारी साधनमा देहायमा तोकिएको सङ्ख्या भन्दा बढी पर्यटक राख्न पाइने छैनः-
(१) कार - ४ जना (ड्राइभर र गाइड बाहेक) ।
(२) जीप - १० जना (ड्राइभर र गाइड बाहेक) ।
(३) भ्यान - १५ जना (ड्राइभर र गाइड बाहेक) ।
(छ) प्रवेशपत्र वा अनुमतिपत्र नलिई निकुञ्जभित्र प्रवेश गर्ने वा उपरोक्त बमोजिम कुनै काम गर्ने व्यक्तिलाई तोकिएको दस्तुरमा शत प्रतिशत थप दस्तुर लिई प्रवेशको अनुमति दिइनेछ ।
(ज) उद्धारको लागि खटिएको हेलिकप्टरलाई शुल्क लाग्ने छैन ।
(झ) शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको लागि अको व्यवस्था नभएसम्म यही अनुसारको दस्तुर लाग्नेछ ।
अनुसूची-२ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाँके राष्ट्रिय निकुञ्ज
प्रवेशपत्र
क्र.सं. मिति:-
१. प्रवेशपत्र लिने व्यक्तिको नामः २. ठेगानाः ३. राष्ट्रियताः ४. प्रवेशद्वारः ५. प्रवेश गर्ने दस्तुरः ६. प्रवेश गर्ने मितिः ७. प्रवेशपत्र बहाल रहने अवधिः
........................................... प्रवेशपत्र प्रदान गर्नेको दस्तखत
द्रष्टव्यः- (१) यो प्रवेशपत्र अन्य व्यक्तिलाई हस्तान्तरण गर्न पाइने छैन । (२) निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ को पालना गर्नु पर्नेछ ।
अनुसूची- ३ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाँके राष्ट्रिय निकुञ्ज नि:शुल्क प्रवेशपत्र
क्र.सं. मिति:-
१. प्रवेशपत्र लिने व्यक्ति वा संस्थाको नामः २. ठेगानाः ३. प्रवेश गर्ने व्यक्तिको संख्याः ४. प्रवेशद्वारः ५. प्रवेश गर्ने उद्देश्यः ६. प्रवेशपत्र बहाल रहने अवधिः
........................................... प्रवेशपत्र प्रदान गर्नेको दस्तखत
द्रष्टव्यः- (१) यो प्रवेशपत्र अन्य व्यक्तिलाई हस्तान्तरण गर्न पाइने छैन । (२) निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ को पालना गर्नु पर्नेछ ।
अनुसूची-४ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाँके राष्ट्रिय निकुञ्ज माछा मार्ने अनुमतिपत्र
क्र.सं. मिति:-
१. अनुमतिपत्र लिने व्यक्तिको नामः २. ठेगानाः ३. नागरिकताः ४. माछा मार्न पाइने नदी खोला वा पोखरीको नाम वा त्यसको खण्ड वा हिस्साको विवरणः ५. माछा मार्ने दस्तुरः ६. अनुमतिपत्र बहाल रहने अवधिः
........................................... अनुमतिपत्र प्रदान गर्नेको दस्तखत
द्रष्टव्यः- यो अनुमति प्राप्त गर्ने व्यक्तिले संरक्षकले तोकेको शर्तको अधीनमा रही माछा मार्नु पर्नेछ ।
अनुसूची- ५ (नियम २० को उपनियम (१) सँग सम्बन्धित) घर पालुवा जीवजन्तु, सवारी साधन र पैदल यात्रीको लागि बाटोहरु
१. खड्गवार-आम्बास-घुइयावारी (प्रस्तावित मोटरबाटो) २. ㅎुरिया-अमिलाबारी-हातिदमार (पैदल बाटो) ३. ㅎुरिया-अमिलाबारी-जिला (पैदल बाटो) ४. अगैया-अमिलाबारी-जलजला (पैदल बाटो)
अनुसूची- ६ (नियम २० को उपनियम (३) को खण्ड (क) सँग सम्बन्धित) सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक स्थल
१. देउराली डाँडाको देउती बजै मन्दिर २. झिझरी चुरे डाँडाको झाँक्री मन्दिर ३. कुकुरगौडा
अनुसूची-७
(नियम २० को उपनियम (३) को खण्ड (ख) सँग सम्बन्धित)
परम्परागत रुपमा सञ्चालित खानेपानी तथा सिंचाई
१. ठुरिया ओभरी कुलो, महादेबपुरी ७ २. हात्तिगौडा च्यामा (ठूलो) कुलो, Chisapani २ ३. कक्रवा कुलो, Chisapani ९ ४. आमखोली खड्गवार कुलो, कोहलपुर ८ ५. जोरहत्ते दाउना कुलो, कोहलपुर ४ ६. झिझरी बागेसाल उदयन् कुलो, महादेबपुरी १ ७. झिझरी महादेबगाउँ कुलो, महादेबपुरी १ ८. परुवाखोला पेरानी कुलो, महादेबपुरी ८ ९. लुम्बाखोला सिक्टा गोठेरी कुलो १०. लामीताल वैरिया कूलो ११. कटसेनी अगैया खानेपानी, कचनपुर १ १२. कुकुरगौडा कुसुम खानेपानी १३. राजावास कुसुम खानेपानी १४. शिवखोला खानेपानी
अनुसूची-८ (नियम २१ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाँके राष्ट्रिय निकुञ्ज दस्तुर बुझाएको रसिद
क्र.सं. मिति:-
१. दस्तुर बुझाउनेको नाम, थरः
२. ठेगानाः
३. दस्तुर बुझाउने प्रयोजनः (क) सवारी साधन चलाउन (ख) क्याम्प गर्ने (ग) निकुञ्जको गाइड सेवा उपलब्ध गर्ने (घ) खरखडाई वा वनकस काट्न (ङ) सुन चाल्न (च) च्याउन टिप्न
........................................... दस्तुर बुझिलिनेको दस्तखत
द्रष्टव्य:- यो रसिद दस्तुर बुझाउने व्यक्तिले राष्ट्रिय निकुञ्जभित्र रहँदा साथमा राख्नु पर्नेछ ।
अनुसूची-९ (नियम ३३ सँग सम्बन्धित)
निकुञ्ज व्यवस्थापन कार्ययोजनामा समेटुन् पर्ने विषयवस्तु
१. प्रत्येक जङ्गल, झाडी, बुट्यान, घाँसे मैदान, नदीखोला र प्रति चउरले ओगटेको क्षेत्र, २. संरक्षित वन्यजन्तुहरुको सङ्ख्या र संरक्षणको स्थिति, ३. जैविक विविधता संरक्षणका लागि अपनाएको कार्यविधि, ४. भू-वनोट तथा संरक्षित प्रजातिहरुको बासस्थानको विवरण देखिने गरी तयार गरिएको निकुञ्जको नक्सा, ५. निकुञ्जको मध्यवर्ती क्षेत्रको जनसङ्ख्या तथा जनधनत्व तथा वन पैदावार उपयोग सम्बन्धी विवरण, ६. वन पैदावारको विवरण, ७. मध्यवर्ती क्षेत्रमा प्राप्त हुने वन पैदावारको सङ्कलन, उपयोग तथा बिक्री सम्बन्धी वार्षिक विवरण, ८. कार्य योजना अवधिभर प्राप्त हुने वार्षिक राजश्वको विवरण, ९. पर्यटन विकास, वातावरण, धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण सम्बन्धी कार्यक्रम, १०. निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि उपयुक्त अन्य विवरणहरु ।