बाल श्रम (निषेध र नियमित गर्ने) नियमावली, २०६२
नेपाल राजपत्रमा प्रकाशन मिति २०६२।१०।७
संशोधन बाल श्रम (निषेध र नियमित गर्ने) (पहिलो संशोधन) नियमावली, २०७० २०७०।०१।३०
बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको नियमहरू बनाएको छ।
परिच्छेद – १ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “बाल श्रम (निषेध र नियमित गर्ने) नियमावली, २०६२” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ सम्झनु पर्छ। (ख) “समिति” भन्नाले नियम २९ बमोजिम गठन भएको बाल श्रम निवारण समिति सम्झनु पर्छ। (ग) “बाल श्रम निवारण कोष” भन्नाले ऐनको दफा २४ बमोजिम स्थापना भएको बाल श्रम निवारण कोष सम्झनु पर्छ।
परिच्छेद– २ जोखिमपूर्ण व्यवसाय वा कार्य सञ्चालन गरेको सूचना
३. व्यवस्थापकले सूचना दिँदा खुलाउनु पर्ने कुराहरूः ऐनको दफा ५ को उपदफा (१) मा उल्लिखित विवरणका अतिरिक्त जोखिमपूर्ण व्यवसाय वा कार्य सञ्चालन गरेको व्यवस्थापकले श्रम कार्यालयलाई सूचना दिँदा देहायका विवरण समेत खुलाउनु पर्नेछः–
(क) प्रतिष्ठान सञ्चालन हुने समय, (ख) प्रतिष्ठानको काम गर्ने समय र दैनिक कार्य घण्टा, (ग) प्रतिष्ठानले जोखिमपूर्ण व्यवसाय वा कार्य सञ्चालन गरेको मिति, (घ) प्रतिष्ठानमा कार्यरत कामदारको सङ्ख्या, नाम, उमेर र ठेगाना, (ङ) प्रतिष्ठानको तर्फबाट कामदारलाई पुर्याइएको सेवा, (च) कामदारलाई दिइएको पारिश्रमिक तथा अन्य सुविधा, (छ) प्रतिष्ठानको सम्पर्क ठेगाना, (ज) स्वास्थ्य र सुरक्षा सम्बन्धी व्यवस्था।
४. योग्यताको प्रमाणपत्रः (१) बालकलाई श्रमिकको रूपमा काममा लगाउनु अघि निजले सो काम गर्न सक्ने नसक्ने विषयमा बालकको स्वास्थ्य परीक्षण गर्न प्रतिष्ठानले कामको प्रकृति र बालकको उमेर समेत उल्लेख गरी श्रम कार्यालयमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि श्रम कार्यालयले चिकित्सकद्वारा त्यस्तो बालकको स्वास्थ्य परीक्षण गराउनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम बालकको स्वास्थ्य परीक्षण गराउँदा त्यस्तो बालक काम गर्न योग्य देखिएमा चिकित्सकले अनुसूची बमोजिमको ढाँचामा योग्यताको प्रमाणपत्र दिनेछ।
५. विवरण दिँदा खुलाउनु पर्ने कुराहरूः ऐनको दफा ८ को उपदफा (१) मा उल्लिखित कुराहरूका अतिरिक्त बालकलाई काममा लगाउने प्रतिष्ठानले देहायका कुराहरू समेत खुलाइएको विवरण श्रम कार्यालयमा पेश गर्नु पर्नेछः–
(क) बालकले काम गर्नु पर्ने समय,
(ख) अस्थायी वा स्थायी कस्तो किसिमको सेवामा नियुक्ति गरिएको हो सो खुलेको नियुक्तिपत्रको प्रतिलिपि,
(ग) आवास सुविधा भए नभएको र
(घ) बालकले काम गर्ने विभाग वा शाखा।
परिच्छेद–३ पारिश्रमिक, बिदा तथा अन्य सुविधा
६. पारिश्रमिक र भत्ता: प्रतिष्ठानमा काम गर्ने बालकले *श्रम ऐन, २०४८ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समय समयमा तोकिदिएको पारिश्रमिक र भत्तामा कम नहुने गरी मासिक पारिश्रमिक र भत्ता पाउनेछ।
७. बिदा: प्रतिष्ठानमा काम गर्ने बालकले देहाय बमोजिमका बिदाहरू पाउन सक्नेछः–
(क) सार्वजनिक बिदा (ख) घर बिदा (ग) बिरामी बिदा (घ) किरिया बिदा (ङ) विशेष बिदा (च) शैक्षिक बिदा
८. सार्वजनिक बिदा: (१) प्रतिष्ठानमा काम गर्ने बालकले प्रत्येक वर्ष कम्तीमा तेह्र दिन पूरा पारिश्रमिक सहितको सार्वजनिक बिदा पाउनेछ।
(२) उपनियम (१) बमोजिम बालकले पाउने सार्वजनिक बिदा प्रत्येक वर्षको शुरुमा समितिले निर्धारण गर्नु पर्नेछ।
९. घर विदा: (१) प्रतिष्ठानमा काम गर्ने बालकले काम गरेको अवधिको बीस दिनको एक दिनका दरले पूरा तलब सहितको घर विदा पाउनेछ। बालकले त्यस्तो विदा बस्नुहुँदा अगावै व्यवस्थापकबाट विदा स्वीकृत गराएको हुनु पर्नेछ।
स्पष्टीकरण: यस उपनियमको प्रयोजनको निमित्त “काम गरेको अवधि” भन्नाले सो अवधिभित्र पर्ने प्रत्येक सप्ताहामा एक दिनको साप्ताहिक विदा, सार्वजनिक विदा र अन्य तलबी विदा समेतलाई जनाउँछ।
(२) उपनियम (१) बमोजिम बालकले पाउने घर विदा बढीमा छत्तीस दिनसम्म सञ्चित गरी राख्न सकिनेछ।
(३) कुनै बालकले राजीनामा गरी नोकरी छाडेमा वा अरू कुनै प्रकारले अवकाश प्राप्त गरेमा निजको सञ्चित रहेको घर विदा बापत निजले खाईपाई आएको पछिल्लो तलबको दरले हुने आउने एकमुष्ट रकम पाउनेछ।
१०. बिरामी विदा: (१) प्रतिष्ठानमा काम गर्ने बालकले एक वर्षमा चौबीस दिन बिरामी विदा पाउनेछ।
(२) बिरामी विदामा बस्दा त्यस्तो बालकले पूरा तलब पाउनेछ।
(३) कुनै बालकको सात दिनभन्दा बढी बिरामी विदा स्वीकृत गर्नु पर्मा व्यवस्थापकले नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकको प्रमाणपत्र पेश गर्न लगाउन सक्नेछ।
(४) कुनै बालक अचानक बिरामी परी विदा बस्नु परेमा निजले सोको जानकारी छिटो साधनद्वारा व्यवस्थापकलाई दिनु पर्नेछ।
११. किरिया विदा: (१) प्रतिष्ठानमा सेवा गरेको बालकले कुल धर्म अनुसार आफै किरिया बस्नु परेमा पन्ध्र दिनसम्म किरिया विदा पाउनेछ।
(२) किरिया विदामा बस्दा त्यस्तो बालकले पूरै तलब पाउनेछ।
१२. विशेष बिदा: (१) कुनै बिदा बाँकी नभएको बालकले विशेष परिस्थिति परी बिदा नबसी बस्नुपर्ने कारण परेमा पूर्व स्वीकृति लिई कूल सेवा अवधिमा साठी दिन नबढ्ने गरी एक वर्षमा तीस दिनसम्म विशेष बिदा पाउन सक्ने।
(२) उपनियम (१) बमोजिम विशेष बिदामा बस्ने बालकले त्यस्तो बिदामा बसेको अवधिको तलब पाउने छैन।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बालिका आफ्नो काबुभन्दा बाहिरको परिस्थितिको कारण वा कसैको जोर जुलुममा परी गर्भवती भएमा त्यस्तो बालिकालाई सुत्केरी हुनुभन्दा अघि र पछि गरी ९० दिन विशेष बिदा दिइनेछ। त्यस्तो बिदामा बस्ने बालिकालाई सो बिदामा बसेको अवधिको पूरा पारिश्रमिक दिइनेछ।
१३. शैक्षिक बिदा तथा कामको समय निर्धारण: (१) विद्यालय जाने बालकले वार्षिक परीक्षाको अवधिर एक वर्षमा दस दिन शैक्षिक बिदा पाउनेछ।
(२) उपनियम (१) बमोजिम विद्यालयमा अध्ययन गर्ने बालकको निमित्त प्रतिष्ठानले विद्यालय समय र कामको समय एउटै नहुने गरी समय निर्धारण गर्नु पर्नेछ।
१४. बिदा स्वीकृत गर्ने अधिकारी: यस परिच्छेदमा उल्लेखित बिदाहरू व्यवस्थापकले वा प्रतिष्ठानको नियमावलीमा तोकिएको अधिकारीले स्वीकृत गर्नेछ।
१५. बिदा नलिई गयल हुने बालक उपर कारबाही: (१) बिदा स्वीकृत नगराई कुनै पनि बालक प्रतिष्ठानमा गयल हुन हुँदैन।
(२) कुनै बालकले बिदा बसेको जानकारी नदिई लगातार तीस दिनभन्दा बढी समय प्रतिष्ठानमा अनुपस्थित भएमा त्यस्तो बालकलाई गयल कट्टी गरी प्रतिष्ठानको सेवाबाट हटाउन सकिनेछ।
तर त्यसरी हटाउँदा सुनुवाईको मौकाबाट वञ्चित गरिने छैन।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि बिदा बस्ने जानकारी गराउन नपाउँदै तत्काल बिदा बस्नु पर्ने कुनै कारण परी पछि त्यस्तो अवधिको बिदा स्वीकृत गराएकोमा यस नियमको उल्लंघन भएको मानिने छैन।
१६. उपदान: (१) प्रतिष्ठानमा एक वर्ष वा सोभन्दा बढी सेवा गरेको कुनै बालकले राजीनामा दिई वा अन्य कुनै किसिमले प्रतिष्ठानको सेवाबाट अलग भएमा त्यस्तो बालकले काम गरेको प्रत्येक वर्षको एक महिनाको तलबका दरले हुन आउने एकमुष्ट रकम उपदान पाउनेछ।
(२) कुनै बालकले उमेर पुगेपछि सो प्रतिष्ठानको सेवालाई निरन्तरता दिएकोमा पछि राजीनामामा स्वीकृत गराई वा अन्य कुनै किसिमले सेवाबाट अलग भएमा त्यस्तो बालकले यस नियम बमोजिम पाउने उपदानका अतिरिक्त प्रचलित कानून बमोजिम पाउने उपदान समेत पाउनेछ।
(३) यो नियमावली प्रारम्भ हुनुभन्दा अगाडि प्रतिष्ठानमा काम गर्ने बालकले समेत यसै नियमावली बमोजिम उपदान पाउनेछ।
१७. उपदान कोष: (१) नियम १६ बमोजिम बालकले प्राप्त गर्ने उपदान रकम जम्मा गर्ने प्रयोजनको निमित्त प्रत्येक प्रतिष्ठानले एउटा छुट्टै उपदान कोष खडा गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम खडा भएको उपदान कोषमा नियम १६ को उपनियम (१) बमोजिम बालकलाई दिइने उपदान रकम प्रतिष्ठानले प्रत्येक वर्ष जम्मा गर्नु पर्नेछ।
(३) प्रत्येक बालकले पाउने उपदानको रकम स्पष्ट देखिने गरी प्रतिष्ठानले छुट्टा छुट्टै हिसाब राख्नु पर्नेछ।
१८. सञ्चय कोष: (१) प्रतिष्ठानमा स्थायी नियुक्ती पाएको बालकको मासिक तलबबाट दश प्रतिशतका दरले रकम कट्टा गरी सो रकममा प्रतिष्ठानले शत प्रतिशत रकम थपी सञ्चय कोषको रूपमा बालकको नाममा उपनियम (२) बमोजिम जम्मा गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको रकम जम्मा गर्न प्रत्येक प्रतिष्ठानको व्यवस्थापकले आयकर ऐन, २०५८ अनुसार स्वीकृत अवकाश कोषमा आफ्नो प्रतिष्ठानमा कार्यरत बालकको नाममा खाता खोल्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम कुनै बालकको नाममा जम्मा रहेको सम्पूर्ण रकम प्रतिष्ठानको सेवाबाट अवकाश नपाई मस्तिष्क पाइने छैन।
(४) कुनै बालकको सेवा अवधिभित्र मृत्यु भएमा निज बालकको सञ्चय कोषको रूपमा जम्मा रहेको रकम निज बालकले इच्छाएको व्यक्ति भएमा सोही व्यक्तिलाई र निजले
इच्छाएको व्यक्ति नभएमा वा निजले इच्छाएको व्यक्तिको पनि मृत्यु भएमा निज मृत बालकको परिवारका सदस्यहरूमध्ये सबैभन्दा जमकिको हकवालाले पाउनेछ। त्यस्तो हकवाला एकभन्दा बढी भएमा त्यस्तो रकम सबै हकवालाले दामासाहीले पाउने छन्।
(५) यस नियम बमोजिम सञ्चय कोषको रूपमा जममा रहेको रकमबाट प्रतिष्ठानको विनियम अनुसार बढीमा पचास प्रतिशत रकमसम्बन्धित बालकले ऋण लिन सक्नेछ। यसरी बालकले लिएको ऋण रकम चुक्ता भएसमेत त्यस्तो बालकको पारिश्रमिकबाट मासिक एक चौथाई रकम कट्टा गर्नु पर्नेछ।
(६) कुनै बालकले उमेर पुगेपछि पनि प्रतिष्ठानको सेवालाई निरन्तरता दिएमा त्यस्तो बालकले यस नियमावली बमोजिम सञ्चय कोषको रूपमा जममा गरेको रकम कायम राखी प्रचलित कानून बमोजिम निजको तर्फबाट सञ्चय कोष कट्टा गर्नु पर्नेछ।
१९. औषधि उपचार सुविधाः प्रतिष्ठानमा काम गर्ने बालक नबिरामी भई औषधि उपचार गराउनु परेको व्यहोरा नेपाल सरकारको मान्यता प्राप्त चिकित्सकद्वारा प्रमाणित भएमा त्यस्तो बालकलाई निजको कूल सेवा अवधिभरमा बढीमा दुई महिनाको पारिश्रमिक बराबरको रकम औषधि उपचार बापत प्रतिष्ठानले उपलब्ध गराउनु पर्नेछ।
२०. बिमा गराउनु पर्नेः व्यवस्थापकले प्रतिष्ठानमा काम गर्ने बालकको प्रचलित कानून बमोजिम बिमा गराउनु पर्नेछ।
२१. खाजा भत्ताः व्यवस्थापकले प्रतिष्ठानमा काम गर्ने बालकलाई खाजा भत्ता बापत निजले पाउने पारिश्रमिकको दश प्रतिशत रकम प्रत्येक महिना उपलब्ध गराउनु पर्नेछ।
२२. दशैं खर्चः (१) व्यवस्थापकले प्रतिष्ठानमा काम गर्ने बालकलाई मासिक पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष घटस्थापनाको पन्ध्र दिन अगावै दशैं खर्च बापत दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम दशैं खर्च दिँदा बडा दशैंभन्दा अघिल्लो महिना भुक्तानी भई नसकेको भए तापनि अघिल्लो महिनाको पारिश्रमिक समेत भुक्तानी दिनु पर्नेछ।
२३. अंगभंग भए वा चोटपटक लागे बापत पाउने सुविधाः (१) कुनै बालकलाई प्रतिष्ठानको कामको सिलसिलामा चोटपटक लाग्नु गई सेवाबाट अवकाश लिनु नपरे भए तापनि सो चोटपटकको कारणबाट निजको क्षमता वृद्धिमा बाधा परे भएमा त्यस्तो बालकलाई चोटपटकको अवस्था विचार गरी पन्ध्र हजार रुपैयाँसम्म एकमुष्ट आर्थिक सहायता दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको चोटपटकको उपचार गराउन आवश्यक पर्ने अवधिभरको निमित्त बालकको कुनै पनि संचित बिदाबाट कट्टा नहुने गरी पूरा तलब सहितको थप बिरामी बिदा पाउनेछ।
(३) उपनियम (२) बमोजिम उपचार गराउँदा लागेको उपचार खर्च त्यस्तो बालकले प्रतिष्ठानबाट पाउनेछ।
(४) यस नियम बमोजिम उपचार खर्च पाएको कारणले त्यस्तो बालकले पछि बिरामी हुँदा नियम १९ बमोजिम पाउने उपचार खर्च पाउनमा कुनै बाधा पुगेको मानिने छैन।
२४. प्रचलित कानुन बमोजिमको सुविधा पाउनेः यस परिच्छेदमा जुनसुकै कुरा लेखिएको भए तापनि प्रतिष्ठानमा काम गर्ने बालकले प्रचलित कानुनमा यस नियमावलीमा उल्लेख गरिएकोभन्दा बढी सुविधा पाउने रहेछ भने सोही कानुन बमोजिमको सुविधा पाउनेछ।
परिच्छेद–४ स्वास्थ्य र सुरक्षा सम्बन्धी व्यवस्था
२५. बालकको स्वास्थ्य र सुरक्षा सम्बन्धमा अपनाउनु पर्ने व्यवस्थाः ऐनको दफा ११ बमोजिम प्रतिष्ठानमा काम गर्ने बालकको स्वास्थ्य र सुरक्षाका सम्बन्धमा व्यवस्थापकले देहायका व्यवस्थाहरू अपनाउनु पर्नेछः–
(क) प्रत्येक दिन कार्यस्थलको सरसफाई गरी आवश्यकता अनुसार कीटनाशक औषधको प्रयोग, समुचित निकासको प्रबन्ध एवं समय समयमा रङ्ग रोगन समेत लगाई फोहर, मैलाबाट हुने दुर्गन्ध हटाउन उचित व्यवस्था मिलाउने,
(ख) काम हुने कोठामा पर्याप्त हावा, प्रकाश एवं उपयुक्त तापक्रमको व्यवस्था गर्नु पर्ने,
(ग) काम गर्ने कोठामा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने धुलो, धूँवा, दूषित हावा, वाफ एवं अन्य दूषित पदार्थ जममा हुन नदिने,
(घ) पर्याप्त मात्रामा पिउने पानीको व्यवस्था गर्ने,
(ङ) बालक र बालिकाको लागि पायक पर्ने स्थानमा बेग्ला बेग्लै शौचालयको व्यवस्था गर्ने,
(च) आगलागीबाट बचाउन आवश्यकता अनुसार अग्नि नियन्त्रक उपकरण राख्ने,
(छ) प्रतिष्ठानको हाता भित्र सुहिलियत दरमा चमेनाघर स्थापना गर्ने,
(ज) बालकलाई पन्ध्र किलो ग्राम तौलभन्दा बढी उठाउन वा ओसार पसार गर्ने वा बोकाउन नहुने,
(झ) कामको सिलसिलामा बच्न र बचाउनका लागि सुरक्षा सम्बन्धी नियम पालन गर्न सिकाउने र
(ञ) पालो मिलाएर कार्य समयको बीचमा आराम गर्ने व्यवस्था मिलाउने।
२६. दर्ता किताबमा खुलाउनु पर्ने अन्य कुराहरूः ऐनको दफा १३ को उपदफा (१) मा उल्लिखित कुराहरूका अतिरिक्त व्यवस्थापकले प्रतिष्ठानमा राख्ने दर्ता किताबमा देहायका कुराहरू समेत उल्लेख गरी राख्नु पर्नेछः–
(क) बालकको राष्ट्रीयता,
(ख) बालकले योग्यताको प्रमाणपत्र वा तालिम प्राप्त गरे नगरेको,
(ग) काम गर्ने विभाग वा शाखाको नाम,
(घ) बालक प्रतिष्ठानमा स्थायी वा अस्थायी के हो सो कुरा,
(ङ) बिदा सम्बन्धी विवरण,
(च) ठेकेिएको कामको विवरण,
(छ) काम गर्नु पर्ने समय,
(ज) अन्य सुविधा सम्बन्धी विवरण।
२७. श्रम कार्यालयले जाँच गर्न सक्नेः (१) बालकलाई काममा लगाउने प्रतिष्ठानमा ऐन विपरीत बालकलाई काममा लगाएको वा नलगाएको, काममा लगाइएको बालकको स्वास्थ्य र सुरक्षाको लागि गर्नु पर्ने व्यवस्था गरे वा नगरेको तथा ऐन वा यस नियमावली बमोजिम गर्नु पर्ने अन्य व्यवस्थाहरू गरे वा नगरेको भनी निरीक्षण गर्न खटिएको कर्मचारीले सो अनुरूप आफ्नो कर्तव्य इमान्दारीपूर्वक पालन गरे नगरेको सम्बन्धमा श्रम कार्यालयले स्थलगत निरीक्षण गर्न अर्को कुनै कर्मचारी खटाई छड्के जाँच गराउन सक्नेछ।
(२) ऐनका दफा १७ को उपदफा (१) बमोजिम पेश भएको निरीक्षण प्रतिवेदन यथार्थ भए नभएको सम्बन्धमा श्रम कार्यालयले कार्यालयमा रहेको अभिलेख र उपनियम (१) बमोजिम गरिएको छड्के जाँचको प्रतिवेदन सँग भिडाई जाँच गर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम जाँच गर्दा निरीक्षण गर्न खटिएको कर्मचारीले आफ्नो कर्तव्य इमान्दारीपूर्वक पालन नगरेको वा निजले दिएको प्रतिवेदन यथार्थ नपाएमा निजलाई विभागीय कारबाही हुनेछ।
२८. सुविधा रोक्का राख्ने अवधिः (१) कुनै प्रतिष्ठानमा ऐन वा यस नियमावली बमोजिम गर्नु पर्ने कुनै व्यवस्था नगरेको पाइएमा श्रम कार्यालयले यथाशीघ्र त्यस्तो व्यवस्था गर्न मनासिब म्याद तोकी व्यवस्थापकलाई आदेश दिनेछ।
(२) उपनियम (१) बमोजिम दिइएको आदेश अनुसार आवश्यक व्यवस्था नगरेमा श्रम कार्यालयले त्यस्तो प्रतिष्ठानलाई प्रचलित कानून बमोजिम दिइने सुविधा छ महिनासम्मको लागि रोक्का गर्न सम्बन्धित निकायलाई लेखी पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम छ महिनासम्म सुविधा रोक्का गर्दा समेत प्रतिष्ठानले आवश्यक व्यवस्था नगरेमा श्रम कार्यालयले त्यस्तो प्रतिष्ठानलाई प्रचलित कानून बमोजिम दिइने सुविधा अर्को व्यवस्था नभएसम्मको लागि रोक्का गर्न सम्बन्धित निकायलाई लेखी पठाउनु पर्नेछ।
(४) उपनियम (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रतिष्ठानले ऐन वा यस नियमावली बमोजिम आवश्यक व्यवस्था गरेको प्रमाण पेश गरेमा श्रम कार्यालयले यस नियम बमोजिम रोक्का गरेको सुविधा जुनसुकै बखत फुकुवा गर्न सक्नेछ।
परिच्छेद–५ विविध
२९. समितिको गठनः (१) ऐनको दफा २३ बमोजिम प्रतिष्ठानमा काम गर्ने बालकको स्वास्थ्य, सुरक्षा, शिक्षा, व्यावसायिक तालिमको व्यवस्था गर्न, बालकलाई उपयुक्त रोजगारीको व्यवस्था गर्न, बालकलाई काममा लगाउन निरुत्साहित तुल्याउन र बालश्रम निवारण गर्ने सम्बन्धमा श्री नेपाल सरकारलाई राय सुझाव दिन देहाय बमोजिमको एक बालश्रम निवारण समिति रहनेछः–
(क) सचिव, श्रम तथा यातायात व्यवस्था मन्त्रालय, - अध्यक्ष
(ख) सहसचिव, श्रम तथा यातायात व्यवस्था मन्त्रालय (श्रम सम्बन्ध तथा बालश्रम निवारण शाखा हेर्ने), - सदस्य
(ग) महानिदेशक, श्रम तथा रोजगार प्रवर्द्धन विभाग, - सदस्य
(घ) प्रतिनिधि, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय - सदस्य
(ङ) प्रतिनिधि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, - सदस्य
(च) नेपाल उद्योग वाणिज्य महासङ्घका दुईजना प्रतिनिधि, - सदस्य
(छ) ट्रेड युनियन महासङ्घका चारजना प्रतिनिधि, - सदस्य
(ज) बालबालिका तथा बाल श्रमको क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाको महासङ्घको तोकेको एक जना प्रतिनिधि अधिकृत, - सदस्य
(झ) नेपाल सरकारले तोकेको अधिकृत - सदस्य-सचिव
(२) समितिले आफ्नो बैठकमा आवश्यकता अनुसार सम्बन्धित विषयका विशेषज्ञलाई आमन्त्रण गर्न सक्नेछ।
३०. समितिको काम, कर्तव्य र अधिकारः समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) बालश्रम निवारण सम्बन्धी विद्यमान नीति र कानूनमा आवश्यक सुधार गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(ख) प्रतिष्ठानमा काम गर्ने बालकको स्वास्थ्य, शिक्षा, सुरक्षा सुविधा एवं व्यावसायिक तालिमका सम्बन्धमा आवश्यक व्यवस्था गर्न नेपाल सरकारलाई परामर्श दिने,
(ग) नेपाल सरकार र व्यवस्थापक बीच आपसी सम्बन्ध अभिवृद्धि गरी बालश्रम निवारण गर्न आवश्यक कार्य गर्ने,
(घ) बालकलाई उपयुक्त रोजगारीको व्यवस्था गर्न सकिने क्षेत्र पहिचान गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(ङ) बालकलाई काममा लगाउन निरुत्साहित तुल्याउने र बालश्रम निवारण गर्ने सम्बन्धमा प्रतिष्ठानले गर्नु पर्ने व्यवस्था भए गरेको छँदै छँदै नभन्ने सम्बन्धमा प्रभावकारी अनुगमनको व्यवस्था गर्ने,
(च) बालश्रम निवारण कोषको उपयोगका सम्बन्धमा आवश्यक योजना बनाउने तथा प्राथमिकता निर्धारण गर्ने,
(छ) बालश्रम निवारण सम्बन्धी कुनै खास काम गर्न उपसमिति गठन गरी ठोस राय सुझाव प्राप्त गर्ने।
३१. समितिको बैठक र कार्यविधिः (१) समितिको बैठक वर्षमा कम्तीमा चार पटक बस्नेछ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ। समितिको बैठक बस्ने सूचना बैठक बस्नुभन्दा कम्तीमा सात दिन अगावै सदस्य-सचिवले सदस्यहरूलाई दिनु पर्नेछ।
(३) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षले निर्णायक मत दिनेछ।
(४) समितिको निर्णय सदस्य-सचिवले प्रमाणित गर्नेछ।
(५) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।
(६) समितिको बैठकमा भाग लिए बापत समितिका अध्यक्ष र सदस्यहरूले नेपाल सरकारले तोकिदिए बमोजिमको बैठक भत्ता पाउने छन्।
३२. बाल श्रम निवारण कोषको सञ्चालनः (१) बालश्रम निवारण कोषमा जम्मा हुने रकम नेपाल $\text{ɣ}$ ............ को कुनै वाणिज्य बैङ्कमा खाता खोली राखिनेछ।
(२) कोषमा जम्मा हुने रकम ऐनको दफा २४ को उपदफा (१) को प्रयोजनको लागि बाहेक अन्यत्र खर्च गरिने छैन।
$\text{ɣ}$ पहिलो संशोधनद्वारा झिकिएको।
(३) बाल श्रम निवारण कोषको सञ्चालन समितिको अध्यक्ष वा निजले तोकेको समितिको कुनै सदस्य र सदस्य-सचिवको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ।
३३. लेखा र लेखापरीक्षणः (१) बाल श्रम निवारण कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राख्नु पर्नेछ।
(२) बाल श्रम निवारण कोषको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ।
द्रष्टव्यः– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तरित भएका शब्दहरुः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची (नियम ४ सँग सम्बन्धित)
योग्यताको प्रमाणपत्रको ढाँचा
श्री/सुश्री .......................... को स्वास्थ्य परीक्षण गर्दा शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको पाइएको हुँदा निजले ................... प्रतिष्ठानको ...................... सेवाको काम गर्न सक्ने व्यहोरा प्रमाणित गर्दछु।
बालकको विवरणः
(क) नाम, थरः– (ख) बालकको ठेगानाः– (ग) बालकको बाबु, आमा वा संरक्षकको नाम, थर, ठेगानाः– (घ) बालकको दाहिने हातको बुढी औँलाको छापः– (ङ) बालकको दस्तखतः– (च) मितिः–
प्रमाणित गर्ने चिकित्सकको –
(क) नाम, थर, पदः– (ख) दस्तखतः– (ग) नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रेशन नम्बरः– (घ) मितिः–
द्रष्टव्यः– यो प्रमाणपत्र एक वर्षको अवधिको लागि मात्र बहाल रहनेछ।*