बोनस नियमावली, २०३९
नेपाल राजपत्रमा प्रकाशित मिति २०३९।०२।३१
संशोधन १. बोनस (पहिलो संशोधन) नियमावली, २०५६ २०५६।१०।२४ २. बोनस (दोस्रो संशोधन) नियमावली, २०६१ २०६१।१२।१० ३. बोनस (तेस्रो संशोधन) नियमावली, २०७० २०७०।०१।३० ४. बोनस (चौथौं संशोधन) नियमावली, २०७५ २०७५।०५।२५
बोनस ऐन, २०३० को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “बोनस नियमावली, २०३९” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यो नियमावलीमा,– (क) “ऐन” भन्नाले बोनस ऐन, २०३० सम्झनु पर्छ। (+१) “कल्याणकारी कोष” भन्नाले ऐनको दफा १३ बमोजिमको राष्ट्रियस्तरको कल्याणकारी कोष सम्झनु पर्छ। (ख) “समिति” भन्नाले कल्याणकारी कोषको सञ्चालन गर्न नियम १० बमोजिम गठन भएको कल्याणकारी समिति सम्झनु पर्छ। (+) (ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ।
(घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्षलाई समेत जनाउँछ।
३. वासलात र नाफा नोक्सानीको फाँटवारी पेश गर्नु पर्नेः (१) प्रत्येक प्रतिष्ठानको व्यवस्थापकले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफ्नो प्रतिष्ठानको रीतपूर्वकको वासलात तथा नाफा नोक्सानीको फाँटवारी प्रमाणित गरी श्रम कार्यालयमा पठाउनु पर्छ।
तर मनासिब माफिकको कारण परी प्रतिष्ठानको व्यवस्थापकले अनुरोध गरेमा श्रम कार्यालयले आवश्यक ठरियाएको म्याद थप दिन सक्नेछ।
(२) प्रतिष्ठानले वासलात पेश गर्दा देहायको विवरण समेत पेश गर्नु पर्नेछः–
(क) ह्रास कट्टी गरिएकोमा कुन मेसिनरी वा सामानमा कुन हिसाबले कट्टी गरिएको र वासलात पेश भएको अवधिसम्म कट्टी गरिएको मूल्य ह्रास र बाँकी हुन आउने मूल्य।
(ख) मौज्दात रहेका कच्चा तथा तयारी वस्तुहरूको परिमाण र त्यसको प्रचलित बजार भाउले हुने रकम।
(ग) कर्मचारीहरूको आवासको लागि छुट्याइएको रकम र त्यसको उपयोग गर्ने योजना।
(घ) कर्मचारीहरूको सञ्चयकोषमा रहेको कूल रकम र सो रकम जम्मा गरिएको बैङ्कको प्रमाण।
(ङ) कल्याणकारी कोषमा रहेको कूल रकम।
(च) असूल नहुने किसिमको असामीको निमित्त गरिएको व्यवस्था।
४. झुठो वासलात वा नाफा नोक्सानीको फाँटवारी पेश गरेकोमा उजुरी गर्न सकिनेः (१) कुनै प्रतिष्ठानले नियम ३ बमोजिम पेश गरेको वासलात, फाँटवारी वा विवरण झुट्टो भनी सम्बन्धित प्रतिष्ठानको कर्मचारीले सो कुराको प्रमाण सहित श्रम कार्यालयमा उजुर गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिमको उजुरी श्रम कार्यालयमा वासलात र नाफा नोक्सानीको फाँटवारी पेश भएपछि र बोनस बुझ्नु अगावै जुनसुकै समयमा दिन सकिनेछ।
तर त्यस्तो उजुरी बोनस वितरण प्रारम्भ भएको तीन महिना नाघेपछि दिन सकिने छैन।
(३) उपनियम (१) बमोजिम उजुरी दिने कर्मचारीको नाम श्रम कार्यालयले गोप्य राख्न सक्नेछ।
५. कैफियत तलब र जाँच गर्ने: (१) प्रतिष्ठानले पेश गरेको वासलात, फाँटवारी वा विवरण झुट्टो छ भन्ने कुराको उजुरी परी कैफियत तलब गर्न वा जाँच गर्न आवश्यक सम्झेमा श्रम कार्यालयले "कम्पनी ऐन, २०६३ बमोजिम कैफियत तलब गर्न र जाँच गर्न सक्नेछ।
(२) उपनियम (१) अनुसार जाँच गर्न श्रम कार्यालयले कुनै व्यक्तिलाई लेखापरीक्षक वा जाँचकीको रूपमा खटाउन सक्नेछ। यसरी खटाइएका व्यक्तिले पाउने पारिश्रमिक र अन्य खर्च श्रम कार्यालयले निर्धारण गरे बमोजिम सम्बन्धित प्रतिष्ठानले व्यहोर्नु पर्नेछ।
६. नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले बोनस बापत छुट्याउनु पर्ने रकम: (१) नेपाल सरकारको स्वामित्वमा नाफा आर्जन गर्न उद्देश्यले स्थापना भएको प्रतिष्ठानले आफूले आर्जन गरेको प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको पाँच प्रतिशत बराबरको रकम बोनस बापत छुट्याउनु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारको स्वामित्वमा नाफा आर्जन गर्न उद्देश्यले नेपाल सरकारले तोकिदिएको ढाँचामा स्थापना भएको एकधिकार प्राप्त प्रतिष्ठानले आफूले आर्जन गरेको प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत बराबरको रकम मात्र बोनस बापत छुट्याउनु पर्नेछ।
(३) नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले बोनस वितरण गर्नु पूर्व नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ र स्वीकृति प्राप्त भएपछि सोको जानकारी सम्बन्धित श्रम कार्यालयलाई समेत दिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम स्वीकृति माग गर्दा उपनियम (२) मा लेखिएका विवरणहरुका अतिरिक्त देहायका थप विवरणहरु समेत पेश गर्नु पर्नेछः
(क) प्रोदभावी आधार (एक्रुअल बेसिस) मा राखिएको खर्च अनुसार अर्को वर्षमा भुक्तानी गरेको खर्चको विवरण र सोको पुष्ट्याँई हुने आधार,
(ख) विवरण पेश गरेको आर्थिक वर्षसम्मको सम्भावित दायित्व (कन्टिन्जेन्ट लायबिलिटी) को विवरण र सो बापत छुट्टै कोष खडा गरी रकम जम्मा गरेको पुष्ट्याँई,
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “सम्भावित दायित्व” भन्नाले प्रतिष्ठानले लिएको सापटी, ऋण तथा सो बापत तिर्नु पर्ने बाँकी व्याज, वारेन्टी, जमानत, सञ्चित नोक्सानी, कर दायित्व, भुक्तानी दिनुपर्ने बिल कर्मचारी विनियमावली बमोजिम कर्मचारी अवकाश हुँदा भुक्तानी दिनुपर्ने सुविधा बापतको दायित्व साथै अन्तर्राष्ट्रिय बजारमा प्रचलित ब्याजदर समायोजन गरिएको रकम समेत सम्झनु पर्छ।
(ग) नेपाल सरकारसँग वा नेपाल सरकार जमानत बसी लिएको ऋणको साँवा तथा व्याज त्यस्तो ऋण लिँदाका बखत गरेको तमसुकमा उल्लिखित तालिका अनुसार चुक्ता गरेको विवरण।
(५) उपनियम (१), (२), (३) र (४) मा जुनसुकै कुरा लेखिएको भएतापनि नाफा कमाउने उद्देश्य नलिई नेपाल सरकारको स्वामित्वमा कुनै क्षेत्रको नियमन, प्रवर्द्धन र संवर्द्धन गर्न स्थापना भएको प्रतिष्ठानले बोनस बापत रकम छुट्ट्याउन पाउने छैन।
(६) नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले यस नियम विपरीत हुने गरी बोनस वितरण गरेमा बोनस वितरण सम्बन्धी निर्णय गर्ने अधिकारीबाट त्यसरी बाँकी सरि असूल उपर गरिनेछ।
७. नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानमा कार्यरत कर्मचारीले बोनस बापत पाउने अधिकतम रकमः (१) नेपाल सरकारको स्वामित्व भएको नियम ६ को उपनियम (१) बमोजिमको प्रतिष्ठानमा कार्यरत अधिकृत तहको कर्मचारीले एक आर्थिक वर्षमा सुरु तलब
स्केलको तीन महिनाको तलब बराबरको रकम र सोभन्दा तल्लो तहका कर्मचारीले एक आर्थिक वर्षमा सुरु तलब स्केलको चार महिनाको तलब बराबरको रकमभन्दा बढी हुने गरी बोनस पाउने छैन।
(२) नेपाल सरकारको स्वामित्व भएको नियम ६ को उपनियम (२) बमोजिमको प्रतिष्ठानमा कार्यरत अधिकृत तहको कर्मचारीले एक आर्थिक वर्षमा सुरु तलब स्केलको दुई महिनाको तलब बराबरको रकम र सोभन्दा तल्लो तहका कर्मचारीले एक आर्थिक वर्षमा सुरु तलब स्केलको तीन महिनाको तलब बराबरको रकमभन्दा बढी हुने गरी बोनस पाउने छैन।
८. अस्थायी वा म्यादी कर्मचारीले पाउने बोनसः प्रतिष्ठानमा अस्थायी वा म्यादी पदमा नियुक्त भएका कर्मचारीले पनि ऐनको दफा ६ को अधीनमा रही बोनस पाउन सक्नेछ।
तर करार सेवामा नियुक्त भएका कर्मचारीको हकमा प्रतिष्ठानसँग भएको करारको शर्तमा बोनस पाउने उल्लेख भएमा मात्र बोनस पाउन सक्नेछ।
९. बढी समय (ओभर टाइम) काम गरी पाएको तलब वा ज्यालाको गणना नहुनेः कुनै प्रतिष्ठानका कर्मचारीले बढी समय काम गरी पाएको तलब वा ज्यालालाई ऐनको दफा ७ को उपदफा (१) को प्रयोजनको निमित्त वर्ष भरिमा पाएको तलब वा ज्यालाको रकममा गणना गरिने छैन।
१०. समितिको गठनः (१) कल्याणकारी कोषको सञ्चालन गर्नका लागि देहायका सदस्यहरु रहेको कल्याणकारी समिति गठन हुनेछः–
(क) सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय – अध्यक्ष (ख) महानिदेशक, श्रम तथा रोजगार प्रवर्द्धन विभाग – सदस्य (ग) प्रतिनिधि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – सदस्य (घ) नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि दुईजना – सदस्य (ङ) ट्रेड युनियन महासंघको प्रतिनिधि तीनजना – सदस्य
(२) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेका नेपाल सरकारको अधिकृत स्तरको कर्मचारीले समितिको सदस्य–सचिव भई काम गर्नेछ।
(३) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिको सदस्यमा आवश्यक थपघट वा फेरफेर गर्न सक्नेछ।
(४) समितिले आवश्यकता अनुसार सम्बन्धित विषयको विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ।
(५) समितिले कुनै निश्चित काम गर्नको लागि आफू मातहत उप–समिति समेत गठन गर्न सक्नेछ।
(६) समिति तथा उप–समितिका पदाधिकारी र आमन्त्रित सदस्यहरूले बैठकमा उपस्थित भए बापत पाउने बैठक भत्ता तथा अन्य सुविधा समितिले तोकेबमोजिम हुनेछ।
१०क. समितिको बैठक सम्बन्धी कार्यविधिः (१) समितिको बैठक वर्षको कम्तिमा चार पटक बस्नेछ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ। समितिको बैठक बस्ने सूचना बैठक बस्नुभन्दा कम्तीमा पन्ध्र दिन अगावै सचिवले सदस्यहरूलाई दिनु पर्नेछ।
(३) समितिको कूल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ।
(४) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
(५) समितिको निर्णय सचिवले प्रमाणित गर्नेछ।
(६) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
१०ख. समितिको सचिवालयः (१) समितिको एक सचिवालय रहनेछ र सचिवालयको कार्य सञ्चालनका लागि समितिले आवश्यक कर्मचारी नियुक्ति गर्न सक्नेछ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनका लागि “कर्मचारी” भन्नाले कल्याणकारी समितिको सचिवालयमा काम गर्ने कर्मचारीलाई सम्झनु पर्छ।
(२) सचिवालयका कर्मचारीहरू पारिश्रमिक, सेवाको शर्त तथा सुविधा समितिले तोकेबमोजिम हुनेछ।
११. कल्याणकारी कोषको सञ्चालनः (१) कल्याणकारी कोषमा जम्मा गरिने रकम .................... समितिले तोकेको कुनै बैङ्कमा राखिनेछ।
(२) यस नियमावली बमोजिम कल्याणकारी कोषको खाताको सञ्चालन कर्मचारीको समेत सहभागिता हुने गरी कल्याणकारी समितिले तोकेको कुनै दुईजना पदाधिकारीको संयुक्त दस्तखतबाट हुनेछ।
१२. बोनस वितरणको विवरण पठाउनु पर्नेः बोनस वितरण गरेको विवरण बोनस वितरण गरेको सात दिनभित्र प्रतिष्ठानले संलग्न अनुसूची बमोजिमको ढाँचामा श्रम कार्यालयमा पठाउनु पर्नेछ।
१२क. रकम जम्मा गर्नु पर्नेः प्रतिष्ठानले बोनस वितरण गरेको एक महिना भित्र ऐनको दफा १३ बमोजिमको तीस प्रतिशत रकम कल्याणकारी कोषमा जम्मा गर्नु पर्नेछ।
१३. कल्याणकारी कोषको उपयोगः कल्याणकारी कोषमा जम्मा भएको रकम समितिले निर्धारण गरे बमोजिम देहायका कार्यहरूको लागि उपयोग गरिनेछः–
(क) दैवी प्रकोप वा दुर्घटनाबाट पीडित कर्मचारी वा निजको परिवारका सदस्यलाई आर्थिक सहयोग प्रदान गर्न,
(ख) कर्मचारीको बालबच्चाको शैक्षिक विकासका लागि विद्यालयको स्थापना र सञ्चालन गर्न,
(ग) कर्मचारीको जेहेन्दार बालबच्चालाई छात्रवृत्ति प्रदान गर्ने,
(घ) कर्मचारी र निजको परिवारको लागि स्वास्थ्य उपचार केन्द्र स्थापना र सञ्चालन गर्ने,
(ङ) कर्मचारी र निजको परिवारको सदस्यलाई कुनै गम्भीर प्रकृतिको रोग लागेको छ भनी नेपाल सरकारद्वारा स्वीकृति प्राप्त मेडिकल बोर्डबाट सिफारिस भएमा उपचारको लागि आर्थिक सहयोग गर्ने,
(च) कर्मचारीको बालबच्चाको उचित संरक्षण गर्नका लागि शिशु स्याहार केन्द्र स्थापना र सञ्चालन गर्ने,
(छ) कर्मचारीको लागि आवास क्षेत्र विकास गर्ने,
(ज) कर्मचारीलाई ........ सहुलियत दरमा ऋण उपलब्ध गराउन,
(झ) कर्मचारी र निजको परिवारको आय आर्जन वृद्धिका लागि आयमूलक कार्यक्रम सञ्चालन गर्ने,
(ञ) समितिले आवश्यक ठानेका अन्य कार्यहरू गर्ने।
१३क. लेखा र लेखापरीक्षणः (१) कल्याणकारी कोषको आय व्ययको लेखा प्रचलित कानुन बमोजिम राख्नु पर्नेछ।
(२) कल्याणकारी कोषको लेखापरीक्षण महालेखा परीक्षकको विभाग वा सो विभागले तोकेको लेखापरीक्षकबाट हुनेछ।
१३ख. अधिकार प्रत्यायोजनः समितिले यस नियमावली बमोजिम आफूलाई भएको अधिकारमध्ये केही अधिकार समितिका सदस्य वा सदस्य–सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ।
१४. नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानको कल्याणकारी कोषको सञ्चालनः नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले कल्याणकारी कोषको प्रवर्धन एवं विस्तार गर्न कार्यमा
लगानी गर्नु अघि आफ्नो योजना बनाई $\rightarrow$ श्रम तथा रोजगार प्रवर्द्धन विभागको स्वीकृतिको लागि पेश गर्नु पर्नेछ र त्यस्तोमा $\rightarrow$ श्रम तथा रोजगार प्रवर्द्धन विभागले स्वीकृति दिए बमोजिम लगानी गर्नु पर्नेछ। $\times$ ............
१५. अभिलेख र स्याहा श्रेस्ता राख्ने: बोनस वितरण गरेको अभिलेख र बोनस सम्बन्धी स्याहा श्रेस्ता राख्दा प्रतिष्ठानले देहायका कुराहरू खुलाई राख्नु पर्नेछ:– (क) बोनस पाउने प्रत्येक कर्मचारीको नाम, थर र दर्जा। (ख) बोनस पाएको मिति। (ग) बोनस बापत पाएको रकम। (घ) कल्याणकारी कोषमा जम्मा भएको रकम।
$\rightarrow$ दोस्रो संशोधनद्वारा संशोधित । $\times$ पहिलो संशोधनद्वारा सिकिएको। द्रष्टव्य: १. बोनस (पहिलो संशोधन) नियमावली, २०५६द्वारा मूल नियमावलीको ३, ४, ५, १२ र अनुसूचीमा प्रयोग भएका शब्दहरूको सट्टा देहायका शब्दहरू राखी रूपान्तर गरिएको:- “श्रम विभाग” को सट्टा “श्रम कार्यालय”। २. केहि नेपाल कानून संशोधन गर्नु ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरू:- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।
अनुसूची (नियम १२ सँग सम्बन्धित)
आर्थिक वर्ष ................ को बोनस वितरण गरिएको विवरण
कारखाना/प्रतिष्ठानको नाम ..............................
श्रम कार्यालयमा वासलात पठाइएको मिति ................
कारखाना/प्रतिष्ठानको खुद मुनाफा ......................
बोनस वितरणको लागि छुट्याइएको रकम ..............
बोनसको प्रतिशत...............
(क) बोनस वापत भुक्तान भएको रकम ..............
(ख) कल्याणकारी कोषमा जम्मा गरेको रकम .........