भू तथा जलाधार संरक्षण नियमावली, २०४२
नेपाल राजपत्रमा प्रकाशित मिति २०४२।१२।३१
संशोधन भू तथा जलाधार संरक्षण (पहिलो संशोधन) नियमावली, २०७० २०७०।१।३०
भू तथा जलाधार संरक्षण ऐन, २०३९ को दफा २५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “भू तथा जलाधार संरक्षण नियमावली, २०४२” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले “भू तथा जलाधार संरक्षण ऐन, २०३९” सम्झनु पर्छ । (ख) “आयोग” भन्नाले ऐनको दफा १५ बमोजिम गठन भएको राष्ट्रिय स्रोत संरक्षण आयोग सम्झनु पर्छ । (ग) “समिति” भन्नाले ऐनको दफा १६ बमोजिम गठन भएको जिल्ला भू तथा जलाधार संरक्षण समिति सम्झनु पर्छ ।
३. संरक्षित जलाधार क्षेत्र घोषित गर्नेः (१) भू तथा जलाधार संरक्षणको लागि नेपाल $\text{**}$ को कुनै क्षेत्रलाई ऐनको दफा ३ बमोजिम संरक्षित जलाधार क्षेत्र घोषित गर्ने प्रयोजनको लागि जलाधार संरक्षण अधिकृतले आवश्यक जाँचबुझ, अध्ययन तथा सर्वेक्षण गरी समितिको समेत परामर्श लिई संरक्षित जलाधार क्षेत्र घोषित गर्न आवश्यक देखेको क्षेत्रको चारकिल्ला तथा क्षेत्रफल खुलाई विभागमा लेखी पठाउनु पर्नेछ ।
$\text{**}$ पहिलो संशोधनद्वारा झिकिएको ।
(२) उपनियम (१) बमोजिम लेखी आएपछि विभागले आवश्यक देखेमा पुनः जाँचबुझ, अध्ययन तथा समीक्षा गरी गराई चारकिल्ला तथा क्षेत्रफलमा हेरफेर गर्नु पर्ने देखिएमा सो समेत गरी नेपाल सरकार, वन तथा भू संरक्षण मन्त्रालयमा पठाउनु पर्नेछ ।
४. जग्गाको वर्गीकरणः (१) संरक्षित जलाधार क्षेत्रमा भू तथा जलाधार संरक्षणको लागि ऐनको दफा ४ मा उल्लेख भए बमोजिमका कामहरुको प्रयोजनको लागि संरक्षित जलाधार क्षेत्रभित्रको जग्गालाई जलाधार संरक्षण अधिकृतले सिमाना, क्षेत्रफल र त्यस्तो जग्गामा गरिने कार्यहरु समेत खुलाई वर्गीकरण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम संरक्षित जलाधार क्षेत्रभित्रको जग्गाको वर्गीकरण गर्दा जलाधार संरक्षण अधिकृतले समितिको परामर्श लिनु पर्नेछ ।
(३) यस नियम बमोजिम जग्गाको वर्गीकरण गरिएको सूचना अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्तिहरुको जानकारीको लागि जलाधार संरक्षण अधिकृतले आफ्नो कार्यालय, गाउँ विकास समिति वा नगरपालिका र जिल्ला विकास समितिको कार्यालयमा टाँस्नु पर्नेछ र त्यस्तो सूचना एक प्रति विभागमा पनि पठाउनु पर्नेछ ।
५. भू-उपयोगिता प्रणाली अपनाई खेती गर्नुः (१) जलाधार संरक्षण अधिकृतले संरक्षित जलाधार क्षेत्रभित्रको जग्गामध्ये ऐनको दफा ४ को खण्ड (ग), (घ), (ङ) र (च) बमोजिम कार्य गर्नु पर्ने भनी वर्गीकरण गरिएको जग्गामा भू-उपयोगिता प्रणाली अपनाई कुनै बाली वा फलफूलको खेती गर्नु तथा रुख बिरुवा वा घाँस लगाउनु वा अन्य कुनै कार्य गर्नु गराउनु पर्ने भएमा त्यस्ता जग्गाको क्षेत्रफल र सिमाना समेत तोकिदिनु पर्नेछ र त्यसको जानकारी विभागलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम भू-उपयोगिता प्रणाली अपनाई खेती गर्नु गराउनु भनी तोकिदिएको जग्गा निजी स्वामित्वको भएमा त्यस्तो जग्गामा जग्गाधनी वा मोहीले भू-उपयोगिता प्रणाली अपनाई खेती गर्नु पर्नेछ ।
६. भू-उपयोगिता प्रणाली अपनाई खेती गर्नुमा सहयोग दिनुः (१) नियम ५ बमोजिम भू-उपयोगिता प्रणाली अपनाई खेती गर्नु प्राविधिक ज्ञान, सेवा तथा आर्थिक सहयोग चाहेमा खेतीको प्रकृति अनुसार आवश्यक पर्ने प्राविधिक ज्ञान, सेवा तथा आर्थिक सहयोगको विवरण खोली सम्बन्धित जग्गाधनी वा मोहीले अनुसूची-२ बमोजिमको ढाँचामा जलाधार संरक्षण अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदनमा जलाधार संरक्षण अधिकृतले आवश्यक जाँचबुझ गरी जग्गा धनी वा मोहीलाई आवश्यक पर्ने प्राविधिक ज्ञान, सेवा तथा आर्थिक सहयोगको किटान समेत गरी निकासाको लागि विभागमा लेखी पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निकासाको लागि लेखी आएपछि विभागले आवश्यक देखेमा पुनः जाँचबुझ गराई यथाशीघ्र निकासा दिनु पर्नेछ ।
७. जग्गा धनीले जग्गाको स्वामित्व छोड्न सक्नेः (१) ऐनको दफा ६ र नियम ५ बमोजिम भू-उपयोगिता प्रणाली अपनाई खेती गर्नु पर्ने भनी तोकिदिएको निजी स्वामित्वको जग्गा सम्बन्धित जग्गाधनीले मुआब्जा लिई आफ्नो स्वामित्व नेपाल सरकारलाई छोड्न सक्नेछ । त्यसरी आफ्नो स्वामित्व छोड्न चाहने जग्गाधनीले मुआब्जा निर्धारणको निमित्त सम्बन्धित जग्गाको क्षेत्रफल, सिमाना र त्यस्तो जग्गामा स्वामित्व भएको प्रमाण पत्र समेत संलग्न गरी जलाधार संरक्षण अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि जलाधार संरक्षण अधिकृतले प्रचलित दरभाउलाई ध्यानमा राखी जग्गाको मुआब्जा निर्धारण गरी जग्गाको मुआब्जा निकासाको लागि विभागमा लेखी पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निकासाको लागि लेखी आएपछि विभागले आवश्यक देखेमा पुनः जाँचबुझ गराई यथाशीघ्र निकासा दिनु पर्नेछ ।
८. जग्गाको स्वामित्व नेपाल सरकारमा सर्नेः (१) नियम ७ बमोजिम निजी स्वामित्वको जग्गाको मुआब्जा निकासा भई आएपछि जलाधार संरक्षण अधिकृतले सम्बन्धित जग्गाधनीलाई निकासा भएको मुआब्जा बुझी लिनको लागि जनाउ दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको जनाउ जग्गाधनीलाई दिएपछि सो जग्गा नेपाल सरकारको स्वामित्वमा सर्दछ ।
९. प्राविधिक ज्ञान तथा सेवा र आर्थिक सहयोग प्रदान गर्नेः (१) संरक्षित जलाधार क्षेत्रभित्र परेको निजी स्वामित्वको जग्गामा बाढी, पहिरो, भू-क्षय जस्ता प्राकृतिक प्रकोपको रोकथाम वा नियन्त्रण गर्न, बाँध, गल्छी नियन्त्रण, तटबन्ध, गरा सुधार, कुलो, सहायक कुलो, ढल, टेवा दिने पर्खाल, पोखरी र त्यस्तो अन्य आवश्यक बनावटको निर्माण गर्न तथा त्यसको स्याहार सम्भार गर्नु पर्ने भएमा त्यस्तो काम जग्गाधनी आफै गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको काम गर्न आवश्यक पर्ने प्राविधिक ज्ञान, सेवा र आर्थिक सहयोग चाहेमा कामको योजना, आवश्यक पर्ने प्राविधिक ज्ञान, सेवा र आर्थिक विवरण खोली सम्बन्धित जग्गाधनीले अनुसूची-३ बमोजिमको ढाँचामा जलाधार संरक्षण अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम परेको निवेदनमा जलाधार संरक्षण अधिकृतले आवश्यक जाँचबुझ गरी आफ्नो राय सहित निकासाको लागि विभागमा लेखी पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम लेखीआएपछि विभागले आवश्यक देखेमा पुनः जाँचबुझ गरी यथाशीघ्र निकासा दिनु पर्नेछ ।
१०. प्राकृतिक प्रकोप हुने वा हुन सक्ने जग्गा तोक्नेः (१) जलाधार संरक्षण अधिकृतले संरक्षित जलाधार क्षेत्रभित्रको जग्गा मध्ये बाढी वा पहिरो आउने वा आउन सक्ने वा भू-क्षय वा भू कटान हुने वा हुन सक्ने जग्गाको क्षेत्रफल र सिमाना तोकिदिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तोकिदिएको जग्गामा नियम ११ बमोजिम अनुमति नलिई ऐनको दफा १० को खण्ड (क), (ख), (ग), (घ), (ङ), (च), (छ) र (ज) मा उल्लिखित कार्यहरू कसैले गर्न पाउने छैन ।
(३) यस नियम बमोजिम प्राकृतिक प्रकोप हुने वा हुन सक्ने भनी तोकिदिएको जग्गाको सिमाना र सो क्षेत्रमा अनुमति नलिई गर्न नपाइने कार्यहरूको विवरण सहितको सूचना सर्वसाधारणको जानकारीको लागि सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका र जिल्ला विकास समितिको कार्यालयमा टाँस्नु पर्नेछ ।
११. अनुमति लिनु पर्नेः (१) नियम १० को उपनियम (१) बमोजिम प्राकृतिक प्रकोप हुने वा हुन सक्ने भनी तोकिदिएको जग्गामा ऐनको दफा १० को खण्ड (क), (ख), (ग), (घ), (ङ), (च), (छ) र (ज) बमोजिमका कुनै कार्य गर्नुपर्ने भएमा त्यस्तो कार्य गर्नु परेको कारणसमेत खोली अनुसूची-४ बमोजिमको ढाँचामा जलाधार संरक्षण अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि जलाधार संरक्षण अधिकृतले जाँचबुझ गर्दा ऐनको उद्देश्य विपरीत कार्य हुने नदेखिएमा अनुसूची-५ बमोजिमको ढाँचामा अनुमति दिन सक्नेछ ।
१२. भू-क्षय वा भू-कटान रोक्न सक्ने: (१) जलाधार संरक्षण अधिकृतले ऐनको दफा ४ अन्तर्गतको कुनै काम भएको जग्गामा र त्यस्तो जग्गाको वरपरको जग्गामा भू-क्षय वा भू-कटान हुन सक्ने कामहरू गर्न नपाउने गरी निषेध गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै काम गर्न निषेध गरिएको सूचना सम्बन्धित जग्गाको सिमाना तथा निषेधित कामहरूको विवरण समेत खोली सर्वसाधारणको जानकारीको लागि सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका र जिल्ला विकास समितिको कार्यालयमा टाँस्नु पर्नेछ ।
१३. राष्ट्रिय स्रोत संरक्षण आयोगको काम, कर्तव्य र अधिकार: (१) ऐनको दफा १५ बमोजिमको राष्ट्रिय स्रोत संरक्षण आयोगको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) बाढी पैरो, भू-क्षय जस्ता प्राकृतिक प्रकोपको नियन्त्रण गरी भू तथा जलाधार संरक्षण सम्बन्धी विषयमा नीति, उद्देश्य, प्राथमिकता एवं लक्ष्य निर्धारण गर्नको लागि नेपाल सरकारलाई राय दिने ।
(ख) भू तथा जलाधार संरक्षण सम्बन्धी काम कार्यान्वयन गर्ने आयोजनाहरू बीच समन्वय गराउने ।
(ग) भू तथा जलाधार संरक्षण योजनाहरूको समीक्षा एवं मूल्याङ्कन गरी नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्ने ।
(घ) भू तथा जलाधार संरक्षणको लागि अन्तर्राष्ट्रिय क्षेत्रमा सम्पर्क स्थापित गर्ने ।
(ङ) भू तथा जलाधार संरक्षण सम्बन्धी गोष्ठी, तालिम, सम्मेलन, सेमिनारको आयोजना गर्ने ।
(च) भू तथा जलाधार संरक्षण सम्बन्धी नेपाल सरकारले तोकेको अन्य कार्यहरू गर्न गराउने ।
१४. आयोगको बैठक र कार्यविधि: (१) आयोगको बैठक आवश्यकता अनुसार आयोगको अध्यक्षले तोकेको स्थान र समयमा बस्नेछ ।
(२) आयोगको बैठकको गणपुरक संख्या आयोगको सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशत हुनेछ ।
(३) आयोगको निर्णय बहुमतद्वारा हुनेछ र मत बराबर भएमा आयोगको अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।
(४) आयोगको निर्णय वा आदेश आयोगको सदस्य-सचिवले प्रमाणित गर्नेछ ।
(५) आयोगको बैठक सम्बन्धी अन्य कार्यविधि आयोग आफैँले निर्धारण गरे बमोजिम हुनेछ ।
१५. आयोगको सचिवालय: आयोगको सचिवालयको व्यवस्था भू तथा जलाधार संरक्षण विभागले गर्नेछ ।
१६. समितिको काम, कर्तव्य र अधिकार: ऐनको दफा १६ बमोजिम गठित समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) सम्बन्धित जिल्लामा सञ्चालित हुने भू तथा जलाधार संरक्षण सम्बन्धी कार्यहरू लक्ष्य र उद्देश्य अनुरूप लागू गर्न सहयोग गर्ने ।
(ख) भू तथा जलाधार संरक्षण सम्बन्धी आयोजना कार्यान्वयन गर्दा स्थानीय स्तरका समस्या समाधान गर्न सघाउ पुर्याउने ।
(ग) भू तथा जलाधार संरक्षण आयोजना सञ्चालन गर्न विभिन्न निकाय बीच समन्वय कायम गर्ने ।
(घ) भू तथा जलाधार संरक्षणको लागि आवश्यकता पर्ने जनसहभागिता उपलब्ध गराउने ।
(ङ) आवश्यकता अनुसार उप-समितिहरू गठन गर्ने ।
१७. समितिको बैठक र कार्यविधि: (१) समितिको बैठक आवश्यकतानुसार समितिको अध्यक्षले तोकेको समय र स्थानमा बस्नेछ ।
(२) समितिको बैठकको गणपुरक संख्या समितिको सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशत हुनेछ ।
(३) समितिको निर्णय बहुमतद्वारा हुनेछ र मत बराबर भएमा समितिको अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।
(४) समितिको निर्णय वा आदेश समितिको सदस्य-सचिवले प्रमाणित गर्नेछ ।
(५) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ ।
द्रष्टव्यः (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरु “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । (२) पहिलो संशोधनद्वारा रुपान्तर भएका शब्दहरु “गाउँ वा नगर र जिल्ला पञ्चायत कार्यालयमा” को सट्टा “गाउँ विकास समिति वा नगरपालिका र जिल्ला विकास समितिको कार्यालयमा” ।
अनुसूची-१ (नियम ४ को उपनियम (३) सँग सम्बन्धित)
संरक्षित जलाधार क्षेत्रभित्रको निम्न लिखित जग्गामा भू तथा जलाधार संरक्षणको लागि निम्न लिखित कार्यहरु गर्न गराउने प्रयोजनको लागि जग्गाको वर्गीकरण गरिएको हुँदा सम्बन्धित व्यक्तिहरुको लागि यो सूचना प्रकाशित गरिएको छ ।
कामहरु (१) (२) (३) (४)
जलाधार संरक्षण अधिकृतको,- दस्तखत:- पूरा नाम:- मिति:-
अनुसूची-२ (नियम ६ को उपनियम (१) सँग सम्बन्धित)
श्री जलाधार संरक्षण अधिकृत, भू तथा जलाधार संरक्षण कार्यालय ........................।
संरक्षित जलाधार क्षेत्रभित्रको निम्न लिखित जग्गामा भू-उपयोगिता प्रणाली अपनाई निम्न लिखित कामहरु गर्न निम्न बमोजिमको प्राविधिक ज्ञान तथा आर्थिक सहयोग आवश्यक भएकोले सो उपलब्ध गराई दिनु हुन निवेदन गरेको छु/छौं ।
(१) जग्गाको विवरण:- (क) क्षेत्रफल (ख) सिमाना (ग) ..........
(२) कामको विवरण:- (क) ........... (ख) ............ (ग) ...........
(३) आवश्यक प्राविधिक ज्ञान र सेवाको विवरण:- (क) .............. (ख) .............. (ग) ..............
(४) भू-उपयोगिता प्रणाली अपनाई गरिने कार्यको लागि चाहिने खर्चको विस्तृत विवरण:- (क) जम्मा लाग्ने रकम:- (ख) आफूले व्यहोर्ने रकम:- (ग) आर्थिक सहयोग माग गरेको रकम:-
निवेदकको,- दस्तखत:- पूरा नाम:- मिति:-
अनुसूची-३ (नियम ९ को उपनियम (२) सँग सम्बन्धित)
श्री जलाधार संरक्षण अधिकृत, भू तथा जलाधार संरक्षण कार्यालय.................।
मेरो/हाम्रो निजी स्वामित्व भएको निम्न लिखित जग्गामा निम्न लिखित काम गर्ने इच्छा भएको र सो कामको लागि निम्न बमोजिमको प्राविधिक ज्ञान, सेवा तथा आर्थिक सहयोगको आवश्यकता भएकोले सो उपलब्ध गराई दिनु हुन निवेदन गरेको छु/छौं ।
(१) जग्गाको विवरण:- (क) क्षेत्रफल (ख) सिमाना (ग) ..........
(२) कामको विवरण:- (क) ........... (ख) ............ (ग) ...........
(३) आवश्यक प्राविधिक ज्ञान र सेवाको विवरण:- (क) .............. (ख) .............. (ग) ..............
(४) लाग्ने खर्चको विस्तृत विवरण:- (क) जम्मा लाग्ने रकम:- (ख) आफुले व्यहोर्ने रकम:- (ग) आर्थिक सहयोग माग गरेको रकम:-
निवेदकको,- दस्तखत:- पूरा नाम:- मिति:-
अनुसूची-४ (नियम ११ को उपनियम (१) सँग सम्बन्धित)
श्री जलाधार संरक्षण अधिकृत, भू तथा जलाधार संरक्षण कार्यालय............।
संरक्षित जलाधार क्षेत्रभित्र निम्न लिखित कारणले गर्दा निम्नांकित काम गर्न आवश्यक भएकोले अनुमतिको लागि निवेदन गरेको छु/छौं । उल्लिखित कार्य भू तथा जलाधार संरक्षण ऐन र नियम तथा त्यस कार्यालयबाट तोकिदिएको शर्त बन्देजको अधीनमा रही गर्नेछु/छौं ।
(१) कामको विवरण:- (क)........... (ख)............ (ग)...........
(२) उल्लिखित काम गर्नु परेको कारणहरु:- (क).............. (ख).............. (ग)..............
निवेदकको,- दस्तखत:- पूरा नाम:- मिति:-
अनुसूची-५ (नियम ११ को उपनियम (२) सँग सम्बन्धित)
श्री ......................................। ...........................................।
भू तथा जलाधार संरक्षण ऐन, नियम तथा निम्न लिखित शर्त बन्देजको अधीनमा रही मिति .............. देखि मिति ............ सम्म निम्न लिखित कार्य गर्न पाउने गरी यो अनुमति प्रदान गरिएको छ ।
(१) गर्न पाउने कामको विवरणः- (क) ........... (ख) ............ (ग) ...........
(२) शर्त बन्देजहरुः- (क) .............. (ख) .............. (ग) ..............
जलाधार संरक्षण अधिकृतको, दस्तखतः- पूरा नामः- मिति:-