भूतपूर्व सैनिक नियुक्ति (विशेष व्यवस्था) नियमावली, २०५९
नेपाल राजपत्रमा प्रकाशित मिति २०५९।०५।३१
संशोधन सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० २०७०।०१।३०
सैनिक ऐन, २०१६ को दफा १६५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “भूतपूर्व सैनिक (विशेष व्यवस्था) नियमावली, २०५९” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमाः– (क) “भूतपूर्व सैनिक” भन्नाले नेपाली सेना वा नेपाल बाहिरको सेनाबाट भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवा निवृत्त भएको नेपाली नागरिक सम्झनुपर्छ। (ख) “नियुक्ति” भन्नाले यस नियमावली बमोजिम गरिने करारको नियुक्ति सम्झनु पर्छ।
३. नियुक्ति गर्न सकिनेः (१) नेपालको आन्तरिक सुरक्षा, निर्वाचन, दैवी प्रकोप वा अन्य कुनै विशेष कारण परी शाही नेपाली सेनामा तत्काल थप सैनिकको आवश्यकता परेमा नेपाल सरकारको स्वीकृति लिई नियम ९ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा जङ्गी अड्डा सहायक रथी वा सो भन्दा तल्लो दर्जाका भूतपूर्व सैनिकलाई करारमा नियुक्ति गर्न सकिनेछ।
(२) उपनियम (१) बमोजिम नियुक्तिको लागि आवश्यक पदको संख्या र नियुक्तिको प्रक्रिया जङ्गी अड्डाले नेपाल सरकारको स्वीकृति लिई निर्धारण गरे बमोजिम हुनेछ।
(३) उपनियम (१) बमोजिम नियुक्ति हुने भूतपूर्व सैनिकको अवधि सामान्यतया एक वर्षको हुनेछ र त्यस्तो अवधि आवश्यकतानुसार थप गर्न सकिनेछ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) बमोजिम नियुक्ति भएका भूतपूर्व सैनिकको काम सन्तोषजनक नदेखेमा करारको म्याद समाप्त हुनु अगावै त्यस्तो भूतपूर्व सैनिकलाई जङ्गी अड्डाले हटाउन सक्नेछ।
४. विशेष दरबन्दी सिर्जना गरिने: नियम ३ को प्रयोजनको लागि नेपाली सेनामा विशेष दरबन्दी सिर्जना गरिनेछ।
५. सेवा गर्न सक्ने उमेर: प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस नियमावली बमोजिम नियुक्ति हुने भूतपूर्व सैनिक पचपन्न वर्षको उमेरसम्म सेवामा बहाल रहन सक्नेछ।
६. स्वेच्छाले सेवा छाड्न नपाइने: यस नियमावली बमोजिम नियुक्ति भएको भूतपूर्व सैनिकले उचित कारण परेमा बाहेक करार अवधिभर सेवा छोड्न पाउने छैन।
७. न्यूनतम योग्यता: देहायको योग्यता भएका भूतपूर्व सैनिकलाई यस नियमावली बमोजिम नियुक्ति गर्न सकिनेछ।
(क) सेवा निवृत्त भएको सेनामा कम्तीमा पाँच वर्ष काम गरेको, (ख) आधारभूत सैनिक तालिम प्राप्त गरेको, (ग) सैनिक अस्पतालको जाँचबाट योग्य ठहरिएको, (घ) सैनिक सम्बन्धी प्रचलित कानुनले अयोग्य ठहरिएको।
८. विशेष ग्राह्यता: यस नियमावली बमोजिम भूतपूर्व सैनिकको नियुक्ति गर्दा इन्फेन्री युनिटको कामको अनुभव भएका व्यक्तिलाई विशेष ग्राह्यता दिइनेछ।
९. सिफारिस समितिको गठन: (१) यस नियमावली बमोजिम नियुक्ति हुने भूतपूर्व सैनिकको छानबिन गरी नियुक्तिको सिफारिस गर्न देहाय बमोजिमको एक सिफारिस समितिको गठन हुनेछः-
(क) कार्यर्थी, जङ्गी अड्डा - अध्यक्ष (ख) रक्षा मन्त्रालयको अधिकृतस्तरको प्रतिनिधि - सदस्य (ग) प्रधान सेनापतिले तोकेको महासेनानी प्रमुख सेनानी - सदस्य- सचिव
(२) उपनियम (१) बमोजिम गठित सिफारिस समितिले सिफारिसको प्रक्रिया आफैं निर्धारण गर्नेछ।
१०. सेवा समाप्त भएको मानिने: यस नियमावली बमोजिम नियुक्ति पाएका भूतपूर्व सैनिकको सेवा देहायको अवस्थामा स्वतः समाप्त भएको मानिनेछः-
(क) जङ्गी अड्डालाई कुनै पद नचाहिने भई सम्बन्धित भूतपूर्व सैनिकलाई तीस दिनको पूर्व सूचना दिएमा र्ा (ख) सैनिक ऐन तथा सो अन्तर्गत बनेका नियमहरू बमोजिम विभागीय कारबाही या सैनिक अदालतबाट कारबाही भएकोमा।
११. तलब र रासन सुविधा: (१) यस नियमावली बमोजिम नियुक्ति हुने भूतपूर्व सैनिकले नेपाली सेनाका समान दर्जाका व्यक्तिले पाए सरहको तलब र रासन सुविधा पाउने छन्।
(२) यस नियमावली बमोजिम नियुक्ति हुने भूतपूर्व सैनिकले यस नियमावली बमोजिम पाउने सुविधाको अतिरिक्त साविक बमोजिम खाइपाई आएको सुविधा समेत पाउने छन्।
१२. बिदा: यस नियमावली बमोजिम नियुक्ति हुने भूतपूर्व सैनिकले वर्षको अठार दिन घर बिदा, बाह्र दिन बिरामी बिदा र ६ दिन भइपरी आउने बिदा पाउने छन्।
१३. उपचार सम्बन्धी व्यवस्थाः यस नियमावली बमोजिम नियुक्ति हुने भूतपूर्व सैनिकलाई सैनिक अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण उपचार प्रदान गरिनेछ।
तर शाही नेपाली सेनाबाट निवृत्तभरणमा अवकाश प्राप्त गरेको सैनिकको हकमा साबिक बमोजिमको पारिवारिक उपचार सुविधा प्राप्त गर्न यस नियमले बाधा पुर्याएको मानिने छैन।
१४. क्षतिपूर्तिः यस नियमावली बमोजिम नियुक्ति भएका भूतपूर्व सैनिक कर्तव्य पालिको सिलसिलामा मरेमा या घाइते भएमा निजलाई नेपाल सरकारले तोके बमोजिमको क्षतिपूर्ति दिइनेछ।
१५. पोशाक र दज्यानी चिन्हः यस नियमावली बमोजिम नियुक्ति हुने भूतपूर्व सैनिकको पोशाक तथा दज्यानी चिन्ह जङ्गी अड्डाले तोके बमोजिम हुनेछ।
१६. $\times$.......... नेपाली सैनिक मानिनेः यस नियमावली बमोजिम सेवामा प्रवेश गरेका भूतपूर्व सैनिक सेवामा रहे सम्म $\times$.......... नेपाली सैनिक मानिने छन् र त्यस्ता भूतपूर्व सैनिकलाई विभागीय तथा सैनिक कारर्वाही गर्ने सम्बन्धमा $\text{*} \text{सैनिक ऐन तथा सो अन्तर्गत बनेको नियमको व्यवस्था लागू हुनेछ।}$
१७. यसै नियमावली बमोजिम हुनेः यस नियमावलीमा लेखिएको कुरामा यस नियमावली बमोजिम र अन्यमा प्रचलित कानुन बमोजिम हुनेछ।
१८. खारेजी र बचाउः (१) सैनिक भर्ती (विशेष व्यवस्था) नियमहरू, २०१८ खारेज गरिएको छ।
(२) सैनिक भर्ती (विशेष व्यवस्था) नियमहरू, २०१८ बमोजिम भए गरेका काम कारवाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिने छन्।
$\times$ सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा झिकिएको। $\text{*}$ सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा संशोधित।
द्रष्टव्यः– १. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”। २. सैनिक ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः “शाही नेपाली सेना” को सट्टा “नेपाली सेना” । ३. सैनिक सम्बन्धी केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा नियमहरुको ठाउँ ठाउँमा रहेका “अधिराज्य” भन्ने शब्द झिकिएको र “शाही नेपाली जङ्गी अड्डा” भन्ने शब्दहरुको सट्टा “जङ्गी अड्डा” भन्ने शब्दहरु राखिएका छन् ।