मालसामानको बहुविधिक ढुवानी नियमावली, २०६६
नेपाल राजपत्रमा प्रकाशन मिति २०६६।०७।१६
मालसामानको बहुविधिक ढुवानी ऐन, २०६३ को दफा ३१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको नियमहरु बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “मालसामानको बहुविधिक ढुवानी नियमावली, २०६६” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,— (क) “ऐन” भन्नाले मालसामानको बहुविधिक ढुवानी ऐन, २०६३ सम्झनु पर्छ। (ख) “इजाजतपत्र” भन्नाले ऐनको दफा ४ को उपदफा (२) बमोजिमको इजाजतपत्र सम्झनु पर्छ।
३. बहुविधिक ढुवानी सेवा सञ्चालन गर्ने कम्पनीको योग्यताः बहुविधिक ढुवानी सेवा सञ्चालन गर्न चाहने कम्पनीको ऐनमा उल्लेख भएको योग्यताको अतिरिक्त देहाय बमोजिमको जनशक्ति, भौतिक सम्पत्ति र व्यवस्थापकीय क्षमता भएको हुनु पर्नेछः– (क) बहुविधिक ढुवानी सम्बन्धी काममा अनुभव प्राप्त कम्तीमा सात जना कर्मचारी, (ख) कार्यालय भवन, (ग) मालसामान व्यवस्थित र सुरक्षित रुपमा ढुवानी गर्न र राख्न उपयुक्त गोदाम लगायतका भौतिक पूर्वाधार, (घ) व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा मालसामानको क्लियरिङ्ग, फरिङ्गिङ्ग वा ओसार पसार सम्बन्धी काम गरेको कम्तीमा तीन वर्षको अनुभव।
४. इजाजतपत्रको लागि दिने निवेदनको ढाँचाः इजाजतपत्र प्राप्त गर्नको लागि दिने निवेदनको ढाँचा अनुसूची -१ बमोजिमको हुनेछ।
५. निवेदन दस्तुरः इजाजतपत्र प्राप्त गर्नको लागि निवेदन दिने निवेदकले निवेदनको साथ पाँच सय रुपैयाँ निवेदन दस्तुर संलग्न गर्नु पर्नेछ।
६. इजाजतपत्रको ढाँचाः इजाजतपत्रको ढाँचा अनुसूची-२ बमोजिमको हुनेछ।
७. इजाजतपत्रको नवीकरणः (१) इजाजतपत्र नवीकरण गर्न चाहने कम्पनीले इजाजतपत्रको अवधि समाप्त हुनु कम्तीमा तीस दिन अगावै कर चुक्ता प्रमाण र एक सय रुपैयाँ निवेदन दस्तुर संलग्न गरी विभाग समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा विभागले सो निवेदनका सम्बन्धमा जाँचबुझ गरी इजाजतपत्र नवीकरण गर्न मनासिब देखिएमा दश हजार रुपैयाँ नवीकरण दस्तुर लिई इजाजतपत्र नवीकरण गरिदिनेछ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित कम्पनीले सो उपनियममा उल्लिखित अवधिभित्र नवीकरण गराउन नसकेको मनासिब कारण देखाई इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरणको लागि उपनियम (१) मा उल्लिखित कागजात र निवेदन दस्तुर संलग्न गरी निवेदन दिएमा विभागले सो निवेदनका सम्बन्धमा जाँचबुझ गरी इजाजतपत्र नवीकरण गर्न मनासिब देखिएमा उपनियम (२) मा उल्लिखित दस्तुरको दोब्बर दस्तुर लिई इजाजतपत्र नवीकरण गरिदिनेछ।
(४) यस नियम बमोजिम नवीकरण गराएको इजाजतपत्र पाँच वर्षसम्म मान्य रहनेछ।
(५) उपनियम (३) मा उल्लिखित अवधिभित्र पनि इजाजतपत्र नवीकरण नगराउने कम्पनीको इजाजतपत्र स्वतः रद्द हुनेछ।
८. अनुसूचीमा हेरफेर वा थपघट: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ।
अनुसूची–१ (नियम ४ सँग सम्बन्धित)
इजाजतपत्रको लागि दिने निवेदनको ढाँचा
मिति: .........................
विषय: बहुविधिक ढुवानी सेवा सञ्चालन गर्ने इजाजतपत्र पाऊँ ।
श्री वाणिज्य विभाग, बबरमहल, काठमाडौं ।
महोदय,
बहुविधिक ढुवानी सेवा सञ्चालन गर्ने इजाजतपत्र पाउनको लागि मालसामानको बहुविधिक ढुवानी ऐन, २०६३ र मालसामानको बहुविधिक ढुवानी नियमावली, २०६६ अनुसार देहायका कागजात र निवेदन दस्तुर संलग्न गरी यो निवेदन पेश गरेको छु ।
निवेदक
कम्पनीको नामः कम्पनी दर्ता नं. कम्पनी रहेको ठेगानाः कम्पनीको तर्फबाट अधिकार प्राप्त व्यक्तिको,– नामः पदः हस्ताक्षरः मितिः कम्पनीको छापः
संलग्न कागजात
१. कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, २. व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि, ३. कर चुक्ता प्रमाणको प्रतिलिपि, ४. जनशक्ति, भौतिक सम्पत्ति र व्यवस्थापकीय क्षमताको विवरण, ५. नेपाल बाहिर आधिकारिक एजेण्ट रहेको कुरा खुल्ने कागजात, ६. निवेदन दस्तुर।
अनुसूची–२ (नियम ६ संग सम्बन्धित) बहुविधिक ढुवानी सेवा सञ्चालन गर्ने इजाजतपत्रको ढाँचा
नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य विभाग बहुविधिक ढुवानी सेवा सञ्चालन गर्ने इजाजतपत्र
श्री ............................ कम्पनी, .................................................. ।
यस विभागको मिति ............................ को निर्णयानुसार त्यस कम्पनीलाई मालसामानको बहुविधिक ढुवानी ऐन, २०६३ र मालसामानको बहुविधिक ढुवानी नियमावली, २०६६ अन्तर्गत रही बहुविधिक ढुवानी सेवा सञ्चालन गर्न यो इजाजतपत्र दिइएको छ। यो इजाजत–पत्र मिति ..................... सम्म बहाल रहनेछ।
इजाजतपत्र दिने अधिकारीको,– पद– दस्तखतः– मितिः–
नवीकरण विवरण