मुद्रण सम्बन्धी नियमहरू, २०५५ नेपाल राजपत्रमा प्रकाशित मिति २०५५।१२।२२
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “मुद्रण सम्बन्धी नियमहरू, २०५५” रहेको छ। (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,– (क) “विभाग” भन्नाले नेपाल सरकार, मुद्रण विभाग सम्झनु पर्छ। (ख) “महानिदेशक” भन्नाले विभागको महानिदेशक सम्झनु पर्छ।
३. नेपाल राजपत्र लिलाम गर्न वा धुल्याउन सक्ने : महानिदेशकले विभागमा रहेका नेपाल राजपत्रका जगेडा प्रतिहरू मध्ये विषयको प्रकृति हेरी आवश्यक नदेखेका नेपाल राजपत्रहरू जुनसुकै समयमा र अन्य नेपाल राजपत्रहरू दस वर्ष पुगेपछि सम्बन्धित मन्त्रालयको स्वीकृति लिई प्रचलित कानून बमोजिम लिलाम गर्न वा धुल्याउन सक्नेछ।
४. अतिरिक्त समय काम लगाउन सक्ने : (१) महानिदेशकले आवश्यकतानुसार विभागका कर्मचारीहरूलाई अतिरिक्त समय काम लगाउन सक्नेछ। (२) उपनियम (१) बमोजिम कुनै राजपत्र अनंकित कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउँदा निजले कम्तीमा दुई घण्टा अतिरिक्त समय काम गरेमा मात्र वार्षिक विनियोजनको अधिममा रही अतिरिक्त समय भत्ता दिइनेछ। सो भत्ता दिँदा कर्मचारीले एकदिनमा पाउने तलबको घण्टाको हिसाबले काम गरेको बढी घण्टाको अतिरिक्त समय भत्ता पाउनेछ। तर अतिरिक्त समय काम गरे बापत निजले सट्टा बिदा लिन चाहेमा त्यस्तो बिदा लिन सक्नेछ। (३) उपनियम (१) बमोजिम कुनै राजपत्रांकित कर्मचारीलाई अतिरिक्त समयमा काममा लगाउँदा निजले कम्तीमा दुई घण्टा अतिरिक्त समय काम गरेमा प्रचलित कानून
बमोजिम खाजा खर्च दिइनेछ। सो भन्दा बढी समय काम गरेमा खाना खर्च दिँदा सोको दर अर्थ मन्त्रालयबाट स्वीकृत गराएर मात्र दिन सकिनेछ।
५. खारेजी : नेपाल सरकारको छापाखाना नियमहरू, २०३५ खारेज गरिएको छ।
द्रष्टव्य :- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरूः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।