बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३
लालमोहर र प्रकाशन मिति २०५३।११।१५
संशोधन गर्न बनेको ऐन १. आयकर ऐन, २०५८ २०५८।१२।१९ प्रमाणीकरण र प्रकाशन मिति २. बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल (पहिलो संशोधन) ऐन, २०६४ २०६४।९।३० ३. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६* २०६६।१०।७
२०५३ सालको ऐन नं. ३४ $\times$............ बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्थापना र व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : जननेता स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको चिरपर्यन्त स्मृति कायम राख्न क्यान्सर रोग सम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानको लागि आवश्यक जनशक्ति तयार गरी यस क्षेत्रलाई आत्मनिर्भर बनाई क्यान्सर रोगबाट ग्रसित व्यक्तिको रोगको निदान र उपचारको लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरी उनीहरूलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन एउटा क्यान्सर अस्पतालको स्थापना र सञ्चालन गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पच्चीसौँ वर्षमा संसदले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३” रहेको छ । (२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ । $\checkmark$
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “अस्पताल” भन्नाले दफा ३ बमोजिम स्थापना भएको बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल सम्झनु पर्छ । (ख) “समिति” भन्नाले दफा ७ बमोजिम गठित $\times$........सञ्चालक समिति सम्झनु पर्छ। (ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ । $\diamond$ (घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष समेतलाई जनाउँछ । (ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा १२ बमोजिम नियुक्त भएको कार्यकारी निर्देशक सम्झनु पर्छ । (च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको $\diamond$नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
३. बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्थापना :(१) नेपालमा क्यान्सर रोग सम्बन्धी उच्चस्तरीय अध्ययन अनुसन्धानको लागि आवश्यक जनशक्ति तयार गरी यस क्षेत्रलाई आत्मनिर्भर बनाई क्यान्सर रोगको रोकथाम, सो रोगबाट ग्रसित व्यक्तिहरूको रोगको निदान र उपचारको लागि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरी उनीहरूलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन एक राष्ट्रिय प्रेषण अस्पतालको रूपमा एउटा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना गरिएको छ । (२) अस्पताल चितवन जिल्लाको भरतपुरमा स्थापना गरिनेछ र आवश्यकता अनुसार अन्य जिल्लामा पनि यस अस्पतालको शाखा इकाई स्थापना गर्न सकिनेछ ।
४. अस्पताल स्वाशसति संस्था हुने : (१) अस्पताल अविच्छिन्न उत्तराधिकारवाला एक स्वाशसति र संगठित संस्था हुनेछ । (२) अस्पतालको आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
/ मिति २०५४।२।२१ देखि प्रारम्भ हुने गरी तोकिएको (नेपाल राजपत्र मिति २०५४।२।२१) $\times$ पहिलो संशोधनद्वारा छिकिएको । $\diamond$ पहिलो संशोधनद्वारा संशोधित ।
(३) अस्पतालले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ । (४) अस्पतालले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र अस्पताल उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।
५. अस्पतालको उद्देश्य : अस्पतालको उद्देश्य देहायबमोजिम हुनेछ :– (क) क्यान्सर रोगको रोकथाम, सो रोगबाट ग्रसित व्यक्तिहरूको रोगको निदान र उपचारको लागि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरी उनीहरूलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउने । (ख) क्यान्सर रोग सम्बन्धी उच्चस्तरीय अध्ययन अनुसन्धान गर्ने र सोको लागि आवश्यक जनशक्ति तयार गरी यस क्षेत्रमा आत्मनिर्भरता प्राप्त गर्ने, (ग) क्यान्सर रोगको रोकथाम, निदान तथा उपचारका लागि विकिरणयुक्त पदार्थहरूको प्रयोग, संचय, विस्थापन तथा सो कार्यमा प्रयोग हुने उपकरण सञ्चालन प्रक्रिया लगायत अन्य सुरक्षात्मक उपायहरूको सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता तथा प्रचलनको प्रतिकूल नहुने किसिमका प्रणालीहरूको विकास गर्ने, (घ) राष्ट्रिय क्यान्सर रोग नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने ।
६. अस्पतालको काम, कर्तव्य र अधिकार : यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त अस्पतालको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :– (क) क्यान्सर रोगको रोकथाम, निदान र उपचारको लागि उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने । (ख) क्यान्सर रोगको रोकथाम, निदान र उपचारको लागि राष्ट्रिय क्यान्सर रोग नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने । (ग) क्यान्सर रोगको रोकथाम, निदान र उपचारको लागि आवश्यक जनशक्ति तयार गर्ने । (घ) क्यान्सर रोग सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने, गराउने । (ङ) क्यान्सर रोगको रोकथाम, निदान र उपचारको लागि स्वदेशी तथा विदेशी सरकारी तथा गैर सरकारी संस्थाहरूसँग सम्पर्क एवं समन्वय कायम राखी
सो सम्बन्धमा राष्ट्रिय नीति, योजना तथा कार्यक्रम तयार गरी नेपाल सरकारमा पेश गर्ने । (च) क्यान्सर रोगको रोकथाम, निदान र उपचारको कार्यमा संलग्न निकायलाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गर्ने । (छ) क्यान्सर रोगको रोकथाम, निदान र उपचारको कार्यमा विकिरण चिकित्सा पद्धति अपनाउँदा विकिरणयुक्त पदार्थको संचय, प्रयोग र विस्थापन गर्दा तोकिए बमोजिमको सुरक्षात्मक उपाय तथा प्रविधिहरू अवलम्बन गर्ने । (ज) क्यान्सर रोगको रोकथाम, निदान र उपचारको कार्यमा छात्रवृत्ति पदक र पुरस्कारहरू प्रदान गर्ने । (झ) क्यान्सर रोगको दर्ता प्रणाली विकसित गरी नेटवर्क अस्पताल तथा सम्बद्ध संस्थाहरू मार्फत सेवा विस्तार गर्ने । (ञ) अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवा बापतको शुल्कहरू तोक्ने र प्राप्त गर्ने । (ट) अस्पतालको सुप्रबन्ध गर्ने । (ठ) अस्पतालको निर्माण, विस्तार र मर्मत गर्ने । (ड) अस्पतालको सेवाको सुधार र विस्तारको लागि आवश्यक साधन र सुविधाको व्यवस्था गर्ने । (ढ) अस्पतालको वार्षिक प्रतिवेदन समिति मार्फत नेपाल सरकार समक्ष पेश गर्ने । (ण) अस्पतालको सम्बन्धमा भएका नीतिगत निर्णय र सोको कार्यान्वयनको सम्बन्धमा आवधिक रूपमा नेपाल सरकारलाई जानकारी गराउने । (त) अस्पतालको उद्देश्य पूरा गर्न अन्य आवश्यक कार्यहरू गर्ने, गराउने ।
७. समितिको गठन : (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम अस्पताललाई भएको सम्पूर्ण काम, कर्तव्य तथा अधिकारको प्रयोग गरी अस्पतालको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नको लागि देहाय बमोजिमको एक सञ्चालक समितिको गठन हुनेछ :– (क) मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र
विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको वा मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा कम्तीमा बीस वर्षको अनुभवप्राप्त वरिष्ठ चिकित्सकहरू मध्येबाट नेपाल सरकारद्वारा मनोनीत चिकित्सक –अध्यक्ष (ख) $\times$ –सदस्य (ग) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव वा निजले तोकेको सो मन्त्रालयको कम्तीमा राजपत्रांकित प्रथम श्रेणीको अधिकृत –सदस्य (घ) अर्थ मन्त्रालयको सचिव वा निजले तोकेको सो मन्त्रालयको कम्तीमा राजपत्रांकित प्रथम श्रेणीको अधिकृत –सदस्य (ङ) प्रमुख, भरतपुर नगरपालिका –सदस्य (च) क्यान्सर रोगको क्षेत्रमा संलग्न चिकित्सकमध्येबाट दलित, जनजाति तथा मधेसीको प्रतिनिधित्व हुने गरी कम्तीमा दुईजना महिला सहित नेपाल सरकारले मनोनयन गरेका चारजना –सदस्य (छ) अस्पतालमा कार्यरत चिकित्सकमध्येबाट उपलब्ध भएसम्म एकजना महिला रहने गरी समितिले मनोनयन गरेका दुईजना –सदस्य (ज) सामाजिक सेवाको क्षेत्रमा कार्यरत प्रतिष्ठित व्यक्तिहरूमध्येबाट कम्तीमा एकजना महिला सहित नेपाल सरकारले मनोनयन गरेका दुईजना –सदस्य (झ) प्रतिनिधि, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् –सदस्य
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको ।
(ञ) कार्यकारी निर्देशक —सदस्य-सचिव (२) उपदफा (१) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि मनोनीत सदस्यले इमान्दारीपूर्वक काम नगरेमा वा आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा वा निजमा कार्यक्षमताको अभाव भएमा नेपाल सरकारले त्यस्तो सदस्यलाई जुनसुकै बखत सदस्यबाट हटाउन सक्नेछ। तर त्यसरी पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाइ पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन । (४) समितिले आवश्यक देखेमा सम्बन्धित विषयको कुनै विशेषज्ञलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ । (५) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि तोकिएबमोजिम हुनेछ ।
८. सदस्यता कायम नरहने : (१) समितिको पदेन सदस्य बाहेक अध्यक्ष तथा अन्य सदस्यहरू देहायको कुनै अवस्थामा आफ्नो पदमा रहने छैनन् :– (क) मृत्यु भएमा, (ख) पदावधि समाप्त भएमा, (ग) समिति समक्ष दिएको राजीनामा स्वीकृत भएमा, (घ) कुनै सूचना नदिई लगातार आठ पटक समितिको बैठकमा अनुपस्थित रहेमा, (ङ) $\times$ ........ (२) उपदफा (१) बमोजिमको कारण परी अध्यक्ष वा कुनै सदस्यको पद रिक्त भएमा बाँकी अवधिको निमित्त एकको अध्यक्ष वा सदस्यको मनोनयन गर्न सकिनेछ ।
९. काम कारबाही बदर नहुने : समितिको गठनमा कुनै त्रुटि भई वा कुनै सदस्यको स्थान रिक्त भई समितिमा कुनै काम कारबाही भएको भए तापनि सोही कारणले मात्र त्यस्तो काम कारबाही बदर हुने छैन ।
$\diamond$१०. अध्यक्षको काम, कर्तव्य र अधिकार : (१) अध्यक्षको काम, कर्तव्य तथा अधिकार देहायबमोजिम हुनेछ :–
$\times$ पहिलो संशोधनद्वारा चकिइएको ।
(क) अस्पताललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न आवश्यक योजना तथा कार्यक्रम बनाई लागू गर्ने, (ख) समितिले गरेका निर्णय कार्यान्वयन गर्ने गराउने, (ग) अस्पतालको वार्षिक कार्यक्रम बनाउन लगाई समिति समक्ष पेश गर्ने। (२) अध्यक्षको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।
११. समिति को सदस्य–सचिवको काम, कर्तव्य र अधिकार : समितिको सदस्य–सचिवको काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।
१२. कार्यकारी निर्देशक, सल्लाहकार तथा अन्य कर्मचारी : (१) अस्पतालको दैनिक प्रशासन सञ्चालन गर्नको लागि समितिले एक कार्यकारी निर्देशक नियुक्त गर्नेछ । (२) अस्पतालले आवश्यकता अनुसार अन्य सल्लाहकार र कर्मचारीहरू नियुक्त गर्न सक्नेछ । ❖(३) समितिको सदस्य तथा सल्लाहकारको सुविधा तोकिएबमोजिम हुनेछ । ✚(३क) कार्यकारी निर्देशक तथा कर्मचारीको योग्यता, नियुक्ति, पारिश्रमिक एवं सेवाको शर्त तथा सुविधा तोकिएबमोजिम हुनेछ ।
१३. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार : कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
❖१४. समितिको सदस्य तथा अस्पतालको कर्मचारी उपर प्रतिबन्ध : समितिको सदस्य, अस्पतालको सल्लाहकार, कार्यकारी निर्देशक र कर्मचारीले अस्पतालसँगको कुनै पनि कारोबार वा ठेक्का पट्टामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले हिस्सेदार हुन पाउने छैन।
१५. अस्पताल उपर क्षतिपूर्ति माग दाबी गर्न नपाइने : क्यान्सर रोगको उपचारको लागि अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य उपचारको मसलसिलामा अस्पतालको चिकित्सक वा स्वास्थ्यकर्मीले तोकिए बमोजिमको प्रक्रिया अपनाई तोकिएको मात्रा अनुसारको विकिरणयुक्त पदार्थ र अन्य औषधी प्रयोग गरेको कारणबाट बिरामीलाई कुनै किसिमको प्रतिकूल शारीरिक प्रभाव पर्न गएमा सो बापत त्यस्तो बिरामीले अस्पताल र अस्पतालको
❖ पहिलो संशोधनद्वारा संशोधित । ✚ पहिलो संशोधनद्वारा थप। ❖ पहिलो संशोधनद्वारा संशोधित ।
चिकित्सक वा स्वास्थ्यकर्मी उपर आर्थिक वा अन्य कुनै किसिमको क्षतिपूर्ति माग दाबी गर्न पाउने छैन । तर अस्पतालको चिकित्सक वा स्वास्थ्यकर्मीको लापरबाही वा हेलचक्रयाईबाट तोकिएको प्रक्रिया र तोकिएको मात्रामा फरक परी विरक्तयुक्त पदार्थ र अन्य औषधि प्रयोग गरेको कारणबाट बिरामीलाई कुनै किसिमको प्रतिकूल शारीरिक प्रभाव पनि गएको अवस्थामा त्यस्तो चिकित्सक वा स्वास्थ्यकर्मी उपर क्षतिपूर्ति माग दाबी गर्न यस दफाले बाधा पुर्याएको मानिने छैन ।
१६. अध्ययन अनुसन्धानको लागि शव परीक्षण गर्ने अधिकार : (१) क्यान्सर रोगको उपचारको लागि अस्पतालमा भर्ना भएका बिरामीले आफ्नो मृत्यु पश्चात् आफ्नो शव त्यस्तो रोग सम्बन्धी अध्ययन अनुसन्धानको लागि परीक्षण गर्न पाउने गरी मञ्जुरी दिएमा त्यस्तो मृतकको शव दाह संस्कार गर्नु अघि अस्पतालले सो बमोजिम शव परीक्षण गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम अध्ययन वा अनुसन्धानको निमित्त मञ्जुरी दिन नपाउँदै अस्पतालमा भर्ना भएको कुनै बिरामीको मृत्यु हुन गएमा त्यस्तो मृतकको शवलाई क्यान्सर रोग सम्बन्धी कुनै अध्ययन वा अनुसन्धानको लागि परीक्षण गर्न अस्पताललाई बाधा पुर्याएको मानिने छैन । (३) उपदफा (१) बमोजिम शव परीक्षणको लागि मञ्जुरी दिने लिने सम्बन्धी अन्य कार्यविधि तथा शर्तहरू तोकिए बमोजिम हुनेछ ।
१७. अस्पतालको कोष : (१) अस्पतालको कोषमा देहायका रकमहरू रहनेछन् र अस्पतालको खर्च सो कोषबाट व्यहोरोइनेछ :– (क) नेपाल सरकारबाट अस्पतालको लागि प्राप्त रकम, (ख) कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट प्राप्त रकम, (ग) अस्पतालले प्रदान गरेको सेवाबाट प्राप्त रकम, (घ) विभिन्न व्यक्तिहरूबाट प्राप्त अनुदानको रकम, (ङ) अन्य स्रोतबाट प्राप्त रकम । (२) नेपाल सरकार, विदेशी सरकार वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट जुन कार्यक्रम वा कार्यको निमित्त अस्पताललाई रकम प्राप्त गराईएको छ सो रकम सोही कार्यक्रम वा कार्यमा मात्र खर्च गर्नु पर्नेछ । (३) अस्पतालको कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
१८. अस्पताललाई छुट र सुविधा : (१) अस्पताललाई देहाय बमोजिमका कुराहरूमा भन्सार, बिक्री कर, #........... र रजिष्ट्रेशन दस्तुर लाग्ने छैन :– (क) अस्पतालको निर्माण तथा सञ्चालनको लागि विदेशबाट चिकाइने आवश्यक निर्माण सामग्री, मेसिनरी र औजारहरूमा, (ख) अस्पतालले प्रदान गर्ने छात्रवृत्ति, विद्वावृत्ति र पुरस्कारहरूमा, (ग) अस्पतालले प्राप्त गरेको दान–दातव्य, अनुदान तथा अन्य आयस्रोत र अस्पतालको सम्पत्तिमा, र (घ) अस्पतालले खरिद गर्ने अचल सम्पत्तिको लिखतको रजिष्ट्रेशनमा । (२) उपदफा (१) को खण्ड (क) बमोजिमका सामानहरू विदेशबाट चिकाउनु अगावै अस्पतालले त्यस्तो सामानहरूको मूल्य सूची र परिमाण सहितको विवरण स्वास्थ्य मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पेश गर्नु पर्नेछ ।
१९. लेखा र लेखापरीक्षण : (१) अस्पतालको आय–व्ययको लेखा तोकिए बमोजिम राखिनेछ । (२) अस्पतालको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।
२०. प्राविधिक समिति गठन गर्न सक्ने : (१) अस्पताललाई आवश्यक पर्ने प्राविधिक सेवा तथा सहयोग उपलब्ध गराउन समितिले आवश्यकता अनुसार प्राविधिक समिति गठन गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम गठित प्राविधिक समितिको काम, कर्तव्य, अधिकार तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।
२१. अधिकार प्रत्यायोजन : समितिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकार आवश्यकता अनुसार समितिको कुनै सदस्य, अस्पतालको कार्यकारी निर्देशक वा कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
२२. निर्देशन दिन सक्ने : नेपाल सरकारले यो ऐन कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक दिएका नीतिगत कुराहरूमा अस्पताललाई निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु अस्पतालको कर्तव्य हुनेछ ।
२३. नेपाल सरकारसँग सम्पर्क : क्यान्सर को उपचार तथा रोकथाम सम्बन्धी कुनै नीतिगत विषयमा अस्पतालले नेपाल सरकारसँग सम्पर्क राख्नु परेमा *स्वास्थ्य तथा जनसंख्या
मन्त्रालय मार्फत राख्नेछ र अन्य विषयमा नेपाल सरकारको जुनसुकै मन्त्रालय वा कार्यालयसँग सोही सम्बन्धमा सम्पर्क राख्न सक्नेछ ।
२४. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्न समितिले आवश्यक नियमहरू बनाउन सक्नेछ ।
२५. निर्देशिका बनाउन सक्ने : (१) अस्पतालले यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरूको प्रतिकूल नहुने गरी क्यान्सर रोगको उपचारको लागि प्रयोग गरिने विकिरणयुक्त पदार्थको संचय, विस्थापन र प्रयोगको सम्बन्धमा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निर्धारित नियम तथा मान्यताहरूको कार्यान्वयनको लागि आवश्यक पर्ने निर्देशिका बनाई लागू गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिमको निर्देशिका नबनाएसम्म यस सम्बन्धमा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निर्धारित नियम तथा मान्यताहरूलाई समितिले अवलम्बन गर्न गराउन सक्नेछ । (३) उपदफा (१) बमोजिम लागू गरेको निर्देशिका वा उपदफा (२) बमोजिम अवलम्बन गरिएका नियम तथा मान्यताहरूको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
❖ पहिलो संशोधनद्वारा संशोधित ।
द्रष्टव्य : केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ बमोजिम रूपान्तरण भएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”