राष्ट्रिय परीक्षा बोर्ड नियमावली, २०७६
नेपाल राजपत्रमा प्रकाशित मिति २०७६।०३।१६
संशोधन राष्ट्रिय परीक्षा बोर्ड (पहिलो संशोधन) नियमावली, २०७८ २०७८।१०।२४
शिक्षा ऐन, २०२८ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरुको नाम “राष्ट्रिय परीक्षा बोर्ड नियमावली, २०७६” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले शिक्षा ऐन, २०२८ सम्झनु पर्छ । (ख) "बोर्डको अध्यक्ष" भन्नाले ऐनको दफा ४क. बमोजिम नियुक्त भएको बोर्डको अध्यक्ष सम्झनु पर्छ । (ग) "मन्त्रालय" भन्नाले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्झनु पर्छ । (घ) “समिति” भन्नाले नियम ९क. को उपनियम (२) बमोजिमको प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति सम्झनु पर्छ।
३. बोर्डको काम, कर्तव्य र अधिकार : ऐनमा उल्लेखित काम, कर्तव्य र अधिकारका अतिरिक्त बोर्डको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) परीक्षा प्रणालीमा देखिएका समस्याको अनुसन्धान तथा मूल्याङ्कन गरी सुधारको लागि कार्यक्रम स्वीकृत गर्ने, (ख) बोर्डलाई आवश्यक परे जनशक्तिको व्यवस्था मिलाउने, (ग) बोर्डका लागि आवश्यक कर्मचारीको दरबन्दी स्वीकृतिका लागि मन्त्रालयमा पेश गर्ने, (घ) बोर्डको अभिलेख अनुसार प्रमाणपत्र प्रमाणीकरण गर्ने, गराउने,
(ङ) बोर्डका कर्मचारीहरूको सेवा, शर्त र सुविधा सम्बन्धी विनियम बनाई स्वीकृतिका लागि मन्त्रालयमा पेश गर्ने, (च) बोर्ड सम्बन्धी अन्य आवश्यक कार्य गर्ने ।
४. बोर्डको बैठक सम्बन्धी कार्यविधि : (१) बोर्डको बैठक आवश्यकता अनुसार बोर्डको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । (२) बोर्डको सदस्य-सचिवले बोर्डको बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना बोर्डका सबै सदस्यहरूलाई बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगावै दिनु पर्नेछ । (३) बोर्डमा कायम रहेको सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ । (४) बोर्डको बैठकको अध्यक्षता बोर्डको अध्यक्षले र निजको अनुपस्थितिमा बोर्डको उपाध्यक्षले गर्नेछ । (५) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ । (६) बोर्डको बैठकको निर्णय बोर्डको अध्यक्ष र बोर्डको सदस्य-सचिवको हस्ताक्षरद्वारा प्रमाणित गरिनेछ ।
५. बोर्डको अध्यक्षको काम, कर्तव्य र अधिकार : (१) बोर्डको अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) बोर्डको अल्पकालीन र दीर्घकालीन नीति, योजना र कार्यक्रम तजुमा गर्ने, गराउने, (ख) बोर्डसँग सम्बद्ध स्वदेशी, विदेशी, सरकारी एवं गैरसरकारी संस्था वा व्यक्तिसँग समन्वय कायम गर्ने, गराउने, (ग) बोर्ड अन्तर्गत सञ्चालित परीक्षा सम्बन्धी योजना तथा कार्यक्रमहरूको प्रगति मूल्याङ्कन गर्ने, गराउने, (घ) बोर्डबाट सञ्चालित परीक्षाहरूको अनुगमन तथा निरीक्षण गर्ने, गराउने, (ङ) बोर्ड समक्ष पेश गर्ने प्रस्तावहरू तयार गर्न लगाउने, (च) बोर्डको वार्षिक प्रतिवेदन तयार गर्न लगाउने ।
(२) बोर्डको अध्यक्षले आफुलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डका सदस्य-सचिव वा बोर्डका अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
६. बोर्डको सदस्य-सचिवको काम, कर्तव्य र अधिकार : (१) बोर्डको सदस्य-सचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) बोर्डमा पेश हुने प्रस्तावहरु तयार गर्ने, (ख) बोर्डबाट भएका निर्णयहरु कार्यान्वयन गर्ने, (ग) बोर्डको अनुमानित वार्षिक आय, व्यय र कार्यक्रम तयार गरी पेश गर्ने, (घ) बोर्डको कोष परिचालन, सम्पत्तिको व्यवस्था, संरक्षण र सञ्चालन सम्बन्धी आवश्यक कार्य गर्ने गराउने, (ङ) बोर्डको वार्षिक आर्थिक विवरण तयार गर्ने र लेखापरीक्षण गराउने, (च) बोर्डले तोके बमोजिम अन्य कार्यहरु गर्ने, गराउने । (२) बोर्डको सदस्य-सचिवले आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डका अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
७. बोर्डको अध्यक्ष पदमा नियुक्त हुन नसक्ने : देहायको व्यक्ति बोर्डको अध्यक्ष पदमा नियुक्त हुन सक्ने छैन :- (क) गैरनेपाली नागरिक, (ख) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार पसार, लागू औषध बिक्री वितरण वा ओसार पसार, सम्पत्ति शुद्धीकरण, राजदालानी दुरुपयोग, अपहरण वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा अदालतबाट सजाय पाएको, (ग) भविष्यमा सरकारी वा सार्वजनिक संस्थाको सेवाको निमित्त अयोग्य ठहरिने गरी पदबाट बर्खास्त गर्ने गरी विभागीय सजाय पाएको, (घ) कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको, (ङ) प्रचलित कानून बमोजिम कालो सूचीमा परेको, (च) दामासाहीमा परेको, वा (छ) मानसिक सन्तुलन ठीक नभएको ।
८. बोर्डको अध्यक्षको पद रिक्त हुने अवस्था : बोर्डको अध्यक्षको पद देहायको अवस्थामा रिक्त हुनेछ:- (क) निजको पदावधि पूरा भएमा, (ख) निजले पेश गरेको राजीनामामा नेपाल सरकारले स्वीकृत गरेमा, (ग) ऐनको दफा ४क. को उपदफा (५) बमोजिम निजलाई पदबाट हटाइएमा, (घ) निजमा नियम ७ बमोजिमको कुनै अयोग्यता रहेको भएमा, वा (ङ) निजको मृत्यु भएमा ।
९. बोर्डको अध्यक्षको पारिश्रमिक, सेवा शर्त तथा सुविधा : (१) बोर्डको अध्यक्षले आफ्नो पदमा बहालि गरेको दिनदेखि नेपाल सरकारको विशिष्ट श्रेणीले पाए सरिाको पारिश्रमिक पाउनेछ । तर नेपाल सरकार वा नेपाल सरकारको अधिकार स्वामित्व भएको वा नेपाल सरकारबाट अनुदान प्राप्त सार्वजनिक निकायबाट निवृत्तभरण पारिपाएको व्यक्ति बोर्डको अध्यक्ष पदमा नियुक्त भएमा निजले पाउने निवृत्तभरण वा यस नियम बमोजिमको पारिश्रमिकमध्ये निजले रोजेको कुनै एक मात्र पाउनेछ । (२) बोर्डको अध्यक्षले देहाय बमोजिमको बिदा पाउनेछ :- (क) घर बिदा : सार्वजनिक बिदा बाहेक काम गरेको अवधिको बाह्र दिनको एक दिनका दरले, (ख) बिरामी बिदा : प्रत्येक वर्ष बाह्र दिन, (ग) भैपरी आउने तथा पर्व बिदा : प्रत्येक वर्ष बाह्र दिन, (घ) किरिया बिदा : बोर्डको अध्यक्षले कुल धर्म अनुसार आफैं किरिया बस्नु परेमा वा निजको बाबुआमा, बाजेबज्यै, छोराछोरी, सासू ससुरा, पति वा पत्नीको मृत्यु भएमा पन्ध्र दिन, (ङ) प्रसूति बिदा : बोर्डको अध्यक्ष गर्भवती भएमा निजले सुत्केरीको अघि वा पछि गरी अन्ठाब्बे दिन, (च) प्रसूति स्याहार बिदा : बोर्डको अध्यक्षको पत्नी सुत्केरी भएमा पन्ध्र दिन, तर यस्तो बिदा सेवा अवधिभरमा दुई पटकभन्दा बढी पाउने छैन ।
(३) बोर्डको अध्यक्षले उपनियम (२) को खण्ड (घ) बमोजिमको बिदा बसेपछि कार्यालयमा हाजिर भएको पन्ध्र दिनभित्र मृत व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र तथा मृत व्यक्तिसँगको नाता प्रमाणित कागजात र सोही उपनियमको खण्ड (ङ) र (च) बमोजिमको बिदा बसेकोमा कार्यालयमा हाजिर भएको तीन महिनाभित्र बच्चाको जन्मदर्ता प्रमाणपत्र बोर्डको केन्द्रीय कार्यालयमा पेश गर्नु पर्नेछ ।
(४) उपनियम (२) को खण्ड (क) र (ख) बमोजिम बोर्डको अध्यक्षले बिदा उपयोग गरेको नभएमा त्यस्तो उपयोग नगरेको बिदाको रकम मासिक तलबको अनुपातमा चैत मसान्तमा पाउनेछ ।
(५) उपनियम (२) को खण्ड (घ), (ङ) र (च) बमोजिम बोर्डको अध्यक्षले बिदा बस्दा पूरा तलब पाउनेछ र त्यस्तो बिदा सञ्चित गर्न पाउने छैन ।
(६) बोर्डको अध्यक्षले मनाउने मुख्य चाडपर्वमा एक महिनाको पारिश्रमिक बराबरको रकम चाडपर्व खर्च बापत पाउनेछ ।
(७) बोर्डको अध्यक्षले खापाइ आएको मासिक पारिश्रमिकको पन्ध्र दिन बराबरको रकम प्रत्येक वर्ष औषधी उपचार खर्च बापत पाउनेछ ।
(८) उपनियम (२) को खण्ड (ग) बमोजिमको बिदा बोर्डको अध्यक्ष आफैंले लिन सक्नेछ र अन्य बिदाहरू मन्त्रालयले स्वीकृत गर्नेछ ।
(९) बोर्डको कामको सिलसिलामा बोर्डको अध्यक्ष विदेशी मुलुकको भ्रमणमा जानु परेमा बोर्डको सिफारिसमा मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(१०) बोर्डको अध्यक्षले बोर्डको कामको सिलसिलामा नेपालभित्र वा विदेशी मुलुकको भ्रमण गर्दा नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारीले पाए सरिक़ो दैनिकता भ्रमण भत्ता पाउनेछ ।
९क. परीक्षाको सञ्चालन: (१) माध्यमिक तहको कक्षा दसको अन्त्यमा हुने परीक्षा (एसईई) बोर्डले निर्धारण गरेको मिति र समयमा सबै प्रदेशमा एकै पटक वा प्रत्येक प्रदेशमा फरक फरक हुने गरी सञ्चालन गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिम सञ्चालन हुने परीक्षाको सञ्चालन तथा व्यवस्थापकीय लागि बोर्डलाई सहयोग पुर्याउन प्रत्येक प्रदेशमा देहाय बमोजिमको प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति रहनेछ:-
(क) सचिव, सम्बन्धित प्रदेशको शिक्षा विषय हेर्ने मन्त्रालय -अध्यक्ष
(ख) प्रमुख, बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय -सदस्य (ग) प्रदेश भित्रको माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू मध्येबाट समितिले मनोनयन गरेको एक जना -सदस्य (घ) प्रदेश भित्रको स्थानीय तहको शिक्षा महाशाखा वा शाखा प्रमुखहरू मध्येबाट समितिले मनोनयन गरेको एक जना -सदस्य (ङ) निर्देशक, प्रदेश शिक्षा विकास निर्देशनालय -सदस्य-सचिव
(३) समितिको बैठक आवश्यकता अनुसार समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । (४) समितिको सचिवालय सम्बन्धित प्रदेशको शिक्षा विकास निर्देशनालयमा रहनेछ। (५) समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ। (६) समितिको अध्यक्ष तथा सदस्यले समितिको बैठक बसेको दिनको नेपाल सरकार, अर्थ मन्त्रालयले निर्धारण गरे बमोजिमको बैठक भत्ता प्राप्त गर्नेछ।
९ख. समितिको काम, कर्तव्य र अधिकार: (१) बोर्डले निर्धारण गरेको नीति, मापदण्ड तथा कार्यविधिको अधिनमा रही समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) बोर्डले तोकेको मिति र समयमा परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न बोर्डलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने, (ख) परीक्षा सञ्चालनको लागि आवश्यक परे परीक्षा केन्द्र निर्धारण गर्ने, (ग) केन्द्रध्यक्ष तथा अन्य कर्मचारीको नियुक्ति तथा परीक्षा सञ्चालन गर्दा जिल्ला शिक्षा जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गर्ने, (घ) विद्यालयबाट विद्यार्थीले भर्नु पर्ने परीक्षा आवेदन फाराम भराउने, (ङ) परीक्षामा समावेश हुने परीक्षार्थीको विवरण अद्यावधिक गरी सोको जानकारी बोर्डलाई गराउने, (च) केन्द्रध्यक्ष, निरीक्षक, शिक्षक वा कर्मचारी मध्ये कसैले परीक्षामा अनियमितता गरेको वा बोर्डले निर्धारण गरेको मापदण्ड विपरीत कुनै कार्य गरेको पाइएमा त्यस्तो व्यक्तिलाई तत्काल निलम्बन गरी आवश्यक कारबाहीको लागि बोर्ड समक्ष सिफारिस गर्ने,
(छ) परीक्षा केन्द्रमा अनियमितता गरेको पाइएमा त्यस्तो परीक्षा केन्द्र बन्द गरी अर्को परीक्षा केन्द्रमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउने, (ज) परीक्षाको लागि आवश्यक पर्ने उत्तर पुस्तिकाको प्रबन्ध गर्ने, (झ) बोर्डले तोकेको मापदण्ड अनुसार उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सम्बन्धी कार्य गराउने, (ञ) उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकको लागि जारी भएको आचारसंहिता पालना गर्ने, गराउने, (ट) परीक्षण भई सम्परीक्षण भएका उत्तरपुस्तिका प्राप्त गरी परीक्षार्थीको प्राप्ताङ्क प्रविष्ट गराउने र सोको विवरण नतिजा प्रकाशनको लागि बोर्डमा पठाउने, (ठ) परीक्षा सञ्चालन सम्बन्धी कार्य गर्दा कुनै विपद परेको अवस्थामा तत्काल निकासाको लागि बोर्ड समक्ष सिफारिस गर्ने, (ड) परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सम्बन्धी कार्यमा संलग्नलाई बोर्डको नीति निर्देशनमा रही पारिश्रमिक तथा अन्य सुविधा प्रदान गर्ने । (२) समितिले परीक्षा सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ। (३) उपनियम (२) बमोजिम गठन हुने उपसमितिको कार्यक्षेत्रगत शर्त तथा कार्यविधि त्यस्तो उपसमिति गठन गर्दाको बखत समितिले निर्धारण गरे बमोजिम हुनेछ ।
९ग. निर्देशन दिन सक्ने: (१) माध्यमिक तहको कक्षा दसको अन्त्यमा हुने परीक्षा (एसईई) सम्बन्धी विषयमा बोर्डले आवश्यकता अनुसार समितिलाई निर्देशन दिन सक्नेछ। (२) उपनियम (१) बमोजिम दिइएको निर्देशनको पालना गर्नु समितिको कर्तव्य हुनेछ।
१०. छनोट समिति : (१) ऐनको दफा ४क. को उपदफा (५) बमोजिम बोर्डको अध्यक्षले आफ्नो पदीय जिम्मेवारी इमान्दारीपूर्वक पूरा नगरेको सम्बन्धमा छनोट गरी सिफारिस गर्न देहाय बमोजिमको छनोट समिति रहनेछ :-
(क) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरूमध्ये मुख्य सचिवले तोकेको सचिव -संयोजक (ख) सहन्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय -सदस्य (ग) सहसचिव, मन्त्रालय -सदस्य । (२) उपनियम (१) बमोजिमको समितिको कार्यविधि त्यस्तो समिति गठन गर्दाका बखत नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ । (३) ऐनको दफा ४क. को उपदफा (५) बमोजिम बोर्डको मनोनित सदस्यले आफ्नो पदीय जिम्मेवारी इमानदारीपूर्वक पूरा नगरेको सम्बन्धमा छानबिन गरी सिफारिस गर्न देहाय बमोजिमको छानबिन समिति रहनेछ :- (क) सहसचिव, मन्त्रालय -संयोजक (ख) उपन्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय -सदस्य (ग) कानून अधिकृत, मन्त्रालय -सदस्य । (४) उपनियम (३) बमोजिमको समितिको कार्यविधि त्यस्तो समिति गठन गर्दाका बखत मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ । (५) उपनियम (१) र (३) बमोजिमको समितिको बैठक लगायतका अन्य कार्यविधि सम्बन्धित समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ । ११. सहमति लिनुपर्ने : यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले नेपाल सरकारलाई आर्थिक दायित्व पर्नु पर्ने विषयमा कुनै कारोबार गर्दा अर्थ मन्त्रालयको पूर्व सहमति लिई नेपाल सरकारको प्रचलित आर्थिक ऐन नियम बमोजिमको प्रक्रिया पूरा गर्नु पर्नेछ । १२. खारेजी र बचाउ : (१) उच्च माध्यमिक शिक्षा नियमावली, २०५२ खारेज गरिएको छ । (२) उच्च माध्यमिक शिक्षा नियमावली, २०५२ बमोजिम भए गरेका काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिनेछ । (३) यो नियमावली प्रारम्भ हुनु अघि ऐनको अधीिमा रही बोर्डबाट भए गरेका काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।