राष्ट्रिय प्रकृति संरक्षण कोष नियमावली, २०४१
नेपाल राजपत्रमा प्रकाशित मिति २०४१।६।२९
संशोधन १. राष्ट्रिय प्रकृति संरक्षण कोष (पहिलो संशोधन) नियमावली, २०४२ २०४२।११।२० २. राष्ट्रिय प्रकृति संरक्षण कोष (दोस्रो संशोधन) नियमावली, २०७० २०७०।१।३०
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा १६ ले दिएको अधिकार प्रयोग गरी राष्ट्रिय प्रकृति संरक्षण कोष सञ्चालक समितिको परामर्श लिई नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “राष्ट्रिय प्रकृति संरक्षण कोष नियमावली, २०४१” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा “ऐन” भन्नाले “राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९” सम्झनु पर्छ ।
३. कार्यालयको स्थापनाः कोषले आफ्नो कार्य सञ्चालनको लागि केन्द्रीय कार्यालय तथा आवश्यकतानुसार शाखा कार्यालय स्थापना गर्न सक्नेछ ।
४. कर्मचारी र सल्लाहाकारको व्यवस्थाः (१) कोषको कार्य सञ्चालनको लागि आवश्यक कर्मचारीहरु तथा सल्लाहाकारको व्यवस्था समितिको निर्णय बमोजिम हुनेछ । (२) कर्मचारी तथा सल्लाहाकारहरुले पाउने पारिश्रमिक, भत्ता तथा अन्य सुविधा समितिको निर्णय अनुसार हुनेछ ।
५. कर्मचारीहरु काजमा पठाउनेः (१) कोषको काम गर्न गराउन वा सहायताको लागि नेपाल सरकारले कुनै पनि कर्मचारीलाई आवश्यकतानुसार कोषको अनुरोधमा काजमा पठाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम काजमा खटिएका कर्मचारीहरूले पाउने सुविधाहरू समितिले निर्णय गरेबमोजिम हुनेछ ।
६. करारमा काम गराउनेः कोषको हितको लागि कोषले आवश्यक देखेमा स्वदेशी वा विदेशी नागरिकलाई करारमा काम लगाउन सक्नेछ ।
७. कर्मचारी प्रशासनः कर्मचारी प्रशासनको लागि कोषले आफ्नो छुट्टै विनियम बनाउन सक्नेछ ।
८. अध्यक्ष, सदस्य वा अन्य पदाधिकारीको पारिश्रमिकः समितिको अध्यक्ष, सदस्य वा अन्य पदाधिकारीले पाउने पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरू समितिले पारित गरेको निर्णय अनुसार विनियममा तोकिएबमोजिम हुनेछ ।
९. कार्य सञ्चालनः ऐनको दफा ९ मा उल्लिखित कोषको काम र कर्तव्य पूरा गर्न कोषले नेपाल सरकारको सम्बन्धित निकाय वा गैरसरकारी संघ, संस्था वा व्यक्तिहरूसँग समन्वय गरी आवश्यकतानुसार तिनीहरूको स्वीकृति र सहयोग प्राप्त गरी सरकारी वा गैरसरकारी क्षेत्रमा देहाय बमोजिमको काम गर्न गराउन वा सहयोग दिन सक्नेछः-
(क) वृक्षारोपण गर्ने,
(ख) भू तथा जलस्रोत संरक्षण सम्बन्धी काम गर्ने,
(ग) राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यमा प्राविधिक तथा अन्य राय सल्लाह दिने,
(घ) प्रकृति वा प्राकृतिक सम्पदाको संरक्षण गर्ने काममा जनजागृति पैदा गरी जनसहभागिता वृद्धि गर्ने,
(ङ) वन्यजन्तु तथा अन्य प्राकृतिक सम्पदाको वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्ने,
(च) प्रकृति वा प्राकृतिक सम्पदा संरक्षण गर्ने विषयमा समय समयमा सभा, गोष्ठी एवं सम्मेलन गर्ने,
(छ) कोषको दीर्घकालीन योजना तर्जुमा गर्ने,
(ज) नेपाल सरकारलाई राष्ट्रियस्तरमा प्रकृति वा प्राकृतिक सम्पदा संरक्षण सम्बन्धी नीति तर्जुमा गर्दा आवश्यकता अनुसार राय सल्लाह दिने,
(झ) परामर्श सेवा एवं सूचना सेवासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने,
(ञ) प्रकृति तथा प्राकृतिक सम्पदा संरक्षणसम्बन्धी अन्य आवश्यक काम गर्ने ।
१०. चन्दा सङ्कलन वा अन्य सहायता प्राप्त गर्नेः राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था तथा अन्य क्षेत्रबाट नगदी, जिन्सी वा अन्य किसिमको सहायता प्राप्त गर्न र चन्दा सङ्कलन गर्न कोषले देहाय बमोजिमको काम गर्न गराउन सक्नेछः-
(क) राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्ति विशेषसँग सम्पर्क राख्ने,
(ख) स्वदेश वा विदेशको पत्र-पत्रिका, रेडियो, टेलिभिजन वा यस्तै अन्य प्रचार प्रसारका माध्यमद्वारा प्रचार प्रसार गर्ने,
(ग) स्वदेश वा विदेशमा सम्मेलन, सेमिनार, प्रवचन, प्रदर्शनी वा भ्रमणको आयोजना गर्ने,
(घ) प्रकृति तथा प्राकृतिक संरक्षण, वन्यजन्तु, राष्ट्रिय निकुञ्ज तथा आरक्ष सम्बन्धी चलचित्र बनाई बिक्री वितरण गर्ने,
(ङ) पोष्टकार्ड, पोष्टर वा अन्य कुनै किसिमको उपहारयोग्य वस्तु बनाई बिक्री वितरण गर्ने,
(च) राष्ट्रिय निकुञ्ज वा आरक्ष वा अन्य प्राकृतिक स्थलको अवलोकनार्थ आउने पर्यटकहरूबाट वा प्राकृतिक स्रोतको उपयोग गर्ने कुनै व्यक्ति, संस्था वा पर्वतारोहीहरूबाट चन्दा लिने,
(छ) चन्दा बाकस राख्ने,
(ज) चिठ्ठा सञ्चालन गर्ने,
(झ) कोषको हितको लागि कोषले उचित ठानेका अन्य कुनै उपायद्वारा रकम सङ्कलन गर्ने ।
११. चन्दा वा सहायता दिने र लिनेः राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्ति विशेषले कुनै खास प्रयोजनको लागि कुनै शर्त तोकी वा नतोकी कोषलाई चन्दा वा सहायता दिन सक्नेछ र त्यस्तो चन्दा वा सहायता लिने नलिने अधिकार कोषलाई हुनेछ ।
१२. दाताको सम्मान: (१) कोषलाई देहाय बमोजिम चन्दा वा सहायता दिने दातालाई देहाय बमोजिम सम्मान गरिनेछ:-
(क) कम्तिमा दश लाख रुपैयाँ (रु. १०,००,०००।-) वा सो बराबरको विदेशी मुद्रा प्रदान गर्ने दातालाई अध्यक्षबाट सम्मानित सञ्चालक (ट्रष्टी) को उपाधि तथा प्रमाणपत्र सहित कोषको प्रतीक प्रदान गरिनेछ ।
(ख) कम्तिमा पाँच लाख रुपैयाँ (रु. ५,००,०००।-) वा सो बराबरको विदेशी मुद्रा प्रदान गर्ने बढीमा ५०१ दातालाई अध्यक्षबाट सम्मानित सदस्यको उपाधि तथा प्रमाणपत्र सहित कोषको प्रतीक प्रदान गरिनेछ ।
(ग) कम्तिमा दुईलाख पचास हजार रुपैयाँ (रु. २,५०,०००।-) वा सो बराबरको विदेशी मुद्रा प्रदान गर्ने बढीमा १००१ दातालाई अध्यक्षबाट सम्मानित सहयोगीको उपाधि तथा प्रमाणपत्र सहित कोषको प्रतीक प्रदान गरिनेछ ।
(घ) कम्तिमा एक लाख रुपैयाँ (रु. १,००,०००।-) वा सो बराबरको विदेशी मुद्रा प्रदान गर्ने दातालाई अध्यक्षबाट सहयोगीको उपाधि तथा प्रमाणपत्र सहित कोषको प्रतीक प्रदान गरिनेछ । यस्तो उपाधि २५ वर्षसम्म कायम रहनेछ ।
(२) उपतियम (१) को खण्ड (क) मा उल्लिखित उपाधि अध्यक्षको अनुरोधमा संरक्षकबाटै प्रदान हुन सक्नेछ ।
१३. आयकर छुट: कोषलाई चन्दा वा सहायता प्रदान गर्ने दातालाई त्यसरी चन्दा वा सहायता दिएको रकममा प्रचलित कानून बमोजिम आयकर छुट दिइनेछ ।
१४. कोषबाट अनुदान सहायता: (१) ऐनको दफा ९ मा उल्लिखित कामको लागि कोषले कुनै सरकारी वा गैरसरकारी संघ, संस्था वा व्यक्तिलाई आर्थिक अनुदान वा प्राविधिक वा अन्य आवश्यक सहायता उपलब्ध गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कोषबाट अनुदान वा सहायता प्राप्त गर्नको लागि कुनै संघ, संस्था वा व्यक्तिले आफूले सञ्चालन गर्ने कार्य वा योजनाको विस्तृत विवरण सहित आवेदन पत्र पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कोषबाट अनुदान वा सहायता प्राप्त गर्ने संघ संस्था वा व्यक्तिले कोषले तोकिदिएको शर्त अनुसार कार्य गर्नु पर्नेछ ।
१५. खर्च दिन सकिनेः कोषको हितको लागि चन्दा सङ्कलन गर्ने कुनै सरकारी वा गैरसरकारी निकाय वा व्यक्तिलाई लागि खर्चबापत सङ्कलित रकमको बढीमा १५ प्रतिशतसम्म खर्च दिन सकिनेछ ।
१६. लगानी गर्न सकिनेः कोषले आफूले प्राप्त गरेको रकम वा सम्पत्ति कुनै काममा लगानी गरी आम्दानी गर्न सक्नेछ ।
१७. महसुल तथा कर लाग्नेः (१) कोषले आफ्नै स्रोतबाट स्वदेश वा विदेशबाट खरीद वा पैठारी गरेको वा कोषलाई स्वदेश वा विदेशबाट चन्दा वा सहायता स्वरुप प्राप्त हुने नगद जिन्सी, चल, अचल सम्पत्ति, सरसामग्री तथा औजारहरुमा प्रचलित कानून बमोजिम भन्सार महसुल, बिक्रीकर र अन्य सबै किसिमको महसुल छूट दिइनेछ ।
(२) कोषले चन्दा वा सहायता स्वरुप प्राप्त गरेको वा लगानी गरी आर्जन गरेको रकम वा चल अचल सम्पत्तिमा प्रचलित कानून बमोजिम आयकर छूट दिइनेछ ।
१८. प्रतिनिधि तोक्न सकिनेः कोषको लागि चन्दा सङ्कलन गर्न, प्रचार प्रसार गर्न वा कोषलाई हित हुने अन्य कुनै काम गर्नको लागि स्वदेश वा विदेशमा कुनै व्यक्ति वा संस्थालाई कोषले आफ्नो प्रतिनिधि तोक्न वा काम लगाउन सक्नेछ ।
१९. विदेशी सल्लाहाकार तथा प्राविधिकलाई सुहुलियतः कोषमा काम गर्ने विदेशी सल्लाहाकार वा प्राविधिकलाई नेपाल ......... मा काम गर्ने संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सो सरिको सल्लाहाकार वा व्यक्तिलाई दिइए सरिको सुहुलियत दिइनेछ ।
२०. उपसमिति गठन गर्नेः (१) कोषको काम कारबाहीको सम्वन्ध वा विकास गर्न समितिले आवश्यक वा उपयुक्त देखेमा विदेशी मुलुकमा समेत उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपसमितिमा समितिले मनोनित गरे बमोजिमका सदस्यहरु रहनेछन् ।
(३) उपनियम (१) बमोजिम गठन गरिने उपसमितिमा सो मुलुकमा रहेको नेपाली राजदूतावास वा नियोगका प्रमुखलाई समितिले पदेन सदस्य तोक्न सक्नेछ ।
दोस्रो संशोधनद्वारा संशोधित । पृष्ठव्य: नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरू: (क) “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । (ख) “श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष” को सट्टा “राष्ट्रिय प्रकृति संरक्षण कोष” ।