लालमोहर र प्रकाशित मिति २०५७।१०।४
२०५७ सालको ऐन नं. १३ $\times$..............
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको स्थापना र व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : शहीद गङ्गालाल श्रेष्ठको स्मृति चिरपर्यन्त कायम राख्ने उद्देश्यले हृदयरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनस्थापनाको लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रूपमा प्रदान गरी हृदयरोगीलाई मानवीय जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोग सम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको स्थापना गरी सञ्चालन गर्न वांछनीय भएकोले, श्री ५ महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको उन्न्तीसौँ वर्षमा संसदले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “केन्द्र” भन्नाले दफा ३ बमोजिम स्थापना भएको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र सम्झनु पर्छ। (ख) “समिति” भन्नाले दफा ७ बमोजिम गठित केन्द्र सञ्चालक समिति सम्झनु पर्छ।
$\textcircledast$ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको। $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ । (घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र समितिको सदस्य–सचिव समेतलाई जनाउँछ । (ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा ११ बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनु पर्छ । (च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
३. केन्द्रको स्थापना : (१) हृदयरोगको निदान, उपचार तथा हृदयरोगीको पुनस्थापनाको लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सुलभ रूपमा प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोग सम्बन्द्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न एक उच्चस्तरीय केन्द्रको रूपमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र स्थापना गरिएको छ । (२) केन्द्र काठमाडौँ जिल्लामा रहनेछ र आवश्यकता अनुसार अन्य जिल्लामा केन्द्रको शाखा र इकाई स्थापना गर्न सकिनेछ ।
४. केन्द्र स्वाशासित संस्था हुने : (१) केन्द्र अविच्छिन्न उत्तराधिकारवाला एक स्वाशासित र सङ्गठित संस्था हुनेछ । (२) केन्द्रको आफ्नो एउटा छुट्टै छाप हुनेछ । (३) केन्द्रले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ । (४) केन्द्रले व्यक्ति सरह आफ्नो नामबाट नालिस, उजुर गर्न र केन्द्र उपर पनि सोही नामबाट नालिस, उजुर लाग्न सक्नेछ ।
५. केन्द्रको उद्देश्य : केन्द्रको उद्देश्य देहाय बमोजिम हुनेछ :– (क) हृदयरोगको रोकथाम, निदान र उपचार तथा हृदयरोगीको पुनस्थापनाको लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सुलभ रूपमा प्रदान गरी निजहरुलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउने, (ख) हृदयरोगको उपचारको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार गर्ने तथा हृदयरोग सम्बन्द्धी उच्चस्तरीय अध्ययन अनुसन्धान गर्ने वा गराउने, (ग) हृदयरोग निवारण तथा नियन्त्रण सम्बन्द्धी कार्यक्रम सञ्चालन गर्ने,
(घ) मुलुकको स्वास्थ्य सेवाको क्षेत्रमा सुधार ल्याउन हृदयरोग सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न नेपाल सरकारलाई परामर्श दिने, (ङ) हृदयरोग निवारण सम्बन्धी अन्य रचनात्मक कार्य गर्ने ।
६. केन्द्रको काम, कर्तव्य र अधिकार : यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :– (क) केन्द्रको उद्देश्य प्राप्तिका लागि आवश्यक नीति, योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने, (ख) हृदयरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनस्र्थापनाका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउने, (ग) हृदयरोगको रोकथाम तथा हृदयरोगीको पुनस्र्थापना कार्यको लागि राष्ट्रिय हृदयरोग निवारण तथा नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने, (घ) हृदयरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनस्र्थापनाका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने, (ङ) केन्द्रको उद्देश्य पूरा गर्नको लागि हृदयरोग सम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन, अनुसन्धान, सर्वेक्षण, गोष्ठी, सभा, सम्मेलन, सेमिनार आदि कार्यक्रमको आयोजना र सञ्चालन गर्ने तथा तत्सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी, सेमिनार आदिमा सहभागी हुने, (च) हृदयरोगको रोकथाम, निदान र उपचार तथा हृदयरोगीको पुनस्र्थापन सम्बन्धी कार्यको स्तर अभिवृद्धि गर्नको लागि स्वदेशी तथा विदेशी, सरकारी तथा गैर सरकारी संस्थाहरूसंग सम्पर्क एवं समन्वय कायम राखी सो सम्बन्धमा राष्ट्रिय नीति, योजना तथा कार्यक्रम तयार गरी नेपाल सरकारमा पेश गर्ने, (छ) हृदयरोगको रोकथाम, निदान र उपचार तथा हृदयरोगीको पुनस्र्थापन कार्यमा संलग्न निकायलाई प्राविधिक सहयोग प्रदान गर्ने, (ज) हृदयरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनस्र्थापन कार्यमा छात्रवृत्ति, पदक र पुरस्कार प्रदान गर्ने, (झ) केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवा, परामर्श सेवा, अनुसन्धान सेवा, प्रयोगशाला सेवा लगायतका विभिन्न सेवा बापतको शुल्क तोक्ने र प्राप्त गर्ने,
(ञ) केन्द्रको सञ्चालनको लागि नेपाल सरकार वा विदेशी सरकार वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय वा व्यक्तिबाट केन्द्रलाई आवश्यक पर्ने जिन्सी, वित्तीय, प्राविधिक तथा अन्य सहयोग प्राप्त गरी परिचालन गर्ने, (ट) हृदयरोग सम्बन्धी स्वदेशी तथा विदेशी, सरकारी तथा गैर सरकारी संस्थाहरुसँग सम्बन्ध स्थापना, विस्तार र सुदृढ गरी पारस्परिक सहयोग आदान प्रदान गर्ने, (ठ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा हृदयरोग सम्बन्धी विशेषज्ञ सेवाको आदान प्रदान गर्ने, (ड) आवश्यकता अनुसार हृदयरोग सम्बन्धी घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने, (ढ) हृदयरोग विरुद्ध तथा हृदयरोग सम्बन्धी स्वास्थ्य सेवाको उपयोगिता र उपादेयता बारे सूचना प्रवाह गर्ने, हृदयरोग सम्बन्धी स्वास्थ्य सेवा बारे विभिन्न सामग्रीहरु प्रकाशन गर्ने वा गराउने तथा जनचेतना जागृत गर्ने वा गराउने, (ण) हृदयरोग सम्बन्धी स्वास्थ्य सेवामा सूचना प्रवाह र अनुसन्धान, प्रबन्धका लागि तोकिएको जिल्लाहरुमा नमूना सूचना एवं अनुसन्धान क्षेत्रको विकास गर्ने, (त) केन्द्रको लागि आवश्यक वैज्ञानिक उपकरण, प्रयोगशाला, पुस्तकालय लगायत अन्य सुविधाको विकास, विस्तार तथा विविधीकरण गर्ने, (थ) केन्द्रद्वारा सञ्चालित योजना तथा कार्यक्रमको आवधिक रूपमा पुनरावलोकन तथा मूल्याङ्कन गर्ने, (द) केन्द्रले गरेका नीतिगत निर्णय र सोको कार्यान्वयनको सम्बन्धमा भएको प्रगतिमा आवधिक रूपमा नेपाल सरकारलाई जानकारी गराउने, (ध) केन्द्रको वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्ने, (न) केन्द्रको उद्देश्य पूरा गर्न अन्य आवश्यक कामहरु गर्ने, गराउने ।
७. केन्द्र सञ्चालक समिति : (१) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम केन्द्रलाई प्राप्त भएको सम्पूर्ण काम, कर्तव्य तथा अधिकारको प्रयोग गरी केन्द्रको सञ्चालन, रेखदेख र व्यवस्थापनको लागि देहाय बमोजिमको एक सञ्चालक समिति गठन हुनेछ :– (क) ¤स्वास्थ्य तथा जनसंख्या मन्त्री वा राज्यमन्त्री –अध्यक्ष (ख) $\times$............. (ग) सदस्य, राष्ट्रिय योजना आयोग (स्वास्थ्य क्षेत्र हेर्ने) –सदस्य
¤ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको ।
(घ) सचिव, अर्थ मन्त्रालय वा निजले तोकेको अर्थ मन्त्रालयको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत —सदस्य
(ङ) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा निजले तोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत —सदस्य
(च) हृदयरोग सम्बन्धी विशेषज्ञ चिकित्सकमध्येबाट नेपाल सरकारबाट मनोनीत तीनजना —सदस्य यस खण्ड बमोजिम सदस्य मनोनयन गर्दा केन्द्रमा कार्यरत विशेषज्ञ चिकित्सकमध्येबाट दुई जना मनोनयन गरिनेछ ।
(छ) लब्ध प्रतिष्ठित महिला समाजसेवीमध्येबाट एकजना —सदस्य
(ज) चन्दादाताहरुमध्येबाट सञ्चालक समितिको सिफारिसमा नेपाल सरकारबाट मनोनीत एकजना —सदस्य
(झ) विभिन्न चिकित्साशास्त्र अध्ययन संस्थानका प्रमुखहरुमध्येबाट नेपाल सरकारबाट मनोनीत एकजना —सदस्य
(ञ) हृदयरोग निवारणको क्षेत्रमा राष्ट्रिय स्तरमा कार्यरत प्रतिष्ठित गैर सरकारी संस्थाका प्रमुखहरुमध्येबाट नेपाल सरकारबाट मनोनीत एकजना —सदस्य
(ट) कार्यकारी निर्देशक —सदस्य-सचिव
(२) उपदफा (१) को खण्ड (च), (छ), (ज), (झ) र (ञ) बमोजिमका सदस्यहरुको पदावधि चार वर्षको हुनेछ र निजहरु पुनः मनोनीत हुन सक्नेछन् ।
(३) समितिले आवश्यक देखेमा कुनै विशेषज्ञलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा आमन्त्रण गर्न सक्नेछ ।
(४) समितिको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
$\otimes$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
८. सदस्यता कायम नरहने : (१) समितिका मनोनीत सदस्यहरु देहायको कुनै अवस्थामा आफ्नो पदमा बहाल रहने छैनन् :– (क) पदावधि समाप्त भएमा, (ख) नेपाल सरकार समक्ष राजीनामा दिएमा, (ग) मृत्यु भएमा, (घ) कुनै सूचना नदिई लगातार तीनपटकसम्म समितिको बैठकमा अनुपस्थित रहेमा । (२) उपदफा (१) बमोजिम कुनै सदस्यको पद रिक्त भएमा बाँकी अवधिको निमित्त यथाशीघ्र अर्को सदस्य मनोनयन गर्नुपर्नेछ ।
९. काम कारबाही बदर नहुने : समितिको गठनमा कुनै त्रुटि भई वा कुनै सदस्यको स्थान रिक्त भई समितिको कुनै काम कारबाही भएको भए तापनि सोही कारणले मात्र त्यस्तो काम कारबाही बदर हुने छैन ।
१०. अध्यक्षको काम, कर्तव्य र अधिकार : अध्यक्षको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
११. कार्यकारी निर्देशक, सल्लाहकार तथा अन्य कर्मचारी : (१) केन्द्रको प्रशासकीय प्रमुखको रूपमा दैनिक प्रशासन सञ्चालन गर्नको लागि हृदयरोग विशेषज्ञमध्येबाट नेपाल सरकारले एक कार्यकारी निर्देशक नियुक्त गर्नेछ । (२) उपदफा (१) बमोजिम नियुक्त कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ र निज पुनः नियुक्त हुन सक्नेछ । (३) कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ । (४) केन्द्रले आवश्यकता अनुसार प्राविधिक तथा प्रशासनिक सल्लाहकार र कर्मचारीहरु नियुक्त गर्न सक्नेछ ।
१२. पारिश्रमिक, सेवाको शर्त र सुविधा : (१) कार्यकारी निर्देशक र केन्द्रको सल्लाहकार तथा कर्मचारीहरुको पारिश्रमिक, सेवाको शर्त र सुविधा तोकिए बमोजिम हुनेछ । (२) सदस्यले समितिको बैठकमा भाग लिए बापत तोकिए बमोजिमको भत्ता पाउनेछ।
१३. केन्द्रको कोष : (१) केन्द्रको एउटा कोष हुनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन्:- (क) नेपाल सरकारबाट प्राप्त अनुदान रकम,
(ख) कुनै विदेशी संस्था, सरकार वा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त रकम, (ग) केन्द्रले प्रदान गरेको विभिन्न सेवाबाट प्राप्त रकम, (घ) विभिन्न व्यक्तिहरूबाट प्राप्त अनुदानको रकम, (ङ) अन्य स्रोतबाट प्राप्त रकम । (२) केन्द्रको खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ । (३) नेपाल सरकार, विदेशी सरकार वा अन्तर्राष्ट्रिय सङ्घ, संस्था वा व्यक्तिबाट जुन कार्यक्रम वा कार्यको निमित्त केन्द्रलाई रकम प्राप्त भएको छ, सो रकम सोही कार्यक्रम वा कार्यमा खर्च गर्नु पर्नेछ । (४) केन्द्रको कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
१४. लेखा र लेखापरीक्षण : (१) केन्द्रको आय–व्ययको लेखा तोकिएबमोजिम राखिनेछ । (२) केन्द्रको आय–व्ययको लेखापरीक्षण महालेखा परीक्षकको विभाग वा सो विभागले तोकेको लेखा परीक्षकबाट हुनेछ ।
१५. प्राविधिक समिति गठन गर्न सक्ने : (१) केन्द्रलाई आवश्यक पर्ने प्राविधिक सेवा तथा सहयोग उपलब्ध गराउन समितिले आवश्यकता अनुसार प्राविधिक समिति गठन गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम गठित प्राविधिक समितिको काम, कर्तव्य र अधिकार तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।
१६. उपसमिति वा कार्यटोली गठन गर्न सक्ने : (१) समितिले आफ्नो कार्यक्रम सञ्चालन गर्न आवश्यकता अनुसार उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम गठित उपसमिति वा कार्यटोलीको काम, कर्तव्य र अधिकार तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।
१७. अधिकार प्रत्यायोजन : समितिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकता अनुसार समितिको कुनै सदस्य वा अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।
१८. वार्षिक प्रतिवेदन : समितिले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र वार्षिक प्रगति विवरण तयार गरी नेपाल सरकारसमक्ष पेश गर्नु पर्नेछ।
१९. निर्देशन दिन सक्ने : नेपाल सरकारले यो ऐनको उद्देश्य कार्यान्वयन गर्न आवश्यक देखेका नीतिगत कुराका सम्बन्धमा केन्द्रलाई निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु केन्द्रको कर्तव्य हुनेछ ।
२०. नेपाल सरकारसँग सम्पर्क : हृदयरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनस्र्थापन सम्बन्धी नीतिगत विषयमा केन्द्रले नेपाल सरकारसँग सम्पर्क राख्नु पर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत राख्नु पर्नेछ र अन्य विषयमा नेपाल सरकारको जुनसुकै मन्त्रालय वा सो मन्त्रालय अन्तर्गतका निकायसँग सोझै सम्पर्क राख्न सक्नेछ ।
२१. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्न समितिले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
२२. खारेजी र बचाउ : (१) शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र विकास समिति (गठन) आदेश, २०५५ खारेज गरिएको छ । (२) उपदफा (१) बमोजिमको गठन आदेश अन्तर्गत गठित समितिको नाममा रहेको हक, दायित्व, चल अचल सम्पत्ति यस ऐन बमोजिम स्थापना भएको केन्द्रमा सर्नेछ र उक्त समितिबाट भए गरेका काम कारबाहीहरु यसै केन्द्रबाट भए गरेको मानिनेछ ।
$\otimes$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित । दृष्टव्य:- केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तरण भएका शब्दहरु - "श्री ५ को सरकार" को सट्टा "नेपाल सरकार" ।