राष्ट्रिय समाचार समिति नियमावली, २०४१ नेपाल राजपत्रमा प्रकाशित मिति २०४१।०९।०३
संशोधन १. राष्ट्रिय समाचार समिति (पहिलो संशोधन) नियमावली, २०४३ २०४३।०७।०३ २. राष्ट्रिय समाचार समिति (दोस्रो संशोधन) नियमावली, २०४६ २०४६।०२।०९ ३. राष्ट्रिय समाचार समिति (तेस्रो संशोधन) नियमावली, २०४९ २०४९।१०।१२ ४. राष्ट्रिय समाचार समिति (चौथो संशोधन) नियमावली, २०५६ २०५६।०५।२८ ५. राष्ट्रिय समाचार समिति (पाँचौ संशोधन) नियमावली, २०५९ २०५९।११।१९
राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद - १ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “राष्ट्रिय समाचार समिति नियमावली, २०४१” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले राष्ट्रिय समाचार समिति ऐन, २०१९ सम्झनु पर्छ। (ख) “कर्मचारी” भन्नाले समितिको स्थायी वा अस्थायी कर्मचारी सम्झनु पर्छ। (ग) “अख्तियारवाला” भन्नाले कर्मचारी नियुक्ति गर्न अधिकार प्राप्त अधिकारी सम्झनु पर्छ। (घ) “परिवार” भन्नाले समितिका कर्मचारी आफैँसँग बस्ने तथा आफैँले पालन पोषण गर्नु पर्ने पत्नी, पति, छोरा, अविवाहित वा विवाहित छोरी वा धर्मपुत्र वा अविवाहित वा विवाहित धर्मपुत्री सम्झनु पर्छ र सो शब्दले आफैँले पालन पोषण गर्नु पर्ने आफ्नै बाबु आमा वा सौतेनी आमालाई समेत जनाउँछ।
परिच्छेद-२ शेयरसम्बन्धी व्यवस्था
३. शेयर : कर्मचारी र सर्वसाधारणलाई समितिको शेयर बिक्री गर्ने, बिक्री गरेको शेयरको प्रमाण-पत्र दिने, शेयर नामसारी गर्ने र शेयरको लाभांश बाँड्ने सम्बन्धमा विनियमामा व्यवस्था भए बमोजिम हुनेछ।
परिच्छेद-३ सञ्चालकको पारिश्रमिक र भत्ता
४. सञ्चालकको पारिश्रमिक र भत्ता : (१) प्रत्येक सञ्चालकले बैठकमा उपस्थित भै भाग लिएबापत पाउने पारिश्रमिक विनियमामा व्यवस्था भए बमोजिम हुनेछ। (२) काठमाडौं उपत्यकाबाहिर तत्काल बसोबास गर्ने व्यक्ति सञ्चालकमा नियुक्ति भएमा सो सञ्चालकले बोर्डको बैठकमा भाग लिंदा वा समितिको काममा आउँदा जाँदा विनियमामा व्यवस्था भए बमोजिम दैनिक भत्ता तथा भ्रमण भत्ता पाउनेछ।
परिच्छेद-४ बोर्डको बैठक र बैठकको कार्यविधि
५. बोर्डको बैठक : बोर्डको बैठक बोर्डको अध्यक्षले तोकेको समय र स्थानमा बस्नेछ र यस्तो बैठक वर्षको ६ पटक भन्दा कम हुने छैन।
६. बैठकको कार्यविधि : (१) बोर्डको बैठक हुने लिखित सूचना र बैठकमा छलफल हुने कार्यसूची बैठक हुने अठचालीस घण्टा अगावै प्रत्येक सञ्चालकलाई दिनु पर्नेछ। (२) बैठक बस्दा बोर्डले कार्यसूचीमा परेका विषयमा मात्र छलफल गर्नेछ। (३) कुनै सञ्चालकले कार्यसूची बाहिरको विषयमा छलफल गर्ने आग्रह गरेमा उपस्थित सबै सञ्चालकहरूको सम्मति भएमा छलफल गर्न सकिनेछ।
७. निर्णय पुस्तिका राख्ने : समितिले बोर्डको निर्णय र साधारण सभाको निर्णयलाई छुट्टाछुट्टै निर्णय पुस्तिकामा लिखित रूपमा जनाई राख्नु पर्नेछ।
परिच्छेद-५ कर्मचारीको नियुक्ति, सेवाको शर्त र पारिश्रमिक
८. .......................... $\text{^}$
९. पारिश्रमिक र सेवाका अन्य शर्त : (१) कर्मचारीको पारिश्रमिक र यस नियमावलीमा लेखिएदेखि बाहेक सेवाका अन्य शर्तहरू विनियमामा व्यवस्था भए बमोजिम हुनेछ। (२) कुनै कर्मचारीले काम गरी पकाएको पारिश्रमिक निज जुनसुकै व्यहोराबाट समितिको नोकरीबाट अलग भए पनि निजले पाउनेछ।
$\text{^}$ चौथो संशोधनद्वारा खारेज।
तर समितिको रकम असूल उपर गरी मिलु पर्ने रहेछ भने निजले पाउने रकममा सो कटाई बाँकी रहेको रकम मात्र निजलाई दिइनेछ।
१०. टाइम स्केल : टाइम स्केल अनुसार पारिश्रमिक पाउने पदमा नयाँ नियुक्ति हुने वा नियुक्ति भएको कर्मचारीले टाइम स्केलको न्यूनतम पारिश्रमिक पाउनेछ।
११. ग्रेड वृद्धि : नयाँ भर्ना वा बढुवा भएको कर्मचारीले भर्ना वा बढुवा भएको एक आर्थिक वर्षको अवधि पूरा गरी सकेपछि ग्रेड पाउनेछ।
१२. एफिसेन्सी वारपार गर्ने : कुनै कर्मचारीको एफिसेन्सी वारपार गर्नको निमित्त चाहिने योग्यता, निपुणता, अनुभव र सेवाको यथार्थ विवरण अख्तियारवाला सम्बन्धित शाखा प्रमुखले लिखित रूपमा प्रस्तुत गर्नु पर्नेछ। तर महाप्रबन्धकको सिफारिस नभई अधिकृत नभएको कर्मचारीले एफिसेन्सी वारपार गरेको मानिने छैन।
१२क. समितिको सेवामा पुनः कायम भएपछि पूरा तलब भत्ता पाउने : कुनै कर्मचारीलाई समितिको सेवाबाट हटाउन वा बर्खास्त गर्न दिइएको आदेश कुनै अदालत वा अधिकारीको निर्णयले रद्द भई सो कर्मचारी समितिको सेवामा पुनः कायम भएमा सेवाबाट हटाइएको वा बर्खास्त गरिएको मितिदेखि पुनः कायम भएको मितिसम्मको पूरा तलब भत्ता र तलब वृद्धि पाउने भए तलब वृद्धि समेत निजले पाउनेछ।
१२ख. निलम्बन भएमा पाउने तलब भत्ता : कुनै कर्मचारी समितिको कामको सिलसिलामा भएको कारबाहीको फलस्वरूप निलम्बन भएमा सो निलम्बनको अवधिभर निजले आफ्नो तलब भत्ताको आधा मात्र पाउनेछ। तर लागेको आरोप प्रमाणित नभई निजले सफाई पाएमा निलम्बन रहेको अवधिमा आधा तलब भत्ता पाएको भए सो कट्टी गरी र नपाएको भए पूरै तलब भत्ता र तलब वृद्धि पाउने भए सो समेत पाउनेछ। कसुरदार ठहरिएमा निलम्बन भएको मितिदेखिको बाँकी तलब भत्ता पाउने छैन।
परिच्छेद-६ बिदा सम्बन्धी व्यवस्था
१३. स्वीकृति नलिई बिदा बस्न नहुने : (१) बिदाको स्वीकृति नलिई कुनै पनि कर्मचारीले कार्यालयमा अनुपस्थित हुन हुँदैन।
१४. बिदा नलिई गयल हुने कर्मचारी उपर कारबाही गर्ने : बिदा स्वीकृत नगराई वा बिदा अस्वीकृत भएपछि कुनै कर्मचारी कार्यालयमा अनुपस्थित भएमा सो कर्मचारीलाई गयल गरी तलब कट्टा वा अन्य सजाय गराइ सकिनेछ। १५. बिदा अधिकारको कुरा होइन : बिदा अधिकारको कुरा होइन, सहुलियत मात्र हो। १६. स्वीकृति बेगर काम गर्न नहुने : बिदा बसेका कर्मचारीले बिदा बाँकी छदै बिदा दिने अधिकारीको स्वीकृति नलिई कार्यालयमा हाजिर भई काम गर्नु हुँदैन। १७. स्वीकृति बेगर इलाका छाड्न नहुने : बिदा बसेको बखत कर्मचारीले आफूले काम गरेको इलाका छाड्न परेमा सोको पनि पूर्व स्वीकृति लिनु पर्नेछ। १८. बिदा दिने अधिकारी : (१) देहायका पदका कर्मचारीलाई देहायका अधिकारीले बिदा दिन सक्नेछ :- (क) समितिको अधिकृत स्तरिय र सहायक स्तरिय कर्मचारीहरूको बिदाको स्वीकृति महाप्रबन्धकले। (ख) महाप्रबन्धकको बिदाको स्वीकृति बोर्डको अध्यक्षले। (ग) कार्यकारी अध्यक्ष भएमा सो अध्यक्षको बिदाको स्वीकृति नेपाल सरकार, सञ्चार मन्त्रालयले। (२) महाप्रबन्धकले भैपरी आउने बिदा आफैं जनाई लिन सक्नेछ। (३) महाप्रबन्धकले बिदा स्वीकृति गर्ने अधिकार आफूभन्दा मुनिका कुनै अधिकारीलाई सुम्पिन सक्नेछ। १९. बिदाको किसिम र बिदा स्वीकृत गर्ने तरिका : कर्मचारीले पाउने बिदाको किसिम र बिदा स्वीकृति गर्ने तरिका विनियममा व्यवस्था भए बमोजिम हुनेछ।
परिच्छेद-७ $\text{---}$ परिच्छेद-८ आचरण २७. हाजिरी : कर्मचारीले कार्यालयमा रुजु हाजिर भई प्रत्येक दिन साधारणतया सात घण्टा काम गर्नु पर्नेछ।
$\text{---}$ दोस्रो संशोधनद्वारा खारेज।
२८. समय पालन र नियमितता : कर्मचारीले समितिबाट निर्धारित समयमा नियमित रूपले आफ्नो कार्यालयमा हाजिर हुनु पर्दछ र पहिले बिदाको निकासा लिई कार्यालयमा अनुपस्थित हुनु हुँदैन।
२९. अन्यत्र काम गर्न नहुने : समितिको काममा हानी नोक्सानी हुने गरी कुनै पनि कर्मचारीले अन्यत्र कुनै काम गर्न हुँदैन।
३०. व्यापार व्यवसाय, इत्यादि : (१) कर्मचारीले समितिको स्वीकृति बेगर कुनै व्यापार व्यवसाय गर्न, फर्मको हिस्सेदार हुन वा अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न हुँदैन। तर सहायक चौथो तह वा सो सरह र सो भन्दा मुनिका कर्मचारीहरूको हकमा यो बन्देज लागू हुने छैन। (२) समितिको स्थायी कर्मचारीले पत्र-पत्रिका सञ्चालन गर्न वा पत्र-पत्रिका वा विदेशी समाचार समितिको प्रतिनिधि भई काम गर्न हुँदैन। (३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारीले साहित्यिक, ऐतिहासिक, वैज्ञानिक वा कलात्मक ढङ्गको कार्य गर्न सक्नेछ।
३१. आचरण सम्बन्धी अन्य व्यवस्था : समितिका कर्मचारीले लोक सेवा आयोगद्वारा स्वीकृत सामान्य सिद्धान्तमा उल्लेख भएको अन्य आचरण सम्बन्धी सिद्धान्तलाई पनि पालन गर्नु पर्नेछ।
परिच्छेद-९ अवकाश, उपदान र सञ्चयकोष
३२. अनिवार्य अवकाश : (१) कुनै कर्मचारीको उमेर ५८ वर्ष पूरा भएपछि निजलाई समितिको नोकरीबाट अवकाश दिइनेछ। स्पष्टीकरण : यस नियमको प्रयोजनको निमित्त कर्मचारीको उमेर देहाय बमोजिम हिसाब गरिनेछः- (क) नोकरीमा प्रवेश गरेको बेलामा निजले पेश गरेको शैक्षिक संस्थाको प्रमाणपत्रमा अंकित भएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर, (ख) त्यस्तो रेकर्ड नभएमा निजले नोकरीमा प्रवेश गरेको बेलामा व्यक्तिगत विवरणमा लेखिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर।
(२) बीस वर्ष वा सो भन्दा बढी सेवा अवधि पुगेका कुनै कर्मचारीलाई समितिले चाहेमा नोकरीबाट अवकाश दिन सक्नेछ।
३३. ☒ ...........................
३४. अवकाश सुहिलियत : कुनै कर्मचारी बहाल रहेको पद समितिलाई आवश्यक नभएको कारणले खारेज गर्नु परेमा समितिले त्यस्तो पदमा काम गरेका कर्मचारीलाई एक महिनाको थप तलब दिई अवकाश दिन सक्नेछ।
३५. उपदान : पाँच वर्ष वा सो भन्दा बढी सेवा गर्ने कर्मचारीले समितिको सेवा छाड्दा पाउने उपदान सम्बन्धी व्यवस्था विनियमावलीमा तोके बमोजिम हुनेछ।
३६. कर्मचारी सञ्चय कोष : समितिले स्थायी कर्मचारीको मासिक पारिश्रमिकबाट दश प्रतिशत सञ्चय कोष कट्टा गरी त्यसमा समितिको तर्फबाट शतप्रतिशत रकम थप समेत गरी कर्मचारी सञ्चयकोषमा जम्मा गरी दिनेछ।
परिरिच्छेद-१० विविध
३७. कल्याणकारी बीमा : कुनै कर्मचारीको नोकरी अवधिमा मृत्यु भएमा अधिकृत स्तरका कर्मचारीलाई बीस हजार रूपैयाँ, सहायक स्तरको कर्मचारीलाई बाह्र हजार रूपैयाँ र पियन वा सो सरहलाई दस हजार रूपैयाँ कल्याणकारी बीमा स्वरूप एकमुष्ट निजले इच्छाएको व्यक्तिलाई दिइनेछ। तर कुनै कर्मचारीको बहाल ड्युटी सकेपछि मृत्यु भएमा त्यस्तो रकम दिइने छैन।
३८. कर्मचारीको सबै समय समितिको अधीन हुने : (१) यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक कर्मचारीको सबै समय समितिको अधीन हुनेछ र जुनसुकै समयमा पनि निजलाई समितिको काममा लगाउन सकिनेछ। (२) कर्मचारीले समितिबाट निर्धारित समयमा समितिको कार्यालयमा हाजिर हुनु पर्छ र कार्यालय प्रमुखले मनासिब ठानेमा तोकिएको समयभन्दा १५ मिनेट समय ढिला गरी आएमा पनि महिनाको तीन पटक सम्म हाजिर गर्न दिन सक्नेछ।
☒ तेस्रो संशोधनद्वारा खारेज।
३९. राजीनामा : कुनै कर्मचारीले समितिको सेवाबाट राजीनामा गर्न चाहेमा समितिमा आफ्नो राजीनामा आफूले सेवाबाट अलग हुन चाहेको मितिभन्दा कम-से-कम १५ दिन अगाडि नै पेश गर्नु पर्नेछ। सो राजीनामा अख्तियारवालाबाट स्वीकृत भएपछि लागू हुनेछ।
४०. कार्यालय निरीक्षण गर्नु पर्ने : महाप्रबन्धकले प्रत्येक आर्थिक वर्षमा घटीमा दुई पटक आफ्नो अन्तर्गतको कार्यालयको आफैले वा अन्य कुनै अधिकृतद्वारा निरीक्षण गर्नु गराउनु पर्छ। (२) उपनियम (१) बमोजिम कार्यालयको निरीक्षण गर्दा जिन्सी माल सामानहरूको समेत निरीक्षण गर्नु गराउनु पर्नेछ।
४१. खारेजी : राष्ट्रिय समाचार समिति नियमावली, २०२१ खारेज गरिएको छ।
द्रष्टव्य :- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरू:- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।