नेपाल फार्मेसी परिषद् ऐन, २०५७
लालमोहर र प्रकाशन मिति २०५७।१०।१८
संशोधन गर्ने ऐन प्रमाणीकरण र प्रकाशन मिति १. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ $\text{*} $ २०६६।१०।७ २. केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ $\text{†}$ २०७४।६।३० ३. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
२०५७ सालको ऐन नं. १४ $\text{⚔}$ ............ नेपाल फार्मेसी परिषद्को व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : फार्मेसी व्यवसायलाई व्यवस्थित तथा वैज्ञानिक ढङ्गले सञ्चालन गरी प्रभावकारी बनाउन नेपाल फार्मेसी परिषद्को व्यवस्था गर्न वांछनीय भएकोले, श्री ५ महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको उनन्तीसौँ वर्षमा संसदले यो ऐन बनाएको छ ।
परिच्छेद–१ प्राारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “नेपाल फार्मेसी परिषद् ऐन, २०५७” रहेको छ। (२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ । $\text{✦}$
$\text{*}$ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । $\text{†}$ यो ऐन संवत् २०७५ साल भदौ १५ गतेदेखि प्रारम्भ हुने । $\text{⚔}$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा स्वीकृत भएको । $\text{✦}$ यो ऐन मिति २०५८।६।८ देखि प्रारम्भ हुने गरी नेपाल सरकार राजपत्रमा सूचना प्रकाशित भएको ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “परिषद्” भन्नाले दफा ३ बमोजिम स्थापित नेपाल फार्मेसी परिषद् सम्झनु पर्छ । (ख) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ । (ग) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले परिषद्को अध्यक्ष समेतलाई जनाउँछ । (घ) “औषधी” भन्नाले औषधी ऐन, २०३५ बमोजिमको औषधी सम्झनु पर्छ । (ङ) “फार्मासिस्ट” भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मेसी विषयमा कम्तीमा स्नातकपात्र वा सो सरहको योग्यता प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ । (च) “फार्मेसी सहायक” भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मेसी विषयमा कम्तीमा प्रमाणपत्र वा सो सरहको योग्यता प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ । (छ) “फार्मेसी व्यवसाय” भन्नाले औषधी उत्पादन, गुणस्तर कायम, औषधी कारखानाको निरीक्षण तथा सिफारिस, उत्पादित औषधीको भण्डारण तथा आपूर्ति गर्ने प्रविधिको छनौट, आपूर्तिको सुपरिवेक्षण, औषधीको वितरण तथा औषधी सेवन गर्न उपयोगी, गुणस्तरयुक्त, असरयुक्त र सुरक्षित छ भनी प्रमाणित गर्ने व्यवसाय सम्झनु पर्छ र सो शब्दले हस्पिटल फार्मेसी समेतलाई जनाउँछ । (ज) “दर्तावाला फार्मासिस्ट” भन्नाले दर्ता किताबमा नाम दर्ता भएको फार्मासिस्ट सम्झनु पर्छ । (झ) “दर्तावाला फार्मेसी सहायक” भन्नाले दर्ता किताबमा नाम दर्ता भएको फार्मेसी सहायक सम्झनु पर्छ । (ञ) “दर्ता किताब” भन्नाले दफा १५ बमोजिम तयार गरिएको दर्ता किताब सम्झनु पर्छ । (ट) “रजिस्ट्रार” भन्नाले दफा २६ बमोजिम नियुक्त गरिएको वा तोकिएको व्यक्ति सम्झनु पर्छ । (ठ) “विषय समिति” भन्नाले दफा ३२ बमोजिम गठन भएको विषय समिति सम्झनु पर्छ ।
(ड) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
परिच्छेद–२ परिषद्को स्थापना, गठन, काम, कर्तव्य र अधिकार
३. नेपाल फार्मेसी परिषद्को स्थापना : फार्मेसी व्यवसायलाई व्यवस्थित तथा वैज्ञानिक ढङ्गले सञ्चालन गरी प्रभावकारी बनाउन तथा फार्मासिस्ट र फार्मेसी सहायकको योग्यता अनुसारको नाम दर्ता गर्ने समेतको व्यवस्था गर्नको लागि नेपाल फार्मेसी परिषद्को स्थापना गरिएको छ।
४. परिषद् स्वायत्त संस्था हुने : (१) परिषद् अविच्छिन्न उत्तराधिकारवाला एक स्वायत्त र संगठित संस्था हुनेछ । (२) परिषद्को सबै काम कारबाहीको लागि आफ्नो छुट्टै छाप हुनेछ । (३) परिषद्ले व्यक्ति सह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ । (४) परिषद्ले व्यक्ति सह आफ्नो नामबाट नालिस उजुरी गर्न र परिषद् उपर पनि सोही नामबाट नालिस, उजुरी लाग्न सक्नेछ ।
५. परिषद्को गठन : (१) दफा ३ बमोजिम स्थापना भएको परिषद्मा देहाय बमोजिमका सदस्यहरु रहने छन् :– (क) फार्मेसी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा दश वर्ष फार्मेसी व्यवसायमा अनुभव प्राप्त गरेका फार्मासिस्टहरुमध्ये नेपाल सरकारबाट मनोनित फार्मासिस्ट — अध्यक्ष (ख) फार्मेसी विषय अध्यापन गराउने शिक्षण संस्थाका वरिष्ठ फार्मासिस्ट शिक्षकहरुमध्ये नेपाल सरकारबाट मनोनित फार्मासिस्ट एकजना — सदस्य (ग) अध्यक्ष, नेपाल फार्मास्युटिकल एशोसिएशन — सदस्य (घ) औषधी उत्पादन तथा बिक्री वितरण कार्यमा संलग्न ख्याति प्राप्त फार्मासिस्टहरुमध्ये नेपाल
सरकारबाट मनोनीत फार्मासिस्ट दुईजना — सदस्य (ङ) प्रचलित कानून बमोजिम दर्ता भएको फार्मासिस्टहरुको पेशागत संस्थाको प्रमुखमध्येबाट नेपाल सरकारबाट मनोनीत एकजना — सदस्य (च) परिषद्को सिफारिसमा नेपाल सरकारबाट मनोनीत एकजना महिला सहितको वरिष्ठ फार्मासिस्टहरु दुईजना — सदस्य (छ) औषधी ऐन, २०३५ बमोजिमको औषधी व्यवस्थापक — सदस्य (ज) रजिष्ट्रार — सचिव (२) परिषद्ले आवश्यक देखेमा फार्मेसी क्षेत्रका कुनै विशेषज्ञलाई परिषद्को बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
६. सदस्यको पदावधि : (१) परिषद्मा मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ । एक पदावधि समाप्त भएका सदस्यहरु यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरुको अधीनमा रही पुनः मनोनीत हुन सक्ने छन् । (२) पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा त्यसरी रिक्त हुन आएको पद दफा ५ को उपदफा (१) बमोजिमको प्रक्रियाद्वारा बाँकी अवधिको लागि पूर्ति गरिनेछ ।
७. सदस्यको निमित्त अयोग्यता : देहायका कुनै व्यक्ति परिषद्को पदमा मनोनीत हुन सक्ने छैन:- (क) गैर नेपाली नागरिक, (ख) दर्ता किताबबाट नाम हटाइएको, (ग) साहू को ऋण तिर्न नसकी दामासाहीमा परेको, (घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको, र (ङ) मगज बिग्रेको ।
८. सदस्यता समाप्त हुने अवस्था : देहायको अवस्थामा परिषद्को सदस्यता समाप्त भएको मानिनेछ :- (क) दफा ७ बमोजिम अयोग्य भएमा,
(ख) सदस्यले परिषद्को अध्यक्ष समक्ष र अध्यक्षले नेपाल सरकार समक्ष राजीनामा दिएमा, (ग) परिषद्लाई कारण सहितको सूचना नदिई लगातार तीनपटक परिषद्को बैठकमा अनुपस्थित भएमा, (घ) मृत्यु भएमा, र (ङ) नेपाल सरकारबाट मनोनीत सदस्यलाई नेपाल सरकारले पदावधि पूरा नहुँदै हटाएमा ।
९. परिषद्को काम, कर्तव्य र अधिकार : परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) फार्मेसी व्यवसायलाई व्यवस्थित तथा वैज्ञानिक ढङ्गबाट सञ्चालन गर्नको लागि आवश्यक नीति, योजना तथा कार्यक्रमहरु तयार गरी त्यसको कार्यान्वयन गर्ने । (ख) फार्मेसी व्यवसाय अध्ययन गराउने शिक्षण संस्था र त्यस्ता संस्थाले प्रदान गरेका प्रमाणपत्र तथा उपाधिलाई मान्यता प्रदान गर्ने । (ग) फार्मेसी व्यवसाय अध्ययन गराउने शिक्षण संस्थाको पाठ्यक्रम, भर्नाको शर्त तथा परीक्षा प्रणाली सम्बन्धी स्तर निर्धारण गर्न र निर्धारित स्तर कार्य गरे वा नगरेका सम्बन्धमा आवश्यक विवरण माग गरी गुणस्तर कार्य नगर्ने शिक्षण संस्थाले प्रदान गरेको प्रमाणपत्र तथा उपाधि तोकिए बमोजिमको प्रक्रिया पूरा गरी मान्यता विना लिने । (घ) फार्मेसी व्यवसाय गर्नको लागि आवश्यक योग्यता निर्धारण गर्ने र निर्धारित योग्यता पूरा गरेका फर्मासिस्ट तथा फार्मेसी सहायकको नाम परिषद्को दर्ता किताबमा तोकिए बमोजिम दर्ता गर्ने । (ङ) दर्तावाला फर्मासिस्ट तथा फार्मेसी सहायकले तोकिए बमोजिमको व्यवसायिक आचार संहिताको उल्लङ्घन गरेमा वा पालना नगरेमा तोकिए बमोजिमको कार्यविधि पूरा गरी त्यस्ता फर्मासिस्ट तथा फार्मेसी सहायकको नाम दर्ता किताबबाट हटाउने ।
१०. परिषद्को बैठक र निर्णय : (१) परिषद्को बैठक साधारणतया तीन महिनामा एकपटक बस्नेछ र अध्यक्षले आवश्यक देखेमा सोभन्दा बढी पटक पनि बैठक बोलाउन सक्नेछ ।
(२) परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । (३) परिषद्को कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ । (४) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरुले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ । (५) परिषद्को बैठकमा बहुमतको मत मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायकत्मक मत दिनेछ । (६) परिषद्को बैठकमा छलफल भएको विषय र सो सम्बन्धमा भएको निर्णय सचिवले निर्णय पुस्तिकामा अभिलिख गरी बैठकमा उपस्थित सदस्यहरुको दस्तखत गराउनु पर्नेछ । (७) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ।
परिच्छेद–३ नाम दर्ता सम्बन्धी व्यवस्था
११. नाम दर्ता नगरी फार्मेसी व्यवसाय गर्न नहुने : यो ऐन प्रारम्भ भएको मितिले एक वर्षपछि परिषद्मा नाम दर्ता नभएको कुनै पनि व्यक्तिले फार्मेसी व्यवसाय गर्न हुँदैन । १२. नाम दर्ताका लागि दरखास्त दिनु पर्ने : (१) परिषद्मा नाम दर्ता गराउन चाहने फार्मासिस्ट वा फार्मेसी सहायकले तोकिए बमोजिमको ढाँचामा परिषद्मा दरखास्त दिनु पर्नेछ । (२) यो ऐन प्रारम्भ हुँदाको बखत फार्मेसी व्यवसाय गरिरहेका फार्मासिस्ट तथा फार्मेसी सहायकले यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र परिषद्मा नाम दर्ता गराउनको लागि उपदफा (१) बमोजिम दरखास्त दिनु पर्नेछ । (३) उपदफा (१) वा (२) बमोजिम नाम दर्ता गराउन दरखास्त दिने फार्मासिस्ट तथा फार्मेसी सहायकले दरखास्त साथ शिक्षण संस्थाबाट प्राप्त उपाधि, प्रमाणपत्र लगायतका अन्य कागजात तथा तोकिए बमोजिमको दस्तुर संलग्न गर्नु पर्नेछ । १३. दरखास्त उपर जाँचबुझ : दफा १२ बमोजिम दर्ता हुन आएको दरखास्त उपर रजिष्ट्रारले आवश्यक जाँचबुझ गरी सम्बन्धित विषय समितिमा पेश गर्नु पर्नेछ ।
१४. दरखास्त उपर छानबिन तथा सिफारिस : (१) दफा १३ बमोजिम रजिष्ट्रािले पेश गरेको दरखास्त उपर विषय समितिले आवश्यक छानबिन गर्नेछ । (२) उपदफा (१) बमोजिम छानबिन गर्दा कुनै कुरा अस्पष्ट हुन आएमा तत्सम्बन्धी कुराहरु स्पष्ट पार्नको लागि सम्बन्धित दरखास्तवालासँग विषय समितिले आवश्यक प्रमाण तथा कागजात माग गर्न सक्नेछ । (३) उपदफा (२) बमोजिम माग भएका प्रमाण तथा कागजात विषय समिति समक्ष पेश गर्नु सम्बन्धित दरखास्तवालाको कर्तव्य हुनेछ । (४) उपदफा (१), (२) र (३) बमोजिम छानबिन गर्दा दरखास्तवालाको नाम परिषद्मा दर्ता गर्न योग्य देखिएमा विषय समितिले परिषद् समक्ष सिफारिस गर्नेछ ।
१५. नाम दर्ता गर्ने : दफा १४ बमोजिम विषय समितिले आवश्यक छानबिन गरी नाम दर्ताको लागि सिफारिस गरेको दरखास्तवालाको नाम परिषद्मा दर्ता गर्न उपयुक्त देखिएमा परिषद्ले त्यस्तो दरखास्तवालाको नाम तोकिए बमोजिमको ढाँचामा तयार गरिएको परिषद्को दर्ता किताबमा दर्ता गर्ने निर्णय गर्नेछ ।
१६. नाम दर्ता प्रमाणपत्र दिने : (१) दफा १५ बमोजिम परिषद्बाट नाम दर्ता गर्ने निर्णय भएका दरखास्तवालाको नाम रजिष्ट्रािले दर्ता किताबमा दर्ता गरी दरखास्तवालालाई तोकिए बमोजिमको ढाँचामा नाम दर्ता प्रमाणपत्र दिनेछ । (२) उपदफा (१) बमोजिम दर्ता किताब तयार गर्दा फार्मासिस्ट र फार्मेसी सहायकको लागि बेग्लाबेग्लै दर्ता किताब तयार गर्नु पर्नेछ ।
१७. नाम दर्ता नगर्ने निर्णय भएकोमा जानकारी दिने : परिषद्मा नाम दर्ताको लागि दरखास्त दिने कुनै दरखास्तवालाको नाम दर्ता गर्न नमिल्ने कुनै कारण देखी परिषद्ले नाम दर्ता नगर्ने निर्णय गरेकोमा रजिष्ट्रािले सम्बन्धित दरखास्तवालालाई सो कुराको जानकारी दिनु पर्नेछ ।
१८. दर्ता किताबबाट नाम हटाउने : (१) देहायको अवस्थामा बाहेक दर्तावाला फार्मासिस्ट तथा फार्मेसी सहायकको नाम दर्ता किताबबाट हटाइने छैन :– (क) मगज बिग्रेमा, (ख) साहू को ऋण तिर्न नसकी दामासाहीमा परेमा, (ग) तोकिए बमोजिमको व्यावसायिक आचरणको उल्लंघन गरेको अभियोगमा त्यस्तो फार्मासिस्ट तथा फार्मेसी सहायकको नाम दर्ता किताबबाट हटाउने भनी परिषद्को बैठकमा पेश भएको प्रस्ताव दुई तिहाई बहुमतबाट पारित भएमा,
(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित भएमा, (ङ) धोका वा गल्तीले अयोग्य व्यक्तिको नाम दर्ता हुन गएकोमा । (२) उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको आरोपमा कुनै दाबीवाला फर्मासिस्ट वा फार्मेसी सहायकको नाम दर्ता किताबबाट हटाउने प्रस्ताव परिषद्को बैठकमा पेश गर्नु अघि परिषद्ले त्यस्तो व्यक्तिलाई लागेको अभियोगको सम्बन्धमा आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेश गर्न एक जाँचबुझ समिति गठन गर्नेछ । (३) उपदफा (२) बमोजिम गठन भएको जाँचबुझ समितिले जाँचबुझ गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
१९. प्रमाणपत्र रद्द गर्ने : दफा १८ बमोजिम परिषद्ले कुनै फर्मासिस्ट तथा फार्मेसी सहायकको नाम दर्ता किताबबाट हटाउने गरी निर्णय गरेकोमा रजिष्ट्रारले त्यस्तो व्यक्तिको नाम दर्ता किताबबाट हटाई दफा १६ बमोजिम दिइएको प्रमाणपत्र रद्द गरी सम्बन्धित व्यक्तिलाई सो कुराको जानकारी दिनु पर्नेछ ।
२०. पुनः नाम दर्ता गर्ने : (१) दफा १८ को उपदफा (१) को खण्ड (क), (ख) र (ग) बमोजिमको अभियोगमा कुनै दाबीवाला फर्मासिस्ट तथा फार्मेसी सहायकको नाम दर्ता किताबबाट हटाइएकोमा त्यसरी हटाइएको मितिबाट कम्तीमा एक वर्षपछि सम्बन्धित व्यक्तिले मनासिब माफिकको कारण खोली पुनः नाम दर्ताको लागि दफा १२ बमोजिम परिषद्मा दरखास्त दिन सक्नेछ । (२) उपदफा (१) बमोजिम पुनः नाम दर्ताको लागि दरखास्त दिएमा परिषद्ले त्यस्तो दरखास्तवालाको नाम पुनः दर्ता गर्न मनासिब देखेमा पुनः नाम दर्ता गर्ने निर्णय गर्न सक्नेछ। (३) उपदफा (२) बमोजिम परिषद्ले दरखास्तवालाको नाम पुनः दर्ता गर्ने निर्णय गरेकोमा रजिष्ट्रारले त्यस्तो दरखास्तवालाको नाम दर्ता किताबमा पुनः दर्ता गरी दरखास्तवालालाई तोकिए बमोजिमको ढाँचामा पुनः नाम दर्ता भएको प्रमाणपत्र दिनु पर्नेछ ।
परिच्छेद–४ शैक्षिक उपाधि तथा प्रमाणपत्रको मान्यता
२१. शैक्षिक उपाधि तथा प्रमाणपत्रको मान्यता : कुनै शिक्षण संस्थाले फार्मेसी व्यवसायसँग सम्बन्धित विषयमा प्रदान गरेको शैक्षिक उपाधि तथा प्रमाणपत्रलाई परिषद्ले मान्यता दिनेछ।
२२. विवरण माग गर्न सक्ने : (१) दफा २१ बमोजिम कुनै शैक्षिक उपाधि तथा प्रमाणपत्रको मान्यता दिने क्रममा परिषद्ले सम्बन्धित शिक्षण संस्थासँग त्यस्तो शैक्षिक उपाधि तथा प्रमाणपत्रको लागि निर्धारित पाठ्यक्रम तथा भर्नाको लागि निर्धारित शर्त तथा तत्सम्बन्धी अन्य विवरणहरु माग गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम परिषद्बाट माग भए बमोजिमको आवश्यक विवरण उपलब्ध गराउनु सम्बन्धित शिक्षण संस्थाको कर्तव्य हुनेछ ।
२३. परीक्षाको निरीक्षण : (१) दफा २१ बमोजिम कुनै शैक्षिक उपाधि तथा प्रमाणपत्रको मान्यता दिने प्रयोजनको लागि परिषद्द्वारा मान्यता प्रदान गरिएको कुनै शिक्षण संस्थाले सञ्चालन गर्ने गरेको परीक्षा प्रणालीको सम्बन्धमा परिषद्को पदाधिकारी वा परिषद्ले खटाई पठाएको अधिकारीले निरीक्षण गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम खटिएको निरीक्षकले निरीक्षण गर्ने क्रममा त्यस्तो शिक्षण संस्थाद्वारा सञ्चालित परीक्षामा कुनै किसिमको हस्तक्षेप गर्न पाउने छैन । (३) उपदफा (२) बमोजिम परीक्षाको निरीक्षण गर्ने निरीक्षकले परीक्षा प्रणालीको निरीक्षणको क्रममा आफूले देखेका कुराहरुको प्रतिवेदन तयार गरी परिषद्मा पेश गर्नुपर्नेछ।
२४. मान्यता हटाउने : (१) दफा २१ बमोजिम मान्यता प्रदान गरिएको कुनै शैक्षिक उपाधि तथा प्रमाणपत्रको सम्बन्धमा सम्बन्धित शिक्षण संस्थाबाट दफा २२ बमोजिम प्राप्त विवरण वा दफा २३ को उपदफा (३) बमोजिम प्राप्त प्रतिवेदन उपर विचार गर्दा त्यस्तो शिक्षण संस्थाले निर्धारित गरेको पाठ्यक्रम, भर्नाको शर्त तथा परीक्षा सञ्चालन प्रणाली उपयुक्त तथा पर्याप्त छैन भन्ने लागेमा परिषद्ले सो सम्बन्धमा आफ्नो प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नेछ ।
(२) उपदफा (१) बमोजिम परिषद्को प्रतिवेदन प्राप्त गरेपछि सो सम्बन्धमा नेपाल सरकारले सम्बन्धित संस्थासँग स्पष्टीकरण माग गर्न सक्नेछ । (३) उपदफा (२) बमोजिम सम्बन्धित शिक्षण संस्थासँग माग गरिए बमोजिम प्राप्त हुन आएको स्पष्टीकरणको सम्बन्धमा नेपाल सरकारले विचार गरी सो सम्बन्धमा अन्य कुनै कुरा जाँचबुझ गर्नु पर्ने भए आवश्यक जाँचबुझ गरी सो समेतको आधारमा नेपाल सरकारले त्यस्तो शिक्षण संस्थाले कुनै खास मिति पछि प्रदान गरेको कुनै शैक्षिक उपाधि तथा प्रमाणपत्रको मान्यता हटाउन परिषद्लाई आवश्यक निर्देशन दिन सक्नेछ । (४) उपदफा (३) बमोजिम नेपाल सरकारले दिएको निर्देशनको आधारमा परिषद्ले आवश्यक निर्णय गर्नेछ । (५) उपदफा (४) बमोजिम कुनै शैक्षिक उपाधि तथा प्रमाणपत्रको मान्यता हटाउने निर्णय भएकोमा त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
परिच्छेद–५ अध्यक्ष तथा रजिष्ट्रारको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था
२५. अध्यক্ষের काम, कर्तव्य र अधिकार : यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :– (क) परिषद्को बैठकमा छलफल गरिने विषयहरुको प्राथमिकता निर्धारण गर्ने, (ख) परिषद्द्वारा सञ्चालित योजना तथा कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने गराउने र तत्सम्बन्धमा आवश्यक निर्देशन दिने, (ग) परिषद्को काम कारबाही व्यवस्थापकीय, प्रभावकारी र सुचारु रुपबाट सञ्चालन गर्ने, (घ) उल्लेख बमोजिमको अन्य काम गर्ने ।
२६. रजिष्ट्रार : (१) परिषद्को दैनिक प्रशासकीय काम कारबाही सञ्चालनको लागि नेपाल सरकारले कुनै फर्मासिस्टलाई परिषद्को रजिष्ट्रारमा नियुक्त गर्न वा नेपाल सरकारको सेवामा बहाल रहेको कुनै फर्मासिस्टलाई परिषद्को रजिष्ट्रार भई काम गर्नको लागि तोक्न सक्नेछ । (२) यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य तथा अधिकारका अतिरिक्त रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) परिषद्को सामान्य प्रशासन र व्यवस्थापनको कार्य गर्ने ।
(ख) परिषद्को कोषको रेखदेख, नियन्त्रण, सम्पत्तिको व्यवस्था र स्याहार, सम्भारको व्यवस्था गर्ने, गराउने । (ग) परिषद्को वार्षिक कार्यक्रम तथा योजनातर्जुमा गरी परिषद्मा पेश गर्ने । (घ) परिषद्को वार्षिक आय–व्यय विवरण तयार गर्ने । (ङ) परिषद्बाट स्वीकृत बजेट योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने । (च) परिषद्को आन्तरिक र अन्तिम लेखापरीक्षण गराउने व्यवस्था गर्ने । (छ) परिषद् र फार्मासिस्ट तथा फार्मेसी सहायकहरु बीच सम्पर्क अधिकारीको रुपमा काम गर्ने । (ज) परिषद्ले निर्देशन दिए बमोजिमको अन्य कार्यहरु गर्ने वा गराउने । (झ) तोकिए बमोजिम अन्य कार्य गर्ने । (३) रजिष्ट्रारको पारिश्रमिक तथा सुविधा तोकिए बमोजिम हुनेछ ।
परिच्छेद–६ परिषद्को कोष
२७. परिषद्को कोष : (१) परिषद्को आफ्नो एउटा छुट्टै कोष हुनेछ । (२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिका रकम रहने छन्:- (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) स्वदेशी वा विदेशी कुनै व्यक्ति, संस्था वा सरकारबाट प्राप्त ऋण, चन्दा, सहायता, अनुदान वा दान दातव्यको रुपमा प्राप्त रकम, (ग) परिषद्मा नाम दर्ता तथा नाम दर्ता अद्यावधिक गर्दा प्राप्त हुन आएको रकम, (घ) परिषद्को तर्फबाट उपलब्ध गराएको सेवा बापत प्राप्त रकम, (ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम । (३) उपदफा (२) को खण्ड (ख) बमोजिम कुनै विदेशी व्यक्ति, संस्था वा सरकारबाट प्राप्त ऋण, चन्दा सहायता, अनुदान वा दान दातव्य प्राप्त गर्नु अघि परिषद्ले नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(४) परिषद्को कोषमा प्राप्त हुन आएको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ । (५) परिषद्को कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
२८. लेखा तथा लेखापरीक्षण : (१) परिषद्को आय–व्ययको लेखा तोकिए बमोजिम राखिनेछ । (२) परिषद्को लेखापरीक्षण तोकिए बमोजिम हुनेछ । (३) नेपाल सरकारले चाहेमा कोषको हिसाब किताब सम्बन्धी काम जुनसुकै बखत जाँच्न वा जँचाउन सक्नेछ ।
परिच्छेद–७ विविध
२९. कसुर तथा दण्ड सजाय : (१) दफा ११ विपरीत परिषद्मा नाम दर्ता नगराई फार्मेसी व्यवसाय गरेमा यस बमोजिम कसुर भएको मानिनेछ र त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ । (२) उपदफा (१) मा उल्लेख भएबमोजिम बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियिमको उल्लंघन हुने गरी कुनै काम गर्ने व्यक्तिलाई दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
३०. अनुसन्धान, तहकीकात तथा मुद्दा चलाउने अधिकारी : दफा २९ बमोजिमको कसुरको अनुसन्धान, तहकीकात गर्ने तथा मुद्दा चलाउने अधिकारी वा निकाय तथा तत्सम्बन्धी कार्यविधि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।
३१. परिषद्को विघटन : (१) परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियिम बमोजिम आफूलाई प्राप्त अधिकारको प्रयोग गर्न नसकेको वा अधिकारको दुरुपयोग गरेको वा प्राप्त अधिकारभन्दा बढी अधिकार प्रयोग गरेको वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम परिषद्ले पालन गर्नु पर्ने कार्य पालन गर्न नसकेको भन्ने नेपाल सरकारलाई लागेमा नेपाल सरकारले परिषद् विघटन गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम परिषद् विघटन भएमा परिषद्को कोष तथा सम्पत्ति नेपाल सरकारले आफ्नो जिम्मामा राखी अर्को परिषद् गठन नभएसम्म परिषद्ले गर्नु पर्ने सबै काम कारबाही आफैले गर्न वा कुनै समिति गठन गरी सो समितिबाट गराउन सक्नेछ ।
(३) उपदफा (१) बमोजिम परिषद् विघटन भएको साधारणतया तीन महिनाभित्र नेपाल सरकारले दफा ५ बमोजिम अर्को परिषद् गठन गर्नेछ । (४) उपदफा (३) बमोजिम अर्को परिषद् गठन भएमा उपदफा (२) बमोजिम नेपाल सरकारले आफ्नो जिम्मामा राखेको कोष र सम्पत्ति उक्त परिषद्लाई हस्तान्तरण गर्नेछ ।
३२. विषय समिति गठन गर्न सकिने : (१) परिषद्ले आवश्यकता अनुसार विभिन्न विषय समिति गठन गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम गठन हुने विषय समितिको काम, कर्तव्य र अधिकार तथा कार्यविधि परिषद्ले तोकिए बमोजिम हुनेछ ।
३३. सदस्यको भत्ता तथा अन्य सुविधा : परिषद्का सदस्य तथा विषय समितिको अध्यक्ष तथा सदस्यहरुले पाउने भत्ता तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ ।
३४. परिषद्को कर्मचारी : (१) परिषद्ले आवश्यकता अनुसार कर्मचारीहरुको नियुक्ति गर्न सक्नेछ। (२) उपदफा (२) बमोजिम नियुक्त कर्मचारीहरुको सेवा, शर्त तथा सुविधा तोकिए बमोजिम हुनेछ।
३५. नेपाल सरकारसँग सम्पर्क : परिषद्ले नेपाल सरकारसँग सम्पर्क राख्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
३६. नियम तथा विनियम बनाउने अधिकार : (१) यो ऐनको उद्देश्य कार्यान्वयन गर्न परिषद्ले आवश्यक नियमहरु बनाउन सक्नेछ र त्यसरी बनाएको नियम नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ । (२) परिषद्ले आफ्नो दैनिक कार्य सञ्चालनको लागि यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही विनियमहरु बनाउन सक्नेछ ।
* नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित । द्रष्टव्य: – केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तरित भएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।