चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३
प्रमाणीकरण र प्रकाशन मिति २०६३।०८।१७
संशोधन गर्ने ऐन प्रमाणीकरण र प्रकाशन मिति १. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९ २. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८३ २०८३।०३।२५
२०६३ सालको ऐन नं. २६ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन गर्न र सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३” रहेको छ। (२) यो ऐन सम्बत् २०६३ साल वैशाख २३ गतेदेखि प्रारम्भ भएको मानिनेछ। २. परिभाषा : विषय वा प्रसङ्गले अन्य अर्थ नलागेमा यस ऐनमा,– (क) “प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सम्झनु पर्छ। (ख) “सभा” भन्नाले दफा ७ बमोजिम गठन भएको सभा सम्झनु पर्छ। (ग) “प्राज्ञिक परिषद्” भन्नाले दफा ९ बमोजिम गठन भएको प्राज्ञिक परिषद् सम्झनु पर्छ।
(घ) “कार्यकारी परिषद्” भन्नाले दफा ११ बमोजिम गठन भएको कार्यकारी परिषद् सम्झनु पर्छ। (ङ) “सेवा आयोग” भन्नाले दफा १३ बमोजिम गठन भएको सेवा आयोग सम्झनु पर्छ। (च) “अस्पताल” भन्नाले दफा १४ बमोजिम स्थापना भएको वीर अस्पताल सम्झनु पर्छ। (छ) “कुलपति” भन्नाले दफा १६ बमोजिमको कुलपति सम्झनु पर्छ। (ज) “सहकुलपति” भन्नाले दफा १७ बमोजिमको सहकुलपति सम्झनु पर्छ। (झ) “उपकुलपति” भन्नाले दफा १८ बमोजिमको उपकुलपति सम्झनु पर्छ। (ञ) “शिक्षाध्यक्ष” भन्नाले दफा १९ बमोजिमको शिक्षाध्यक्ष सम्झनु पर्छ। (ट) “रजिष्टार” भन्नाले दफा १९ बमोजिमको रजिष्टार सम्झनु पर्छ। (ठ) “डीन” भन्नाले दफा १९ बमोजिमको डीन सम्झनु पर्छ। (ड) “निदेशक” भन्नाले दफा २० बमोजिमको निदेशक सम्झनु पर्छ। (ढ) “शिक्षक” भन्नाले प्रतिष्ठानमा शिक्षा प्रदान गर्ने तथा अनुसन्धान गर्ने जिम्मेवारी पाएको व्यक्ति सम्झनु पर्छ। (ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
परिच्छेद-२ प्रतिष्ठानको स्थापना, स्वरूप तथा काम, कर्तव्य र अधिकार
३. प्रतिष्ठानको स्थापना : (१) चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने काम समेतको लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरिएको छ। (२) प्रतिष्ठानको मुख्य कार्यालय काठमाडौं उपत्यकामा रहनेछ। (३) प्रतिष्ठानलाई अङ्ग्रेजी भाषामा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज भनिनेछ।
४. प्रतिष्ठान स्वशासित र सङ्गठित संस्था हुने : (१) प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ। (२) प्रतिष्ठानको काम कारबाहीको लागि आफ्नो एउटा छुट्टै छाप हुनेछ।
(३) प्रतिष्ठानले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ। (४) प्रतिष्ठानले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र प्रतिष्ठान उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ।
५. प्रतिष्ठानको स्वरूप : प्रतिष्ठानमा देहाय बमोजिमका सङ्गठनहरु रहनेछन् र तिनीहरुको सामूहिक रुप नै प्रतिष्ठानको स्वरूप हुनेछ :- (क) सभा, (ख) प्राज्ञिक परिषद्, (ग) कार्यकारी परिषद, (घ) सेवा आयोग, (ङ) अस्पताल, र (च) तोकिए बमोजिमको अन्य निकाय।
६. प्रतिष्ठानको काम, कर्तव्य र अधिकार : (१) प्रतिष्ठानको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा अध्ययन, अध्यापन, तालिम तथा अनुसन्धान गर्ने, (ख) गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, (ग) स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा अध्ययन, अध्यापन, तालिम तथा अनुसन्धाननात्मक कार्यक्रम सञ्चालन गर्न स्वदेशी तथा विदेशी विश्वविद्यालय, अस्पताल तथा शैक्षिक संस्थासँग सम्झौता गर्ने, (घ) गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने, (ङ) प्रतिष्ठानद्वारा सञ्चालन गरिने विभिन्न कार्यक्रमको स्तर अभिवृद्धि गर्न स्वदेशी वा विदेशी विश्वविद्यालय, अस्पताल वा शैक्षिक संस्थाहरुसँग समन्वय कायम गर्ने, (च) स्वास्थ्य सम्बन्धी स्वदेशी तथा विदेशी विश्वविद्यालय, प्रतिष्ठान र अन्तर्राष्ट्रिय संघ संस्थातसित सम्बन्ध स्थापना, विस्तार र सुदृढ गरी पारस्परिक सहयोग आदान-प्रदान गर्ने,
(छ) स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा गोष्ठी, सम्मेलन, सेमिनार आयोजना गर्ने, गराउने, (ज) स्वास्थ्य सम्बन्धी विभिन्न पुस्तक प्रकाशन गर्ने, गराउने, (झ) तोकिए बमोजिमको अन्य काम गर्ने। (२) प्रतिष्ठानको काम, कर्तव्य र अधिकार प्रतिष्ठानको सङ्गठन मार्फत प्रयोग र पालना हुनेछन्।
परिच्छेद-३ सभाको गठन तथा काम, कर्तव्य र अधिकार
७. सभाको गठन : (१) प्रतिष्ठानको सर्वोच्च निकायको रुपमा एउटा सभा रहनेछ। (२) सभाको गठन देहाय बमोजिम हुनेछ:- (क) सहकुलपति - अध्यक्ष (ख) उपकुलपति - सदस्य (ग) सदस्य, राष्ट्रिय योजना आयोग (स्वास्थ्य हेर्ने) - सदस्य (घ) चिकित्सा सम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने विश्वविद्यालय वा प्रतिष्ठानका उपकुलपतिहरुमध्येबाट सभाले मनोनीत गरेको दुईजना - सदस्य (ङ) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय - सदस्य (च) सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - सदस्य (छ) सचिव, अर्थ मन्त्रालय - सदस्य (ज) अध्यक्ष, विश्वविद्यालय अनुदान आयोग - सदस्य (झ) अध्यक्ष, नेपाल मेडिकल काउन्सिल - सदस्य (ञ) अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् - सदस्य (ट) शिक्षाध्यक्ष - सदस्य (ठ) डीन - सदस्य (ड) प्रमुख, काठमाडौं महानगरपालिका - सदस्य
(ढ) प्रतिष्ठानसँग सम्झौता गरेका अस्पतालका निर्देशक वा मेडिकल सुपरिटेण्डेण्टहरूमध्येबाट नेपाल सरकारले मनोनीत गरेको दुईजना - सदस्य (ण) डीन, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान - सदस्य (त) स्वास्थ्य क्षेत्रका वैज्ञानिकहरूमध्येबाट प्राज्ञिक परिषद्को सिफारिसमा सभाले मनोनीत गरेको एकजना - सदस्य (थ) शिक्षकहरूमध्येबाट प्राज्ञिक परिषद्को सिफारिसमा सभाले मनोनीत गरेको दुईजना - सदस्य (द) प्रतिष्ठान अन्तर्गत सञ्चालित नर्सिङ सम्बन्धी संस्थाको प्रमुख - सदस्य (ध) लब्धप्रतिष्ठित विद्वान् तथा समाजसेवीहरूमध्येबाट महिला समेतको प्रतिनिधित्व हुने गरी नेपाल सरकारले मनोनीत गरेको दुईजना - सदस्य (न) रजिष्ट्रार - सदस्य-सचिव (३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ। (४) सभाले चाहेमा चिकित्सा विज्ञानको क्षेत्रमा अध्ययन तथा अनुसन्धान कार्यमा संलग्न व्यक्तिलाई सभाको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ। (५) सभाको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
८. सभाको काम, कर्तव्य र अधिकार : सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) प्रतिष्ठानको नीति, योजना तथा कार्यक्रम स्वीकृत गर्ने, (ख) प्रतिष्ठानको नियम स्वीकृत गर्ने, (ग) प्रतिष्ठानको वार्षिक बजेट पारित गर्ने, (घ) प्राज्ञिक परिषद्को सिफारिसमा सम्बन्धित व्यक्तिलाई उपाधि, प्रमाणपत्र, पदक तथा पुरस्कार प्रदान गर्ने, (ङ) प्राज्ञिक परिषद् तथा कार्यकारी परिषद्बाट पेश भएका प्रस्ताव स्वीकृत गर्ने, (च) तोकिए बमोजिमको अन्य काम गर्ने ।
परिच्छेद-४ प्राज्ञिक परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
९. प्राज्ञिक परिषद् : (१) प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धाननात्मक कार्यलाई व्यवस्थित गर्ने निकायको रुपमा काम गर्न एक प्राज्ञिक परिषद् रहनेछ। (२) उपदफा (१) बमोजिमको प्राज्ञिक परिषद्को गठन देहाय बमोजिम हुनेछ :- (क) शिक्षाध्यक्ष - अध्यक्ष (ख) प्रतिनिधि, (कम्तीमा राजपत्रांकित प्रथम श्रेणी) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय - सदस्य (ग) प्रतिनिधि, (कम्तीमा राजपत्रांकित प्रथम श्रेणी) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय - सदस्य (घ) प्रतिष्ठानका शिक्षकहरूमध्येबाट सभाले मनोनीत गरेको तीनजना - सदस्य (ङ) प्रतिष्ठानद्वारा सञ्चालित विभिन्न विषयका कार्यक्रम संयोजकहरूमध्येबाट प्राज्ञिक परिषद्को सिफारिसमा सभाले मनोनीत गरेको तीनजना - सदस्य (च) चिकित्सा विज्ञानको क्षेत्रमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरुमध्येबाट प्रतिनिधित्व हुने गरी प्राज्ञिक सभाले मनोनीत गरेको दुईजना - सदस्य (छ) नर्सिङ क्याम्पसको प्रमुख - सदस्य (ज) डीन - सदस्य-सचिव (३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ। (४) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
१०. प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार : प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) चिकित्सा विज्ञानसँग सम्बन्धित विभिन्न विषय र तहमा शिक्षा प्रदान गर्न अध्ययन तथा अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने गराउने, (ख) प्रतिष्ठानको लागि आवश्यक पर्ने शिक्षकको योग्यता निर्धारण गर्ने, (ग) पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गर्ने, (घ) विद्यार्थीको छनौट गर्ने, (ङ) परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने, (च) परीक्षामा सफल हुने विद्यार्थीलाई शैक्षिक योग्यताको उपाधि तथा प्रमाणपत्र प्रदान गर्न सभा समक्ष सिफारिस गर्ने, (छ) परीक्षामा उत्कृष्ट श्रेणीमा सफल हुने विद्यार्थीलाई पुरस्कार तथा पदक प्रदान गर्न सभा समक्ष सिफारिस गर्ने, (ज) चिकित्सा विज्ञानको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने विद्यार्थीलाई पुरस्कार, पदक तथा मानार्थ उपाधि प्रदान गर्न सभा समक्ष सिफारिस गर्ने, (झ) प्रतिष्ठानद्वारा सञ्चालित अध्ययन, तालिम तथा अनुसन्धानमा उत्कृष्ट व्यक्ति तथा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सभा समक्ष सिफारिस गर्ने, (ञ) अध्ययन, तालिम तथा अनुसन्धान बापतको शुल्क निर्धारण गर्ने, (ट) सभाबाट स्वीकृत प्राज्ञिक परिषद्सँग सम्बन्धित निर्णय कार्यान्वयन गर्ने, गराउने, (ठ) तोकिए बमोजिमको अन्य कार्यहरू गर्ने ।
परिच्छेद-५ कार्यकारी परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
११. कार्यकारी परिषद्को गठन : (१) प्रतिष्ठानको कार्यकारी निकायको रुपमा काम गर्न एक कार्यकारी परिषद् रहनेछ। (२) कार्यकारी परिषद्को गठन देहाय बमोजिम हुनेछ:- (क) उपकुलपति - अध्यक्ष (ख) शिक्षाध्यक्ष - सदस्य (ग) डीन - सदस्य (घ) शिक्षकहरुमध्येबाट एकजना - सदस्य (ङ) निर्देशक - सदस्य
(च) रजिष्ट्रार - सदस्य-सचिव (३) उपदफा (२) को खण्ड (घ) बमोजिमको सदस्यको मनोनयन उपकुलपतिको सिफारिसमा सहकुलपतिले गर्नेछ। (४) उपदफा (२) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ। (५) कार्यकारी परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
१२. कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार : कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :– (क) सभाको निर्णय र निर्देशनहरु कार्यान्वयन गर्ने, गराउने, (ख) प्रतिष्ठानको वार्षिक कार्यक्रम, बजेट, प्रगति विवरण, लेखापरीक्षण प्रतिवेदन र अन्य प्रस्तावहरु तयार गरी स्वीकृतिको लागि सभा समक्ष पेश गर्ने, (ग) प्रतिष्ठानको कोष तथा चल अचल सम्पत्तिको सञ्चालन, रेखदेख र संरक्षण गर्ने, (घ) सभाको नीति निर्देशनको अधीनमा रही प्रतिष्ठानको चल अचल सम्पत्ति बेचबिखन गर्ने तथा ठेक्का पट्टामा दिने, (ङ) प्रतिष्ठानद्वारा सञ्चालित कार्यक्रमहरुको समन्वय, रेखदेख, निरीक्षण गर्ने र सोको प्रतिवेदन सभा समक्ष पेश गर्ने, (च) प्रतिष्ठानसँग सम्बन्धित नियमहरुको मस्यौदा तयार गरी स्वीकृतिको लागि सभा समक्ष पेश गर्ने, (छ) सेवा आयोगको सिफारिसमा प्रतिष्ठानको लागि आवश्यक शिक्षक तथा कर्मचारीहरु नियुक्ति र बढुवा गर्ने, (ज) प्रतिष्ठानलाई प्राप्त दान, दािव्य, आर्थिक तथा अन्य सहयोग ग्रहण गर्ने, (झ) सभाले तोके बमोजिमको काम गर्ने, (ञ) तोकिए बमोजिमको अन्य कार्यहरु गर्ने ।
परिच्छेद-६ सेवा आयोगको गठन तथा काम, कर्तव्य र अधिकार
१३. सेवा आयोगको गठन : (१) प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्न एक सेवा आयोग रहनेछ। (२) सेवा आयोगमा अध्यक्ष र दुईजना सदस्यहरु रहनेछन्।
(३) सभाले देहायका व्यक्तिहरुमध्येबाट सेवा आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्नेछ:- (क) चिकित्सा विज्ञानमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा बीस वर्ष काम गरेका व्यक्तिहरुमध्येबाट अध्यक्ष, (ख) चिकित्सा विज्ञानमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेका व्यक्तिहरुमध्येबाट एकजना सदस्य, र (ग) कानून, व्यवस्थापन वा जनप्रशासनमा कम्तीमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेका व्यक्तिहरुमध्येबाट एकजना सदस्य। (४) सेवा आयोगको अध्यक्ष तथा सदस्यको पदावधि चार वर्षको हुनेछ। (५) सेवा आयोगको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछन्। (६) सेवा आयोगका अध्यक्ष तथा सदस्यको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरु तोकिए बमोजिम हुनेछ। (७) सेवा आयोगको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
परिच्छेद-७ अस्पताल तथा शैक्षिक संस्थाको स्थापना र सञ्चालन
१४. अस्पतालको स्थापना र सञ्चालन : (१) प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुको लागि अस्पतालको स्थापना गर्नेछ। (२) यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम स्थापना भई सञ्चालन भइरहेको बीर अस्पताल उपदफा (१) बमोजिम स्थापना भएको मानिनेछ। (३) अस्पतालको सञ्चालन तथा व्यवस्थापन तोकिए बमोजिम हुनेछ।
१५. शैक्षिक संस्थाको स्थापना तथा सञ्चालन : (१) प्रतिष्ठानले विभिन्न विषयमा शिक्षा प्रदान गर्ने उद्देश्यले कुनै शैक्षिक संस्थाको स्थापना गर्न सक्नेछ। (२) यो ऐन प्रारम्भ हुँदाका बखत अस्पताल अन्तर्गत सञ्चालन भइरहेको नर्सिङ क्याम्पस उपदफा (१) बमोजिम स्थापना भएको मानिनेछ।
(३) नर्सिङ क्याम्पसको सञ्चालन तोकिए बमोजिम हुनेछ।
परिच्छेद-८ प्रतिष्ठानका पदाधिकारी, शिक्षक तथा कर्मचारी
१६. कुलपति : (१) प्रधानमन्त्री प्रतिष्ठानको कुलपति हुनेछ। (२) कुलपति प्रतिष्ठानको प्रमुख हुनेछ।
१७. सहकुलपति : (१) स्वास्थ्य तथा जनसंख्या मन्त्री वा राज्यमन्त्री प्रतिष्ठानको सहकुलपति हुनेछ। (२) सहकुलपतिले आवश्यकतानुसार प्रतिष्ठानको निरीक्षण गर्न र प्रतिष्ठानलाई निर्देशन दिन सक्नेछ।
१८. उपकुलपति : (१) उपकुलपति प्रतिष्ठानमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ। (२) उपकुलपतिको पदमा नियुक्तिको लागि सिफारिस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा अन्य दुईजना सदस्य रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिले उपकुलपतिको नियुक्ति गर्नेछ। (३) उपकुलपतिको पदावधि चार वर्षको हुनेछ। (४) उपकुलपतिको अनुपस्थितिमा निजले गर्ने काम सहकुलपतिबाट व्यवस्था भए बमोजिम हुनेछ। (५) उपकुलपतिको काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ। (६) उपकुलपतिको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य सर्तहरू तोकिएबमोजिम हुनेछ।
१९. शिक्षाध्यक्ष, रजिष्ट्रार तथा डीन : (१) कार्यकारी परिषद्ले बनाएको कार्यविधि बमोजिम सहकुलपतिले शिक्षाध्यक्ष, रजिष्ट्रार तथा डीनको नियुक्ति गर्नेछ। (२) शिक्षाध्यक्ष, रजिष्ट्रार तथा डीनको पदावधि चार वर्षको हुनेछ। (३) शिक्षाध्यक्ष, रजिष्ट्रार तथा डीनको नियुक्ति, काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा तथा सेवाको सर्त सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ।
२०. निदेशक : (१) अस्पतालको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एक निर्देशक रहनेछ।
(२) निर्देशको नियुक्ति, काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछन्।
२१. अन्य पदाधिकारी : (१) प्रतिष्ठानमा तोकिए बमोजिमका अन्य पदाधिकारीहरु रहन सक्नेछन्। (२) उपदफा (१) बमोजिमको पदाधिकारीको नियुक्ति, काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछन्।
२२. पदबाट हटाउन सक्ने : (१) उपकुलपति, शिक्षाध्यक्ष वा रजिष्ट्रारले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा वा पद अनुरूपको आचरण नगरेमा वा इमान्दारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेको छैन भनी सभामा तत्काल कायम रहेका एक चौथाई सदस्यले कुलपति समक्ष लिखित निवेदन दिएमा कुलपतिले सहकुलपतिको अध्यक्षतामा सभाका दुईजना सदस्यहरु रहेको एक छानबिन समिति गठन गर्नेछ। (२) उपदफा (१) बमोजिमको छानबिन समितिले उपकुलपति, शिक्षाध्यक्ष वा रजिष्ट्रारले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, इमान्दारीपूर्वक काम नगरेको वा आफ्नो कर्तव्य पालन नगरेको सिफारिस गरेमा र सो कुरा सभाको बैठकबाट पारित भएमा कुलपतिले त्यस्तो उपकुलपति, शिक्षाध्यक्ष वा रजिष्ट्रारलाई निजको पदबाट हटाउनेछ। (३) उपकुलपति, शिक्षाध्यक्ष वा रजिष्ट्रार बाहेक प्रतिष्ठानका अन्य पदाधिकारीलाई पदबाट हटाउने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ। (४) उपदफा (२) वा (३) बमोजिम प्रतिष्ठानका पदाधिकारीलाई पदबाट हटाउनु अघि निज उपर लागेको आरोपको सफाई पेश गर्ने मौका दिनु पर्नेछ।
२३. प्रतिष्ठानका शिक्षक तथा कर्मचारी : (१) प्रतिष्ठानमा आवश्यक संख्यामा शिक्षक तथा कर्मचारीहरू रहनेछन्। (२) प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको काम, कर्तव्य र अधिकार, नियुक्ति सेवा आयोगको सिफारिसमा तोकिए बमोजिम हुनेछन्। (३) प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सेवाको शर्त तथा सुविधा तोकिए बमोजिम हुनेछन्।
२४. कर्मचारी काजमा खटाउन सक्ने : (१) नेपाल सरकारले नेपाल स्वास्थ्य सेवाका कुनै कर्मचारीलाई प्रतिष्ठानको अनुरोधमा प्रतिष्ठानमा काजमा खटाउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम काजमा खटिएको कर्मचारीले प्रतिष्ठानका कर्मचारीले पाए सरुहो सुविधा पाउनेछ।
परिच्छेद-९ प्रतिष्ठानको कोष तथा लेखापरीक्षण
२५. प्रतिष्ठानको कोष : (१) प्रतिष्ठानको एउटा छुट्टै कोष हुनेछ। (२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन्:- (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) शैक्षिक शुल्क तथा सेवा शुल्कबाट प्राप्त रकम, (ग) स्वदेशी वा विदेशी व्यक्ति, सङ्घ, संस्था वा विदेशी सरकारबाट अनुदान वा ऋण स्वरूप प्राप्त रकम, (घ) अन्य स्रोतबाट प्राप्त रकम। (३) उपदफा (२) को खण्ड (ग) बमोजिम प्रतिष्ठानले विदेशी व्यक्ति, सङ्घ, संस्था वा सरकारबाट कुनै रकम प्राप्त गर्नु अघि नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ। (४) प्रतिष्ठानको कोषको रकम कुनै बैंक वा वित्तीय संस्थामा खाता खोली जम्मा गरिनेछ। (५) प्रतिष्ठानको सबै खर्चहरु उपदफा (१) बमोजिमको कोषबाट व्यहोर्नेछ। (६) प्रतिष्ठानको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ।
२६. लेखा र लेखा परीक्षण : (१) प्रतिष्ठानको आय-व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ। (२) प्रतिष्ठानको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ।
परिच्छेद-१० विविध
२७. वार्षिक प्रतिवेदन : (१) प्रतिष्ठानले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आफूले वर्षभरिमा सम्पन्न गरेको कामकाजको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त प्रतिष्ठानले वर्षभरि सम्पादन गरेका कामको संक्षिप्त विवरण र प्रतिष्ठानको उपलब्ध लगायतका कुराहरु उल्लेख गर्नु पर्नेछ।
२८. समिति गठन गर्न सक्ने : (१) प्रतिष्ठानले यस ऐन बमोजिम आफूले गर्नु पर्ने काम सुचारु रुपले गर्नको लागि आवश्यकतानुसार समिति गठन गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम गठित समितिको काम, कर्तव्य र अधिकार तथा कार्यविधि सो समिति गठन हुँदा प्रतिष्ठानले तोकिदिए बमोजिम हुनेछ।
२९. कामकारबाही बदर नहुने : प्रतिष्ठानको कुनै पदाधिकारी वा सदस्यको स्थान रिक्त भै वा प्रतिष्ठानको कुनै सङ्गठनको कुनै पदाधिकारी वा सदस्यको नियुक्ति वा मनोनयनमा त्रुटि भएको कारणले मात्र प्रतिष्ठानबाट भएगरेको कामकारबाही बदर हुने छैन।
३०. अधिकार प्रत्यायोजन : (१) सभाले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकतानुसार केही अधिकार कार्यकारी परिषद् वा उपकुलपतिलाई प्रत्यायोजन गर्न सक्नेछ। (२) प्राज्ञिक परिषद्, सेवा आयोग वा कार्यकारी परिषद्ले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकतानुसार केही अधिकार प्रतिष्ठानका कुनै पदाधिकारी वा मातहतका कुनै निकायलाई प्रत्यायोजन गर्न सक्नेछ।
३१. राष्ट्रिय शिक्षा तथा स्वास्थ्य नीति अनुरुप काम गर्नु पर्ने : प्रतिष्ठानले नेपाल सरकारबाट स्वीकृत भएको राष्ट्रिय स्वास्थ्य तथा शिक्षा नीति अनुरुप काम गर्नु पर्नेछ।
३२. निर्देशन दिन सक्ने : प्रतिष्ठानको कामकारबाहीको सम्बन्धमा नेपाल सरकारले प्रतिष्ठानलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु प्रतिष्ठानको कर्तव्य हुनेछ।
३३. नेपाल सरकारसँग सम्पर्क : प्रतिष्ठानले नेपाल सरकारसँग सम्पर्क राख्नु पर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत राख्नु पर्नेछ।
३४. कर्मचारी प्रतिष्ठानमा रहन सक्ने : (१) यो ऐन प्रारम्भ हुँदाका बखत अस्पतालमा कार्यरत नेपाल स्वास्थ्य सेवा शाखाका कर्मचारीहरुमध्ये प्रतिष्ठानमा काम गर्न चाहने कर्मचारीले यस ऐन अन्तर्गत बनेको कर्मचारी सेवा सम्बन्धी नियम प्रारम्भ भएको मितिले छ महिनाभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन दिनु पर्नेछ। (२) उपदफा (१) बमोजिम निवेदन दिने कर्मचारीलाई नेपाल सरकारले प्रतिष्ठानको कर्मचारीको रुपमा रहने स्वीकृति दिएमा त्यस्ता कर्मचारी प्रतिष्ठानको कर्मचारी मानिनेछ। (३) उपदफा (२) बमोजिम प्रतिष्ठानमा रहने कर्मचारीले स्वास्थ्य सेवामा काम गरेको सेवा अवधि प्रतिष्ठानको सेवा अवधिमा गणना हुनेछ।
३५. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्न प्रतिष्ठानले आवश्यक नियम बनाउन सक्नेछ। तर, नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्ने विषयमा नियम बनाउँदा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ।
३६. खारेजी र बचाउ : (१) बीर अस्पताल विकास समिति (गठन) आदेश, २०६३ खारेज गरिएको छ। (२) उपदफा (१) बमोजिमको आदेश बमोजिम भएगरेका सम्पूर्ण काम कारबाही यसै ऐन बमोजिम भएगरेको मानिनेछ। (३) उपदफा (१) बमोजिमको आदेश बमोजिमको बीर अस्पताल विकास समितिको नाममा रहेको चल अचल सम्पत्ति, लेनदेन कारोबार, ऋण धन लगायत सम्पूर्ण अधिकार तथा दायित्व प्रतिष्ठानमा सरेको मानिनेछ। (४) उपदफा (१) बमोजिमको आदेश बमोजिमको समितिमा कार्यरत कर्मचारीहरु प्रतिष्ठानको समान स्तर र तहको पदमा रहेको मानिनेछ। (५) उपदफा (१) बमोजिमको आदेश बमोजिमको समिति अन्तर्गत सञ्चालन भएको नर्सिङ क्याम्पसबाट भएगरेका कामकारबाही यसै ऐन बमोजिम भएगरेको मानिनेछ।
३७. अध्यादेश निक्रियताको परिणाम : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अध्यादेश, २०६२ निक्रिय भएपछि अन्य अभिप्राय नदेखाइएमा सो निक्रियताले,– (क) सो अध्यादेश निक्रिय हुँदाको बखत চলতি नभएको वा कायम नरहेको कुनै कुरा पुन: जगाउने छैन, (ख) सो अध्यादेश बमोजिम चालू भएको कुरा वा सो बमोजिम रीत पुर्याई अघि नै गरिएका कुनै काम वा भोगिसकेको कुनै कुरालाई असर पार्ने छैन, (ग) सो अध्यादेश बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्ने छैन, (घ) सो अध्यादेश बमोजिम गरिएका कुनै दण्ड, सजाय वा जफतलाई असर पार्ने छैन, (ङ) माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व वा दण्ड सजायको सम्बन्धमा गरिएका कुनै कामकारबाही वा उपायलाई असर पार्ने छैन र सो
अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानूनी कारबाही वा उपायलाई पनि सुरु गर्न, चालू राख्न वा लागू गर्न सकिनेछ ।