पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२
प्रमाणीकरण र प्रकाशन मिति २०७२।१०।१२
संशोधन गर्ने ऐन १. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९ २. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८३ २०८३।०३।२५
सं्वत २०७२ सालको ऐन नं. १२ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज रुपमा सुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्थापना र सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसद्ले यो ऐन बनाएको छ।
परिक्च्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “अस्पताल” भन्नाले दफा १६ बमोजिम स्थापना भएको अस्पताल सम्झनु पर्छ। (ख) “अस्पताल व्यवस्थापन समिति” भन्नाले दफा १७ बमोजिम गठन भएको अस्पताल व्यवस्थापन समिति सम्झनु पर्छ।
(ग) “उपकुलपति” भन्नाले दफा २० बमोजिमको उपकुलपति सम्झनु पर्छ। (घ) “कार्यकारी परिषद्” भन्नाले दफा ११ बमोजिम गठन भएको कार्यकारी परिषद् सम्झनु पर्छ। (ङ) “कुलपति” भन्नाले दफा १८ बमोजिमको कुलपति सम्झनु पर्छ। (च) “डीन” भन्नाले दफा २१ बमोजिमको डीन सम्झनु पर्छ। (छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ। (ज) “निदेशक” भन्नाले दफा २२ बमोजिमको निदेशक सम्झनु पर्छ। (झ) “पिछडिएको क्षेत्र” भन्नाले प्रचलित कानून बमोजिम तोकिएको क्षेत्र सम्झनु पर्छ। (ञ) “प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्झनु पर्छ। (ट) “प्राज्ञिक परिषद्” भन्नाले दफा ९ बमोजिम गठन भएको प्राज्ञिक परिषद् सम्झनु पर्छ। (ठ) “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्झनु पर्छ। (ड) “शिक्षक” भन्नाले प्रतिष्ठानमा अध्यापन तथा अनुसन्धान गर्न नियुक्त भएको व्यक्ति सम्झनु पर्छ। (ढ) “शैक्षिक संस्था” भन्नाले दफा १५ बमोजिम स्थापना भएको शैक्षिक संस्था सम्झनु पर्छ। (ण) “सभा” भन्नाले दफा ७ बमोजिम गठन भएको सभा सम्झनु पर्छ। (त) “सहकुलपति” भन्नाले दफा १९ बमोजिमको सहकुलपति सम्झनु पर्छ। (थ) “पदपूर्ति समिति” भन्नाले दफा १३ बमोजिम गठन भएको पदपूर्ति समिति सम्झनु पर्छ।
परिच्छेद–२ प्रतिष्ठानको स्थापना, स्वरुप तथा काम, कर्तव्य र अधिकार
३. प्रतिष्ठानको स्थापना : (१) स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज रुपमा सुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने काम समेतको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरिएको छ। (२) प्रतिष्ठानको मुख्य कार्यालय कास्की जिल्लामा रहनेछ। (३) प्रतिष्ठानलाई अंग्रेजी भाषामा पोखरा एकेडेमी अफ हेल्थ साइन्सेस भनिनेछ।
४. प्रतिष्ठान स्वाशसति संस्था हुने : (१) प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला एक स्वाशसति संस्था हुनेछ। (२) प्रतिष्ठानको काम कारबाहीको लागि आफ्नो एउटा छुट्टै छाप हुनेछ। (३) प्रतिष्ठानले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ। (४) प्रतिष्ठानले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र प्रतिष्ठान उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ। (५) प्रतिष्ठानले व्यक्ति सरह करार गर्न, करार बमोजिमको अधिकार प्रयोग गर्न तथा दायित्व निबाह गर्न सक्नेछ।
५. प्रतिष्ठानको स्वरुप : प्रतिष्ठानमा देहाय बमोजिमका सङ्गठनहरू रहने छन् र तिनीहरूको सामूहिक रुप नै प्रतिष्ठानको स्वरुप हुनेछ :– (क) सभा, (ख) प्राज्ञिक परिषद्, (ग) कार्यकारी परिषद्, (घ) सङ्काय, (ङ) अनुसन्धान केन्द्र, (च) शैक्षिक संस्था, (छ) अस्पताल, (ज) तोकिए बमोजिमका अन्य निकाय।
६. प्रतिष्ठानको काम, कर्तव्य र अधिकार : (१) प्रतिष्ठानको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :– (क) स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा अध्ययन, अध्यापन, तालीम तथा अनुसन्धान गर्ने, गराउने, (ख) गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने, (ग) स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा अध्ययन, अध्यापन, तालीम तथा अनुसन्धानात्मक कार्यक्रम सञ्चालन गर्न स्वदेशी तथा विदेशी विश्वविद्यालय, शैक्षिक संस्था तथा अस्पतालसँग सम्झौता गर्ने, (घ) गुणस्तरीय स्वास्थ्य सेवाको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने, (ङ) प्रतिष्ठानद्वारा सञ्चालन गरिने विभिन्न कार्यक्रमहरूलाई सुदृढ तुल्याउन र त्यस्ता कार्यक्रमको गुणस्तर अभिवृद्धि गर्न स्वदेशी वा विदेशी विश्वविद्यालय, शैक्षिक संस्था वा अस्पतालसँग समन्वय गर्ने, (च) स्वास्थ्यसँग सम्बन्धित स्वदेशी तथा विदेशी विश्वविद्यालय, प्रतिष्ठान र अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्बन्ध स्थापना, विस्तार र सुदृढ गरी पारस्परिक सहयोग र अनुभव आदान प्रदान गर्ने, (छ) स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा गोष्ठी, सम्मेलन, सेमिनार, अन्तरक्रिया तथा स्वास्थ्य शिविर आयोजना गर्ने, गराउने, (ज) स्वास्थ्य सम्बन्धी विभिन्न पुस्तक, पर्चा, बुलेटिन तथा सचेतना पोष्टर प्रकाशन गर्ने, गराउने, (झ) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने। (२) प्रतिष्ठानको काम, कर्तव्य र अधिकार प्रतिष्ठानको सङ्गठन मार्फत प्रयोग र पालना हुनेछन्।
परिच्छेद–३ सभाको गठन तथा काम, कर्तव्य र अधिकार
७. सभाको गठन : (१) प्रतिष्ठानको सर्वोच्च निकायको रुपमा एक सभा रहनेछ। (२) सभाको गठन देहाय बमोजिम हुनेछ: – (क) कुलपति –अध्यक्ष (ख) सहकुलपति –उपाध्यक्ष
(ग) सदस्य, राष्ट्रिय योजना आयोग (स्वास्थ्य क्षेत्र हेने) – सदस्य (घ) उपकुलपति – सदस्य (ङ) स्वास्थ्य विज्ञान सम्बन्धी उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत दुईजना – सदस्य (च) सचिव, मन्त्रालय – सदस्य (छ) सचिव, अर्थ मन्त्रालय – सदस्य (ज) सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय – सदस्य (झ) डीनहरूमध्येबाट सभाबाट मनोनीत एकजना – सदस्य (ञ) प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीमध्ये कार्यकारी परिषद्को सिफारिसमा एकजना – सदस्य (ट) प्रमुख, पोखरा महानगरपालिका – सदस्य (ठ) शिक्षकहरूमध्ये प्राज्ञिक परिषद्को सिफारिसमा कार्यकारी परिषद्बाट मनोनीत कम्तीमा एकजना महिला सहित दुईजना – सदस्य (ड) शैक्षिक संस्थाका प्रमुखहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत एकजना – सदस्य (ढ) दलित, आदिवासी/जनजाति तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व हुने गरी कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत कम्तीमा दुईजना महिला सहित चारजना – सदस्य (ण) चन्दादाताहरुमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत कम्तीमा एकजना महिला सहित दुईजना – सदस्य
(त) प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूमध्ये सभाबाट मनोनीत एकजना –सदस्य (थ) डीन –सदस्य–सचिव (३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ। (४) मनोनीत सदस्यको पद कुनै कारणले रिक्त हुन गएमा बाँकी अवधिको लागि सो पदमा पहिले जुन प्रक्रियाबाट पूर्ति गरिएको हो सोही प्रक्रिया बमोजिम अर्को व्यक्तिलाई मनोनयन गरिनेछ। (५) सभाको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
८. सभाको काम, कर्तव्य र अधिकार : सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:– (क) प्रतिष्ठानको नीति, योजना तथा कार्यक्रम स्वीकृत गर्ने, (ख) प्रतिष्ठानको वार्षिक बजेट स्वीकृत गर्ने, (ग) प्रतिष्ठानको नियम स्वीकृत गर्ने, (घ) प्रतिष्ठानको तर्फबाट प्रदान गरिने छात्रवृत्ति, उपाधि, प्रमाणपत्र, पदक तथा पुरस्कार प्रदान गर्ने, (ङ) तोकिए बमोजिम मानार्थ उपाधि प्रदान गर्ने, (च) प्रतिष्ठान मातहतका विभिन्न निकायलाई मार्गदर्शन गर्ने तथा आवश्यक निर्देशन दिने, (छ) राष्ट्रिय स्वास्थ्य तथा शिक्षा नीति निर्माण गर्ने क्रममा नेपाल सरकारलाई आवश्यक सुझाव दिने, (ज) प्रतिष्ठानको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, (झ) प्रतिष्ठानको लेखापरीक्षण प्रतिवेदन माथि छलफल गरी स्वीकृत गर्ने, (ञ) शैक्षिक संस्थाहरूको स्थापना सम्बन्धमा आवश्यक प्रबन्ध गर्ने, गराउने, (ट) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने।
परिच्छेद–४ प्राज्ञिक परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
९. प्राज्ञिक परिषद्को गठन : (१) प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धाननात्मक कार्यलाई व्यवस्थित एवं नियमित गर्ने निकायको रुपमा एक प्राज्ञिक परिषद् रहनेछ।
(२) प्राज्ञिक परिषद्को गठन देहाय बमोजिम हुनेछ:- (क) उपकुलपति –अध्यक्ष (ख) प्रतिष्ठानका विभिन्न विषयगत समितिका अध्यक्षहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत पाँचजना –सदस्य (ग) डीन –सदस्य (घ) प्रतिष्ठानका पाठ्यक्रम तथा परीक्षा सम्बन्धी निकायका प्रमुखहरू –सदस्य (ङ) शिक्षकहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत कम्तीमा एकजना महिला सहित दुईजना –सदस्य (च) स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत कम्तीमा एकजना महिला सहित दुईजना –सदस्य (छ) निर्देशक –सदस्य-सचिव
(३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ। (४) मनोनीत सदस्यको पद कुनै कारणले रिक्त हुन गएमा बाँकी अवधिको लागि सो पदमा पहिले जुन प्रक्रियाबाट पूरित गरिएको हो सोही प्रक्रिया बमोजिम अर्को व्यक्तिलाई मनोनयन गरिनेछ। (५) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
१०. प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार : प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यलाई व्यवस्थित एवं नियमित गर्न आवश्यक नीति, योजना तथा कार्यक्रम बनाई स्वीकृतिको लागि सभामा पेश गर्ने, (ख) स्वास्थ्य विज्ञान सम्बन्धी विभिन्न विषय र तहमा शिक्षा प्रदान गर्न अध्ययन तथा अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ग) प्रतिष्ठानको लागि आवश्यक पर्नु पर्ने शिक्षकको योग्यता निर्धारण गर्ने, (घ) प्रतिष्ठानबाट सञ्चालन हुने अध्ययन, अनुसन्धान, तालीम र प्रशिक्षण कार्यक्रमको स्तर निर्धारण तथा पाठ्यक्रम स्वीकृत गर्ने, (ङ) विद्यार्थी छनौट गर्ने, (च) परीक्षाको मापदण्ड निर्धारण गर्ने, (छ) परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने, (ज) प्रतिष्ठानबाट सञ्चालित अध्ययन कार्यक्रममा सफल हुने विद्यार्थीलाई उपाधि प्रदान गर्न सभामा सिफारिस गर्ने, (झ) प्रतिष्ठानको तर्फबाट प्रदान गरिने मानार्थ उपाधि, छात्रवृत्ति, पदक र पुरस्कार प्रदान गर्न सभामा सिफारिस गर्ने, (ञ) गुणस्तरीय पाठ्यपुस्तक तयार गर्ने, (ट) प्रतिष्ठानबाट सञ्चालन हुने अध्ययन, अनुसन्धान, तालीम तथा प्रशिक्षण कार्यक्रमको मूल्याङ्कन गर्ने, (ठ) अध्ययन, तालीम तथा अनुसन्धान बापतको शुल्क निर्धारण गर्ने, (ड) सभाबाट स्वीकृत प्राज्ञिक परिषद्सँग सम्बन्धित निर्णय कार्यान्वयन तथा अनुगमन गर्ने, (ढ) तोकिए बमोजिमका अन्य काम गर्ने।
परिच्छेद–५ कार्यकारी परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
११. कार्यकारी परिषद्को गठन : (१) प्रतिष्ठानको कार्यकारी निकायको रुपमा काम गर्न एक कार्यकारी परिषद् रहनेछ। (२) कार्यकारी परिषद्को गठन देहाय बमोजिम हुनेछ:– (क) उपकुलपति –अध्यक्ष (ख) डीन –सदस्य (ग) सदस्य रहेका शैक्षिक संस्थाका प्रमुखहरूमध्येबाट एकजना –सदस्य (घ) शिक्षकहरूमध्येबाट कम्तिमा एकजना महिला सहित दुईजना –सदस्य
(ङ) निर्देशक –सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (ग) र (घ) बमोजिमका सदस्यको मनोनयन उपकुलपतिको सिफारिसमा सहकुलपतिले गर्नेछ। (४) उपदफा (३) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुन्छ। (५) कार्यकारी परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
१२. कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार : कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकारदेहाय बमोजिम हुनेछ :– (क) सभाको निर्णय तथा निर्देशन कार्यान्वयन गर्ने, गराउने, (ख) प्रतिष्ठानको लागि आवश्यक पर्ने नियमको मस्यौदा तयार गरी स्वीकृतिको लागि सभामा पेश गर्ने, (ग) प्रतिष्ठानको नीति, योजना, वार्षिक कार्यक्रम, प्रगति विवरण, वार्षिक बजेट, लेखापरीक्षण प्रतिवेदन तथा अन्य प्रस्तावहरू तयार गरी स्वीकृतिको लागि सभामा पेश गर्ने, (घ) मातहतका निकायबाट सम्पन्न भएका काम कारबाहीको अनुगमन तथा मूल्याङ्कन गर्ने तथा आवश्यकता अनुसार त्यस्ता निकायलाई निर्देशन दिने, (ङ) सभाको नीति निर्देशनको अधीनमा रही प्रतिष्ठानको कोष तथा चल अचल सम्पत्तिको सञ्चालन, रेखदेख र संरक्षण गर्ने, बेचबिखन गर्ने तथा ठेक्कापट्टामा दिने, तर नेपाल सरकारबाट प्राप्त अचल सम्पत्ति बेचबिखन गर्दा नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ। (च) पदपूर्ति समितिको सिफारिसमा प्रतिष्ठानको लागि आवश्यक पर्ने शिक्षक तथा कर्मचारी नियुक्ति तथा बढुवा गर्ने, (छ) प्रतिष्ठानलाई प्राप्त विभिन्न किसिमका सहयोग ग्रहण गर्ने, (ज) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने।
परिच्छेद–६ पदपूर्ति समितिको गठन तथा काम, कर्तव्य र अधिकार
१३. पदपूर्ति समितिको गठन : (१) प्रतिष्ठानको शिक्षक तथा कर्मचारीको नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्न एक पदपूर्ति समिति रहनेछ। (२) पदपूर्ति समितिमा देहायका सदस्यहरु रहनेछन्:– (क) सभाले तोकेको व्यक्ति –अध्यक्ष (ख) लोक सेवा आयोगको सचिव वा निजले तोकेको प्रतिनिधि –सदस्य (ग) शिक्षकहरूमध्ये कार्यकारी परिषद्ले नियुक्ति गरेको एकजना –सदस्य–सचिव (३) उपदफा (२) को खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्य–सचिवको पदावधि चार वर्षको हुनेछ। (४) पदपूर्ति समितिको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ। (५) पदपूर्ति समितिको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
परिच्छेद–७ सङ्काय, शैक्षिक संस्था, अस्पताल तथा अन्य निकाय
१४. सङ्काय तथा अनुसन्धान केन्द्र सम्बन्धी व्यवस्था : (१) प्रतिष्ठानले सङ्काय तथा अनुसन्धान केन्द्रको स्थापना गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम स्थापित सङ्काय तथा अनुसन्धान केन्द्रको गठन तथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
१५. शैक्षिक संस्थाको स्थापना तथा सञ्चालन : (१) प्रतिष्ठानले स्वास्थ्य विज्ञान सम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले आवश्यकता अनुसार शैक्षिक संस्थाको स्थापना गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम स्थापित शैक्षिक संस्थाको सञ्चालन तोकिए बमोजिम हुनेछ।
१६. अस्पतालको स्थापना र सञ्चालन : (१) प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न र गुणस्तरीय एवं सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि अस्पतालको स्थापना गर्नेछ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम स्थापना भई सञ्चालन भइरहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उपदफा (१) बमोजिम स्थापना भएको मानिनेछ। (३) अस्पतालको सञ्चालन तथा व्यवस्थापन तोकिए बमोजिम हुनेछ।
१७. अस्पताल व्यवस्थापन समिति : (१) अस्पताललाई सुचारु रुपले सञ्चालन गर्न, गराउनको लागि एक अस्पताल व्यवस्थापन समिति रहनेछ। (२) अस्पताल व्यवस्थापन समितिको गठन तथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
परिच्छेद–८ प्रतिष्ठानका पदाधिकारी, शिक्षक तथा कर्मचारी
१८. कुलपति : (१) प्रधानमन्त्री प्रतिष्ठानको कुलपति हुनेछ। (२) कुलपति प्रतिष्ठानको प्रमुख हुनेछ। (३) कुलपतिले प्रतिष्ठानको निरीक्षण गर्न सक्नेछ।
१९. सहकुलपति : (१) स्वास्थ्य मन्त्री वा राज्यमन्त्री प्रतिष्ठानको सहकुलपति हुनेछ। (२) सहकुलपतिले प्रतिष्ठानको आवश्यकता अनुसार निरीक्षण गर्न र प्रतिष्ठानलाई निर्देशन दिन सक्नेछ।
२०. उपकुलपति : (१) उपकुलपति प्रतिष्ठानमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ। (२) उपकुलपतिको पदमा नियुक्तिको लागि सिफारिस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा सभाका अन्य दुईजना सदस्य रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिले उपकुलपति नियुक्ति गर्नेछ।
२१. डीन : (१) प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक कार्य र सङ्कायको प्रमुख भई काम गर्नको लागि उपकुलपतिले डीनको नियुक्ति गर्नेछ। (२) डीन प्रतिष्ठानको पूरा समय काम गर्ने पदाधिकारी हुनेछ। (३) उपदफा (१) बमोजिमको नियुक्ति तोकिए बमोजिम हुनेछ।
२२. निर्देशक : अस्पतालको प्रशासकीय प्रमुखको रुपमा काम गर्नको लागि उपकुलपतिले डीनको सिफारिसमा निर्देशकको नियुक्ति गर्नेछ।
२३. पदाधिकारीको पदावधि, सेवा, सर्त तथा काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था : (१) उपकुलपति, डीन तथा निर्देशकको पदावधि चार वर्षको हुनेछ। (२) प्रतिष्ठानमा उपदफा (१) मा उल्लेख भए बाहेक तोकिए बमोजिमका अन्य पदाधिकारीहरू रहन सक्नेछन्। (३) उपदफा (१) वा (२) बमोजिमका पदाधिकारीहरुको नियुक्ति, सेवा, सर्त तथा काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ।
२४. पदबाट हटाउन सक्ने : (१) उपकुलपतिले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको वा पद अनुरुपको आचरण नगरेको वा इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेको छैन भनी सभामा तत्काल कायम रहेका एक चौथाई सदस्यले कुलपतिसमक्ष लिखित निवेदन दिएमा कुलपतिले सभाको कुनै सदस्यको अध्यक्षतामा अन्य एकजना सदस्य र मन्त्रालयका सचिव रहेको तीन सदस्यीय एक छानबिन समिति गठन गर्नेछ। (२) उपदफा (१) बमोजिमको छानबिन समितिले उपकुलपतिले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, इमानदारीपूर्वक काम नगरेको वा आफ्नो कर्तव्य पालन नगरेको सिफारिस गरेमा र सो कुरा सभाको बैठकबाट पारित भएमा कुलपतिले त्यस्तो उपकुलपतिलाई निजको पदबाट हटाउनेछ। (३) उपदफा (१) बमोजिम छानबिन समिति गठन भएपछि उपदफा (२) बमोजिम सभाबाट निर्णय नभएसम्म त्यस्तो पदाधिकारी आफ्नो पदबाट स्वतः निलम्बन हुनेछ। (४) उपकुलपति बाहेक प्रतिष्ठानका अन्य पदाधिकारीलाई पदबाट हटाउने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ। (५) उपदफा (२) बमोजिम प्रतिष्ठानका पदाधिकारीलाई पदबाट हटाउने सिफारिस गर्नु अघि छानबिन समितिले निज उपर लागेको आरोपको सफाई पेश गर्ने मौका दिनु पर्नेछ।
२५. प्रतिष्ठानका शिक्षक तथा कर्मचारी : (१) प्रतिष्ठानमा आवश्यक संख्यामा शिक्षक तथा कर्मचारीहरू रहने छन्। (२) प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको नियुक्ति पदपूर्ति समितिको सिफारिसमा तोकिए बमोजिम हुनेछ।
(३) प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त तोकिए बमोजिम हुनेछ।
परिच्छेद–९ प्रतिष्ठानको कोष, लेखा तथा लेखापरीक्षण
२६. प्रतिष्ठानको कोष : (१) प्रतिष्ठानको एउटा छुट्टै कोष हुनेछ। (२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहने छन्– (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) शैक्षिक शुल्क तथा सेवा शुल्कबाट प्राप्त रकम, (ग) स्वदेशी वा विदेशी व्यक्ति, संघ, संस्था वा विदेशी सरकारबाट अनुदान वा ऋण स्वरूप प्राप्त रकम, (घ) अन्य स्रोतबाट प्राप्त रकम। (३) उपदफा (२) को खण्ड (ग) बमोजिम प्रतिष्ठानले विदेशी व्यक्ति, संघ, संस्था वा सरकारबाट कुनै रकम प्राप्त गर्नु अघि नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ। (४) प्रतिष्ठानको कोषको रकम कुनै वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ। (५) प्रतिष्ठानको सबै खर्चहरू उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ। (६) प्रतिष्ठानको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ।
२७. लेखा र लेखापरीक्षण : (१) प्रतिष्ठानको आय–व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ। (२) प्रतिष्ठानको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ।
परिच्छेद–१० विविध
२८. सम्बन्धन दिन नसक्ने : प्रतिष्ठानले कुनै शैक्षिक संस्थालाई सम्बन्धन दिन सक्ने छैन। २९. अन्य संस्थालाई समाहित गर्न सक्ने : (१) प्रचलित कानून बमोजिम स्थापना भई सञ्चालन भएका स्वास्थ्य विज्ञान सम्बन्धी कुनै संस्था प्रतिष्ठानसँग समाहित हुन चाहेमा प्रतिष्ठानले त्यस्तो संस्थालाई प्रतिष्ठानमा समाहित गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम संस्था समाहित गर्ने सम्बन्धी आधार तथा कार्यविधि तोकिए बमोजिम हुनेछ।
३०. स्वास्थ्य र शिक्षा सम्बन्धी राष्ट्रिय नीति अनुरूप काम गर्नु पर्ने : प्रतिष्ठानले नेपाल सरकारबाट स्वीकृत भएको स्वास्थ्य र शिक्षा सम्बन्धी राष्ट्रिय नीति अनुरूप काम गर्नु पर्नेछ।
३१. आरक्षण सम्बन्धी व्यवस्था : (१) प्रतिष्ठानले प्रत्येक शैक्षिक सत्रमा स्नातकसम्मका विभिन्न तहमा विद्यार्थी भर्ना गर्दा पिछडिएको क्षेत्रमा स्थायी बसोबास गरी सो क्षेत्रको सामुदायिक विद्यालयबाट $\Sigma$ प्रवेशिका परीक्षा वा सो सरह उत्तीर्ण गरेका आर्थिक रुपले विपन्न नेपाली विद्यार्थीलाई दश प्रतिशत स्थानको लागि आरक्षणको व्यवस्था गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिम आरक्षण गरिएका स्थानमा पिछडिएका क्षेत्रमा महिला, दलित, आदिवासी/जनजाति, मधेसी तथा पिछडिएका वर्गका विद्यार्थीलाई प्राथमिकता दिइनेछ। (३) उपदफा (१) बमोजिम आरक्षण प्रदान प्रतिस्पर्धाद्वारा विद्यार्थी छनौट गरिनेछ।
३२. विद्यार्थी भर्ना गर्दा प्राथमिकता दिनु पर्ने : प्रतिष्ठानले विभिन्न तहका विद्यार्थी भर्ना गर्दा पिछडिएका क्षेत्रका स्वास्थ्य संस्थामा तोकिएको अवधिभर सेवा प्रदान गरेका व्यक्तिलाई प्राथमिकता दिनु पर्नेछ।
३३. छात्रवृत्ति उपलब्ध गराउनु पर्ने : (१) प्रतिष्ठानले प्रत्येक शैक्षिक सत्रमा भर्ना गर्ने कुल विद्यार्थी संख्याको कम्तीमा पच्चीस प्रतिशत स्थानमा विपन्न विद्यार्थीलाई पूर्ण रुपमा छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ। स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “विपन्न” भन्नाले सामुदायिक विद्यालयमा अध्ययन गरी $\Sigma$ प्रवेशिका परीक्षा वा सो सरह उत्तीर्ण गरेका विद्यार्थीहरूमध्ये तोकिएको आधारमा सम्बन्धित स्थानीय तहले विपन्न भनी सिफारिस गरेको विद्यार्थीलाई जनाउँछ। (२) उपदफा (१) बमोजिम पच्चीस प्रतिशतलाई शतप्रतिशत मानी सोको पैँतालीस प्रतिशत स्थानमा महिला, दलित, आदिवासी/जनजाति, मधेसी तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाईमात्र छात्रवृत्ति उपलब्ध गराइनेछ। (३) प्रतिष्ठानले विपन्न विद्यार्थीलाई आंशिक रुपमा छात्रवृत्ति उपलब्ध गराउन सक्नेछ। (४) उपदफा (१) र (२) बमोजिम छात्रवृत्ति उपलब्ध गराउने आधार तोकिए बमोजिम हुनेछ।
$\Sigma$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
(५) कुनै निकाय वा संस्थाले कुनै विद्यार्थीलाई प्रतिष्ठानमा अध्ययनको लागि छात्रवृत्ति उपलब्ध गराउन सक्नेछ।
३४. तोकेको स्थानमा काम गर्नु पर्ने : (१) यस ऐन बमोजिम आरक्षण वा छात्रवृत्तिमा अध्ययन गरेको विद्यार्थीले प्रतिष्ठानले तोकेको अवधिभर पिछडिएका क्षेत्रमा काम गर्नु पर्नेछ। (२) कुनै निकाय वा संस्थाको छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले त्यस्तो छात्रवृत्ति पाए बापत कुनै ठाउँमा निश्चित अवधिसम्म काम गर्नु पर्ने गरी छात्रवृत्ति प्रदान गर्ने निकाय वा संस्थाले शर्त राखेको भए सोही शर्त बमोजिम र त्यसरी शर्त नराखेको भए उपदफा (१) बमोजिमको अवधिभर काम गर्नु पर्नेछ। (३) दफा ३२ बमोजिम प्रतिष्ठानको प्राथमिकतामा भर्ना भएका विद्यार्थीले प्रतिष्ठानले तोकेको अवधिभर पिछडिएको क्षेत्रमा काम गर्नु पर्नेछ। (४) दफा ३१ को उपदफा (१) बमोजिमको आरक्षण र दफा ३२ र ३३ बमोजिमको प्राथमिकता वा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले उपदफा (१), (२) वा (३) मा उल्लेखित पूरा अवधि काम गरे पछि मात्र प्रतिष्ठानले त्यस्तो विद्यार्थीलाई शैक्षिक योग्यताको स्थायी प्रमाणपत्र दिनेछ। (५) प्रतिष्ठानले दफा ३१, ३२ र ३३ बमोजिमको आरक्षण, प्राथमिकता वा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी बाहेक प्रतिष्ठानमा अध्ययन गर्ने अन्य विद्यार्थीलाई अध्ययन पश्चात् पिछडिएका क्षेत्रको स्वास्थ्य संस्थामा काम गर्न प्रोत्साहित गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ।
३५. वार्षिक प्रतिवेदन : (१) प्रतिष्ठानले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आफूले वर्षभरिमा गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त प्रतिष्ठानले वर्षभरिमा गरेको कामको संक्षिप्त विवरण र प्रतिष्ठानको उपलब्धि लगायतका कुराहरू उल्लेख गर्नु पर्नेछ।
३६. अधिकार प्रत्यायोजन : (१) सभाले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकता अनुसार केही अधिकार प्राज्ञिक परिषद्, कार्यकारी परिषद् वा उपकुलपतिलाई प्रत्यायोजन गर्न सक्नेछ।
(२) प्राज्ञिक परिषद्, कार्यकारी परिषद् वा पदपूर्ति समितिले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकता अनुसार केही अधिकार प्रतिष्ठानका कुनै पदाधिकारी वा मातहतका कुनै निकायलाई प्रत्यायोजन गर्न सक्नेछ।
३७. काम कारबाही बदर नहुने : प्रतिष्ठानको कुनै पदाधिकारी वा सदस्यको स्थान रिक्त भई वा प्रतिष्ठानको कुनै सङ्गठनको कुनै पदाधिकारी वा सदस्यको नियुक्ति वा मनोनयनमा त्रुटि भएको कारणलेमात्र प्रतिष्ठानबाट भए गरेको काम कारबाही बदर हुने छैन।
३८. अनुगमन तथा निर्देशन सम्बन्धी व्यवस्था : प्रतिष्ठानको काम कारबाहीको सम्बन्धमा नेपाल सरकारले प्रतिष्ठानको अनुगमन गरी आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु प्रतिष्ठानको कर्तव्य हुनेछ।
३९. नेपाल सरकारसँग सम्पर्क : प्रतिष्ठानले नेपाल सरकारसँग सम्पर्क राख्दा मन्त्रालय मार्फत राख्नु पर्नेछ।
४०. शपथ लिनु पर्ने : प्रतिष्ठानको पदाधिकारीको पदमा नियुक्त भएको व्यक्तिले आफ्नो पदको कार्यभार सम्हाल्नु अघि जो whoever बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ।
४१. कर्मचारी प्रतिष्ठानमा रहन सक्ने : (१) यो ऐन प्रारम्भ हुँदाका बखत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत नेपाल स्वास्थ्य सेवाका कर्मचारीहरूमध्ये प्रतिष्ठानमा काम गर्न चाहने कर्मचारीले यस ऐन अन्तर्गत बनेको कर्मचारी सेवा सम्बन्धी नियम प्रारम्भ भएको मितिले छ महिनाभित्र मन्त्रालयमा निवेदन दिनु पर्नेछ। (२) उपदफा (१) बमोजिम निवेदन दिने कर्मचारीलाई मन्त्रालयले प्रतिष्ठानको कर्मचारीको रुपमा रहने स्वीकृति दिएमा त्यस्ता कर्मचारी प्रतिष्ठानको कर्मचारी मानिनेछ। (३) उपदफा (२) बमोजिम प्रतिष्ठानमा रहने कर्मचारीले स्वास्थ्य सेवामा काम गरेको सेवा अवधि प्रतिष्ठानको सेवा अवधिमा गणना हुनेछ।
४२. नियम बनाउने अधिकार : (१) यस ऐनको कार्यान्वयनको लागि प्रतिष्ठानले आवश्यक नियम बनाउन सक्नेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्ने विषयमा नियम बनाउँदा मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
४३. मापदण्ड बनाउन सक्ने : प्रतिष्ठानको काम कारबाहीलाई प्रभावकारी तथा गुणस्तरीय बनाउनको लागि नेपाल सरकारले स्वास्थ्य तथा शिक्षा सम्बन्धी आवश्यक मापदण्ड बनाउन सक्नेछ र त्यस्तो मापदण्डको पालना गर्नु प्रतिष्ठानको कर्तव्य हुनेछ।
४४ खारेजी र बचाउ : (१) पश्चिममाञ्चल क्षेत्रीय अस्पताल विकास समिति (गठन) आदेश, २०४३ खारेज गरिएको छ। (२) उपदफा (१) बमोजिमको गठन आदेश बमोजिमको विकास समितिमा कार्यरत शिक्षक तथा कर्मचारी प्रतिष्ठानको समान स्तर र तहको पदमा सरेको मानिनेछ। (३) उपदफा (१) बमोजिमको आदेश बमोजिम भए गरेका सबै काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ। (४) उपदफा (१) बमोजिमको आदेश बमोजिमको विकास समितिको नाममा रहेको चल, अचल सम्पत्ति, लेनदेन कारोबार, ऋण, धन लगायत सम्पूर्ण अधिकार तथा दायित्व प्रतिष्ठानमा सरेको मानिनेछ। (५) यस ऐन बमोजिम अस्पताल व्यवस्थापन समिति गठन नभएसम्मको लागि उपदफा (१) बमोजिमको आदेश बमोजिम गठित समितिले सो अस्पताल व्यवस्थापन समितिको काम गर्नेछ।