राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४
प्रमाणीकरण र प्रकाशन मिति २०७४।०६।२९
संशोधन गर्ने ऐन १. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९ २. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९ ३. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ २०८२।०४।१४ ४. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८३ २०८३।०३।२५
सम्वत् २०७४ सालको ऐन नं. ३३ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ।
परिच्छेद -१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा,– (क) “अस्पताल” भन्नाले दफा १५ बमोजिमको अस्पताल सम्झनु पर्छ। (ख) “अस्पताल व्यवस्थापन समिति” भन्नाले दफा १६ बमोजिम गठन भएको अस्पताल व्यवस्थापन समिति सम्झनु पर्छ।
(ग) “उपकुलपति” भन्नाले दफा १९ बमोजिमको उपकुलपति सम्झनु पर्छ। (घ) “कायनकारी परिषद्” भन्नाले दफा ११ बमोजिम गठन भएको कायनकारी परिषद् सम्झनु पर्छ। (ङ) “कुलपति” भन्नाले दफा १७ बमोजिमको कुलपति सम्झनु पर्छ। (च) “डीन” भन्नाले दफा २२ बमोजिमको डीन सम्झनु पर्छ। (छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ। (ज) “निदेशक” भन्नाले दफा २३ बमोजिमको निदेशक सम्झनु पर्छ। (झ) “प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्झनु पर्छ। (ञ) “प्राज्ञिक परिषद्” भन्नाले दफा ९ बमोजिम गठन भएको प्राज्ञिक परिषद् सम्झनु पर्छ। (ट) “मन्त्रालय” भन्नाले नेपाल सरकारको स्वास्थ्य सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ। (ठ) “रजिस्ट्रार” भन्नाले दफा २१ बमोजिमको रजिस्ट्रार सम्झनु पर्छ। (ड) “शिक्षक” भन्नाले प्रतिष्ठानमा अध्यापन तथा अनुसन्धान गर्न नियुक्त भएको व्यक्ति सम्झनु पर्छ। (ढ) “शिक्षाध्यक्ष” भन्नाले दफा २० बमोजिमको शिक्षाध्यक्ष सम्झनु पर्छ। (ण) “शैक्षिक संस्था” भन्नाले दफा १४ बमोजिम स्थापना भएको शैक्षिक संस्था सम्झनु पर्छ। (त) “सभा” भन्नाले दफा ७ बमोजिम गठन भएको सभा सम्झनु पर्छ। (थ) “सहकुलपति” भन्नाले दफा १८ बमोजिमको सहकुलपति सम्झनु पर्छ।
परिच्छेद - २ प्रतिष्ठानको स्थापना, स्वरूप तथा काम, कर्तव्य र अधिकार
३. प्रतिष्ठानको स्थापना : (१) स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने काम समेतको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरिएको छ।
(२) प्रतिष्ठानको मुख्य कार्यालय दाङ जिल्लाको घोराहीमा रहनेछ। (३) प्रतिष्ठानलाई अङ्ग्रेजी भाषामा राप्ती एकेडेमी अफ हेल्थ साइन्सेज भनिनेछ।
४. प्रतिष्ठान स्वाशासित संस्था हुने : (१) प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला एक स्वाशासित संस्था हुनेछ। (२) प्रतिष्ठानको सबै काम कारबाहीको लागि आफ्नो एउटा छुट्टै छाप हुनेछ। (३) प्रतिष्ठानले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ। (४) प्रतिष्ठानले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र प्रतिष्ठान उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ।
५. प्रतिष्ठानको स्वरूप : प्रतिष्ठानमा देहाय बमोजिमका सङ्गठनहरू रहनेछन् र तिनिहरूको सामूहिक रूप नै प्रतिष्ठानको स्वरूप हुनेछ :- (क) सभा, (ख) प्राज्ञिक परिषद्, (ग) कार्यकारी परिषद्, (घ) सेवा आयोग, (ङ) विद्या परिषद्, (च) सङ्काय, (छ) अनुसन्धान केन्द्र, (ज) शैक्षिक संस्था, (झ) अस्पताल, (ञ) तोकिए बमोजिमका अन्य निकाय।
६. प्रतिष्ठानको काम, कर्तव्य र अधिकार : (१) प्रतिष्ठानको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा अध्ययन, अध्यापन, तालीम तथा अनुसन्धान गर्ने, गराउने, (ख) गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने, (ग) स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा अध्ययन, अध्यापन, तालीम संस्था तथा अस्पतालसँग सम्झौता गर्ने,
(घ) गुणस्तरीय स्वास्थ्य सेवाको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने, (ङ) प्रतिष्ठानद्वारा सञ्चालन गरिने विभिन्न कार्यक्रमहरूलाई सुदृढ तुल्याउन र त्यस्ता कार्यक्रमको गुणस्तर अभिवृद्धि गर्न स्वदेशी वा विदेशी विश्वविद्यालय, शैक्षिक संस्था वा अस्पतालसँग समन्वय कायम गर्ने, (च) स्वास्थ्यसँग सम्बन्धित स्वदेशी तथा विदेशी विश्वविद्यालय, प्रतिष्ठान र अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्बन्ध स्थापना, विस्तार र सुदृढ गरी पारस्परिक सहयोग आदानप्रदान गर्ने, (छ) स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा गोष्ठी, सम्मेलन, सेमिनार, अन्तरक्रिया आयोजना गर्ने, गराउने, (ज) स्वास्थ्य सम्बन्धी विभिन्न पुस्तक, पत्रिका, बुलेटिन तथा सचेतना पोष्टर प्रकाशन गर्ने, गराउने, (झ) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने। (२) प्रतिष्ठानको काम, कर्तव्य र अधिकार प्रतिष्ठानको संगठन मार्फत प्रयोग र पालना हुनेछन्।
परिच्छेद -३ सभाको गठन तथा काम, कर्तव्य र अधिकार
७ सभाको गठन : (१) प्रतिष्ठानको सर्वोच्च निकायको रुपमा एक सभा रहनेछ। (२) सभाको गठन देहाय बमोजिम हुनेछ :- (क) कुलपति - अध्यक्ष (ख) सहकुलपति - उपाध्यक्ष (ग) सदस्य, राष्ट्रिय योजना आयोग (स्वास्थ्य क्षेत्र हेर्ने) - सदस्य (घ) उपकुलपति - सदस्य (ङ) स्वास्थ्य विज्ञान सम्बन्धी उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा अन्य प्रतिष्ठानका उपकुलपतिहरूमध्ये कार्यकारी परिषद्को
सिफारिसमा सभाबाट मनोनीत दुई जना - सदस्य (च) सचिव, मन्त्रालय - सदस्य (छ) सचिव, नेपाल सरकार अर्थ मन्त्रालय - सदस्य (ज) सचिव, नेपाल सरकारको शिक्षा सम्बन्धी विषय हुने मन्त्रालय - सदस्य (झ) शिक्षाध्यक्ष - सदस्य (ञ) डीनहरूमध्येबाट सभाबाट मनोनीत एक जना - सदस्य (ट) निर्देशक - सदस्य (ठ) प्रमुख, दाङ्ग जिल्ला समन्वय समिति - सदस्य (ड) प्रमुख, घोराही उपमहानगरपालिका - सदस्य (ढ) शिक्षकहरूमध्ये प्राज्ञिक परिषद्को सिफारिसमा कार्यकारी परिषद्बाट मनोनीत कम्तीमा एक जना महिला सहित दुई जना - सदस्य (ण) शैक्षिक संस्थाका प्रमुखहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत एक जना - सदस्य (त) अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् - सदस्य (थ) अध्यक्ष, नेपाल मेडिकल काउन्सिल - सदस्य (द) दलित, आदिवासी/जनजाति तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व हुने गरी कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत कम्तीमा दुई जना महिला सहित चार जना - सदस्य (ध) चन्दादाताहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत कम्तीमा एकजना महिला सहित दुई जना - सदस्य (न) प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूमध्ये सभाबाट मनोनीत एक जना - सदस्य (प) रजिस्ट्रार - सदस्य सचिव
(३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ।
(४) मनोनीत सदस्यको पद कुनै कारणले रिक्त हुन गएमा बाँकी अवधिको लागि सो पदमा पहिले जुन प्रक्रियाबाट पूर्ति गरिएको हो, सोही प्रक्रिया बमोजिम अर्को व्यक्तिलाई मनोनयन गरिनेछ। (५) सभाको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
८. सभाको काम, कर्तव्य र अधिकार : सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) प्रतिष्ठानको नीति, योजना तथा कार्यक्रम स्वीकृत गर्ने, (ख) प्रतिष्ठानको वार्षिक बजेट स्वीकृत गर्ने, (ग) प्रतिष्ठानको नियम स्वीकृत गर्ने, (घ) प्रतिष्ठानको तर्फबाट प्रदान गरिने छात्रवृत्ति, उपाधि, प्रमाणपत्र, पदक तथा पुरस्कार प्रदान गर्ने, (ङ) तोकिए बमोजिम मानद उपाधि प्रदान गर्ने, (च) आफ्नो मातहतमा रहेका प्रतिष्ठानका विभिन्न निकायलाई मार्गदर्शन गर्ने तथा आवश्यक निर्देशन दिने, (छ) राष्ट्रिय स्वास्थ्य तथा शिक्षा नीति निर्माण गर्ने क्रममा नेपाल सरकारलाई आवश्यक सुझाव दिने, (ज) प्रतिष्ठानको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, (झ) प्रतिष्ठानको लेखापरीक्षण प्रतिवेदनमा छलफल गर्ने र स्वीकृत गर्ने, (ञ) शैक्षिक संस्थाहरूको स्थापना सम्बन्धमा आवश्यक प्रबन्ध गर्ने, गराउने, (ट) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने।
परिच्छेद -४ प्राज्ञिक परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
९. प्राज्ञिक परिषद्को गठन : (१) प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धाननात्मक कार्यलाई व्यवस्थित र नियमित गर्ने निकायको रूपमा एक प्राज्ञिक परिषद् रहनेछ। (२) प्राज्ञिक परिषद्को गठन देहाय बमोजिम हुनेछ :- (क) शिक्षाध्यक्ष - अध्यक्ष (ख) प्रतिष्ठानका विभिन्न विषयगत समितिहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत पाँच जना - सदस्य
(ग) निर्देशक - सदस्य (घ) प्रतिष्ठानका पाठ्यक्रम तथा परीक्षा सम्बन्धी निकायका प्रमुखहरू - सदस्य (ङ) शिक्षकहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत कम्तीमा एक जना महिला सहित दुई जना - सदस्य (च) स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत कम्तीमा एक जना महिला सहित दुई जना - सदस्य (छ) डीनहरूमध्येबाट उपकुलपतिले मनोनीत गरेको डीन - सदस्य सचिव (३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ। (४) मनोनीत सदस्यको पद कुनै कारणले रिक्त हुन गएमा बाँकी अवधिको लागि सो पदमा पहिले जुन प्रक्रियाबाट पूर्ति गरिएको हो सोही प्रक्रिया बमोजिम अर्को व्यक्तिलाई मनोनयन गरिनेछ। (५) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ। १०. प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार : प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यलाई व्यवस्थित एवं नियमित गर्न आवश्यक नीति, योजना तथा कार्यक्रम बनाई स्वीकृतिको लागि सभामा पेश गर्ने, (ख) स्वास्थ्य विज्ञान सम्बन्धी विभिन्न विषय र तहमा शिक्षा प्रदान गर्न अध्ययन तथा अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने, गराउने, (ग) प्रतिष्ठानको लागि आवश्यक पर्ने शिक्षकको योग्यता निर्धारण गर्ने, (घ) प्रतिष्ठानबाट सञ्चालन हुने अध्ययन, अनुसन्धान, तालिम र प्रशिक्षण कार्यक्रमको स्तर निर्धारण तथा पाठ्यक्रम स्वीकृत गर्ने, (ङ) विद्यार्थी छनौट गर्ने, (च) परीक्षाको मापदण्ड निर्धारण गर्ने,
(छ) परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने, (ज) प्रतिष्ठानबाट सञ्चालित अध्ययन कार्यक्रममा सफल हुने विद्यार्थीलाई उपाधि प्रदान गर्न सभामा सिफारिस गर्ने, (झ) प्रतिष्ठानको तर्फबाट प्रदान गरिने मानार्थ उपाधि, छात्रवृत्ति, पदक र पुरस्कार प्रदान गर्न सभामा सिफारिस गर्ने, (ञ) गुणस्तरीय पाठ्यपुस्तक तयार गर्ने, (ट) प्रतिष्ठानबाट सञ्चालन हुने अध्ययन, अनुसन्धान, तालिम तथा प्रशिक्षण कार्यक्रमको मूल्यांकन गर्ने, (ठ) अध्ययन, तालिम तथा अनुसन्धान बापतको शुल्क निर्धारण गर्ने, (ड) सभाबाट स्वीकृत प्राज्ञिक परिषद्सँग सम्बन्धित निर्णय कार्यान्वयन तथा अनुगमन गर्ने, (ढ) तोकिए बमोजिमका अन्य काम गर्ने।
परिक्च्छेद–५ कार्यकारी परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
११. कार्यकारी परिषद्को गठन : (१) प्रतिष्ठानको कार्यकारी निकायको रुपमा काम गर्न एक कार्यकारी परिषद् रहनेछ। (२) कार्यकारी परिषद्को गठन देहाय बमोजिम हुनेछ :- (क) उपकुलपति - अध्यक्ष (ख) शिक्षाध्यक्ष - सदस्य (ग) डीनहरूमध्येबाट एक जना - सदस्य (घ) सभाका सदस्य रहेका शैक्षिक संस्थाका प्रमुखहरूमध्येबाट एक जना - सदस्य (ङ) निर्देशक - सदस्य (च) शिक्षकहरूमध्येबाट एक जना - सदस्य (छ) रजिस्ट्रार - सदस्य-सचिव
(३) उपदफा (२) को खण्ड (ग), (घ) र (च) बमोजिमका सदस्यको मनोनयन उपकुलपतिको सिफारिसमा सहकुलपतिले गर्नेछ। (४) उपदफा (२) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ।
(५) कार्यकारी परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
१२. कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार : कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) सभाको निर्णय तथा निर्देशन कार्यान्वयन गर्ने, गराउने, (ख) प्रतिष्ठानको लागि आवश्यक पर्ने नियमको मस्यौदा तयार गरी स्वीकृतिको लागि सभामा पेश गर्ने, (ग) प्रतिष्ठानको नीति, योजना, वार्षिक कार्यक्रम, प्रगति विवरण, वार्षिक बजेट, लेखापरीक्षण प्रतिवेदन तथा अन्य प्रस्तावहरू तयार गरी स्वीकृतिको लागि सभामा पेश गर्ने, (घ) मातहतका निकायबाट सम्पन्न भएका काम, कारबाहीको अनुगमन तथा मूल्याङ्कन गर्ने तथा आवश्यकता अनुसार त्यस्ता निकायलाई निर्देशन दिने, (ङ) सभाको नीति निर्देशनको अधीनमा रही प्रतिष्ठानको कोष तथा चल अचल सम्पत्तिको सञ्चालन, रेखदेख र संरक्षण गर्ने, बेचतबखन गर्ने तथा ठेक्कापट्टामा दिने, तर नेपाल सरकारबाट प्राप्त अचल सम्पत्ति बेचतबखन गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्नेछ। (च) प्रतिष्ठानलाई प्राप्त विभिन्न किसिमका सहयोग ग्रहण गर्ने, (छ) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने।
परिच्छेद -६ विद्यापरिषद्, सङ्काय, शैक्षिक संस्था, अस्पताल तथा अन्य निकाय
१३. विद्यापरिषद्, सङ्काय तथा अनुसन्धान केन्द्र सम्बन्धी व्यवस्था : (१) प्रतिष्ठानले विद्यापरिषद्, सङ्काय तथा अनुसन्धान केन्द्रको स्थापना गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम स्थापित विद्यापरिषद्, सङ्काय तथा अनुसन्धान केन्द्रको गठन तथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
१४. शैक्षिक संस्थाको स्थापना तथा सञ्चालन : (१) प्रतिष्ठानले स्वास्थ्य विज्ञान सम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले आवश्यकता अनुसार शैक्षिक संस्थाको स्थापना गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम स्थापित शैक्षिक संस्थाको सञ्चालन तोकिए बमोजिम हुनेछ।
१५. अस्पतालको स्थापना र सञ्चालन : (१) प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न र गुणस्तरीय तथा सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि अस्पतालको स्थापना गर्नेछ। (२) यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम स्थापना भई सञ्चालन भइरहेको राष्ट्रिय उपक्षेत्रीय अस्पताल उपदफा (१) बमोजिम स्थापना भएको मानिनेछ। (३) अस्पतालको सञ्चालन तथा व्यवस्थापन तोकिए बमोजिम हुनेछ।
१६. अस्पताल व्यवस्थापन समिति : (१) अस्पताललाई सुचारु रुपले सञ्चालन गर्न, गराउनको लागि एक अस्पताल व्यवस्थापन समिति रहनेछ। (२) अस्पताल व्यवस्थापन समितिको गठन तथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
परिच्छेद - ८ प्रतिष्ठानका पदाधिकारी, शिक्षक तथा कर्मचारी
१७. कुलपति : (१) प्रधानमन्त्री प्रतिष्ठानको कुलपति हुनेछ। (२) कुलपति प्रतिष्ठानको प्रमुख हुनेछ। (३) कुलपतिले प्रतिष्ठानको निरीक्षण गर्न सक्नेछ।
१८. सहकुलपति : स्वास्थ्य मन्त्री प्रतिष्ठानको सहकुलपति हुनेछ।
१९. उपकुलपति : (१) उपकुलपति प्रतिष्ठानमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ। (२) उपकुलपतिको पदमा नियुक्तिको लागि सिफारिस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा सभाका अन्य दुईजना सदस्य रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिले उपकुलपति नियुक्ति गर्नेछ। (३) उपकुलपतिको पदावधि चार वर्षको हुनेछ। (४) उपकुलपतिको काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य सर्त तोकिएबमोजिम हुनेछ।
२०. शिक्षाध्यक्ष : (१) प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक कार्यको रेखदेखको लागि कार्यकारी परिषद्ले बनाएको कार्यविधिबमोजिम सहकुलपतिले शिक्षाध्यक्षको नियुक्ति गर्नेछ। (२) शिक्षाध्यक्ष प्रतिष्ठानमा पूरा समय काम गर्ने पदाधिकारी हुनेछ। (३) शिक्षाध्यक्षको पदावधि चार वर्षको हुनेछ। (४) शिक्षाध्यक्षको अन्य काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य सर्त तोकिएबमोजिम हुनेछ।
२१. रजिष्ट्रार : (१) प्रतिष्ठानको आर्थिक र कर्मचारी प्रशासन सम्बन्धी कामको रेखदेखको लागि कार्यकारी परिषद्ले बनाएको कार्यविधिबमोजिम सहकुलपतिले रजिष्ट्रारको नियुक्ति गर्नेछ। (२) रजिष्ट्रार प्रतिष्ठानको पूरा समय काम गर्ने पदाधिकारी हुनेछ। (३) रजिष्ट्रारको पदावधि चार वर्षको हुनेछ। (४) रजिष्ट्रारको अन्य काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य सर्त तोकिएबमोजिम हुनेछ।
२२. डीन : (१) प्रतिष्ठानको सङ्कायको प्रमुख भई काम गर्नको लागि कार्यकारी परिषद्ले बनाएको कार्यविधिबमोजिम सहकुलपतिले डीनको नियुक्ति गर्नेछ। (२) डीन प्रतिष्ठानको पूरा समय काम गर्ने पदाधिकारी हुनेछ। (३) डीनको पदावधि चार वर्षको हुनेछ। (४) डीनको अन्य काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य सर्त तोकिएबमोजिम हुनेछ।
२३. निर्देशक : (१) अस्पतालको प्रशासकीय प्रमुखको रूपमा काम गर्नको लागि कार्यकारी परिषद्ले बनाएको कार्यविधिबमोजिम सहकुलपतिले निर्देशकको नियुक्ति गर्नेछ। (२) निर्देशकको पदावधि चार वर्षको हुनेछ। (३) निर्देशकको अन्य काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य सर्त तोकिएबमोजिम हुनेछ।
२४. अन्य पदाधिकारी : (१) प्रतिष्ठानमा तोकिए बमोजिम अन्य पदाधिकारीहरू रहन सक्नेछन्। (२) उपदफा (१) बमोजिमका पदाधिकारीहरूको नियुक्ति काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा तथा सेवाको शर्त तोकिए बमोजिम हुनेछ।
२५. पदबाट हटाउन सक्ने : (१) उपकुलपति, शिक्षाध्यक्ष वा रजिस्ट्रारले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पद अनुरूपको आचरण नगरेको वा इमान्दारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेको छैन भनी सभामा तत्काल कायम रहेका एक चौथाई सदस्यले कुलपति समक्ष लिखित निवेदन दिएमा कुलपतिले सभाको कुनै सदस्यको अध्यक्षतामा अन्य एक जना सदस्य र मन्त्रालयका सचिव रहेको तीन सदस्यीय एक छानबिन समिति गठन गर्नेछ।
(२) उपदफा (१) बमोजिमको छानबिन समितिले उपकुलपति, शिक्षाध्यक्ष वा रजिस्ट्रारले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, इमान्दारीपूर्वक काम नगरेको वा आफ्नो कर्तव्य पालन नगरेको भनी सिफारिस गरेमा र सो कुरा सभाको बैठकबाट पारित भएमा कुलपतिले त्यस्तो उपकुलपति, शिक्षाध्यक्ष वा रजिस्ट्रारलाई निजको पदबाट हटाउनेछ।
(३) उपदफा (१) बमोजिम छानबिन समिति गठन भएपछि उपदफा (२) बमोजिम सभाबाट निर्णय नभएसम्म त्यस्तो पदाधिकारी आफ्नो पदबाट स्वतः निलम्बन हुनेछ।
(४) उपकुलपति, शिक्षाध्यक्ष वा रजिस्ट्रार बाहेक प्रतिष्ठानका अन्य पदाधिकारीलाई पदबाट हटाउने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
(५) उपदफा (२) बमोजिम प्रतिष्ठानका पदाधिकारीलाई पदबाट हटाउने सिफारिस गर्नु अघि छानबिन समितिले निज उपर लागेको आरोपको सफाई पेश गर्ने मौका दिनु पर्नेछ।
२६. प्रतिष्ठानका शिक्षक तथा कर्मचारी : (१) प्रतिष्ठानमा आवश्यक सङ्ख्या शिक्षक तथा कर्मचारीहरू रहने छन्।
(२) प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको नियुक्ति लोकसेवा आयोगको सिफारिसमा तोकिए बमोजिम हुनेछ।
(३) प्रतिष्ठानका शिक्षक तथा कर्मचारीको काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त तोकिए बमोजिम हुनेछ।
परिक्छेद-९ प्रतिष्ठानको कोष, लेखा तथा लेखापरीक्षण
२७. प्रतिष्ठानको कोष : (१) प्रतिष्ठानको एउटा छुट्टै कोष हुनेछ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन् :- (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) शैक्षिक शुल्क तथा सेवा शुल्कबाट प्राप्त रकम,
(ग) स्वदेशी वा विदेशी व्यक्ति, सङ्घ, संस्था वा विदेशी सरकारबाट अनुदान वा ऋण स्वरूप प्राप्त रकम, (घ) अन्य स्रोतबाट प्राप्त रकम। (३) उपदफा (२) को खण्ड (ग) बमोजिम प्रतिष्ठानले विदेशी व्यक्ति, सङ्घ, संस्था वा सरकारबाट कुनै रकम प्राप्त गर्नु अघि नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ। (४) प्रतिष्ठानको कोषको रकम कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ। (५) प्रतिष्ठानको सबै खर्चहरू उपदफा (१) बमोजिमको कोषबाट व्यहोरोइनेछ। (६) प्रतिष्ठानको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ। २८. लेखा र लेखापरीक्षण : (१) प्रतिष्ठानको आय व्ययको लेखा प्रचलित कानून राखिनेछ। (२) प्रतिष्ठानको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ।
परिच्छेद - १० विधि
२९. सम्बन्धन दिन नसक्ने : प्रतिष्ठानले कुनै शैक्षिक संस्थालाई सम्बन्धन दिन सक्ने छैन। ३०. अन्य संस्थालाई समाहित गर्न सक्ने : (१) प्रचलित कानून बमोजिम स्थापना भई सञ्चालन भएका स्वास्थ्य विज्ञान सम्बन्धी कुनै संस्था प्रतिष्ठानसँग समाहित हुन चाहेमा प्रतिष्ठानले त्यस्तो संस्थालाई प्रतिष्ठानमा समाहित गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिम संस्था समाहित गर्ने सम्बन्धी आधार तथा कार्यविधि तोकिए बमोजिम हुनेछ। ३१. राष्ट्रिय शिक्षा तथा स्वास्थ्य नीति अनुरूप काम गर्नु पर्ने : प्रतिष्ठानले नेपाल सरकारबाट स्वीकृत भएको राष्ट्रिय स्वास्थ्य तथा शिक्षा नीति अनुरूप काम गर्नु पर्नेछ। ३२. आरक्षण सम्बन्धी व्यवस्था : (१) प्रतिष्ठानले प्रत्येक शैक्षिक सत्रमा भर्ना गर्ने कुल विद्यार्थी सङ्ख्याको दश प्रतिशतमा नघट्ने गरी सामुदायिक विद्यालयमा अध्ययन गरी प्रवेशिका वा सो स्तर उत्तीर्ण गरेका महिला, दलित, आदिवासी/जनजाति, अपाङ्गता भएका व्यक्ति, मधेशी तथा पिछडिएका क्षेत्रका विद्यार्थीको लागि आरक्षणको व्यवस्था गर्नु पर्नेछ।
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ द्वारा संशोधित।
(२) उपदफा (१) बमोजिम आरक्षण गरिएका स्थानमा प्रतिस्पर्धाद्वारा विद्यार्थी छनौट गरिनेछ।
३३. विद्यार्थी भर्ना गर्दा प्राथमिकता दिनु पर्ने: (१) प्रतिष्ठानले प्रवेशिका $\text{व}$ सो सरह उत्तीर्ण गरी स्वास्थ्य विज्ञान सम्बन्धी विषयमा प्रवीणता प्रमाणपत्र तह $\text{व}$ सो सरह उत्तीर्ण गरेका र दुर्गम क्षेत्रको स्वास्थ्य संस्थामा तोकिएको अवधिभर काम गरेका स्वास्थ्य सेवाका सहायक कर्मचारीलाई प्रतिष्ठानको स्नातक तहमा अध्ययन गर्नको लागि भर्ना हुन प्राथमिकता दिनेछ। (२) उपदफा (१) बमोजिम भर्ना हुन चाहने कर्मचारीले नेपाल मेडिकल काउन्सिलले तोकेको मापदण्ड पूरा गरेको हुनु पर्नेछ।
३४. छात्रवृत्ति उपलब्ध गराउनु पर्ने: (१) प्रतिष्ठानले प्रत्येक शैक्षिक सत्रमा भर्ना गर्ने कुल विद्यार्थी सङ्ख्याको कम्तीमा पचास प्रतिशत स्थानमा आर्थिक रूपले विपन्न विद्यार्थीलाई पूर्ण रूपमा छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ। स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “आर्थिक रूपले विपन्न” भन्नाले सामुदायिक विद्यालयमा अध्ययन गरी प्रवेशिका $\text{व}$ सो सरह उत्तीर्ण गरेका विद्यार्थीहरूमध्ये तोकिएको आधारमा सम्बन्धित गाउँपालिकाका वा नगरपालिकाले आर्थिक विपन्न भनी सिफारिस गरेको विद्यार्थीलाई जनाउँछ। (२) उपदफा (१) बमोजिम पचास प्रतिशतलाई शतप्रतिशत मानी सो को पैंतालीस प्रतिशत स्थानमा महिला, दलित, आदिवासीजनजाती, मधेशी, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई मात्र छात्रवृत्ति उपलब्ध गराइनेछ। (३) उपदफा (१) र (२) बमोजिम छात्रवृत्ति उपलब्ध गराउने आधार तोकिए बमोजिम हुनेछ। (४) कुनै निकाय वा संस्थाले कुनै विद्यार्थीलाई प्रतिष्ठानमा अध्ययनको लागि छात्रवृत्ति उपलब्ध गराउन सक्नेछ।
३५. तोकेको स्थानमा काम गर्नु पर्ने: (१) यस ऐन बमोजिम आरक्षण वा छात्रवृत्तिमा अध्ययन गरेको विद्यार्थीले प्रतिष्ठानले तोकेको पिछडिएका क्षेत्रमा कम्तीमा तीन वर्ष काम गर्नु पर्नेछ। (२) कुनै निकाय वा संस्थाको छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले त्यस्तो छात्रवृत्ति पाए बापत कुनै ठाउँमा निश्चित अवधिसम्म काम गर्नु पर्ने गरी छात्रवृत्ति प्रदान गर्ने निकाय
वा संस्थाले शर्त राखेको भए सोही शर्त बमोजिम र त्यसरी शर्त नराखेको भए उपदफा (१) बमोजिमको अवधिभर काम गर्नु पर्नेछ।
(३) दफा ३३ बमोजिम प्रतिष्ठानको प्राथमिकतामा भर्ना भएका विद्यार्थीले प्रतिष्ठानले तोकेको अवधिभर पिछडिएको क्षेत्रमा काम गर्नु पर्नेछ।
(४) दफा ३२ को उपदफा (१) बमोजिमको आरक्षण र दफा ३४ बमोजिमको छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले उपदफा (१), (२) वा (३) मा उल्लेखित पूरा अवधि काम गरेपछि मात्र प्रतिष्ठानले त्यस्तो विद्यार्थीलाई शैक्षिक योग्यताको स्थायी प्रमाणपत्र दिनेछ।
(५) प्रतिष्ठानले दफा ३२, ३३ र ३४ बमोजिमको आरक्षण, प्राथमिकता वा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी बाहेक प्रतिष्ठानमा अध्ययन गर्ने अन्य विद्यार्थीलाई अध्ययन पश्चात् पिछडिएका क्षेत्रको स्वास्थ्य संस्थामा काम गर्न प्रोत्साहित गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ।
३६. वार्षिक प्रतिवेदन : (१) प्रतिष्ठानले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आफूले वर्षभरिमा गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त प्रतिष्ठानले वर्षभरिमा गरेको कामको संक्षिप्त विवरण र प्रतिष्ठानको उपलब्धि लगायतका कुराहरू उल्लेख गर्नु पर्नेछ।
३७. अधिकार प्रत्यायोजन : (१) सभाले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकता अनुसार केही अधिकार प्राज्ञिक परिषद्, कार्यकारी परिषद् वा उपकुलपतिलाई प्रत्यायोजन गर्न सक्नेछ।
(२) प्राज्ञिक परिषद् तथा कार्यकारी परिषद्ले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकता अनुसार केही अधिकार प्रतिष्ठानका कुनै पदाधिकारी वा मातहतका कुनै निकायलाई प्रत्यायोजन गर्न सक्नेछ।
३८. काम कारबाही बदर नहुने : प्रतिष्ठानको कुनै पदाधिकारी वा सदस्यको स्थान रिक्त भई वा प्रतिष्ठानको कुनै संगठनको कुनै पदाधिकारी वा सदस्यको नियुक्ति वा मनोनयनमा त्रुटि भएको कारणले मात्र प्रतिष्ठानबाट भए गरेको काम कारबाही बदर हुने छैन।
$\leftrightarrow$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित।
३९. निर्देशन दिन सक्ने : प्रतिष्ठानको काम कारबाहीको सम्बन्धमा कुलपति तथा सहकुलपतिले प्रतिष्ठानलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु प्रतिष्ठानको कर्तव्य हुनेछ।
४०. नेपाल सरकारसँग सम्पर्क : प्रतिष्ठानले नेपाल सरकारसँग सम्पर्क राख्दा मन्त्रालय मार्फत राख्नु पर्नेछ।
४१. शपथ लिनु पर्ने : प्रतिष्ठानको पदाधिकारीको पदमा नियुक्त भएको व्यक्तिले आफ्नो पदको कार्यभार सम्हाल्नु अघि तोकिए बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ।
४२. कर्मचारी प्रतिष्ठानमा रहन सक्ने : (१) यो ऐन प्रारम्भ हुँदाका बखत राप्ती उपक्षेत्रीय अस्पताल घोराही दाङ्गमा कार्यरत नेपाल स्वास्थ्य सेवाका कर्मचारीहरूमध्ये प्रतिष्ठानमा काम गर्न चाहने कर्मचारीले यस ऐन अन्तर्गत बनेको कर्मचारी सेवा सम्बन्धी नियम प्रारम्भ भएको मितिदेखि छ महिनाभित्र मन्त्रालयमा निवेदन दिनु पर्नेछ। (२) उपदफा (१) बमोजिम निवेदन दिने कर्मचारीलाई मन्त्रालयले प्रतिष्ठानको कर्मचारीको रूपमा रहने स्वीकृति दिएमा त्यस्ता कर्मचारी प्रतिष्ठानको कर्मचारी मानिनेछ। (३) उपदफा (२) बमोजिम प्रतिष्ठानमा रहने कर्मचारीले स्वास्थ्य सेवामा काम गरेको सेवा अवधि प्रतिष्ठानको सेवा अवधिमा गणना हुनेछ।
४३. नियम बनाउने अधिकार : (१) यस ऐनको कार्यान्वयनको लागि प्रतिष्ठानले आवश्यक नियम बनाउन सक्नेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्ने विषयमा नियम बनाउँदा नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
४४. खारेजी र बचाउ : (१) राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति (गठन) आदेश, २०६८ खारेज गरिएको छ। (२) उपदफा (१) बमोजिमको गठन आदेश बमोजिमको विकास समितिमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई प्रतिष्ठानको समान स्तर र तहको पदमा सारिनेछ। (३) उपदफा (१) बमोजिमको आदेश बमोजिम भए गरेका सबै काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।
(४) उपदफा (१) बमोजिमको आदेश बमोजिमको विकास समितिको नाममा रहेको चल, अचल सम्पत्ति, लेनदेन कारोबार, ऋण, धन लगायत सम्पूर्ण अधिकार तथा दायित्व प्रतिष्ठानमा सरेको मानिनेछ।
(५) यस ऐन बमोजिम अस्पताल व्यवस्थापन समिति गठन नभएसम्मको लागि उपदफा (१) बमोजिमको आदेश बमोजिम गठित समितिले सो अस्पताल व्यवस्थापन समितिको काम गर्नेछ।