राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४
प्रमाणीकरण मिति २०७४।६।२७
संशोधन गर्ने ऐन केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
सम्बत् २०७४ सालको ऐन नं. २२ राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४” रहेको छ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. पारिश्रमिकः (१) राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुसूची-१ मा उल्लेख भए बमोजिमको मासिक पारिश्रमिक दिइनेछ । (२) राष्ट्रपति वा उपराष्ट्रपति संविधानको धारा १०१ को उपधारा (१) बमोजिमको अवस्था बाहेक अन्य जुनसुकै अवस्थामा पदबाट निवृत्त भएमा निजलाई एक महिनाको पारिश्रमिक बराबरको रकम थप सुविधाको रूपमा दिइनेछ ।
३. आवास सुविधाः (१) राष्ट्रपति र उपराष्ट्रपतिको आवासको लागि नेपाल सरकारबाट सरकारी घरको बन्दोबस्त गरिनेछ । (२) उपदफा (१) बमोजिमको घरको मर्मत र सम्भार नेपाल सरकारबाट हुनेछ ।
(३) उपदफा (१) बमोजिमको घरको लागि उपयुक्त फर्निचरको व्यवस्था नेपाल सरकारबाट हुनेछ ।
४. सवारी तथा इन्धन सुविधाः (१) राष्ट्रपति र उपराष्ट्रपतिको लागि नेपाल सरकारले सवारी साधन उपलब्ध गराउनेछ ।
(२) उपदफा (१) बमोजिम उपलब्ध गराइएको सवारी साधनलाई आवश्यक पर्ने इन्धन, मोबाइल तथा मर्मत सम्भारको व्यवस्था नेपाल सरकारले गर्नेछ ।
५. सञ्चार सुविधाः राष्ट्रपति र उपराष्ट्रपतिको आवासको लागि टेलिफोन, कम्प्यूटर, इन्टरनेट, फ्याक्स, पत्रपत्रिका जस्ता सञ्चार सुविधा नेपाल सरकारले व्यवस्था गर्नेछ ।
६. पोशाक सुविधाः राष्ट्रपति र उपराष्ट्रपतिलाई प्रत्येक वर्ष अनुसूची-१ मा उल्लेख भए बमोजिमको रकम पोशाक भत्ता बापत दिइनेछ ।
७. अतिथि सत्कार तथा भैपरी खर्चः (१) राष्ट्रपति र उपराष्ट्रपतिलाई प्रत्येक महिना मासिक पारिश्रमिक बराबरको रकम अतिथि सत्कार तथा भैपरी खर्च बापत दिइनेछ ।
(२) उपदफा (१) बमोजिमको खर्चको बिल भरपाई पेश गर्नु पर्ने छैन ।
८. निजी चिकित्सक सम्बन्धी सुविधाः राष्ट्रपति र उपराष्ट्रपतिको लागि नेपाल सरकारले एक/एक जना निजी चिकित्सकको व्यवस्था गर्नेछ ।
९. उपचार खर्चः (१) राष्ट्रपति वा उपराष्ट्रपति स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार खर्च नेपाल सरकारले व्यहोनेछ ।
(२) राष्ट्रपति वा उपराष्ट्रपति अस्पताल भर्ना भई उपचार गराउँदा कुरुवा बस्नु पर्ने भएमा कुरुवा खर्च बापत तीन जना सम्मको मनासिब खर्च नेपाल सरकारले उपलब्ध गराउनेछ ।
(३) उपदफा (१) बमोजिमको उपचार खर्च बापतको रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति वा उपराष्ट्रपति भर्ना भएको अस्पताललाई भुक्तानी गर्नेछ ।
१०. चाडपर्व खर्च: (१) राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाइने चाडपर्वको लागि आफूले खाईपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउनेछन् ।
(२) उपदफा (१) बमोजिमको रकम राष्ट्रपति र उपराष्ट्रपतिले एक आर्थिक वर्षमा एक पटक लिन सक्नेछन् ।
११. दैनिक भत्ता तथा भ्रमण खर्च: (१) राष्ट्रपति वा उपराष्ट्रपति आफ्नो ओहोदा सम्बन्धी कामको सिलसिलामा स्वदेश वा विदेशको भ्रमण गर्दाको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोनेछ ।
(२) राष्ट्रपति वा उपराष्ट्रपति स्वदेश तथा विदेशको भ्रमण गर्दा अनुसूची-२ मा उल्लेख भए बमोजिमको दैनिक भत्ता पाउनेछन् ।
१२. बीमा सुविधा: राष्ट्रपति र उपराष्ट्रपतिलाई सरकारी कामको सिलसिलामा स्वदेश तथा विदेशको भ्रमण गर्दा अनुसूची-२ मा उल्लेख भए बमोजिमको बीमा सुविधा प्राप्त हुनेछ ।
१३. विज्ञ सम्बन्धी व्यवस्था: (१) राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय काममा सहयोग पुर्याउन बढीमा क्रमशः सात र पाँच जना विज्ञ नियुक्त गर्न सक्नेछन् ।
(२) उपदफा (१) बमोजिम नियुक्त हुने विज्ञले पाउने मासिक पारिश्रमिक तथा सुविधा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।
(३) यो ऐन प्रारम्भ हुँदाका बखत राष्ट्रपति र उपराष्ट्रपतिले नियुक्त गरेका विज्ञ यसै ऐन बमोजिम नियुक्त गरेको मानिनेछ ।
१४. निजी सचिवालय सम्बन्धी व्यवस्था: (१) राष्ट्रपति र उपराष्ट्रपतिको निजी सचिवालयको लागि अनुसूची-३ बमोजिमका कर्मचारीहरू रहनेछन् ।
(२) उपदफा (१) बमोजिमको निजी सचिवालयमा काम गर्ने कर्मचारीले नेपाल सरकारले तोके बमोजिमको पारिश्रमिक तथा सुविधा पाउनेछन् ।
(३) यो ऐन प्रारम्भ हुँदाका बखत राष्ट्रपति र उपराष्ट्रपतिको निजी सचिवालयमा नियुक्त भई कार्यरत कर्मचारीहरू यसै ऐन बमोजिम नियुक्त भएको मानिनेछ ।
(४) राष्ट्रपति र उपराष्ट्रपतिको निजी सचिवालयको लागि आवश्यक पर्ने फर्निचर तथा अन्य भौतिक स्रोत र साधनको व्यवस्था नेपाल सरकारले गर्नेछ ।
१५. शपथ: आफ्नो कार्यभार सम्हाल्नु अघि राष्ट्रपतिले प्रधान न्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष अनुसूची-४ बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।
१६. मुद्दा नचलाइने: राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतले सम्पादन गरेका काम कारबाहीको विषयमा निज पदमा रहँदा वा सेवा निवृत्त भएपछि निज उपर कुनै अदालतमा मुद्दा चलाइने छैन ।
१७. नेपाल सरकारसँग सम्पर्क: राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयले नेपाल सरकारसँग सम्पर्क राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत राख्नु पर्नेछ ।
१८. अनुसूचीमा संशोधन: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक संशोधन गर्न सक्नेछ ।
अनुसूची-१ (दफा २ को उपदफा (१) र दफा ६ सँग सम्बन्धित) राष्ट्रपति र उपराष्ट्रपतिले पाउने पारिश्रमिक तथा पोशाक सुविधा
अनुसूची-२ (दफा ११ को उपदफा (२) र दफा १२ सँग सम्बन्धित) राष्ट्रपति र उपराष्ट्रपतिले पाउने दैनिक भत्ता तथा बीमा
द्रष्टव्य:
१. युरोपियन मुलुकहरू, अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानाडा, कुवेत, कोरिया, जापान, हङ्गकङ्ग, रुस, कतार, जाम्बिया, यू. ए. ई., सिङ्गापुर, लेबनान, बहराइनको भ्रमणमा उल्लिखित दरमा तेत्तीस प्रतिशत थप रकम दिइनेछ ।
अनुसूची-३ (दफा १४ को उपदफा (१) सँग सम्बन्धित) राष्ट्रपति र उपराष्ट्रपतिको निजी सचिवालयका कर्मचारी
४ मिति २०७५।०२।२० को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित।
अनुसूची-४ (दफा १५ सँग सम्बन्धित) *शपथ ग्रहणको ढाँचा
म.... ... ... ... ... ... ... मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु/ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको राजकीयसत्ता र सार्वभौमसत्ता नेपाली जनतामा रहेको नेपालको संविधान प्रति पूर्ण बफादार रही .....................पदको कामकाज प्रचलित कानूनको अधीनमा रही मुलुक र जनताको सोझो चित्ताई, कसैको डर नमानि, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमानदारिताका साथ सम्पादन गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको प्रचलित कानून बमोजिम गोप्य राख्नु पर्ने कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै पनि किसिमबाट प्रकट वा सङ्केत गर्ने छैन ।
नामः
मितिः दस्तखतः