प्रमाणीकरण र प्रकाशन मिति २०७४।०७।०१
संशोधन गर्ने ऐन केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न वांछनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. पारिश्रमिकः (१) प्रदेश प्रमुखलाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको मासिक पारिश्रमिक तथा अन्य सुविधा दिइनेछ ।
(२) प्रदेश प्रमुख कुनै कारणले सो पदबाट निवृत्त भएमा वा सो पदमा नभएमा निजलाई एक महिनाको पारिश्रमिक बराबरको रकम थप सुविधाको रुपमा दिइनेछ ।
३. आवास सुविधाः (१) प्रदेश प्रमुखको आवासको लागि नेपाल सरकारले सम्बन्धित प्रदेशको राजधानीमा सरकारी घरको बन्दोबस्त गर्नेछ ।
(२) उपदफा (१) बमोजिम घरको बन्दोबस्त नभएसम्मको लागि प्रदेश प्रमुखलाई घर भाडा बापत प्रति महिना नेपाल सरकारले तोके बमोजिमको रकम उपलब्ध गराइनेछ ।
(३) उपदफा (१) बमोजिमको सरकारी आवासको मर्मत तथा सम्भार नेपाल सरकारले गर्नेछ ।
(४) उपदफा (१) बमोजिमको घरको लागि उपयुक्त फर्निचरको व्यवस्था नेपाल सरकारले गर्नेछ ।
४. सवारी तथा इन्धन सुविधाः (१) नेपाल सरकारले प्रदेश प्रमुखलाई सवारी साधनको व्यवस्था गर्नेछ ।
(२) उपदफा (१) बमोजिम उपलब्ध गराइएको सवारी साधनका लागि आवश्यक पर्ने इन्धन, मोबिल तथा मर्मत सम्भारको व्यवस्था नेपाल सरकारले गर्नेछ ।
५. सञ्चार सुविधाः प्रदेश प्रमुखको आवासको लागि टेलिफोन, कम्प्युटर, इन्टरनेट, फ्याक्स, पत्रपत्रिका जस्ता सञ्चार सुविधा नेपाल सरकारले व्यवस्था गर्नेछ ।
६. पोशाक सुविधाः प्रदेश प्रमुखलाई प्रत्येक वर्ष अनुसूची -१ मा उल्लेख भए बमोजिमको रकम पोशाक भत्ता बापत दिइनेछ ।
७. अतिथि सत्कार तथा भैपरी खर्चः (१) प्रदेश प्रमुखलाई अनुसूची -१ मा उल्लेख भए बमोजिमको रकम अतिथि सत्कार तथा भैपरी खर्च बापत दिइनेछ ।
(२) उपदफा (१) बमोजिमको खर्चको बिल भपाई पेश गर्नु पर्ने छैन ।
८. निजी चिकित्सक सम्बन्धी सुविधाः प्रदेश प्रमुखको लागि नेपाल सरकारले एक जना निजी चिकित्सकको व्यवस्था गर्नेछ ।
९. उपचार खर्चः (१) प्रदेश प्रमुख स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार खर्च नेपाल सरकारले व्यहोनेछ ।
(२) प्रदेश प्रमुख अस्पताल भर्ना भई उपचार गराउँदा कुरुवा बस्नु पर्ने भएमा कुरुवा खर्च बापत एक जनाको मनासिब खर्च नेपाल सरकारले उपलब्ध गराउनेछ ।
(३) उपदफा (१) बमोजिमको उपचार खर्च बापतको रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश प्रमुख भर्ना भएको अस्पताललाई भुक्तानी गर्नेछ ।
१०. चाडपर्व खर्चः (१) प्रदेश प्रमुखले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाइने चाडपर्वको लागि आफूले खाईपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउनेछ ।
(२) उपदफा (१) बमोजिमको रकम प्रदेश प्रमुखले एक आर्थिक वर्षमा एक पटक आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाइने मुख्य चाडपर्वको अवसरमा भुक्तानी लिन सक्नेछ ।
११. "दैनिक भत्ता पाउनेः प्रदेश प्रमुखले आफ्नो ओहदा सम्बन्धी कामको सिलसिलामा स्वदेश तथा विदेशको भ्रमण गर्दा अनुसूची -२ मा उल्लेख भए बमोजिमको दैनिक भत्ता पाउनेछ ।
१२. बीमा सुविधाः प्रदेश प्रमुखलाई सरकारी कामको सिलसिलामा स्वदेश तथा विदेशको भ्रमण गर्दा अनुसूची -२ मा उल्लेख भए बमोजिमको बीमा सुविधा प्राप्त हुनेछ ।
१३. विज्ञ सम्बन्धी व्यवस्थाः (१) प्रदेश प्रमुखले आफ्नो पदीय काममा सहयोग पुर्याउन विज्ञ नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त हुने विज्ञको सङ्ख्या र त्यस्तो विज्ञले पाउने मासिक पारिश्रमिक तथा सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
१४. निजी सचिवालय सम्बन्धी व्यवस्थाः (१) प्रदेश प्रमुखको निजी सचिवालयको लागि अनुसूची -३ बमोजिमका कर्मचारीहरू रहनेछन् ।
(२) उपदफा (१) बमोजिमको निजी सचिवालयमा काम गर्ने कर्मचारीले नेपाल सरकारले तोके बमोजिमको पारिश्रमिक तथा सुविधा पाउनेछन् ।
१५. शपथः प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिसमक्ष अनुसूची -४ बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।
१६. मुद्दा नचलाइनेः प्रदेश प्रमुखले आफ्नो पदीय हैसियतले सम्पादन गरेका काम कारबाहीको विषयमा निज पदमा रहँदा वा सेवा निवृत्त भएपछि निज उपर कुनै अदालतमा मुद्दा चलाइने छैन ।
१७. नेपाल सरकारसँग सम्पर्कनः प्रदेश प्रमुखको कार्यालयले नेपाल सरकारसँग सम्पर्क राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत राख्नु पर्नेछ ।
१८. अनुसूचीमा संशोधनः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक संशोधन गर्न सक्नेछ ।
अनुसूची – १ (दफा २ को उपदफा (१), दफा ६ र ७ सँग सम्बन्धित)
प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधा
१. पारिश्रमिक प्रति महिना रु. ६४,०००।– २. पोशाक सुविधा प्रति वर्ष रु. १८,०००।– ३. अतिथि सत्कार तथा भैपरी खर्च प्रति महिना रु. ४०,०००।–
अनुसूची –२ (दफा ११ र १२ सँग सम्बन्धित) प्रदेश प्रमुखले पाउने दैनिक भत्ता तथा बीमाको सुविधा
द्रष्टव्यः
१. युरोपियन मुलुकहरु, अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानाडा, कुवेत, कोरिया, जापान, हङ्गकङ्ग, रुस, कतार, जाम्बिया, यू. ए. ई., सिङ्गापुर, लेबनान, बहराइनको भ्रमण गर्दा माथि उल्लेखित दरमा तेत्तीस प्रतिशत थप रकम दिइनेछ ।
२. भारतको चेन्नाइ, हैदराबाद, बैंगलोर, मुम्बई, दिल्ली, कोलकाता, बङ्गलादेशको ढाका र चटगाउँ बाहेक अन्य स्थानमा रात बिताउनु पर्दा माथि उल्लेखित दरको पचास प्रतिशत रकम मात्र दिइनेछ ।
अनुसूची - ३ (दफा १४ को उपदफा (१) सँग सम्बन्धित)
प्रदेश प्रमुखको निजी सचिवालयमा रहने कर्मचारी
(क) प्रमुख स्वकिय सचिव - १ (ख) सहस्वकिय सचिव - १ (ग) उपस्वकिय सचिव - १ (घ) स्वकिय अधिकृत - १ (ङ) फोटोग्राफर अधिकृत - १ (च) कम्प्युटर सहायक - १ (छ) प्रशासन सहायक - १ (ज) लेखा सहायक - १ (झ) सवारी चालक - २ (ञ) कार्यालय सहयोगी - २
अनुसूची - ४ (दफा १५ सँग सम्बन्धित)
शपथ
म.............................मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु । ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको राजकीयसत्ता र सार्वभौम सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रही प्रदेश नं . ..............को प्रमुखको पदमा कामकाज प्रचलित कानूनको अधीनमा रही कसैको डर नमानि, पक्षपात नगरी, कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई इमान्दारीसाथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको प्रचलित कानून बमोजिम गोप्य राख्नु पर्ने कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन ।
मितिः नामः
दस्तखतः