सामाजिक व्यवहार (सुधार) ऐन, २०३३
लालमोहर र प्रकाशन मिति २०३३।७।४
संशोधन गर्ने ऐन १. न्याय प्रशासन ऐन, २०४८ २०४८।२।१६ प्रमाणीकरण र प्रकाशन मिति २. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६* २०६६।१०।७ ३. केही नेपाल कानून संशोधन तथा खारेज गर्ने ऐन, २०७२ २०७२।६।१४ ४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३
२०३३ सालको ऐन नं. ३१
============
सामाजिक व्यवहारमा सुधार गर्न बनेको ऐन
प्रस्तावना: सामाजिक व्यवहारमा भइरहेको र बढ्दो प्रतिस्पर्धात्मक भडक र फिजुल खर्चमा नियन्त्रण गरी सुधार गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ: (१) यस ऐनको नाम “सामाजिक व्यवहार (सुधार) ऐन, २०३३” रहेको छ ।
• यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । • गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा जिकिएको ।
(२) यो ऐन नेपाल *.......... भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा–
(क) “सामाजिक व्यवहार” भन्नाले विवाह, व्रतबन्ध, चौडाकर्म, पास्नी, न्वारन, जन्मदिन, छैठी, बूढो–पास्नी र पितृ–कार्य समेतलाई जनाउँछ ।
(ख) “नजिकको नातादार” भन्नाले जुन व्यक्तिको सामाजिक व्यवहार हुने हो, सो व्यक्तिको बाबु पट्ट र आमा पट्ट चार पुस्ता भित्रको नातादार सम्झनु पर्छ र सो शब्दले तेह्र दिनसम्म जूठो बस्नु पर्ने दाजु भाइको परिवार, भान्जाभान्जी, छोरीपतिको नाति–नातिनी, फुपूको छोरा छोरी, जेठी आमा र सानीआमाको छोरा छोरी, छोरी ज्वाइँ, बहिनी–ज्वाइँ, भिनाजु्यू र मीतलाई समेत जनाउँछ ।
तर पितृ–कार्यको हकमा जसले पितृ–कार्य गर्ने हो निजको उपरोक्त बमोजिमको नातादार सम्झनु पर्छ ।
३. तिलकमा नियन्त्रण: (१) विवाह हुँदा तिलक लिन दिन हुँदैन ।
(२) उपदफा (१) उल्लङ्घन गर्नेलाई बिगो जफत गरी बाह्र हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा तीस दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।
४. दुलही पक्षले लिन नहुने: (१) छोरीबेटीको विवाह गरी दिँदा सो बापत दुलही पक्षले आफ्नो लागि कुनै नगदी जिन्सी लिन हुँदैन ।
(२) विवाह हुने छोरीबेटीको लागि दुलहा पक्षले यति गहना, कपडा, नगद–जिन्सी वा जेठा दिनुपर्छ भनी कर लगाउन हुँदैन ।
(३) उपदफा (१) उल्लङ्घन गर्नेलाई बिगो जफत गरी बाह्र हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । दिनेलाई त्यसको आधासम्म सजाय हुनेछ ।
(४) उपदफा (२) उल्लङ्घन गर्नेलाई दश हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद हुनेछ ।
५. दाइजोमा नियन्त्रण: (१) विवाह हुँदा वा विवाह पछि दुलही पक्षबाट दुलही वा दुलहालाई यति नगद जिन्सी दाइजो, दान, बकस, भेटी, विदाई उपहार समेत जुनसुकै रुपमा दिनुपर्छ भनी दुलहा पक्षले कर लगाउन वा यति लिने दिने भनी दुवै पक्षले अगावै तय गर्न हुँदैन र दाइजो दिएन भनी दुलहा पक्षले टण्टा गर्न वा विवाह गर्न इन्कार गर्न वा विवाह भइसकेको भए दुलही विदाई गराई साथ नलग्न वा दुलही पछि मात्र विदाई गराई लग्ने प्रथा भएकाहरुले पछि विदाई गराई लग्न इन्कार गर्न हुँदैन ।
(२) विवाह हुँदा जिउमा लगाएको एकसरो गहना बाहेक आफ्नो कुल परम्परा अनुसार राजीखुशीले दिनेले पनि बढीमा दश हजार रुपैयाँसम्मको मात्र दाइजो दिन हुन्छ ।
(३) उपदफा (१) वा (२) उल्लङ्घन गर्नेलाई लिन दिन नपाउने बिगो भए बिगो जफत गरी दश हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।
६. अन्य आर्थिक दायित्व व्यहोर्नमा प्रतिबन्ध: (१) दुलहाको पढाईमा लागेको वा लाग्ने खर्च वा निजलाई व्यापार वा व्यवसायमा लगाउन चाहिने पूँजी वा दुलहापक्षको विवाह खर्च दुलही पक्षबाट लिन हुँदैन ।
(२) जन्त लग्दा लागेको बाटो खर्च तथा खाना खर्च दुलही पक्षले व्यहोर्न वा सो पक्षले व्यहोराउन हुँदैन ।
(३) जन्त जानेहरुलाई कुनै किसिमको नगद जिन्सी उपहार दिन हुँदैन ।
तर, जन्तसाथ जाने भरियाहरुलाई नगदी वा जिन्सी ज्याला दिन बाधा पर्ने छैन ।
(४) उपदफा (१) वा (२) उल्लङ्घन गर्नेलाई बिगो जफत गरी बीस हजारदेखि चालीस हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।
(५) उपदफा (३) उल्लङ्घन गर्नेलाई बीस हजारदेखि चालीस हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद हुनेछ ।
७. जन्त सम्बन्धी नियन्त्रण: (१) बाजाबाजा लगायत एकाउन्न जनाभन्दा बढी जन्त वा बरियात लान हुँदैन ।
(२) जन्तमा कुनै प्रकारको भाडावाल नाच लग्न हुँदैन ।
(३) जन्तमा आवासबासी गर्न हुँदैन ।
(४) जन्तमा एघार जना भन्दा बढी बाजाबाजा राख्न हुँदैन ।
(५) यस दफा उल्लंघन गर्नेलाई दश हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।
८. विवाह भोजमा नियन्त्रण: (१) दुलहा तथा दुलही पक्षबाट आयोजित भोजमा नजिकको नातेदार बाहेक अरु छरछिमेकी इष्टमित्रहरुमध्येबाट एकाउन्न जना भन्दा बढी व्यक्तिलाई आमन्त्रण गर्न हुँदैन ।
(२) उपदफा (१) उल्लंघन गर्नेलाई बीस हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।
९. छैठी, न्वारान, जन्मदिन, पास्नी, चौडाकर्म, व्रतबन्ध, बूढो–पास्नीको भोजमा नियन्त्रण: (१) छैठी, न्वारान, जन्मदिन, पास्नी, चौडाकर्म, व्रतबन्ध, बुढो–पास्नी गर्दा सो कर्मकाण्डसंग सम्बन्धित नजिकको नातेदार बाहेक अरु छरछिमेकी इष्टमित्रहरुमध्येबाट पच्चीस जनाभन्दा बढी व्यक्तिलाई भोजमा आमन्त्रण गर्न हुँदैन ।
(२) उपदफा (१) उल्लंघन गरेमा दश हजार रुपैयाँ जरिवाना वा सात दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।
१०. पितृ–कार्यको भोजमा नियन्त्रण: (१) कुनै पनि व्यक्तिको मृत्यु उपरान्त गरिने काज क्रिया, श्राद्ध एवं अन्य विभिन्न क्रिया गर्दा नजिकको नातेदार र मलामी (गुठियार) बाहेक अरु छरछिमेकी इष्टमित्रहरुमध्येबाट पच्चीस जनाभन्दा बढी व्यक्तिलाई भोजमा आमन्त्रण गर्न हुँदैन ।
(२) उपदफा (१) उल्लङ्घन गर्नेलाई दश हजार रुपैयाँसम्म जरिवाना वा सात दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।
११. दाइजो आदि प्रदर्शन गर्न नहुने: (१) सामाजिक व्यवहार सम्बन्धमा लैजाने वा पठाउने दाइजो लगायत कुनै पनि व्यवहार वा उपहार भड्किलो रुपमा प्रदर्शन गरी लैजान वा पठाउन हुँदैन।
(२) उपदफा (१) उल्लङ्घन गर्नेलाई पाँच हजार रुपैयाँसम्म जरिवाना वा सात दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।
१२. भड्किलो रुपमा घर सजाउन नहुने: (१) सामाजिक व्यवहार गर्दा सो उपलक्ष्यमा चाहिनेभन्दा बढी हुनेगरी भड्किलो रुपमा बत्ती बाली घर सजाउन हुँदैन ।
(२) उपदफा (१) उल्लङ्घन गर्नेलाई दश हजार रुपैयाँसम्म जरिवाना वा सात दिनसम्म कैद हुनेछ ।
१३. "स्थानीय तहको दायित्व: (१) यो ऐन बमोजिम गर्न नहुने काम कुनै व्यक्तिबाट हुन वा गर्न लागेको बुझिएमा सो कार्य नगर्नु भनी स्थानीय गाउँ वा नगरपालिकाले सम्बन्धित व्यक्तिलाई सम्झाउनु बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्झाउँदा बुझाउँदा पनि सम्बन्धित व्यक्तिले अटेर गरी गर्न नहुने काम गरेमा वा गर्न लागेमा त्यस्तो व्यक्ति उपर कानूनी कारबाही हुन जिल्ला कार्यालयमा पनाउ दिनु पर्नेछ ।
१४. नेपाल सरकारले आदेश जारी गर्न सक्ने: विवाह, व्रतबन्ध, चुडाकर्म, पास्नी, बूढो पास्नी तथा पितृ–कार्य आदिमा गरिने खर्चको सम्बन्धमा हदबन्दी लगाई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आदेश जारी गर्न सक्नेछ ।
१५. हिसाब देखाउनु पर्ने: (१) सामाजिक व्यवहारको सिलसिलामा भोजको लागि आमन्त्रण गरिएका व्यक्तिहरुको लगत तथा ऐनमा तोकिएबमोजिम भए नभएको विवरण सम्बन्धित प्रमुख जिल्ला अधिकारीले माग गर्न सक्नेछ र त्यसरी मागिएको विवरण सम्बन्धित व्यक्तिले
सूचना पाएको मितिले बाटाका म्याद बाहेक पन्ध्र दिनभित्र दिनु पर्नेछ । यसरी प्रमुख जिल्ला अधिकारीले विवरण माग गर्दा ऐनको म्यादभित्र उजूर परेको हकमा मार माग गर्न सकिनेछ।
(२) उपदफा (१) बमोजिम प्रमुख जिल्ला अधिकारीले मागेको विवरण नदिएमा तीन हजार रुपैयाँसम्म जरिवाना वा तीन दिनसम्म कैद वा दुवै सजाय गर्न सकिनेछ ।
१६. नेपाल सरकार वादी हुने: यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ ।
१७. मुद्दाको तहकीकात र दायरी: (१) यस ऐन बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको तहकीकात प्रहरीले गर्नेछ र यस्तो तहकीकातको काम पूरा गरी मैले मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा तहकीकात र दायर गर्दा प्रहरीले सरकारी वकीलको राय लिन सक्नेछ ।
१८. मुद्दा दायर गर्ने म्याद: यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लंघन गरेको मितिले पैंतीस दिन भित्र मुद्दा दायर नगरेमा मुद्दा चलाउन सकिने छैन ।
१९. मुद्दा हेर्ने अधिकारी र कार्यविधि: (१) यस ऐन अन्तर्गतको मुद्दामा शुरु कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ ।
(२) यस ऐन अन्तर्गतका मुद्दामा प्रमुख जिल्ला अधिकारीले विशेष अदालत ऐन, २०५९ बमोजिमको कार्यविधि अपनाउनेछ ।
(३) प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय उपर जिल्ला अदालतमा पुनरावेदन लाग्नेछ ।
२०. दण्ड सजाय: (१) यस ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्न नहुने काम गरेमा बढीमा तीस हजार रुपैयाँसम्म जरिवाना वा तीस दिनसम्म कैद हुनेछ ।
(२) सरकारी कर्मचारी वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको संगठित संस्थाको कर्मचारी वा नेपाल सरकारबाट स्थापना गरिएको संस्थान वा संगठित स्वाशससि
संस्थाका कर्मचारीहरूले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम गर्न नहुने काम गरे गराएमा यस ऐनमा तोकिएको सजायको अतिरिक्त त्यस्तो कर्मचारीलाई निजको सेवा शर्तसम्बन्धी कानून बमोजिम विभागीय कारबाही समेत गरिनेछ ।
(३) * ........................
२१. नियमहरु बनाउने अधिकार: (१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी खास गरी देहायका विषयहरुमा नियमहरु बनाउन सक्नेछ:–
(क) स्वयंम्बर, साइपाटा, कन्यादान, मुखहेर्न जाने, सम्धी–सम्बन्धी भेटसम्बन्धी व्यवहार सम्बन्धमा,
(ख) जन्तीलाई दुलहीपट्टिबाट खुवाउने सम्बन्धमा,
(ग) विवाह भएपछि वर्ष दिनसम्म गरिने व्यवहार सम्बन्धमा,
(घ) सुत्केरी हुनुभन्दा अघि वा पछि गरिने व्यवहार सम्बन्धमा,
(ङ) आमा बाबुको मुख हेर्ने सम्बन्धमा,
(च) भाइटीका सम्बन्धमा,
(छ) सामाजिक व्यवहारमा सगुन लाने सम्बन्धमा,
(ज) पितृकायन गर्दा दान दान आदि गर्ने सम्बन्धमा,
(झ) सामाजिक व्यवहारमा आमन्त्रण गरिने पाहुनाहरुको संख्या तोक्ने सम्बन्धमा,
(ञ) दुलान फर्काउने सम्बन्धमा,
(ट) भोजमा बोलाउने नजिकका नातेदारहरुको अधिकतम संख्या तोक्ने सम्बन्धमा ।
इष्टव्य:- १. स्थानीय प्रशासन (तेस्रो संशोधन) ऐन, २०४८ द्वारा रुपान्तर गरिएका शब्दहरु:- “जिल्ला कार्यालय” को सट्टा “जिल्ला प्रशासन कार्यालय” । २. विशेष अदालत ऐन, २०५९ द्वारा रुपान्तर गरिएका शब्दहरु :- “विशेष अदालत ऐन, २०३१” को सट्टा “विशेष अदालत ऐन, २०५९” । ३. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरु :- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । ४.गान्तनत्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा रुपान्तर गरिएका शब्दहरु :- “नगर पञ्चायत” को सट्टा “नगरपालिका” । ५. केही नेपाल कानून संशोधन र खारेज गर्ने ऐन, २०७२ द्वारा रुपान्तर भएका शब्दहरु:- "स्थानीय पञ्चायत" को सट्टा "स्थानीय निकाय" ।