प्रतिलिपि अधिकार ऐन, २०५९
लालमोहर र प्रकाशन मिति २०५९।४।३०
२०५९ सालको ऐन नं. ८
....................
प्रतिलिपि अधिकार सम्बन्धी व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः प्रतिलिपि अधिकार सम्बन्धी कानूनी व्यवस्थालाई समयानुकूल बनाउन वांछनीय भएकोले,
$^१$ यो ऐन संवत् २०६३ साल असोज ५ गतेदेखि लागू भएको । $^२$ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । $^३$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको ।
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पहिलो वर्षमा संसद्ले यो ऐन बनाएको छ ।
परिच्छेद–१
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “प्रतिलिपि अधिकार ऐन, २०५९” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “रचना” भन्नाले साहित्य, कला, ज्ञान–विज्ञान र अन्य क्षेत्रमा मौलिक एवं बौद्धिक रूपले प्रस्तुत गरिएका रचना सम्झनु पर्छ र सो शब्दले देहायका रचना समेतलाई जनाउँछ:–
(१) किताब,पर्च, लेख, शोधपत्र, (२) नाटक, नाट्य–संगीत, मूक चित्र र यस्तै किसिमले मञ्चनका लागि तयार गरिएका रचना, (३) शब्द सहित वा शब्द रहित सांगीतिक रचना, (४) श्रव्य दृश्य रचना, (५) आर्किटेक्चरल डिजाइन, (६) चित्रकला, पेन्टिङ्ग, मूर्तिकला, काष्ठकला, लिथोग्राफी र आर्किटेक्चर सम्बन्धी अन्य रचना, (७) फोटोजन्य रचना, (८) प्रयोगात्मक कला सम्बन्धी रचना,
(९) उदाहरण, मानचित्र, योजना, भूगोल सम्बन्धी त्रि–आयामिक रचना, टोपोग्राफी र वैज्ञानिक लेख रचना,
(१०) कम्प्युटर प्रोग्राम ।
(ख) “रचयिता” भन्नाले खण्ड (क) मा उल्लिखित रचना तयार गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ग) “श्रव्यदृश्य रचना” भन्नाले ध्वनि सहित वा ध्वनि रहित रूपमा पर्दामा अवलोकन गर्न सकिने चलचित्रमय रचना सम्झनु पर्छ ।
(घ) “फोटोजेन्य रचना” भन्नाले कुनै पनि वस्तुको धरातलमा चित्राकृति आउने गरी वा त्यस्तो धरातलबाट चित्राकृति पैदा गर्न सकिने गरी रासायनिक, विद्युतीय वा अन्य कुनै प्रविधिको सहायताबाट त्यस्तो धरातलमा प्रकाश वा अन्य विकिरणको अङ्कन गरी तयार गरिएको रचना सम्झनु पर्छ ।
तर कुनै श्रव्यदृश्य रचनाबाट खिचेको स्थिर फोटोलाई भने फोटोजेन्य रचना नमानी सम्बन्धित श्रव्यदृश्य रचनाकै एक भाग मानिनेछ ।
(ङ) “ध्वनि अङ्कन” भन्नाले ध्वनि र आकृतिको एकैसाथ अङ्कन गर्ने कार्य बाहेकको श्रवण गर्नको लागि जुनसुकै तरिकाबाट जुनसुकै माध्यममा अङ्कन गरिएको कुनै पनि प्रस्तुतिको ध्वनिअङ्कन गर्ने कार्य सम्झनु पर्छ ।
(च) “प्रस्तुति” भन्नाले,–
(१) श्रव्य दृश्य रचना बाहेक अरु प्रकारको रचनाको हकमा प्रत्यक्ष रूपमा वा अन्य कुनै उपकरण वा प्रक्रियाबाट वाचन, वादन, नृत्य, अभिनय वा अन्य प्रकारले प्रस्तुत गर्ने कार्य,
(२) श्रव्य दृश्य रचनाको हकमा त्यस्तो रचनामा समायोजित दृश्यलाई सिलसिलाबद रूपमा देखाउँदै त्यसमा समायोजित ध्वनि समेत सुनाउने कार्य,
(३) ध्वनि अङ्कनको हकमा परिवार वा छरछिमेक, साथीभाई, इष्टमित्रको भन्दा बाहिर रहेर वा त्यस्ता व्यक्तिको उपस्थिति भए पनि सार्वजनिक रूपमा सुन्न सकिने गरी प्रस्तुत गर्ने कार्य सम्झनु पर्छ ।
(छ) “आर्थिक अधिकार” भन्नाले प्रतिलिपि अधिकार धनीलाई दफा ७ बमोजिम प्राप्त अधिकार सम्झनु पर्छ ।
(ज) “प्रतिलिपि अधिकार धनी” भन्नाले कुनै रचनाको रचयितामा आर्थिक अधिकार निहित रहेको भए त्यस्तो रचयिता, रचयिता बाहेक अन्य कुनै व्यक्ति वा संस्थामा मूल रूपमा आर्थिक अधिकार निहित रहेको भए त्यस्तो व्यक्ति वा संस्था र आर्थिक अधिकारको स्वामित्व कुनै व्यक्ति वा संस्थालाई हस्तान्तरण गरिएको भए त्यस्तो व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(झ) “प्रसारण” भन्नाले सार्वजनिक जानकारीको लागि रचनाको प्रदर्शन वा सञ्चार वा तारविहीन उपकरण वा भू-उपग्रहको माध्यमद्वारा गरिने श्रव्य वा श्रव्य-दृश्य रचनाको प्रसारण सम्झनु पर्छ ।
(ञ) “सार्वजनिक सञ्चार” भन्नाले कुनै कार्यक्रमको प्रस्तुती, ध्वनि अङ्कन तथा प्रसारणको ध्वनि वा दृश्य वा दुवै प्रसारण स्थलको नजिक वा टाढा जहाँ रहेर पनि सुन्न वा अवलोकन गर्न सकिने गरी तारयुक्त वा तारविहीन उपकरणबाट प्रसारण गर्ने कार्य सम्झनु पर्छ ।
(ट) “नैतिक अधिकार” भन्नाले रचयिता वा निजको हकवाला वा निजबाट अधिकार प्राप्त व्यक्तिलाई दफा ८ बमोजिम प्राप्त हुने अधिकार सम्झनु पर्छ ।
(ठ) “प्रस्तोता” भन्नाले अभिनय, गायन, संगीत र नाचको माध्यमद्वारा साहित्यिक वा कलात्मक कार्य वा लोककला अभिव्यक्तिलाई जनसमक्ष प्रस्तुत गर्ने अभिनयकर्ता, गायक, संगीतकार, नर्तक र अन्य व्यक्ति सम्झनु पर्छ ।
(ड) “प्रकाशन” भन्नाले ,–
(१) नाटक, चलचित्र वा अन्य कुनै किसिमले अभिन्न रचनाको हकमा सो रचनाको अनुवाद वा रूपान्तर गरी वा नगरी सार्वजनिक रूपमा प्रदर्शन गरेको, बिक्री गरेको वा बहालमा दिएको, र
(२) अन्य कुनै रचनाको हकमा सो रचनाको अनुवाद वा रूपान्तर गरी वा नगरी सो रचना सार्वजनिक रूपमा बिक्री वितरण वा उपयोगमा ल्याइएको वा बिक्री वितरण वा उपयोग हुने गरी निकालिएको रचना सम्झनु पर्छ र सो शब्दले अभिनयद्वारा प्रदर्शन हुन सक्ने रचनाको हकमा सो रचनाको रूपान्तर वा अनुवाद गरी वा नगरी सार्वजनिक रूपमा प्रदर्शन गरिएको कुरा समेतलाई जनाउँछ ।
(ढ) “रजिष्ट्रार” भन्नाले दफा ३० को उपदफा (१) बमोजिम तोकिएको व्यक्ति सम्झनु पर्छ ।
(ण) “रोयल्टी संकलन संस्था” भन्नाले दफा ३९ अनुसार गठित संस्था सम्झनु पर्छ।
(त) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
परिच्छेद–२ प्रतिलिपि अधिकारको संरक्षण र प्राप्ति
३. प्रतिलिपि अधिकारको संरक्षणः (१) कुनै पनि रचनालाई प्रतिलिपि अधिकारको संरक्षण प्राप्त हुनेछ ।
(२) प्रस्तुतिकरण, सङ्कलन वा अभिव्यक्तिको दृष्टिकोणबाट मौलिक रूपमा प्रस्तुत भएका अनुवाद, संयोजन, क्रमबद्ध संयोजन, रचना वा कृतिहरुको संग्रह, यन्त्रको सहायताले वा यन्त्रको सहायता बेगर पढ्न सकिने गरी सङ्कलन गरिएको तथ्याङ्क वा तथ्याङ्कको आधार, लौकिक अभिव्यक्ति विधा अन्तर्गतका उखान, लोककथा, लोकगीत वा अन्य कुनै लोक
अभिव्यक्तिमा आधारित व्युत्पन्न रचनालाई मूल रचनाको प्रतिलिपि अधिकारमा प्रतिकूल असर नपऱ्याउने किसिमले मौलिक रचना सरह नै प्रतिलिपि अधिकारको संरक्षण प्राप्त हुनेछ ।
४. प्रतिलिपि अधिकारको संरक्षण प्राप्त नहुनेः दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विचार, धर्म, समाचार, सञ्चालन विधि, अवधारणा, सिद्धान्त, अदालतको फैसला, प्रशासकीय निर्णय, लोकगीत, लोककथा, उखान र सामान्य तथ्याङ्क जस्ता कुराहरुलाई वर्णन वा व्याख्या गरिए वा कुनै रचनामा समावेश गरिएको भए तापनि यस ऐन बमोजिमको संरक्षण प्राप्त हुने छैन ।
५. दर्ता अनिवार्य नहुनेः (१) यस ऐन बमोजिमको अधिकार प्राप्त गर्न कुनै पनि रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण दर्ता गराउन अनिवार्य हुने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै रचना, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण स्वेच्छाले दर्ता गराउन चाहेमा रजिष्ट्रार समक्ष निवेदन दिई दर्ता गराउन सकिनेछ र दर्ता सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
६. रचनाको आर्थिक अधिकारको धनीः (१) रचनाको आर्थिक अधिकारको धनी रचनाकार हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा रचनाको आर्थिक अधिकार देहायको व्यक्ति वा संस्थालाई हुनेछः–
(क) संयुक्त रचनाका हकमा सह–रचयिता,
तर त्यस्तो संयुक्त रचना खण्ड खण्डमा विभाजित रहे छ र अलग अलग खण्ड अलग अलग रचयिताको हिसाबले पहिचान हुने किसिमको रहे छ र अलग अलग किसिमले प्रयोग गर्न सकिने रहे छ भने आफूले रचना गरेको प्रत्येक खण्डको लागि सम्बन्धित रचयितालाई आर्थिक अधिकार हुनेछ ।
(ख) कुनै व्यक्ति वा संस्थाको सक्रियता वा निर्देशनमा संयुक्त रचना तयार गरिएको भए जसको सक्रियता वा निर्देशनमा त्यस्तो रचना तयार भएको हो सो तयार गराउने व्यक्ति वा संस्था,
(ग) कसैले पारिश्रमिक दिई कुनै रचना तयार गर्न लगाएको भए त्यस्तो पारिश्रमिक दिने व्यक्ति वा संस्था,
(घ) बेनामी रचनाको हकमा सो रचनाको रचयिता यो हो भन्ने प्रमाणित नहुन्जेल सो रचनाको प्रकाशक,
तर त्यस्तो रचनाको वास्तविक रचयिताले पछि आफ्नो परिचय प्रस्तुत गरेको खण्डमा आफ्नो परिचय प्रस्तुत गरेको मितिदेखि सो रचनाको आर्थिक अधिकार सोही रचयितालाई हुनेछ,।
(ङ) करारमा अन्यथा उल्लेख गरिएकोमा बाहेक श्रव्य दृश्य रचनाको हकमा त्यस्तो रचनाको उत्पादक,
तर श्रव्य दृश्य रचनाका सह–रचयिताको रचना वा पहिला नै तयार गरिएको रचनालाई श्रव्य दृश्य रचना निर्माण गर्ने कार्यमा समावेश गरिएमा वा मिलाइएमा निजहरुको आर्थिक अधिकार निजहरुको योगदान बमोजिम हुनेछ ।
७. आर्थिक अधिकार: परिच्छेद–४ को अधीनमा रही रचनाको सम्बन्धमा देहाय बमोजिमको कार्य गर्न पाउने अधिकार रचयिता वा प्रतिलिपि अधिकारको धनीलाई मात्र हुनेछ:-
(क) रचनाको पुनरुत्पादन गर्ने,
(ख) रचनाको अनुवाद गर्ने ,
(ग) रचनाको परिमार्जन वा संशोधन गर्ने ,
(घ) संयोजन लगायत रचनाको अन्य रूपान्तरण गर्ने,
(ङ) रचनाको मूल र प्रतिलिपि सर्वसाधारणको लागि बिक्री वितरण वा बहालमा दिने,
(च) श्रव्य दृश्य रचना, ध्वनि अङ्कन समाविष्ट रचना, कम्प्युटर कार्यक्रम, तथ्याङ्कमा आधारित वा ग्राफ स्वरूपमा रहेको साङ्गीतिक रचनाको आफूलाई प्राप्त अधिकार हस्तान्तरण गर्ने वा बहालमा दिने,
(छ) रचनाको प्रतिलिपि आयात गर्ने,
(ज) मूल रचना वा सो रचनाको प्रतिलिपिको सार्वजनिक प्रदर्शन गर्ने,
(झ) रचनाको प्रस्तुति गर्ने,
(ञ) रचनाको प्रसारण गर्ने,
(ट) रचनाको सार्वजनिक सञ्चार गर्ने ।
८. नैतिक अधिकार: (१) कुनै रचनामा रचयिताको आर्थिक अधिकार निहित रहे वा नरहेको जेसुकै भए तापनि त्यस्तो रचयितालाई देहाय बमोजिमको नैतिक अधिकार प्राप्त हुनेछ:–
(क) आफ्नो रचनाका प्रतिहरूमा वा आफ्नो रचना सार्वजनिक रूपमा प्रयोग गरिएमा त्यस्तो रचनामा आफ्नो नाम उल्लेख गर्न लगाउने,
(ख) आफ्नो रचनामा वास्तविक नाम उल्लेख नगरी छद्म नाम उल्लेख गरिएको भएमा त्यस्तो रचनाको सार्वजनिक रूपमा प्रयोग गर्दा त्यस्तो छद्म नाम उल्लेख गर्न लगाउने,
(ग) आफ्नो रचनालाई बङ्ग्याई वा विकृत रूपमा प्रस्तुत गरी निजले आर्जन गरेको सम्मान वा ख्यातिलाई गिराउने जस्ता कार्य रोक्ने,
(घ) आफ्नो रचनामा आवश्यक संशोधन वा परिमार्जन गर्ने ।
(२) उपदफा (१) मा उल्लिखित अधिकार रचयिताको जीवनभर हस्तान्तरण हुने छैन।
तर रचयिताले आफ्नो मृत्यु पश्चात् लागू हुने गरी त्यस्तो अधिकार हस्तान्तरण गर्न कसैलाई इच्छाएको भए त्यसरी इच्छाएको व्यक्ति वा संस्थालाई र त्यसरी इच्छाएको नभए नजिकको हकदारमा संनेछ ।
९. प्रस्तोताको अधिकार: (१) प्रस्तोतालाई देहाय बमोजिमको कार्य गर्न पाउने अधिकार हुनेछ:-
(क) आफ्नो प्रस्तुतिलाई प्रसारण वा सञ्चार गरी जन समक्ष पुऱ्याउने,
(ख) आफ्नो प्रस्तुतिलाई प्रस्तुत गर्ने तौरतरिका वा माध्यमको निर्धारण गर्ने र पुनरुत्पादन गर्ने,
(ग) आफ्नो प्रस्तुतिको प्रस्तुतीकरण वा त्यसको प्रतिलिपिहरु बिक्री वा हस्तान्तरण गरी वा स्वामित्व परिवर्तन गरी पहिलो पटक जन समक्ष पुऱ्याउने,
(घ) आफ्नो प्रस्तुतिको प्रतिलिपि भाडामा दिने,
(ङ) निर्धारित तौरतरिका वा माध्यमद्वारा उत्पादित प्रस्तुतिलाई तारयुक्त वा तार विहीन उपकरण मार्फत सर्वसाधारण समक्ष सर्वसुलभ हुने गरी पुऱ्याउने,
(च) आफ्नो प्रस्तुतिलाई परिमार्जन वा संशोधन गर्ने ।
(२) प्रस्तोताले एक पटक आफ्नो प्रस्तुतिलाई श्रव्यदृश्य माध्यममा समावेश गर्न स्वीकृति दिइसकेपछि निजले त्यसमा पुनः उपदफा (१) मा उल्लिखित अधिकार प्रयोग गर्न पाउने छैन ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रस्तोतालाई प्रत्यक्ष श्रव्य प्रस्तुति एवं ध्वनिअङ्कनमा समायोजित प्रस्तुतिको प्रस्तोताको रुपमा आफ्नो पहिचान कायम गराउने र सोको दाबी गर्न सक्ने अधिकार तथा आफ्नो प्रतिष्ठा वा ख्यातिको प्रतिकूल हुने गरी कसैले आफ्नो प्रस्तुतिलाई तोडमोड गरेको वा खण्डित गरेको वा अन्य प्रकारले अर्थान्तर हुने गरी विरूप गरेकोमा त्यस्तो कार्यलाई रोक्ने अधिकार हुनेछ ।
(४) यस दफामा लेखिएको कुनै कुराले आफ्नो प्रस्तुतिबाट बढी लाभान्वित हुने वा बढी सुविधा प्राप्त गर्ने खालका शर्त राखी सम्झौता गर्ने वा त्यसमा सहमत हुने प्रस्तोताको अधिकारमा कुनै असर पारेको मानिने छैन ।
(५) यस दफा बमोजिम प्रस्तोतालाई प्राप्त अधिकार ध्वनि उपकरणमा समायोजन भएको वर्षबाट पचास वर्षसम्म र त्यसरी समायोजन नगरेको भए त्यस्तो प्रस्तुति भएको वर्षबाट पचास वर्षसम्म कायम रहनेछ ।
१०. ध्वनि अङ्कन उत्पादकको अधिकार: (१) ध्वनि अङ्कन उत्पादकलाई देहाय बमोजिमको अधिकार हुनेछ–
(क) कुनै पनि तरिकाका वा स्वरूपमा ध्वनि अङ्कनको प्रत्यक्ष वा अप्रत्यक्ष रूपले पुनरुत्पादन गर्ने,
(ख) ध्वनि अङ्कनको प्रतिलिपि आयात गर्ने,
(ग) ध्वनि अङ्कनको मूल प्रति वा प्रतिलिपिको बिक्री वा स्वामित्व हस्तान्तरणका अन्य तरिकाबाट त्यस्ता ध्वनि अङ्कन सर्वसुलभ गराउने,
(घ) सार्वजनिक रूपमा ध्वनि अङ्कनलाई भाडामा वा साटिपटीमा दिने,
(ङ) तारयुक्त वा ताररहित उपकरणबाट ध्वनि अङ्कनलाई एउटै खास ठाउँबाट वा आफूले चाहेको ठाउँबाट वा जनसाधारणद्वारा श्रवण गर्न सक्ने बनाउने ।
(२) उपदफा (१) बमोजिमको अधिकार त्यस्तो ध्वनिअङ्कन प्रकाशन भएको वर्षबाट पचास वर्षसम्म कायम रहनेछ ।
११. ध्वनि अङ्कनको प्रयोग बापत मनासिव माफिकको पारिश्रमिक पाउने: (१) व्यापारिक प्रयोजनको लागि प्रकाशन भएको कुनै ध्वनिअङ्कन वा त्यस्तो ध्वनिअङ्कनको पुनरुत्पादित प्रतिलिपिलाई प्रसारण वा अन्य सञ्चारको लागि सोझै प्रयोग गरी सार्वजनिक रूपमा जनसमक्ष प्रस्तुत गरिएको भए सो बापत मनासिव माफिकको पारिश्रमिकको रकम उत्पादकले प्रयोगकर्ताबाट भुक्तानी पाउनेछ ।
(२) उपदफा (१) बमोजिमको पारिश्रमिक प्राप्त गर्ने सम्बन्धमा प्रस्तोता र उत्पादक बीच सम्झौता भएकोमा सोही बमोजिम र सम्झौता नभएको अवस्थामा उत्पादकले प्राप्त गरेको आधा रकम प्रस्तोताले पाउनेछ ।
(३) उपदफा (१) बमोजिम मनासिब माफिकको पारिश्रमिक रकम पाउने अधिकार त्यस्तो ध्वनिअङ्कन प्रकाशन भएको वा ध्वनिअङ्कन समायोजन भएको वर्षबाट पचास वर्षसम्म कायम रहनेछ ।
१२. प्रसारण संस्थाको अधिकारः (१) प्रसारण संस्थालाई देहायका कार्य गर्न पाउने अधिकार हुनेछ–
(क) आफूले प्रसारण गरेको विषयलाई पुनःप्रसारण गर्ने,
(ख) आफ्नो प्रसारणलाई सर्वसाधारण समक्ष सर्वसुलभ हुने गरी सञ्चार गर्ने,
(ग) आफ्नो प्रसारणको समायोजन गर्ने,
(घ) आफ्नो प्रसारणको समायोजनको पुनरुत्पादन गर्ने ।
(२) उपदफा (१) बमोजिमको अधिकार त्यस्तो प्रसारण शुरु भएको वर्षबाट पचास वर्षसम्म कायम रहनेछ ।
१३. रचना, प्रस्तोता, ध्वनि उत्पादक वा प्रसारण संस्थाको संरक्षणः (१) देहायका रचयिताको रचनालाई यस ऐन बमोजिमको संरक्षण प्राप्त हुनेछ–
(क) नेपाल राज्य वा विश्व व्यापार सङ्गठनको सदस्य मुलुकमा बसोबास गर्ने रचयिताबाट रचित नेपाल राज्य वा सोही मुलुकमा प्रकाशन भएको रचना,
(ख) नेपाल राज्य वा विश्व व्यापार सङ्गठनको सदस्य मुलुकमा बसोबास गर्ने उत्पादकबाट उत्पादित श्रव्य–दृश्य रचना,
निकासी पैठारी तथा बौद्धिक सम्पत्ति सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित ।
(ग) नेपाल राज्य वा विश्व व्यापार सङ्गठनको सदस्य मुलुकभित्र गरिएको भवनको आर्किटेक्चरल डिजाइन वा भवन वा अन्य कुनै संरचनामा प्रयोग गरिएको अन्य कुनै प्रकारको कलात्मक रचना,
(घ) नेपाल राज्य वा विश्व व्यापार सङ्गठनको सदस्य मुलुक बाहेक अन्य मुलुकमा बसोबास भएको रचयिताबाट नेपाल राज्यमा प्रकाशित रचना वा त्यस्तो मुलुकको उत्पादकबाट नेपाल राज्यमा उत्पादित श्रव्य दृश्य रचना ।
(२) देहायका प्रस्तौतालाई यस ऐन बमोजिमको प्रस्तौता सम्बन्धी अधिकार प्राप्त हुनेछः–
(क) नेपाल राज्य वा विश्व व्यापार सङ्गठनको सदस्य मुलुकको प्रस्तौता,
(ख) नेपाल राज्य वा विश्व व्यापार सङ्गठनको सदस्य मुलुकमा प्रस्तुत गरिएको कुनै प्रस्तुति वा यस ऐन बमोजिम संरक्षण प्राप्त ध्वनि अङ्कनमा प्रयुक्त भएको प्रस्तुति वा ध्वनि अङ्कनमा समाविष्ट नगरेको भए पनि प्रसारणमा समाविष्ट प्रस्तुतिको प्रस्तौता ।
(३) देहायका ध्वनि अङ्कन उत्पादकलाई यस ऐन बमोजिमको ध्वनि अङ्कनको उत्पादक सम्बन्धी अधिकार प्राप्त हुनेछः–
(क) नेपाल राज्य वा विश्व व्यापार सङ्गठनको सदस्य मुलुकका व्यक्तिबाट उत्पादित ध्वनि अङ्कन,
(ख) नेपाल राज्य वा विश्व व्यापार सङ्गठनको सदस्य मुलुकमा प्रकाशन भएको ध्वनि अङ्कन,
(४) देहायका प्रसारण संस्थालाई यस ऐन बमोजिमको प्रसारण संस्था सम्बन्धी अधिकार प्राप्त हुनेछः–
(क) नेपाल राज्य वा विश्व व्यापार सङ्गठनको सदस्य मुलुकमा कार्यालय रहेको प्रसारण संस्थाबाट प्रसारित प्रसारण,
(ख) नेपाल राज्य वा विश्व व्यापार सङ्गठनको सदस्य मुलुकमा अवस्थित प्रसारण केन्द्रबाट प्रसारित प्रसारण ।
परिच्छेद–३ प्रतिलिपि अधिकार संरक्षणको अवधि
१४. प्रतिलिपि अधिकार संरक्षणको अवधिः (१) यस ऐन बमोजिम रचयितालाई प्राप्त आर्थिक र नैतिक अधिकार रचयिताको जीवनभर र निजको मृत्यु भएकोमा मृत्यु भएको वर्षबाट पचास वर्षसम्म संरक्षित हुनेछ ।
(२) संयुक्त रूपमा तयार गरिएको रचनाको आर्थिक र नैतिक अधिकारको हकमा रचयिताहरुमध्ये सबैभन्दा पछि मृत्यु हुने रचयिताको मृत्यु भएको वर्षबाट पचास वर्षसम्म संरक्षित हुनेछ ।
(३) दफा ६ को उपदफा (२) को खण्ड (ख) र (ग) बमोजिम तयार गरिएको रचनाको आर्थिक र नैतिक अधिकार त्यस्तो रचना प्रथम पटक प्रकाशन भएको वा प्रथम पटक जनसाधारण समक्ष ल्याइएको मिति मध्ये जुन पहिले आउँछ सो मितिबाट पचास वर्षसम्म संरक्षित हुनेछ ।
(४) बेनामी वा छद्म नामबाट प्रकाशित रचनाको आर्थिक तथा नैतिक अधिकार त्यस्तो रचना प्रथम पटक प्रकाशन भएको वा जनसाधारण समक्ष ल्याइएको मिति मध्ये जुन पहिले आउँछ सो मितिबाट पचास वर्षसम्म संरक्षित हुनेछ ।
तर उल्लेखित समयभित्र रचयिताको नाम प्रकाशनमा आएमा अवस्था हेरी उपदफा (१) वा (५) मा उल्लेखित संरक्षण प्राप्त हुनेछ ।
(५) व्यावहारिक कला सम्बन्धी रचना र फोटोजेन्य रचनाको आर्थिक तथा नैतिक अधिकार त्यस्तो रचना तयार भएको वर्षबाट पच्चीस वर्षसम्म संरक्षित हुनेछ ।
१५. रचयिताको मृत्युपछि प्रकाशित रचनाको संरक्षण अवधिः दफा १४ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै रचनाको रचयिता एउटै भए निजको र दुई वा दुई भन्दा बढी रचयिता भए
ती मध्ये कुनै एकको मृत्यु भएपछि प्रकाशित रचनाको हकमा सो रचना प्रकाशन भएको वर्षबाट पचास वर्षसम्म संरक्षित हुनेछ ।
परिच्छेद–४
अनुमति बिना प्रतिलिपि अधिकार प्राप्त सामग्री प्रयोग गर्न पाइने अवस्था
१६. व्यक्तिगत प्रयोजनको लागि पुनरुत्पादन गर्न पाइने: (१) दफा ७ को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यक्तिगत प्रयोजनको लागि कुनै पनि प्रकाशित रचनाको केही भाग पुनरुत्पादन गर्न रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति आवश्यक हुने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भवनको रूपमा तयार गरिएको आर्किटेक्चरल डिजाइन र अन्य निर्माण सम्बन्धी डिजाइनको पुनरुत्पादन वा कुनै पुस्तकको ठूलो हिस्साको पुनरुत्पादन वा सांगीतिक रचनालाई नोटेसनको रूपमा पुनरुत्पादन वा डाटाबेसको सम्पूर्ण नभए उल्लेखनीय हिस्सा डिजिटल ट्रान्समिसनको प्रक्रियाद्वारा पुनरुत्पादन गर्दा रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर पर्ने गरी पुनरुत्पादन गर्न पाइने छैन ।
१७. उद्धरण गर्न पाइने: दफा ७ को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रकाशित रचनाको केही अंश सङ्कायनको लागि रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर नपर्ने गरी निजको अनुमति बिना नै उद्धरण गर्न पाइने छ । त्यसरी उद्धरण गर्दा सोको स्रोत र त्यस्तो रचनाका रचयिताको नाम उल्लेख भए सो समेत उल्लेख गर्नु पर्नेछ ।
१८. पठनपाठनको लागि पुनरुत्पादन गर्न पाइने: (१) दफा ७ को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति बिना पठनपाठनको लागि रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर नपुर्याउने गरी देहायको कार्य गर्न पाइनेछ:–
(क) उद्धरण, लेखन वा श्रव्य दृश्यको सहायताद्वारा कुनै प्रकाशित रचनाको छोटो भाग पुनरुत्पादन गर्न,
(ख) कक्षामा प्रस्तुत हुने शैक्षिक क्रियाकलापको प्रयोजनको लागि रचनाको केही अंश पुनरुत्पादन, प्रसारण र प्रदर्शन गर्न ।
(२) उपदफा (१) बमोजिम पुनरुत्पादन गरिएको सबै प्रतिहरूमा स्रोत र रचयिताको नाम उल्लेख गर्नुपर्नेछ ।
१९. पुस्तकालय तथा अभिलेखालयले पुनरुत्पादन गर्न पाइनेः दफा ७ को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आर्थिक लाभ नलिई शोध वा अध्ययन गर्ने व्यक्तिको अनुरोधमा आफूसँग रहेका रचना उपलब्ध गराउने सार्वजनिक पुस्तकालय वा अभिलेखालयले आफूसँग रहेका कुनै पनि रचना हराए वा नष्ट भए वा पुरानो भएमा वा त्यस्तो रचना प्राप्त गर्न नसकिने भएमा त्यस्तो रचनाको रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति बिना त्यस्तो रचनाको एकप्रति पुनरुत्पादन गर्न पाइनेछ ।
२०. सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले पुनरुत्पादन, प्रसारण र अन्य किसिमको सञ्चार गर्न पाइनेः (१) दफा ७ को खण्ड (क), (ख) र (ञ) मा जुनसुकै कुरा लेखिएको भए तापनि रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति बिना कुनै रचनाको स्रोत र रचयिताको नाम उल्लेख गरी देहायका काम गर्न पाइनेछः–
(क) कुनै समाचारपत्र वा पत्रपत्रिकामा छापिएको लेख, राजनैतिक वा धार्मिक शीर्षकको लेख वा यस्तै प्रकृतिको प्रसारणलाई कुनै समाचार पत्र वा पत्रपत्रिकामा छाप्न वा सर्वसाधारणलाई प्रसारण गर्न वा अन्य किसिमको प्रसारण गर्न,
तर रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर पुऱ्याउन पाइने छैन ।
(ख) कुनै ताजा घटनाका सम्बन्धमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले पुनरुत्पादन गर्न, प्रसारण वा अन्य किसिमको सञ्चार गर्न वा कुनै घटनालाई पुष्टि गर्न,
(ग) ताजा सूचना प्रवाह गर्ने उद्देश्यले सर्वसाधारण समक्ष प्रस्तुत गरिएका वा अदालती कारबाहीका सम्बन्धमा गरिएको बहस कुनै समाचारपत्र
वा नियमित रुपमा प्रकाशित हुने पत्रिकाको केही अंश पुनरुत्पादन गर्न, प्रसारण गर्न वा अन्य सार्वजनिक सञ्चार गर्न ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि रचियताले नै पुनरुत्पादन, प्रसारण र अन्य किसिमको सञ्चार गर्न नपाइने भनी उल्लेख गरेको रहेछ भने त्यस्तो अवस्थामा पुनरुत्पादन, प्रसारण र अन्य किसिमको सञ्चार गर्न पाइनेछैन ।
२१. कम्प्युटर प्रोग्रामको पुनरुत्पादन गर्न पाइने: दफा ७ को खण्ड (क) र (ग) मा जुनसुकै लेखिएको भए तापनि जुन उद्देश्यका लागि कम्प्युटर प्रोग्राम प्राप्त गरिएको हो सो उद्देश्य प्राप्त गर्न नसकेको अवस्थामा वा अभिलेख राख्ने उद्देश्यले वा वैध रुपले प्राप्त गरिएको कम्प्युटर प्रोग्राम हराए वा नष्ट भए वा प्रयोग गर्न नसकिने भएमा रचियता वा प्रतिलिपि अधिकार धनीको अनुमति बिना नै एक प्रति कम्प्युटर प्रोग्राम पुनरुत्पादन गर्न पाइनेछ ।
२२. व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाइने: दफा ७ को खण्ड (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि रचियता वा प्रतिलिपि अधिकार धनीको इजाजत बिना व्यक्तिगत प्रयोजनको लागि कुनै रचनाको एकप्रति पैठारी गर्न पाइनेछ ।
२३. सार्वजनिक प्रदर्शन गर्न पाउने: दफा ७ को खण्ड (ज) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कुनै रचना वा रचनाको प्रतिलिपिको सार्वजनिक प्रदर्शन गर्न चाहेमा रचियता वा प्रतिलिपि अधिकार धनीको अनुमति बिना त्यस्तो रचना वा रचनाको प्रतिलिपिको सार्वजनिक प्रदर्शन गर्न पाउनेछ ।
तर त्यस्तो प्रदर्शन चलचित्र, स्लाइड, टेलिभिजन वा पर्दा वा अन्य किसिमको यन्त्रको सहायता बिना नै गरिएको हुनु पर्नेछ ।
परिच्छेद–५ प्रतिलिपि अधिकारको हस्तान्तरण
२४. प्रतिलिपि अधिकारको हस्तान्तरण: (१) प्रतिलिपि अधिकार धनीले आफूलाई प्राप्त आर्थिक अधिकारमध्ये सबै वा केही अधिकार लिखित रुपमा सम्झौता गरी अरुलाई हस्तान्तरण गर्न वा कुनै शर्त तोकी वा नतोकी प्रयोग गर्न अनुमति दिन सक्नेछ ।
(२) नैतिक अधिकार प्राप्त व्यक्तिले आफ्नो मृत्युपश्चात् लागू हुने गरी निजलाई प्राप्त नैतिक अधिकारको संरक्षणको लागि रचनामा आफ्नो नाम नहटाउने शर्त सहित लिखित रुपमा सम्झौता गरी कसैलाई हस्तान्तरण गर्न सक्नेछ ।
(३) यस दफा बमोजिम प्रतिलिपि अधिकार धनीबाट अधिकार हस्तान्तरण गरी लिने व्यक्तिले त्यसरी हस्तान्तरण गरी लिएको अधिकार बाहेक अन्य कुनै काम कारबाही गर्न पाउने छैन ।
परिच्छेद–६ संरक्षित अधिकारको उलिङ्गघन र दण्ड सजाय
२५. संरक्षित अधिकारको उलिङ्गघन भएको मानिनेः (१) कसैले देहाय बमोजिमको कार्य गरेमा यस ऐन बमोजिम संरक्षित अधिकार उलिङ्गघन गरेको मानिनेछ:-
(क) रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति प्राप्त नगरी वा अनुमति प्राप्त गरेको भए तापनि सम्झौता वा अनुमतिपत्रमा उल्लेख भएको शर्तको उलिङ्गघन गरी आर्थिक लाभ उठाई वा नउठाई व्यापारिक वा अन्य कुनै उद्देश्यले आफ्नो हक नपर्ने रचना वा ध्वनिअङ्कनको प्रतिलिपिहरु उत्पादन गरी बिक्री वितरण वा सार्वजनिक सञ्चार गरेमा वा भाषामा दिएमा,
(ख) अर्काको रचनाले आर्जित गरेको प्रतिष्ठाको फाइदा उठाउने नियतले त्यस्तो रचनाको अनुकरण गरी विज्ञापन वा प्रचार प्रसार गरेमा,
(ग) अर्काको रचनाको स्वरूप वा भाषाको माध्यम परिवर्तन गरी आर्थिक लाभ उठाउने उद्देश्यले अकै विषय वा प्रकृतिको रचना निर्माण गरेमा,
(घ) विज्ञापन वा अन्य कुनै माध्यमबाट दर्शक वा श्रोता वा पाठकलाई अकै रचना हो भन्ने भान पार्ने नियतले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले कुनै कुरा निर्माण वा तयार गरी फाइदा उठाउने प्रयत्न गरेमा ।
(ङ) अनधिकृत पुनरुत्पादन गर्न हतोत्साहित गर्न गरिएको व्यवस्थालाई असफल गराउने ध्येय राखी तयार गरिएको उपकरण वा माध्यमको आयात, उत्पादन वा भाडामा दिने कार्य गरेमा,
(च) सांकेतिक भाषामा गोप्य रूपमा (इन्क्रिप्ट गरी) प्रसारण गरिएको कार्यक्रमलाई अनधिकृत रूपमा हेर्न मद्दत गर्ने उपकरण बिक्री गर्ने उद्देश्यले उत्पादन वा आयात गर्ने कार्य गरेमा,
(छ) खण्ड (ङ) र (च) मा उल्लेख भए बाहेक प्रतिलिपि अधिकार उल्लंघन गर्ने उद्देश्यले मात्र तयार गरिएको यान्त्रिक उपकरण आयात, बिक्री, वितरण तथा प्रयोग गरेमा ।
(२) कसैले उपदफा (१) उल्लंघन गरी कुनै रचना वा ध्वनिअङ्कन प्रकाशन गरेको कुरा थाहा पाउँदा पाउँदै वा विश्वास गर्ने पर्याप्त कारण हुँदा हुँदै त्यसरी प्रकाशन गरिएका रचनाका प्रतिहरू एवं ध्वनिअङ्कनका प्रतिहरू बिक्री वितरण गर्न वा भाडामा दिनु हुँदैन ।
२६. अधिकार प्रतिलिपिहरूको पैठारीमा प्रतिबन्ध: नेपाल ............ भित्र तयार गरिएको भए अधिकार प्रकाशन ठहरिने कुनै रचना वा ध्वनि अङ्कनको प्रतिलिपिहरू विदेशमा तयार गरी वा अन्य कुनै तरिकाले प्राप्त गरी व्यावहारिक प्रयोजनको लागि नेपाल ............ भित्र पैठारी गर्न हुँदैन ।
२७. संरक्षित अधिकारको उल्लंघन गरेमा दण्ड सजाय: (१) कसैले दफा २५ उल्लंघन गरेमा त्यस्तो उल्लंघन गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार दश हजार रुपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुबै सजाय हुनेछ र दोस्रो पटक देखि पटकै पिच्छे बीस हजार रुपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुनेछ । त्यसरी प्रकाशन वा पुनरुत्पादन गरेको वा वितरण गरेको वा पुनरुत्पादन गर्न प्रयोग गरिएका सामग्रीहरू जफत हुनेछ ।
(२) संरक्षित अधिकारको उल्लंघन गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति समेत भराई दिनु पर्नेछ ।
२८. अनाधिकार प्रतिलिपि पैठारी गरेमा सजाय: कसैले दफा २६ उल्लंघन गरी कुनै रचनाको अनाधिकार प्रतिलिपिहरू पैठारी गरेमा त्यस्तो प्रतिलिपिहरू जफत गरी निजलाई कसूरको मात्रा अनुसार दश हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ र प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई त्यस्तो पैठारीबाट भएको नोक्सानीको क्षतिपूर्ति समेत सो पैठारी गर्ने व्यक्तिबाट भराई दिनु पर्नेछ ।
२९. अन्य सजाय: कसैले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा लेखिएका अन्य कुनै कुरा उल्लंघन गरेमा कसूरको मात्रा अनुसार पाँचहजार रुपैयाँदेखि पचासहजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
परिच्छेद–७ विविध
३०. रजिष्ट्रार तथा निजको काम, कर्तव्य र अधिकार: (१) यस ऐन बमोजिम रजिष्ट्रारको काम गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीको अधिकृतलाई रजिष्ट्रारको काम गर्न गरी तोक्नेछ ।
(२) यस ऐनमा अन्यत्र लेखिइदेत्त बाहेक रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) रोयलटी सङ्कलन संस्थाको रेखदेख र नियन्त्रण गर्ने,
(ख) रोयलटी सङ्कलन संस्थाले निर्धारण गरेको रोयलटीमा कुनै पक्षको चित्त नबुझेमा तोकिए बमोजिम उजुरी सुन्ने,
(ग) यस ऐनको उद्देश्य पूर्तिका लागि तोकिए बमोजिमका अन्य कार्य गर्ने वा गराउने ।
३१. रजिष्ट्ररको आदेश र निर्णय उपर पुनरावेदन: रजिष्ट्रारले दिएको कुनै आदेश वा निर्णय उपर चित्त नबुझ्ने पक्षले पैंतीस दिनभित्र रजिष्ट्रारको कार्यालय रहेको क्षेत्रको जिल्ला अदालत समक्ष पुनरावेदन दिन सक्नेछ ।
३२. रचना, ध्वनिअङ्कनका प्रतिहरु वा अन्य सामग्री कब्जा गर्न सक्नेः (१) कसैले दफा २५ विपरीत कुनै रचना वा ध्वनिअङ्कनको प्रकाशन वा पुनरुत्पादन गरेको वा गर्न लागेको शङ्का लागेमा यस ऐन बमोजिम कसूर हेपिकाि गर्ने प्रहरी कर्मचारी समक्ष उजुरी दिएमा सो प्रहरी कर्मचारीले त्यस्तो रचना वा ध्वनिअङ्कनको प्रतिहरु बिक्री वितरण हुन नदिनको लागि आवश्यक व्यवस्था गर्नेछ र आवश्यक भएमा त्यस्तो रचना वा ध्वनिअङ्कनको प्रतिहरु प्रचलित कानून बमोजिम खानतलासी गरी कब्जामा लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम खानतलासी गरी कब्जामा लिँदा त्यस्तो रचना वा ध्वनिअङ्कनका प्रतिहरु प्रकाशन वा पुनरुत्पादन गर्न प्रयोग गरिएको मेसिन लगायतका सामग्रीहरु समेत कब्जामा लिन सकिनेछ ।
३३. रचना, ध्वनिअङ्कनका प्रतिहरु वा अन्य सामग्री नष्ट गर्नुपर्नेः दफा ३२ बमोजिम कब्जा गरिएका रचना र ध्वनिअङ्कनका प्रतिहरु अदालतबाट मुद्दा किनारा हुँदा जफत हुने ठहरिएमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका प्रतिनिधिको रोहवरमा मुचुल्का गरी नष्ट गरिनुपर्नेछ ।
३४. अनतिकार प्रतिलिपिको पैठारी रोक्ने सम्बन्धी भन्सार अधिकृतको अधिकारः (१) दफा २६ उल्लंघन गरी कसैले नेपाल ........... भित्र अनतिकार प्रतिलिपिको सामग्री पैठारी गर्न लागेको छ भन्ने शङ्का लागेमा त्यस्तो सामग्रीको पैठारीमा रोक लगाउन प्रमाण सहित भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा भन्सार अधिकृतले आवश्यक जाँचबुझ गर्दा निवेदकको माग मनासिब देखिन आएमा निजले पैठारी हुन लागेको सामग्रीलाई एक पटकमा दश कार्यदिन गरी बढीमा बीस कार्यदिनसम्म रोक लगाउन सक्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि भन्सार अधिकृतले नेपाल $^*$ .......... भित्र अनधिकृत प्रतिलिपिको सामग्री पैठारी गर्न लागेको थाहा पाएमा वा शङ्का लागेमा त्यस्तो सामग्रीलाई एक पटकमा दश कार्यदिन गरी बढीमा बीस कार्यदिनसम्म रोक लगाउन सक्नेछ ।
(४) अनधिकृत प्रतिलिपिको पैठारी रोक्ने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।
३५. मुद्दाको कारबाही र किनाराः (१) यस ऐन अन्तर्गत सजाय हुने मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ ।
(२) यस ऐन अन्तर्गतको मुद्दाको कारबाही र किनारा गर्दा संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिमको कार्यविधि अपनाइनेछ ।
३६. रोक्का गर्न आदेश दिन सक्नेः यस ऐन बमोजिम उजुरीको कारबाही र किनारा गर्ने सिलसिलामा सम्बन्धित पक्षको निवेदन माग बमोजिम जिल्ला अदालतले यस ऐन विपरीतको कुनै काम कारबाही तत्काल रोक्न मनासिब ठहर्याएमा सम्बन्धित व्यक्ति वा निकायलाई त्यस्तो काम कारबाही रोक्का गर्न आदेश दिन सक्नेछ ।
३७. नेपाल सरकार वादी हुनेः (१) दफा २७ र २८ अन्तर्गत सजाय हुने मुद्दा नेपाल सरकार वादी हुनेछ र सो $^*$ 'मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची–१ मा परेको मानिनेछ ।
(२) यस ऐन अन्तर्गतको मुद्दाको अनुसन्धान र तहकीकात कम्तीमा प्रहरी निरीक्षकले गर्नेछ ।
३८. हदम्यादः यस ऐन अन्तर्गतको कुनै अधिकार उल्लंघन भएकोमा सो भएको थाहा पाएको मितिले तीन महिनाभित्र उजुरी दिनु पर्नेछ ।
$^$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको । $^$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा रुपान्तर भई मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
३९. रोयलटी सङ्कलन संस्था सम्बन्धी व्यवस्थाः (१) प्रतिलिपि अधिकार सम्बन्धी रचनाको रोयलटी निर्धारण गर्ने, सङ्कलन गर्ने, सङ्कलित रोयलटी वितरण गर्ने प्रयोजनको लागि सामान्यतया एउटा विधामा एउटा रोयलटी सङ्कलन संस्था तोकिए बमोजिम गठन गरिनेछ ।
(२) उपदफा (१) बमोजिम गठन गरिएको रोयलटी सङ्कलन संस्थालाई रजिष्ट्रार समक्ष तोकिए बमोजिम दर्ता गराउनु पर्नेछ ।
(३) रोयलटी सङ्कलन संस्था अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त र संगठित संस्था हुनेछ ।
(४) रोयलटी सङ्कलन संस्थाको सबै काम कारबाहीको निमित्त आफ्नो छुट्टै छाप हुनेछ ।
(५) रोयलटी सङ्कलन संस्थाले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न र व्यक्ति सरह नालिस उजूर गर्न एवं सोही नामबाट नालिस उजूर गर्न सक्नेछ ।
(६) नेपाल सरकारले रोयलटी सङ्कलन संस्थाले पालना गर्नुपर्ने शर्त तोक्न सक्नेछ र त्यस्तो शर्तको पालना गर्नु रोयलटी सङ्कलन संस्थाको कर्तव्य हुनेछ ।
४०. नेपाल सरकार र प्रदेश सरकारको प्रतिलिपि अधिकार: (१) नेपाल सरकारद्वारा तयार गरिएको रचनाको प्रतिलिपि अधिकार नेपाल सरकार र प्रदेश सरकारद्वारा तयार गरिएको रचनाको प्रतिलिपि अधिकार प्रदेश सरकारलाई हुनेछ ।
(२) नेपाल सरकार वा प्रदेश सरकारले उपदफा (१) बमोजिम प्राप्त अधिकार कुनै व्यक्ति वा संस्थालाई बहालमा दिन वा बिक्री गर्न वा अन्य कुनै प्रकारले प्रयोग गर्न अनुमति दिन सक्नेछ ।
४१. वर्षको गणनाः यस ऐन बमोजिम वर्ष गणना गर्दा रचना प्रकाशन वा सार्वजनिक सञ्चार भएको वा ध्वनिअङ्कन उत्पादन भएको वर्षको अन्त्यबाट शुरु हुने विक्रम संवत् बमोजिमको नयाँ वर्षबाट गणना गरिनेछ ।
१ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
४२. नियम बनाउने अधिकार: यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ ।
४३. खारेजी र बचाउ: (१) प्रतिलिपि अधिकार ऐन, २०२२ खारेज गरिएको छ ।
(२) यो ऐन प्रारम्भ हुनु पूर्व सार्वजनिक रूपमा प्रकाशन भएका रचनाको बाँकी रहेको प्रतिलिपि अधिकारको संरक्षण अवधि यस ऐन बमोजिम संरक्षण भएको मानिनेछ ।
(३) प्रतिलिपि अधिकार ऐन, २०२२ बमोजिम भए गरेका काम कारबाहीहरू यसै ऐन बमोजिम भए गरेको मानिने छन् ।
दृष्टव्य:- (१) केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरू:- “श्री ५ सरकार” को सट्टा “नेपाल सरकार” ।
(२) केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा रूपान्तर भएका शब्दहरू:- “सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९” को सट्टा “मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४” ।