प्रमाणिकरण र प्रकाशन मिति २०६४।५।३१
संशोधन गर्ने ऐन केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३
व्यवस्थापिका संसदले बनाएको २०६४ सालको ऐन न. २२ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक नेपालको सङ्गीत तथा नाट्य विधाको संरक्षण, सम्वर्धन, प्रवर्द्धन एवं सर्वाङ्गीण विकास गर्न, सङ्गीत तथा नाट्य विधामा अध्ययन एवं अनुसन्धान गर्न गराउन तथा यस क्षेत्रका विद्वान तथा प्रतिभाहरुको सम्मान र कदर गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्नको लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४” रहेको छ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “सङ्गीत” भन्नाले गायन, सङ्गीत सृजना, वादन र नृत्य समेत सम्झनु पर्छ । (ख) “नाट्य” भन्नाले नाटक, अभिनय र रङ्गकर्म सम्झनु पर्छ ।
(ग) “प्रज्ञा प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सम्झनु पर्छ ।
(घ) “सभा” भन्नाले दफा ७ बमोजिमको प्राज्ञ सभा सम्झनु पर्छ ।
(ङ) “परिषद्” भन्नाले दफा ११ बमोजिमको प्राज्ञ परिषद् सम्झनु पर्छ ।
(च) “कुलपति” भन्नाले प्रज्ञा प्रतिष्ठानको कुलपति सम्झनु पर्छ ।
(छ) “उपकुलपति” भन्नाले प्रज्ञा प्रतिष्ठानको उपकुलपति सम्झनु पर्छ ।
(ज) “सचिव” भन्नाले प्रज्ञा प्रतिष्ठानको सचिव सम्झनु पर्छ ।
(झ) “पदाधिकारी” भन्नाले कुलपति, उपकुलपति, सचिव र परिषद्का मनोनीत सदस्य सम्झनु पर्छ ।
(ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
परिच्छेद–२ प्रज्ञा प्रतिष्ठानको स्थापना तथा काम, कर्तव्य र अधिकार
३. प्रज्ञा प्रतिष्ठानको स्थापना: (१) सङ्गीत तथा नाट्य विधाको संरक्षण, सम्वर्धन, प्रवर्द्धन एवं सर्वाङ्गीण विकास गर्ने काम समेतको लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नामको एक प्रज्ञा प्रतिष्ठान स्थापना गरिएको छ ।
(२) प्रज्ञा प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र प्रज्ञा प्रतिष्ठानले आवश्यकता अनुसार नेपालको विभिन्न स्थानहरुमा शाखा खोल्न सक्नेछ ।
४. प्रज्ञा प्रतिष्ठान स्वशासित संस्था हुने: (१) प्रज्ञा प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित संस्था हुनेछ ।
(२) प्रज्ञा प्रतिष्ठानको सबै काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) प्रज्ञा प्रतिष्ठानले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपयोग गर्न, बेचतविकन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) प्रज्ञा प्रतिष्ठानले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र प्रज्ञा प्रतिष्ठानउपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।
(५) प्रज्ञा प्रतिष्ठानले व्यक्ति सरह करार गर्न र करार बमोजिमको अधिकार प्रयोग गर्न तथा दायित्व निर्वाह गर्न सक्नेछ ।
५. प्रज्ञा प्रतिष्ठानको काम, कर्तव्य र अधिकार: यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त प्रज्ञा प्रतिष्ठानको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:–
(क) प्रज्ञा प्रतिष्ठानको नीति तथा कार्यक्रम तर्जुमा गर्ने,
(ख) सङ्गीत तथा नाट्यकलाको सङ्कलन, संरक्षण, सम्वर्धन र अध्ययन, अनुसन्धान गर्ने,
(ग) सङ्गीत तथा नाट्य विधा सम्बन्धी अनुसन्धानात्मक तथा मौलिक कृति सिर्जना गर्ने तथा त्यस्ता कृति प्रकाशन गर्ने,
(घ) सङ्गीत तथा नाट्य विधामा उल्लेखनीय योगदान पुर्याउने स्वदेशी तथा विदेशी व्यक्तिलाई कदर, सम्मान र पुरस्कारको व्यवस्था गर्ने,
(ङ) सङ्गीत तथा नाट्य सम्बन्धी पुस्तकालय, सङ्ग्रहालय, रङ्गमञ्च, नाट्यशाला आदि स्थापना गर्ने,
(च) नेपालका विभिन्न जाति तथा समुदायका बाजा, वाद्य सामग्री तथा सङ्गीत संयोजन गर्ने साधनहरुको संरक्षण गर्ने,
(छ) नेपालका विभिन्न जाति तथा समुदायका मौलिक लोकधुन, लोकनृत्य तथा लोक सङ्गीतको अध्ययन, अनुसन्धान, सम्वर्धन र संरक्षण गर्ने,
(ज) नेपाली सङ्गीत तथा नाट्य विधालाई विश्व समक्ष परिचित गराउने,
(झ) सङ्गीत तथा नाट्य विधामा अध्ययन एवं अनुसन्धानको लागि वृत्तिवृत्तिको व्यवस्था गर्ने,
(ञ) सङ्गीत तथा नाट्य विधा सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने,
(ट) सङ्गीत तथा नाट्य विधाको विकास र विस्तार गर्न सम्बन्धित संघ, संस्था तथा व्यक्तिलाई प्रोत्साहन गर्ने,
(ठ) सङ्गीत तथा नाट्य विधामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गोष्ठी, कार्यशाला, सम्मेलन, महोत्सव तथा प्रतियोगिता आयोजना गर्ने, गराउने,
(ढ) सङ्गीत तथा नाट्य विधासँग सम्बन्धित संघ संस्थाहरूसँग सम्बन्ध स्थापना तथा विस्तार गर्ने र त्यस्ता संघ संस्थाहरूसँग पारस्परिक सहयोग आदान प्रदान गर्ने,
(ण) लोकपक्षीय सङ्गीत र नाट्य कलाको उत्थान र विकास गर्ने, गराउने,
(त) यो ऐनको उद्देश्य पूरा गर्न अन्य आवश्यक काम गर्ने, गराउने ।
परिच्छेद–३ प्रज्ञा प्रतिष्ठानको सङ्गठन
६. प्रज्ञा प्रतिष्ठानको सङ्गठन: प्रज्ञा प्रतिष्ठानको सङ्गठन देहाय बमोजिम हुनेछ र यिनीहरूको सामूहिक रूप नै प्रज्ञा प्रतिष्ठानको स्वरूप हुनेछ:-
(क) सभा, (ख) परिषद्, र (ग) सेवा आयोग ।
७. सभा: (१) प्रज्ञा प्रतिष्ठानको सर्वोच्च निकायको रूपमा एक प्राज्ञसभा रहनेछ ।
(२) सभाको गठन देहाय बमोजिम हुनेछ:-
(क) कुलपति — अध्यक्ष (ख) उपकुलपति — उपाध्यक्ष (ग) सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय — सदस्य (घ) सङ्गीत तथा नाट्य क्षेत्रसँग सम्बन्धित विशिष्ट व्यक्तिहरूमध्येबाट समावेशीतालाई ध्यानमा राखी महिलाहरू समेतको उपयुक्त प्रतिनिधित्व हुने गरी
प्रधानमन्त्रीले मनोनीत गरेको चौबीसजना — सदस्य
(ङ) सचिव — सदस्य-सचिव
(३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरुको पदावधि चार वर्षको हुनेछ ।
(४) कुनै कारणले सभाका मनोनीत सदस्यको पद रिक्त हुन गएमा बाँकी अवधिको लागि त्यस्तो सदस्य जुन विधा वा क्षेत्रबाट मनोनयन भएको हो सोही विधा वा क्षेत्रबाट अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
(५) सभाका सदस्यहरुको सुविधा तोकिए बमोजिम हुनेछ ।
८. सिफारिस समिति: (१) पदाधिकारी तथा सभामा मनोनयन हुने सदस्यको नियुक्ति वा मनोनयनको लागि प्रधानमन्त्री समक्ष नाम सिफारिस गर्न देहाय बमोजिमको एक सिफारिस समिति रहनेछ:-
(क) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री — अध्यक्ष
(ख) सङ्गीत तथा नाट्य क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरुमध्येबाट प्रधानमन्त्रीले तोकेको दुईजना — सदस्य
(२) उपदफा (१) बमोजिमको समितिले सभाको सदस्यमा मनोनयनको लागि नाम सिफारिस गर्दा सङ्गीत तथा नाट्य क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरेका वा सो विधामा ख्यातिप्राप्त व्यक्तिहरुमध्येबाट सम्भव भएसम्म सङ्गीत तथा नाट्यका विभिन्न विधा र क्षेत्रको प्रतिनिधित्व हुने र सबै जाति, लिङ्ग, भाषाभाषी समेतलाई समेट्ने गरी नाम सिफारिस गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको समितिले पदाधिकारीको नियुक्तिको लागि नाम सिफारिस गर्दा सभाका मनोनीत सदस्यहरुमध्येबाट गर्नेछ ।
(४) उपदफा (१) बमोजिमको समितिले सिफारिस गर्ने सम्बन्धमा अवलम्बन गर्ने कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
९. सभाको काम, कर्तव्य र अधिकार: सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) प्रज्ञा प्रतिष्ठानको नीति निर्धारण गर्ने ,
(ख) प्रज्ञा प्रतिष्ठानको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत गर्ने,
(ग) प्रज्ञा प्रतिष्ठानको वार्षिक बजेट पारित गर्ने,
(घ) वृत्तिवृत्ति, सम्मान तथा पुरस्कार अनुमोदन गर्ने,
(ङ) परिषद्लाई आवश्यक निर्देशन दिने र मार्गदर्शन गर्ने,
(च) परिषद्को कामको अनुगमन तथा मूल्याङ्कन गर्ने,
(छ) प्रज्ञा प्रतिष्ठानको नियम स्वीकृत गर्ने,
(ज) तोकिए बमोजिमका अन्य काम गर्ने ।
१०. सभाको बैठक: (१) सभाको बैठक वर्षको कम्तीमा दुईपटक बस्नेछ ।
(२) सभाको बैठक सभाको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) सभाको बैठक हुनुभन्दा कम्तीमा पन्ध्र दिन अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना सभाको सदस्य–सचिवले सबै सदस्यहरुलाई दिनु पर्नेछ।
(४) सभामा तत्काल कायम रहेका सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा सभाको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) सभाको बैठकको अध्यक्षता सभाको अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ।
(६) सभाको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) सभाको बैठकको निर्णय सभाको सदस्य–सचिवले प्रमाणित गरी राख्नेछ ।
(८) सभाले प्रज्ञा प्रतिष्ठानको मानार्थ प्राज्ञ तथा आजीवन सदस्यलाई सभाको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(९) सभाको बैठक सम्बन्धी अन्य कार्यविधि सभा आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
११. परिषद्को गठन: (१) प्रज्ञा प्रतिष्ठानको कार्यकारी निकायको रूपमा काम गर्न एक प्राज्ञ परिषद् रहनेछ ।
(२) परिषद्को गठन देहाय बमोजिम हुनेछ:-
(क) कुलपति — अध्यक्ष (ख) उप-कुलपति — उपाध्यक्ष (ग) सभाका मनोनीत सदस्यहरु मध्येबाट कम्तीमा दुईजना महिला सहित सम्भव भएसम्म विभिन्न जात, जाति, भाषाभाषीको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्रीबाट मनोनीत छजना — सदस्य (घ) सचिव — सदस्य–सचिव
(३) कुनै कारणले उपदफा (२) को खण्ड (ग) बमोजिमका सदस्यको पद रिक्त हुन गएमा बाँकी अवधिको लागि त्यस्तो सदस्य जुन विधा वा क्षेत्रबाट मनोनयन भएको हो सोही विधा वा क्षेत्रबाट अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
१२. परिषद्को काम, कर्तव्य र अधिकार: परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) सभाले गरेको निर्णय कार्यान्वयन गर्ने, (ख) सभाले दिएको निर्देशन पालना गर्ने, (ग) लेखापरीक्षणको प्रतिवेदन सभा समक्ष पेश गर्ने, (घ) सचिवले पेश गरेको वार्षिक कार्यक्रम, बजेट, प्रगति प्रतिवेदन तथा अन्य प्रतिवेदन सम्बन्धमा छलफल तथा आवश्यकता अनुसार संशोधन गरी अनुमोदनका लागि सभा समक्ष पेश गर्ने, (ङ) प्रज्ञा प्रतिष्ठानको चल अचल सम्पत्तिको व्यवस्थापन, सञ्चालन, संरक्षण र रेखदेख गर्ने, गराउने,
(च) प्रज्ञा प्रतिष्ठानको कोषको व्यवस्था र सञ्चालन गर्ने,
(छ) प्रज्ञा प्रतिष्ठानको लागि प्राप्त आर्थिक तथा अन्य सहयोग ग्रहण गर्ने,
(ज) वृत्तिवृत्ति, सम्मान, कदर तथा पुरस्कार अनुमोदनको लागि सभामा पेश गर्ने,
(झ) परिषद्को काम कारबाहीको सम्बन्धमा आवश्यकता अनुसार समिति, उपसमिति वा कार्यटोली गठन गर्ने र त्यस्तो समिति, उपसमिति वा कार्यटोलीको काम, कर्तव्य तथा अधिकार तोक्ने,
(ञ) तोकिए बमोजिमका अन्य काम गर्ने ।
१३. परिषद्को बैठक: (१) परिषद्को बैठक दुई महिनामा कम्तीमा एकपटक बस्नेछ ।
(२) परिषद्को बैठक परिषद्को अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) परिषद्को बैठक हुनुभन्दा कम्तीमा चौबीस घण्टा अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना परिषद्को सदस्य–सचिवले सबै सदस्यहरूलाई दिनु पर्नेछ ।
(४) परिषद्मा तत्काल कायम रहेका सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ ।
(६) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) परिषद्को बैठकको निर्णय परिषद्को सदस्य–सचिवले प्रमाणित गरी राख्नेछ ।
(८) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
परिच्छेद–४ प्रमुख संरक्षक, संरक्षक र प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारी
१४. प्रमुख संरक्षक: प्रधानमन्त्री प्रज्ञा प्रतिष्ठानको प्रमुख संरक्षक हुनेछ ।
१५. संरक्षक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रज्ञा प्रतिष्ठानको संरक्षक हुनेछ ।
१६. कुलपति: (१) प्रज्ञा प्रतिष्ठानमा एक कुलपति रहनेछ । (२) कुलपति प्रज्ञा प्रतिष्ठानको प्रमुख पदाधिकारी हुनेछ ।
१७. कुलपतिको काम, कर्तव्य र अधिकार: यस ऐनमा अन्यत्र उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त कुलपतिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) सभाले दिएको निर्देशन र परिषद्ले गरेको निर्णयको कार्यान्वयन गर्ने, गराउने, (ख) प्रज्ञा प्रतिष्ठानको वार्षिक कार्यक्रम, बजेट, प्रतिवेदन तथा अन्य प्रतिवेदन तयार गर्न लगाउने, (ग) प्रज्ञा प्रतिष्ठानको काम, कारबाही तथा कर्मचारी प्रशासनको सामान्य नियन्त्रण गर्ने, (घ) परिषद्को स्वीकृति लिई प्रज्ञा प्रतिष्ठानको तर्फबाट करार गर्ने, (ङ) स्वदेशी तथा विदेशी संघ संस्थासँग प्रज्ञा प्रतिष्ठानको कामसँग सम्बन्धित विषयमा आवश्यक सम्पर्क गर्ने, (च) तोकिए बमोजिमका अन्य काम गर्ने ।
१८. उप-कुलपति: प्रज्ञा प्रतिष्ठानमा एक उप-कुलपति रहनेछ ।
१९. उप-कुलपतिको काम, कर्तव्य र अधिकार: उप-कुलपतिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) सभाले दिएको निर्देशन र परिषद्ले गरेको निर्णयको कार्यान्वयनमा कुलपतिलाई सहयोग गर्ने,
(ख) कुलपतिको अनुपस्थितिमा निजले गर्ने सबै काम गर्ने,
(ग) कुलपतिको निर्देशनमा अन्य काम गर्ने ।
२०. सचिव: (१) प्रज्ञा प्रतिष्ठानमा एक सचिव रहनेछ ।
(२) सचिवको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
२१. पदाधिकारी सम्बन्धी व्यवस्था: (१) प्रधानमन्त्रीले यस ऐनको अधीनमा रही पदाधिकारीको नियुक्ति गर्नेछ ।
(२) पदाधिकारीको पदावधि चार वर्षको हुनेछ ।
(३) पदाधिकारीले प्रज्ञा प्रतिष्ठानमा पूरा समय काम गर्नेछ ।
(४) पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा तोकिए बमोजिम हुनेछ ।
२२. पद रिक्त हुने अवस्था : देहायका अवस्थामा पदाधिकारी र सभाका सदस्यको पद रिक्त भएको मानिनेछ:-
(क) निजको पदावधि समाप्त भएमा,
(ख) निजले राजीनामा दिएमा,
(ग) निजको मानसिक सन्तुलन ठीक नभएमा,
(घ) निजले नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएमा,
(ङ) निज दफा २३ बमोजिम पदबाट हटेमा, वा
(च) निजको मृत्यु भएमा ।
२३. पदबाट हटाउन सक्ने: (१) पदाधिकारी वा सभाका सदस्यले यस ऐनको उद्देश्य बमोजिम काम नगरेको वा आफ्नो पद अनुकूलको आचरण नगरेको वा इमान्दारीपूर्वक कार्य नगरेको वा निजमा कार्यक्षमताको अभाव भएको कारण देखाई सभामा तत्काल कायम रहेका कम्तीमा एक चौथाई सदस्यले प्रधानमन्त्री समक्ष लिखित निवेदन दिएमा प्रधानमन्त्रीबाट सभाका सदस्यहरुमध्येबाट एक छानबिन समिति गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिमको छानबिन समितिले सो सम्बन्धमा छानबिन गरी आफ्नो प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गर्नेछ र प्रधानमन्त्रीले त्यस्तो प्रतिवेदन छलफलका लागि सभा समक्ष राख्ने व्यवस्था गर्नेछ ।
(३) उपदफा (२) बमोजिम पेश भएको प्रतिवेदनका सम्बन्धमा सभामा छलफल हुँदा सभाको बहुमत सदस्यले पदाधिकारी वा सभाका सदस्यले यस ऐनको उद्देश्य बमोजिम काम नगरेको वा आफ्नो पद अनुकूलको आचरण नगरेको वा इमान्दारीपूर्वक काम नगरेको वा निजमा कार्यक्षमताको अभाव भएको भनी निर्णय गरेमा प्रधानमन्त्रीले त्यस्तो पदाधिकारी वा सभाका सदस्यलाई निजको पदबाट हटाउनेछ ।
(४) उपदफा (३) बमोजिम पदाधिकारी वा सभाका सदस्यलाई पदबाट हटाउनुअघि सफाइको मौका दिनु पर्नेछ ।
२४. कर्मचारी: (१) प्रज्ञा प्रतिष्ठानमा आवश्यक संख्यामा कर्मचारीहरु रहनेछन् ।
(२) उपदफा (१) बमोजिमका कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरू तोकिए बमोजिम हुनेछन् ।
२५. सेवा आयोग: (१) प्रज्ञा प्रतिष्ठानका कर्मचारीको स्थायी नियुक्ति र बढुवाको लागि सिफारिस गर्न देहाय बमोजिमको एक प्रज्ञा प्रतिष्ठान सेवा आयोग रहनेछ:-
(क) लोकसेवा आयोगले तोकेको सो आयोगका सदस्य – अध्यक्ष (ख) सभाले तोकेको सभाका एकजना सदस्य – सदस्य (ग) सचिव – सदस्य–सचिव
(२) सेवा आयोगको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(३) सेवा आयोगको बैठक सम्बन्धी कार्यविधि सो आयोग आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(४) सेवा आयोगको अध्यक्ष तथा सदस्यले बैठकमा भाग लिए बापत तोकिए बमोजिम बैठक भत्ता पाउनेछन् ।
परिच्छेद–५ कोष तथा लेखापरीक्षण
२६. प्रज्ञा प्रतिष्ठानको कोष: (१) प्रज्ञा प्रतिष्ठानको आफ्नो एउटा छुट्टै कोष रहनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्:- (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) विदेशी सरकार, संघ, संस्था वा व्यक्तिबाट प्राप्त रकम, (ग) स्वदेशी संघ, संस्था वा व्यक्तिबाट प्राप्त रकम, (घ) प्रज्ञा प्रतिष्ठानले कुनै सेवा उपलब्ध गराए बापत प्राप्त रकम, र (ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (ख) बमोजिमको रकम प्राप्त गर्नुअघि प्रज्ञा प्रतिष्ठानले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(४) कोषको रकम प्रज्ञा प्रतिष्ठानले तोकेको बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(५) प्रज्ञा प्रतिष्ठानको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
(६) प्रज्ञा प्रतिष्ठानको सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
२७. लेखा र लेखापरीक्षण: (१) प्रज्ञा प्रतिष्ठानको आय व्ययको लेखा नेपाल सरकारले अपनाए बमोजिम राखिनेछ ।
(२) प्रज्ञा प्रतिष्ठानको लेखाको लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ ।
परिच्छेद–६ विविध
२८. मानार्थ प्राज्ञ तथा आजीवन सदस्यता: (१) संगीत तथा नाट्य विधाको विकासमा विशिष्ट योगदान पुर्याई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको गौरव बढाउने स्वदेशी वा विदेशी
व्यक्तिलाई सभाले परिषद्को सिफारिसमा प्रज्ञा प्रतिष्ठानको मानार्थ प्राज्ञ सदस्यता प्रदान गर्न सक्नेछ ।
(२) सङ्गीत तथा नाट्य विधाको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने नेपाली नागरिकलाई सभाले प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्न सक्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम मानार्थ प्राज्ञ सदस्यता तथा आजीवन सदस्यता प्रदान गर्ने आधार तोकिए बमोजिम हुनेछ ।
(४) प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यलाई तोकिए बमोजिमको सुविधा प्रदान गर्न सक्नेछ ।
तर नेपाल सरकारबाट कुनै पारिश्रमिक वा सुविधा पाइरहेको आजीवन सदस्यले त्यस्तो सुविधा पाउने छैन ।
(५) सभाले मानार्थ प्राज्ञ सदस्य र आजीवन सदस्यलाई तोकिएको आधारमा सदस्यताबाट हटाउन सक्नेछ ।
२९. कदर, सम्मान तथा पुरस्कार प्रदान गर्न सक्ने: सङ्गीत तथा नाट्य विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई सभाले कदर, सम्मान तथा पुरस्कार प्रदान गर्न सक्नेछ ।
३०. प्रतिवेदन पेश गर्नु पर्ने: प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
३१. शपथ: आफ्नो कार्यभार सम्हाल्नुअघि कुलपतिले प्रधानमन्त्री समक्ष र उपकुलपति, सचिव र सदस्यले कुलपति समक्ष अनुसूची बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ ।
३२. अधिकार प्रत्यायोजन: (१) सभाले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार परिषद्लाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार कुलपति, उपकुलपति वा सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(३) कुलपतिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार उपकुलपति वा सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(४) उपकुलपतिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।
३३. प्रतीक चिन्ह: प्रज्ञा प्रतिष्ठानको प्रतीक चिन्ह तोकिए बमोजिम हुनेछ ।
३४. सम्पर्क मन्त्रालय: प्रज्ञा प्रतिष्ठानले नेपाल सरकारसँग सम्पर्क राख्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
३५. नियम बनाउने अधिकार: यस ऐनको उद्देश्य कार्यान्वयन गर्न प्रज्ञा प्रतिष्ठानले आवश्यक नियम बनाउन सक्नेछ ।
तर नेपाल सरकारलाई आर्थिक व्ययभार पर्ने विषयमा नियम बनाउँदा नेपाल सरकारको पूर्वस्वीकृति लिनु पर्नेछ ।
*अनुसूची (दफा ३१ सँग सम्बन्धित)
शपथ
म .....................................................सत्य र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु/ईश्वर/देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा मात्र निहित रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही ................................. पदको कामकाज प्रचलित कानूनको अधीनमा रही, कसैको डर नमानि, पक्षपात नगरी, कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई, इमानदारीसाथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारी भएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन ।
मिति:- नाम:-
* केही नेपाल कानून संशोधन तथा खारेज गर्ने ऐन, २०७२ द्वारा संशोधित ।*
सही:-