ञञञञञञञञवायुयान खोज तथा उद्धार नियमावली, २०७४
नेपाल राजपत्रमा प्रकाशित मिति २०७४।०७।०६
गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “वायुयान खोज तथा उद्धार नियमावली, २०७४” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा, (क) “उद्धार समन्वय केन्द्र” भन्नाले नियम ९ बमोजिमको खोज तथा उद्धार समन्वय केन्द्र सम्झनु पर्छ। (ख) “उद्धार समन्वय समिति” भन्नाले नियम ८ बमोजिमको खोज तथा उद्धार समन्वय समिति सम्झनु पर्छ। (ग) “काठमाडौं उडान सूचना क्षेत्र (काठमाडौं फ्लाइट इन्फर्मेसन रिजन)” भन्नाले नेपालको भौगोलिक सीमाभित्रको सम्पूर्ण हवाई क्षेत्र सम्झनु पर्छ। (घ) “खोज तथा उद्धार सेवा” भन्नाले हराइरहेको वा गम्भीर सङ्कटमा परेको वायुयानलाई अन्य वायुयान, उपकरण तथा अन्य साधनको उपयोगद्वारा संचार, समन्वय एवं खोज तथा उद्धार गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले त्यस्तो वायुयानको निगरानी गर्ने वा वायुयानका चालक दल वा यात्रुलाई प्राथमिक उपचार प्रदान गर्ने वा उपचारका लागि सुरक्षित स्थानमा लै जाने (मेडिकल इभ्याकुएसन) कार्यलाई समेत जनाउँछ।
(ङ) “प्राधिकरण” भन्नाले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ बमोजिम स्थापित नेपाल नागरिक उड्डयन प्राधिकरण सम्झनु पर्छ।
(च) “मन्त्रालय” भन्नाले नेपाल सरकारको नागरिक उड्डयन सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
(छ) “महानिर्देशक” भन्नाले प्राधिकरणको महानिर्देशक सम्झनु पर्छ।
(ज) “समिति” भन्नाले नियम ६ बमोजिमको राष्ट्रिय समन्वय समिति सम्झनु पर्छ।
३. खोज तथा उद्धार कार्यको जिम्मेवारी: काठमाडौं उडान सूचना क्षेत्रभित्र खोज तथा उद्धार सेवाको सञ्चालन तथा समन्वय गर्ने जिम्मेवारी प्राधिकरणको हुनेछ।
४. ईमरजेन्सी लोकेटर ट्रान्समिटर जडान गर्नुपर्ने: (१) वायुसेवा सञ्चालन संस्थाले नेपालमा दर्ता भई नेपाली हवाई आकाशमा उडान गर्ने प्रत्येक वायुयानमा ईमरजेन्सी लोकेटर ट्रान्समिटर जडान गर्नु पर्नेछ।
स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “ईमरजेन्सी लोकेटर ट्रान्समिटर” भन्नाले सङ्कटकालीन अवस्थामा वायुयानको अवस्थितिको सङ्केत प्रवाह गर्ने उपकरण सम्झनु पर्छ।
(२) उपनियम (१) बमोजिम जडान गरिने ईमरजेन्सी लोकेटर ट्रान्समिटर मान्यता प्राप्त अन्तर्राष्ट्रिय डाटावेसमा दर्ता भएको हुनु पर्नेछ।
५. वायुयान हराएमा वा गम्भीर सङ्कटमा परेमा सूचना दिनुपर्ने: (१) कुनै व्यक्ति वा संस्थालाई काठमाडौं उडान सूचना क्षेत्र भित्र वायुयान हराइरहेको वा गम्भीर सङ्कटमा परेको लागेमा तत्काल त्यसको सूचना उद्धार समन्वय केन्द्र, विमानस्थल, नागरिक उड्डयन कार्यालय, एयर ट्राफिक सेवा प्रदान गर्ने इकाई, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय वा स्थानीय तहलाई दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको सूचना उद्धार समन्वय केन्द्र बाहेक अन्य कार्यालय वा निकायलाई प्राप्त भएकोमा त्यस्तो कार्यालय वा निकायले त्यसको जानकारी तत्काल उद्धार समन्वय केन्द्रलाई गराउनु पर्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम सूचना प्राप्त हुनासाथ उद्धार समन्वय केन्द्रले त्यसको जानकारी तत्काल महानिदेशक र उद्धार समन्वय समितिका सदस्यलाई गराउनु पर्नेछ।
६. समिति: (१) खोज तथा उद्धार सेवा सञ्चालन सम्बन्धी नीतिगत व्यवस्था र समन्वयको लागि काठमाडौं उडान सूचना क्षेत्रमा एक राष्ट्रिय समन्वय समिति रहनेछ।
(२) समितिको गठन देहाय बमोजिम हुनेछ:–
(क) नेपाल सरकारको नागरिक उड्डयन सम्बन्धी विषय हेर्ने मन्त्री वा राज्यमन्त्री - अध्यक्ष (ख) मन्त्रालयको सचिव - सदस्य (ग) नेपाल सरकार, अर्थ मन्त्रालयको सचिव - सदस्य (घ) नेपाल सरकार, गृह मन्त्रालयको सचिव - सदस्य (ङ) नेपाल सरकार, रक्षा मन्त्रालयको सचिव - सदस्य (च) नेपाल सरकार, वन तथा भूसंरक्षण सम्बन्धी विषय हेर्ने मन्त्रालयको सचिव - सदस्य (छ) नेपाल सरकार, स्वास्थ्य सम्बन्धी विषय हेर्ने मन्त्रालयको सचिव - सदस्य (ज) प्रहरी महानिरीक्षक, नेपाल प्रहरी - सदस्य (झ) सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपाल - सदस्य
(ञ) बलाधिकृत, नेपाली सेना - सदस्य
(ट) महानिर्देशक - सदस्य-सचिव
(३) समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।
(४) समितिको सचिवालय प्राधिकरणको प्रधान कार्यालयमा रहनेछ।
७. समितिको काम, कर्तव्य तथा अधिकारः समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) उड्डयन खोज तथा उद्धार सेवा सञ्चालनको लागि राष्ट्रिय नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने,
(ख) खोज तथा उद्धार सेवाको प्रभावकारिताको मूल्याङ्कन गर्ने तथा त्यसमा देखिएका कमी कमजोरी हटाउन सम्बद्ध निकायलाई निर्देशन दिने,
(ग) खोज तथा उद्धार सेवासँग सम्बन्धित निकायमा दक्ष जनशक्ति, साधन स्रोतको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने,
(घ) खोज तथा उद्धार सेवालाई प्रभावकारी बनाउन विभिन्न निकायबीच समन्वय गर्ने।
८. उद्धार समन्वय समितिः (१) उद्धार समन्वय केन्द्रको कामलाई प्रभावकारी बनाउन तथा वायुयानको खोज तथा उद्धार कार्यलाई समन्वयात्मक रुपमा सञ्चालन गर्न एक उद्धार समन्वय समिति रहनेछ।
(२) उद्धार समन्वय समितिको गठन देहाय बमोजिम हुनेछः–
(क) महाप्रबन्धक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय - संयोजक
(ख) प्रतिनिधि, मिड एयर वेस, सैनिक हवाई महानिर्देशनालय - सदस्य
(ग) प्रतिनिधि, नेपाल प्रहरी - सदस्य
(घ) प्रतिनिधि, सशस्त्र प्रहरी बल, नेपाल - सदस्य
(ङ) प्रतिनिधि, सम्बन्धित वायुसेवा सञ्चालन संस्था - सदस्य
(च) प्रमुख, उडान सञ्चालन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय - सदस्य
(छ) प्रमुख, उद्धार समन्वय केन्द्र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल - सदस्य-सचिव
(३) उद्धार समन्वय समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।
(४) उद्धार समन्वय केन्द्रले उद्धार समन्वय समितिको सचिवालयको रुपमा काम गर्नेछ।
९. खोज तथा उद्धार समन्वय केन्द्र रहनेः (१) काठमाडौं उडान सूचना क्षेत्रभित्र वायुयानको खोज तथा उद्धार सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न त्रिभुवन विमानस्थलमा उद्धार समन्वय केन्द्र रहनेछ।
(२) उद्धार समन्वय केन्द्रमा खोज तथा उद्धार सम्बन्धी तालिम प्राप्त दक्ष जनशक्ति चौबीसै घण्टा उपलब्ध हुने व्यवस्था मिलाउनु पर्नेछ।
१०. जनशक्ति, उपकरण तथा सामग्री तयारी अवस्थामा राख्नुपर्नेः (१) प्राधिकरणले उद्धार समन्वय केन्द्रको लागि आवश्यक पर्ने प्राविधिक उपकरण तथा साधनको व्यवस्था मिलाउनु पर्नेछ।
(२) उद्धार समन्वय केन्द्रले खोज तथा उद्धार सेवा सञ्चालनको लागि आवश्यक पर्ने जनशक्ति, उपकरण तथा सामग्रीलाई तयारी अवस्थामा राख्न वा राख्न लगाउनु पर्नेछ।
(३) काठमाडौं उडान सूचना क्षेत्र भित्र कुनै वायुयान हराइरहेको वा गम्भीर सङ्कटमा परेको सूचना प्राप्त हुनासाथ उद्धार समन्वय केन्द्रले तत्काल खोज तथा उद्धार कार्य थाल्नु पर्नेछ।
११. खोज तथा उद्धार योजना बनाउनेः (१) उद्धार समन्वय केन्द्रले वायुयान हराइरहेको वा गम्भीर सङ्कटमा परेको सूचना प्राप्त हुनासाथ तत्काल खोज तथा उद्धार सेवा सञ्चालन हुने गरी पूर्व योजना बनाई राख्नु पर्नेछ।
(२) मन्त्रालयले खोज तथा उद्धार कार्यमा संलग्न हुने सरकारी तथा गैर सरकारी निकायको भूमिका सहितको राष्ट्रिय खोज तथा उद्धार योजना बनाउन सक्नेछ।
१२. खोज तथा उद्धारका लागि परिचालन हुनेः (१) उद्धार समन्वय समितिले नेपाली सेना तथा वायुसेवा सञ्चालन संस्थाका वायुयान, उपकरण तथा जनशक्ति उद्धार समन्वय केन्द्रको समन्वयमा खोज तथा उद्धार सेवामा परिचालन गर्न सक्नेछ।
(२) उद्धार समन्वय केन्द्रले आवश्यक परेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, स्थानीय प्रशासन, सरकारी वा गैर सरकारी निकाय, संस्था वा व्यक्तिसँग खोज तथा उद्धार सेवाको लागि सहयोग माग गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम उद्धार समन्वय केन्द्रले खोज तथा उद्धार सेवामा सहयोग माग गरेमा आवश्यक सहयोग गर्नु सम्बन्धित निकाय, संस्था वा व्यक्तिको कर्तव्य हुनेछ।
१३. उद्धार समन्वय उपकेन्द्रको स्थापना: (१) खोज तथा उद्धार कार्यमा तत्काल सहयोग पुर्याउन प्राधिकरणले काठमाडौं उपत्यका बाहिरका विमानस्थलमा आवश्यकता अनुसार उद्धार समन्वय उपकेन्द्र स्थापना गरी सञ्चालन गर्नेछ।
(२) उपनियम (१) बमोजिमको उद्धार समन्वय उपकेन्द्रले उद्धार समन्वय केन्द्रको निर्देशनमा खोज तथा उद्धार सेवा सम्बन्धी काम प्रारम्भ गर्नु पर्नेछ।
१४. विदेशी मुलुक तथा केन्द्रसँग समन्वय गर्न सक्ने: (१) उद्धार समन्वय केन्द्रले नेपालसँग सीमा जोडिएको मुलुकको सिमाना नजिक खोज तथा उद्धार सेवा सञ्चालन गर्नु पर्नेमा उद्धार समन्वय समितिको स्वीकृति लिई नियम १६ बमोजिमको राष्ट्रिय सम्पर्क व्यक्ति मार्फत त्यस्तो मुलुकको खोज तथा उद्धार गर्ने केन्द्र (एडजासेन्ट सर्च एण्ड रेस्क्यू सेन्टरसथ) वा निकायसँग आवश्यक समन्वय गर्न सक्नेछ।
(२) प्राधिकरणले खोज तथा उद्धार सेवालाई प्रभावकारी र समन्वयात्मक ढङ्गले सम्पादन गर्नको लागि नेपाल सरकारको स्वीकृति लिई नेपालसँग सीमाना जोडिएका विदेशी मुलुकका खोज तथा उद्धार केन्द्र तथा अन्य विदेशी मुलुकसँग आवश्यकता अनुसार समन्वय गर्न सक्नेछ।
(३) वायुयानको दुर्घटनास्थल पत्ता लगाउन वा जीवितहरुको उद्धार गर्नको लागि महानिर्देशकले मन्त्रालयको स्वीकृति लिई आवश्यक परेमा विदेशी मुलुकको खोज तथा उद्धार केन्द्रको सहयोग लिन सक्नेछ।
(४) प्राधिकरणले खोज तथा उद्धार सेवाको प्रभावकारिता अभिवृद्धि गर्न मन्त्रालयको स्वीकृति लिई अन्य मुलुकसँग खोज तथा उद्धार सम्बन्धी पूर्व अभ्यासको लागि संयुक्त तालीम वा अभ्यास गर्न सक्नेछ।
१५. खोज तथा उद्धार सेवाको खर्च: वायुयान खोज तथा उद्धार सेवामा लागेको खर्च हराएको वा सङ्कटमा परेको वायुसेवा सञ्चालन संस्थाले व्यहोर्नु पर्नेछ।
१६. राष्ट्रिय सम्पर्क व्यक्ति तोक्न: खोज तथा उद्धार सेवामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग सूचनाको आदान प्रदान तथा आवश्यक समन्वय र सहकार्य गर्ने प्रयोजनको लागि मन्त्रालयले राष्ट्रिय सम्पर्क व्यक्ति तोक्नेछ।
१७. प्रतिवेदन दिनुपर्ने: (१) उद्धार समन्वय केन्द्रले खोज तथा उद्धार सेवा सम्पन्न भएपछि सो को प्रतिवेदन तयार गरी महानिर्देशक समक्ष पेश गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त खोज तथा उद्धार सेवामा परिचालन गरिएका उपकरण, साधन तथा जनशक्ति, भएको खर्च, खोज तथा उद्धार सेवा सञ्चालन गर्दा देखिएका समस्या तथा भविष्यमा गर्नुपर्ने सुधारका विषय समेत समावेश गर्नु पर्नेछ।
१८. दिग्दर्शन, कार्यविधि वा निर्देशिका बनाउन सक्ने: खोज तथा उद्धार सेवा सञ्चालन सम्बन्धमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा जारी भएका मापदण्डको कार्यान्वयनको लागि प्राधिकरणले गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ र यस नियमावलीको विपरीत नहुने गरी आवश्यक दिग्दर्शन, कार्यविधि वा निर्देशिका बनाई लागु गर्न सक्नेछ।