विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७
नेपाल राजपत्रमा प्रकाशित मिति २०७७।०७।०३
संशोधन १. विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० २०८०।०४।३२
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ३६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम "विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७" रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) "अनुगमन तथा नियमन समिति" भन्नाले ऐनको दफा २३ को उपदफा (२) बमोजिम गठित अनुगमन तथा नियमन समिति सम्झनु पर्छ। (ख) "ऐन" भन्नाले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ सम्झनु पर्छ। (ख१) "विद्युतीय (डिजिटल) माध्यम" भन्नाले प्रचलित कानून बमोजिम स्थापना वा दर्ता भई पत्रकारिता र सम्पादकीय सिद्धान्त अंगीकार गरी इन्टरनेटको माध्यमबाट संकेत, चिन्ह, अक्षर, आवाज, ग्राफिक्स, तस्बिर, गीत, संगीत, भिडियो, एनिमेसनको प्रयोग गरी सन्देशमूलक वा विषयगत विचार, सूचना तथा समाचार, श्रव्यदृश्यको उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्ने माध्यम सम्झनु पर्छ।
"(ख२) "सञ्चार माध्यम" भन्नाले सरकारी, सामुदायिक वा निजी क्षेत्रबाट समाचार, सूचना, मनोरञ्जनात्मक कार्यक्रम तथा सन्देश सम्प्रेषण गर्ने उद्देश्यले स्थापना भई प्रकाशन वा प्रसारण गर्ने विद्युतीय तथा छापा सञ्चार माध्यम सम्झनु पर्छ र सो शब्दले इन्टरनेटमा आधारित सञ्चार माध्यमलाई समेत जनाउँछ।
(ख३) "सरकारी निकाय" भन्नाले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, सङ्घीय संसद, नेपाल सरकारका मन्त्रालय, सचिवालय, संवैधानिक निकाय, आयोग, प्रदेश प्रमुखको कार्यालय, अदालत, महान्यायाधिवक्ताको कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायतका सङ्घीय सबै सरकारी कार्यालय सम्झनु पर्छ।
(ख४) "सामाजिक सञ्जाल" भन्नाले इन्टरनेटको माध्यमबाट एक आपसमा आबद्ध भई अन्तर्क्रिया गर्ने प्रयोजनका लागि खोलिएको विद्युतीय सञ्जाल सम्झनु पर्छ।
(ग) "सिफारिस समिति" भन्नाले ऐनको दफा १४ को उपदफा (४) बमोजिमको सिफारिस समिति सम्झनु पर्छ।
परिच्छेद-२ बोर्ड सम्बन्धी व्यवस्था
३. खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्नेः (१) सिफारिस समितिले बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न ऐनको दफा १७ बमोजिम योग्यता पुगेका उम्मेदवारहरूलाई आवेदन पेश गर्न कम्तीमा पन्ध्र दिनको म्याद दिई पेश गर्नु पर्ने विवरण तथा कागजात खुलाई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको सूचना बमोजिम प्राप्त हुन आएका आवेदनहरू मध्येबाट सिफारिस समितिले योग्य उम्मेदवारहरूको अल्पसूची तयार गरी त्यस्ता उम्मेदवारहरूलाई अन्तर्वार्ता, व्यावसायिक कार्ययोजना र सोको प्रस्तुतीकरणको लागि आमन्त्रण गर्नु पर्नेछ।"
(३) उपनियम (२) बमोजिमका उम्मेदवारमध्येबाट सिफारिस समितिले अन्तर्वार्ता, व्यवसायिक कार्य योजना र सोको प्रस्तुतिकरणबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने बढीमा तीन जना उम्मेदवारको नाम नेपाल सरकार समक्ष सिफारिस गर्नेछ।
५४. बोर्डको काम, कर्तव्य र अधिकार: ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त बोर्डको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) विज्ञापन वितरण गर्ने प्रयोजनको लागि सञ्चार माध्यमको सूचीकरण र स्तर निर्धारण गर्ने, (ख) प्रकाशन वा प्रसारण हुने विज्ञापन वा सूचनाको वर्गीकरण गर्ने, (ग) विज्ञापन सम्बन्धी मापदण्ड तथा आचारसंहिता तयार गर्ने र सोको अनुगमन गर्ने, (घ) चलचित्र घर तथा खेलकुद स्थल तथा अन्य कार्यक्रममा हुने विज्ञापनको अनुगमन तथा नियमन गर्ने, (ङ) प्रदेश अनुगमन तथा नियमन समिति र स्थानीय तहसँग समन्वय गर्ने, (च) विज्ञापन एजेन्सीको अनुगमन तथा नियमन गर्ने गराउने, (छ) विज्ञापन बापतको रकम भुक्तानी प्रक्रिया पारदर्शी गर्ने गराउने, (ज) बोर्डको चल वा अचल सम्पत्तिको अद्यावधिक अभिलेख राख्ने र त्यस्तो सम्पत्तिको रेखदेख, मर्मत सम्भार र संरक्षण गर्ने।
५५. विज्ञापन सामग्रीको परीक्षण: (१) बोर्डले सञ्चार माध्यमबाट प्रसारण गरिने विज्ञापनको सामग्री परीक्षण गर्नार्थ देहायका आधारमा मापदण्ड तयार गर्नेछ:- (क) प्रसारण हुने विज्ञापन सामग्रीको प्रकृति र विषयवस्तु, (ख) विज्ञापन सामग्री प्रसारण गरिने समय र प्रसारण अवधि, (ग) विज्ञापन सामग्रीमा रहेका श्रव्य, दृश्य वा श्रव्यदृश्य, खण्ड, वाक्यांश, अक्षर, अङ्क, चिन्ह, आकार वा सङ्केत, (घ) बोर्डले उपयुक्त ठानेका अन्य आधार।
(२) उपनियम (१) बमोजिम तयार भएको मापदण्डको आधारमा बोर्डको अध्यक्ष वा निजले तोकेको अधिकृतले विज्ञापन सामग्री परीक्षण गर्नेछ।
(३) उपनियम (२) बमोजिम विज्ञापन सामग्री परीक्षण गर्न बोर्डले आवश्यकता अनुसार विज्ञको सेवा लिन सक्नेछ।
$\Sigma$ पहिलो संशोधनद्वारा संशोधित।
(४) उपनियम (२) बमोजिम विज्ञापन सामग्री परीक्षण गर्दा लाग्ने परीक्षण शुल्क बोर्डले निर्धारण गरे बमोजिम हुनेछ।
५क. विज्ञापन तथा सूचनाको वर्गीकरण: (१) बोर्डले तत्काल वा निश्चित अवधिमा प्रकाशन तथा प्रसारण गर्ने विज्ञापन वा सूचनालाई देहायका आधारमा वर्गीकरण गर्नेछ:-
(क) सार्वजनिक हितसँग सम्बन्धित विज्ञापन तथा सूचना, (ख) प्रवर्द्धनात्मक विज्ञापन तथा सूचना, (ग) अन्य विज्ञापन तथा सूचना।
(२) उपनियम (१) बमोजिम वर्गीकरण गरिएको विज्ञापन तथा सूचनालाई नियम ५ख. बमोजिम स्तर निर्धारण गरिएको सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गरिनेछ।
(३) विज्ञापन वा सूचनाको लक्षित समूह अनुसार संघ, प्रदेश वा स्थानीय तहमा क्रियाशील सञ्चार माध्यमबाट प्रकाशन वा प्रसारण हुन सक्नेछ। त्यसरी प्रकाशन तथा प्रसारण गर्दा स्थानीयस्तरमा प्रचलित राष्ट्रभाषाको समेत प्रयोग गर्न सकिनेछ।
५ख. स्तर निर्धारण: (१) बोर्डले सरकारी विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्ने प्रयोजनको लागि देहायका आधारमा सञ्चार माध्यमको स्तर निर्धारण गर्नेछ:-
(क) प्रचलित कानून बमोजिम गरिएको सञ्चार माध्यमको वर्गीकरण, (ख) पत्रपत्रिकाको हकमा आकार, पृष्ठ सङ्ख्या, प्रकाशन तथा वितरण सङ्ख्या, भौगोलिक रुपमा वितरण र पहुँचको अवस्था, (ग) प्रसारण संस्थाको हकमा प्रसारण पहुँच र दर्शकको सहभागिता, (घ) डिजिटल माध्यमको हकमा पाठक तथा दर्शक सङ्ख्या।
(२) उपनियम (१) बमोजिम स्तर निर्धारण गरिएको सञ्चार माध्यमसँग बोर्डले सरकारी विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्ने प्रयोजनको लागि वार्षिक रुपमा प्रचलित कानून बमोजिम दररेट माग गर्नेछ।
(३) उपनियम (२) बमोजिम कुनै सञ्चार माध्यमले उपलब्ध गराएको दररेट असामान्य रुपमा घटी वा बढी भएको देखेमा बोर्डले त्यस्तो सञ्चार माध्यमसँग छलफल वा वार्ता गरी दररेट तय गर्न सक्नेछ।
(४) उपनियम (२) वा (३) बमोजिम कायम भएको विज्ञापन वा सूचनाको दररेट बोर्डले सार्वजनिक गर्नु पर्नेछ।
(५) उपनियम (३) बमोजिम बोर्डलाई दररेट उपलब्ध नगराउने वा उपनियम (३) बमोजिम कायम भएको दररेटमा कारोबार गर्न नचाहाने सञ्चार माध्यमलाई सरकारी निकाय वा बोर्डले विज्ञापन उपलब्ध गराउने छैन।
५ग. विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण बोर्ड मार्फत गर्नु पर्ने: (१) सरकारी निकायले विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्दा ऐनको दफा ३२ बमोजिम बोर्ड मार्फत गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम विज्ञापन वा सूचना, प्रकाशन तथा प्रसारण गर्नुपूर्व विज्ञापनदाताले सञ्चार माध्यम छनौट गरी बोर्डको सूचना प्रविधि प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विज्ञापन वा सूचनामा रहेको विषयवस्तु वा प्राविधिक पक्षको कारण त्यस्तो विज्ञापन वा सूचनाको उत्पादन, प्रकाशन तथा प्रसारण गर्नको लागि विज्ञापन एजेन्सीको सेवा लिन आवश्यक देखिएमा सरकारी निकायले खरिद सम्बन्धी प्रचलित कानूनको अधीनमा रही विज्ञापन एजेन्सीको सेवा लिन सक्नेछ।
(४) उपनियम (३) बमोजिमको विज्ञापन एजेन्सीले सरकारी निकायको छनौट बमोजिम विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्न बोर्डको सूचना प्रविधि प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ।
(५) उपनियम (२) र (४) बमोजिम प्राप्त विज्ञापन वा सूचनालाई बोर्डले यथासम्भव छिटो प्रकाशन तथा प्रसारणको व्यवस्था मिलाउनु पर्नेछ।
६. लोक कल्याणकारी वा सार्वजनिक हित सम्बन्धी विज्ञापनको प्रकाशन, प्रसारण तथा वितरण: (१) नियम ५ग. मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी निकायले लोक कल्याणकारी वा सार्वजनिक हित सम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण तथा वितरण गर्नु परेमा त्यस्तो विज्ञापन तयार गरी बोर्डमा पठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त विज्ञापन बोर्डले देहायका आधारमा सञ्चार माध्यमलाई समानुपातिक रूपमा वितरण गर्नु वा गराउनु पर्नेछ:-
(क) प्रचलित कानून बमोजिम गरिएको सञ्चार माध्यमको वर्गीकरण, (ख) सञ्चार माध्यमको प्रकाशन सङ्ख्या र भौगोलिक रूपमा वितरणको अवस्था, (ग) सम्बन्धित सञ्चार माध्यममा नागरिकहरूको पहुँच, (घ) महिला, दलित वा अन्य पिछडिएको समुदायबाट वा पिछडिएको भौगोलिक क्षेत्रमा सञ्चालित सञ्चार माध्यम, (ङ) लोक कल्याणकारी वा सार्वजनिक हित सम्बन्धी विज्ञापन प्रकाशन वा प्रसारणका लागि मन्त्रालयले समय समयमा तोकेका अन्य आधार।
(३) बोर्डले सम्बन्धित सञ्चार माध्यमसँग उपनियम (२) बमोजिमको आधारको पुष्ट्याइँ हुने कागजात वा प्रमाण माग गर्न सक्नेछ।
$^{६}$क. भुक्तानीः (१) सरकारी निकायले विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण बापतको रकम भुक्तानी यस नियमको अधीनमा रही गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सरकारी निकायले भुक्तानी गर्दा सञ्चार माध्यमबाट सोझै प्रकाशन वा प्रसारण भएको भए त्यस्तो सञ्चार माध्यमले जारी गरेको बिल बमोजिम तथा नियम ५ग. को उपनियम (३) बमोजिम विज्ञापन एजेन्सी मार्फत प्रकाशन तथा प्रसारण गरिएको भए सञ्चार माध्यमले जारी गरेको बिलको प्रतिलिपि सहित त्यस्तो एजेन्सीको सेवा शुल्क खुल्ने गरी सो एजेन्सीले जारी गरेको बिल बमोजिम नियम ५ख. बमोजिमको दररेटको आधारमा गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम सञ्चार माध्यम वा विज्ञापन एजेन्सीलाई रकम भुक्तानी गर्नु अघि ऐनको दफा २१ को उपदफा (२) को खण्ड (ख) बमोजिमको रकम कट्टा गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम कट्टा गरिएको रकम बोर्डको कोषमा जम्मा गरी सोको जानकारी बोर्डलाई दिनु पर्नेछ।
$^{६}$ पहिलो संशोधनद्वारा थप।
७. सदस्यको सुविधा: (१) सदस्यहरूले बोर्डको बैठकमा भाग लिए बापत अर्थ मन्त्रालयको सहमतिमा मन्त्रालयले तोके बमोजिमको बैठक भत्ता पाउनेछन्।
(२) बोर्डको बैठकमा आमन्त्रित विज्ञलाई बैठकमा भाग लिए बापत सदस्य सरहको बैठक भत्ता प्रदान गरिनेछ ।
८. सेवा करारमा रहने कर्मचारीको पारिश्रमिक तथा विशेषज्ञ सेवाः (१) बोर्डलाई आवश्यक प्राविधिक र विज्ञ कर्मचारी मन्त्रालयले ऐनको दफा २० को उपदफा (२) बमोजिम उपलब्ध गराउन नसकेमा बोर्डले प्राविधिक वा विशेषज्ञ कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी एक पटकमा एक वर्षमा नबढ्ने गरी सेवा करारमा नियुक्त गर्न सक्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, सवारी चालक सेवा करारमा नियुक्त गर्नेछ।
(३) उपनियम (१) र (२) बमोजिम सेवा करारमा नियुक्त कर्मचारीको पारिश्रमिक निर्धारण गर्दा नेपाल सरकारको समान तहका कर्मचारीको पारिश्रमिक भन्दा बढी नहुने गरी निर्धारण गर्नु पर्नेछ।
परिच्छेद - ३ उजुरी तथा जाँचबुझ
९. उजुरी तथा निर्णयः (१) ऐनको दफा २७ बमोजिम उजुरीकर्ताले लिखित वा विद्युतीय माध्यमबाट बोर्ड, अनुगमन तथा नियमन समिति वा स्थानीय तहमा उजुरी दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त हुने उजुरी वा अन्य निकायबाट कारबाहीका लागि लेखी आएका उजुरीलाई बोर्ड, अनुगमन तथा नियमन समिति वा स्थानीय तहले छुट्टै दर्ता किताबमा दर्ता गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम दर्ता भएका उजुरी उपर बोर्ड, अनुगमन तथा नियमन समिति वा स्थानीय तहले जाँचबुझ गर्नेछ।
(४) उपनियम (३) बमोजिम जाँचबुझ गर्दा प्राप्त उजुरी प्रथम दृष्टिमा नै तथ्य युक्त नदेखिएको वा दुःख वा हैरानी दिने उद्देश्यले मात्र दिएको देखिएमा त्यस्तो उजुरीलाई तामेलीमा राख्ने निर्णय गर्न सकिनेछ।
(५) उपनियम (४) बमोजिम तामेलीमा राख्ने निर्णय भएका बाहेक अन्य उजुरी जाँचबुझ गर्दा बोर्ड, अनुगमन तथा नियमन समिति वा स्थानीय तहले आवश्यकता अनुसार
सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्ने, कागजप्रमाणहरू पेश गर्न लगाउने, स्थलगत निरीक्षण गर्न वा गराउन सक्नेछ।
(६) बोर्ड, अनुगमन तथा नियमन समिति वा स्थानीय तहले उपनियम (४) बमोजिम तामेलीमा राख्ने निर्णय वा ऐन तथा यस नियमावली बमोजिम गरेको कारबाहीको जानकारी सात दिनभित्र उजुरीकर्तालाई दिनु पर्नेछ।
(७) उजुरी उपरको जाँचबुझ सम्बन्धी अन्य कार्यविधि ऐन तथा यस नियमावलीको अधीनमा रही बोर्ड, अनुगमन तथा नियमन समिति वा स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ।
परिच्छेद-३क. होर्डिङ बोर्ड
९क. बोर्डले निर्धारण गरेको मापदण्डको आधारमा अनुमति दिनेः (१) स्थानीय तहले होर्डिङ बोर्ड, सवारी साधन लगायत अन्य माध्यमबाट विज्ञापन गर्न बोर्डले निर्धारण गरेको विधि तथा आकार, प्रकार र मापदण्ड बमोजिम स्थानीय कानून बमोजिमको शुल्क लिई अनुमति दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम अनुमति दिँदा स्थानीय तहले त्यस्तो विज्ञापन गर्न उपयुक्त स्थान भए वा नभएको समेत पहिचान गर्नु पर्नेछ।
(३) होर्डिङ बोर्ड, सवारी साधन लगायत अन्य माध्यममा कुनै व्यक्तिको फोटो राखी विज्ञापन गर्ने भएमा स्वदेशी नै कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्नु पर्नेछ।
९ख. सवारी साधनमा गरिने विज्ञापन: (१) विज्ञापनदाताले सवारी साधनमा विज्ञापन गर्दा त्यस्तो सवारी साधन आबद्ध भएको समिति वा कम्पनीको प्रधान कार्यालय रहेको स्थानीय तह वा सवारी धनीको बसोबास भएको स्थानीय तहबाट अनुमति लिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको अनुमति दिँदा सम्बन्धित स्थानीय तहले देहायको विषयलाई विचार गर्नु पर्नेछः-
(क) प्रचलित सवारी तथा यातायात सम्बन्धी कानूनले तोकेको मापदण्ड विपरीत नहुने सुनिश्चितता,
(ख) विज्ञापनको विषयवस्तुले सवारी साधनको पूरै सिसा ढाक्न नहुने कुराको सुनिश्चितता,
(ग) सवारी साधनको स्वरूपमा परिवर्तन नहुने विषय,
(घ) बोर्डले निर्धारण गरेको मापदण्ड तथा अन्य सर्तहरू।
९ग. बोर्डलाई जानकारी गराउनु पर्ने : स्थानीय तहले यस नियम बमोजिम कसैलाई होल्डिङ बोर्ड, सवारी साधन लगायत अन्य माध्यममा विज्ञापन राख्न अनुमति दिएमा सोको जानकारी बोर्डले सञ्चालनमा ल्याएको सूचना प्रविधि प्रणालीको माध्यमबाट बोर्डलाई उपलब्ध गराउनु पर्नेछ।
९घ. कल्याणकारी वा सार्वजनिक हितको सूचना राख्नु पर्ने : (१) होल्डिङ बोर्ड राख्न प्राप्त भएको अनुमतिको अवधि नसकिँदै होल्डिङ बोर्डमा उल्लिखित विज्ञापन खाली भएमा होल्डिङ बोर्ड राख्न अनुमति प्राप्त विज्ञापन एजेन्सीले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले जारी गरेको लोक कल्याणकारी वा सार्वजनिक हित सम्बन्धी विज्ञापन वा सूचना राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम लोक कल्याणकारी वा सार्वजनिक हित सम्बन्धी विज्ञापन वा सूचना प्रदर्शन गर्ने विज्ञापन एजेन्सीलाई स्थानीय तहले निश्चित अवधिका लागि स्थानीय कानून बमोजिमको सहुलियत प्रदान गर्न सक्नेछ।
(३) डिजिटल बोर्डमा विज्ञापन गर्दा कम्तीमा दस प्रतिशत विज्ञापन वा सूचना सार्वजनिक हितसँग सम्बन्धित हुनु पर्नेछ।
परिच्छेद-५ विविध
१०. घर वा कार्यालयमा राख्ने होल्डिङ बोर्डः (१) ऐनको दफा ४ को उपदफा (२) बमोजिम आफ्नो पेसा वा व्यवसाय गर्ने घर वा कार्यालयको परिसरमा राख्ने होल्डिङ बोर्ड, सूचना वा परिचयपाटीको आकार र प्रकार बोर्डले निर्धारण गरे बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिम घर वा कार्यालयको परिसरमा राख्ने होल्डिङ बोर्ड, सूचना वा परिचयपाटीमा विज्ञापन समेत राख्ने भएमा बोर्डले निर्धारण गरेको मापदण्डको अधीनमा रही स्थानीय तहबाट अनुमतिपत्र लिनु पर्नेछ।
$\Sigma$ पहिलो संशोधनद्वारा संशोधित।
१०क. विद्युतीय (डिजिटल) माध्यम वा सामाजिक सञ्जालमा हुने विज्ञापनको नियमन: (१) बोर्डले विद्युतीय (डिजिटल) माध्यम वा सामाजिक सञ्जालमा हुने विज्ञापन तथा सूचनाको नियमन गर्नेछ।
(२) उपनियम (१) बमोजिम बोर्डले नियमन गर्दाथ देहायका आधारमा गर्नु पर्नेछ:-
(क) आधिकारिक च्यानल मार्फत विज्ञापन गरे वा नगरेको,
(ख) ऐन तथा यस नियमावली बमोजिम विज्ञापन भए वा नभएको,
(ग) बोर्डमा सूचीकृत सञ्चार माध्यम वा विज्ञापन एजेन्सी मार्फत विज्ञापन भए वा नभएको।
११. विज्ञापन एजेन्सी सूचीकृत हुनु पर्ने: (१) बोर्डमा विज्ञापन एजेन्सीको रुपमा सूचीकरण हुन चाहने एजेन्सीले सूचीकृत हुन पाँच हजार रुपैयाँ दस्तुर तिरी देहायको विवरण सहित अनुसूची बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ:-
(क) विज्ञापन सम्बन्धी कार्य गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम दर्ता भएको प्रमाणपत्र र सोको नवीकरण गरेको कागजात,
(ख) गत आर्थिक वर्षसम्मको कर चुक्ता प्रमाणपत्र,
(ग) वार्षिक कारोबार तथा त्यस्तो एजेन्सीको पूँजी संरचना देखिने विवरण,
(घ) बोर्डले तोकेका अन्य कागजात तथा विवरण।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन तथा विवरण मनासिब देखिएमा बोर्डले त्यस्तो संस्थाको नाम सूचीकृत गरी सार्वजनिक गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम सूचीकृत भएका विज्ञापन एजेन्सीले प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र एक हजार रुपैयाँ नवीकरण दस्तुर बुझाई नवीकरण गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको अवधिमा नवीकरण नभएको विज्ञापन एजेन्सीको सूचीकरण स्वतः रद्द हुनेछ र बोर्डले त्यस्तो एजेन्सीको नाम आफ्नो अभिलेख सूचीबाट हटाउनेछ।
(५) उपनियम (४) बमोजिम सूचीबाट हटेको विज्ञापन एजेन्सीले पुनः सूचीकरण हुन चाहेमा उपनियम (१) बमोजिमको प्रक्रिया अवलम्बन गर्नु पर्नेछ।
७ पहिलो संशोधनद्वारा र्प।
११क. विज्ञापन एजेन्सी मार्फत कारोबार: (१) सरकारी निकायले लोक कल्याणकारी विज्ञापन वा सूचना बाहेकका अन्य विज्ञापन वा सूचनाको प्रकाशन तथा प्रसारण गर्ने प्रयोजनको लागि विज्ञापन एजेन्सी मार्फत कारोबार गर्ने व्यवस्था मिलाउन सक्नेछ। (२) उपनियम (१) बमोजिम विज्ञापन एजेन्सी मार्फत कारोबार गराउँदा बोर्डमा सूचीकृत विज्ञापन एजेन्सी मध्येबाट खुला र पारदर्शी प्रक्रियाको आधारमा विज्ञापन एजेन्सीको छनौट गरी गर्नु पर्नेछ। (३) बोर्डले यस नियमावली बमोजिम सूचीकृत विज्ञापन एजेन्सीको नामावली नियमित रूपमा अद्यावधिक गर्नु पर्नेछ।
११ख. कारोबार रोक्का राख्न सक्ने: (१) कुनै विज्ञापनदाता, सञ्चार माध्यम वा विज्ञापन एजेन्सीले ऐन, यस नियमावली वा अन्य प्रचलित कानून बमोजिम विज्ञापनको उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण सम्बन्धी आचारसंहिताको पालना नगरेमा त्यस्तो सञ्चार माध्यम वा विज्ञापन एजेन्सीलाई बोर्डले निश्चित अवधि визнаप गरी त्यस्तो अवधिभित्र विज्ञापन वा सूचना दिन वा लिन वा विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण सम्बन्धी कार्य गर्न रोक लगाउन सक्नेछ। (२) बोर्डले उपनियम (१) बमोजिम रोक लगाएको विज्ञापनदाता, सञ्चार माध्यम वा विज्ञापन एजेन्सीको विवरण सार्वजनिक गर्नु पर्नेछ। (३) उपनियम (१) बमोजिम बोर्डले कारोबार गर्न रोक लगाएको विज्ञापनदाता, सञ्चार माध्यम वा विज्ञापन एजेन्सीसँग कुनै पनि विज्ञापनदाताले कारोबार गर्न वा गराउनु हुँदैन।
११ग. विदेशी कार्यक्रममा विज्ञापन प्रसारण गर्न स्वीकृति लिनुपर्ने : नेपालमा दर्ता भएको टेलिभिजन संस्थाले कुनै विदेशी सङ्घ, संस्था वा टेलिभिजनबाट प्रसारणको अधिकार प्राप्त गरी अन्तर्राष्ट्रिय महत्त्वका कुनै कार्यक्रम वा खेलकुद सम्बन्धी सामग्री प्रसारण गर्दा त्यस्तो कार्यक्रममा नेपाली विज्ञापन प्रसारण गर्न चाहने व्यक्ति वा संस्थाले बोर्डले निर्धारण गरेको दस्तुर बुझाई स्वीकृति लिनु पर्नेछ।
१२. अभिलेख राख्नु पर्नेः (१) नियम ११ बमोजिम सूचीकृत भएका विज्ञापन एजेन्सीले आफ्नो एजेन्सी मार्फत गरिएका विज्ञापनहरूको दर्ता किताब खाता गरी अभिलेख राख्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम राखिएको अभिलेखको बोर्डले आवश्यकता अनुसार निरीक्षण गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम निरीक्षण गर्दा अभिलेख सम्बन्धमा कुनै सुधार गर्नु पर्ने देखिएमा सो सुधार गर्न बोर्डले त्यस्तो एजेन्सीलाई निर्देशन दिन सक्नेछ। त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित एजेन्सीको कर्तव्य हुनेछ।
१३. बोर्डको कोष तथा खाता सञ्चालन: (१) ऐनको दफा २१ को उपदफा (२) मा उल्लिखित रकमको अतिरिक्त बोर्डको कोषमा देहायको रकम समेत जम्मा हुनेछ:-
(क) विज्ञापन एजेन्सीको दर्ता वा नवीकरण बापत प्राप्त हुने रकम, (ख) ऐनको दफा ३२ बमोजिम सरकारी निकायबाट हुने विज्ञापन बापत खर्च हुने रकमको तीन प्रतिशतले हुन आउने रकम, (ग) अन्य स्रोतबाट बोर्डलाई प्राप्त हुने रकम।
(२) बोर्डको खाता अध्यक्ष वा निजले तोकेको बोर्डको वरिष्ठ अधिकृत र बोर्डको आर्थिक प्रशासन शाखाको प्रमुखको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुनेछ।
(३) मन्त्रालयले आवश्यक देखेमा जुनसुकै समयमा कुनै कर्मचारी खटाई बोर्डको लेखा, हिसाबकिताब वा स्रेस्ताको निरीक्षण वा परीक्षण गर्न लगाउन सक्नेछ।
(४) उपनियम (३) बमोजिम निरीक्षण वा परीक्षण गर्ने कर्मचारीले सोको प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिमको प्रतिवेदनबाट बोर्डको कोष, लेखा, स्रेस्तामा कुनै किसिमको कैफियत देखिएमा मन्त्रालयले त्यसलाई सुधार गर्न बोर्डलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु बोर्डको कर्तव्य हुनेछ।
१४. कार्यसम्पादन सम्झौता गर्नु पर्ने: (१) अध्यक्षले मन्त्रालयको सचिवसँग कार्यसम्पादन सम्झौता गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम कार्यसम्पादन सम्झौता गर्दा बोर्डको वार्षिक कार्यक्रम तथा ऐनको दफा १८ को उपदफा (६) मा उल्लिखित अध्यक्षको काम, कर्तव्य र अधिकारको मापन गर्न सकिने गरी गर्नु पर्नेछ।
१५. अन्यत्र काम गर्न नहुने: अध्यक्षले अन्यत्र कुनै पनि प्रकारको नोकरी गर्न, आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहाकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गर्नु हुँदैन।
Σ पहिलो संशोधनद्वारा संशोधित।
१६. स्वघोषणा गर्नु पर्ने: बोर्डका सदस्यले बोर्डको कुनै काम कारबाहीमा आफ्नो वा आफ्नो परिवारको सदस्य वा नजिकको नातेदारको कुनै निजी स्वार्थ रहेको वा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै संलग्नता रहेको भएमा बोर्ड समक्ष स्वघोषणा गर्नु पर्नेछ।
१७. भाग लिन नहुने: बोर्डको बैठकको कार्यसूचीमा समावेश भएको कुनै विषयमा कुनै सदस्यको निजी स्वार्थ रहेको भएमा सम्बन्धित सदस्यले त्यस्तो छलफल वा बैठकमा भाग लिन हुँदैन।
१८. कामकाज गर्न तोक्न सक्ने: अध्यक्ष नियुक्ति नभएसम्म वा अध्यक्षले कुनै कारणले पदमा रही काम काज गर्न नसक्ने वा नपाउने अवस्था भएमा मन्त्रालयले ऐनको दफा १४ को उपदफा (१) को खण्ड (घ) बमोजिमको सदस्यलाई अध्यक्षको कामकाज गर्ने गरी तोक्न सक्नेछ।
१९. वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने: बोर्डले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र आफूले सम्पन्न गरेका कामको वार्षिक प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ।
२०. अनुसूचीमा थपघट वा हेरफेर: बोर्डको सिफारिसमा मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ।
अनुसूची (नियम ११ को उपनियम (१) सँग सम्बन्धित)
विज्ञापन एजेन्सीको रुपमा सूचीकरण हुनका लागि दिने निवेदनको ढाँचा
श्रीमान अध्यक्ष ज्यू, विज्ञापन बोर्ड, नेपाल।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को अधीनमा रही विज्ञापन एजेन्सीको व्यवसाय सञ्चालन गर्ने इच्छा भएकोले देहायको विवरण सहित विज्ञापन एजेन्सीको रुपमा सूचीकृत हुनका लागि यो निवेदन पेश गरेको छु ।
विवरणः
(१) विज्ञापन एजेन्सीको नामः (२) संस्थाको कार्यालयको ठेगानाः (३) व्यावसायिक कार्ययोजनाको विवरणः (४) पूँजीको विवरणः (क) अधिकृत पूँजीः (ख) जारी पूँजीः (ग) चुक्ता पूँजीः (५) कर्मचारीको व्यवस्थाः (क) पूरा समय काम गर्ने सङ्ख्याः (ख) आंशिक समय काम गर्ने सङ्ख्याः (ग) स्तरअनुसारको सङ्ख्याः (६) उपलब्ध वा प्रस्तावित भौतिक साधनको विवरणः (७) सञ्चालकको अन्य व्यावसायिक कारोबारसँग सम्बन्ध भए त्यस्तो कारोबारको विवरणः (८) अन्य प्रासंगिक कुराः
संस्थाको छाप:
निवेदकको दस्तखत:
सञ्चालकको नाम:
संस्थाको नाम:
मिति:
ठेगाना: