विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७
नेपाल राजपत्रमा प्रकाशित मिति २०७७।०९।२७
संशोधन १. विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) नियमावली, २०७९ २०८०।०१।०७
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ५१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ सम्झनु पर्छ। (ख) “उद्योग” भन्नाले औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना भएको उद्योग सम्झनु पर्छ। (ग) “महानिदेशक” भन्नाले विभागको महानिदेशक सम्झनु पर्छ। (घ) “विभाग” भन्नाले उद्योग विभाग सम्झनु पर्छ।
३. उद्योगको जायजेथा वा शेयर खरिद गरी विदेशी लगानी गर्न सक्ने: विदेशी लगानीकर्ताले ऐनको अनुसूचीमा उल्लेख भएका उद्योग वा व्यवसाय बाहेक नेपालमा स्थापना भएको अन्य कुनै उद्योगको जायजेथा वा त्यस्तो उद्योगको शत प्रतिशतसम्म शेयर खरिद गरी विदेशी लगानी गर्न सक्नेछ।
४. लिज लगानी गर्न सक्ने: विदेशी लगानीकर्ताले ऐनको दफा ६ बमोजिम हवाईजहाज, पानीजहाज, मेसिन औजार, निर्माण उपकरण वा अन्य यस्तै उपकरणमा ऐनको दफा ३ को उपदफा (३) बमोजिम तोकिएको सीमाको अधीनमा रही लिज लगानी गर्न सक्नेछ।
५. रोयल्टी रकम वा अन्य शुल्कको सीमाः (१) प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौतामा विदेशी लगानीकर्ताले फिर्ता लैजान पाउने रोयल्टी बापतको रकम र अन्य शुल्क अनुसूची-१ मा उल्लेख भएको सीमाभन्दा बढी हुने गरी व्यवस्था गर्न सकिने छैन ।
(२) कुनै उद्योगले प्रविधि हस्तान्तरण अन्तर्गत विदेशी लगानीकर्तासँग एक वा सो भन्दा बढी प्रविधि हस्तान्तरण सम्झौता गरेको भए तापनि एक आर्थिक वर्षमा फिर्ता लैजान पाउने कुल रोयल्टी रकम वा अन्य शुल्क अनुसूची-१ को क्रमसङ्ख्या (१) मा उल्लेख भए भन्दा बढी हुने छैन ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उद्योग सञ्चालनको तयारीको लागि भएको प्रविधि हस्तान्तरण सम्झौताको रोयल्टी रकम वा अन्य शुल्कको हकमा दुई पक्ष बीच भएको सम्झौता बमोजिम हुनेछ ।
६. शाखा उद्योग स्थापना गर्न सक्नेः विदेशमा संस्थापित भएको कुनै उद्योगले ऐनको दफा ८ बमोजिम नेपालमा आफ्नो शाखा उद्योग स्थापना वा विस्तार गर्न चाहेमा ऐन र यस नियमावली बमोजिम विदेशी लगानी स्वीकृत गराई प्रचलित कानून बमोजिम उद्योग दर्ता गरी शाखा उद्योग स्थापना वा विस्तार गर्न सक्नेछ ।
७. सम्झौता (स्क्रो एग्रिमेन्ट) को अभिलेख राख्नु पर्नेः (१) ऐनको दफा १४ को उपदफा (१) बमोजिम सम्झौता गर्ने विदेशी लगानीकर्ताले त्यस्तो सम्झौताको एक प्रति विदेशी लगानी स्वीकृत गर्ने निकायलाई उपलब्ध गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लिज लगानीको स्वीकृति दिँदा विभागले हवाईजहाज, पानीजहाज, मेसिन औजार वा उपकरणको संरचना तथा व्यवस्थापन सम्बन्धीमा आवश्यक शर्त तोक्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त सम्झौताको अभिलेख विदेशी लगानी स्वीकृत गर्ने निकायले राख्नु पर्नेछ ।
८. निवेदन दिनुपर्नेः (१) कुनै उद्योगमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृतिको लागि देहाय बमोजिमका विवरण तथा कागजात संलग्न राखी अनुसूची-२ बमोजिमको ढाँचामा विदेशी लगानी स्वीकृत गर्ने निकाय समक्ष निवेदन दिनु पर्नेछ:-
(क) लगानीको कार्ययोजना सहितको परियोजना प्रस्ताव - दुई प्रति, (ख) एकभन्दा बढी लगानीकर्ता भएमा त्यस्ता लगानीकर्ता बीच भएको संयुक्त लगानी सम्झौता - दुई प्रति,
(ग) विदेशी लगानीकर्ता प्राकृतिक व्यक्ति भएमा निजको राहदानीको प्रतिलिपि र व्यक्तिगत विवरण (बायोडाटा), (घ) विदेशी लगानीकर्ता कम्पनी भएमा सम्बन्धित मुलुकमा कम्पनी दर्ता भएको प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली, सञ्चालक र शेयरधनी खुल्ने कागजात, कम्पनीको प्रोफार्ल र नेपालमा लगानी गर्ने सम्बन्धमा कम्पनीको सञ्चालक समितिको निर्णय, (ङ) विदेशी लगानीकर्ता फर्म भएमा त्यस्तो फर्मको दर्ता प्रमाणपत्र, साझेदार भए सोको विवरण खुल्ने कागजात र नेपालमा लगानी गर्ने सम्बन्धमा साझेदारहरूबीच भएको निर्णय र फर्मको प्रोफार्ल, (च) विदेशी लगानीकर्ता नेपाली मूलको विदेशी नागरिक वा विदेशमा बस्ने नेपाली नागरिक भए सो पुष्टी हुने कागजात, (छ) विदेशी लगानीकर्ता अन्तर्राष्ट्रिय संस्था भएमा त्यस्तो संस्थाको विधान, सञ्चालकको परिचय खुल्ने कागजात, संस्थाको प्रोफार्ल र नेपालमा लगानी गर्ने सम्बन्धमा भएको संस्थागत निर्णय, (ज) विदेशी लगानीकर्ता आफै उपस्थित हुन नसक्ने भएमा निजले दिएको अख्तियारी पत्रको प्रतिलिपि र अख्तियारीवालाको परिचय खुल्ने कागजात, (झ) विदेशी लगानीकर्ताको विदेशस्थित बैङ्कबाट जारी भएको फाईनान्सियल क्रेडिटिबिलिटी सर्टिफिकेट, (ञ) विदेशी लगानी स्वीकृत गर्ने निकायले निर्णय गरी माग गरेको अन्य विवरण र कागजात।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा विदेशी लगानी स्वीकृत गर्ने निकायले निर्धारण गरे बमोजिम विद्युतीय माध्यमबाट समेत दिन सकिनेछ। (३) उपनियम (१) वा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा उपनियम (१) बमोजिम पेश गर्नुपर्ने सम्पूर्ण विवरण तथा कागजात पेश भएमा विदेशी लगानी स्वीकृत गर्ने निकायले सात दिनभित्र त्यस्तो विदेशी लगानी स्वीकृत गरी सोको जानकारी अनुसूची-३ बमोजिमको ढाँचामा निवेदकलाई दिनु पर्नेछ। (४) उपनियम (३) बमोजिम निवेदन जाँचबुझ गर्दा विदेशी लगानीको स्वीकृति दिन नसकिने देखिएमा विदेशी लगानी स्वीकृत गर्ने निकायले सोको कारण सहितको जानकारी निर्णय भएको मितिले सात दिनभित्र सम्बन्धित निवेदकलाई दिनु पर्नेछ।
८क. स्वचालित मार्ग (अटोमेटिक रूट) बाट सेवा प्रदान गर्न सकिने: (१) ऐनको दफा ४२ को उपदफा (१) बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्वचालित मार्ग (अटोमेटिक रूट) बाट सेवा प्रदान गर्न सकिने गरी निर्धारण गरेको लगानीको सीमामा नबढ्ने गरी देहायको विदेशी लगानीको स्वीकृति सम्बन्धी सेवा स्वचालित मार्ग (अटोमेटिक रूट) बाट प्रदान गर्न सकिनेछ:- (क) शतप्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न, वा (ख) विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको कम्पनीको तत्काल कायम रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिको लागि लगानी गर्न।
(२) उपनियम (१) बमोजिम स्वचालित मार्ग (अटोमेटिक रूट) बाट विदेशी लगानी स्वीकृति सम्बन्धी सेवा उपलब्ध गराउने प्रयोजनको लागि विभागले ऐन तथा यस नियमावली बमोजिम विदेशी लगानीको स्वीकृतिको लागि पेश गर्नु पर्ने विवरण तथा कागजात विद्युतीय प्रणालीबाट पेश गर्न सकिने गरी विद्युतीय प्रणाली सञ्चालन गर्नेछ।
(३) उपनियम (१) बमोजिम स्वचालित मार्ग (अटोमेटिक रूट) बाट विदेशी लगानी सम्बन्धी स्वीकृति दिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा लग इन गरी सो प्रणालीले माग गरे बमोजिमको विवरण तथा कागजात त्यस्तो प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम विद्युतीय प्रणालीमा विदेशी लगानी स्वीकृतिको लागि आवश्यक विवरण तथा कागजात प्रविष्ट गरे पछि त्यस्तो लगानी स्वीकृतिको लागि विद्युतीय प्रणालीबाट पेश गर्नु भन्दा पहिले सम्बन्धित विदेशी लगानीकर्ताले प्रविष्ट गरेको विवरण तथा कागजात जाँच गर्नु तथा सच्याउनु पर्ने भएमा सच्याउन सक्नेछ।
(५) उपनियम (३) बमोजिम प्रविष्ट गरिएको विवरण तथा कागजात विदेशी लगानीकर्ताले उपनियम (४) बमोजिम जाँच गरी आवश्यकता अनुसार सच्याए पछि विदेशी लगानी स्वीकृतिको लागि विभागको विद्युतीय प्रणालीमा पेश गर्न सक्नेछ।
(६) उपनियम (५) बमोजिम विदेशी लगानी स्वीकृतिको लागि विभागको विद्युतीय प्रणालीमा पेश भए पछि त्यस्तो प्रणालीबाट विदेशी लगानीकर्तालाई निजले प्रविष्ट गरेको इमेल ठेगानामा आवेदन नम्बर सहितको निजको लगानी स्वीकृत भएको जानकारी
* पहिलो संशोधनद्वारा थप।
(कन्फर्मेसन) दिइनेछ। त्यस्तो जानकारीको अतिरिक्त विदेशी लगानीकर्ताले लगानी स्वीकृत भएको पत्र विभागको विद्युतीय प्रणालीबाट समेत प्राप्त गर्न सक्नेछ।
(७) उपनियम (६) बमोजिम विदेशी लगानी स्वीकृतिको जानकारी दिए पछि ऐन तथा यस नियमावली बमोजिम निजको विदेशी लगानी स्वतः स्वीकृत भएको मानिनेछ।
९. विदेशी लगानी भित्र्याउनु पर्ने अवधिः (१) नियम ८ वा ८क. बमोजिम विदेशी लगानी गर्न स्वीकृति प्राप्त विदेशी लगानीकर्ताले त्यस्तो स्वीकृति प्राप्त गरेको एक वर्षभित्र देहाय बमोजिमको विदेशी लगानी भित्र्याउनु पर्नेछः-
(क) ऐनको दफा ३ को उपदफा (३) बमोजिम तोकिएको न्यूनतम रकम लगानी गर्ने लगानीकर्ताले स्वीकृत लगानी रकमको कम्तीमा पच्चीस प्रतिशत रकम,
(ख) खण्ड (क) बमोजिमको न्यूनतम रकमभन्दा बढी पच्चीस करोड रूपैयाँसम्म विदेशी लगानी स्वीकृत भएका लगानीकर्ताले स्वीकृत लगानी रकमको कम्तीमा पन्चर प्रतिशत रकम,
(ग) पच्चीस करोड रूपैयाँभन्दा बढी एक अर्ब रूपैयाँसम्म विदेशी लगानी स्वीकृत भएका लगानीकर्ताले स्वीकृत लगानी रकमको कम्तीमा दश प्रतिशत रकम,
(घ) एक अर्ब रूपैयाँ भन्दा बढी विदेशी लगानी स्वीकृत भएका लगानीकर्ताले स्वीकृत लगानी रकमको कम्तीमा पाँच प्रतिशत रकम।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ८ वा ८क. बमोजिम स्वीकृति प्राप्त विदेशी लगानीकर्ताले स्वीकृत लगानी रकमको कम्तीमा सत्तरी प्रतिशत रकम आफूले लगानी गरेको उद्योग वा व्यवसायबाट व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नु अघि र बाँकी तीस प्रतिशत रकम त्यस्तो उद्योग वा व्यवसायबाट व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ भएको दुई वर्षभित्र लगानी गरिसक्नु पर्नेछ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सञ्चालनमा रहेको कुनै उद्योगको शेयर खरिद गरी लगानी गर्ने विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृत भएको एक वर्षभित्र त्यस्तो विदेशी लगानी गरिसक्नु पर्नेछ।
(४) यो नियमावली प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेको विदेशी लगानी स्वीकृत भएको उद्योगले त्यस्तो स्वीकृति बमोजिम विदेशी लगानी भित्र्याउन नसकेको भए यो
पहिलो संशोधनद्वारा संशोधित।
नियममावली प्रारम्भ भएको छ महिनाभित्र विदेशी लगानी सम्बन्धी कार्य योजना स्वीकृत गराई सो बमोजिम विदेशी लगानी गरिसक्नु पर्नेछ।
१०. शेयर बिक्री वा हक हस्तान्तरणको जानकारी गराउनु पर्ने: (१) ऐनको दफा १९ को उपदफा (१) बमोजिम कुनै कम्पनीले विदेशी लगानीबाट नेपालमा सृजित सम्पत्ति, जायजेथा वा शेयर वा अन्य कुनै प्रकारको वित्तीय उपकरणको बिक्री, हक हस्तान्तरण वा अन्य कुनै प्रकारले स्वामित्व वा निहित स्वामित्वको संरचनामा परिवर्तन भएमा सम्बन्धित कम्पनीले कारोबार भएको तीस दिन भित्र विदेशी लगानी स्वीकृत गर्ने निकायमा विवरणको अभिलेखन गराउन देहाय बमोजिमका विवरण तथा कागजात सहित निवेदन दिनु पर्नेछ:- (क) कम्पनीको सम्पत्ति वा जायजेथा वा शेयर खरिद बिक्री सम्बन्धी सम्झौताको प्रतिलिपि र सो बमोजिम कारोबार गरेको देखिने प्रमाणित कागजात, (ख) लेखापरीक्षकबाट प्रमाणित कम्पनीको प्रति शेयर मूल्य खुलेको कागजात र लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि, (ग) कम्पनीको शेयर खरिद बिक्री वा हक हस्तान्तरणबाट प्राप्त लगानी फिर्ता लैजाने भए सोको कार्यतालिका, (घ) कम्पनीले प्रचलित कानून बमोजिम नेपाल सरकारलाई तिर्नुपर्ने कर दायित्व चुक्ता गरेको प्रमाण, (ङ) नेपालस्थित त्यस्तो कम्पनीको अद्यावधिक शेयर लगत। (२) उपनियम (१) बमोजिमको निवेदन साथ संलग्न विवरण तथा कागजात प्राप्त भएपछि विदेशी लगानी स्वीकृत गर्ने निकायले निर्धारित ढाँचामा सोको अभिलेख राख्नु पर्नेछ।
११. लगानी तथा आर्जित रकम फिर्ता लैजान पाउने: ऐनको दफा २० बमोजिम कुनै विदेशी लगानीकर्ताले आफूले गरेको विदेशी लगानी वा त्यसबाट आर्जित रकम फिर्ता लैजान चाहेमा देहायका विवरण तथा कागजात सहित अनुसूची-४ बमोजिमको ढाँचामा विदेशी लगानी स्वीकृत गर्ने निकाय समक्ष निवेदन दिनु पर्नेछ:- (क) विदेशी लगानीकर्ताले गरेको लगानी वा सो लगानीबाट आर्जित रकम फिर्ता लैजाने सम्बन्धमा सम्बन्धित कम्पनीको साधारणसभा र सञ्चालक समितिको निर्णय, (ख) कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रमाणित अद्यावधिक शेयर लगत र सञ्चालक लगत,
(ग) कम्पनीको अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र कर चुक्ताको प्रमाणपत्र, (घ) सम्बन्धित लगानीकर्ताले प्रचलित कानून बमोजिम लगानी भित्र्याएको प्रमाण, (ङ) विदेशी लगानीको शेयर बिक्री बापतको रकम भए शेयर बिक्री भएको स्वीकृति पत्र र स्वीकृत शेयर खरिद बिक्री सम्झौताको प्रतिलिपि, (च) विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांश बापतको रकम, सोको वितरण सम्बन्धमा कम्पनीको साधारण सभाको निर्णय, प्रचलित कानून बमोजिम बोनस वितरण गरेको प्रमाण र सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, (छ) लिज लगानी अन्तर्गत लिज सम्झौता बापत भुक्तानी गर्नुपर्ने भएमा सो सम्बन्धी कागजात, (ज) नेपालमा चलेको मुद्दा, मध्यस्थता वा अन्य कुनै कानूनी प्रक्रिया बमोजिम अन्तिम निर्णय भई भुक्तानी गर्नुपर्ने हर्जाना वा क्षतिपूर्ति बापतको रकम भए सो सम्बन्धी कागजात, (झ) रोयल्टी बापतको रकम भए सोसँग सम्बन्धित कागजात, (ञ) नियम १० बमोजिम नेपालमा आर्जित सम्पत्तिको बिक्री वा हक हस्तान्तरण गरेको विवरणको अभिलेखन भएको प्रमाण, (ट) विदेशी लगानी स्वीकृत गर्ने निकायले माग गरेका अन्य आवश्यक कागजात।
१२. परिचयपत्रको सुविधाः (१) देहाय बमोजिमको विदेशी लगानी गर्ने विदेशी लगानीकर्तालाई विभागले अनुसूची-५ बमोजिमको ढाँचामा विदेशी लगानीकर्ता परिचयपत्र उपलब्ध गराउन सक्नेछः- (क) पाँच करोड रूपैयाँदेखि पच्चीस करोड रूपैयाँसम्मको लगानी गर्ने विदेशी लगानीकर्तालाई साधारण विदेशी लगानीकर्ता, (ख) पच्चीस करोड रूपैयाँभन्दा बढी एक अर्ब रूपैयाँसम्मको लगानी गर्ने विदेशी लगानीकर्तालाई विशिष्ट विदेशी लगानीकर्ता, (ग) एक अर्ब रूपैयाँभन्दा बढी विदेशी लगानी गर्ने विदेशी लगानीकर्तालाई अति विशिष्ट लगानीकर्ता।
(२) उपनियम (१) बमोजिम परिचयपत्र उपलब्ध गराउँदा विदेशी लगानीकर्ता र निजको आधिकारिक प्रतिनिधिलागि परिचयपत्र उपलब्ध गराइनेछ। (३) ऐन तथा यस नियमावली बमोजिम विदेशी लगानी फिर्ता लगेपछि वा विदेशी लगानीको स्वीकृति रद्द भएपछि सम्बन्धित विदेशी लगानीकर्तालाई उपनियम (१) बमोजिम उपलब्ध गराएको परिचयपत्र स्वतः रद्द हुनेछ। (४) उपनियम (३) बमोजिम रद्द भएको परिचयपत्रको अभिलेख विभागले राखी सोको जानकारी सम्बन्धित निकायलाई समेत दिनु पर्नेछ।
१३. भिसा सुविधाः (१) विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि र त्यस्तो लगानीकर्ता वा निजको प्रतिनिधिको परिवारका सदस्यलाई विदेशी लगानीकर्ताले गरेको न्यूनतम कुल लगानी ऐनको दफा ३ को उपदफा (३) बमोजिम तोकिएको हदसम्म कायम रहँदासम्म व्यावसायिक भिसा दिइनेछ। (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐन प्रारम्भ हुनुअघि विदेशी लगानी स्वीकृत भएको विदेशी लगानीकर्ताको हकमा त्यस्तो विदेशी लगानी स्वीकृत हुँदाका शर्त तोकिएको न्यूनतम रकमलाई न्यूनतम कुल लगानी कायम गर्नु पर्नेछ। (३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दश करोड रूपैयाँ वा सोभन्दा बढीको विदेशी लगानी स्वीकृत भएको विदेशी लगानीकर्ताले स्वीकृत लगानीको पच्चीस प्रतिशत रकम भित्र्याई सकेको अवस्थामा त्यस्तो विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधिमध्ये दुईजना र निजको परिवारका सदस्यलाई व्यावसायिक भिसा दिइनेछ । (४) एकै पटक दश लाख अमेरिकी डलरभन्दा बढी रकम वा सो बराबरको परिवर्तित विदेशी मुद्रामा विदेशी लगानी गर्ने विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि र त्यस्तो व्यक्तिको परिवारका सदस्यलाई त्यस्तो लगानीको पचास प्रतिशत रकम बराबरको विदेशी लगानी कायम रहेसम्मको लागि आवासीय भिसा दिइनेछ। (५) विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि र त्यस्तो लगानीकर्ता वा प्रतिनिधिको परिवारका सदस्यले ऐन बमोजिम भिसाको सुविधा प्राप्त गर्न विदेशी लगानी स्वीकृत गर्ने निकाय समक्ष देहाय बमोजिमका विवरण तथा कागजात संलग्न गरी अनुसूची-६ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ:- (क) विदेशी लगानी स्वीकृत भएको पत्रको प्रतिलिपि, (ख) भिसा माग गर्ने व्यक्तिको राहदानीको प्रतिलिपि,
(ग) विदेशी लगानीकर्ताको आधिकारिक प्रतिनिधि भए त्यस्तो प्रतिनिधि तोकिएको प्रमाणित हुने कागजात, (घ) विदेशी लगानीकर्ताको परिवारको सदस्य भए सम्बन्धित मुलुकको अधिकार प्राप्त निकाय वा त्यस्तो मुलुकको नेपालस्थित दूतावास वा कूटनीतिक नियोगबाट नाता प्रमाणित भएको कागजात, (ङ) गैरपर्यटक भिसाको हकमा प्रचलित कानून बमोजिमको कार्य सहमति र श्रम स्वीकृतिको प्रतिलिपि। (६) उपनियम (५) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा विदेशी लगानी स्वीकृत गर्ने निकायले एकल बिन्दु सेवा केन्द्र मार्फत सम्बन्धित निकाय वा शाखामा बढीमा दुई दिनभित्र भिसाको सिफारिस गर्नु पर्नेछ।
१४. जग्गा प्राप्त गर्न सिफारिस, समन्वय र सहजीकरण गर्ने: (१) विदेशी लगानी स्वीकृत भएको उद्यममूलक, उत्पादनमूलक, पूर्वाधार र खनिजजन्य उद्योगले आफूलाई आवश्यक पर्ने जग्गा आफ्नै पहलमा खरिद गर्न वा प्राप्त गर्न नसकेमा त्यस्तो जग्गा खरिद गर्नको लागि समन्वय वा सहजीकरणको लागि लगानी स्वीकृत गर्ने निकाय समक्ष तथा हदबन्दी भन्दा बढी जग्गा आवश्यक पर्ने भएमा उद्योग दर्ता गर्ने निकाय समक्ष देहाय बमोजिमका विवरण तथा कागजात सहित निवेदन दिन सक्नेछः– (क) विदेशी लगानी स्वीकृति पत्रको प्रतिलिपि, (ख) उद्योग दर्ताको प्रमाणपत्रको प्रतिलिपि, (ग) उद्योगको स्वीकृत परियोजना प्रस्ताव, (घ) उद्योगका लागि आवश्यक पर्ने जग्गाको क्षेत्रफल र स्थान, (ङ) अन्य कुनै निकायबाट अनुमति आवश्यक पर्ने भएमा त्यस्तो अनुमति पत्र, (च) जग्गा प्राप्त गर्नको लागि आवश्यक सम्पूर्ण खर्च व्यहोने प्रतिबद्धता पत्र, (छ) उद्योग आफैले जग्गा खरिद वा प्राप्त गर्न नसकेको कारण। (२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा लगानी स्वीकृत गर्ने निकाय वा उद्योग दर्ता गर्ने निकायले नेपाल सरकारका सम्बद्ध निकायसँग समन्वय गरी त्यस्तो उद्योगलाई आवश्यक पर्ने जग्गा खरिद वा प्राप्त गर्न आवश्यक सिफारिस, समन्वय र सहजीकरण गरिदिनु पर्नेछ।
१५. उद्योगले बिक्री कक्ष खोल्न सक्ने: (१) ऐन तथा यस नियमावली बमोजिम विदेशी लगानीमा स्थापना भएको उद्योगले प्रचलन कानून बमोजिम सम्बन्धित निकायबाट स्वीकृति लिई आफूले उत्पादन गरेको वस्तुको फुटकर बिक्रीको लागि उद्योग परिसरमा छुट्टै बिक्री कक्ष खोल्न सक्नेछ। (२) उपनियम (१) बमोजिम खोलिएको बिक्री कक्षबाट सोही उद्योगबाट उत्पादित वस्तु मात्र बिक्री गर्न पाइनेछ। (३) यस नियम बमोजिम बिक्री कक्ष खोली गरिने कारोबारको लेखा सम्बन्धित उद्योगले राख्नु पर्नेछ।
१६. गुनासो व्यवस्थापन: (१) ऐनको दफा ३५ को उपदफा (१) बमोजिम विदेशी लगानीकर्ता वा उद्योगबाट उद्योगको दर्ता, नियमन वा अनुगमन गर्ने अधिकारी वा एकल विन्दु सेवा केन्द्रको कुनै अधिकारीले गरेको काम कारबाहीका सम्बन्धमा कुनै गुनासोको निवेदन प्राप्त भएमा महानिर्देशकले त्यस्तो गुनासोको सम्बन्धमा गुनासोको प्रकृति अनुसार आफैले जाँचबुझ गर्नु वा जाँचबुझ गरी प्रतिवेदन पेश गर्नु विभागको कुनै अधिकृतस्तरको कर्मचारीलाई आदेश दिन सक्नेछ। (२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा विभागबाट त्यस्तो गुनासो सम्बोधन गर्न सकिने भएमा सात दिनभित्र त्यस्तो गुनासो व्यवस्थापन गर्नु पर्नेछ। मन्त्रालय वा अन्य निकायबाट त्यस्तो गुनासो सम्बोधन गर्नु पर्ने देखिएमा मन्त्रालय वा सम्बन्धित निकायमा लेखी पठाई सोको जानकारी निवेदकलाई दिनु पर्नेछ। (३) ऐनको दफा ३५ को उपदफा (३) बमोजिम विभाग वा एकल विन्दु सेवा केन्द्रबाट भएको काम कारबाहीका सम्बन्धमा विदेशी लगानीकर्ता वा उद्योगबाट कुनै गुनासो प्राप्त भएमा मन्त्रालय आफैले त्यस्तो गुनासो सम्बोधन गर्नु पर्ने भएमा तीस दिनभित्र त्यस्तो गुनासो सम्बोधन गर्नु पर्नेछ। अन्य निकायबाट त्यस्तो गुनासोको सम्बोधन गर्नु पर्ने रहेछ भने मन्त्रालयले त्यस्तो गुनासो सम्बोधन गर्न सम्बन्धित निकायलाई लेखी पठाई सोको जानकारी सम्बन्धित निवेदकलाई दिनु पर्नेछ।
१७. स्वीकृति रद्द गर्ने: (१) कुनै विदेशी लगानीकर्ता वा विदेशी लगानी भएको उद्योगले ऐन वा यस नियमावली बमोजिम विदेशी लगानीको लागि स्वीकृति प्रदान गर्दाका बखत विदेशी लगानी स्वीकृत गर्ने निकायले तोकेका शर्त विपरीत कुनै काम गरेको जानकारी वा सूचना कुनै माध्यमबाट विभागमा प्राप्त हुन आएमा महानिर्देशकले सो सम्बन्धमा आवश्यकता अनुसार स्थलगत अध्ययन समेतको आधारमा आवश्यक छानबिन गरी पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्न विभागको कुनै अधिकृतलाई आदेश दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रतिवेदनबाट कुनै विदेशी लगानीकर्ता वा विदेशी लगानी भएको उद्योगले विदेशी लगानी स्वीकृतिपत्रमा तोकिएको शर्त विपरीत हुने गरी कुनै काम गरेको पुष्टि हुन आएमा विभागले सम्बन्धित लगानीकर्ता वा उद्योगलाई त्यस्तो काम नगर्न वा नगराउन वा कुनै त्रुटि गरेको भए त्यस्तो त्रुटि सच्याउन आदेश दिन सक्नेछ। (३) उपनियम (२) बमोजिम दिएको आदेशको पालना गरे, नगरेको सम्बन्धमा विभागले विदेशी लगानी भएको उद्योगको काम कारबाहीको नियमित रूपमा अनुगमन गर्नु वा गराउनु पर्नेछ। (४) उपनियम (३) बमोजिम अनुगमन गर्दा वा गराउँदा कुनै विदेशी लगानीकर्ता वा विदेशी लगानी भएको उद्योगले उचित आधार र कारण बिना उपनियम (२) बमोजिमको आदेशको पालना नगरेको पाइएमा महानिर्देशकले त्यस्तो लगानीकर्ता वा उद्योगको विदेशी लगानीको स्वीकृति रद्द गर्न सक्नेछ। (५) उपनियम (४) बमोजिम विदेशी लगानीको स्वीकृति रद्द गर्नु अघि सम्बन्धित विदेशी लगानीकर्ता वा उद्योगलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ। (६) कुनै विदेशी लगानीकर्ता वा उद्योगले ऐन तथा यस नियमावली बमोजिम प्राप्त स्वीकृतिपत्र अनुसार विदेशी लगानी भित्र्याउन नसकेको भनी त्यस्तो लगानी स्वीकृति रद्द गर्न निवेदन दिएमा विदेशी लगानी स्वीकृत गर्ने निकायले त्यस्तो विदेशी लगानी रद्द गरिदिनु पर्नेछ। (७) यस नियम बमोजिम विदेशी लगानी स्वीकृत गर्ने निकायले त्यस्तो विदेशी लगानीको स्वीकृति रद्द भएको अभिलेख राखी सोको जानकारी नेपाल राष्ट्र बैंक, अध्यागमन विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयलाई समेत दिनु पर्नेछ।
१८. उद्योगको अनुगमन तथा निरीक्षणः (१) ऐनको दफा ३७ को उपदफा (१) बमोजिम कुनै उद्योगको अनुगमन तथा निरीक्षण गर्दा सम्बन्धित विषयको विज्ञको समेत सहयोग लिन सकिने छ। (२) ऐनको दफा ३७ को उपदफा (२) बमोजिम प्राप्त प्रतिवेदनबाट कुनै उद्योगको काम कारबाहीमा कुनै सुधार गर्न आदेश दिनु पर्ने देखिएमा विभागले सो कुराको लिखित जानकारी त्यस्तो अनुगमन तथा निरीक्षण सम्पन्न भएको पन्ध्र दिनभित्र सम्बन्धित उद्योगलाई दिनु पर्नेछ।
१९. विदेशी लगानी स्वीकृति बहाल रहने अवधि: ऐनको दफा ४३ को उपदफा (२) बमोजिम विदेशी लगानीको स्वीकृति स्वतः निष्क्रिय भएको वा नियम १७ बमोजिम विदेशी लगानी रद्द भएको अवस्थामा बाहेक विदेशी लगानी स्वीकृति बहाल रहने छ।
२०. शर्त पालना गर्नुपर्नेः ऐन बमोजिम विदेशी लगानीको स्वीकृति प्राप्त विदेशी लगानीकर्ताले उद्योग वा व्यवसाय सञ्चालन गर्दा प्रचलित कानूनमा उल्लेख भएका शर्तका अतिरिक्त विदेशी लगानी स्वीकृत गर्ने निकायले प्रदान गरेको विदेशी लगानी स्वीकृतिपत्रमा उल्लिखित शर्तहरू समेत पालना गर्नु पर्नेछ।
२१. करार गरी उत्पादन गर्न सकिनेः विदेशी लगानी भएको उद्योगले कुनै उत्पादनको सम्बन्धमा ऐनको दफा ४५ को प्रयोजनको लागि करार गर्दा प्रचलित कानून बमोजिम दर्ता भएको उद्योगसँग मात्र गर्नु पर्नेछ।
२२. आर्जित नाफाबाट लगानीः (१) विदेशी लगानी भएको उद्योगले आफ्नो आर्जित नाफाबाट पुनः लगानी गर्दा सोही उद्योग वा विदेशी लगानी खुला गरिएका अन्य उद्योगमा लगानी गर्न सक्नेछ। (२) उपनियम (१) बमोजिम लगानी गर्दा सोही उद्योग भए ऐनको दफा ३ को उपदफा (३) बमोजिम तोकिएको न्यूनतम लगानीको सीमाको दश प्रतिशतभन्दा कम नहुने गरी र अन्य उद्योग भए न्यूनतम लगानीको सीमा भन्दा कम नहुने गरी लगानी गर्नु पर्नेछ।
२३. अख्तियारनामाः ऐनको दफा ४६ बमोजिम अख्तियारनामा दिने व्यक्तिले अख्तियारनामामा आफूले गर्नु पर्ने काममध्ये कुन कामको लागि अख्तियारनामा दिएको हो सो व्यहोरा र बहाल रहने अवधि समेत खुलाउनु पर्नेछ।
२४. प्रदेशमा दर्ता भएका उद्योगमा विदेशी लगानीः (१) प्रचलित सङ्घीय वा प्रदेश कानून बमोजिम प्रदेशमा दर्ता भएको उद्योगले विदेशी लगानीको लागि स्वीकृति लिन चाहेमा त्यस्तो उद्योगको दर्ता प्रमाणपत्र, विदेशी लगानी स्वीकृतिको लागि प्रदेश सरकारको सम्बन्धित मन्त्रालयको सिफारिसपत्र र नियम ८ मा उल्लिखित विवरण तथा कागजात सहित विभागसमक्ष निवेदन दिनु पर्नेछ। (२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर विभागले ऐन तथा यस नियमावली बमोजिमको प्रक्रिया पूरा गरी निवेदकलाई विदेशी लगानीको स्वीकृति प्रदान गर्नेछ।
२५. अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने: मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ।
अनुसूची-१ (नियम ५ को उपनियम (१) र (२) सँग सम्बन्धित)
फिर्ता लैजान पाउने रोयल्टी रकम वा अन्य शुल्कको सीमा
१. उद्योगको लागि सबै किसिमका प्रविधि हस्तान्तरण बापतको रोयल्टी रकम वा अन्य शुल्कको सीमा
२. ट्रेडमार्क मात्र उपयोग गरे बापतको रोयल्टी रकम वा अन्य शुल्कको सीमा
अनुसूची-२ (नियम ८ को उपनियम (१) सँग सम्बन्धित) विदेशी लगानीको लागि दिइने निवेदनको ढाँचा
श्री ....................................
म/हामी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बमोजिम .................... प्रदेश, .................... जिल्ला, .................... नगरपालिका/गाउँपालिका, वडा नं. ...... स्थित ................... उद्योगमा विदेशी लगानी गर्न इच्छुक भएकोले देहाय बमोजिमको परियोजना प्रस्ताव रहेको प्रस्तावित उद्योग स्थापना गर्न वा त्यसमा लगानी गर्न स्वीकृति दिनुहुन अनुरोध गर्दछु/गर्दछौँ।
१. उद्योगको उद्देश्य
(* ............ कार्य दिन, ............ सिफ्ट ............ प्रतिघण्टामा आधारित)
२. उद्योग रहने/रहेको स्थान प्रदेश ............ जिल्ला ............ नगरपालिका/गाउँपालिका ............ वडा नं. ....
३. उद्योगको स्तर [ ] साना [ ] मझौला [ ] ठूला
४. उद्योगको स्वरूप [ ] कानूनी [ ] प्राइभेट लिमिटेड [ ] पब्लिक लिमिटेड [ ] अन्य [ ]
५. उद्योगको लागत
६. वित्तीय स्रोत
(ऋणको विस्तृत विवरण आवश्यक स्वीकृति/सिफारिसको लागि यसै साथ संलग्न छ ।
७. प्लान्ट, मेशिनरी र उपकरणको विवरण
*आवश्यकता अनुसार उत्पादन प्रक्रिया र प्रक्रिया फ्लो चार्ट बुझाउनु पर्नेछ।
८. वार्षिक कच्चा पदार्थको आवश्यकता (१०० प्रतिशत क्षमताको उपयोग अनुसार)
| क्र.सं. | कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ पदार्थ, आदि। | वार्षिक आवश्यकता | स्रोत (स्थानीय/ भारतीय/ तेस्रो देश) | | :--- | :--- | :--- | :--- | :--- | :--- | | | | एकाई | परिमाण | दर (रू.) | रकम (रू.) | | | | | | | | | | | कुल | | | | | | |
९. आवश्यक सुविधा (इन्धन, पानी, शक्ति) को विवरण
| क्र.सं. | सुविधा | वार्षिक आवश्यकता वा क्षमता | स्रोत | | :--- | :--- | :--- | :--- | :--- | | | | एकाई | परिमाण | | | १. | विद्युत | के.भि.ए. | | | | २. | इन्धन (डिजेल, फनेस आयल, कोइला, धानको भुस आदि) | | | | | ३. | पानी | | | | | ४. | अन्य | | | |
१०. विदेशी लगानीको प्रकार
११. अनुमानित रोजगारी सिर्जना(अङ्कमा)
१२. विदेशी लगानी स्वीकृति मिति र कार्यसञ्चालन बीचको अनुमानित समय तालिका तथा प्रस्तावित विदेशी लगानी रकम नेपाल भित्र्याउने समय तालिका संलग्न छन्।
१३. वातावरणीय प्रतिबद्धता
म/हामी वातावरण सम्बन्धी प्रचलित कानून बमोजिम उद्योग दर्ताको प्रक्रिया देखि नै आवश्यक वातावरण संरक्षणका प्रक्रियाहरू पालना गर्नेछु/छौँ।
१४. लगानीकर्ताको विवरण
अनुसूची-३ (नियम ८ को उपनियम (३) सँग सम्बन्धित) विदेशी लगानी स्वीकृति पत्र
मिति:
विषयः विदेशी लगानी स्वीकृति बारे ।
श्री................................, देशको नाम......., राहदानी/संस्थापना प्रमाणपत्र नं.......….
प्रस्तुत विषयमा तपाईँले शत प्रतिशत/संयुक्त विदेशी लगानीमा…….. प्रदेश …….. जिल्ला…….. म.न.पा./उ.म.न.पा./न.पा./गा.पा. वडा नं. .......... मा ................... गर्ने उद्देश्यको प्रस्तावित/सञ्चालित ........................ उद्योगमा शेयर लगानी/शेयर खरिद लगानी/प्रविधि हस्तान्तरण गरी विदेशी लगानी स्वीकृतिको लागि पेश गरेको निवेदन सम्बन्धमा कारबाही हुँदा देहाय बमोजिम हुने गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा १५ बमोजिम विदेशी लगानी गर्न स्वीकृति प्रदान गर्ने मिति .......................... को निर्णय अनुसार यो स्वीकृतिपत्र प्रदान गरिएको छ। साथै, स्वीकृत परियोजना प्रस्ताव संयुक्त लगानी सम्झौता/प्रविधि हस्तान्तरण सम्झौता/सैद्धान्तिक सहमति प्रदान गरिएको शेयर खरिद बिक्री सम्झौताको प्रति यसै साथ संलग्न छ।
१. स्थिर पूँजीः रू. …………….......।– २. चालु पूँजीः रू. ………………...।– ३. कुल पूँजीः रू. …………………।– ४. स्वदेशी लगानीः रू. …………………।– ५. विदेशी लगानीः रू. …………………।– ६. उद्योगको उद्देश्यः …………………………… ७. वार्षिक क्षमताः ……………………..
८. उद्योगको वर्ग: ....................................................................................................................
९. उद्योगको स्तर: ....................................................................................................................
१०. आवश्यक विद्युतशक्ति: ..........................................................................................................
११. लगानीको विभाजन: स्वदेशी पक्ष : ....................% विदेशी पक्ष : ....................%
१२. रोजगारी सङ्ख्या: ....................जना
१३. उद्योग सञ्चालन हुने: (१) दिन: ........... (२) सिफ्ट सङ्ख्या: ...........
१४. उद्योगको ठेगाना: ....................प्रदेश ....................जिल्ला ....................म.न.पा./उ.म.न.पा./न.पा./गा.पा./व डा नं. ....................
१५. सम्पर्क: मोबाइल नं. .................... इमेल: ....................
अनुसूची-४ (नियम ११ सँग सम्बन्धित)
विदेशी लगानीकर्ताको लगानी फिर्ता लैजान स्वीकृतिको लागि दिइने निवेदनको ढाँचा
श्री .................................
विषयः विदेशी लगानी/अर्जित रकम फिर्ता लैजाने स्वीकृति सम्बन्धमा।
त्यस.......... (विदेशी लगानी स्वीकृति दिने निकाय) को मिति: ............... को पत्र अनुसार ....... स्थित .................................. उद्योगमा मेरो/हाम्रो तर्फबाट .......................... रकम लगानी भएकोमा सो लगानीबाट आर्जित लाभांश/रोयल्टी/शेयर खरिद बिक्री/उद्योग वा कम्पनी खारेजी/लिज लगानी सम्झौता/कानूनी प्रकृया बमोजिमको हर्जाना वा क्षतिपूर्ति बापतको रू........... रकम फिर्ता लैजान स्वीकृतिका लागि संलग्न कागजात सहित यो निवेदन पेश गरिएको छ।
निवेदक उद्योगको छाप: नाम: दस्तखत: पदः मिति:
अनुसूची-५ (नियम १२ को उपनियम (१) सँग सम्बन्धित) विदेशी लगानीकर्तालाई दिइने परिचयपत्रको ढाँचा
परिचयपत्रको अग्र भागमा रहनेः-
परिचयपत्रको पृष्ठ भागमा रहनेः-
अनुसूची-६ (नियम १३ को उपनियम (५) सँग सम्बन्धित) भिसाको लागि आवेदन फाराम
मिति:
श्रीमान् महानिर्देशकज्यू, उद्योग विभाग (एकल बिन्दु सेवा केन्द्र) काठमाडौँ ।
विषय: गैर पर्यटक/व्यावसायिक भिसाको लागि सिफारिस सम्बन्धमा ।
................ स्थित .......... उद्योगमा मेरो/हाम्रो लगानी रहने गरी मिति:............ मा विदेशी लगानी स्वीकृत भएको हुँदा सो उद्योग सञ्चालनको लागि म/हामी विदेशी लगानीकर्ता/विदेशी लगानीकर्ताको आधिकारिक प्रतिनिधि/परिवारका सदस्यलाई नेपालमा रहन बस्नको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बमोजिम गैर पर्यटक/व्यावसायिक भिसा सिफारिसको लागि देहायको विवरण सहित यो निवेदन पेश गरेको छु/छौं।
(क) विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि:
(ख) लगानीकर्ता वा निजको आधिकारिक परिवारको सदस्यको विवरणः
उद्योगको सम्पर्क नं. .................... लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधिको दस्तखत: उद्योग दर्ता नं. (उद्योगको छाप) मिति:
संलग्न कागजात (क) भिसा माग गर्ने व्यक्तिको राहदानी र विदेशी लगानी स्वीकृत भएको पत्र/उद्योग दर्ताको प्रतिलिपि, (ख) विदेशी लगानीकर्ताको आधिकारिक प्रतिनिधि भए त्यस्तो प्रतिनिधि प्रमाणित हुने कागजात, (ग) विदेशी लगानीकर्ताको परिवारको सदस्य भए सम्बन्धित मुलुकको सक्षम निकाय या त्यस्तो मुलुकको नेपालस्थित दूतावास या कूटनीतिक नियोगबाट नाता प्रमाणित भएको कागजात, (घ) गैर पर्यटक भिसाको हकमा प्रचलित कानून बमोजिमको कार्य सहमति या श्रम स्वीकृतिको प्रतिलिपि, (ङ) अख्तियार प्राप्त व्यक्ति या आधिकारिक व्यक्तिको अख्तियारनामा, परिचय पत्र, सम्पर्क नम्बर।