वैयक्तिक गोपनीयता सम्बन्धी नियमावली, २०७७
राजपत्रमा प्रकाशित मिति २०७७।०५।०८
वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को दफा ३६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम "वैयक्तिक गोपनीयता सम्बन्धी नियमावली, २०७७" रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा "ऐन" भन्नाले वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ सम्झनु पर्छ ।
३. लिखितको गोपनीयता हुने: ऐनको दफा ११ को उपदफा (२) मा उल्लेखित लिखितहरुको अतिरिक्त देहायका लिखितहरु सम्बन्धित व्यक्तिको वैयक्तिक लिखित मानिनेछन्ः-
(क) जन्म दर्ता प्रमाणपत्र, (ख) विवाह दर्ता प्रमाणपत्र, (ग) राष्ट्रिय परिचय पत्र र सोसँग सम्बन्धित अन्य कागजात, (घ) प्रवेशाज्ञा (भिसा), (ङ) नाता प्रमाणित वा सो सम्बन्धी कागजात, (च) धर्मपुत्र, धर्मपुत्री सम्बन्धी प्रमाणपत्र, (छ) सम्बन्ध विच्छेद भएको कागजात, (ज) बीमासँग सम्बन्धित कागजात, (झ) नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, निवृत्तभरण कोष वा यस्तै कोषमा रहेको विवरण, (ञ) स्वास्थ्य परीक्षण सम्बन्धी विवरण, (ट) हस्ताक्षर वा विद्युतीय हस्ताक्षर,
(ठ) विद्युतीय सूचना र वैयक्तिक तथ्याङ्क सम्बन्धी विवरण,
(ड) चालचलन वा चरित्र सम्बन्धी प्रमाणपत्र,
(ढ) वैयक्तिक सूचनासँग सम्बन्धित अन्य लिखत ।
४. विद्युतीय सूचनाको गोपनीयता: (१) ऐनको दफा १९ को उपदफा (१) बमोजिम विद्युतीय माध्यममा रहेको कुनै व्यक्तिको वैयक्तिक सूचना कुनै प्रकारले अन्य कुनै व्यक्तिले प्रयोग गर्नु परेमा सम्बन्धित व्यक्तिको मञ्जुरी लिनु पर्नेछ । (२) ऐनको दफा १९ को उपदफा (१) बमोजिम कुनै निकाय वा संस्थामा विद्युतीय माध्यममा रहेको सूचना कानून बमोजिम पहुँच हुने व्यक्ति बाहेक अन्य व्यक्तिको अनधिकृत पहुँच नहुने गरी गोप्य र सुरक्षित रुपमा राख्नु पर्नेछ ।
५. विद्युतीय तथ्याङ्कको गोपनीयता: (१) विद्युतीय माध्यममा रहेको कसैको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, शारीरिक, मानसिक लगायतका विवरण, लगत, सूचना वा त्यस्ता विवरण, लगत वा सूचनाको व्यवस्थित सङ्कलन, प्रस्तुतीकरण वा विश्लेषण गरी तयार भएको संख्यात्मक प्रस्तुति निजको मञ्जुरी बिना प्रयोग गर्नु हुँदैन । (२) ऐनको दफा १९ को अधीनमा रही जुनसुकै स्रोत वा माध्यमबाट प्राप्त भएका विद्युतीय तथ्याङ्कको गोपनीयता कायम गर्ने प्रयोजनको लागि त्यस्तो तथ्याङ्क रहेको कार्यालयले देहाय बमोजिम गर्नु वा गराउनु पर्नेछ :- (क) व्यक्तिको तथ्याङ्क तथा सोको कम्प्युटर डाटाबेस, विद्युतीय अभिलेख वा सोको कुनै अंश सामूहिक तथ्याङ्क सम्बन्धी प्रयोजनको लागि मात्र प्रयोग गर्ने, (ख) तथ्याङ्क उपलब्ध गराउने व्यक्ति वा निजद्वारा अधिकार प्राप्त प्रतिनिधीको लिखित स्वीकृति बेगर त्यस्तो तथ्याङ्क अरू कसैलाई देखाउन वा प्रकाश गर्नु नहुने।
६. सिटिसिटिभी क्यामेरा जडान गर्न सकिने: (१) सार्वजनिक हित, सार्वजनिक सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण वा सार्वजनिक आवागमनलाई व्यवस्थित गर्न सङ्घ, प्रदेश वा स्थानीय तहका सरकारी कार्यालयले नजिकको प्रहरी कार्यालयसँग समेत समन्वय गरी सार्वजनिक स्थल वा सार्वजनिक सवारी साधनमा सिटिसिटिभी क्यामेरा जडान एवं सञ्चालन गर्न वा गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम सिटिटिभी क्यामेरा जडान गरेको जानकारी सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिनु पर्नेछ । (३) व्यापारिक वा व्यावसायिक कार्य हुने बैङ्क वा वित्तीय संस्था, सपिङ्ग मल, होटल, सेवा सेन्टर, मूल्यवान वस्तु तथा गरगहना व्यवसाय हुने स्थान, उद्योग, कलकारखाना वा यस्तै किसिमका अन्य व्यापारिक वा व्यावसायिक स्थलमा सिटिटिभी क्यामेरा जडान गर्न सकिनेछ। (४) उपनियम (३) बमोजिम सिटिटिभी क्यामेरा जडान गर्न चाहने व्यक्ति वा संस्थाले अनुमति को लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । (५) उपनियम (४) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुसूची-२ बमोजिमको ढाँचामा निवेदकलाई अनुमतिपत्र दिन सक्नेछ ।
७. निजी स्थलमा सिटिटिभी क्यामेरा जडान गर्न सकिने: (१) नियम ६ मा उल्लेखित स्थल बाहेक कसैले निजी कार्यको लागि प्रयोग हुने घर, कम्पाउण्ड, पसल, कवल वा यस्तै किसिमका अन्य कुनै क्षेत्र वा स्थलमा सिटिटिभी क्यामेरा जडान गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम सिटिटिभी क्यामेरा जडान गर्दा अन्य व्यक्तिको घर, कम्पाउण्ड, पसल, कवलको विवरण सङ्कलन नहुने र कुनै किसिमले अन्य व्यक्तिको गोपनीयताको अतिक्रमण नहुने गरी गर्नु पर्नेछ ।
८. सिटिटिभी क्यामेराको प्रयोग : (१) नियम ६ वा ७ बमोजिम सिटिटिभी क्यामेरा जडान गर्ने निकाय, संस्था वा व्यक्तिले त्यस्तो सिटिटिभी क्यामेराबाट लिइएका दृश्यहरु गोप्य र सुरक्षित रुपमा राख्नु पर्नेछ र त्यस्ता दृश्यहरु सार्वजनिक गर्न वा व्यावसायिक प्रयोजनको लागि प्रयोग गर्न हुँदैन । (२) नियम ६ बमोजिम जडान भएको सिटिटिभी क्यामेराबाट लिइएका दृश्यहरु त्यस्तो सिटिटिभी क्यामेराको भण्डारण क्षमता अनुसार सुरक्षित रहने व्यवस्था मिलाउनु पर्नेछ। (३) नियम ६ बमोजिम जडान भएको सिटिटिभी क्यामेरा मर्मत गर्नु पर्ने भएमा, हटाउनु पर्ने भएमा वा परिवर्तन गर्नु पर्ने भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयलाई सूचना दिनु पर्नेछ । (४) नियम ६ बमोजिम जडान भएको सिटिटिभी क्यामेरा मर्मत गर्नु पर्ने, हटाउनु पर्ने वा परिवर्तन गर्नु पर्ने भई त्यस्तो सिटिटिभी क्यामेराबाट लिइएका दृश्य मेटिन सक्ने
भएमा त्यस्तो दृश्य उतार गरी कम्तीमा तीस दिनसम्म सुरक्षित रहने व्यवस्था गर्नु पर्नेछ ।
(५) नियम ६ बमोजिम जडान भएका सििसिटिभ क्यामेराबाट लिइएका दृश्यहरु प्रचलित नेपाल कानून अन्तर्गत चल्ने मुद्दाको अनुसन्धान वा सुनुवाईको प्रयोजनको लागि सम्बन्धित अनुसन्धान अधिकारी, अदालत वा मुद्दा हेर्ने अधिकारीले सङ्कलन गर्न, हेर्न वा प्रयोग गर्न सक्नेछ । (६) नियम ७ बमोजिम जडान भएका सििसिटिभ क्यामेराबाट लिइएका दृश्यहरु प्रचलित नेपाल कानून अन्तर्गत चल्ने मुद्दाको अनुसन्धान वा सुनुवाईको प्रयोजनको लागि प्रचलित कानून बमोजिमको प्रक्रिया पूरा गरी सम्बन्धित अनुसन्धान अधिकारी, अदालत वा मुद्दा हेर्ने अधिकारीले सङ्कलन गर्न, हेर्न वा प्रयोग गर्न सक्नेछ ।
९. अनुगमन: (१) नियम ६ बमोजिम जडान गरिएको सििसिटिभ क्यामेरा ऐन तथा यस नियमावली बमोजिम सञ्चालन र प्रयोग भए नभएको सम्बन्धमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्नेछ । (२) उपनियम (१) बमोजिम अनुगमन गर्दा सम्बन्धित निकाय, संस्था वा व्यक्तिले आवश्यक सहयोग गर्नु पर्नेछ ।
१०. वैयक्तिक तद्याङ्कको सङ्कलन, प्रशोधन र विश्लेषण: (१) ऐनको दफा २३ बमोजिम बाहेक कसैले पनि वैयक्तिक तद्याङ्क सङ्कलन, भण्डारण, संरक्षण, विश्लेषण, प्रशोधन वा प्रकाशन गर्नु वा गराउनु हुँदैन । (२) कुनै व्यक्तिको वैयक्तिक सूचना प्रचलित कानून बमोजिम अख्तियार प्राप्त अधिकारी, संस्था वा सोसँग सम्बन्धित व्यक्तिले कानून बमोजिम अनुमति प्राप्त गरेकोमा बाहेक तद्याङ्कको रुपमा सङ्कलन गर्नु हुँदैन । (३) कुनै व्यक्तिको वैयक्तिक तद्याङ्क सङ्कलनको लागि कुनै व्यक्तिले तद्याङ्क सङ्कलन गर्ने सम्बन्धित सरकारी कार्यालयबाट अनुमति पाएको भए तापनि सम्बन्धित व्यक्तिको मञ्जुरी बिना यस्तो तद्याङ्क सङ्कलन गर्न वा गराउन हुँदैन । तर नेपाल सरकार वा सो अन्तर्गतका कुनै निकाय वा अधिकारीबाट हुने जनगणना वा यस्तै किसिमको अन्य कुनै विषयमा हुने तद्याङ्कको सङ्कलन वा प्रदेश सरकार वा स्थानीय तहबाट आन्तरिक प्रयोजनको लागि कुनै विषयमा हुने तद्याङ्क सङ्कलनको कार्यको लागि त्यस्तो मञ्जुरी आवश्यक पर्ने छैन ।
११. तथ्याङ्कको उपयोग: (१) ऐन तथा यस नियमावली बमोजिम सङ्कलन हुने वैयक्तिक तथ्याङ्कको उपयोगको सम्बन्धमा त्यस्तो तथ्याङ्क सङ्कलन गर्नु भन्दा अघि सम्बन्धित व्यक्तिलाई जानकारी गराउनु पर्नेछ । (२) प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक ऐन तथा यस नियमावली बमोजिम सङ्कलन भएको व्यक्तिको वैयक्तिक तथ्याङ्क जुन प्रयोजनको लागि सङ्कलन भएको हो सोही प्रयोजनको लागि मात्र उपयोग गर्नु पर्नेछ । (३) तथ्याङ्क उपयोगकर्ताले प्राप्त तथ्याङ्कको प्रयोग गर्दा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्था तथा प्रचलित कानूनी व्यवस्थामा खलल नपर्ने गरी गर्नु पर्नेछ ।
१२. सूचना सच्याउन निवेदन दिने: (१) कुनै सार्वजनिक निकायको जिम्मा, संरक्षण वा नियन्त्रणमा रहेको आफूसँग सम्बन्धित कुनै सूचना गलत भएको वा त्यमा आधारित नभएको कारण ऐनको दफा २८ बमोजिम त्यस्तो सूचना सुधार गरी सच्याउन चाहने व्यक्तिले सम्बन्धित सार्वजनिक निकायमा अनुसूची-३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ। (२) उपनियम (१) बमोजिमको निवेदन साथ ऐनको दफा २८ को उपदफा (२) बमोजिम आफूले दाबी गरेको तथ्य वा विवरण पुष्टि वा प्रमाणित गर्ने प्रमाण समेत संलग्न गर्नु पर्नेछ । (३) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा सम्बन्धित सार्वजनिक निकायको प्रमुखले त्यस्तो सूचनाको आधारमा निवेदकले कुनै लाभ, फाइदा वा सुविधा लिए वा नलिएको र पेश भएका तथ्य वा प्रमाणको आधारमा निवेदकसँग सम्बन्धित सूचना गलत वा त्यमा आधारित भए नभएको सम्बन्धमा आवश्यक छानबिन गर्नु वा गराउनु पर्नेछ।
१३. निर्णय गर्नु पर्ने: (१) नियम १२ को उपनियम (३) बमोजिम छानबिन गर्दा वा गराउँदा त्यस्तो सूचना सच्याउनु पर्ने देखिएमा प्रचलित कानून, सूचना सच्याउँदा पर्न सक्ने असर र प्रभावको आधारमा सम्बन्धित सार्वजनिक निकाय आफैंले सच्याउन सक्ने भए आफैंले निर्णय गरी सच्याउनु पर्नेछ । (२) उपनियम (१) बमोजिम सम्बन्धित सार्वजनिक निकाय आफैंले सच्याउन नमिल्ने भएमा राय सहित सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।
१४. निर्णयको जानकारी: (१) नियम १३ बमोजिम सूचना सच्याइएकोमा सार्वजनिक निकायले त्यसको अभिलेख राखी सूचना सच्याइएको जानकारी सम्बन्धित निवेदकलाई दिनु पर्नेछ।
(२) नियम १२ को उपनियम (३) बमोजिम छानबिन गर्दा वा गराउँदा त्यस्तो सूचना सच्याउनु पर्ने नदेखिएमा त्यसको कारण सहितको जानकारी निवेदकलाई दिनु पर्नेछ ।
अनुसूची-१ (नियम ६ को उपनियम (४) सँग सम्बन्धित) सििसिटिभी क्यामेरा जडान गर्न अनुमतिको लागि दिने निवेदनको ढाँचा
मिति: श्री जिल्ला प्रशासन कार्यालय-----------------------।
विषय : सििसिटिभी क्यामेरा जडान गर्न अनुमति पाऊँ ।
उपर्युक्त विषयमा .................... जिल्ला.......................... गाउँपालिका/नगरपालिका वडा नं.............स्थित म निवेदकको .................... (व्यापारिक/व्यावसायिक) स्थलमा सििसिटिभी क्यामेरा जडान गर्न आवश्यक भएकोले देहाय बमोजिमको कागजात संलग्न गरी सििसिटिभी क्यामेरा जडान गर्ने अनुमति पाउन प्रस्तुत निवेदन गरेको छु ।
जडान गरिने सििसिटिभी क्यामेराबाट लिइएको दृश्य भण्डारण (स्टोरेज) हुने क्षमताः ....................
संलग्न कागजात:- १. नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, २. गाउँपालिका/नगरपालिकाको सिफारिस, ३. व्यवसाय दर्ताको प्रमाणपत्र, ४. निजी भवनमा भए भवन रहेको जग्गाको जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, ५. अन्य कुनै थप प्रमाण कागजात आवश्यक पर्ने भए सो समेत ।
निवेदक दस्तखत: नाम, थर : ठेगाना :
अनुसूची-२ (नियम ६ को उपनियम (५) सँग सम्बन्धित) सििसिटिभी क्यामेरा जडान गर्न दिइने अनुमतिपत्रको ढाँचा
मिति:
श्री -----------------------।
विषय : सििसिटिभी क्यामेरा जडान गर्न अनुमति प्रदान गरिएको।
उपर्युक्त विषयमा..................................जिल्ला..................................गाउँपालिका/नगरपालिका वडा नं............बस्ने .........................ले वैयक्तिक गोपनीयता सम्बन्धी नियमावली, २०७७ को नियम ६ को उपनियम (५) बमोजिम दिएको निवेदन उपर जाँचबुझ हुँदा प्रचलित कानून बमोजिमको शर्त पालना गर्ने गरी..................................जिल्ला..................................गाउँपालिका/नगरपालिका वडा नं..................स्थित ......................... (व्यापारिक/व्यावसायिक) स्थलमा सििसिटिभी क्यामेरा जडान गर्न अनुमति प्रदान गरिएको छ ।
प्रमाणपत्र दिने अधिकारीको,- दस्तखत: कार्यालयको छापः नाम, थर : दर्जा : कार्यालय :
अनुसूची-३ (नियम १२ को उपनियम (१) सँग सम्बन्धित)
सूचना सच्याउन दिने निवेदनको ढाँचा
मिति:
श्री -----------------------।
विषय : सूचना सच्याई पाऊँ ।
उपर्युक्त विषयमा ………………….. जिल्ला………………….……………….गाउँपालिका/नगरपालिका वडा नं …… बस्ने म निवेदकको यस कार्यालयमा रहेको देहायको सूचना देहायको आधार, कारणले त्यमा फरक परी गलत भएकोले त्यवा विवरण पुष्टि वा प्रमाणित गर्न देहायका प्रमाण समेत संलग्न गरी उक्त सूचना वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को दफा २८ बमोजिम सच्याई पाउन प्रस्तुत निवेदन गरेको छु । फरक परेको त्यस्तो सूचनाको आधारमा मैले कुनै पनि लाभ, फाइदा वा सुविधा लिएको छैन। लिएको पाइएमा कानून बमोजिमको सजाय भोग्न मन्जुरी छ।
(क) त्यमा आधारित नभएको सूचना सम्बन्धी व्यहोरा:- १. २.
(ख) त्यमा आधारित नहुनुको आधार र कारण:- १. २.
(ग) सचित्छेर कायम हुनु पर्ने व्यहोरा:-
(घ) तथ्य वा विवरण पुष्टि वा प्रमाणित गर्ने प्रमाण कागजात:-
(ङ) संलग्न अन्य कागजात:
१. २. १. २. १. नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, २. गाउँपालिका/नगरपालिकाको सिफारिस ३. सार्वजनिक निकायमा रहेको सचित्छनु पर्ने सूचनाको छायाँ प्रति।