शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७६
नेपाल राजपत्रमा प्रकाशित मिति २०७६।०२।०६
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरुको नाम “शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७६” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनु पर्छ। (ख) “उपभोक्ता समिति” भन्नाले मध्यवती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ को नियम ८ बमोजिम गठन गरिएको उपभोक्ता समिति सम्झनु पर्छ। (ग) “कार्यालय” राख्न शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालय सम्झनु पर्छ। (घ) “निकुञ्ज” राख्न शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सम्झनु पर्छ। (ङ) “मन्त्रालय” राख्न नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय सम्झनु पर्छ। (च) “विभाग” राख्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग सम्झनु पर्छ। (छ) “संरक्षक” राख्न निकुञ्जको प्रमुख संरक्षण अधिकृत सम्झनु पर्छ।
(ज) “सुविधा प्राप्त बाटो” राख्न नियम ६ को उपनियम (१) बमोजिमको बाटो सम्झनु पर्छ।
परिच्छेद-२ निकुञ्जको सीमाना र प्रवेश सम्बन्धी व्यवस्था
३. निकुञ्जको सीमानाः (१) निकुञ्जको सीमाना ऐनको दफा ३ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निर्धारण गरे बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिम कायम भएको निकुञ्जको सीमानाको सीमाङ्कन र संरक्षण गर्ने दायित्व कार्यालयको हुनेछ।
४. निकुञ्जभित्र प्रवेशः (१) संरक्षक वा संरक्षकले तोकेको निकुञ्जको कर्मचारीको लिखित अनुमति बिना कुनै पनि व्यक्ति निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्न पाउने छैन।
(२) निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्न चाहने व्यक्तिले अनुसूची-१ मा उल्लेख भए बमोजिमको दस्तुर बुझाउनु पर्नेछ र त्यस्तो दस्तुर बुझाउने व्यक्तिलाई संरक्षक वा संरक्षकले तोकेको निकुञ्जको कर्मचारीले अनुसूची-२ बमोजिमको प्रवेशपत्र दिनेछ।
(३) उपनियम (२) बमोजिम प्रदान गरिएको प्रवेशपत्र जुन मितिको लागि प्रदान गरिएको हो सोही मितिमा प्रयोग गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम एकपटक प्रयोग गरिसकेको प्रवेशपत्र स्वतः रद्द हुनेछ र अर्को पटक प्रवेश गर्नु परेमा पुनः उपनियम (२) बमोजिम प्रवेशपत्र लिनु पर्नेछ।
५. निकुञ्ज प्रवेश आफ्नै दायित्वमा हुनेः (१) प्रवेशपत्र लिएको वा नलिएको कुनै पनि व्यक्तिको निकुञ्ज प्रवेश आफ्नै दायित्वमा हुनेछ र निकुञ्जभित्र कुनै किसिमको हानि नोक्सानी भएमा वा चोटपटक लागेमा वा वन्यजन्तुको आक्रमण समेतबाट घाइते वा मृत्यु हुन गएमा निकुञ्ज वा नेपाल सरकारले कुनै दायित्व व्यहोर्ने वा क्षतिपूर्ति दिने छैन।
(२) घरपालुवा जनावर निकुञ्जको बाटोबाट लगेको अवस्थामा वा निकुञ्जभित्र चरिरचरण गराउँदा वन्यजन्तुको आक्रमणबाट वा कुनै पनि कारणबाट त्यस्तो घरपालुवा जनावर घाइते भएमा वा मरेमा निकुञ्ज वा नेपाल सरकारले कुनै दायित्व व्यहोर्ने वा क्षतिपूर्ति दिने छैन।
६. बाटोको सुविधाः (१) निकुञ्ज भित्र रहेको अनुसूची-३ बमोजिमको सुविधा प्राप्त बाटोमा आवगमनको सुविधा हुनेछ।
(२) कार्यालयले अनुसूची-४ बमोजिमको बाटोमा सवारी साधन चलाउन, पर्यटकलाई पैदल यात्रा गर्न तथा स्थानीय जनतालाई यात्रा गर्न अनुमति दिन सक्नेछ।
(३) उपनियम (२) को प्रयोजनको लागि कार्यालयले चिन्हपट्ट लगाई बाटो तोकिदिन सक्नेछ।
(४) उपनियम (२) बमोजिमको बाटो प्रयोग गर्दा कार्यालयले चिन्हपट्ट लगाई तोकिदिएको ठाउँबाट मात्र आवत जावत गर्नु पर्नेछ । कार्यालयको लिखित अनुमति बिना कुनै व्यक्तिले कुनै पनि अवस्थामा त्यस्तो बाटो छोडी अन्य बाटोको प्रयोग गर्नु हुँदैन।
(५) उपनियम (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि मौसम प्रतिकूल भएको समयमा कार्यालयले आवश्यकता अनुसार त्यस्तो बाटो बन्द गर्न सक्नेछ।
तर कुनै प्रकारको विपद् परेको अवस्थामा त्यस्तो बाटो प्रयोग गर्न दिन सकिनेछ।
७. दस्तुर बुझाउनु पर्नेः (१) निकुञ्जभित्र देहायका काम गर्न चाहने व्यक्तिले अनुसूची-१ बमोजिमको दस्तुर बुझाउनु पर्नेछः-
(क) निकुञ्जमा प्रवेश गर्न, (ख) सवारी साधन चलाउन, (ग) प्रकृति पथ प्रदर्शक (नेचर गाईड) को रुपमा सेवा प्रदान गर्न, (घ) सोत्तर तथा पातपत्तिङ्गर सङ्कलन गर्न, (ङ) व्यवसायीक जङ्गल ड्राइिभ, साइकल दौड, अल्ट्रा दौड तथा रक क्लाइम्बिङ सञ्चालन गर्न।
(२) उपनियम (१) बमोजिम दस्तुर बुझाउने व्यक्तिलाई सो दस्तुर बुझाए बापतको रसिद दिइनेछ।
८. प्रवेश दस्तुर नलाग्नेः (१) नियम ४ को उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा निकुञ्जभित्र प्रवेश गर्दा दस्तुर लाग्ने छैनः-
(क) सरकारी काम कारबाहीको सिलसिलामा कुनै कर्मचारी निकुञ्जभित्र प्रवेश गर्दा,
(ख) निकुञ्जभित्र पर्ने कुनै धार्मिक स्थलमा आफ्नो परम्परा अनुसार धार्मिक पर्व, मेला, दिवसहरुमा मात्र पाठपूजा वा दर्शन गर्नको लागि निकुञ्जभित्र प्रवेश गर्दा,
(ग) निकुञ्जभित्र वा निकुञ्ज भएर मात्रै पुग्न सकिने ठाउँका स्थानीय जनताले निकुञ्जको बाटो भएर आवत जावत गर्दा,
(घ) सुविधा प्राप्त बाटो प्रयोग गरी निकुञ्जभित्र पैदल हिँड्दा वा घरपालुवा जनावरहरु ल्याउँदा लैजाँदा वा कृषिजन्य वस्तुहरु निजी प्रयोजनका लागि ओसारपसार गर्दा,
तर व्यावसायिक प्रयोजनको लागि त्यस्तो जनावर ल्याउँदा लैजाँदा वा कृषिजन्य वस्तुहरु ओसारपसार गर्दा ढुवानी गर्ने सवारी साधनले अनुसूची-१ बमोजिमको दस्तुर बुझाउनु पर्नेछ ।
(ङ) कुनै सेवाग्राही सरकारी वा व्यक्तिगत रुपमा कामको सिलसिलामा निकुञ्ज कार्यालयमा सम्पर्क राख्न आउँदा वा त्यसरी आउँदा प्रयोग गरेको सवारी साधन प्रवेश गर्दा,
(च) दश वर्ष मुनीका बालबालिका वा नेपाली जेष्ठ नागरिक निकुञ्ज भित्र प्रवेश गर्दा।
(२) कार्यालयले देहायका व्यक्ति वा टोलीलाई निकुञ्जभित्र नि:शुल्क प्रवेशको अनुमति दिन सक्नेछः-
(क) संरक्षण शिक्षा कार्यक्रमलाई टेवा पुग्ने कुनै स्वदेशी सरकारी शिक्षण संस्था वा अन्य संस्थाका व्यक्ति वा टोलीलाई निकुञ्जको अध्ययन तथा अवलोकन भ्रमण गर्न,
(ख) नेपाल स्थित कुटनैतिक नियोगका राजदूत वा प्रमुख तथा पदाधिकारीहरुले मन्त्रालयबाट अनुमति लिई भ्रमण गर्दा,
(ग) निकुञ्ज क्षेत्रभित्र सञ्चालन हुने कुनै पनि आयोजनासँग सम्बन्धित कर्मचारी, ठेकेदार, कामदार तथा तिनले प्रयोग गर्ने सवारी साधन र निर्माणसँग सम्बन्धित अन्य सामग्री प्रवेश गराउँदा वा गराउँदा।
परिच्छेद-३ निकुञ्ज संरक्षण सम्बन्धी व्यवस्था
९. निकुञ्जभित्र निषिद्ध गरिएका कार्यहरूः ऐनको दफा ५ मा उल्लिखित व्यवस्थाका अतिरिक्त संरक्षक वा निजले तोकेको कर्मचारीको लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले निकुञ्जभित्र देहायका काम गर्नु पाउने छैनः-
(क) निकुञ्जको हितको लागि उपयुक्त हुने काम गर्नु वा वैज्ञानिक अनुसन्धानको निमित्त नमूना सङ्कलन गर्नु अनुमति प्राप्त गरेकोमा बाहेक अन्य अवस्थामा कुनै पनि वन्यजन्तुलाई मार्नु, पक्रनु, लखेट्नु, तस्माउन वा चोटपटक पुर्याउन वा सो को उद्योग गर्नु वा कुनै पनि पक्षीहरुको फुल वा गुँड हटाउन, चित्काउन, बिगार्नु वा खलबल्याउन,
(ख) निकुञ्जभित्र वा निकुञ्जभित्र पुग्ने गरी बाहिरबाट कुनै किसिमको कीटनाशक विष वा रासायनिक पदार्थ वा लठ्याउने वा विषालु पदार्थ फाँक्नु वा निकुञ्जभित्र भएर बग्ने नदी खोला वा पानीको अन्य कुनै स्रोतमा हाल्न वा छर्न वा निकुञ्जभित्र पुग्ने गरी अरु तरिकाबाट हाल्न,
(ग) क्याम्प गर्नु भनी छुट्याइएको स्थान बाहेक अन्यत्र रात बिताउन वा क्याम्प गर्नु,
(घ) फोहर मैला गर्नु वा फाल्न,
(ङ) कार्यालयले तोकेको क्षेत्रमा बाहेक अन्यत्र आगो बाल्न,
(च) सुविधा प्राप्त बाटो वा नियम ६ को उपनियम (२) बमोजिमको बाटो बाहेक अन्य बाटो वा ठाउँबाट हिँड्न वा कुनै घरपालुवा जनावर लैजान वा हिँडाउन,
(छ) बाटो, पुल, मचान, घर, कार्यालय भवन, पखाल, तारको बार, सूचनापाटी वा चिन्हपटलाई क्षति पुर्याउन,
(ज) माछा वा अन्य जलचर मार्नु,
(झ) मादक पदार्थ सेवन गर्न वा मादक पदार्थ सेवन गरी प्रवेश गर्न,
(ञ) निकुञ्जभित्र रहेका सरकारी कार्यालय बाहेक अन्यत्र रेडियो, टेप रेकर्डर, लाउड स्पीकर, माइक वा कुनै किसिमको बाजा, गितार, मुरली जस्ता बाद्यवादनका साधन बजाउन,
(ट) कार्यालय बाहेक अन्य कसैले कुनै किसिमको चिन्नपट्ट, सूचना, विज्ञापन वा अन्य यस्तै किसिमका पोष्टरहरु टाँस्न,
(ठ) निकुञ्जभित्र रहेका धार्मिक क्षेत्र लगायतका अन्य कुनै पनि स्थानमा पशु, पक्षी बली दिन,
(ड) बाहिरी वातावरणमा भएको (एक्जोटिक) बिरुवा, जीवजन्तु वा पक्षी निकुञ्जभित्र ल्याउन वा छाड्न,
(ढ) कुनै पनि प्रयोजनका लागि खोला तथा नदीलाई फर्काउन वा मोड्न (डाइभर्ट) गर्न।
१०. साथमा राख्न वा लैजान निषेध गरिएका वस्तुहरुः (१) निकुञ्जको सुरक्षार्थ खटिएको सुरक्षाकर्मीले सुरक्षासँग सम्बन्धित बन्दोबस्तीका सामग्रीहरु राख्न वा प्रयोग गर्नु बाहेक संरक्षकको लिखित अनुमति बिना कुनै व्यक्तिले निकुञ्जभित्र प्रवेश गर्दा वा रहँदा सुविधा प्राप्त बाटो वा नियम ६ को उपनियम (२) बमोजिमको बाटोबाट यात्रा गर्दा देहायका चीज वस्तुहरु साथमा राख्न, लैजान वा प्रयोग गर्न पाउने छैनः-
(क) हातहतियार, खरखजाना वा वन्यजन्तुलाई घाइते बनाउन वा चोट पुर्याउन सक्ने सामग्री,
(ख) विष, पासो तथा हानिकारक रासायनिक पदार्थ, विष्फोटक पदार्थ वा यस्तै प्रकारका अन्य पदार्थ,
(ग) करेन्ट प्रवाह गर्ने विद्युतीय सामग्री, धनुष बाण, खोर, धराप, पासो, जाल वा गुलेली,
(घ) वन्यजन्तुको आखेटोपहार, वन्यजन्तुको सुकेको वा आलो मासु वा रौं वा वन्यजन्तुका अङ्गबाट बनेका कुनैपनि प्रकारका सामग्रीहरु,
(ङ) जुनसुकै वनस्पति, फूल, पात, फल, हाँगाबगिजा, जरा, काण्ड, बोक्रा, वा मुना,
(च) अति प्रज्वलनशील पदार्थहरु,
(छ) शिकारी कुकुर, बिराला तथा वन्यजन्तु शिकार गर्न तालिम प्राप्त अन्य पशु वा पक्षी,
(ज) प्रचलित कानून बमोजिम निषेधित अन्य सामग्रीहरु।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निकुञ्जभित्रको बाटो भएर मात्र पुग्न सकिने ठाउँका स्थानीय जनताले कार्यालयबाट अनुमति लिई वा सम्बन्धित प्रवेशद्वार वा सुरक्षा पोष्टमा जाँच गराई आफ्नो घरायसी कामको लागि खुकुरी, बञ्चरो र यस्तै घरायसी प्रयोजनमा प्रयोग गरिने औजार, विद्युतीय सामग्री, प्रज्वलनशील पदार्थ, कृषिजन्य रासायनिक पदार्थ, घरपालुवा जनावरहरुको लागि आवश्यक पर्ने खोर, पासोहरु लैजान सक्नेछन्।
(३) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि निकुञ्जभित्र हुँदै जाने राजमार्गमा चलाइने सवारी साधनमा प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त हातहतियार लैजान सकिनेछ। यसरी हातहतियार लैजानु पर्दा प्रवेशद्वार वा सुरक्षा पोष्टमा जाँच गराएर लैजानु पर्नेछ।
परिच्छेद-४ सवारी साधन र सङ्केत सम्बन्धी व्यवस्था
११. निकुञ्जभित्र सवारी चलाउँदा पालना गर्नु पर्ने विषयहरुः (१) निकुञ्जभित्र सवारी साधन चलाउन चाहने व्यक्तिले अनुसूची-१ बमोजिमको दस्तुर बुझाई अनुसूची-५ बमोजिम सवारी साधनको प्रवेश पत्र लिनु पर्नेछ।
तर निकुञ्जभित्र वा निकुञ्ज भएर मात्रै पुग्न सकिने ठाउँका स्थानीय जनताले निकुञ्जको बाटो भएर आवत जावत गर्दा प्रयोग गर्ने सवारी साधनमा कुनै दस्तुर लाग्ने छैन।
(२) निकुञ्ज क्षेत्रभित्र सवारी साधन चलाउने व्यक्तिले देहायका कुराहरु पालना गर्नु पर्नेछः-
(क) सुविधा प्राप्त बाटो वा नियम ६ को उपनियम (२) बमोजिमको बाटो बाहेक अन्य बाटो वा ठाउँबाट कुनै सवारी साधन लैजान नहुने,
(ख) अन्य सवारी साधन, पैदल यात्री वा अन्य वस्तुको आवागमनमा बाधा पर्ने गरी सवारी साधन चलाउन वा अड्याई राख्न नहुने,
(ग) सुविधाप्राप्त बाटो बाहेक निकुञ्ज भित्रको अन्य बाटोमा पाँच टनभन्दा बढी वजनको सवारी साधन चलाउन नहुने,
(घ) सवारी साधनको गति प्रतिघण्टा तीस किलोमिटर भन्दा बढी हुन नहुने,
(ङ) नियम ६ को उपनियम (५) बमोजिम कुनै बाटो बन्द गरिएको अवस्थामा त्यस्तो बाटोबाट सवारी साधन चलाउन वा यात्रा गर्न नहुने,
(च) सवारी साधनको हर्न बजाउन नहुने,
(छ) निकुञ्ज क्षेत्रनित्र सवारी साधन चलाउने सबै सवारी साधनका चालकले कार्यालयले राखेको चिन्हपट्ट र सुरक्षा कर्मचारीले गरेको इशारा वा सङ्केतलाई पालना गर्दै सवारी साधन चलाउनु पर्ने।
१२. सवारी साधन र पर्यटक सङ्ख्यामा नियन्त्रणः निकुञ्ज क्षेत्रनित्र पानीका मुहान, नदी, जलाधार क्षेत्र र वातावरणमा प्रतिकूल असर पर्ने देखिएमा कार्यालयले त्यस्तो क्षेत्रमा प्रवेश गर्ने सवारी साधनमा प्रतिबन्ध लगाउन र पर्यटक सङ्ख्यामा समेत नियन्त्रण गर्न सक्नेछ।
१३. आकस्मिक आवागमनको सुविधा दिनेः स्थानीय जनतालाई आकस्मिक अवस्था परी निकुञ्जभित्रबाट आवतजावत गर्नु पर्ने भई नजिकको प्रवेशद्वार वा सुरक्षा पोष्टमा सो कुराको जानकारी दिएमा संरक्षकको निर्देशनमा निकुञ्जको कर्मचारी वा सुरक्षाकर्मीले सम्बन्धित प्रवेशद्वार वा सुरक्षा पोष्टमा त्यस्तो व्यक्तिको लगत राखी जुनसुकै समयमा आवतजावत गर्न अनुमति दिन सक्नेछ।
१४. बाटो मर्मत तथा विस्तार गर्न सकिनेः निकुञ्जको संरक्षण, व्यवस्थापन तथा पर्यटन विकासको लागि कार्यालयले सुविधा प्राप्त बाटोको नियमित मर्मत सम्भार र नियम ६ को उपनियम (२) बमोजिमको बाटोको नियमित मर्मत सम्भार तथा विस्तार गर्न गराउन सक्नेछ।
१५. आवागमनमा प्रतिबन्ध लगाउन सकिनेः निकुञ्ज क्षेत्रभित्रका वन्यजन्तु, वनस्पति वा अन्य वनपैदावारलाई हानि नोक्सानी गर्नु वा अन्य गैरकानूनी क्रियाकलाप गर्नु वा पानीका मुहान विनाश गर्नु निकुञ्ज भित्रको बाटोको दुरुपयोग भएमा निकुञ्ज संरक्षणलाई ध्यानमा राखी कार्यालयले समय तोकी वा नतोकी सुविधा प्राप्त बाटो बाहेक अन्य बाटोबाट हुने आवागमनमा प्रतिबन्ध लगाउन सक्नेछ।
१६. निकुञ्जभित्रको राजमार्ग खुला रहनेः (१) निकुञ्जभित्र हुँदै जाने नेपाल सरकारले राजमार्गको रुपमा तोकेको बाटोमा सवारी साधन चलाउन सकिनेछ।
(२) उपनियम (१) बमोजिमको राजमार्गमा चलाएका सवारीमा रहेका सामानहरु प्रवेशद्वार वा सुरक्षा पोष्टमा जाँच गराई लैजानु पर्नेछ।
परिच्छेद-५ अध्ययन अनुसन्धान, विकास निर्माण तथा पर्यापर्यटन सम्बन्धी व्यवस्था
१७. अध्ययन अनुसन्धान गर्नु अनुमति लिनु पर्नेः (१) निकुञ्जभित्र अध्ययन अनुसन्धान सम्बन्धी कुनै काम गर्नु चाहने नेपाली नागरिक तथा संघ संस्थाले विभागबाट र विदेशी नागरिक तथा संघ संस्थाले मन्त्रालयबाट अनुमति लिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम अध्ययन अनुसन्धानको लागि अनुमति दिँदा विभाग वा मन्त्रालयले ऐनको अनुसूची-१ मा उल्लेखित वन्यजन्तु वा पक्षी बाहेक अरुको हकमा आवश्यक शर्तहरु तोकी कार्यालयको प्रत्यक्ष निगरानीमा रहने गरी अध्ययन अनुसन्धान गर्नु पाउने गरी अनुमति दिनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम अनुमति दिँदा लाग्ने दस्तुर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० बमोजिम हुनेछ।
(४) उपनियम (१) बमोजिम अनुमति लिई अध्ययन अनुसन्धान कार्य गर्ने व्यक्ति वा संघ संस्थाले उपनियम (२) बमोजिमको शर्त उल्लंघन हुने गरी वा निकुञ्जको हितमा प्रतिकूल असर पर्ने गरी कुनै काम कारबाही गरेमा कार्यालयको सिफारिसमा विभाग वा मन्त्रालयले त्यस्तो अनुमतिपत्र रद्द गर्नु सक्नेछ।
(५) यस नियम बमोजिम अध्ययन अनुसन्धान गर्ने व्यक्ति वा संघ संस्थाले त्यसरी गरिएको अध्ययनबाट प्राप्त नतिजा सहितको प्रतिवेदनको एक एक प्रति मन्त्रालय, विभाग र कार्यालय समक्ष पेश गर्नु पर्नेछ।
१८. विकास निर्माण सम्बन्धी व्यवस्थाः (१) निकुञ्जको सर्वोत्तम हितलाई ध्यानमा राखी कार्यालयको पूर्वस्वीकृति लिई निकुञ्ज क्षेत्रभित्र सरकारी निकाय वा मध्यवती क्षेत्र व्यवस्थापन समितिले धार्मिक स्थल, पर्यापर्यटन र जलाधार क्षेत्र संरक्षण सम्बन्धी सनातनिक सामुदायिक विकास निर्माणको कार्य गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम सामुदायिक विकास निर्माणको कार्य गर्दा निकुञ्ज क्षेत्रमा कुनै पनि नकारात्मक असर पुर्याउनु हुँदैन।
१९. पर्यापर्यटनसँग सम्बन्धी व्यवस्थाः (१) पानीका मुहान, जलाधार क्षेत्र र धार्मिक महत्वका क्षेत्र जस्ता कार्यालयले संवेदनशील क्षेत्रको रुपमा तोकेको स्थान बाहेकको निकुञ्जभित्रको अन्य स्थानमा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी देहायका पर्यापर्यटन सम्बन्धी गतिविधिहरु सञ्चालन गर्न सकिनेछः-
(क) पैदल यात्रा, (ख) जङ्गल ड्राइभ, (ग) साइकलयात्रा वा दौड, (घ) अल्ट्रा दौड, (ङ) रक क्लाइम्बिङ, (च) पर्यापर्यटनसँग सम्बन्धित अन्य कार्यक्रमहरु।
(२) उपनियम (१) को खण्ड (ख) बमोजिम जङ्गल ड्राइभ सञ्चालन गर्न चाहने व्यक्तिले अनुसूची-१ बमोजिमको दस्तुर बुझाई अनुसूची-५ बमोजिम सवारी साधनको प्रवेशपत्र लिनु पर्नेछ।
(३) कुनै संस्थाले प्रतिस्पर्धात्मक किसिमबाट उपनियम (१) को खण्ड (ग) र (घ) बमोजिमको कार्यक्रम सञ्चालन गर्न चाहेमा कार्यालयको स्वीकृति लिनु पर्नेछ र यसरी स्वीकृति प्राप्त भएमा अनुसूची-१ बमोजिमको दस्तुर बुझाई त्यस्तो कार्यक्रम सञ्चालन गर्नु पर्नेछ।
तर स्वीकृति प्राप्त गरे बमोजिमको समय र स्थानमा कार्यक्रम सञ्चालन गर्न नसकेमा त्यस्तो स्वीकृति स्वतः रद्द हुनेछ र सो बापत बुझाएको दस्तुर फिर्ता हुने छैन।
(४) यस नियम बमोजिम कार्यक्रम सञ्चालनका लागि आवश्यक सामग्रीहरु कार्यक्रम सञ्चालन गर्न चाहने व्यक्ति वा संस्था आफैंले ल्याउनु पर्नेछ।
(५) यस नियम बमोजिम सञ्चालन हुने दौड कार्यक्रमको प्रस्थान बिन्दु र अन्तिम बिन्दु निकुञ्जको सीमाना बाहिर राख्नु पर्नेछ।
परिच्छेद-६ वनपैदावार सङ्कलन र ओसारपसार
२०. वनपैदावारको प्रयोग: (१) कार्यालयले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिसँग समन्वय गरी तोकेको क्षेत्रबाट तोकेको मौसम र अवधिसम्मको लागि स्थानीय जनतालाई घरायसी उपयोगको लागि सोत्तर तथा पातपत्तिङ्गर सङ्कलन गर्न दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम सोत्तर तथा पातपत्तिङ्गर सङ्कलन गर्न अनुमति दिँदा अनुसूची-१ बमोजिमको दस्तुर लिई अनुसूची-६ बमोजिमको सङ्कलन पुर्जी दिनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम सङ्कलन गरिएको वनपैदावार बिक्री वितरण गर्नु वा अन्य व्यक्तिलाई हस्तान्तरण गर्नु पाइने छैन।
२१. निकुञ्ज क्षेत्र बाहिरका वनपैदावारको ओसारपसार सम्बन्धी व्यवस्था: (१) निकुञ्जको बाटो भएर कुनै वनपैदावार ओसारपसार गर्दा सोको लिखित अनुमति वा निस्सा निकुञ्जको प्रवेशद्वार वा सुरक्षा पोष्टमा चेक जाँच गराएर मात्र ओसारपसार गर्नु पर्नेछ।
(२) निकुञ्जको सुविधा प्राप्त बाटोबाट काठजन्य वनपैदावार ओसारपसार गर्नु पर्ने भएमा मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता भएको काठजन्य उद्योगको बील निकुञ्जको प्रवेशद्वार वा सुरक्षा पोष्टमा देखाई चेक जाँच गराएर मात्र ओसारपसार गर्नु पर्नेछ।
(३) उपनियम (१) र (२) बमोजिम निकुञ्जको बाटो हुँदै वनपैदावार ओसारपसार गर्दा निकुञ्जको प्रवेशद्वार वा सुरक्षा पोष्टबाट अनुमतिपत्रमा पटकै पिच्छे चेक जाँच गरी छापबन्दी (दरपीठ) वा दस्तखत गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम छापबन्दी वा दस्तखत गर्दा चेक जाँच गरिएको सवारी साधन नम्बर, पटक र निकासी मालको परिमाण समेत खुलाउनु पर्नेछ।
२२. वनपैदावार हटाउन सक्ने: (१) निकुञ्ज कार्यालय परिसरमा वा निकुञ्जभित्रको बाटोमा हुरी बतास वा अन्य प्रकारको विपद्को कारण रुख ढली आवतजावत गर्नु वा अन्य कार्यमा बाधा परेको वा बाधा पर्न सक्ने अवस्था भएमा कार्यालयले त्यस्तो वनपैदावार हटाउन सक्नेछ।
(२) निकुञ्जभित्रको कुनै रुख वा अन्य वन पैदावारले निकुञ्जको भौतिक पूर्वाधार, स्थानीय जनताको घरगोठ, सुरक्षा पोष्ट तथा धार्मिक क्षेत्रलाई प्रतिकूल प्रभाव पार्ने र धनजन समेतको क्षति हुने अवस्था देखिएमा कार्यालयले आवश्यक जाँच जाँच गरी त्यस्ता रुख वा अन्य वन पैदावार हटाउन सक्नेछ।
२३. अनियमित तरिकाबाट सङ्कलन गरेको वन पैदावार लिलाम बिक्री गर्ने : कसैले निकुञ्जभित्र गैरकानूनी तरिकाले सङ्कलन गरेको वन पैदावारलाई संरक्षकले तोकेको निकुञ्जको कुनै कर्मचारीले जिवगो कायम गरी कार्यालय समक्ष पेश गर्नु पर्नेछ। त्यसरी जिवगो कायम गरिएको वन पैदावारको प्रचलित कानून बमोजिम लिलाम बिक्री गरिनेछ।
परिच्छेद-७ जलस्रोतको उपयोग सम्बन्धी व्यवस्था
२४. जलस्रोतको उपयोगः (१) निकुञ्ज भित्रको जलस्रोतको उपयोग गर्दा क्रमशः जलचर प्राणी, वन्यजन्तु, खानेपानी, सिँचाइ, जलविद्युत र व्यावसायिक प्रयोजनको लागि प्राथमिकता दिइनेछ।
(२) उपनियम (१) बमोजिम खानेपानी, सिँचाइ, जलविद्युत र व्यावसायिक प्रयोजनका लागि पानी उपलब्ध गराउँदा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका देहायका निकाय वा संस्थालाई प्राथमिकता दिइनेछः-
(क) मध्यवर्ती क्षेत्रमा रहेका खानेपानी र सिँचाइ उपभोक्ता समिति, (ख) धार्मिक मठ, मन्दिर तथा सरकारी शैक्षिक संघ संस्था, (ग) यो नियमावली प्रारम्भ हुनु अघि मध्यवर्ती क्षेत्र बाहिर सञ्चालनमा रहेका खानेपानी र सिँचाइ उपभोक्ता समिति, (घ) काठमाडौं उपत्यका खानेपानी लिमिटेड र बालाजु बाइसधारा, (ङ) सुन्दरीजल जलविद्युत आयोजना।
(३) यस नियम बमोजिम व्यावसायिक प्रयोजनको लागि पानी उपलब्ध गराउँदा प्रचलित कानून बमोजिमको प्रक्रिया पूरा गरी प्रतिस्पर्धाको आधारमा उपलब्ध गराउनु पर्नेछ।
(४) यो नियमावली प्रारम्भ हुनु अघि विभिन्न व्यक्ति, निकाय, कम्पनी वा समितिले माछापालन, पानी प्रशोधन लगायतका व्यावसायिक प्रयोजनका लागि निकुञ्ज भित्रको पानी
प्रयोग गर्दै आएको भएमा यो नियमावली प्रारम्भ भएको तीन महिनाभित्र यस नियमावली बमोजिमको प्रकृया पुरा गर्नु पर्नेछ र यसरी प्रकृया पुरा नगरेमा त्यस्तो पानी प्रयोग गर्न पाइने छैन ।
२५. उपभोक्ता समिति मार्फत वितरण गरिनेः (१) यस नियमावली बमोजिम निकुञ्जको जलस्रोत उपयोग गर्ने प्रयोजनको लागि उपभोक्ता समितिहरु गठन गरी त्यस्ता समितिहरु मार्फत पानी वितरण गरिनेछ ।
(२) उपनियम (१) बमोजिम पानी वितरण गर्ने प्रयोजनको लागि एउटा समितिलाई एकिन्दा बढी ठाउँबाट पानी उपलब्ध गराईने छैन ।
तर उपलब्ध गराइएको पानीको मुहान सुकेमा वैकल्पिक मुहानको व्यवस्था गर्न सकिनेछ ।
(३) यो नियमावली प्रारम्भ हुँदाका बखत व्यक्तिगत रुपमा सिधै पानी प्रयोग गर्दै आएका उपभोक्ताहरुले समेत यो नियमावली प्रारम्भ भएको मितिले तीन महिना भित्र उपनियम (१) बमोजिम गठन भएको कुनै उपभोक्ता समिति मार्फत पानी प्रयोग गर्नु पर्नेछ ।
२६. जलस्रोत उपयोग गरे वापत शुल्क लाग्नेः (१) निकुञ्जको जलस्रोत उपयोग गर्ने उपभोक्ता समिति वा सम्बन्धित निकायले सो वापत उपभोक्तासँग लिएको शुल्क मध्ये अनुसूची-७ मा उल्लेख भए बमोजिमको शुल्क कार्यालयमा बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको शुल्क बुझाए वापत कार्यालयले अनुसूची-८ बमोजिमको रसिद दिनेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यालय, निकुञ्ज सुरक्षाथु खटिएको सुरक्षा निकाय, मध्यवती क्षेत्र व्यवस्थापन समिति, सरकारी विद्यालय, परापूर्वकालदेखि रहेका धार्मिक मठ मन्दिर तथा मध्यवती क्षेत्र भित्रका सार्वजनिक धाराहरुमा पानी उपलब्ध गराउँदा शुल्क लाग्ने छैन ।
२७. पानी छोड्नु पर्नेः (१) निकुञ्ज भित्रको जलस्रोत प्रयोग गरी पानी सङ्कलन गर्ने निकाय वा समितिले नदी, खोला, पोखरी, ताल जस्ता जल भण्डारहरुमा कम्तीमा पचास प्रतिशत पानी अनिवार्य रुपमा छोड्नु पर्नेछ ।
तर यो नियमावली प्रारम्भ हुँदाका बखत खानेपानीको लागि उपयोग भई रहेको पानी सो प्रयोजनको लागि अर्को व्यवस्था नभएसम्म साविक बमोजिम नै प्रयोग गर्न दिनु पर्नेछ।
(२) खानेपानी बाहेक अन्य प्रयोजनको लागि प्रयोग हुँदै आएको शत प्रतिशत पानी हप्तामा एक दिन अनिवार्य रुपमा पानी विदा (वाटर होलिडे) को रुपमा सम्बन्धित जलस्रोतमा छोड्नु पर्नेछ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौं उपत्यका भित्र खानेपानीको अर्को व्यवस्था भएको अवस्थामा बागमती नदीको हकमा शत प्रतिशत पानी नदीमा छोड्नु पर्नेछ।
२८. पानी सङ्कलन केन्द्रः (१) निकुञ्ज भित्रको पानी सङ्कलनको लागि पानी सङ्कलन केन्द्र स्थापना गर्दा निकुञ्ज र मध्यवती क्षेत्रको सीमानामा स्थापना गर्नु पर्नेछ।
(२) यो नियमावली प्रारम्भ हुनु अघि निकुञ्जभित्र रहेका पानी सङ्कलन केन्द्रलाई निकुञ्जको सीमानामा सारिनेछ।
तर यसरी सीमानामा सारी पानी उपलब्ध नहुने भनी प्राविधिक प्रतिवेदन पेश भएकोमा कार्यालयले त्यस्तो पानी सङ्कलन केन्द्रलाई वातावरण संरक्षण नियमावली, २०५४ बमोजिमको प्रक्रिया पूरा गरी साविककै स्थानमा कायम राख्न अनुमति दिन सक्नेछ।
२९. अनुगमन समितिः (१) निकुञ्ज भित्रको पानीको प्रयोगको सम्बन्धमा अनुगमन गर्न देहाय बमोजिमको एक अनुगमन समिति रहनेछः-
(क) संरक्षक -संयोजक
(ख) जिल्ला समन्वय समितिबाट मध्यवती क्षेत्र व्यवस्थापन समितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधि -सदस्य
(ग) मध्यवती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वा निजले तोकेको समितिको सदस्य -सदस्य
(घ) निकुञ्ज भित्रको पानी उपयोग गर्ने खानेपानी उपभोक्ता समिति, सिँचाइ उपभोक्ता समिति तथा जलविद्युत उपभोक्ता
समितिले मनोनयन गरी पठाएका एक एक जनाको दरले तीन जना जनप्रतिनिधि -सदस्य
(ङ) कार्यालयको सहायक संरक्षण अधिकृत -सदस्य-सचिव
(२) समितिको बैठक तथा निर्णय सम्बन्धी प्रक्रिया समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
३०. समितिको काम, कर्तव्य र अधिकार: (१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) जलस्रोतको उपयोग गर्ने सम्पूर्ण निकायहरुको तथ्याङ्क अद्यावधिक गर्ने,
(ख) देहायको विषयमा अनुगमन गर्नेः-
(१) निकुञ्जभित्रको जलस्रोत प्रयोग गरे बापत कार्यालयलाई बुझाउनुपर्ने शुल्क बुझाए नबुझाएको,
(२) यस नियमावली बमोजिम निकुञ्जभित्रको जलस्रोत उपयोग गर्दा नियम २७ बमोजिम छोड्नु पर्ने पानी सम्बन्धित जलस्रोतमा छोडे नछोडेको,
(३) निकुञ्जभित्रको जलस्रोत उपयोग गर्दा यस नियमावली र कार्यालयले तोकेको अन्य शर्त पालना गरे नगरेको,
(४) पानी सङ्कलन केन्द्रहरुले उपयुक्त ढङ्गले पानी सङ्कलन गरे नगरेको।
(२) समितिले अनुगमन लगायत आफूले गरेका कामको वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको एक महिना भित्र कार्यालय मार्फत विभाग तथा मन्त्रालयमा पेश गर्नु पर्नेछ।
परिच्छेद-८ मुद्दा दायर गर्ने सम्बन्धी व्यवस्था
३१. मुद्दा हेर्ने अधिकारीः ऐनको दफा ३१ को उपदफा (१) मा उल्लेखित मुद्दा बाहेक ऐन र यस नियमावली अन्तर्गत कसूर हुने मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार संरक्षकलाई हुनेछ।
३२. सबुद प्रमाण पेश गर्ने: ऐन बमोजिम मुद्दा दायर भएपछि सो मुद्दा सम्बन्धमा निकुञ्ज कर्मचारी, सुरक्षाकर्मी वा प्रहरी वा अरू कसैले सबुद प्रमाणको रुपमा ग्रहण गर्न योग्य कुनै माल, वस्तु वा लिखत फेला पारेमा कार्यालय वा सरकारी वकील कार्यालयमा दाखिला गर्नु पर्नेछ र सो कार्यालयले पनि त्यस्तो माल, वस्तु वा लिखतलाई अदालत वा मुद्दा हेर्ने अधिकारी समक्ष तुरुन्त पेश गर्नु पर्नेछ।
परिच्छेद-९ विविध
३३. राहत सम्बन्धी व्यवस्था: (१) निकुञ्ज बाहिर कुनै वन्यजन्तुले आक्रमण गरी धनजनको क्षति पुर्याएमा पीडित पक्षले सम्बन्धित स्थानीय तहको सिफारिस सहित कार्यालयमा पैंतीस दिन भित्र निवेदन दिईसक्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएकोमा कार्यालयले आवश्यक जाँचबुझ गरी राहत दिनुपर्ने देखेमा सो वापतको रकम उपलब्ध गराउन विभागमा लेखी पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम राहतको रकम माग भई आएकोमा विभागले यथाशीघ्र रकम उपलब्ध गराउनु पर्नेछ र यसरी विभागबाट रकम प्राप्त भएको एक हप्ता भित्र कार्यालयले पीडितलाई राहत उपलब्ध गराउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिमको राहत उपलब्ध गराउँदा मानवीय क्षति भएकोमा मृतकको हकमा निजको हकवाला, गम्भीर तथा सामान्य घाइतेको हकमा पीडित स्वयं वा निजको मञ्जुरीमा निजको हकवाला र अन्य क्षतिको हकमा सम्बन्धित व्यक्तिलाई उपलब्ध गराईनेछ।
(५) उपनियम (३) बमोजिमको राहत वितरण गरे पश्चात कार्यालयले उक्त राहतको विवरण जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विभाग र मन्त्रालयमा पठाउनु पर्नेछ।
(६) राहत उपलब्ध गराउने र मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणका उपाय अवलम्बन गर्ने सम्बन्धमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आवश्यक सहयोग एवं कार्यालयसँग सहकार्य गर्नु पर्नेछ।
३४. प्रकृति पथ प्रदर्शक (नेचर गाईड): (१) निकुञ्जको गाईडको रुपमा सेवा प्रदान गर्ने प्रयोजनको लागि कार्यालयले प्रकृति पथ प्रदर्शक (नेचर गाईड) अनुमतिपत्र प्रदान गरेको
व्यक्तिले मात्र निकुञ्जमा प्रकृति पथ प्रदर्शक (नेचर गाइड) को रुपमा सेवा प्रदान गर्न सक्नेछ।
(२) प्रकृति पथ प्रदर्शक (नेचर गाइड) को तालिम लिएको व्यक्तिलाई कार्यालयले अनुसूची-९ बमोजिमको अनुमतिपत्र प्रदान गर्नेछ।
(३) कुनै पनि पर्यटकले निकुञ्जभित्र प्रवेश गर्दा प्रकृति पथ प्रदर्शक (नेचर गाइड) को सेवा लिन सक्नेछ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यालयले निकुञ्ज भित्रको कुनै स्थानमा जान चाहने पर्यटक वा निकुञ्जभित्र प्रवेश गर्ने विदेशी पर्यटकले अनिवार्य रुपमा प्रकृति पथ प्रदर्शक (नेचर गाइड) को सेवा लिनु पर्ने गरी तोक्न सक्नेछ।
३५. दुर्घटना वा मृत्यु भएमा सूचना गनुपर्नेः निकुञ्जभित्र प्रवेश गर्ने कुनै व्यक्तिको दुर्घटना वा मृत्यु भएमा त्यस्तो व्यक्तिको साथमा गएका अन्य व्यक्तिले वा सो दुर्घटना वा मृत्यु भएको थाहा पाउने व्यक्तिले सो कुराको सूचना कार्यालय, निकुञ्जको सुरक्षा पोष्ट वा प्रहरी चौकीमा दिनु पर्नेछ।
३६. लगत लिन सक्नेः (१) संरक्षकले कार्यालयको अभिलेखको लागि मध्यवती क्षेत्रका स्थानीय जनता, निवासीहरुको घर, जग्गा र घरपालुवा जनावरहरुको अनुसूची-१० बमोजिमको ढाँचामा लगत लिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम लगत लिने कार्यमा सम्बन्धित सबैले सहयोग गर्नु पर्नेछ र सो कार्यमा सहयोग नगर्ने व्यक्तिलाई निकुञ्जबाट प्राप्त हुने सुविधा रोक्का गर्न सकिनेछ।
३७. बिगो कायम गर्नेः (१) निकुञ्जको वन जङ्गल नोक्सान भई ठुटासभम भएको तर काठ फेला नपरेकोमा सोको बिगो कायम गर्नु पर्दा लोकल भोलुम टेबुल प्रयोग गरी ठुटाबाट आयतन निकाली नेपाल सरकारले तोकेको काठको प्रचलित दर अनुसार बिगो कायम गर्नु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ठुटा फेला नपरी काठ मात्र फेला परेमा प्राप्त काठको उपनियम (१) बमोजिम आयतन निकाली त्यसमा चालीस प्रतिशत थप गरी नेपाल सरकारले तोकेको काठको प्रचलित दर अनुसार बिगो कायम गर्नु पर्नेछ।
३८. चौपाया वा सडीगली जाने माल वस्तु लिलाम गर्न सकिनेः (१) ऐन अन्तर्गत सजाय हुने कसूरको सम्बन्धमा कब्जा गरेको वा नियन्त्रणमा लिएको सडीगली जाने माल वस्तु र चौपायालाई कार्यालयले तत्कालै लिलाम बिक्री गर्नु सक्नेछ।
(२) उपनियम (१) बमोजिम लिलामबाट आएको रकम मुद्दा किनारा हुँदा ठहरे बमोजिम हुने गरी धरौटी खातामा आम्दानी बाँकी राख्नु पर्नेछ।
३९. निकुञ्जको व्यवस्थापन योजनाः (१) निकुञ्जको व्यवस्थापन ऐनको दफा ३ को उपदफा (१क) बमोजिम विभागबाट स्वीकृत व्यवस्थापन योजना अनुसार हुनेछ।
(२) संरक्षकले तत्काल कार्यान्वयनमा रहेको व्यवस्थापन योजनाको म्याद सकिनु तीन महिना अगावै आगामी व्यवस्थापन योजना तयार गरी विभाग समक्ष पेश गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको व्यवस्थापन योजनामा निकुञ्ज व्यवस्थापनको लागि संरक्षकले आवश्यकता अनुसार निकुञ्जलाई विभिन्न क्षेत्रमा वर्गीकरण गर्ने व्यवस्था गर्नु सक्नेछ।
(४) उपनियम (२) बमोजिम पेश गरिएको व्यवस्थापन योजना उपर विभागले पुनरावलोकन गर्नेछ र सो उपर कुनै संशोधन गर्नुपर्ने भएमा सो समेत गरी निकुञ्जको व्यवस्थापन योजना स्वीकृत गर्नेछ।
४०. अधिकार प्रत्यायोजन गर्न सकिनेः संरक्षकले आफूलाई प्राप्त अधिकार मध्ये नियम ३१ बमोजिम मुद्दा हेर्ने अधिकार बाहेक अन्य अधिकार आफू मातहतका कुनै कर्मचारीलाई प्रत्यायोजन गर्नु सक्नेछ।
४१. अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्नेः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीको अनुसूचीहरुमा आवश्यक थपघट वा हेरफेर गर्नु सक्नेछ।
अनुसूची-१
(नियम ४ को उपनियम (२), नियम ७ को उपनियम (१), नियम ८ को उपनियम (१) को खण्ड (घ), नियम ११ को उपनियम (१), नियम १९ को उपनियम (२), (३) र नियम २० को उपनियम (२) सँग सम्बन्धित)
दस्तुर
(३) बस, मिनी बस, माइक्रो बस, मिनी ट्रक, ट्रक ५००।-
(४) मन्त्रालय अन्तर्गतका कार्यालय, कुटनीतिक नियोगका झण्डा भएका सवारी साधन, सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, बारुण यन्त्र र एम्बुलेन्स बाहेक सबै सरकारी संस्थान, गैर सरकारी संघ संस्थाका सवारी साधन २५।-
(५) साइकल २०।- ५०।- १५०।-
३ प्रकृति पथ प्रदर्शक (नेचर गाईड)ले निकुञ्जभित्र गाईड सेवा उपलब्ध गराए बापत (प्रति वर्ष गाईड दस्तुर बापत) २,५००।-
४ सौत्तर तथा पातपतिङ्गर सङ्कलन (प्रति पूजी प्रति दिन) १०।-
५ साइकल दौड कार्यक्रम ५,०००।-
६ अल्ट्रा दौड कार्यक्रम ५,०००।-
७ रक क्लाइम्बिङ प्रति व्यक्ति प्रति दिन (प्रवेश दस्तुर बाहेक) २५०।- ५००।- १,०००।-
८ निकुञ्ज बाहिरका सुरक्षा निकायको रक क्लाइम्बिङ कार्यक्रममा प्रति कार्यक्रम २,०००।-
९ व्यावसायिक जङ्गल ड्राइभ प्रति ट्रिप
(क) कार ५००।-
(ख) जीप १,०००।-
(ग) भ्यान १,५००।-
द्रष्टव्यः
१. रीतपूर्वकको प्रवेशपत्र बाहकलाई मात्र निकुञ्जभित्र प्रवेश गर्न दिइनेछ।
२. घरपालुवा जनावरलाई राष्ट्रिय निकुञ्जको सुविधा प्राप्त बाटोबाट लैजाँदा दस्तुर लाग्ने छैन।
३. गाईड दस्तुर बुझाउने प्रकृति पथ प्रदर्शक (नेचर गाईड)लाई निकुञ्ज प्रवेश दस्तुर लाग्ने छैन।
४. व्यावसायिक जङ्गल ड्राइभमा प्रयोग गरिने सवारी साधनमा देहायको संख्याभन्दा बढी पर्यटक राख्न पाईने छैनः-
(अ) कारमा बढीमा चार जना,
(आ) जीपमा बढीमा दस जना,
(इ) भ्यानमा बढीमा पन्ध्र जना।
५. सुविधा प्राप्त बाटो बाहेक अन्य बाटोमा प्रवेश गर्ने सवारी साधनले ध्वनी तथा वायु प्रदुषण सम्बन्धमा निकुञ्जले कायम गरेको मापदण्ड पालना गर्नु पर्नेछ।
६. निकुञ्जभित्र सञ्चालन हुने साइकल दौड, अल्ट्रा दौड लगायतका कार्यक्रममा खेलाडी र कार्यक्रम आयोजकले प्रति व्यक्ति प्रवेश दस्तुर समेत बुझाउनु पर्नेछ।
७. सुन्दरीलला-चिसापानी-नगरकोट जाने पर्यटकको हकमा सुन्दरीललामा प्रवेश अनुमति लिएपछि झोलिपल्ट चिसापानीबाट सुन्दरीलल फर्कुदा वा नगरकोट जाँदा पुनः टिकट लिनुपर्ने छैन।
८. निजी विद्यालय र महाविद्यालयबाट पत्रसहित विद्यार्थीहरुलाई निकुञ्जको अवलोकन भ्रमणमा ल्याउँदा लाग्ने प्रवेश दस्तुरमा पचास प्रतिशत छुट दिइनेछ।
९. दस वर्ष मुनिका बालबालिका र नेपाली ज्येष्ठ नागरिकलाई कुनै दस्तुर लाग्ने छैन।
अनुसूची-२ (नियम ४ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशपत्र
क्र.सं: ....................... मिति: ........................
१. प्रवेशपत्र लिने व्यक्तिको नाम, थर: २. ठेगाना: ३. उमेर: ४. लिङ्ग: ५. नागरिकता जारी भएको जिल्ला र नागरिकता नं: ६. पासपोर्ट जारी भएको देश र पासपोर्ट नं (विदेशी नागरिकको हकमा): ७. भ्रमणको उद्देश्य: ८. प्रवेशद्वार: ९. प्रवेश दस्तुर: नि:शुल्क/ रु. १००/- / रु. ६००/- / रु. १,०००/-
........................................... (प्रवेशपत्र प्रदान गर्नेको दस्तखत)
दृष्टव्यः
१. प्रवेशपत्र अर्को व्यक्तिलाई हस्तान्तरण गर्न पाईने छैन ।
२. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहनुहुने प्रत्येक व्यक्तिले प्रवेशपत्र आफ्नो साथमा राख्नु पर्नेछ र निकुञ्जको सम्बन्धित कर्मचारी तथा निकुञ्ज सुरक्षाकर्मीले हेर्न चाहेमा जुनसुकै बखत देखाउनु पर्नेछ ।
३. निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७५ को पूर्ण रुपले पालना गर्नु पर्नेछ ।
४. सुविधा प्राप्त बाटो वा अनुसूची-४ बमोजिमको बाटो बाहेक अन्यत्र घरपालुवा जनावर साथमा लैजान पाईने छैन ।
५. गाँजा, चुरोट, रक्सी, मासु, बाजागाजा, बासुरी, मुरली, गितार, टेन्ट, स्लिपिङ ब्याग लगायतका सामग्री लैजान पाइने छैन ।
अनुसूची-३ (नियम ६ को उपनियम (१) सँग सम्बन्धित)
निकुञ्जभित्र रहेका सुविधा प्राप्त बाटो
॥ मिति २०८१।१०।१० को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा हेरफेर।
अनुसूची-४ (नियम ६ को उपनियम (२) सँग सम्बन्धित) सवारी साधन र पैदल यात्रीको लागि बाटो
(क) सवारी साधन र पर्यटक पैदल यात्रीहरुको लागि: (१) फूलबारी गेट-ऐन डाँडा-जमाचो-स्वानागाउँ (२) फूलबारी गेट-नाङ्गे डाँडा- जमाचो (३) फूलबारी गेट-नाङ्गे डाँडा- जमाचो-ऐन डाँडा-स्वानागाउँ-मुड्खु (४) ककनी-गुर्जे भञ्ज्याङ-डाँडागाउँ-पानीमुहान (५) ककनी-पाँचमाने-तारकेश्वर (६) पाँचमाने-तारकेश्वर-अल्ले-गुर्जेभञ्ज्याङ (७) गुर्जेभञ्ज्याङ-पाटेश्वारा-विष्णुपादुका - पानीमुहान (८) गुर्जेभञ्ज्याङ-गुरुङगाउँ (९) गुर्जेभञ्ज्याङ-पाटेश्वारा-चगाउँ-चिसापानी (१०) पानीमुहान-नागीगुम्बा-बागद्वार-शिवपुरी पिक (११) पानीमुहान-विष्णुद्वार-डाँडागाँउ (१२) पानीमुहान-छापिभञ्ज्याङ-शिवपुरी पिक (१३) पानीमुहान-नागी गुम्बा-तारे निर-सुन्दरीजल (१४) पानीमुहान-बागद्वार-चिसापानी (१५) सुन्दरीजल-मूलखकु-चिसापानी ∏(१६) मूलखकु-झुले -चिसापानी (१७) मणिचुड-झुले-चिसापानी
∏ मिति २०८१।१०।१० को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्धारा हेरफेर ।
(१८) झुले-देउराली-चिसापानी
(ख) स्थानीय पैदल यात्रीका लागि:
(१) बूढानीलकण्ठ-छापभञ्ज्याङ-सिन्के (नुवाकोट जिल्लाका छाप, सिन्के, लिखुका स्थानीय जनताका लागि मात्र)
(२) गुर्जेभञ्ज्याङ-सुरिया चौर (गुरुङगाउँका स्थानीय जनताका लागि मात्र)
(३) मुड्खु-स्वानागाउँ (छत्रे देउरालीका स्थानीय जनताका लागि मात्र)
(४) सुन्दरीजल-मुलखकु-ओख्रेनी-रोल्चे (सुन्दरीजल, छाप र लिखुका स्थानीय जनताका लागि मात्र)
(५) सुन्दरीजल-मुलखकु-चिसापानी (नुवाकोट जिल्लाका तलाखु गाउँका स्थानीय जनताका लागि मात्र)
अनुसूची-५ (नियम ११ को उपनियम (१) र नियम १९ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
सवारी साधन प्रवेश अनुमतिपत्र/व्यवसायिक जङ्गल ड्राइभ सञ्चालन गर्ने सवारी साधन प्रवेश अनुमतिपत्र
क्र.सं: मिति:
१. सवारी धनीको नाम, थर: २. सवारी चालकको नाम, थर: ३. सवारी चालकको ठेगाना: ४. सवारीको किसिम: ५. सवारी साधन नम्बर: ६. लाइसेन्स नं: ७. प्रवेशद्वार: ८. सवारी साधनको दस्तुर:
(बुझाएको रसिद नम्बर ................., मिति: .........................)
............................................... (अनुमतिपत्र प्रदान गर्नेको दस्तखत)
द्रष्टव्य:
१. सवारी साधनको अनुमतिपत्र अर्को सवारी साधनको लागि हस्तान्तरण गर्न पाइने छैन ।
२. निकुञ्जभित्र रहुन्जेल सम्बन्धित सवारी चालकले सवारी साधनको अनुमतिपत्र आफ्नो साथमा राख्नु पर्नेछ र निकुञ्जको कर्मचारी वा सुरक्षाकर्मीले हेर्नु चाहेमा जुनसुकै बखत देखाउनु पर्नेछ ।
३. निकुञ्जभित्र सवारी साधन चलाउँदा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७६ को पूर्ण रुपले पालना गर्नु पर्नेछ ।
अनुसूची-६ (नियम २० को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
सोत्तर तथा पातपत्तिजुर सङ्कलन पूर्जी
क्र.सं: मिति:
१. सङ्कलन पूर्जी पाउने व्यक्तिको नाम, थर: २. उपभोक्ता समूहको नाम: ३. ठेगाना: ४. अनुमति बहाल रहने अवधि: ५. प्रवेश गर्ने क्षेत्र: ६. सङ्कलन गर्ने क्षेत्र: ७. प्रवेश दस्तुर (प्रति दिन प्रति पूर्जी): रु. ..........।-
पतकर, सोत्तर, सल्लेरी (.........दिन गुणा.........दर)
(बुझाएको रसिद नं.............., मिति: .........................)
............................................... (सङ्कलन पूर्जी दिनेको दस्तखत)
द्रष्टव्यः
१. यो सङ्कलन पुर्जी अन्य व्यक्तिलाई हस्तान्तरण गर्न पाइने छैन ।
२. निकुञ्जभित्र रहन्जेल यो सङ्कलन पुर्जी आफ्नो साथमा राख्नु पर्नेछ र निकुञ्जको कर्मचारी तथा सुरक्षाकर्मीले हेर्न चाहेमा जुनसुकै बखत देखाउनु पर्नेछ ।
३. निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७६ को पूर्ण रुपले पालना गर्नु पर्नेछ ।
अनुसूची-७ (नियम २६ को उपनियम (१) सँग सम्बन्धित)
जलस्रोत उपयोग गरे बापत कार्यालयलाई बुझाउनु पर्ने शुल्क
अनुसूची-८ (नियम २६ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
खानेपानी, सिँचाइ, जलविद्युत आदि प्रयोग बापत शुल्क बुझाएको रसिद
क्र.सं: मिति:
१. शुल्क तिर्ने संस्थाको नाम: २. ठेगाना: ३. सङ्कलन गर्ने क्षेत्र: ४. दस्तुर: (क) खानेपानी रु ..........।- (ख) सिँचाइ रु ..........।- (ग) जलविद्युत रु ..........।- (घ) अन्य रु .........।-
(बुझाएको रसिद नं.............., मिति: .........................)
............................................... (शुल्क बुझ्ने कर्मचारीको दस्तखत)
अनुसूची-९ (नियम ३४ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज प्रकृति पथ प्रदर्शक (नेचर गाईड) अनुमतिपत्र
क्र.सं: मिति:
१. प्रकृति पथ प्रदर्शक (नेचर गाईड) अनुमतिपत्र लिने व्यक्तिको नाम, थर: २. ठेगाना: ३. उमेर: ४. गाईडको तह: ५. गाईड दर्ता नम्बर: ६. नागरिकता: ७. प्रयोग गर्ने प्रवेशद्वार: ८. गाईड अनुमति वार्षिक दस्तुर रु......।-
(बुझाएको रसिद नं: ............., मिति: .........................)
(अनुमतिपत्र प्रदान गर्नेको दस्तखत)
द्रष्टव्य:
१. प्रकृति पथ प्रदर्शक (नेचर गाईड) अनुमतिपत्र हस्तान्तरण गर्न पाइने छैन ।
२. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहनुहुने गाईडले प्रकृति पथ प्रदर्शक (नेचर गाईड) अनुमतिपत्र आफ्नो साथमा राख्नु पर्नेछ र निकुञ्जको कर्मचारी तथा सुरक्षाकर्मीले हेर्न चाहेमा जुनसुकै बखत देखाउनु पर्नेछ ।
३. प्रकृति पथ प्रदर्शक (नेचर गाईड) अनुमतिपत्र प्रत्येक वर्ष नवीकरण गराउनु पर्नेछ ।
४. निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७६ को पूर्ण रुपले पालना गर्नु पर्नेछ ।
अनुसूची-१० (नियम ३६ को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज स्थानीय उपभोक्ताको लगत लिने फाराम
क्र.सं: मिति:
१. घरमुलीको नाम, थर: २. संबद्ध उपभोक्ता समूहको नाम: ३. ठेगाना: ४. घरको विवरण:
५. जग्गाको विवरण:
६. घरपालुवा जनावरको विवरण: