सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६
नेपाल राजपत्रमा प्रकाशन मिति २०७६।०८।०९
संशोधन १. सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) नियमावली, २०८० २०८०।१०।०४
सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
परिच्छेद - १ प्राारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरुको नाम “सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली २०७६” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा, - (क) “ऐन” भन्नाले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ सम्झनु पर्छ । (ख) “कोष” भन्नाले ऐनको दफा ३४ बमोजिम खडा गरिएको कोष सम्झनु पर्छ । (ग) “व्यवस्थापन योजना” भन्नाले नियम २२ बमोजिमको व्यवस्थापन योजना सम्झनु पर्छ । (घ) “समन्वय समिति” भन्नाले ऐनको दफा ३१ बमोजिमको सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति राष्ट्रिय समन्वय समिति सम्झनु पर्छ ।
परिच्छेद-२ अनुमतिपत्र सम्बन्धी व्यवस्था
३. अनुमतिपत्रका लागि निवेदन दिनु पर्ने : (१) ऐनको दफा ३, ८ वा १० को प्रयोजनको लागि अनुमतिपत्र लिन चाहिने व्यक्ति, संस्था वा निकायले देहाय बमोजिमको ढाँचामा व्यवस्थापन निकाय समक्ष निवेदन दिनु पर्नेछः-
(क) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमुना निकासी, पैठारी वा पुनः निकासीको लागि अनुसूची-१ बमोजिमको ढाँचामा,
(ख) सङ्कटापन्न वन्यजन्तु पालनपोषण गर्न वा सोको नमुना राख्न, प्रयोग गर्न, उत्पादन गर्न वा ओसारपसार गर्न अनुसूची-२ बमोजिमको ढाँचामा,
(ग) सङ्कटापन्न वनस्पति रोप्न, हुर्काउन वा सोको नमुना राख्न, प्रयोग गर्न, उत्पादन गर्न वा ओसारपसार गर्न अनुसूची-३ बमोजिमको ढाँचामा,
(घ) दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सोको नमुना खरिद बिक्री गर्न, अध्ययन, अनुसन्धान, परीक्षण, तालीम, प्रदर्शनी, संरक्षण शिक्षा, जैविक स्रोत संरक्षण वा अन्य शैक्षिक प्रयोजनमा उपयोग गर्नको लागि अनुसूची-४ बमोजिमको ढाँचामा,
(ङ) दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पतिको नियन्त्रित प्रजनन गर्न वन्यजन्तुको हकमा अनुसूची-२ बमोजिम र वनस्पतिको हकमा अनुसूची-३ बमोजिमको ढाँचामा,
(च) संरक्षित वनस्पतिलाई बीउको रुपमा व्यापार गर्न अनुसूची-३ बमोजिमको ढाँचामा।
(२) उपनियम (१) को खण्ड (ख) वा (ङ) बमोजिम दुर्लभ वा लोपोन्मुख वन्यजन्तुको नियन्त्रित प्रजनन गर्न पेश गरिने निवेदन साथ अनुसूची-५ बमोजिमको व्यावसायिक योजना समेत पेश गर्नु पर्नेछ।
(३) यस नियम बमोजिम पेश गरिएको निवेदन र संलग्न कागजात जाँचबुझ गर्दा कुनै विषयवस्तु वा कागजात अस्पष्ट वा अपर्याप्त देखिएमा व्यवस्थापन निकायले निवेदकलाई सो विषयमा स्पष्ट पार्न वा थप कागजात पेश गर्न लगाउन सक्नेछ।
४. शर्त पूरा गरेको हुनु पर्ने : नियम ३ बमोजिम अनुमति पत्र लिन चाहने व्यक्ति, संस्था वा निकायले ऐन र यस नियमावलीमा उल्लेखित अन्य शर्तको अतिरिक्त देहाय बमोजिमका शर्तहरू पूरा गरेको हुनु पर्नेछ:-
(क) दुर्लभ वा लोपोन्मुख वनस्पति रोप्न, हुर्काउन वा सोको नमुना राख्न, प्रयोग गर्न, उत्पादन गर्न, खरिद बिक्री गर्न, नियन्त्रित प्रजनन गर्न, ओसारपसार गर्न, निकासी, पैठारी वा पुनः निकासी गर्न वा अध्ययन, अनुसन्धान, परीक्षण, तालीम, प्रदर्शनी, संरक्षण शिक्षा, जैविक स्रोत संरक्षण वा अन्य शैक्षिक प्रयोजनमा उपयोग गर्नका लागि:-
(१) निकासीको हकमा व्यवस्थापन योजनामा निर्धारित अधिकतम परिमाण (कोटा) भित्र रही वनस्पति वा सोको नमुना सङ्कलन गरिएको हुनु पर्ने,
(२) निजी वन वा निजी जग्गामा रोपी वा प्राकृतिक रुपमा उतिई हुर्काएको वनस्पति वा सोको नमुनाको हकमा सोको स्वामित्व पुष्टी हुनु पर्ने,
(३) प्रचलित कानून बमोजिम सङ्कलन, ओसारपसार, बिक्री वितरण वा निकासी गर्न प्रतिबन्धित नभएको हुनु पर्ने,
(४) पैठारी गरिएका बाहेकका दुर्लभ वा लोपोन्मुख वनस्पतिको हकमा सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, संरक्षण क्षेत्र कार्यालय वा डिभिजन वन कार्यालयबाट स्थलगत अध्ययन तथा राय प्रतिवेदन प्राप्त गरेको हुनु पर्ने ।
(ख) संरक्षित वनस्पति रोप्न, हुर्काउन वा सोको नमुना राख्न, प्रयोग गर्न, उत्पादन गर्न, बीउको रुपमा व्यापार गर्न, ओसारपसार गर्न वा निकासी, पैठारी वा पुनः निकासी गर्नका लागि:-
(१) निकासी, पैठारी वा पुनः निकासीका लागि सम्बन्धित निकायबाट त्यस्तो वनस्पति वा सोको नमुनाको स्वस्थताको प्रमाणपत्र प्राप्त भएको हुनु पर्ने,
(२) पैठारीको लागि वनस्पतिको प्रजाति महासन्धि को अनुसूची-३ मा समावेश गर्ने मुलुकले प्रदान गरेको उत्पत्तिको प्रमाणपत्र र निकासी अनुमतिपत्र प्राप्त गरेको हुनु पर्ने,
(३) निजी वन वा निजी जग्गामा रोपी वा प्राकृतिक रुपमा उम्रेई हुकिएको वनस्पति वा सोको नमुनाको हकमा स्वामित्व पुष्टी हुनु पर्ने ।
(ग) दुर्लभ वा लोपोन्मुख वन्यजन्तु पालनपोषण गर्न वा सोको नमुना खरिद बिक्री गर्न, राख्न, प्रयोग गर्न, उत्पादन गर्न, नियन्त्रित प्रजनन गर्न, ओसारपसार गर्न, निकासी, पैठारी वा पुनः निकासी गर्न वा अध्ययन, अनुसन्धान, परीक्षण, तालीम, प्रदर्शनी, संरक्षण शिक्षा, जैविक स्रोत संरक्षण वा अन्य शैक्षिक प्रयोजनमा उपयोग गर्नका लागि :-
(१) निकासीको लागि व्यवस्थापन योजनामा निर्धारण गरिएको परिमाणको सीमा र निकासी अनुमति दिन सकिने अधिकतम परिमाण (कोटा) भित्र रही वन्यजन्तु वा सोको नमुना सङ्कलन गरिएको हुनु पर्ने,
(२) वन्यजन्तु सम्बन्धी प्रचलित कानूनको पालना गरिएको हुनु पर्ने ।
(घ) संरक्षित वन्यजन्तुको पालनपोषण गर्न वा सोको नमुना राख्न, प्रयोग गर्न, उत्पादन गर्न, ओसारपसार गर्न वा निकासी, पैठारी वा पुनः निकासी गर्नका लागि :-
(१) निकासी, पैठारी वा पुनः निकासीको लागि सम्बन्धित निकायबाट त्यस्तो वन्यजन्तु वा सोको नमुनाको स्वस्थताको प्रमाणपत्र प्राप्त भएको हुनु पर्ने,
(२) पैठारीको लागि वन्यजन्तुको प्रजाति महासन्धिको अनुसूची-३ मा समावेश गर्ने मुलुकले प्रदान गरेको उत्पत्तिको प्रमाणपत्र र निकासी अनुमतिपत्र प्राप्त गरेको हुनु पर्ने,
(३) निकासको लागि व्यवस्थापन योजनामा निर्धारण गरिएको परिमाणको सीमाभित्र रही वन्यजन्तु वा सोको नमुना सङ्कलन गरिएको हुनु पर्ने,
(४) वन्यजन्तु सम्बन्धी प्रचलित कानूनको पालना गरिएको हुनु पर्ने।
५. कानून बमोजिम प्राप्त गरेको मानिने : (१) यो नियमावली प्रारम्भ हुनु अघि कुनै व्यक्ति, संस्था वा निकायले प्रचलित कानून बमोजिम लोपोन्मुख वा संरक्षित वनस्पति वा सोको नमुना प्राप्त गरी आन्तरिक ओसारपसार वा निकासी अनुमतिपत्र लिन नपाई मौज्दात रहेको भएमा त्यस्तो मौज्दात रहेको लोपोन्मुख वा संरक्षित वनस्पति वा सोको नमुना ऐनको दफा ६ को उपदफा (१) को खण्ड (ख) र दफा ८ को उपदफा (३) को खण्ड (ख) को प्रयोजनको लागि त्यस्तो व्यक्ति, संस्था वा निकायले कानून बमोजिम प्राप्त गरेको मानिनेछ।
(२) उपनियम (१) बमोजिमको प्रयोजनको लागि सम्बन्धित व्यक्ति, संस्था वा निकायले यो नियमावली प्रारम्भ भएको पैँतीस दिनभित्र देहायका कागजात समेत संलग्न गरी व्यवस्थापन निकाय समक्ष निवेदन दिनु पर्नेछ :-
(क) प्रचलित कानून बमोजिम तत्कालीन समयमा प्राप्त गरेको सङ्कलन अनुमतिपत्र र राजस्व भुक्तानी वा धरौटी जमरा गरेको कागजात,
(ख) सम्बन्धित डिभिजनल वन अधिकृत वा निजबाट अख्तियार प्राप्त अधिकृतबाट त्यस्तो लोपोन्मुख वा संरक्षित वनस्पति वा सोको नमुनाको मौज्दात सम्बन्धी लगत प्रमाणित गरिएको कागजात,
(ग) खण्ड (ख) बमोजिमको लगत प्रमाणितका आधारमा त्यस्तो लोपोन्मुख वा संरक्षित वनस्पति वा सोको नमुना ओसारपसार गर्नका लागि सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, संरक्षण क्षेत्र कार्यालय वा डिभिजन वन कार्यालयबाट प्रचलित कानून बमोजिम प्राप्त गरेको छोडपुजी।
६. परामर्श माग गर्ने : (१) नियम ३ बमोजिम दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सोको नमुना राख्ने, प्रयोग गर्ने, रोप्ने, हुर्काउने, पालनपोषण गर्ने, उत्पादन गर्ने, नियन्त्रित प्रजनन गर्ने, खरिद बिक्री गर्ने, ओसारपसार गर्ने, निकासी, पैठारी वा पुनः
निकासी गर्ने वा अध्ययन, अनुसन्धान, परीक्षण, तालीम, प्रदर्शनी, संरक्षण शिक्षा, जैविक स्रोत संरक्षण वा अन्य शैक्षिक प्रयोजनमा उपयोग गर्ने अनुमति को लागि पेश गरिएको निवेदन उपर व्यवस्थापन निकायले आवश्यक जाँचबुझ गरी सिफारिस सहितको परामर्शका लागि वैज्ञानिक निकाय समक्ष पठाउनु पर्नेछ ।
(२) नियम ३ बमोजिम संरक्षित वन्यजन्तु वा वनस्पति वा सोको नमुना राख्ने, प्रयोग गर्ने, रोप्ने, हुर्काउने, पालनपोषण गर्ने, उत्पादन गर्ने, बीउको रुपमा व्यापार गर्ने, ओसारपसार गर्ने वा निकासी, पैठारी वा पुनः निकासी गर्ने अनुमति को लागि पेश गरिएको निवेदन उपर व्यवस्थापन निकायले आवश्यक जाँचबुझ गरी सो उपर वैज्ञानिक निकायको परामर्श माग गर्न सक्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम व्यवस्थापन निकायले वैज्ञानिक निकायको परामर्श माग गर्दा कारोवार गर्ने प्रजातिको नाम, नमुना, प्रयोजन, व्यवस्थापन योजनामा उल्लेख भएको परिमाण र निकासी वा पैठारी गर्न चाहेको परिमाण र सङ्कलन गरिएको स्थानको विवरण समेत संलग्न गरी पठाउनु पर्नेछ ।
७. वैज्ञानिक निकायले परामर्श उपलब्ध गराउने: (१) नियम ६ बमोजिम व्यवस्थापन निकायले परामर्श माग गरेको विषयमा वैज्ञानिक निकायले एकार्स दिनतिर अनुसूची-६ बमोजिमको ढाँचामा सिफारिस सहितको परामर्श उपलब्ध गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको समयतिर कुनै कारणले परामर्श तयार गर्न नसकेमा वैज्ञानिक निकायले उचित र पर्याप्त कारण सहित व्यवस्थापन निकायलाई जानकारी गराई त्यस्तो समय समाप्त भएको मितिले सात दिनतिर त्यस्तो परामर्श उपलब्ध गराउनु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम वैज्ञानिक निकायले परामर्श उपलब्ध गराउँदा वन्यजन्तु वा वनस्पतिको विभिन्न तलामा गरिएको स्रोत सवेक्षण, प्रजातिको उपलब्धता, संरक्षणको वर्तमान अवस्था र प्रभावकारिता, सम्भावित जोखिम, पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) र अन्य वन्यजन्तु वा वनस्पतिमा पर्ने प्रभाव समेतको विषयमा विश्लेषण गरी उपलब्ध गराउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम परामर्श उपलब्ध गराउनु अघि वैज्ञानिक निकायले व्यवस्थापन योजना, वातावरणीय परीक्षण गरिएको भए सोको प्रतिवेदन र सम्बन्धित
विषयमा उपलब्ध तथ्य, तथ्याङ्क, प्रतिवेदन र प्रकाशनको अध्ययन गर्ने तथा आवश्यकता अनुसार व्यवस्थापन निकाय वा अन्य सम्बन्धित निकायबाट जानकारी लिन सक्नेछ ।
८. अनुमतिपत्र दिने : (१) नियम ३ बमोजिम अनुमतिपत्रको लागि परेको निवेदनका सम्बन्धमा ऐनको दफा ६, ८ वा १० तथा यस नियमावली बमोजिमको अवस्था विद्यमान भएको कुरामा विश्वस्त भएमा व्यवस्थापन निकायले त्यस्तो निवेदकलाई देहायको ढाँचामा अनुमतिपत्र दिन सक्नेछः-
(क) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमुना निकासी, पैठारी वा पुनः निकासी गर्ने प्रयोजनको लागि अनुसूची-७ बमोजिमको ढाँचामा,
(ख) सङ्कटापन्न वन्यजन्तु पालनपोषण गर्ने वा सोको नमुना राख्ने, प्रयोग गर्ने, उत्पादन गर्ने वा ओसारपसार गर्ने प्रयोजनको लागि अनुसूची-८ बमोजिमको ढाँचामा,
(ग) सङ्कटापन्न वनस्पति रोप्ने, हुर्काउने वा सोको नमुना राख्ने, प्रयोग गर्ने, उत्पादन गर्ने प्रयोजनका लागि अनुसूची-९ र सोको ओसारपसार गर्ने प्रयोजनको लागि अनुसूची-१० बमोजिमको ढाँचामा,
(घ) दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सोको नमुना खरिद बिक्री गर्ने, अध्ययन, अनुसन्धान, परीक्षण, तालीम, प्रदर्शनी, संरक्षण शिक्षा, जैविक स्रोत संरक्षण वा अन्य शैक्षिक प्रयोजनमा उपयोग गर्ने प्रयोजनको लागि अनुसूची-११ बमोजिमको ढाँचामा,
(ङ) दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पतिको नियन्त्रित प्रजनन गर्ने प्रयोजनको लागि वन्यजन्तुको हकमा अनुसूची-८ र वनस्पतिको हकमा अनुसूची-९ बमोजिमको ढाँचामा,
(च) संरक्षित वनस्पतिलाई बीउको रुपमा व्यापार गर्ने प्रयोजनको लागि अनुसूची-९ बमोजिमको ढाँचामा ।
(२) व्यवस्थापन निकायले यस नियम बमोजिम वनस्पति वा सोको नमुना ओसारपसारका लागि अनुमतिपत्र दिएको जानकारी सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, संरक्षण क्षेत्र कार्यालय वा डिभिजन वन कार्यालयलाई दिनु पर्नेछ ।
९. अनुमतिपत्रको दस्तुर, अवधि र नवीकरण : (१) सङ्कटापन्न वन्यजन्तु, वनस्पति वा सोको नमुना निकासी, पैठारी वा पुनः निकासी अनुमतिपत्र जारी वा पुनः अनुमतिपत्र जारी गर्दा अनुसूची-१२ बमोजिमको दस्तुर लाग्नेछ ।
(२) ऐन र यस नियमावली बमोजिम जारी गर्ने देहाय बमोजिमको अनुमतिपत्रको अवधि देहाय बमोजिम हुनेछ:-
(क) निकासी अनुमतिपत्रको अवधि बढीमा छ महिना,
(ख) पैठारी वा पुनः निकासी अनुमतिपत्रको अवधि बढीमा बाह्र महिना,
(ग) अध्ययन अनुसन्धान तथा प्रदर्शनीका लागि दिइने अनुमतिपत्रको अवधि बढीमा तीन वर्ष,
(घ) लोपोन्मुख वा संरक्षित वनस्पति वा सोको नमुना मुलुकतिर ओसारपसारका लागि दिइने अनुमतिपत्रको अवधि बढीमा एकाइस दिन ।
(३) उपनियम (१) को खण्ड (घ) बमोजिमको अवधिभित्र सो अनुमतिपत्र बमोजिमको काम हुन नसकेमा सम्बन्धित व्यक्ति, संस्था वा निकायले म्याद थपको लागि व्यवस्थापन निकाय समक्ष निवेदन दिन सक्नेछ र मनासिब कारण भएमा व्यवस्थापन निकायले बढीमा सात दिनको अवधि थप गर्न सक्नेछ ।
१०. अनुमतिपत्र खारेज हुने : (१) अनुमतिपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले ऐनको दफा ६ को उपदफा (३), (४) र (५), दफा ८ को उपदफा (४) र यस नियमावली प्रतिकूल हुने गरी अनुमतिपत्र प्राप्त गरेको जानकारी प्राप्त भएमा वा उजुरी परेमा व्यवस्थापन निकायले सो सम्बन्धमा छानबिनको लागि अधिकृतस्तरको प्राविधिक कर्मचारी सहितको छानबिन समिति गठन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको छानबिन समितिले बढीमा पन्ध्र दिनभित्र छानबिन प्रतिवेदन तयार गरी व्यवस्थापन निकाय समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम पेश गरिएको प्रतिवेदन समेतको आधारमा अनुमतिपत्र खारेज हुने अवस्था देखिएमा व्यवस्थापन निकायले अनुमतिपत्र प्राप्त व्यक्ति, संस्था वा निकायलाई बाटोको म्याद बाहेक सात दिनको म्याद दिई स्पष्टीकरण माग गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखेमा व्यवस्थापन निकायले त्यस्तो अनुमतिपत्र खारेज गर्ने निर्णय गर्न सक्नेछ।
(५) उपनियम (४) बमोजिम भएको अनुमतिपत्र खारेज गर्ने निर्णय उपर चित्त नबुझ्ने व्यक्ति, संस्था वा निकायले वन तथा वातावरण मन्त्रालय समक्ष उजुरी गर्न सक्नेछ र सो विषयमा मन्त्रालयले गरेको निर्णय अन्तिम हुनेछ।
(६) उपनियम (४) बमोजिम अनुमतिपत्र खारेज भएका व्यक्ति, संस्था वा निकायलाई अनुमतिपत्र खारेज भएको मितिदेखि चौबीस महिनासम्म अर्को अनुमतिपत्र प्रदान गरिने छैन।
(७) उपनियम (४) बमोजिम कुनै व्यक्ति, संस्था वा निकायले लिएको कुनै एउटा अनुमतिपत्र खारेज भएको कारणले मात्र त्यस्तो व्यक्ति, संस्था वा निकायले लिएका अन्य अनुमतिपत्र बमोजिमको काम गर्न बाधा पर्ने छैन।
११. अनुमतिपत्र पुनः जारी गर्ने: (१) अनुमतिपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले प्राप्त गरेको अनुमतिपत्र हराएमा, च्यातिएमा वा नष्ट भएमा र अनुमतिपत्रमा उल्लिखित शर्तहरु परिवर्तन गर्नु पर्ने भएमा त्यस्तो अनुमतिपत्र रद्द गरी पुनः अनुमतिपत्र जारी गर्न सकिनेछ।
(२) उपनियम (१) बमोजिम पुनः अनुमतिपत्र प्राप्तिका लागि अनुमतिपत्र प्राप्त व्यक्ति, संस्था वा निकायले कारण खुलाई व्यवस्थापन निकाय समक्ष निवेदन दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम निवेदन परेमा व्यवस्थापन निकायले त्यस्तो अनुमतिपत्र रद्द गरी पहिले जुन प्रयोजनका लागि अनुमतिपत्र जारी गरिएको थियो सोही प्रयोजन र बाँकी अवधिका लागि अर्को अनुमतिपत्र जारी गर्न सक्नेछ।
(४) उपनियम (१) बमोजिम पुनः अनुमतिपत्र जारी गर्दा लाग्ने दस्तुर अनुसूची-१२ बमोजिम हुनेछ।
परिच्छेद -३ प्रजाति दर्ता, नामसारी तथा स्वामित्व हस्तान्तरण सम्बन्धी व्यवस्था
१२. सङ्कटापन्न वन्यजन्तु दर्ताका लागि निवेदन पेश गर्ने: (१) ऐनको दफा १३ को उपदफा (१) बमोजिम कुनै व्यक्ति, संस्था वा निकायले कुनै जीवित सङ्कटापन्न वन्यजन्तु अध्ययन,
अनुसन्धान, परीक्षण, प्रशिक्षण, प्रदर्शन, संरक्षण शिक्षा, जैविक स्रोत संरक्षण, शैक्षिक प्रयोजन वा अन्य कुनै प्रयोजनका लागि राखेको, प्रयोग गरेको वा कुनै सङ्कटापन्न वन्यजन्तु पालनपोषण गरेको वा घरपालुवा बनाई त्यसबाट लाभ प्राप्त गरेको भए यो नियमावली प्रारम्भ भएको मितिदेखि एक वर्षभित्र त्यस्तो वन्यजन्तु दर्ताको लागि प्रयोजन खुलाई अनुसूची-१३ बमोजिमको ढाँचामा व्यवस्थापन निकाय समक्ष निवेदन पेश गर्नु पर्नेछ।
(१क) उपनियम (१) बमोजिमको अवधिभित्र निवेदन दिन नसक्ने व्यक्ति, संस्था वा निकायले यो उपनियम प्रारम्भ भएको मितिदेखि छ महिनाभित्र त्यस्तो वन्यजन्तु दर्ताको लागि उपनियम (१) मा उल्लेखित ढाँचामा व्यवस्थापन निकाय समक्ष निवेदन पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) वा (१क) बमोजिमको निवेदन सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, संरक्षण क्षेत्र कार्यालय वा डिभिजन वन कार्यालय मार्फत दिन सकिनेछ।
(३) उपनियम (२) बमोजिम राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, संरक्षण क्षेत्र कार्यालय वा डिभिजन वन कार्यालयमा प्राप्त भएको निवेदन सम्बन्धित कार्यालयले व्यवस्थापन निकायमा पठाउनु पर्नेछ।
(४) उपनियम (१) वा (१क) बमोजिम सङ्कटापन्न वन्यजन्तु दर्ता गर्न चाहिने व्यक्ति, संस्था वा निकायले दर्ता गर्न चाहेको वन्यजन्तुको स्रोतको विवरण सहित संरक्षण वा पालनपोषण सम्बन्धी योजना समेत पेश गर्नु पर्नेछ।
१३. वन्यजन्तु दर्ता गर्ने : (१) नियम १२ बमोजिम वन्यजन्तु दर्ताको लागि परेको निवेदन उपर जाँचबुझ गरी व्यवस्थापन निकायले सम्बन्धित व्यक्ति, संस्था वा निकायका नाममा त्यस्तो सङ्कटापन्न वन्यजन्तु दर्ता गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम सम्बन्धित व्यक्ति, संस्था वा निकायका नाममा सङ्कटापन्न वन्यजन्तु दर्ता गर्नु अघि व्यवस्थापन निकायले वैज्ञानिक निकायसँग परामर्श माग्न सक्नेछ।
५ पहिलो संशोधनद्वारा थप। ४ पहिलो संशोधनद्वारा संशोधित।
(३) यस नियम बमोजिम व्यवस्थापन निकायले वन्यजन्तु दर्ता गर्दा अनुसूची-१२ बमोजिमको दस्तुर लिई सम्बन्धित व्यक्ति, संस्था वा निकायलाई अनुसूची-१४ बमोजिमको दर्ता प्रमाणपत्र दिनु पर्नेछ ।
(४) कुनै एक व्यक्ति, संस्था वा निकायका नाममा एउटै मितिमा एकभन्दा बढी सङ्कटापन्न वन्यजन्तु दर्ता गरिएको भएमा सोको लागि एउटै प्रमाणपत्र दिन सकिनेछ ।
१४. वन्यजन्तुको संरक्षण र सुरक्षा : (१) नियम १३ बमोजिम दर्ता गरिएको सङ्कटापन्न वन्यजन्तुको संरक्षणको दायित्व सम्बन्धित व्यक्ति, संस्था वा निकायमा निहित रहनेछ ।
(२) नियम १३ बमोजिम दर्ता गरिएको वन्यजन्तु जुन प्रयोजनको लागि दर्ता गरिएको हो सोही प्रयोजनको लागि मात्र उपयोग गर्न सकिनेछ ।
(३) नियम १३ बमोजिम दर्ता गरिएको वन्यजन्तुको संरक्षण र सुरक्षाका लागि सो नियमको उपनियम (१) बमोजिमको व्यक्ति, संस्था वा निकायले नियम १२ को उपनियम (४) बमोजिमको योजनाको पालना गर्नु पर्नेछ ।
(४) नियम १३ बमोजिम दर्ता गरिएको वन्यजन्तु कुनै कारणले बिरामी परेमा वा घाइते भएमा तत्काल उपचारको व्यवस्था गर्नु पर्नेछ ।
(५) नियम १३ बमोजिम दर्ता गरिएको वन्यजन्तुको संरक्षणका लागि गरिएका कार्यहरूको बारेमा संक्षिप्त प्रगति प्रतिवेदन तयार गरी प्रत्येक वर्ष व्यवस्थापन निकाय समक्ष पेश गर्नु पर्नेछ ।
(६) नियम १३ बमोजिम दर्ता गरिएको वन्यजन्तुको मृत्यु भएमा तत्काल सम्बन्धित राष्ट्रिय कुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, संरक्षण क्षेत्र कार्यालय वा डिभिजन वन कार्यालय समक्ष जानकारी गराई वन्यजन्तुको मृत शरीर र उपलब्ध भएसम्म सोको नमुना समेत सम्बन्धित कार्यालयलाई हस्तान्तरण गर्नु पर्नेछ ।
तर मनासिब कारणले वन्यजन्तुको मृत शरीर उपलब्ध नभएको अवस्थामा उपलब्ध भएसम्मको नमुना हस्तान्तरण गर्नु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम हस्तान्तरण भएको वन्यजन्तुको मृत शरीर वा सोको नमुना सम्बन्धित कार्यालयले त्यस्तो वन्यजन्तु दर्ता गर्ने व्यक्ति, संस्था वा निकाय र स्थानीय जन प्रतिनिधिको रोहबरमा मुचुल्का तयार गरी पछि प्रयोगमा ल्याउन नमिल्ने गरी जलाएर, गाडेर वा अन्य कुनै तरिकाले नष्ट गर्नु पर्नेछ ।
(८) उपनियम (७) बमोजिम नष्ट गरिएको वन्यजन्तु वा सोको नमुनाको विवरण सम्बन्धित कार्यालयले व्यवस्थापन निकाय समक्ष पन्ध्र दिनभित्र पेश गर्नु पर्नेछ ।
(९) उपनियम (८) बमोजिम प्राप्त भएको विवरणको आधारमा व्यवस्थापन निकायले नियम १३ बमोजिमको प्रमाणपत्र रद्द गर्नेछ ।
(१०) नियम १३ बमोजिम दर्ता गरिएको कारणले मात्र ऐन तथा यस नियमावली बमोजिम अनुमतिपर नलिई त्यस्तो वन्यजन्तु निकासी वा पैठारी गर्न वा व्यावसायिक रुपमा उपयोग गर्न पाइने छैन ।
१५. सङ्कटापन्न वन्यजन्तु जफत गर्ने : (१) देहायको अवस्थामा सङ्कटापन्न वन्यजन्तु जफत हुनेछ :-
(क) नियम १२ बमोजिम निर्धारित समयभित्र सङ्कटापन्न वन्यजन्तु दर्ता नगरी कुनै व्यक्ति, संस्था वा निकायले आफूसँग राखेमा,
(ख) जुन प्रयोजनका लागि सङ्कटापन्न वन्यजन्तु दर्ता गरेको हो सो प्रयोजन विपरीत उपयोग वा प्रयोग गरेमा,
(ग) व्यवस्थापन निकायबाट अनुमतिपर नलिई सङ्कटापन्न वन्यजन्तुको दर्ता प्रमाणपत्रको स्वामित्व हस्तान्तरण गरेमा,
(घ) नियम १३ बमोजिम दर्ता गरिएका वन्यजन्तुको पालनपोषण वा संरक्षणको लागि नियम १२ को उपनियम (४) बमोजिमको योजनाको व्यवस्था पालना नगरी वा त्यस्तो योजनामा उल्लिखित व्यवस्था विपरीत कार्य गरी वन्यजन्तुलाई हानि नोक्सानी पुर्याएमा ।
(२) उपनियम (१) बमोजिमको अवस्था विद्यमान रहेको कुरा जानकारी भएमा व्यवस्थापन निकायले तत्काल त्यस्तो कार्यमा रोक लगाई नियम १२ को उपनियम (४) बमोजिमको योजना बमोजिम वन्यजन्तु संरक्षणको व्यवस्था मिलाउन निर्देशन दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम व्यवस्थापन निकायले दिएको निर्देशन पालना नभएमा सो निकायले सङ्कटापन्न वन्यजन्तु जफत गर्न सक्नेछ ।
(४) यस नियम बमोजिम जफत गरिएको वन्यजन्तुको संरक्षणको व्यवस्था व्यवस्थापन निकायले मिलाउनु पर्नेछ ।
(५) यस नियम बमोजिमको काम गर्दा आवश्यक पर्ने सुरक्षा व्यवस्थाको लागि व्यवस्थापन निकायले सम्बन्धित निकायको सहयोग माग गर्न सक्नेछ र व्यवस्थापन निकायलाई त्यस्तो सहयोग उपलब्ध गराउनु सम्बन्धित निकायको कर्तव्य हुनेछ ।
१६. पैठारी गरिएका वन्यजन्तु वा वनस्पति वा सोको नमुना दर्ता : ऐन बमोजिम पैठारी गरिएका वन्यजन्तु वा वनस्पति वा सोको नमुना दर्ता गराउन चाहिने व्यक्ति, संस्था वा निकायले पैठारी गरेको पैंतीस दिनभित्र ऐनको दफा १४ को उपदफा (२) मा उल्लेखित कागजातको अतिरिक्त पैठारी गरिएका वन्यजन्तु वा वनस्पति वा सोको नमुनाको व्यवस्थापनका लागि संक्षिप्त योजना सहित व्यवस्थापन निकायमा निवेदन दिनुपर्नेछ ।
१७. पैठारी दर्ता प्रमाणपत्र : (१) नियम १६ बमोजिम वन्यजन्तु वा वनस्पति वा सोको नमुना दर्ताको लागि निवेदन पेश गरिएकोमा व्यवस्थापन निकायले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी त्यस्तो वन्यजन्तु वा वनस्पति दर्ता गर्न उपयुक्त देखेमा पैठारी गरिएका वन्यजन्तु वा वनस्पति वा सोको नमुना सम्बन्धित व्यक्ति, संस्था वा निकायका नाममा दर्ता गरी अनुसूची-१५ बमोजिमको ढाँचामा प्रमाणपत्र दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम पैठारी गरिएका वन्यजन्तु वा वनस्पति वा सोको नमुना दर्ता गर्दा अनुसूची-१२ बमोजिमको दस्तुर लाग्नेछ ।
१८. नर्सरी दर्ता गर्नु पर्ने : (१) दुर्लभ वनस्पतिको नियन्त्रित प्रजननका लागि नर्सरी स्थापना गर्न चाहिने व्यक्ति, संस्था वा निकायले व्यवस्थापन निकाय समक्ष देहायका कागजात संलग्न गरी नर्सरी दर्ताका लागि निवेदन दिनुपर्नेछ :-
(क) नर्सरीमा नियन्त्रित प्रजनन गरी व्यवस्थापन गर्न प्रस्ताव गरिएका दुर्लभ वनस्पतिको व्यवस्थापन योजना, (ख) नर्सरीलाई सम्बन्धित सरकारी निकायमा समूह, उद्यम, उद्योग, सहकारी संस्था वा कम्पनीको रुपमा दर्ता गरेको प्रमाणपत्र ।
(२) उपनियम (१) बमोजिम पेश गरिएको निवेदन र कागजात जाँचबुझ गर्दा व्यहोरा मनासिब लागेमा व्यवस्थापन निकायले दुर्लभ वनस्पतिको नियन्त्रित प्रजनन र व्यवस्थापन गर्ने नर्सरी दर्ता गरी अनुसूची-१६ बमोजिमको ढाँचामा नर्सरी दर्ता प्रमाणपत्र दिनुपर्नेछ ।
१९. हक हस्तान्तरण वा नामसारी गर्न सक्ने : (१) नियम १३ वा १७ बमोजिम दर्ता गरिएका सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमुनाको हक हस्तान्तरण वा
नामसारी गर्न चाहने व्यक्ति, संस्था वा निकायले हक हस्तान्तरण वा नामसारी गर्नु पर्ने कारण सहित व्यवस्थापन निकाय सम्म निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम हक हस्तान्तरण वा नामसारीको लागि निवेदन पेश गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछ:-
(क) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमुना दर्ताको नियम १३ वा १७ बमोजिमको प्रमाणपत्र,
(ख) व्यक्तिको हकमा नागरिकताको प्रतिलिपि र समूह, संस्था, उद्योग वा कम्पनीको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
(३) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमुनाको हक हस्तान्तरण वा नामसारीको लागि उपनियम (१) बमोजिमको कुनै निवेदन प्राप्त भएकोमा व्यवस्थापन निकायले सो सम्बन्धमा आवश्यक छानबिन गर्दा व्यहोरा मनासिब लागेमा हक हस्तान्तरण वा नामसारी गर्ने निर्णय गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमुनाको हक हस्तान्तरण गर्ने निर्णय भएकोमा व्यवस्थापन निकायले त्यस्तो व्यक्ति, संस्था वा निकायलाई अनुसूची-१७ बमोजिमको ढाँचामा हक हस्तान्तरण वा नामसारीको प्रमाणपत्र दिनु पर्नेछ ।
परिच्छेद-४ व्यवस्थापन निकाय र वैज्ञानिक निकायका अन्य कार्य
२०. व्यवस्थापन निकायका अन्य कार्य : ऐनको दफा १७ मा उल्लिखित कार्यका अतिरिक्त व्यवस्थापन निकायले देहाय बमोजिमका कार्य गर्न सक्नेछ :-
(क) ऐन र यस नियमावली बमोजिम वन्यजन्तु वा वनस्पति वा सोको नमुनाको कारोबारका विषयमा अनलाइन दर्ता र निगरानी प्रक्रियाको विकास गर्ने,
(ख) महासन्धिन्धि का पक्षी रहेका अन्य मुलुकको व्यवस्थापन निकायसँग समन्वय, सम्पर्क र आवश्यकता अनुसार सहयोग आदान प्रदान गर्ने ।
२१. वैज्ञानिक निकायका अन्य कार्य : ऐनको दफा १९ मा उल्लिखित कार्यका अतिरिक्त वैज्ञानिक निकायले देहाय बमोजिमका कार्य गर्न सक्नेछ :-
(क) सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको नमुना पहिचान, विश्लेषण र अध्ययन सम्बन्धमा आवश्यक कार्य गर्ने,
(ख) आवश्यकता अनुसार प्रयोगशालाहरुको स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने,
(ग) महासन्धिपक्षक अन्य मुलुकको वैज्ञानिक निकायसँग समन्वय, सम्पर्क र आवश्यकता अनुसार सहयोग आदान प्रदान गर्ने ।
परिक्च्छेद-५ विविध
२२. व्यवस्थापन योजना : व्यवस्थापन निकायले सम्बन्धित वैज्ञानिक निकायसँग परामर्श गरी नेपालबाट निकासी हुने वन्यजन्तु वा वनस्पतिको परिमाण (कोटा) समेत निर्धारण गरी व्यवस्थापन योजनातजुमा गर्नेछ ।
२३. सङ्ख्या वा परिमाण निर्धारण गर्ने : (१) ऐनको दफा २७ को उपदफा (१) को प्रयोजनको लागि व्यवस्थापन निकायले उपहार प्रदान गर्न सकिने वनस्पति वा सोको नमुनाको सङ्ख्या वा परिमाण निर्धारण गर्दा उपहार प्रदान गर्ने मुलुकको व्यवस्थापन निकायसँग समन्वय गरी आवश्यकता र औचित्यताका आधारमा उपहार स्वरूप प्रदान गर्न सकिने वनस्पति वा सोको नमुनाको सङ्ख्या वा परिमाण निर्धारण गर्नु पर्नेछ ।
(२) वन तथा वातावरण मन्त्रालयले उपहार स्वरूप प्रदान गरिएको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमुना सम्बन्धी संक्षिप्त विवरण नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
२४. दृश्यावलोकन वा प्रदर्शनी प्रयोजनका लागि लाग्ने शुल्क : ऐनको दफा २९ को प्रयोजनको लागि सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमुनाको दृश्यावलोकन वा प्रदर्शनीमा कुनै व्यक्ति, संस्था वा निकायले प्रवेश शुल्क वा अवलोकन शुल्कको रुपमा बढीमा एक सय रुपैयाँसम्म लिन सक्नेछ ।
२५. वैज्ञानिक परीक्षणका प्रयोगशाला : (१) ऐनको दफा ३० को उपदफा (७) को प्रयोजनको लागि देहाय बमोजिमका प्रयोगशालाबाट वैज्ञानिक परीक्षण गर्न गराउन सकिनेछ :-
(क) वनस्पति विभाग अन्तर्गतको प्रयोगशाला,
(ख) राष्ट्रिय विधि विज्ञान प्रयोगशाला,
(ग) त्रिभुवन विश्वविद्यालय अन्तर्गतको प्राकृतिक विज्ञान सङ्ग्रहालयको प्रयोगशाला,
(घ) वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र मातको प्रयोगशाला,
(ङ) नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रयोगशाला,
(च) राष्ट्रिय प्रकृति संरक्षण कोषको प्रयोगशाला ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियम बमोजिमको प्रयोगशालाबाट परीक्षण हुन नसक्ने भएमा वा अनुसन्धानको प्रभावकारिताको लागि थप परीक्षण गर्नु पर्ने भएमा व्यवस्थापन निकायले स्वदेश वा विदेश स्थित अन्य प्रयोगशालाबाट समेत नमुना परीक्षणको व्यवस्था मिलाउन सक्नेछ ।
२६. सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको यकिन गर्ने : कुनै वन्यजन्तु वा वनस्पति सङ्कटापन्न वन्यजन्तु वा वनस्पति भए नभएको सम्बन्धमा वैज्ञानिक निकायले महासन्धिको आधिकारिक वेबसाइटमा प्रकाशित अनुसूची-१, २ र ३ मा रहेको सूचीलाई आधार मानी यकिन गर्न सक्नेछ ।
२७. समन्वय समितिको बैठक सम्बन्धी कार्यविधि : (१) समन्वय समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
तर त्यस्तो बैठक वर्षमा कम्तीमा एक पटक बस्नु पर्नेछ ।
(२) समन्वय समितिको संयोजकको परामर्शमा सदस्य-सचिवले बैठक बोलाउनेछ ।
(३) समन्वय समितिको बैठकको अध्यक्षता सो समितिको संयोजकले गर्नेछ र निज उपस्थित नभएमा बैठकमा उपस्थित सदस्यहरूले छानेको सदस्यले अध्यक्षता गर्नेछ ।
(४) समन्वय समितिको निर्णय बहुमतको आधारमा हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(५) समन्वय समितिको बैठकका निर्णय अध्यक्ष र सदस्य-सचिवले प्रमाणित गर्नु पर्नेछ ।
(६) समन्वय समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।
२८. वार्षिक विवरण सार्वजनिक गर्ने : (१) ऐनको दफा ३३ को उपदफा (१) बमोजिम अभिलेख राखिएको विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र व्यवस्थापन निकाय र वैधानिक निकायको वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको विवरणका आधारमा मन्त्रालय वा मन्त्रालयले तोकेको निकायले महासन्धिको सचिवालयले तोकेको ढाँचामा वार्षिक प्रतिवेदन तयार गर्नु पर्नेछ ।
२९. कोष व्यवस्थापन : (१) कोषमा देहाय बमोजिमको रकम रहनेछ:-
(क) नेपाल सरकारबाट प्राप्त अनुदान रकम, (ख) स्वदेशी व्यक्ति वा संस्थाबाट अनुदान स्वरूप प्राप्त रकम, (ग) विदेशी व्यक्ति, संस्था वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट अनुदान स्वरूप प्राप्त रकम,
(२) उपनियम (१) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ ।
(३) कोषको नाममा प्राप्त हुने रकम कुनै "क" वर्गको वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ ।
(४) कोषको व्यवस्थापनको लागि देहाय बमोजिमको कोष व्यवस्थापन समिति रहनेछ:-
(क) राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक -संयोजक (ख) त्रिभुवन विश्वविद्यालय, प्राकृतिक विज्ञान सङ्ग्रहालयको प्रतिनिधि -सदस्य (ग) वनस्पति विभागको प्रतिनिधि -सदस्य (घ) वन्यजन्तु संरक्षण तथा निकासी वा पैठारीमा संलग्न, व्यक्ति, संस्था वा निकायबाट एक जना महिला सहित बढीमा दुई
जनप्रतिनिधि -सदस्य
(ङ) वन तथा भू-संरक्षण विभागको प्रतिनिधि -सदस्य-सचिव
(५) कोष व्यवस्थापन समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।
(६) कोषमा जम्मा भएको रकम ऐनको दफा ३४ को उपदफा (१) मा उल्लेख भए बमोजिम सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको संरक्षण, संवर्द्धन, अध्ययन तथा अनुसन्धान प्रयोजनको लागि उपयोग गरिनेछ।
(७) कोषको प्रशासनिक तथा आर्थिक व्यवस्थापनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आवश्यक कर्मचारीको व्यवस्था गर्नेछ।
३०. अनुसूचीमा हेरफेर गर्न सक्ने : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीको अनुसूचीमा आवश्यक हेरफेर गर्न सक्नेछ।
अनुसूची-१ (नियम ३ को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित)
सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमुना निकासी, पैठारी वा पुन: निकासी अनुमतिपत्रको लागि दिइने निवेदनको ढाँचा
श्री महानिर्देशकज्यू, वन तथा भू-संरक्षण विभाग/राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ।
विषय : .................... अनुमतिपत्र पाऊँ ।
सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ बमोजिम देहाय बमोजिमको वन्यजन्तु/वनस्पति/सोको नमुना निकासी/पैठारी/पुन: निकासीको अनुमतिपत्रका लागि यो निवेदन पेश गरेको छु/छौँ ।
१. प्रयोजन : नमुना निकासी/पैठारी/पुन: निकासी २. निकासीकर्ता/पैठारीकर्ताको विवरण : नाम : ठेगाना : देश : टेलिफोन नम्बर : फ्याक्स नम्बर : इमेल ठेगाना : ३. निकासी/पैठारी/पुन: निकासी गर्ने वन्यजन्तु/वनस्पति/सोको नमुनाको विवरण : ४. निकासी वा पैठारी गर्ने परिमाण : ५. निकासी वा पैठारी गर्ने मिति अवधि (अनुमानित) : ६. निकासी वा पैठारीको माध्यम : हवाई मार्ग $\div$ स्थल मार्ग $\div$ हुलाक वा एजेन्ट मार्फत $\div$ साथमा ७. नमुना निकासी हुने साधन : ८. नमुना निकासी हुने भन्सार नाका : ९. वन्यजन्तु, वनस्पति वा नमुना प्राप्तिको स्रोत : १०. निकासी/पैठारीको उद्देश्य : ११. हबवाला वा प्रतिनिधि घोषणा गरिएमा तिनको नाम, ठेगाना :
मैले प्राप्त गरेका प्रजाति तथा नमुनाहरु प्रचलित कानून बमोजिम प्राप्त गरेको हुँ र कानून बमोजिम निकासी/पैठारी गर्न मिल्छ । अनुमति प्राप्त गर्ने सन्दर्भमा माथि लेखिएका सम्पूर्ण
विवरणहरू साँचो छन् । झुट्टा ठिरिएमा कानून बमोजिम सुल्झाउँला बुझाउँला भनी सही छाप गरिदिएको छु/छौं।
निवेदकको विवरण : नाम, थर : ठेगाना : मिति : दस्तखत : संस्थाको छाप (संस्थाको हकमा मात्र):
संलग्न कागजातहरू : (क) वन्यजन्तु/वनस्पति/सोको नमुना प्रचलित कानून बमोजिम प्राप्त गरेको स्रोत खुल्ने कागजातहरू । (ख) व्यक्तिको हकमा नागरिकताको प्रमाणपर वा पासपोर्टको प्रतिलिपि, संस्थाको हकमा संस्था दर्ता, नवीकरण र कर चुक्ता समेतको विवरण खुल्ने कागजातहरू । (ग) व्यावसायिक योजना एवं अन्य आवश्यक विवरणहरू । (घ) नर्सरी दर्ता प्रमाण पत्र (दुर्लभ वनस्पतिको व्यावसायिक उद्देश्यका लागि मात्र) ।
अनुसूची-२ (नियम ३ को उपनियम (१) को खण्ड (ख) र (ङ) सँग सम्बन्धित)
सङ्कटापन्न वन्यजन्तु वा सोको नमुना राख्न, प्रयोग गर्न, पालनपोषण गर्न, उत्पादन गर्न वा ओसारपसार गर्न तथा दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा सोको नमुना नियन्त्रित प्रजनन गर्न अनुमतिपत्रको लागि दिइने निवेदनको ढाँचा
श्री महानिर्देशकज्यू, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ।
विषय : .................... अनुमतिपत्र पाऊँ ।
सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ अनुसार देहाय बमोजिमको वन्यजन्तुको नमुना राख्न/प्रयोग गर्न/पालनपोषण गर्न/उत्पादन गर्न/ओसारपसार गर्न/नियन्त्रित प्रजनन गर्न अनुमतिपत्रका लागि यो निवेदन पेश गरेको छु/छौं ।
१. प्रयोजन : २. वन्यजन्तुको विवरण: नाम : वैज्ञानिक नाम : सङ्ख्या : भाले : पोथी : अनुमानित उमेर : ३. वन्यजन्तु उपलब्धताको स्रोत: स्थान : संस्था : देश : ४. वन्यजन्तु राख्ने/पालन गर्ने स्थानको विवरण : ५. वन्यजन्तु पालनको हकमा : वन्यजन्तुको सङ्ख्या (अनुमानित) : वन्यजन्तु र मानवको सुरक्षाको बन्दोबस्त विवरण : ६. वन्यजन्तुको प्रयोग गर्ने भए सो सम्बन्धी विवरण : ७. वन्यजन्तु उत्पादन/नियन्त्रित प्रजननको हकमा सो सम्बन्धी विवरण : ८. वन्यजन्तु ओसारपसार गर्ने हकमा : हाल वन्यजन्तु रहेको ठाउँ : वन्यजन्तु लैजाने ठाउँ : ओसारपसार गर्न लाग्ने अनुमानित अवधि : ओसारपसार गर्ने साधन :
मैले प्राप्त गरेका वन्यजन्तु तथा नमुनाहरु प्रचलित कानून बमोजिम प्राप्त गरेको हुँ । माथि लेखिएका सम्पूर्ण विवरणहरु साँँचो छन् । झुट्टा ठहरिएमा कानून बमोजिम सहुला बुझाउँला भनी सही छाप गरिदिएको छु ।
निवेदकको विवरण : नाम, थर : ठेगाना : मिति : दस्तखत : संस्थाको छाप (संस्थाको हकमा मात्र):
संलग्न कागजातहरु : (क) वन्यजन्तु, वा सोको नमुना प्रचलित कानून बमोजिम प्राप्त गरेको स्रोत खुल्ने कागजातहरु । (ख) व्यक्तिको हकमा नागरिकताको प्रमाणपत्र वा पासपोर्टको प्रतिलिपि, संस्थाको हकमा संस्था दर्ता, नवीकरण र कर चुक्ता समेतको विवरण खुल्ने कागजातहरु । (ग) वन्यजन्तु सुरक्षाको विवरण ।
अनुसूची-३
(नियम ३ को उपनियम (१) को खण्ड (ग), (ङ) र (च) सँग सम्बन्धित)
सङ्कटापन्न वनस्पति वा सोको नमुना रोप्न, हुर्काउन, राख्न, प्रयोग गर्न, उत्पादन गर्न, बीउको रुपमा व्यापार गर्न, ओसारपसार गर्न वा नियन्त्रित प्रजनन गर्न अनुमतिपत्रको लागि दिइने निवेदनको ढाँचा
श्री महानिर्देशकज्यू, वन तथा भू-संरक्षण विभाग ।
विषय : .................... अनुमतिपत्र पाउँ ।
सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ अनुसार देहायको वनस्पति रोप्न/हुर्काउन/राख्न/प्रयोग गर्न/उत्पादन गर्न/बीउको रुपमा व्यापार गर्न/ओसारपसार गर्न/नियन्त्रित प्रजनन गर्न अनुमतिपत्रका लागि यो निवेदन पेश गरेको छु/छौँ ।
१. वनस्पतिको नाम : २. वैज्ञानिक नाम : ३. महासन्धिधको अनुसूची : १/२/३ ४. परिमाण : ५. रोप्ने/राख्ने क्षेत्र/स्थान (निजीमा भए जग्गाधनी प्रमाण पुर्जा समेत समावेश गर्नु पर्ने) : ६. प्राकृतिक वा वृक्षारोपण गरी हुर्काएको भए सोको विवरण : ७. प्राप्ति को स्रोत : निजी/राष्ट्रिय वन/पैठारी गरिएको ८. वनस्पति प्रयोग गर्ने भए सो सम्बन्धी विवरण : ९. वनस्पति उत्पादन/बीउको रुपमा व्यापार गर्ने हकमा सो सम्बन्धी विवरण : १०. वनस्पति ओसारपसार गर्ने हकमा :
हाल वनस्पति राखिएको ठाउँ : वनस्पति लै जाने ठाउँ : ओसारपसार गर्न लाग्ने अनुमानित अवधि : ओसारपसार गर्ने साधन :
११. वनस्पति वा सोको नमुना नियन्त्रित प्रजनन गर्ने हकमा सो सम्बन्धी विवरण :
संलग्न कागजातहरु :
१. ......
२. ......
निवेदक नाम, थर : दस्तखत : ठेगाना : मिति :
अनुसूची-४ (नियम ३ को उपनियम (१) को खण्ड (घ) सँग सम्बन्धित)
दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सोको नमुना खरिद बिक्री वा अध्ययन, अनुसन्धान, परीक्षण, तालीम, प्रदर्शनी, संरक्षण शिक्षा, जैविक स्रोत संरक्षण वा शैक्षिक प्रयोजनमा उपयोग गर्न अनुमतिपत्रको लागि दिइने निवेदनको ढाँचा
श्री महानिर्देशकज्यू, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग/वन तथा भू-संरक्षण विभाग।
विषय : .................... अनुमतिपत्र पाउँ ।
सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ अनुसार देहायका वन्यजन्तु/वनस्पति/सोको नमुना खरिद बिक्री/अध्ययन/अनुसन्धान/परीक्षण/तालीम/प्रदर्शनी/संरक्षण शिक्षा/जैविक स्रोत संरक्षण/शैक्षिक प्रयोजनमा उपयोग गर्न अनुमतिपत्रको लागि यो निवेदन पेश गरेको छु/छौं।
१. वन्यजन्तु/वनस्पतिको विवरण: नाम : वैज्ञानिक नाम :
२. परिमाण :
३. प्राप्तिको स्रोत :
४. प्रयोजन :
५. वनस्पति अध्ययन/अनुसन्धान/परीक्षण/तालीम/प्रदर्शनी/संरक्षण शिक्षा/जैविक स्रोत संरक्षण/शैक्षिक प्रयोजनमा उपयोग गर्ने हकमा सो वनस्पति राख्ने स्थानको विवरण :
६. वन्यजन्तु अध्ययन/अनुसन्धान/परीक्षण/तालीम/प्रदर्शनी/संरक्षण शिक्षा/जैविक स्रोत संरक्षण/शैक्षिक प्रयोजनमा उपयोग गर्ने हकमा : वन्यजन्तुको सङ्ख्या (अनुमानित) : वन्यजन्तु र मानवको सुरक्षाको बन्दोबस्त विवरण :
७. वन्यजन्तु/वनस्पति खरिद बिक्रीको हकमा : विक्रेताको व्यक्तिगत विवरण : क्रेताको व्यक्तिगत विवरण :
परिमाण (अनुमानित) :
संलग्न कागजातहरू :
१. ......
२. ......
निवेदक नाम, थर : दस्तखत : ठेगाना : मिति :
अनुसूची-५ (नियम ३ को उपनियम (२) सँग सम्बन्धित) व्यवसायिक योजनाको ढाँचा
कार्यकारी सारांश : १. परिचय (क) व्यक्ति, संस्था वा निकायको विवरण: (ख) पालन/प्रजनन गरिने प्रजातिको संक्षिप्त विवरण: (ग) बिउ प्राणीको स्रोत : (घ) क्षेत्र : (ङ) पारिस्थितिकीय विवरण : (च) उद्देश्यहरू : (छ) पालन/प्रजननका कानूनी आधार : २. प्रजातिको अवस्था (क) विविधता र वितरण : (ख) पुनरुत्पादन तथा वृद्धि : (ग) जनघनत्व र जनसङ्ख्याको स्वरूप : (घ) वार्षिक जनसङ्ख्या वृद्धि : ३. प्रजाति तथा स्रोतको व्यवस्थापन (क) व्यवस्थापन विधि : (ख) पूर्वाधारको अवस्था : (ग) व्यवस्थापन क्षमता : (घ) समय तालिका : ४. आर्थिक योजना : ५. अनुसन्धान तथा बजार व्यवस्थापन : ६. जोखिम न्यूनीकरण (क) जोखिम पहिचान : (ख) जोखिम न्यूनीकरण : ७. अनुगमन तथा अभिलेख व्यवस्थापन (क) अनुगमन गर्ने निकाय : (ख) अभिलेख राख्ने व्यवस्था : (ग) प्रतिवेदन पेश गर्ने व्यवस्था :
अनुसूची- ६ (नियम ७ को उपनियम (१) सँग सम्बन्धित)
वैज्ञानिक निकायले व्यवस्थापन निकायलाई उपलब्ध गराउने परामर्शको ढाँचा
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय / त्रिभुवन विश्वविद्यालय वनस्पति विभाग / प्राकृतिक विज्ञान सङ्ग्रहालय
मिति: ..................... श्री वन तथा भू-संरक्षण विभाग/राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ।
विषय: परामर्श दिइएको ।
सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ को अधीनमा रही देहायको प्रजाति वा सोको नमुनाको कारोबार गर्न सिफारिस सहितको परामर्श दिइएको छ ।
१. कारोबार गर्ने प्रजाति: २. प्रजातिको जनसाङ्ख्यिक विवरण: ३. प्रजातिको फैलावट (डिस्ट्रिब्युसन): ४. प्रजाति उपलब्धताको जनसाङ्ख्यिक प्रवृत्ति (पोपुलेसन ट्रेण्ड): ५. दीगो सङ्कलन तथा उपयोग: ६. अन्य जैविक तथा पारिस्थितिकीय प्रभाव पार्ने तत्वहरु: ७. व्यापार सम्बन्धी जानकारी (ट्रेड इन्फोर्मेसन): ८. अन्य केही भए: ९. वैज्ञानिक निकायको यकिन राय:
वैज्ञानिक निकायको प्रमुख: नाम, थर: पद: दस्तखत: मिति:
अनुसूची-७ (नियम ८ को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित)
सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमुनाको निकासी, पैठारी वा पुन: निकासी अनुमतिपत्रको ढाँचा
* Country in which the specimens were taken from the wild, bred in captivity of artificially propagated (Only in case of re-export) ** Only for specimens of Appendix-I species bred in captivity or artificially propagated for commercial purposes *** For pre-convention specimens
CITES PERMIT/ CERTIFICATE No.
अनुसूची-८ (नियम ८ को उपनियम (१) को खण्ड (ख) र (ङ) सँग सम्बन्धित)
सङ्कटापन्न वन्यजन्तु पालनपोषण गर्न वा सोको नमुना राख्न, प्रयोग गर्न, उत्पादन गर्न, ओसारपसार गर्न वा नियन्त्रित प्रजनन गर्न दिइने अनुमतिपत्रको ढाँचा
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
श्री .............................. ............................
विषय: अनुमतिपत्र दिइएको।
तपाईले यस कार्यालयमा ...................................................... अनुमतिपत्रको लागि दिएको निवेदन उपर कार्रवाई हुँदा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ को अधीनमा रही देहायको शर्तहरुको पालना हुने गरी देहायको वन्यजन्तु ...................................... गर्न यो अनुमतिपत्र दिइएको छ।
१. वन्यजन्तुको विवरण: नाम : वैज्ञानिक नाम : सङ्ख्या : भाले : पोथी : अनुमानित उमेर :
२. वन्यजन्तु ओसारपसारको हकमा: हाल वन्यजन्तु रहेको ठाउँ : वन्यजन्तु लैजाने ठाउँ : ओसारपसार गर्नु पर्ने अवधि : ओसारपसार गर्ने साधन :
३. अनुमतिपत्र बहाल रहने अवधि :
शर्तहरु: १. ............. २. ............. ३. .............
अनुमतिपत्र दिने अधिकारीको : नाम, थर : दर्जा : दस्तखत : मिति :
अनुसूची-९ (नियम ८ को उपनियम (१) को खण्ड (ग), (ङ) र (च) सँग सम्बन्धित)
सङ्कटापन्न वनस्पति रोप्न, हुर्काउन वा सोको नमुना राख्न, प्रयोग गर्न, उत्पादन गर्न, बीउको रुपमा व्यापार गर्न वा नियन्त्रित प्रजनन गर्न दिइने अनुमतिपत्रको ढाँचा
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वन तथा भू-संरक्षण विभाग
श्री .............................. ............................
विषय: अनुमतिपत्र दिइएको ।
तपाईले यस कार्यालयमा ...................................................... अनुमतिपत्रको लागि दिएको निवेदन उपर कार्रवाई हुँदा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ को अधीनमा रही देहायको शर्तहरुको पालना हुने गरी देहायको वनस्पति ...................................... गर्न यो अनुमतिपत्र दिइएको छ ।
वनस्पतिको विवरण : अनुमतिपत्र बहाल रहने अवधि : शर्तहरु : १. ............. २. ............. ३. .............
अनुमतिपत्र दिने अधिकारीको :
नाम, थर :
दर्जा :
दस्तखत :
मिति :
अनुसूची-१० (नियम ८ को उपनियम (१) को खण्ड (ग) सँग सम्बन्धित) सङ्कटापन्न वनस्पति वा सोको नमुना ओसारपसार गर्न दिइने अनुमतिपत्रको ढाँचा
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वन तथा भू-संरक्षण विभाग
श्री ............................. ...................
विषय: अनुमतिपत्र दिइएको ।
तपाईले यस कार्यालयमा मिति ...................मा दिएको निवेदन उपर कार्रवाई हुँदा देहाय बमोजिमको वनस्पति तथा सोको नमुना ..... दिनभित्र ................ स्थानबाट ............. स्थानसम्म उठाई लै जाने गरी अनुमतिपत्र दिइएको छ । बाटोमा पर्ने वन चेकपोष्टहरूबाट अनिवार्य रुपमा दर्पीठ गराई लै जानुहोला ।
वनस्पतिको विवरण
अनुमतिपत्र दिने अधिकारीको नाम, थर : दर्जा : दस्तखत : मिति :
बोधार्थ/कार्यालय : १. श्री डिभिजन वन कार्यालय, ............................ । २. श्री वनस्पति विभाग, थापाथली, काठमाडौं । ३. श्री ................. प्रदेश वन निर्देशनालय, ............................ । ४. श्री ................. , सब-डिभिजन वन कार्यालय/पोष्ट ................... । ५. श्री ........................ कार्यालय, आर्थिक प्रशासन शाखा ।
नोट : अनुमतिपत्रको जानकारी सोही दिन विद्युतीय वा अन्य छिटो साधनबाट सम्बन्धित व्यवस्थापन निकाय तथा वैज्ञानिक निकायमा पठाउनु पर्नेछ ।
अनुसूची-११ (नियम ८ को उपनियम (१) को खण्ड (घ) सँग सम्बन्धित)
दुर्लभ वा लोपमुनख वन्यजन्तु वा वनस्पति वा सोको नमुना खरिद बिक्री गर्न वा अध्ययन, अनुसन्धान, परीक्षण, तालीम, प्रदर्शनी, संरक्षण शिक्षा, जैविक स्रोत संरक्षण वा शैक्षिक प्रयोजनमा उपयोग गर्न दिइने अनुमतिपत्रको ढाँचा
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग/वन तथा भू-संरक्षण विभाग
श्री .............................. ............................
विषय: अनुमतिपत्र दिइएको ।
तपाईले यस कार्यालयमा ...................................................... अनुमतिपत्रको लागि दिएको निवेदन उपर कार्रवाई हुँदा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ को अधीनमा रही देहायको शर्तहरुको पालना हुने गरी देहायको वन्यजन्तु/वनस्पति/सोको नमुना ...................................... गर्न यो अनुमतिपत्र दिइएको छ ।
१. वन्यजन्तु/वनस्पतिको विवरण : नाम : वैज्ञानिक नाम : वन्यजन्तु/वनस्पतिको सङ्ख्या :
२. वन्यजन्तु/वनस्पति खरिद बिक्रीको हकमा : हाल वन्यजन्तु/वनस्पति रहेको ठाउँ : वन्यजन्तु/वनस्पति लैजाने ठाउँ : ओसारपसार गर्ने साधन :
३. अनुमतिपत्र बहाल रहने अवधि :
शर्तहरु : १. ............. २. ............. ३. .............
अनुमतिपत्र दिने अधिकारीको : नाम, थर : दर्जा : दस्तखत : मिति :
अनुसूची-१२ (नियम ९ को उपनियम (१), नियम ११ को उपनियम (४), नियम १३ को उपनियम (३) र नियम १७ को उपनियम (२) सँग सम्बन्धित)
अनुमतिपत्र तथा प्रमाणपत्रका लागि लिइने दस्तुर
अनुसूची-१३ (नियम १२ को उपनियम (१) सँग सम्बन्धित)
सङ्कटापन्न वन्यजन्तु दर्ताका लागि दिइने निवेदनको ढाँचा
श्री महानिर्देशकज्यू, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, मार्फत डिभिजन वन कार्यालय/संरक्षण क्षेत्र कार्यालय ..................................................
विषय : सङ्कटापन्न वन्यजन्तु दर्ता गरी पाऊँ।
सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ को अधीनमा रही आफूसँग रहेको देहायको सङ्कटापन्न वन्यजन्तु दर्ताको लागि यो निवेदन पेश गरेको छु ।
१. प्रजातिको विवरण : नाम : वैज्ञानिक नाम : सङ्ख्या : भाले/पोथी : अनुमानित उमेर : २. सङ्ख्या/परिमाण : ३. वन्यजन्तु राखिएको स्थान : ४. स्रोतको विवरण : ५. सङ्कटापन्न वन्यजन्तु दर्ता गर्न चाहेको प्रयोजन : ६. अन्य थप विवरण :
निवेदक नाम, थर : दस्तखत : ठेगाना : मिति :
अनुसूची-१४ (नियम १३ को उपनियम (३) सँग सम्बन्धित)
सङ्कटापन्न वन्यजन्तु दर्ता प्रमाणपत्रको ढाँचा
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
श्री ............................. ............................. प्रमाणपत्र
तपाईंले यस निकायमा पेश गर्नु भएको निवेदन उपर कार्रवाई हुँदा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ को अधीनमा रही देहायको सङ्कटापन्न वन्यजन्तु दर्ता प्रमाणपत्र दिइएको छ।
वन्यजन्तु सम्बन्धी विवरण : १. प्रजातिको विवरण : नाम : वैज्ञानिक नाम : सङ्ख्या : भाले/पोथी : अनुमानित उमेर : २. सङ्ख्या/परिमाण : ३. वन्यजन्तु राखिएको स्थान : ४. स्रोतको विवरण : ५. सङ्कटापन्न वन्यजन्तु दर्ताको प्रयोजन :
प्रमाणपत्र दिने अधिकृतको : नाम, थर : दर्जा : दस्तखत : मिति :
अनुसूची-१५ (नियम १७ को उपनियम (१) सँग सम्बन्धित)
पैठारी गरिएका वन्यजन्तु वा वनस्पति वा सोको नमुना दर्ता प्रमाणपत्रको ढाँचा
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वन तथा भू-संरक्षण विभाग/राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
श्री ............................. .............................
प्रमाणपत्र
तपाईले यस निकायमा पेश गर्नु भएको निवेदन उपर कार्रवाई हुँदा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ को अधीनमा देहायका शर्तहरु कार्यान्वयन हुने गरी पैठारी गरिएका वन्यजन्तु/वनस्पति/सोको नमुनाको दर्ता प्रमाणपत्र दिइएको छ ।
वन्यजन्तु/वनस्पति/सोको नमुना सम्बन्धी विवरण : १. पैठारी गरिएको वन्यजन्तु/वनस्पति/सोको नमुना : २. सङ्ख्या/परिमाण : ३. प्रजातीको नाम : वैज्ञानिक नाम : ४. उत्पत्तिको मुलुक : ५. सम्बन्धित मुलुकको निकासी प्रमाण पत्रको नम्बर : ६. प्रयोजन :
प्रमाणपत्र दिने अधिकृतको : नाम, थर : दर्जा : दस्तखत : मिति :
अनुसूची-१६ (नियम १८ को उपनियम (२) सँग सम्बन्धित)
नर्सरी दर्ता प्रमाणपत्रको ढाँचा
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वन तथा भू-संरक्षण विभाग
श्री ............................. .............................
नर्सरी दर्ता प्रमाणपत्र
तपाईँले यस निकायमा पेश गर्नु भएको दुर्लभ वनस्पतिको नर्सरी दर्ता निवेदन उपर कार्रवाई हुँदा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ को अधीनमा देहायका शर्तहरू कार्यान्वयन हुने गरी यो नर्सरी दर्ता प्रमाणपत्र दिइएको छ ।
१. नर्सरी सञ्चालकको नाम, ठेगाना : २. नर्सरी स्थापना भएको मिति : ३. पुनउत्पादन विधि : ४. नर्सरीमा उत्पादन हुने वनस्पतिको प्रजाति : ५. माउ वनस्पति उत्पत्ति सम्बन्धी स्रोत खुल्ने कानूनी कागजात : ६. भविष्यमा निकासी गरिने वनस्पति तथा सोको नमुनाको अनुमानित परिमाण :
प्रमाणपत्र दिने अधिकारीको : नाम, थर : दर्जा : दस्तखत : मिति :
अनुसूची-१७ (नियम १९ को उपनियम (४) सँग सम्बन्धित)
हक हस्तान्तरण वा नामसारीको प्रमाणपत्रको ढाँचा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वन तथा भू-संरक्षण विभाग/राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
श्री ............................. .............................
हक हस्तान्तरण वा नामसारीको प्रमाणपत्र
तपाईंले यस निकायमा पेश गर्नु भएको ................................................. सम्बन्धि निवेदन उपर कारबाही हुँदा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ को अधीनमा देहायका शर्तहरू कार्यान्वयन हुने गरी ........................प्रमाणपत्र दिइएको छ ।
१. साविकको हक कायम रहेको व्यक्तिसंस्था वा निकायको नाम, ठेगाना : २. नामसारी वा हक हस्तान्तरण गरिएको व्यक्तिसंस्था वा निकायको नाम, ठेगाना : ३. नामसारी वा हक हस्तान्तरणको कारण : ४. सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमुनाको विवरण :
प्रजातिको नेपाली नाम : अङ्ग्रेजी नाम : स्थानीय नाम : वैज्ञानिक नाम : नमुना भए नमुनाको किसिम : प्राप्तिको स्रोत : सङ्ख्या/परिमाण : उत्पत्तिको मुलुक : पैठारी गरेको भए निकासी अनुमतिपत्रको विवरण : अन्य थप विवरण :
प्रमाणपत्र दिने अधिकारीको : नाम, थर : दर्जा : दस्तखत : मिति :*