सरकारी छात्रावास नियमावली, २०२९
नेपाल राजपत्रमा प्रकाशित मिति २०२९।९।११
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “सरकारी छात्रावास नियमावली, २०२९” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
(३) यो नियमावली नेपाल सरकारबाट सञ्चालित छात्रावासहरूका लागि मात्र लागू हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा-
(क) “छात्रावास” भन्नाले विद्यालय तथा महा-विद्यालयमा पढ्ने विद्यार्थीहरूको लागि भोजन तथा बस्ने प्रबन्ध भएको जुनसुकै भवन र त्यसले चर्चेको क्षेत्र समेतलाई सम्झनुपर्छ ।
(ख) “सुपरीवेक्षक” भन्नाले छात्रावास तथा छात्रावासमा बस्ने विद्यार्थीहरूको सुव्यवस्था तथा रेखदेख गर्न नियुक्त वा तोकिएको व्यक्तिलाई सम्झनु पर्छ ।
३. छात्रावासको व्यवस्था तथा सञ्चालन: (१) छात्रावासको व्यवस्था तथा सञ्चालनको निमित्त नेपाल सरकारबाट मनोनित अध्यक्ष तथा सदस्यहरू समेत भएको एक छात्रावास समिति (यसपछि “समिति” भनिएको) रहनेछ ।
(२) छात्रावासको व्यवस्था तथा सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउनु समितिको कर्तव्य हुनेछ ।
४. विद्यार्थीलाई भर्ना गर्ने: नेपाल सरकारबाट स्वीकृत विद्यालय तथा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्ध भएको महाविद्यालयमा पढ्ने विद्यार्थीहरूलाई मात्र अनुसूची बमोजिमको शर्तनामाको कागज गराई छात्रावासमा भर्ना गर्न सकिनेछ ।
५. छात्रावासको भाडा, भोजन खर्च र भर्ना शुल्क: नेपाल सरकार तर्फबाटै निःशुल्क भोजनको व्यवस्था भएको वा छात्रावासको भाडा, भर्ना तथा अन्य शुल्क नलाग्ने गरिएको छात्रावासमा बाहेक अरु छात्रावासमा छात्रावास भाडा, भोजनखर्च र भर्ना तथा अन्य शुल्क समितिले तोके बमोजिमको हुनेछ ।
तर त्यस्तो अन्य छात्रावासको हकमा समितिले उचित सम्झेमा विद्यार्थीहरूले आफै खर्च व्यहोर्ने गरी विद्यार्थीहरूबाट सञ्चालित वा अन्य कुनै व्यक्तिबाट सञ्चालित भोजनालयको व्यवस्था गराउन सक्नेछ ।
६. समितिको काम, कर्तव्य र अधिकार: समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) विद्यार्थीहरूको अध्ययनमा सदैव प्रोत्साहन मिल्ने किसिमले उन्हींहरूको सुविधालाई ध्यानमा राखी आवश्यक व्यवस्था मिलाउने,
(ख) विद्यार्थीहरूको भोजन प्रबन्ध नियमित तथा व्यवस्थित रूपले मिलाउने,
(ग) विद्यार्थीहरूको शारीरिक विकासको निमित्त व्यायाम तथा खेलकूदको साथै अतिरिक्त कार्यकलापको पनि प्रबन्ध मिलाउने,
(घ) बिरामी विद्यार्थीहरूको प्रारम्भिक उपचार आदिको प्रबन्ध गर्ने आवश्यक परे र स्थान उपलब्ध भए अस्पताल भर्ना गराउने,
(ङ) छात्रावासको सफाइ तथा पुस्तकालयको व्यवस्था गर्ने,
(च) नेपाल सरकारको, शिक्षा मन्त्रालयबाट निर्देशित अरू कामहरू गर्ने ,
(छ) छात्रावासको नियम विरुद्ध कुनै कार्य गरेमा त्यस्ता विद्यार्थीहरूलाई छात्रावासबाट निष्कासित गर्ने, र
(ज) छात्रावासको लागि आवश्यक बजेट बनाउने र नेपाल सरकारबाट निकासा भएको बजेट नेपाल सरकारको खर्च सम्बन्धी नियम अनुसार खर्च गर्ने ।
७. सुपरिवेक्षकको काम, कर्तव्य र अधिकार: छात्रावासको सुव्यवस्था तथा छात्रावासमा रहने विद्यार्थीहरूको रेखदेखको लागि छात्रावासमा एक सुपरिवेक्षक रहनेछ । निजको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) विद्यार्थीहरूको हाजिरी अभिलेख राख्ने, (ख) छात्रावासमा अनुशासन कायम राख्ने, (ग) विद्यार्थीहरूको अध्ययन तथा भोजनको रेखदेख गर्ने , (घ) विद्यार्थीहरूको छात्रावासको नियम पालन गर्न लगाउने, (ङ) समितिले निर्देशन दिएको कामहरू गर्ने , (च) छात्रावासको अवस्था र गतिविधिबारे समय समयमा समितिलाई अवगत गराउने, (छ) छात्रावास सम्बन्धी कागजात अध्यावधिक राख्ने, (ज) बिरामी विद्यार्थीहरूको उपचार आदिको उचित प्रबन्ध गर्ने ।
८. छात्रावासमा बस्ने अधिकारको कुरा नभएको: (१) यस नियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि छात्रावासमा भर्ना हुन, बस्न खान वा एक पटक भर्ना भएपछि छात्रावासमा रही रहन कुनै विद्यार्थीको अधिकारको कुरा हुने छैन ।
(२) उपनियम (१) को सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी खासगरी देहायको अवस्थामा कुनै व्यक्ति छात्रावासमा भर्ना हुन वा रहीरहन पाउने छैन:-
(क) विद्यार्थी नरहेमा,
(ख) कुनै उपाधि, डिप्लोमा, प्रमाणपत्रको परीक्षा दिइसकेकोमा सो दिइसकेको सात दिन पछि,
(ग) पढिरहेको विद्यालय महाविद्यालय वा कुनै परीक्षाबाट अवधि तोकी वा सबैको लागि निष्कासित भएमा चौबीस घण्टा पछि,
(घ) पढिरहेको विद्यालय, महाविद्यालय लामो विदाको वा कुनै कारणले लामो अवधिको लागि बन्द भएमा,
तर त्यस्तो अवस्थामा समितिले कुनै विद्यार्थीलाई कुनै परीक्षाको तयारीको लागि छात्रावासमा बस्न दिन सक्नेछ ।
(ङ) छात्रावासमा बस्ने कुनै विद्यार्थीको पाहुनाको रुपमा ।
तर सुपरीवेक्षकले कुनै विद्यार्थीलाई बढीमा तीन दिनसम्म पाहुना राख्न दिन सक्नेछ । त्यसरी राखिएको पाहुनाले छात्रावासको नियम पालन गर्नु पर्छ र सुपरीवेक्षकले भनेको बेलामा छात्रावास छाडी जानु पर्छ ।
अनुसूची (नियम ४ सँग सम्बन्धित) शर्तनामा
यस छात्रावासमा भर्ना हुन इच्छुक भएकोले दरखास्त दिई भर्ना हुन आएको छु । म यस छात्रावासमा रहँदासम्म छात्रावास नियमावली, २०२९ र उक्त छात्रावास सञ्चालन समितिका निर्देशनहरू समेतको पूर्णता पालन गरी अनुशासित ढंगबाट रहनेछु । छात्रावास नियमावली, २०२९ र सञ्चालक समितिका निर्देशनहरू समेतको पालन नगरेमा वा अनुशासन भङ्ग हुने काम गरेमा म उपर छात्रावास नियमावली, २०२९ अनुसार कारवाई भएमा मेरो मन्जुर छ ।
विद्यार्थीको हस्ताक्षर:-
पूरा नाम, थर, बतन:-
मिति:-