सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ नेपाल राजपत्रमा प्रकाशित मिति २०३३।८।२१
सामाजिक व्यवहार (सुधार) ऐन २०३३ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा “ऐन” भन्नाले सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ सम्झनु पर्छ।
३. भोजमा बोलाउने नजिकका नातेदारहरुको अधिकतम संख्याः सामाजिक व्यवहारमा भोजमा आमन्त्रण गर्दा ऐन बमोजिम आमन्त्रण गर्न पाउने इष्टमित्र र छरछिमेकीहरु बाहेक देहायको व्यवहारमा देहायमा लेखिएको भन्दा बढी नजिकको नातेदारलाई आमन्त्रण गर्न हुँदैन:-
४. साइपाटा वा सुपारी लाने सम्बन्धमाः साइपाटा वा सुपारी लाने प्रचलन भएकाहरुले आ-आफ्नो प्रचलन एवं वैदिक विधि अनुसार चाहिने पूजाको सामान र सुपारी, फलफूल, मिठाई र मसला जस्ता चीजबीजहरु सबै गरी पाँच कस्ती भन्दा बढी लैजान हुँदैन र त्यसरी साइपाटा वा सुपारी लैजाँदा लुगा वा गहना लैजान हुँदैन।
५. स्वयम्बर गर्दाः स्वयम्बर गर्दा आ-आफ्नो प्रचलन एवं वैदिक विधि अनुसार पूजाआजा गरी दुलहाले दुलहीलाई बढीमा आधा तोलासम्मको सुनको औंठी एउटा वा दुई तोलासम्मको सुनको सिक्री एउटा बाहेक अन्य कुनै किसिमको सामग्री दिन हुँदैन। दुलही तर्फबाट पनि दुलहालाई कुनै किसिमको सामग्री दिन हुँदैन। (२) स्वयम्बर गर्न जाँदा पुरोहित बाहेक पाँचजना भन्दा बढी व्यक्ति लान हुँदैन।
६. विवाहमा लुगा, गहना लैजाने सम्बन्धमाः जन्त जाँदा दुलहीलाई लुगा गहना लैजाने प्रचलन भएकाहरुले दुलहीलाई तीन जोर भन्दा बढी लुगा र एकसरो भन्दा बढी गहना लैजान हुँदैन।
७. जन्तीलाई खुवाउनेः दुलहीको घरमा रात बस्ने गरी जन्ती आउने व्यक्तिहरुलाई दुलही तर्फबाट दुई छाक भन्दा बढी खुवाउन हुँदैन। तर दुलहीकै घरमा विवाह सम्बन्धी प्रायः सबै व्यवहार सम्पन्न गर्नु पर्ने प्रचलन भएकाहरुको हकमा दुलहा समेत बढीमा पाँचजनासम्मलाई दुई छाक भन्दा बढी खुवाउन बाधा पर्ने छैन।
८. कन्यादान गर्दाथः कन्यादान गर्दा आ-आफ्नो प्रचलन एवं परम्परा अनुसार नगरी नहुने कार्यसम्म गरी पच्चीस रुपैयाँ भन्दा बढीको सुन दान प्रतिष्ठा गर्नु हुँदैन।
९. मुख हेर्न जाँदाः (१) विवाह पश्चात् छोरीबेटीको मुख हेर्न जाने प्रचलन भएकाहरुले छोरीबेटीको मुख हेर्न जाँदा आ-आफ्नो प्रचलन एवं परम्परा अनुसार दही, माछा, मसला, मिठाई र फलफूल जस्ता चीजबीजहरु सबै गरी बढीमा पाँच किस्ती र छोरीबेटीलाई एक जोर लुगा बाहेक अन्य कुनै किसिमको सामग्री लैजान हुँदैन। (२) मुख हेर्न जाँदा बीसजना भन्दा बढी व्यक्ति लैजान हुँदैन। (३) दस रुपैयाँ भन्दा बढी राखी मुख हेर्न हुँदैन।
१०. सम्धी सम्बन्धीको ढोग भेटः विवाह पश्चात् सम्धी सम्बन्धीको ढोग भेट गर्दा दुलही पिका सम्धी सम्बन्धीले दुलहा पिका सम्धी सम्बन्धीलाई एक रुपैयाँ भन्दा बढी राखी ढोग भेट गर्नु हुँदैन।
११. दुलान फकाउँदा वा दुरागमन गर्दाथः आफ्ना छोरीबेटी र दुलहालाई घर फकाउँदा आ-आफ्नो प्रचलन एवम् परम्परा अनुसार बढीमा पाँच किस्तीसम्म जाने कुरा र दुलहालाई एक जोर लुगा बाहेक अन्य कुनै किसिमको सामग्री दिन हुँदैन।
१२. तीजमा दर पठाउनेः तीज पर्वमा दर पठाउँदा आ-आफ्नो प्रचलन एवं परम्परा अनुसार मिठाई र फलफूल जस्ता चीजबीजहरु सबै गरी बढीमा दुई किस्ती बाहेक अन्य कुनै सामग्री पठाउन हुँदैन।
१३. आमा बाबुको मुख हेर्नथः मातातीर्थ औंसी, गोकर्ण औंसीमा आमा बाबुको मुख हेर्न जानेले मिठाई र फलफूल जस्ता चीजबीजहरु सबै गरी बढीमा एक किस्ती बाहेक अन्य कुनै सामग्री लैजान हुँदैन।
१४. भाइटीका गर्दाः भाइटीकामा दिदी बहिनीले प्रत्येक दाजु भाइलाई आ-आफ्नो प्रचलन एवं वैदिक विधिको अनुसार चाहिने सगुनोको सामान बाहेक फलफूल, मिठाई र मसला आदि समेत गरी एक किस्ती भन्दा बढी लैजान हुँदैन ।
१५. सगुन लाने सम्बन्धमाः पास्नी, व्रतबन्ध, चुडाकर्म र विवाहको उपलक्ष्यमा सगुन लाने प्रचलन भएकाहरुले मामा र फुपू झलक बाहेक अरुले सगुन लैजान हुँदैन ।
१६. दान आदि गर्दाः मृत्यु उप्रान्त तेह्र दिनसम्म दान आदि गर्दा चल अचल, चौपाया समेत गरी दुई हजार रुपैयाँ भन्दा बढीको दान दक्षिणा दिन हुँदैन ।
१७. काम गर्ने व्यक्ति, भरिया आदि गणना नगर्नेः (१) जन्ती साथ जाने भरियाहरुलाई जन्तीको संख्यामा गणना गरिने छैन । (२) मुख हेर्न जाँदा सामान आदि बोकी जाने भरियाहरुलाई मुख हेर्न जाने व्यक्तिहरुको संख्यामा गणना गरिने छैन । (३) भोजमा काममा लगाएको व्यक्तिलाई आमन्त्रित व्यक्तिहरुको संख्यामा गणना गरिने छैन ।
द्रष्टव्यः- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।