सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली, २०६८
नेपाल राजपत्रमा प्रकाशित मिति २०६९।१।२५
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरुको नाम “सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली, २०६८” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा “ऐन” भन्नाले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ सम्झनु पर्छ ।
३. धुम्रपान तथा सूर्ति सेवन गर्ने ठाउँमा कायम गर्नु पर्ने कुराहरु : (१) पर्यटकियस्तरको होटलको व्यवस्थापकले मानिसको आवत जावत कम हुने र धुम्रपान तथा सूर्ति सेवन नगर्ने व्यक्तिलाई प्रतिकूल असर नपर्ने गरी होटल बाहिरको कुनै एक ठाउँ धुम्रपान तथा सूर्ति सेवन गर्ने प्रयोजनका लागि तोक्न सक्नेछ ।
तर, त्यसरी तोकिएको ठाउँ होटलको झ्याल तथा होटलमा प्रवेश गर्ने ढोका भन्दा टाढा हुनु पर्नेछ र त्यस्तो ठाउँमा धुम्रपान गर्दा उत्सर्जित हुने धुँवा र गन्ध होटलभित्र नपस्ने व्यवस्था गर्नु पर्नेछ ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “पर्यटकीय स्तरको होटल” भन्नाले पर्यटन ऐन, २०३५ बमोजिम दर्ता भएको होटल सम्झनु पर्छ ।
(२) व्यवस्थापकले ऐनको दफा ४ को उपदफा (३) बमोजिम कारागार र विमानस्थलमा धुम्रपान तथा सूर्ति सेवन गर्न छुट्याइएको ठाउँमा कायम गर्नु पर्ने आधारभूत कुराहरु देहाय बमोजिम हुनेछ:–
(क) आफै बन्द हुने ढोकाको व्यवस्था गरी धुम्रपान तथा सूर्ति सेवन गर्ने कोठा निर्माण गर्नु पर्ने,
(ख) धुम्रपानबाट उत्सर्जित हुने धुवाँ कोठाबाट सिधै बाहिर जाने व्यवस्था गर्ने,
(ग) एकपटकमा सकभर एकभन्दा बढी व्यक्तिले धुम्रपान तथा सूर्ति सेवन गर्न नमिल्ने गरी कोठाको व्यवस्था गर्ने ।
(३) पर्यटकीयस्तरको होटलले स्थान अभावको कारण उपियम (१) बमोजिम धुम्रपान तथा सूर्ति सेवनको लागि छुट्टै ठाउँको व्यवस्था गर्न नसकेमा उपियम (२) बमोजिमको व्यवस्था गरी कुनै खास ठाउँमा धुम्रपान तथा सूर्ति सेवन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।
(४) उपियम (१) र (२) बमोजिम धुम्रपान तथा सूर्ति सेवन गर्न तोकिएको ठाउँ र बनाइएको कोठामा कुर्सी, टेबल लगायतका कुनै फर्निचर राख्न पाइने छैन ।
(५) व्यवस्थापकले उपियम (१) र (२) बमोजिम धुम्रपान तथा सूर्ति सेवन गर्न तोकिएको ठाउँ र बनाइएको कोठामा धुम्रपान तथा सूर्ति सेवन स्वास्थ्यको लागि हानिकारक छ भन्ने व्यहोराको सूचना सजिलै देख्न र पढ्न सक्ने गरी टाँस गर्नु पर्नेछ ।
४. सूचना टाँस गर्ने कार्यविधिः (१) व्यवस्थापकले आफूसँग सम्बन्धित सार्वजनिक स्थलको विभिन्न ठाउँमा धुम्रपान तथा सूर्ति सेवन गर्न नपाउने व्यहोराको देहायको आकारको सूचना टाँस गर्नु पर्नेछः-
(क) भवनको मुख्य प्रवेशद्वारमा कम्तीमा तीस सेन्टिमिटर लम्बाई र बीस सेन्टिमिटर चौडाईको सूचना,
(ख) भवनको भित्र द्वारमा कम्तीमा बीस सेन्टिमिटर लम्बाई र पन्ध्र सेन्टिमिटर चौडाइको सूचना ।
(२) उपियम (१) बमोजिम टाँसिने सूचनामा धुम्रपान तथा सूर्ति सेवन गर्न छुट्याइएको वा तोकिएको ठाउँ बाहेक अन्यत्र धुम्रपान तथा सूर्ति सेवन गरेमा ऐन बमोजिम सजाय हुने व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ ।
५. प्याकेट तथा र्यापपिसमा उल्लेख गर्नु पर्ने कुराः उत्पादकले सूर्तिजन्य पदार्थको प्याकेट तथा र्यापपिसमा ऐनको दफा ७ को उपदफा (१) को खण्ड (क) र (ख) मा उल्लिखित कुराहरुको अतिरिक्त सूर्तिजन्य पदार्थमा समावेश गरिएका नाइट्रोसोमाइन, बेन्जोपाइरिन, टार, कार्बनमोनोअक्साईड लगायतका रासायनिक तत्वहरु हुने कुरा उल्लेख गर्नु पर्नेछ ।
६. प्याकेट तथा र्यापपिसमा उल्लेख गर्न नहुने कुराः उत्पादकले सूर्तिजन्य पदार्थको प्याकेट तथा र्यापपिसमा ऐनको दफा ७ को उपदफा (२), (३) र (४) मा उल्लिखित कुराहरुको अतिरिक्त देहायका कुराहरु अंकित, लेबलिङ्ग र प्रयोग गर्न हुदैनः-
(क) सूर्तिजन्य पदार्थको विज्ञापन गर्ने वा प्रवर्द्धन हुने गरी लेबुल वा ट्रेडमार्क चिन्ह अंकित गर्न,
(ख) सूर्तिजन्य पदार्थको प्याकेट वा र्यापपिसमा उल्लिखित चेतावनिमूलक सन्देश, सङ्केत, चिन्ह वा चित्रको अपभ्रंस हुने, बिग्रने र छोपिने गरी सूर्तिजन्य पदार्थहरु प्याकेजिङ्ग र लेबलिङ्ग गर्न,
(ग) असत्य, भ्रामक वा कपटपूर्ण सन्देश दिने गरी चित्र वा चिन्ह प्रयोग गर्न ।
७. प्याकेट वा बट्टाको आकारः उत्पादकले कम्तीमा बीस खिल्ली अटाउने गरी चुरोट वा बिडीको प्याकेट वा बट्टा तयार गर्नु पर्नेछ ।
८. विवरण पेश गर्नु पर्नेः (१) उत्पादकले ऐनको दफा ८ को उपदफा (१) मा उल्लिखित विवरणको अतिरिक्त सूर्तिजन्य पदार्थ सम्बन्धी देहाय बमोजिमका विवरण मन्त्रालय समक्ष प्रत्येक वर्षको श्रावण मसान्तभित्र पेश गर्नु पर्नेछः-
(क) टार र कार्बनमोनोअक्साईडको विवरण,
(ख) नाइट्रोसोमाइन, बेन्जोपाइरिनको विवरण,
(ग) उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर,
(घ) मूल्य र ब्याच नम्बर,
(ङ) उत्पादन र उपभोगको म्याद सकिने मिति ।
(२) सूर्तिजन्य पदार्थको उत्पादक तथा निकासी र पैठारी गर्ने व्यक्तिले ऐनको दफा ८ को उपदफा (२) बमोजिम आफूले निकासी तथा पैठारी गरेको सूर्तिजन्य पदार्थको देहाय बमोजिमको विवरण प्रत्येक वर्षको श्रावण मसान्तभित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ:-
(क) उत्पादन गरेको परिमाण र उत्पादित स्थान, (ख) निकासी गरेको परिमाण र निकासी स्थान, (ग) पैठारी गरेको परिमाण र पैठारी स्थान, (घ) राजस्व बुझाएको विवरण ।
९. चेतावनीमूलक सन्देश र सङ्केत चिन्ह थप वा परिवर्तन गर्ने कार्यविधिः (१) मन्त्रालयले ऐनको दफा ९ बमोजिम तोकिएका चेतावनीमूलक सन्देश तथा सङ्क्षिप्त चिन्ह एक वर्षभित्र थप गर्न सक्नेछ ।
(२) मन्त्रालयले उपनियम (१) बमोजिम थप वा परिवर्तन गरेका चेतावनीमूलक सन्देश र सङ्क्षिप्त चिन्ह उद्योग मन्त्रालय मार्फत उत्पादकलाई उपलब्ध गराई सूर्तिजन्य पदार्थको बट्टा, च्याप्स, प्याकेट र पासिलमा छाप्न तथा अंकित गर्न लगाउनु पर्नेछ ।
१०. प्रमाण माग गर्न सक्नेः निरीक्षक वा सूर्तिजन्य पदार्थको बिक्रेताले क्रेताको उमेर यकिन गर्नका लागि निजको नागरिकताको प्रमाणपत्र, जन्मदर्ता प्रमाणपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र जस्ता उमेर खुल्ने प्रमाण माग गर्न सक्नेछ ।
११. सूचना पाटी राख्नु पर्नेः (१) बिक्रेताले आफ्नो बिक्रीकिको प्रवेशद्वारमा सजिलै देख्न र पढ्न सक्ने गरी देहाय बमोजिमको विवरण खुलाइएको सूचना पाटी राख्नु पर्नेछः–
(क) अठार वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तिजन्य पदार्थ नबेच्ने र बेच्न नलगाइने, (ख) गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ नबेच्ने र बेच्न नलगाइने ।
(२) व्यवस्थापकले आफूसँग सम्बन्धित सार्वजनिक स्थलको विभिन्न ठाउँमा धूम्रपान तथा सूती सेवन निषेधित क्षेत्र उल्लेख भएको सूचना टाँस्नु पर्नेछ ।
(३) उपियम (१) र (२) बमोजिमको सूचना कम्तीमा तीस सेन्टिमिटर लम्बाई र बीस सेन्टिमिटर चौडाइको हुनु पर्नेछ ।
१२. सार्वजनिक स्थलमा लाइटर, सलाई राख्न नहुनेः व्यवस्थापकले आफूसँग सम्बन्धित सार्वजनिक स्थलमा धूम्रपान तथा सूती सेवनको लागि प्रयोग हुने एष्ट्रे, लाइटर, सलाई लगायतका सामग्री राख्न हुँदैन ।
१३. शर्त राखी बिक्री वितरण गर्न नहुनेः- कुनै वस्तु खरिद गरेमा सूर्तिजन्य पदार्थ सित्तैमा वा उपहार स्वरुप पाउने शर्त राखी कसैले पनि कुनै वस्तु बिक्री वितरण गर्न वा गराउन हुँदैन।
१४. निषेधित ठाउँमा सूर्तिजन्य पदार्थको बिक्री वितरण तथा सेवन गरेको जानकारी दिनेः कसैले ऐनको दफा ११ को उपदफा (३) बमोजिम तोकिएका निषेधित ठाउँमा सूर्तिजन्य पदार्थ बिक्री वितरण वा सूती सेवन गरेको देखेमा सम्बन्धित कर्मचारी वा व्यक्तिले त्यस्तो कार्यमा तुरुन्त रोक लगाई सोको जानकारी व्यवस्थापकलाई दिनु पर्नेछ ।
१५. निरीक्षकको अन्य काम, कर्तव्य र अधिकाराः ऐनमा उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) उत्पादकलाई सूर्तिजन्य पदार्थको प्याकेट, बट्टा, झ्यापसि र प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र सङ्केत चिन्ह अनिवार्य रुपमा छाप्न तथा अंकित गर्न लगाई सोको अनुगमन गर्ने,
(ख) सूर्तिजन्य पदार्थ उत्पादन, सञ्चय र बिक्री वितरण हुने स्थानबाट सूर्तिजन्य पदार्थको नमूना लिने,
(ग) ऐन वा यस नियमावली विपरीत सूर्तिजन्य पदार्थको उत्पादन, बिक्री वितरण वा निकासी पैठारी भएको पाइएमा त्यस्तो कार्यमा तुरुन्त रोक लगाउने,
(घ) सूर्तिजन्य पदार्थ नमूना परीक्षणको लागि सम्बन्धित निकायमा पठाउने,
(ङ) सार्वजनिक स्थलमा धुम्रपान वा सूर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई सजायको लागि सम्बन्धित व्यवस्थापकलाई निर्देशन दिने,
(च) ऐन तथा यस नियमावलीले तोकेको मापदण्ड पूरा नभएको सूर्तिजन्य पदार्थ बिक्री वितरण वा निकासी पैठारी भएको पाइएमा त्यस्तो कार्यमा तुरुन्त रोक लगाई सम्बन्धित उत्पादक वा बिक्रेतालाई ऐन तथा यस नियमावली बमोजिमको मापदण्ड पूरा गरेका सूर्तिजन्य पदार्थ मात्र बिक्री वितरण वा निकासी पैठारी गर्न निर्देशन दिने,
(छ) निरीक्षणको सिलसिलामा आफ्नो नेतृत्वमा कुनै निकाय वा संस्थाका कर्मचारीलाई संलग्न गराउने,
(ज) निरीक्षणको सिलसिलामा आवश्यकता अनुसार सरकारी कार्यालय, संघ, संस्था वा स्थानीय निकायका कर्मचारी वा पदाधिकारीको सहयोग लिने।
१६. मनोनित सदस्यलाई हटाउने अवस्थाः (१) देहायको अवस्थामा समितिमा मनोनित सदस्यलाई हटाउन सकिनेछः-
(क) निज बिना सूचना लगातार तीनभन्दा बढी बैठकमा अनुपस्थित रहेमा,
(ख) निजले इमान्दारीतापूर्वक आफ्नो जिम्मेवारी पूरा नगरेमा,
(ग) निजमा कार्य क्षमताको अभाव भएमा,
(घ) निजले सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्ति सेवन गरेको पाइएमा,
(ङ) निज सूर्तिजन्य पदार्थको उत्पादन, निकासी, पैठारी र बिक्री वितरण सम्बन्धी क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेको पाइएमा ।
(२) उपनियम (१) बमोजिम कुनै सदस्यलाई पदबाट हटाउनु अघि निजलाई सफाइ पेश गर्न मनासिब मौका दिइनेछ ।
१७. समितिको अन्य काम, कर्तव्य र अधिकार: ऐनमा उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) कृषकलाई सूर्ति खेती प्रतिस्थापन गरी अन्य खेती गर्ने तर्फ प्रोत्साहित गर्ने नीति निर्धारण गर्न नेपाल सरकार समक्ष सुझाव पेश गर्ने,
(ख) सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय र परामर्श गर्ने,
(ग) स्वास्थ्यकर कोषमा जम्मा भएको रकमको व्यवस्थापन तथा सञ्चालन गर्ने, गराउने,
(घ) समितिको काम कारबाही सचारु रुपले सञ्चालन गर्न आवश्यकत अनुसार उपसमिति गठन गर्ने,
(ङ) ऐन तथा यस नियमावलीमा भएको व्यवस्था कार्यान्वयन भए नभएको अनुगमन गर्ने, गराउने ।
१८. स्वास्थ्यकर कोषमा रकम जम्मा गरिने: नेपाल सरकारले आर्थिक ऐनद्वारा लगाएको धुम्रपान तथा सूर्तिजन्य पदार्थको अन्ताःशुल्क करबाट उठेको कुल रकमको कम्तीमा पच्चीस प्रतिशत रकम स्वास्थ्यकर कोषमा जम्मा गरिनेछ ।
१९. स्वास्थ्यकर कोषको रकम खर्च: (१) स्वास्थ्यकर कोषमा जम्मा भएको रकम देहाय बमोजिमका कार्यका लागि खर्च गरिनेछ:-
(क) धुम्रपान तथा सूर्तिको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान, उपचार तथा अनुसन्धान गर्न,
(ख) धुम्रपान तथा सूर्तिजन्य पदार्थको नियन्त्रणको लागि स्वास्थ्य शिक्षा, जनचेतनामूलक र सेवामूलक कार्यक्रम सञ्चालन गर्न,
(ग) समितिको सञ्चालन खर्च ।
(२) उपनियम (१) बमोजिमका कार्य गर्नको लागि स्वास्थ्यकर कोषको रकमलाई देहाय बमोजिम बाँडफाँड गरिनेछ:-
(क) धूम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको निदान, उपचार तथा अनुसन्धान गर्नको लागि सरकारी स्वामित्वका अस्पतालहरुलाई पचहत्तर प्रतिशत रकम,
(ख) धूम्रपान तथा सूर्तिजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य, शिक्षा, जनचेतनामूलक र सेवामूलक कार्यक्रम संचालन गर्न मन्त्रालय अन्तर्गतका केन्द्र वा महाशाखाहरुलाई पन्ध्र प्रतिशत रकम,
(ग) धूम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी कार्यक्रम सञ्चालन गर्नको लागि सामाजिक संस्था वा गैरसरकारी अस्पताललाई दस प्रतिशत रकम ।
(३) उपनियम (२) को खण्ड (ख) मा उल्लेखित रकममध्येबाट ०.५(शून्य दशमलव पाँच) प्रतिशत रकममा नबढाई समितिले तोके बमोजिमको रकम समितिको प्रशासनिक कार्यको लागि खर्च गर्न सकिनेछ ।
२०. स्वास्थ्यकर कोषको व्यवस्थापन र सञ्चालनः- (१) स्वास्थ्यकर कोषमा जम्मा भएको रकम समितिले तोकेको नेपालभरको “क” वर्गको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ।
(२) कोषको खाताको सञ्चालन समितिको सदस्य–सचिव र लेखा सम्बन्धी कार्य गर्ने कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।
२१. लेखापरीक्षणः स्वास्थ्यकर कोषको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
२२. अधिकार प्रत्यायोजनः समितिले ऐन वा यस नियमावली बमोजिम आफूलाई प्राप्त भएको अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार समितिको अध्यक्ष, उपाध्यक्ष, सदस्य, यस नियमावली बमोजिम गठित उपसमिति वा अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
२३. निर्देशिका बनाउन सक्ने: मन्त्रालयले ऐन तथा यस नियमावलीको अधीनमा रही आवश्यक निर्देशिका बनाउन सक्नेछ ।
२४. खारेजी र बचाउ: (१) स्वास्थ्यकर (धुम्रपान तथा मदिरा दस्तुर) कोष नियमावली, २०५१ खारेज गरिएकोछ ।
(२) स्वास्थ्यकर (धुम्रपान तथा मदिरा दस्तुर) कोष नियमावली, २०५१ बमोजिम भए गरेका काम कारवाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।