सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग नियमावली, २०७७
नेपाल राजपत्रमा प्रकाशित मिति २०७७।१०।०५
सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग ऐन, २०७६ को दफा ४७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम "सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग नियमावली, २०७७" रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,– (क) "ऐन" भन्नाले सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग ऐन, २०७६ सम्झनु पर्छ। (ख) “विभाग” भन्नाले ऐनको दफा २ को खण्ड (घ) बमोजिम तोकिएको विभाग सम्झनु पर्छ। (ग) "महानिर्देशक" भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ।
३. सेफगार्ड्स उपाय लगाउन सक्ने: (१) ऐनको दफा ३ को उपदफा (१) को अवस्था परेमा मिल्दोजुल्दो वा समरूपका मालवस्तु उत्पादन गर्ने स्वदेशी उद्योगले सोही दफाको उपदफा (३) बमोजिमको कुनै सेफगार्ड्स उपाय लगाउन अनुसूची-१ बमोजिमको ढाँचामा लिखित रूपमा वा विद्युतीय माध्यम मार्फत मन्त्रालय समक्ष निवेदन दिन सक्नेछ। (२) उपनियम (१) बमोजिम कुनै स्वदेशी उद्योगीले निवेदन दिएमा मन्त्रालयले त्यस्तो मालवस्तुको सम्बन्धमा आवश्यक अनुसन्धान गर्न तीन दिनभित्र विभागलाई पठाउनु पर्नेछ। (३) उपनियम (२) बमोजिम मन्त्रालयबाट अनुसन्धानको लागि लेखी आएमा विभागले ऐनको दफा १७ को उपदफा (२) बमोजिम कम्तीमा राजपत्रित द्वितीय श्रेणीको अधिकृतलाई उपनियम (१) बमोजिम निवेदन परेको विषयमा अनुसन्धान अधिकारीको रूपमा काम गर्न तोकी अनुसन्धान गराउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिमको अनुसन्धान अधिकारीले सो सम्बन्धमा अनुसन्धान गर्दा तत्काल प्राप्त प्रमाणबाट त्यस्तो मालवस्तुको आयातबाट स्वदेशी उद्योगलाई गम्भीर हानि नोक्सानी पुगेको वा पुग्न सक्ने पर्याप्त आधार देखिएमा सेफगार्ड्स वा अन्तरिम सेफगार्ड्स उपाय लगाउन विभाग मार्फत मन्त्रालयसमक्ष सिफारिस सहितको प्रतिवेदन पेश गर्नु पर्नेछ।
(५) अनुसन्धान अधिकारीले उपनियम (४) बमोजिमको प्रतिवेदनमा ऐनको दफा ३ को उपदफा (३) बमोजिम कुन प्रकारको सेफगार्ड्स उपाय लगाउनु पर्ने हो सो सेफगार्ड्स उपाय, सोको आधार र कारण तथा त्यस्तो उपाय लगाउने मिति समेत उल्लेख गर्नु पर्नेछ।
(६) उपनियम (४) बमोजिम प्राप्त प्रतिवेदनबाट सेफगार्ड्स उपाय लगाउने सम्बन्धमा मन्त्रालयले थप अनुसन्धान गर्न आवश्यक देखेमा सोको लागि विभागमा लेखी पठाउन सक्नेछ।
(७) उपनियम (४) बमोजिम पेश भएको प्रतिवेदनको आधारमा सेफगार्ड्स उपाय लगाउन आवश्यक देखिएमा नेपाल सरकारले त्यस्तो मालवस्तुको आयात उपर सेफगार्ड्स उपाय लगाउन सक्नेछ।
(८) यस नियम बमोजिम सेफगार्ड्स उपाय लगाएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।
४. निर्णय कार्यान्वयन गर्ने: नियम ३ बमोजिम नेपाल सरकारले कुनै मालवस्तुको आयातमा सेफगार्ड्स उपाय लगाउने गरी गरेको निर्णयको कार्यान्वयन प्रचलित कानून बमोजिम आफ्नो कार्यक्षेत्रभित्र रही भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्नेछ।
५. सेफगार्ड्स उपाय हटाउन सक्ने: ऐनको दफा ५ को खण्ड (क) र (ख) मा उल्लेख गरिएको अतिरिक्त अन्य कुनै अवस्थाबाट सेफगार्ड्स उपायलाई निरन्तरता दिनु पर्ने नदेखिएमा नेपाल सरकारले ऐनको दफा ४ बमोजिमको अवधि समाप्त हुँदै त्यस्तो सेफगार्ड्स उपाय जुनसुकै बखत हटाउन सक्नेछ।
६. निवेदन दिनु पर्ने: ऐनको दफा १८ को उपदफा (१) बमोजिम एन्टी-डम्पिङ्ग महसुल लगाउनुको लागि अनुसूची-२ र काउन्टरभेलिङ्ग महसुल लगाउनुको लागि अनुसूची-३ बमोजिमको ढाँचामा सो अनुसूचीमा उल्लिखित विवरण तथा कागजात संलग्न गरी विभाग समक्ष निवेदन दिनु पर्नेछ।
७. आवश्यक कार्य गर्न सक्ने: ऐनको दफा २३ बमोजिम अनुसन्धान गर्दा अनुसन्धान अधिकृतले आवश्यक देखेमा अनुसन्धानको क्रममा देहाय बमोजिमको कार्य गर्न सक्नेछ:-
(क) निवेदनमा उल्लेख गरेको अतिरिक्त अन्य कुनै कुरा बुझ्नु पर्ने भए निवेदकसँग सोसम्बन्धित विवरण तथा कागजात पेश गर्न लगाउन,
(ख) अनुसन्धानको दायरामा रहेको मालवस्तुको सम्बन्धमा सरोकारवाला पक्षले ऐनको दफा २१ बमोजिम लिखित प्रतिवाद गरेकोमा त्यस्तो प्रतिवाद justifies गर्नु पर्ने भए त्यस्तो प्रमाण आवश्यक भए त्यस्तो प्रमाण पेश गर्न लगाउन,
(ग) निर्यातकर्ता मुलुक वा सो मुलुकको स्वायत्त भन्सार क्षेत्रको सम्बन्धित पदाधिकारी वा निकायसँग आवश्यक सूचना तथा जानकारी माग गर्न,
(घ) अनुसन्धानको क्रममा सम्बन्धित निकाय, पदाधिकारी वा आयातकसँग आवश्यक परामर्श गर्न।
८. अनुसन्धान स्थगन वा रद्द गर्न सक्ने: अनुसन्धान अधिकृतले ऐनको दफा २३ बमोजिम अनुसन्धान कार्य सुरू गरेकोमा ऐनको दफा ३२ मा उल्लिखित अवस्थाका अतिरिक्त निर्यातकर्ताको मुलुक वा स्वायत्त भन्सार क्षेत्रको सरकारले अनुसन्धानको दायरामा रहेको मालवस्तुको सम्बन्धमा स्वदेशी उद्योगीलाई हानि नोक्सानी पुग्ने गरी कुनै मालवस्तुको निर्यात नगरेको कुरा पुष्टि्याई हुने कुनै विवरण वा कागजात पेश गरेको र त्यस्तो विवरण वा कागजातबाट त्यस्तो अनुसन्धान गर्नु नपर्ने देखिई मन्त्रालयले अनुसन्धान स्थगन वा रद्द गर्न निर्देशन दिएमा अनुसन्धान अधिकृतले त्यस्तो अनुसन्धान कार्य स्थगन वा रद्द गर्न सक्नेछ।
९. प्रारम्भिक प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुरा: (१) अनुसन्धान अधिकृतले विभाग समक्ष पेश गर्ने प्रारम्भिक प्रतिवेदनमा ऐनको दफा २५ मा उल्लेख गरिएको विवरणका अतिरिक्त देहायका विवरणहरू समेत उल्लेख गर्नु पर्नेछः-
(क) आयात भएको मालवस्तु उत्पादकको सामान्य मूल्यभन्दा न्यून मूल्यमा निर्यात भए नभएको र न्यून मूल्यमा निर्यात भएको रहेछ भने सामान्य मूल्य र निर्यात मूल्यबीचको अन्तर (डम्पिङ्ग मार्जिन),
(ख) आयात भएको मालवस्तुको आयातले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नकारात्मक असर परेका स्वदेशी उद्योगहरूको विवरण,
(ग) आयातबाट स्वदेशी उद्योगले व्यहोर्नु परेको हानि नोक्सानीको विवरण वा पर्न सक्ने हानि नोक्सानीको अनुमान,
(घ) मिल्दोजुल्दो, समरूपका वा प्रत्यक्ष रूपमा प्रतिस्पर्धी मालवस्तुको आयातकतास, निर्यातकतास तथा सरोकारवालासँग गरेको परामर्शको निष्कर्ष,
(ङ) अनुसन्धानको क्रममा आफूले देखेका आवश्यक थप विषय र अनुसन्धानलाई पुष्ट्याई गर्ने थप आधार भए सो समेत ।
(२) अनुसन्धान अधिकारीले ऐनको दफा २५ वा २६ बमोजिम प्रतिवेदन तयार गर्दा अनुसूची-४ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ।
१०. समितिको अन्य काम, कर्तव्य र अधिकार: ऐनको दफा ३४ मा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) ऐन र यस नियमावली बमोजिम सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्गका सम्बन्धमा भएका निर्णय कार्यान्वयनको प्रभावकारिताको समीक्षा गर्ने,
(ख) सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्गका क्षेत्रमा भएका नवीनतम अभ्यास तथा विश्व व्यापार सङ्गठनबाट भएका निर्णयको अध्ययन तथा अनुसन्धान गराउने।
११. बढी महसुल फिर्ता गर्नु पर्ने: (१) ऐन बमोजिम कुनै मालवस्तुमा लगाइएको एन्टी-डम्पिङ्ग महसुल र काउन्टरभेलिङ्ग महसुल ऐनको दफा २६ बमोजिमको अन्तिम प्रतिवेदन बमोजिम वा अन्य कुनै कारणले लगाउनु नपर्ने भनी वा त्यस्तो मालवस्तुमा बढी महसुल लगाइएको भनी नेपाल सरकारबाट निर्णय भएकोमा लगाउनु नपर्नेमा लगाइएको वा बढी लगाइएको महसुल फिर्ता पाउनु भनी सोको आधार र प्रमाण सहित सम्बन्धित आयातकताले विभागमा लिखित रूपमा वा विद्युतीय माध्यम मार्फत निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिमको निवेदनमा फिर्ता रकम प्राप्त गर्दाका लागि आफूलाई पायक पर्ने भन्सार कार्यालयसमेत खुलाउनु पर्नेछ।
(३) विभागले उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन, निवेदनसाथ प्राप्त कागजात तथा ऐन बमोजिम एन्टी-डम्पिङ्ग महसुल वा काउन्टरभेलिङ्ग महसुल हटाउने सम्बन्धी नेपाल सरकारको निर्णय संलग्न गरी फिर्ता उपलब्ध गराउनुपर्ने रकम निकासाको लागि मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा लेखी पठाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम रकम निकासा लागि लेखी आएमा अर्थ मन्त्रालयले सम्बन्धित आयातकतालाई फिर्ता दिनुपर्ने रकम उपनियम (२) बमोजिमको भन्सार कार्यालयमा निकासा उपलब्ध गराउनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम निकासा प्राप्त भएपछि सम्बन्धित भन्सार कार्यालयले त्यसरी लिनु नपर्ने वा बढी लिएको देखिएको रकम सम्बन्धित आयातकतालाई फिर्ता गर्नु पर्नेछ ।
१२. समीक्षा गर्ने पर्ने अवधि: (१) अनुसन्धान अधिकारीले ऐन बमोजिम तीन वर्ष वा सोभन्दा बढी अवधिको लागि लगाएको सेफगार्ड्स उपाय, एन्टी-डम्पिङ्ग महसुल वा काउन्टरभेलिङ्ग महसुलको सम्बन्धमा त्यस्तो उपाय तथा महसुल पहिलो पटक लगाएको कुल अवधिको मध्यावधि भन्दा ढिलो नहुने गरी समीक्षा गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम गरेको समीक्षा सम्पन्न भएको मितिले प्रत्येक एक वर्ष पूरा भएपछि पुनः समीक्षा गर्नु पर्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिमको समीक्षा सम्बन्धी कार्य समीक्षा प्रारम्भ भएको मितिले तीन महिनाभित्र सम्पन्न गरिसक्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिमको अवधिभित्र समीक्षा सम्पन्न हुन नसक्ने भएमा त्यसको स्पष्ट कारण खुलाई विभागले अवधि थप गर्न मन्त्रालय समक्ष सिफारिस गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिम विभागबाट प्राप्त सिफारिस उपयुक्त लागेमा मन्त्रालयले एक महिनासम्मको अवधि थप गर्न सक्नेछ।
(६) यस नियम बमोजिम समीक्षा सम्पन्न भएपछि अनुसन्धान अधिकारीले देहायका विवरण समावेश गरी समीक्षा प्रतिवेदन तयार गर्नु पर्नेछः-
(क) मालवस्तुको नाम, परिमाण तथा मूल्य र मालवस्तुको वस्तु वर्गीकरण सहित नम्बर (हामोनाइज्ड कोड),
(ख) त्यस्तो मालवस्तुको निर्यातकर्ता तथा निर्यातकर्ताको मूलुक वा स्वायत्त भन्सार क्षेत्र,
(ग) त्यस्तो मालवस्तु अनपेक्षित र अस्वाभाविक रूपमा ठूलो परिमाणमा आयात वृद्धि भए वा नभएको,
(घ) त्यस्तो मालवस्तुको आयातमा अनपेक्षित र अस्वाभाविक रूपमा ठूलो परिमाणमा वृद्धि भएको भए सोको परिमाण,
(ङ) त्यस्तो मालवस्तु सहुलियत वा प्रत्यक्ष वा अप्रत्यक्ष अनुदान प्राप्त मालवस्तु भए वा नभएको, भएको भए सोको परिमाण,
(च) त्यस्तो मालवस्तुको आयातले मिल्दोजुल्दो मालवस्तु उत्पादन गर्ने स्वदेशी उद्योगलाई गम्भीर हानि नोक्सानी पुर्याएको वा पुर्याउन सक्ने आशंका देखिएको वा नदेखेको,
(छ) मालवस्तु उत्पादकको सामान्य मूल्यभन्दा न्यून मूल्यमा निर्यात भए नभएको र भएको भए सामान्य मूल्य र निर्यात मूल्यबीचको अन्तर (डम्पिङ्ग मार्जिन)।
(७) उपनियम (६) बमोजिमको समीक्षा प्रतिवेदनमा अनुसन्धान अधिकारीले अनुसन्धानको दायरामा रहेको मालवस्तुको आयातमा लगाएको सेफगार्ड्स उपाय, एन्टी-डम्पिङ्ग महसुल वा काउन्टरभेलिङ्ग महसुललाई निरन्तरता दिइपुग्ने, थपघट गर्नु पर्ने वा हटाउनु पर्ने विषयमा समेत राय लेख्नु पर्नेछ।
(८) अनुसन्धान अधिकारीले समीक्षा प्रतिवेदनमा उल्लेख गरिएका विषयलाई पुष्टि गर्ने विवरण तथा कागजात समीक्षा प्रतिवेदनसाथ संलग्न गर्नु पर्नेछ।
(९) ऐनको दफा ४३ को उपदफा (२) बमोजिम सरोकारवाला पक्षले समीक्षाको लागि निवेदन दिन चाहेमा सेफगार्ड्स उपाय, एन्टी-डम्पिङ्ग महसुल वा काउन्टरभेलिङ्ग महसुल लगाएको अवधिको आधा अवधि पूरा भएपछि अनुसूची-५ बमोजिमको ढाँचामा सोही अनुसूचीमा उल्लिखित विवरण तथा कागजात संलग्न गरी अनुसन्धान अधिकारी समक्ष निवेदन दिन सक्नेछ।
(१०) उपनियम (९) बमोजिम प्राप्त निवेदन उपर समीक्षा गर्नु पर्ने देखिएमा अनुसन्धान अधिकारीले यस नियम बमोजिम समीक्षा गर्न सक्नेछ।
तर अनुसन्धान अधिकारीले ऐन तथा यस नियमावली बमोजिम समीक्षा सुरु गरेकोमा त्यस्तो निवेदन उपर छुट्टै समीक्षा गरिंदैन।
१३. समीक्षा खर्च: (१) ऐनको दफा ४३ को उपदफा (३) बमोजिमको समीक्षा गर्दा लाग्ने खर्चको मापदण्ड विभागको सिफारिसमा मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिम निर्धारण भएको रकम सम्बन्धित निवेदकले निवेदन दिएको सात दिनभित्र विभागले तोकेको धरौटी खातामा जम्मा गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम जम्मा भएको रकम अपुर भएमा अपुर भए जति रकम जम्मा गर्न सात दिनको अवधि तोकी विभागले सम्बन्धित निवेदकलाई आदेश दिन सक्नेछ।
(४) उपनियम (३) बमोजिम विभागले दिएको आदेश बमोजिम रकम जम्मा नगरेमा अनुसन्धान अधिकारीले समीक्षाको कार्य स्थगन गर्न सक्नेछ। त्यसरी समीक्षा कार्य स्थगन भएको जानकारी अनुसन्धान अधिकारीले सात दिनभित्र सम्बन्धित निवेदकलाई दिनु पर्नेछ।
(५) उपनियम (२) र (३) बमोजिमको रकमभन्दा समीक्षा खर्च कम भएमा बाँकी रहन गएको रकम फिर्ता पाउन सम्बन्धित निवेदकले विभाग समक्ष निवेदन दिन सक्नेछ।
(६) उपनियम (५) बमोजिम निवेदन प्राप्त भएमा विभागले बाँकी रकम सम्बन्धित निवेदकलाई फिर्ता दिनु पर्नेछ।
१४. अनुसूचीमा हेरफेर गर्न सक्ने: मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर गर्न सक्नेछ।
अनुसूची-१ (नियम ३ को उपनियम (१) सँग सम्बन्धित) सेफगार्ड्स उपाय लगाई पाउन दिइने निवेदनको ढाँचा
श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौँ ।
विषयः सेफगार्ड्स उपाय लगाई पाऊँ ।
........................... (देशको नाम) बाट अनपेक्षित र अस्वाभाविक रूपमा आयात भएको ...................... (मालवस्तु) को कारणबाट यस उद्योगले उत्पादन गर्दै आएको त्यस्तो मालवस्तुसँग मिल्दोजुल्दो/ समरूपको/ प्रत्यक्ष रूपमा प्रतिस्पर्धी ..............(मालवस्तु) को उत्पादनमा यस उद्योगलाई गम्भीर हानि नोक्सानी हुन गएको/ हुन सक्ने भएकोले त्यस्तो आयातित मालवस्तु उपर सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग ऐन, २०७६ को दफा ३ बमोजिम उपयुक्त सेफगार्ड्स उपाय लगाउन सँग संलग्न विवरण तथा कागजात सहित ऐनको दफा ३ को उपदफा (२) बमोजिम यो निवेदन पेश गरेको छु ।
निवेदक उद्योगको,- नामः ठेगानाः स्थायी लेखा नम्बरः उद्योगको कार्यालयको छाप:
उद्योगको तर्फबाट आधिकारिक प्रतिनिधिको,- नामः पदः दस्तखतः सम्पर्क नं.: ईमेलः
संलग्न विवरण तथा कागजात: १. सेफगार्ड्स उपाय लगाउन अनुरोध गरिएको मालवस्तुको कुल आन्तरिक उत्पादन क्षमता, २. निवेदक स्वदेशी उद्योग वा उद्योगहरूले उत्पादन गर्ने मालवस्तुको कुल उत्पादन क्षमता, ३. स्वदेशी उद्योगलाई पुगेको हानि नोक्सानी वा पुग्न सक्ने हानि नोक्सानीको परिमाण, ४. निवेदक उद्योगको दर्तास तथा नवीकरण सम्बन्धी अन्य विवरण, ५. आयात भएको मालवस्तुको भन्सार वर्गीकरण सङ्केत नम्बर (हामोनाइज्ड कोड), ६. निवेदनको व्यहोरा पुष्टि हुने अन्य आधार।
अनुसूची-२ (नियम ६ सँग सम्बन्धित) एण्टी-डम्पिङ्ग महसुल लगाई पाउन दिइने निवेदनको ढाँचा
श्री महानिर्देशक ज्यू, ...........................विभाग, ............................ ।
विषयः एण्टी-डम्पिङ्ग महसुल लगाउन पाउँ ।
........................... (देश/स्वायत्त भन्सार क्षेत्र) बाट अनपेक्षित र अस्वाभाविक रूपमा आयात भएको ...................... (मालवस्तु) को कारणबाट यस उद्योगले उत्पादन गर्दै आएको त्यस्तो मालवस्तुसँग मिल्दोजुल्दो/ समरूपको/ प्रतिरूपमा प्रतिस्पर्धी ..............(मालवस्तु) को उत्पादनमा यस उद्योगलाई गम्भीर हानि नोक्सानी हुन गएको/ हुन सक्ने भएकोले त्यस्तो आयातित मालवस्तु उपर सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग ऐन, २०७६ को दफा ९ बमोजिम एण्टी-डम्पिङ्ग महसुल लगाउन संलग्न विवरण तथा कागजात सहित ऐनको दफा १८ को उपदफा (१) बमोजिम यो निवेदन पेश गरेको छु ।
निवेदक उद्योगको,- उद्योगको तर्फबाट आधिकारिक नामः प्रतिनिधिको,- ठेगानाः नामः स्थायी लेखा नम्बरः पदः उद्योगको कार्यालयको छाप: दस्तखतः सम्पर्क नं.: ईमेलः
निवेदनसाथ संलग्न विवरण तथा कागजात: १. अनुसन्धानका लागि अनुरोध गरिएको मालवस्तुको कुल आन्तरिक उत्पादन क्षमता, २. निवेदक स्वदेशी उद्योग वा उद्योगहरूको अनुसन्धानका लागि अनुरोध गरिएको मालवस्तुको उत्पादन क्षमता, ३. स्वदेशी उद्योगलाई पुगेको हानि नोक्सानी वा पुग्न सक्ने हानि नोक्सानीको परिमाण, ४. मिल्दोजुल्दो मालवस्तुको कम्तीमा पच्चीस प्रतिशत हिस्सा उत्पादन गर्ने स्वदेशी उद्योगको तर्फबाट पेश गरिएको निवेदन सहित उद्योगको आधिकारिकता (उद्योग दर्तास तथा नवीकरण) सम्बन्धी अन्य विवरण,
५. मिल्दोजुल्दो मालवस्तुको कम्तीमा पचास प्रतिशत हिस्सा उत्पादन गर्ने सो निवेदनमा समर्थन जनाएको स्वदेशी उद्योगको तर्फबाट पेश गरिएको निवेदन सहित उद्योगको आधिकारिकता (उद्योग दर्ता तथा नवीकरण) सम्बन्धी अन्य विवरण, ६. आयात भएको मालवस्तुको भन्सार वर्गीकरण संकेत नम्बर (हार्मोनाइज्ड कोड), ७. निवेदनको व्यहोरा पुष्टि हुने अन्य आधार।
अनुसूची-३ (नियम ६ सँग सम्बन्धित) काउण्टरभेलिङ्ग महसुल लगाउन पाउने निवेदनको ढाँचा ।
श्री महानिर्देशक ज्यू, ...........................विभाग, ............................ ।
विषयः काउण्टरभेलिङ्ग महसुल लगाइ पाऊँ ।
........................... (देश/स्वायत्त भन्सार क्षेत्र) बाट अनपेक्षित र अस्वाभाविक रूपमा आयात भएको ...................... (मालवस्तु) को कारणबाट यस उद्योगले उत्पादन गर्दै आएको त्यस्तो मालवस्तुसँग मिल्दोजुल्दो/ समरूपको/ प्रतिरूपमा प्रतिस्पर्धी ..............(मालवस्तु) को उत्पादनमा यस उद्योगलाई गम्भीर हानि नोक्सानी हुन गएको/ हुन सक्ने भएकोले त्यस्तो आयातित मालवस्तु उपर सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग ऐन, २०७६ को दफा १४ बमोजिम काउण्टरभेलिङ्ग महसुल लगाउन संलग्न विवरण तथा कागजात सहित ऐनको दफा १८ को उपदफा (१) बमोजिम यो निवेदन पेश गरेको छु ।
निवेदक उद्योगको,- उद्योगको तर्फबाट आधिकारिक नामः प्रतिनिधिको,- ठेगानाः नामः स्थायी लेखा नम्बरः पदः उद्योगको कार्यालयको छाप: दस्तखतः सम्पर्क नं.: ईमेलः
निवेदनसाथ संलग्न विवरण तथा कागजात: १. अनुसन्धानका लागि अनुरोध गरिएको मालवस्तुको कुल आन्तरिक उत्पादन क्षमता, २. निवेदक स्वदेशी उद्योग वा उद्योगहरूको अनुसन्धानका लागि अनुरोध गरिएको मालवस्तुको उत्पादन क्षमता, ३. स्वदेशी उद्योगलाई पुगेको हानि नोक्सानी वा पुग्न सक्ने हानि नोक्सानीको परिमाण, ४. मिल्दोजुल्दो मालवस्तुको कम्तीमा पच्चीस प्रतिशत हिस्सा उत्पादन गर्ने स्वदेशी उद्योगको तर्फबाट पेश गरिएको निवेदन सहित उद्योगको आधिकारिकता (उद्योग दर्तास तथा नवीकरण) सम्बन्धी अन्य विवरण,
५. मिल्दोजुल्दो मालवस्तुको कम्तीमा पचास प्रतिशत हिस्सा उत्पादन गर्ने सो निवेदनमा समर्थन जनाएको स्वदेशी उद्योगको तर्फबाट पेश गरिएको निवेदन सहित उद्योगको आधिकारिकता (उद्योग दर्ता तथा नवीकरण) सम्बन्धी अन्य विवरण, ६. आयात भएको मालवस्तुको भन्सार वर्गीकरण स्प्रिट नम्बर (हामोनाइज्ड कोड), ७. निवेदनको व्यहोरा पुष्टि हुने अन्य आधार।
अनुसूची-४ (नियम ९ को उपनियम (२) सँग सम्बन्धित) प्रारम्भिक वा अन्तिम प्रतिवेदन तयार गर्ने ढाँचा
श्री महानिर्देशक, ...........................विभाग, ............................ ।
विषयः सेफगार्ड्स उपाय / एन्टी-डम्पिङ्ग महसुल/ काउन्टरभेलिङ्ग महसुल लगाउने सम्बन्धी प्रारम्भिक/ अन्तिम प्रतिवेदन।
सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग ऐन, २०७६ को दफा २५ / दफा २६ बमोजिम प्रारम्भिक/अन्तिम प्रतिवेदन तयार गरी यसै साथ संलग्न गरिएको व्यहोरा अनुरोध गर्दछु ।
(क) आयात भएको मालवस्तुको विवरणः
(ख) मालवस्तुको निर्यातकर्ता र निर्यातकर्ताको मुलुक वा स्वायत्त भन्सार क्षेत्रः निर्यातकर्ताः................................................................. निर्यातकर्ताको मुलुक वा स्वायत्त भन्सार क्षेत्रः.......................
(ग) आयात भएको मालवस्तुको परिमाणको तुलनात्मक विवरणः
(घ) सहुलियत वा अनुदान प्राप्त मालवस्तुको परिमाणको विवरणः
(ङ) मालवस्तुको सामान्य र निर्यात मूल्यबीचको अन्तर (डम्पिङ्ग मार्जिन)
(च) स्वदेशी उद्योगमा पुर्याएको वा पुर्याउन सक्ने हानि नोक्सानीः
(छ) सेफगार्ड्स उपाय वा एन्टी-डम्पिङ्ग महसुल वा काउन्टरभेलिङ्ग महसुलको दर, अवधि र कारणः
(ज) सेफगार्ड्स उपाय वा एन्टी-डम्पिङ्ग महसुल वा काउन्टरभेलिङ्ग महसुल लगाउनु पर्ने कारण सम्बन्धमा अनुसन्धान अधिकारीको रायः
(झ) अनुसन्धान अधिकारीले अनुसन्धानको क्रममा देखेका अन्य प्रासंगिक विषयः
(ञ) अन्तिम प्रतिवेदनमा समावेश गर्नुपर्ने थप विषयः-
(१) सेफगार्ड्स उपाय वा एन्टी-डम्पिङ्ग महसुल वा काउन्टरभेलिङ्ग महसुल पदार्थदर्शी असर हुने गरी लगाउनु पर्ने देखिएमा त्यसरी लगाउनु पर्ने आधार, कारण र लागु हुने मिति:
(२) सेफगार्ड्स उपाय वा एन्टी-डम्पिङ्ग महसुल वा काउन्टरभेलिङ्ग महसुल लगाइएकोमा सो अवधि थप गर्नुपर्ने देखेमा यसको आधार र कारण सहितको सिफारिस:
अनुसन्धान अधिकारीको: .................................................................. दस्तखत: नाम: मिति:
अनुसूची-५ (नियम १२ को उपनियम (९) सँग सम्बन्धित) सरोकारवाला पक्षले समीक्षाको लागि दिने निवेदनको ढाँचा
श्री अनुसन्धान अधिकारी, ...........................विभाग, काठमाडौं । विषयः समीक्षा गरी पाऊँ ।
........................... (सरोकारवालाको नाम) बाट आयात/ निर्यात हुँदै आएको ...................... (मालवस्तु) मा नेपाल सरकारले मिति ............................ देखि............सम्मको लागि .........................................सेफगार्ड्स उपाय/एन्टी-डम्पिङ्ग महसुल / काउन्टरभेलिङ्ग महसुल लगाएको र हाल त्यसरी सेफगार्ड्स उपाय/एन्टी-डम्पिङ्ग महसुल / काउन्टरभेलिङ्ग महसुल लगाउनु नहुने आवश्यकता रहेको हुँदा ऐनको दफा ४३ को उपदफा (२) बमोजिम समीक्षाको लागि लाग्ने रकम व्यहोर्न स्वीकार गर्दै उल्लिखित उपाय/महसुलको सम्बन्धमा समीक्षा गरी पाउन संलग्न विवरण तथा कागजात सहित यो निवेदन पेश गरेको छु ।
निवेदक सरोकारवाला पक्षको,- सरोकारवाला पक्षको तर्फबाट आधिकारिक नामः प्रतिनिधिको,- ठेगानाः नामः स्थायी लेखा नम्बरः पदः दस्तखतः सम्पर्क नं.: ईमेलः
संलग्न विवरण तथा कागजात: १. सेफगार्ड्स उपाय/एन्टी-डम्पिङ्ग महसुल /काउन्टरभेलिङ्ग महसुल लगाउन सुरु गरेको मितिः २. सेफगार्ड्स उपाय/एन्टी-डम्पिङ्ग महसुल /काउन्टरभेलिङ्ग महसुलः ३. महसुल लगाएको अवधिमा सरोकारवाला पक्षले आयात/निर्यात गरेको मालवस्तुको कुल परिमाणः ४. महसुल लगाएको अवधिमा सरोकारवाला पक्षले उत्पादन गरेको मालवस्तुको कुल परिमाणः
५. सरोकारवाला पक्षले मालवस्तु आयात/निर्यात गर्नको लागि प्राप्त इजाजतपत्रको प्रतिलिपि र सोको नवीकरण सम्बन्धी अन्य विवरणः ६. आयात भएको मालवस्तुको भन्सार वर्गीकरण संकेत नम्बर (हार्मोनाइज्ड कोड): ७. स्वदेशी उद्योगलाई हानि नोक्सानी नपुगेको वा नपुग्ने कुराको पुष्टि हुने अन्य आधार।