सैनिक अस्पताल (व्यवस्था) नियमहरू, २०२३
नेपाल राजपत्रमा प्रकाशित मिति २०२४।०२।०८
संशोधन १. सैनिक अस्पताल (व्यवस्था) (पहिलो संशोधन) नियमहरू, २०२७ २०२७।०४।१२ २. सैनिक अस्पताल (व्यवस्था) (दोस्रो संशोधन) नियमहरू, २०४३ २०४३।०४।१३
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छः–
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “सैनिक अस्पताल (व्यवस्था) नियमहरू २०२३” रहेको छ। (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमाः– (क) “समिति” भन्नाले नियम ३ बमोजिम गठित समितिलाई सम्झनु पर्छ। (ख) “अध्यक्ष” भन्नाले समितिको अध्यक्षलाई सम्झनु पर्छ। (ग) “सदस्य” भन्नाले समितिको सदस्यलाई सम्झनु पर्छ र यस शब्दले अध्यक्ष र उपाध्यक्षलाई समेत जनाउँछ। (घ) “सैनिक अस्पताल” भन्नाले त्रिचन्द्र मिलिटरी अस्पताल सम्झनु पर्छ र यो शब्दले नेपाली सेना मातहत अरू कुनै अस्पताल, डिस्पेन्सरी र उपत्यका बाहिर नेपाली सेना रहेको ठाउँमा कुनै औषधी उपचारको प्रबन्धलाई समेत जनाउँछ।
३. समितिको गठन र काम कर्तव्यः * (१) देहायका पदानुकारीहरू भएको सैनिक अस्पताल सञ्चालक समिति गठन गरिएको छः-
(क) कार्यरथी - अध्यक्ष (ख) निर्देशक, सैनिक स्वास्थ्य सेवा - सदस्य (ग) प्रमुख स्थपति, प्रबन्ध रथी विभाग - सदस्य (घ) कमाण्डिङ्ग अफिसर (सी. ओ.) सैनिक अस्पताल - सदस्य (ङ) महासेनानी, बलानुगत विभाग - सदस्य (च) महासेनानी, संभार रथी विभाग - सदस्य (छ) प्रतिनिधि, महालेखा नियन्त्रक कार्यालय - सदस्य (ज) प्रतिनिधि, रक्षा मन्त्रालय - सदस्य (झ) रजिष्ट्रार, सैनिक अस्पताल - सदस्य-सचिव
(२) समितिको काम कर्तव्य देहाय बमोजिम हुनेछः–
(क) सैनिक अस्पतालमा हुनु पर्ने सबै काम सुचारु रुपले चलाउने आवश्यक व्यवस्था गर्ने, (ख) सैनिक अस्पताललाई एक आधुनिक र सुसज्जित अस्पतालमा परिणत गर्ने योजना बनाई स्वीकृतिको लागि नेपालसरकारमा पेश गर्ने र नेपाल सरकारबाट स्वीकृति भए बमोजिम तत्परता र कार्य कुशलतासाथ योजनालाई कार्यान्वयन गर्ने, (ग) प्रत्येक वर्ष आषाढ मसान्त भन्दा अगावै सैनिक अस्पतालको वार्षिक बजेट तयार पारी आवश्यक निकासा निमित्त नेपालसरकारमा पेश गर्नु पर्ने र स्वीकृत बजेट अनुसार अस्पतालको कोषबाट काममा खर्च गर्ने, (घ) आवश्यक परेमा समितिले कुनै एउटा रकम अन्तर्गत स्वीकृत भएको शीर्षक तलब बाहेकबाट अर्को शीर्षकमा रकमान्तर गरी खर्च निकासा दिने, (ङ) समितिले गरेको मुख्य मुख्य कामको मासिक प्रतिवेदन प्रधान सेनापति मार्फत नेपालसरकारमा पेश गर्ने।
४. समितिको बैठक र कार्य सञ्चालन: (१) समितिको साधारण बैठक अध्यक्षले आवश्यकतानुसार बोलाउने छ। कुनै सदस्यले कारण देखाई अनुरोध गरेमा पनि अध्यक्षले उचित ठानेमा सो बैठक बोलाउन सक्नेछ।
(२) कुनै बैठक बोलाउनु भन्दा कम्तीमा २४ घण्टा अगावै बैठक हुने स्थान, समय र कार्यसूचीको सूचना समितिको सचिवले प्रत्येक सदस्यलाई दिनु पर्छ।
(३) समितिले साधारणतया कार्यसूचीमा भएका विषयहरूलाई लिएर मात्र छलफल गर्नेछ। तर कुनै सदस्यले कार्यसूची भन्दा बाहिरको कुरामा छलफल गर्ने प्रस्ताव राखेकोमा अध्यक्षले उचित सम्झेमा कार्यसूचीमा भएका विषयहरूमा छलफल टुङ्गी सकेपछि तिनै विषयमा समितिले छलफल गर्ने अनुमति दिन सक्नेछ।
(४) अध्यक्ष अनुपस्थित भएमा उपाध्यक्ष र निज पनि उपस्थित हुन नसकेमा हाजिर भएका सदस्यहरूमध्ये सबैभन्दा सिनियर सदस्यले समितिको बैठकको सभापतित्व गर्नेछ।
(५) पाँचजना सदस्यहरूको उपस्थितिलाई गणपुरक सङ्ख्या मानिने छ। तर सोही विषयमा अको पटक बैठक बोलाइएमा गणपुरक सङ्ख्या नभए तापनि बैठकको कार्य सञ्चालन गर्न सकिनेछ।
समितिको बैठकको निर्णय साधारण बहुमतबाट हुनेछ। तर मत बराबर भएमा अध्यक्षले निर्णयात्मक मत दिनेछ।
५. समितिको निर्णय प्रमाणित गर्ने: समितिको निर्णय समितिका सचिवले प्रमाणित गर्नेछ र समितिको तर्फबाट गरिने सबै काम कारवाई लेखापढी समितिको सचिवको दस्तखतबाट हुनेछ।
६. सैनिक अस्पतालको कोष: नेपाल सरकारबाट स्वीकृत बजेट अनुसार अन्य कुनै स्रोतबाट प्राप्त रकमको हकमा सैनिक अस्पतालको नाउँमा राष्ट्र बैङ्कमा खाता खोलिने छ र उक्त रकमबाट खर्चको निकासा यी नियमहरू बमोजिम समितिले दिनेछ।
७. औषधी र सरसामानको बरबन्दोबस्त: सैनिक अस्पताललाई चाहिने वर्ष भरिको लागि औषधी र अन्य आवश्यक सरसामान झिकाउँदा देहाय बमोजिम गर्नु पर्छ:–
(१) वर्षभरीमा सैनिक अस्पताललाई चाहिने औषधी र अन्य आवश्यक सरसामानका लगत इस्टिमेट सी. ओ. सैनिक अस्पतालले तयार पारी सैनिक स्वास्थ्य सेवा निर्देशक छेउ पेश गर्ने र निजले समितिको बैठकमा पेश गर्नुपर्छ।
(२) उप–नियम (१) बमोजिम पेश भएको लगत इस्टिमेटमा समितिले मुनासिब लागेतको निकासा दिन सक्नेछ।
(३) समितिले स्वीकृति दिएको लगत बमोजिम औषधी र अन्य आवश्यक सरसामानहरु उपलब्ध गराउने सैनिक स्वास्थ्य सेवा निर्देशक र रजिष्ट्रारको संयुक्त जिम्मेवारी हुनेछ।
(४) असाधारण अवस्थामा औषधी र अन्य आवश्यक सरसामान तुरुन्त झिकाउनु परेमा समितिले सैनिक स्वास्थ्य सेवा निर्देशक र रजिष्ट्रारलाई घटाघट वा विज्ञापन नगरिकन पनि झिकाउने वा खरिद गर्ने कुराको अख्तियार दिन सक्नेछ।
८. औषधी आदिको खर्चः सैनिक अस्पतालमा भएको औषधी खर्च र सरसामानहरुको प्रयोग देहाय बमोजिम हुनेछः–
(१) बाहिनी वा युनिटहरुको लागि कुन-कुन औषधी सरसामानहरु के कति चाहिने हो उप-स्वास्थ्य सेबाधिकृत र सहायक आरोग्याधिकृतले निर्धारित गरी तोकिएको तरीकाले सैनिक स्वास्थ्य सेवा निर्देशकमा माग पेश गर्नुपर्छ। सैनिक स्वास्थ्य सेवा निर्देशकले सो माग उपर विचार गरी बाहिनी तथा युनिटहरुको लागि ६ महिनाको अवधि भरको लागि औषधी आदि वितरण गर्ने ओ. सी. मेडिकल स्टोरलाई आदेश दिनेछ।
तर सैनिक अस्पतालको विभिन्न विभाग र एम. आई. रुमहरुको हकमा एक–एक महिनाको अवधि भरको लागि सैनिक स्वास्थ्य सेवा निर्देशकले आदेश दिनेछ।
(२) उप–नियम (१) बमोजिम वितरण हुने औषधी र सरसामानहरु खर्च हुने जति हस्तेवारी र खर्च हुने जति जिम्मेवारीमा दिइनेछ।
(३) बाहिनी युनिट र सि. ओ. सैनिक अस्पतालले औषधी र सरसामानको आम्दानी खर्चको विवरण प्रत्येक महिनाको पहिलो हप्ताभित्र सैनिक स्वास्थ्य सेवा निर्देशक कहाँ पठाउनु पर्नेछ।
९. श्रेस्ता जाँच र मिनाहा मोजराः (१) सैनिक अस्पतालमा भएको औषधी र सरसामानको आम्दानी र दैनिक खर्च श्रेस्तामा चढाउनु पर्दछ र महिना पुगेपछि सो आम्दानी खर्चको जम्मा जम्मीको तेररज बनाई श्रेस्ता दुरुस्त राख्नु पर्दछ।
(२) उप–नियम (१) बमोजिमको महिना महिनाको हिसाब साल तमाम भएको एक महीनाभित्र सि. ओ. सैनिक अस्पतालले समिति समक्ष पेश गर्नु पर्छ।
(३) सैनिक अस्पतालको महिना महिनाको र साल भरको आम्दानी खर्चको श्रेस्ता जाँच अध्ययन अधिले महालेखा नियन्त्रकको प्रतिनिधि वा अरू कुनै व्यक्तिलाई खटाउने छ र आवश्यक सम्झेमा अधिले यस्तो श्रेस्ता जहाँलेसुकै पनि जाँच गराउन सक्छ।
(४) उप–नियम (३) बमोजिम श्रेस्ता जाँच गर्न खटिएका व्यक्तिहरूले भिडाउनु पर्ने श्रेस्ता मिसिल कागजात समेत भिड़ाई आफूले जाँचेको निस्सासमेत गरी दिनु पर्छ।
(५) साल तमाम भएपछि साल भरको आम्दानी खर्चको श्रेस्ता जाँची दुरुस्त भएपछि साल तमामी वानसल बाँकी समितिमा पेश गरिनेछ र समितिले आवश्यक ठहराए बमोजिमका मिनाहा मोजरा वा फर फारक समेत गरी दिन सक्नेछ।
(६) यी नियमहरूमा लेखिएका कुनै कुराले पनि प्रचलित नेपाल कानुन बमोजिम महालेखा परीक्षकलाई प्राप्त अधिकारको प्रयोग गर्दामा बाधा पुर्याउने छैन।
१०. लिलाम बिक्रीः (१) सैनिक अस्पतालमा रहेको औषधी र सरसामानहरू अस्पतालको निमित्त काम नलाग्ने भएमा त्यस्ता औषधी र सरसामान सडाउन गलाउन वा मियत गर्न वा लिलाम बिक्री गर्नको लागि अर्डन्यान्सको प्रतिनिधि १ सैनिक अस्पतालका डाक्टर १ र समितिको एकजना सदस्यसमेत जम्मा ३ जनाको उप–समिति गठन गरिएको छ।
(२) उप–समितिको निर्णय सैनिक अस्पतालका सि. ओ. ले समितिमा पेश गरी निर्णय बमोजिम लगत कट्टा गर्न सि. ओ. ले सरोकारवाला सबैलाई जनाउ दिनेछ।
(३) उप–समितिको बैठक सैनिक अस्पतालका सि. ओ. ले बोलाउने छ।
(४) उप–समितिले लिलाम गर्ने भनी ठहराएमा मालसामानहरू रीतपूर्वक लिलाम बिक्री गरी भएको आम्दानी नेपालसरकारको सर्वसञ्चित कोषमा दाखिल गरिने छ।
११. निःशुल्क उपचारको सुविधाः आफ्नो कर्तव्य पालन गर्दा दुर्घटनामा पर्न गएमा नेपाली सेना मातहतका निजामती कर्मचारीलाई प्रधान सेनापति वा प्रिन्सिपल स्टाफ अधिकृतको सिफारिस भए सैनिक अस्पतालमा निःशुल्क उपचार गरिनेछ।
१२. खारेजीः सैनिक अस्पताल (सुव्यवस्था) नियमहरू, २०१८ खारेज गरिएको छ।
द्रष्टव्य: १. केही नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा रुपान्तर गरिएका शब्दहरुः “अफिसर” र “रिपोटर” को सट्टा “अधिकृत” र “प्रतिवेदन”। २. सरकारी रकम असुल फछ्र्यौट (पहिलो संशोधन) ऐन, २०३३ द्वारा रुपान्तर गरिएका शब्दहरुः “एकाउन्टेन्ट जनरल” को सट्टा “महालेखा नियन्त्रक”। ३. सैनिक ऐन, २०४० द्वारा रुपान्तर गरिएका शब्दहरुः “शाही सेना” को सट्टा “शाही नेपाली सेना”। ४. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”। ५. सैनिक ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरुः “शाही नेपाली सेना” को सट्टा “नेपाली सेना”।