सैनिक चन्दा र पुरस्कार सम्बन्धी नियमहरू, २०२४
नेपाल राजपत्रमा प्रकाशित मिति २०२४।०४।०१
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छः-
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस नियमको नाम “सैनिक चन्दा र पुरस्कार सम्बन्धी नियमहरू, २०२४” रहेको छ।
(२) यी नियमहरू २०२४ साल श्रावण १ गतेदेखि प्रारम्भ हुनेछन्।
२. प्रधान सेनापतिको अधिकारः (१) प्रधान सेनापतिको स्वीकृत बजेटको चन्दा पुरस्कार रकम मध्ये देहायको अवस्थामा देहाय बमोजिम चन्दा वा पुरस्कार स्वरूप आर्थिक सहायता दिन सकिनेछ।
(क) नेपाली सेनामा बहाल रहेका अथवा अवकाश प्राप्त गरिसकेको कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको मरणपछि त्यस्तो व्यक्तिको परिवार (पत्नी वा छोरा छोरी मात्र) को ज्यादै दयनीय अवस्था परी आर्थिक सहायता दिनुपर्ने देखिएमा एक पटकमा रु. ५००।– पाँचसयसम्म चन्दा,
(ख) सैनिक सार्वजनिक हितको निमित्त एक पटकमा रु. ५००।– पाँचसयसम्म चन्दा।
(२) नेपाली सेनामा देहायमा लेखिए बमोजिम अड्डा, गण, गुल्म, सेनामुख र पस्तस्तरमा सामूहिक प्रतियोगिता भएमा वा व्यक्तिगत उल्लेखनीय काम देखिएमा एक पटकमा रु. ५००।– पाँचसयसम्म पुरस्कारः–
(क) लाईन, ओछ्याउनेको सफाई र हिफाजत,
(ख) कवाज, शारीरिक अभ्यास, बन्दूक सहितको व्यायाम र टर्न आउट,
(ग) खेलकूद,
(घ) अव्स्टेकल र फील्ड क्राफ्ट, (ङ) व्यक्तिगत वा सामूहिक चाँदमारी, (च) बर बन्दोबस्त, (छ) वर्षभरीमा बिरामीको संख्या कम गरेमा, (ज) चालू वर्षमा शैक्षिक स्तरको प्रगति देखाएमा।
३. अधिकार प्रत्यायोजन: प्रधान सेनापतिले यी नियमहरू बमोजिम पाएको अधिकार र आफू मुनिका रथीवृन्दलाई आवश्यकतानुसार प्रत्यायोजन गर्न सक्नेछ। रथीवृन्दले नियम २ को अधीनमा रही काम गर्नेछन्।
४. लेखापरीक्षण: यी नियमहरू बमोजिम भए गरेको आम्दानी खर्चको लेखापरीक्षण प्रचलित नेपाल कानून बमोजिम हुनेछ।
रुपान्तर:– १. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरु: “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”। २. सैनिक ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरु: “शाही नेपाल सेना” को सट्टा “नेपाली सेना”।