हात्तीको व्यवस्था गर्ने नियमहरू, २०२२
नेपाल राजपत्रमा प्रकाशित मिति २०२३।१।१६
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छः–
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “हात्तीको व्यवस्था गर्ने नियमहरू, २०२२” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यी नियमहरूमा,–
(क) “हात्तीसार” भन्नाले हात्तीहरूको व्यवस्था गर्ने नेपाल सरकारले खडा गरेको हात्तीसार अड्डा सम्झनु पर्छ ।
(ख) “हाकिम” भन्नाले हात्तीसार अड्डाहरूमा रहेका मुख्य अधिकृत सम्झनु पर्छ ।
३. हाकिमको कर्तव्यः हाकिमको कर्तव्यहरू देहाय बमोजिमका हुनेछन्ः–
(१) हात्तीसारलाई हात्तीको स्वास्थ्य अनुकूलको ठाउँमा स्थापित गर्न नेपाल सरकारमा सिफारिस पेश गर्ने,
(२) हात्तीको स्वास्थ्य र सुव्यवस्था गर्दा हात्तीको नुहाउने, निन्द्रा समय र घाँस दाना आदिको पूर्ण जिम्मेवारीसाथ प्रबन्ध गर्ने,
(३) हात्तीको स्वास्थ्यलाई हानी नपुग्ने गरी हात्तीहरूको प्रयोगको उचित व्यवस्था गर्ने,
(४) अन्य आवश्यक काम कुरा जस्तै घाँस र फोहर मैला फ्याँक्ने व्यवस्था मिलाउने ।
४. हात्तीको प्रयोगमा शर्त बन्देज: (१) वन सेवामा रहेका कर्मचारीहरूले आफ्नो कर्तव्यको पालन गर्ने सिलसिलामा बाहेक अन्य सरकारी वा गैर सरकारी व्यक्तिहरूले नेपाल सरकारबाट तोकिएको दरले भाडा* तिरेर मात्र हात्तीको प्रयोग गर्न पाउने छन् ।
(२) हात्तीले हात्तीसार छोडेको दिनदेखि दिनदेखि हात्तीसार फिर्ता पुगेको दिनसम्मको हिसाब गरी भाडा असुल उपर गरिनेछ ।
(३) हात्तीको प्रयोग गर्न निमित्त सम्बन्धित इलाकाको कन्जरभेटर कार्यालयमा वा सम्बन्धित हात्तीसारमा रु. १।- एकको टिकट टाँसी दरखास्त दिनु पर्दछ र कन्जरभेटरले वा हाकिमले हात्तीलाई फुर्सद भै प्रयोग गर्न दिन मनासिव ठानेमा प्रयोग गर्न अनुमति दिन सक्नेछ ।
(४) आवश्यक परेमा नेपाल सरकारले विना भाडामा पनि हात्ती दिन सक्नेछ । तर राजनीतिक काम र बोझ बोक्ने कामको लागि हात्तीहरू दिइने छैन ।
५. हात्ती मरेमा गर्ने: (१) कुनै हात्ती केही कारणले मर्नु गएमा सम्बन्धित इलाकाको कन्जरभेटरले आवश्यक जाँच पडताल गरी वा गर्न लगाई हात्तीको अन्त्येष्टी कर्म गर्न आदेश दिनेछ ।
(२) कन्जरभेटरले आफ्नो जाँच पडतालको प्रतिवेदनमा हात्ती मर्नुको सबै कारण राम्रोसँग खुलाई चीफ कन्जरभेटर कार्यालयमा चाँडो पठाउनु पर्दछ । प्रतिवेदन साथ त्यस्तो हात्तीको हस्तिहाड, दाँत र गजमोती भए सो समेत चलाउनी गरी पठाउनु पर्दछ ।
६. चीफ कन्जरभेटरको अधिकार: चीफ कन्जरभेटरले हात्तीको सुव्यवस्थाको लागि आवश्यक ठानेको आदेश वा निर्देश कन्जरभेटरहरू वा हाकिमलाई दिन सक्नेछ ।
द्रष्टव्य: (१) केही नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा रूपान्तर भएका शब्दहरुः- “अफिसर” “अफिस” र “रिपोर्ट” को सट्टा “अधिकृत” “कार्यालय” र “प्रतिवेदन” । (२) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।*