हुलाक बचत बैङ्क नियमावली, २०३३ नेपाल राजपत्रमा प्रकाशित मिति २०३३।०३।२२
संशोधन १. हुलाक बचत बैङ्क (पहिलो संशोधन) नियमावली, २०४९ २०४९।०१।८ २. हुलाक बचत बैङ्क (दोस्रो संशोधन) नियमावली, २०५३ २०५३।०३।२४ ३. हुलाक बचत बैङ्क (तेस्रो संशोधन) नियमावली, २०६९ २०६९।०९।२३
हुलाक ऐन, २०१९ को दफा ४२ख. ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “हुलाक बचत बैङ्क नियमावली, २०३३” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले हुलाक ऐन, २०१९ सम्झनु पर्छ। (ख) “बैङ्क” भन्नाले नियम ३ बमोजिम तोकिएको हुलाक बचत बैङ्क सम्झनु पर्छ। (ग) “नाबालक” भन्नाले सोह्र वर्ष उमेर नपुगेको व्यक्ति सम्झनु पर्छ। (घ) “खातावाला” भन्नाले बैङ्कमा आफ्नो नाममा रकम जम्मा गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले नाबालक खाताको हकमा निजको नाममा रकम जम्मा गर्ने व्यक्ति समेतलाई जनाउँछ। (ङ) “पासबुक” भन्नाले बैङ्कमा जम्मा गरिएको रकमको हिसाब देखिने निस्सा सम्झनु पर्छ। *(च) “समिति” भन्नाले नियम ३क. बमोजिमको हुलाक बचत बैङ्क सल्लाहकार समिति सम्झनु पर्छ।
३. हुलाक बचत बैङ्क : हुलाक बचत बैङ्कको काम गर्ने ऐनको दफा ४२क. बमोजिम नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी हुलाक अड्डालाई तोक्न सक्नेछ।
*३क. हुलाक बचत बैङ्क सल्लाहकार समिति : (१) हुलाक बचत बैङ्कलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्ने काममा हुलाक सेवा विभागलाई सहयोग र सल्लाह दिन एक हुलाक बचत बैङ्क सल्लाहकार समिति रहनेछ। (२) समितिमा देहायका अध्यक्ष र सदस्यहरू रहने छन्:- (क) सचिव, सूचना तथा सञ्चार मन्त्रालय वा निजले तोकेको अधिकृत - अध्यक्ष (ख) महानिदेशक, हुलाक सेवा विभाग - सदस्य (ग) प्रतिनिधि, अर्थ मन्त्रालय - सदस्य (घ) प्रतिनिधि, नेपाल राष्ट्र बैङ्क - सदस्य (ङ) कार्यालय प्रमुख, धनादेश कार्यालय - सदस्य-सचिव
*३ख. समितिको काम : समितिको काम देहाय बमोजिम हुनेछ :- (क) बैङ्क सञ्चालन गर्नको लागि हुलाक सेवा विभागलाई आवश्यक सल्लाह दिने, (ख) बैङ्कको काम कारबाहीको अध्ययन र समीक्षा गरी हुलाक सेवा कार्यालयलाई सुझाव दिने, र (ग) यस नियममा उल्लेख भए बमोजिमका अन्य काम गर्ने।
*३ग. समितिको बैठक : (१) समितिको बैठक कम्तीमा वर्षको दुई पटक बस्नेछ। (२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ। (३) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ। (४) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफूले निर्धारण गरे बमोजिम हुनेछ।
४. खाताको किसिम : बैङ्कमा देहायका खाताहरू खोल्न सकिनेछ :- (क) व्यक्तिगत खाता, (ख) संयुक्त खाता, (ग) नाबालक खाता।
* पहिलो संशोधनद्वारा थप। $\beta$ दोस्रो संशोधनद्वारा संशोधित।
५. व्यक्तिगत खाता : एकजनाले एक भन्दा बढी व्यक्तिगत खाता खोल्न पाउने छैन । तर आफ्नो नाममा र आफ्नो नाबालक छोरा छोरीको नाममा गरी दुई वटासम्म व्यक्तिगत खाता खोल्न यस नियमले बाधा पुर्याउने छैन ।
६. संयुक्त खाता : प्रचलित नेपाल कानून बमोजिम गठित वा दर्ताथ भएको संघ संस्थाको नाममा वा दुई वा दुई भन्दा बढी व्यक्तिको नाममा संयुक्त खाता खोल्न सकिनेछ ।
७. नाबालक खाता : नाबालकको नाममा निजको आमा, बाबु वा संरक्षकले नाबालक खाता खोल्न सकिनेछ ।
८. खाता खोल्ने तरिका : (१) लेखपढ गर्न जान्ने व्यक्तिले खाता खोल्दा बैङ्कले तोकेको फाराममा आफ्नो दस्तखतको नमूना लेखी र लेखपढ गर्न नजान्ने व्यक्तिले खाता खोल्दा बैङ्कले तोकेको फाराममा आफ्नो बूढी औंलाको छाप लगाई, अन्य कुनै खातावाला वा हुलाक अड्डाका कुनै कर्मचारीबाट त्यसको समर्थन गराई हुलाक हाकिम समक्ष निवेदन गर्नु पर्छ । (२) खातावालाले खाता खोल्दा आफूले पाउनु पर्ने रकम आफ्नो शेषपछि झिक्न दुई जना व्यक्तिसम्म इच्छाउन सक्नेछ । (३) संयुक्त खाता खोल्दा खातावालाहरू सबैको संयुक्त दस्तखतबाट वा खातावालाहरूमध्ये कुनै एकको दस्तखतबाट खाता सञ्चालन हुने गरी खाता खोल्न सकिनेछ । (४) एक खातावालाको मृत्यु भएमा जीवित खातावालाले खाताको सबै रकम झिक्न पाउने ततथ तोकी संयुक्त खाता खोल्न सक्नेछ । (५) संघ संस्थाको खाताको सञ्चालन सो संघ संस्थाको दुईजना पदाधिकारीको संयुक्त दस्तखतबाट गर्नु पर्छ । निजहरू बदलिएमा त्यसको लिखित जानकारी सम्बन्धित हुलाक अड्डालाई तुरुन्त दिनुपर्नेछ र साथै सो खाता सञ्चालनको लागि अधिकृत गरिएको नयाँ पदाधिकारीको दस्तखतको नमूना पनि हुलाक अड्डामा पठाउनु पर्नेछ ।
९. रकम जम्मा गर्ने : बैङ्कमा खाता खोल्न र पटक पटक जम्मा गर्न आवश्यक पर्ने न्यूनतम रकमको हद तथा बैङ्कमा जम्मा गरी मौज्दात राख्न सकिने अधिकतम रकमको हद समितिको सिफारिसमा हुलाक सेवा विभागले तोके बमोजिम हुनेछ ।
१०. रकम झिक्ने कार्यविधि : (१) रकम झिक्नु पर्दा खातावालाले बैंकले तोकेको फाराम भरी पासबुक समेत पेश गर्नु पर्छ। (२) नाबालकको नाममा खोलिएको खाताबाट निजको नाममा खाता खोल्ने व्यक्तिले रकम झिक्न सक्नेछ। (३) नाबालकको उमेर पुगेपछि निजले मात्र आफ्नो नाममा रहेको खाताबाट रकम झिक्न पाउनेछ। (४) संयुक्त खाता खोल्दा एक खातावालाको मृत्यु भएमा अर्को खातावालाले सबै रकम झिक्न पाउने गरी शर्त तोकिएको भए एक खातावालाको मृत्यु भएमा जीवित खातावालाले सो खाताको सबै रकम झिक्न पाउनेछ। त्यस्तो शर्त नतोकिएको भए जीवित खातावालाले र मृत खातावालाको नियम ११ को उपनियम (३) बमोजिमको क्रम अनुसारको हकदारले सो खाताको रकम झिक्न पाउनेछ। $\sigma$ (५) खातामा जम्मा भएको रकममध्येबाट एकै पटक वा पटक-पटक गरी निकाल्न पाउने रकमको परिमाण समितिको सिफारिसमा हुलाक सेवा विभागले तोके बमोजिम हुनेछ। $\sigma$ (६) खाता खोल्न आवश्यक पर्ने न्यूनतम रकम भन्दा कम रकम खातामा मौज्दात रहने गरी बैंकबाट झिक्न पाइने छैन। (७) $\dagger$...........
११. जम्मा रकममा लाग्ने हक दावी : (१) बैंकमा जम्मा भएको रकममा खातावाला बाहेक अरू कसैको हक दावी लाग्ने छैन। तर नाबालक खाताको हकमा नाबालकको उमेर पूरा नभएसम्म निजको नाममा जम्मा गर्ने व्यक्तिको हक लाग्नेछ। (२) खातावालाको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बैंकमा जम्मा भएको रकम लिन पाउनेछ। दुई जनालाई इच्छाइएकोमा इच्छाएको पहिलो व्यक्तिले जम्मा भएको रकम लिन पाउनेछ र पहिलो व्यक्ति मृत्यु भएमा इच्छाइएको दोस्रो व्यक्तिले सो रकम लिन पाउनेछ। (३) इच्छाएको व्यक्तिहरूको मृत्यु भएमा वा कसैलाई इच्छाएको रहेन भने देहायको नातापे मध्ये क्रम अनुसार जुन जीवित छ सोही व्यक्तिको त्यस्तो खातामा हक लाग्नेछ: -
$\dagger$ दोस्रो संशोधनद्वारा संशोधित।
(क) सगोलको पति वा पत्नी, (ख) सगोलको छोरा, (ग) सगोलको अविवाहित छोरी, (घ) सगोलको बाबु, आमा र छोरापट्टिको नाति, (ङ) भिन्न बसेको पति वा पत्नी, (च) भिन्न बसेको छोरा, (छ) भिन्न बसेको अविवाहित छोरी, बाबु र आमा, (ज) सगोलको बाबुपट्टिको बाजे, बज्यै, दाजु, भाई, विधवा छोरा बुहारी र छोरा पट्टिको अविवाहित नातिन, (झ) सगोलको अविवाहित दिदी बहिनी र विवाहित छोरी, (ञ) सगोलको भतिजा भतिजी, सौतेनी आमा, भिन्न बसेका छोरापट्टिको नाति, अविवाहित नातिन, (ट) सगोलका काका, विधवा काकी, भाउज्यू, भाई बुहारी, नातिनी बुहारी, (ठ) भिन्न बसेका दाजु, भाई, (ड) विवाहित दिदी, बहिनी, भिन्न बसेका बाजे, बज्यै, विधवा छोरा बुहारी, नातिनी बुहारी, भतीजा।
स्पष्टीकरण : एक क्रममा एकभन्दा बढी नातेदारहरू तोकिएको भए सो क्रममा तोकिएका सबै नातेदारहरूले बराबर हिस्सामा मृत खातावालाको बाँकी रकम पाउन सक्नेछ।
(४) उपनियम (२) वा (३) बमोजिम इच्छाइएको व्यक्ति वा हकदारले मृत खातावालाको रकम झिक्न खातावालाको मृत्यु भएको मितिले तीन वर्षभित्र सो कुराको सूचना बैङ्कलाई दिनु पर्छ।
१२. बैङ्कले भुक्तानी दिने : (१) खातावालालाई माग बमोजिमको रकमको भुक्तानी दिँदा बैङ्कको सम्बन्धित कर्मचारीले खातावालाको दस्तखत लिई निजको बैङ्कमा रहेको दस्तखतको नमुनासित भिड्नेछ। दस्तखत मिलेमा र सञ्चित रकमबाट माग बमोजिमको रकम भुक्तानी दिन पुग्ने देखिएमा झिक्न चाहेको रकमलाई निजको खाता र पासबुकमा चढाई बाँकी रकम समेत दर्शाई भुक्तानी दिइनेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि खातावालाको दस्तखत निजको बैङ्कमा अधिकृत रहेको दस्तखतको नमुनासित नमिलेमा पनि देहाय बमोजिम जमानी लिई निजलाई भुक्तानी दिन सकिनेछ:- (क) भुक्तानी दिने काउण्टर तथा सम्बन्धित खाताको काम गर्ने कर्मचारी बसेका हुलाक अड्डाका अन्य स्थायी कर्मचारीको जमानी लिई, वा (ख) झिक्न चाहेको रकम भन्दा सो बैङ्कमा बढी सञ्चित रहेको खातावालाको जमानी लिई, वा (ग) हुलाक हाकिमले पत्याएको व्यक्तिको जमानी लिई। (३) लेखपढ गर्न नजान्ने खातावालाको ल्याप्चे छापको सम्बन्धमा शङ्का लागेमा उपनियम (२) बमोजिम जमानी लिई रकमको भुक्तानी दिन सकिनेछ।
१३. बैङ्कले गर्नुपर्ने काम : (१) प्रत्येक खातावालाको छुट्टा छुट्टै पानामा हिसाब गरी हुलाक अड्डामा राखिनेछ। (२) उपनियम (१) बमोजिमको खातामा जम्मा गरिने र झिक्ने रकमको साथै व्याज समेत बढाई राखिनेछ। खाताको जाँच हुलाक हाकिम वा सो कामका लागि तोकिएका कर्मचारीबाट हुनेछ र निजले जाँच गरेपछि सो खातामा आफ्नो सही गरी त्यसलाई प्रमाणित गरी दिनु पर्छ। (३) कुनै खातावालाले आफ्नो खाताको नक्कल को माग गरी $\text{I}$....... हुलाक हाकिम समक्ष निवेदन गरेमा हुलाक हाकिमले माग अनुसारको नक्कल खातावालालाई उपलब्ध गराई दिनु पर्छ। (४) $\text{I}$.......... $\star$(५) बचत बैङ्क सम्बन्धी तथ्याङ्क बैङ्कको केन्द्रीय लेखा राख्ने कार्यालयले प्रत्येक तीन महिनामा नेपाल राष्ट्र बैङ्कमा पठाउनु पर्नेछ।
१४. खातावालालाई पासबुक दिने : (१) खाता खोल्दा र पासबुकमा ठाउँ पुगी पासबुक बदल्नु पर्दा खातावालालाई अर्को पासबुक निःशुल्क दिइनेछ। (२) खातावालाको लापरवाहीले गर्दा पासबुक हराएमा, च्यातिएमा वा नष्ट भएमा निजले $\text{S}$पाँच रूपैया दस्तुर सहित अर्को पासबुकको लागि हुलाक हाकिम समक्ष निवेदन गर्नु पर्छ। यसरी निवेदन परेमा हुलाक हाकिमले निजलाई अर्को पासबुक उपलब्ध गराई दिनेछ।
$\text{I}$ दोस्रो संशोधनद्वारा झिकिएको। $\star$ पहिलो संशोधनद्वारा थप।
(३) खातावालाको लापरवाहीको कारणबाट कसैले निजको पासबुक ल्याएर दस्तखत मिलाई रकम झिकी लगेमा वा अन्य किसिमको कारबाही हुन गएमा त्यसको लागि हुलाक अडडा जवाफदेही हुने छैन ।
१५. ब्याजको दर : $\beta$(१) बैङ्कमा मौज्दात रहेको रकममा दिइने ब्याजदर र ब्याज दिने प्रक्रिया समितिको सिफारिसमा सूचना तथा सञ्चार मन्त्रालयले तोकिदिए बमोजिम हुनेछ । यसरी तोकिएको ब्याजदरको जानकारी सो मन्त्रालयले नेपाल राष्ट्र बैङ्कलाई दिई सर्वसाधारणको जानकारीको लागि नेपाल $\gamma$........ बाट प्रकाशित हुने प्रमुख पत्रपत्रिकामा प्रकाशन गर्नु पर्नेछ । (२) $\delta$........... (३) $\delta$........... (४) खातावालाले प्रत्येक आर्थिक वर्ष व्यतीत भएको तीन महिनाभित्र आफ्नो पासबुक हुलाक अडडामा लगी हिसाब भिडाई दुरुस्त राख्नु पर्छ ।
१६. बैङ्कमा रहेको खाता बही र अन्य स्रेस्ताको निरीक्षण र गोपनीयता : (१) बैङ्कमा रहेको रकम सम्बन्धित विवरण सम्बन्धित खातावाला बाहेक अरू कसैलाई आधिकारिक रूपमा बताइने छैन । (२) कुनै मुद्दा मामिला वा अन्य कानूनी कारबाहीको सिलसिलामा अदालतले बैङ्कको काम नरोकिने गरी बैङ्कको बही खाता वा अन्य स्रेस्ताको निरीक्षण गर्न सक्नेछ र निरीक्षणको लागि त्यस्तो बहीखाता वा अन्य स्रेस्ता प्रस्तुत गर्नु बैङ्क तथा सम्बन्धित कर्मचारीको कर्तव्य हुनेछ । (३) बैङ्कको खाता बही र अन्य स्रेस्ताको निरीक्षण गर्दा अदालत, लेखा परीक्षक वा अरू कसैले पनि बैङ्क कारोबारको गोपनीयता भङ्ग गर्नु हुँदैन ।
$\sigma$१७. बैङ्कको रकम लगानी : बैङ्कमा जम्मा भएको रकम समितिको सिफारिसमा $\beta$सूचना तथा सञ्चार मन्त्रालयले समय समयमा तोकिदिए बमोजिम लगानी गरिनेछ ।
१८. लेखापरीक्षण : बैङ्कको लेखापरीक्षण प्रचलित नेपाल कानून अनुसार महालेखा परीक्षकबाट हुनेछ ।
$\sigma$ पहिलो संशोधनद्वारा संशोधित । $\beta$ दोस्रो संशोधनद्वारा संशोधित । $\gamma$ तेस्रो संशोधनद्वारा झिकिएको । $\delta$ दोस्रो संशोधनद्वारा झिकिएको ।
१९. निर्देशनको पालना गर्नु पर्ने : बैङ्कले हुलाक सेवा विभागबाट समय समयमा दिइएको निर्देशनहरू पालना गर्नु पर्नेछ।
२०. निर्देशिका बनाउन सक्ने : (१) ऐन र यस नियमावलीको व्यवस्थाको अधीनमा रही हुलाक बचत बैङ्कको सम्बन्धमा हुलाक सेवा विभागले निर्देशिका बनाउन सक्नेछ। (२) उपनियम (१) बमोजिम बनाइएको निर्देशिकाको पालना गर्नु बैङ्कको कर्तव्य हुनेछ।
$\phi$ दोस्रो संशोधनद्वारा थप। द्रष्टव्य :- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर गरिएका शब्दहरूः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।