नेपाल राजपत्रमा प्रकाशित मिति २०७९।०५।२३
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “हेजिङ्ग नियमावली, २०७९” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) "ऐन" भन्नाले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ सम्झनु पर्छ। (ख) "कोष" भन्नाले नियम १३ बमोजिमको कोष सम्झनु पर्छ। (ग) "परियोजना” भन्नाले अन्तर्राष्ट्रिय मुद्रा कोषले कायम गरेको स्पेशल ड्रइङ्ग राइट्स (एसडीआर) भित्र परेको विदेशी मुद्रामा ऋण लगानी हुने नियम ३ बमोजिमको परियोजना सम्झनु पर्छ। (घ) "मन्त्रालय" भन्नाले नेपाल सरकार, अर्थ मन्त्रालय सम्झनु पर्छ। (ङ) "व्यावसायिक संस्था" भन्नाले परियोजना स्वीकृत गर्ने वा अनुमति दिने नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व रहेको प्रचलित कानून बमोजिम स्थापित प्राधिकरण, निगम, संस्था, कम्पनी, कोष वा अन्य यस्तै प्रकृतिको संस्था सम्झनु पर्छ र सो शब्दले सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ५ बमोजिम स्थापित लगानी बोर्डलाई समेत जनाउँछ। (च) “हेजिङ्ग” भन्नाले अन्तर्राष्ट्रिय मुद्रा कोषले कायम गरेको स्पेशल ड्रइङ्ग राइट्स (एसडीआर) भित्र परेको विदेशी मुद्रामा गरेको ऋण लगानी फिर्ता गर्दा हुन सक्ने विदेशी विनिमय दर जोखिम न्यूनीकरणको लागि त्यस्तो लगानी जुन विनिमय दरमा विदेशी मुद्रा बैङ्कमा जम्मा गरेको हो सोही विनिमय दरमा हेजिङ्ग सम्झौतामा निर्धारण भएबमोजिम ऋणको सावाँ ब्याज भुक्तानी गरी लगानी फिर्ता लैजान पाउने गरी गरिएको विदेशी मुद्राको विनिमय दर स्थिर (लक) गर्ने कार्य सम्झनु पर्छ।
(छ) “हेजिङ्ग गर्ने संस्था” भन्नाले हेजिङ्ग सुविधा प्रदान गर्नको लागि नियम ६ बमोजिम तोकिएको संस्था सम्झनुपर्छ।
(ज) "हेजिङ्ग शुल्क" भन्नाले हेजिङ्ग गर्ने संस्थाले नियम ४ बमोजिम निर्धारण गरेको शुल्क सम्झनुपर्छ।
३. हेजिङ्ग सुविधा उपलब्ध गराउन सकिने: (१) देहायका परियोजनाहरूको लागि हेजिङ्ग सुविधा उपलब्ध गराउन सकिनेछ:- (क) एक सय मेगावाट वा सोभन्दा बढी क्षमताको जलाशययुक्त वा अर्ध जलाशययुक्त विद्युत परियोजना, (ख) दुई सय बी.भी. वा सो भन्दा बढी भोल्टेज लेभलको तीस किलोमिटरभन्दा लामो विद्युत प्रसारण लाइनको निर्माण परियोजना, (ग) दस किलोमिटर भन्दा लामो मेट्रो वा मोनो रेलमार्गको निर्माण परियोजना, (घ) शुल्क लिई सञ्चालन गर्ने सडक, फ्लाईओभर, अण्डरपास, सिग्नेचर पुल वा सुरुङ्गमार्ग निर्माण तथा पचास किलोमिटर भन्दा लामो द्रुतमार्ग निर्माण परियोजना, (ङ) अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थलको निर्माण तथा क्षमता विस्तार परियोजना, (च) दुई अर्ब रुपैयाँभन्दा माथिको स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन, सूचना प्रविधि, औद्योगिक पूर्वाधार र शहरी विकास सम्बन्धी पूर्वाधार परियोजना, (छ) नेपाल सरकारले निर्णय गरी तोकेको अन्य परियोजना।
(२) उपनियम (१) बमोजिमको हेजिङ्ग सुविधा कुनै परियोजनामा लगानी गरिने ऋणको सावाँ तथा ब्याजको रकमको लागि उपलब्ध गराइनेछ।
(३) उपनियम (१) बमोजिमको कुनै परियोजनामा गरिने विदेशी ऋण लगानीको हेजिङ्ग गर्न भएमा हेजिङ्ग गर्ने अनुमानित ऋण लगानीको अङ्क वा अनुमतिको लागि व्यावसायिक संस्थामा आवेदन गर्दा नै खुलाउनु पर्नेछ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै परियोजना स्वीकृत भई वा अनुमति प्राप्त गरिसकेपछि कुनै विदेशी ऋण प्राप्त गर्दा अझै नियम ८ बमोजिम हेजिङ्ग सुविधा प्राप्त गर्न निवेदन दिन सकिनेछ।
तर त्यस्तो परियोजनाको हेजिङ्ग शुल्क नियम ५ को उपनियम (२) बमोजिम नेपाल सरकारबाट व्यहोरिने छैन।
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि हरित पूर्वाधारमा लगानी गर्ने गरी बैङ्क तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय वित्त बजारमा ऋण उपकरण (निबण्ड) जारी गरी वा अन्तर्राष्ट्रिय बैङ्क तथा वित्तीय संस्थासँग ऋण लिई अन्तर्राष्ट्रिय मुद्रा कोषले कायम गरेको स्पेशल ड्रइङ्ग राइट्स (एसडीआर) भित्र पर्ने विदेशी मुद्रामा कम्तीमा दुई करोड अमेरिकी डलर वा सो भन्दा बढी रकम बराबरको कारोबारमा हेजिङ्ग सुविधा उपलब्ध गराउन सकिनेछ। त्यसरी हेजिङ्ग सुविधा उपलब्ध गराइएकोमा नेपाल सरकारले हेजिङ्ग शुल्कको दिष्ट प्रतिशतसम्म व्यहोर्न सक्नेछ र त्यस्तो हेजिङ्गको अवधि सात वर्षको हुनेछ ।
४. हेजिङ्ग शुल्कः (१) हेजिङ्ग गर्ने संस्थाले विदेशी विनिमय दरको जोखिम, मुद्रा स्फीति जोखिम, परियोजनाको स्वरूप, ऋणको अंश, ऋण भुक्तानी गर्नु पर्ने अवधि, अन्तरमुद्रा प्रचलित ब्याजदर, जोखिमको व्यवस्थापन तथा हस्तान्तरण र परियोजनाको प्रकृति समेतको आधारमा हेजिङ्ग शुल्क निर्धारण गर्नेछ। (२) उपनियम (१) बमोजिम हेजिङ्ग शुल्क निर्धारण गर्दा हेजिङ्ग गर्ने संस्थाले आवश्यकता अनुसार मन्त्रालय, बैङ्क, व्यावसायिक संस्था, सरोकारवाला निकाय, परियोजना र त्यस्तो परियोजनाको लगानीकर्तासँग समन्वय गर्नेछ। (३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुनु अघि हेजिङ्ग शुल्क निर्धारण भई सम्झौता भइसकेकाको हकमा त्यस्तो शुल्क त्यस्तो सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।
५. हेजिङ्ग शुल्क व्यहोर्नेः (१) नियम ४ बमोजिम निर्धारण भएको हेजिङ्ग शुल्क सम्बन्धित परियोजना, व्यावसायिक संस्था र हेजिङ्ग गर्ने बैङ्क बीचको त्रिपक्षीय समझदारीमा निर्धारण भए बमोजिम परियोजना र व्यावसायिक संस्थाबाट व्यहोरिनेछ। (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका परियोजनामध्ये सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन हुने नेपाल सरकारको राष्ट्रिय प्राथमिकतामा परेको वा राष्ट्रिय गौरवका परियोजनामा नेपाल सरकारले हेजिङ्ग शुल्कको देहाय बमोजिमको प्रतिशत रकम व्यहोर्न सक्नेछ:-
(३) उपनियम (२) बमोजिम नेपाल सरकारले हेजिङ्ग शुल्कको हिस्सा व्यहोरे भएमा बाँकी हेजिङ्ग शुल्क उपनियम (१) बमोजिम व्यहोरिनेछ ।
(४) उपनियम (२) बमोजिम कुनै परियोजनामा नेपाल सरकारबाट हेजिङ्ग शुल्क व्यहोरिने भएमा त्यस्तो परियोजना स्वीकृत हुनु अघि मन्त्रालयबाट उपनियम (२) बमोजिम हेजिङ्ग शुल्क व्यहोरिने विषयमा सहमति लिनु पर्नेछ ।
(५) उपनियम (२) बमोजिम कुनै परियोजनामा नेपाल सरकारबाट हेजिङ्ग शुल्क व्यहोर्ने स्वीकृतिका लागि सम्बन्धित परियोजना, व्यावसायिक संस्था र हेजिङ्ग गर्ने संस्थाले संयुक्त रूपमा मन्त्रालयमा निवेदन दिनु पर्नेछ र मन्त्रालयले त्यस्तो परियोजनामा हेजिङ्ग शुल्क के कति व्यहोर्ने भन्ने कुराको जानकारी सम्बन्धित परियोजनालाई दिनेछ ।
(६) उपनियम (२) बमोजिम नेपाल सरकारबाट हेजिङ् शुल्क व्यहोर्ने भएमा त्यस्तो शुल्क नेपाल सरकारलाई प्राप्त हुने शुल्क, रोयल्टी वा दस्तुरमा समावेश गरी असुल उपर्ने गरी व्यवस्थापन गर्न सकिनेछ।
(७) यस नियम बमोजिम व्यावसायिक संस्थाबाट व्यहोर्ने हेजिङ् शुल्क पूरै वा आंशिक रुपमा त्यस्तो संस्था आफैंले व्यहोर्न वा सम्बन्धित नियामक निकायको सहमतिमा त्यस्तो परियोजनाबाट प्राप्त हुने सेवा वा सुविधा उपभोग गरे बापत सम्बन्धित उपभोक्ताबाट उठाइने महसुल वा शुल्कमा समानुपातिक रुपमा समावेश गरी उपभोक्ताले व्यहोर्ने गरी व्यवस्थापन गर्न सकिनेछ।
६. हेजिङ् गर्ने संस्था तोक्ने: (१) यस नियमावली बमोजिम हेजिङ् सुविधा प्रदान गर्ने संस्थाको रुपमा काम गर्न चाहेने प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैंकले आफ्नो व्यावसायिक योजनासहित मन्त्रालयमा प्रस्ताव पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रस्ताव, सोसाथ पेश भएको हेजिङ् सम्बन्धी व्यावसायिक योजना तथा सम्बन्धित प्रस्तावकको कार्यक्षमता समेतको आधारमा मूल्याङ्कन गरी मन्त्रालयले कुनै बैंकलाई हेजिङ् गर्ने संस्थाको रुपमा तोक्नेछ।
७. हेजिङ् सुविधाको अवधि: (१) हेजिङ् गर्ने संस्थाले परियोजनामा लगानी हुने विदेशी ऋणको कुल परिमाण, विदेशी ऋण सम्झौता बमोजिम त्यस्तो ऋण चुक्ता गर्नु पर्ने अवधि र त्यसको ब्याजदर, ऋण उपकरण (बण्ड) को हकमा सोको अवधि समेतको आधारमा हेजिङ् सुविधाको अधिकतम अवधि निर्धारण गर्न सकिनेछ।
(२) उपनियम (१) बमोजिमको हेजिङ् सुविधाको अधिकतम अवधि निर्धारण गर्दा देहायको परियोजनालाई नियम १२ बमोजिम विनिमय दर स्थिर (लक) भएको मितिदेखि देहायको अवधिमा नबढ्ने गरी हेजिङ् सुविधाको अवधि निर्धारण गर्न सकिनेछ:-
(क) नियम ३ को उपनियम (१) को खण्ड (ख), (घ) र (ङ) बमोजिमको परियोजनाको हकमा सात वर्ष,
(ख) नियम ३ को उपनियम (१) को खण्ड (क), (ग) र (च) बमोजिमको परियोजनाको हकमा बाह्र वर्ष, र
(ग) नियम ३ को उपनियम (१) को खण्ड (छ) बमोजिमको परियोजनाको हकमा नेपाल सरकारले निर्णय गरे बमोजिमको अवधि।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि तपिन ऋण बाँकी रहेका परियोजना वा त्यसको लगानीकर्ताको अनुरोधमा उपनियम (१) बमोजिम निर्धारण गरिएको हेजिङ्ग सुविधाको अधिकतम अवधिमा हेजिङ्ग गर्ने संस्थाले एक पटकको लागि बढीमा पाँच वर्षको अवधि थप गर्न सक्नेछ।
(४) उपनियम (३) बमोजिम अवधि थप गर्नु पर्ने अवस्था भएमा सम्बन्धित परियोजना वा त्यसको लगानीकर्ताले उपनियम (१) बमोजिम निर्धारित अवधि समाप्त हुनु भन्दा कम्तीमा जब्बे दिन अगावै अवधि थपको लागि हेजिङ्ग गर्ने संस्थामा निवेदन दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम निवेदन प्राप्त भएमा हेजिङ्ग गर्ने संस्थाले परियोजनाको प्रकृति अनुसार विनिमय दर र हेजिङ्ग शुल्क कायम गरी मन्त्रालयको स्वीकृति लिई उपनियम (३) बमोजिम हेजिङ्ग सुविधाको अवधि थप गर्न सक्नेछ।
८. निवेदन दिनु पर्नेः (१) हेजिङ्ग सुविधा प्राप्त गर्न चाहने परियोजना वा त्यसको लगानीकर्ताले अनुसूची-१ बमोजिमको ढाँचामा हेजिङ्ग गर्ने संस्थामा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको निवेदनसाथ देहायका विवरण तथा कागजात संलग्न गर्नु पर्नेछः-
(क) परियोजना कार्यान्वयन सम्बन्धमा सम्बन्धित निकायबाट प्राप्त अनुमतिपत्रको प्रतिलिपि,
(ख) परियोजनामा हुने विदेशी ऋण लगानी सम्बन्धी सम्झौता वा आशयपत्रको प्रतिलिपि,
(ग) प्रचलित सङ्घीय कानून बमोजिम विदेशी ऋण लगानी गर्न तथा विदेशी मुद्रा ल्याउन स्वीकृति पाएको पत्रको प्रतिलिपि,
(घ) हेजिङ्ग शुल्क व्यहोर्ने सम्बन्धमा नियम ५ को उपनियम (१) बमोजिम भएको समझदारी र नेपाल सरकारले हेजिङ्ग शुल्क व्यहोर्ने भए नियम ५ को उपनियम (४) बमोजिम मन्त्रालयले दिएको सहमति,
(ङ) लगानी गर्ने वा परियोजना सञ्चालन गर्ने कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
(च) नियम ३ को उपनियम (१) को खण्ड (छ) बमोजिम नेपाल सरकारले हेजिङ्ग सुविधा उपलब्ध गराउने भनी निर्णय गरेको परियोजनाको हकमा त्यस्तो निर्णयको प्रतिलिपि वा सम्बन्धित मन्त्रालयले दिएको जानकारीपत्रको प्रतिलिपि,
(छ) विदेशी मुद्राको आप्रवाह र बहिर्गमनको प्रक्षेपित विवरण।
(३) उपनियम (१) बमोजिम निवेदन दिँदा व्यावसायिक संस्था र परियोजना वा त्यसको लगानीकर्ताको बीचमा परियोजना विकास सम्झौता हुँदाका बखत हेजिङ्ग सम्बन्धमा कुनै सहमति भएकोमा त्यस्तो सहमतिको विवरण वा कागजात समेत संलग्न गर्नु पर्नेछ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुराले जेिएको भएतापनि कुनै बैङ्क तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय वित्त बजारमा ऋण उपकरण (डिबेन्चर बण्ड) जारी गर्ने वा अन्तर्राष्ट्रिय बैङ्क तथा वित्तीय संस्थासँग लिने ऋण कारोबारमा हेजिङ्ग सुविधाको लागि उपनियम (१) बमोजिम निवेदन दिँदा बैङ्कबाट त्यस्तो ऋण उपकरण (डिबेन्चर बण्ड) जारी गर्ने वा ऋण लिने प्राप्त गरेको स्वीकृति र विदेशी मुद्राको आप्रवाह र बहिर्गमनको प्रक्षेपित विवरण पेश गर्नु पर्नेछ।
९. निवेदन उपर जाँचबुझ गर्ने: (१) नियम ८ बमोजिम प्राप्त निवेदन तथा सोसाथ प्राप्त विवरण तथा कागजात उपर हेजिङ्ग गर्ने संस्थाले आवश्यक जाँचबुझ गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा कुनै विवरण वा कागजात पूरा नभएमा वा कुनै विषयमा स्पष्ट पार्न आवश्यक देखिएमा हेजिङ्ग गर्ने संस्थाले निवेदकलाई पैँतीस दिनको म्याद दिई त्यस्तो विवरण वा कागजात पेश गर्न वा सो सम्बन्धमा स्पष्ट गरिलगाउन लिखित सूचना दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम सूचना प्राप्त भएमा निवेदकले हेजिङ्ग गर्ने संस्थालाई सो सूचनामा निर्धारित अवधिभित्र आवश्यक विवरण वा कागजात उपलब्ध गराउनु वा स्पष्ट गरिन आवश्यक देखिएको विषयमा स्पष्ट गर्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा निवेदकलाई हेजिङ्ग सुविधा प्रदान गर्न नमिल्ने देखिएमा हेजिङ्ग गर्ने संस्थाले सो सम्बन्धी निर्णयको लिखित जानकारी निवेदन प्राप्त भएको मितिले सात कार्यदिनभित्र सम्बन्धित निवेदकलाई दिनु पर्नेछ।
१०. स्वीकृति दिने: (१) नियम ८ बमोजिम प्राप्त निवेदन उपर नियम ९ बमोजिम जाँचबुझ गर्दा हेजिङ्ग सुविधा प्रदान गर्न मनासब् देखिएमा हेजिङ्ग गर्ने संस्थाले आवश्यक ततथ सहित हेजिङ्ग सुविधा प्रदान गर्न स्वीकृति दिनेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेिएको भए तापनि नियम ३ को उपनियम (५) बमोजिम हेजिङ्ग सुविधा उपलब्ध गराउने विषयमा वा नेपाल सरकारले नियम ५ को उपनियम (२) बमोजिम हेजिङ्ग शुल्क व्यहोर्ने परियोजनाको हकमा हेजिङ्ग गर्ने संस्थाले सिफारिस सहित मन्त्रालयमा पठाउनेछ र मन्त्रालयले हेजिङ्ग गर्ने स्वीकृति दिन मनासब् देखिएमा स्वीकृति दिई हेजिङ्ग गर्ने संस्थामा पठाउनेछ।
(३) उपनियम (१) बमोजिम स्वीकृति प्रदान गरेपछि वा उपनियम (२) बमोजिम मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि सोको सात कार्यदिनभित्र हेजिङ्ग गर्ने संस्थाले सम्बन्धित निवेदकलाई अनुसूची-२ बमोजिमको ढाँचामा सोही अनुसूचीमा उल्लिखित विवरण स्पष्ट उल्लेख गरी हेजिङ्ग सोलुसन प्रमाणपत्र दिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्राप्त भएको हेजिङ्ग सोलुसन प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र निवेदकले हेजिङ्ग गर्ने संस्थासँग हेजिङ्ग सम्झौता सम्पन्न गर्नु पर्नेछ।
११. विदेशी मुद्रा जम्मा गर्नु पर्ने: (१) नियम १० बमोजिम हेजिङ्ग स्वीकृति प्राप्त परियोजना वा त्यसको लगानीकर्ताले हेजिङ्ग गर्ने संस्थाले तोकेको अवधिभित्र अन्तर्राष्ट्रिय मुद्रा कोषले कायम गरेको स्पेशल ड्रइङ्ग राइट्स (एसडीआर) भित्र पर्ने विदेशी मुद्रा कोषमा जम्मा हुने गरी हेजिङ्ग गर्ने संस्थाले तोकेको बैंक खातामा गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम विदेशी मुद्रा जम्मा भएपछि हेजिङ्ग गर्ने संस्थाले त्यस्तो विदेशी मुद्रा जम्मा गर्दाको दिन कायम रहेको विनिमय दर अनुसार नेपाली मुद्रामा परिवर्तन गरी सम्बन्धित परियोजनाको नाममा रहेको कुनै वाणिज्य बैंकको खातामा त्यस्तो नेपाली मुद्रा जम्मा गर्नु पर्नेछ।
१२. विनिमय दर स्थिर (लक) गर्ने: (१) नियम ११ को उपनियम (१) बमोजिम हेजिङ्ग गर्ने संस्थाको खातामा जम्मा हुन आएको विदेशी मुद्रालाई हेजिङ्ग गर्ने संस्थाले सोही नियमको उपनियम (२) बमोजिम जुन विनिमय दरमा नेपाली मुद्रामा परिवर्तन गरेको हो सोही विनिमय दरमा हेरफेर वा घटबढ हुने गरी स्थिर गर्नेछ।
(२) उपनियम (१) बमोजिम स्थिर गरिएको विनिमय दरमा सम्झौता अनुसारको रकम फिर्ता भुक्तानी पाउने गरी हेजिङ्ग गर्ने संस्थाले परियोजना वा त्यसको लगानीकर्तालाई हेजिङ्ग सुविधा उपलब्ध गराउनेछ।
१३. छुट्टै कोष खडा गर्नु पर्ने: (१) हेजिङ्ग गर्ने संस्थाले यस नियमावली बमोजिम हेजिङ्ग सम्बन्धी कार्यका लागि छुट्टै कोष खडा गर्नु पर्नेछ।
(२) हेजिङ्ग गर्ने संस्थाले यस नियमावली बमोजिम हेजिङ्ग सेवा सञ्चालन गर्दा प्राप्त हुने सबै प्रकारको रकम, आम्दानी उपनियम (१) बमोजिमको कोषमा जम्मा गर्नु पर्नेछ र हेजिङ्ग वापतको सबै प्रकारको भुक्तानी सोही कोषबाट गर्नु पर्नेछ।
(३) हेजिङ्ग गर्ने संस्थाले मन्त्रालयको पूर्व स्वीकृतिमा बैंकिङ्ग वा गैरबैंकिङ्ग संस्थासँग सम्झौता गरी हेजिङ्ग सम्बन्धी कार्य गर्नको लागि ऋण स्वीकार गर्न, सहलगानी गर्न वा सहकार्य गर्न सक्नेछ।
(४) हेजिङ्ग गर्ने संस्थाले हेजिङ्ग सम्बन्धी कारोबारको लेखा नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम आफ्नो अन्य कारोबार भन्दा भिन्न राख्नु पर्नेछ।
१४. लगानी गर्न सक्ने: हेजिङ्ग गर्ने संस्थाले कोषमा रहेको रकम मन्त्रालयको स्वीकृति लिई कुनै परियोजना वा आयमूलक कार्यमा लगानी गर्न सक्नेछ।
१५. सहकार्य गर्न सक्ने: हेजिङ्ग गर्ने संस्थाले अन्तर्राष्ट्रिय बजारमा हेजिङ्ग सम्बन्धी कार्य गरिरहेको संस्थासँग सहकार्य गरी हेजिङ्ग सम्बन्धी कार्य गर्न सक्नेछ।
१६. हेजिङ्ग सेवा उपलब्ध गराउन सक्ने: (१) हेजिङ्ग सेवा प्राप्त गर्न चाहने कुनै लगानीकर्ताले आफैले हेजिङ्ग शुल्क व्यहोर्ने गरी आफ्नो विदेशी लगानीको हेजिङ्ग गर्न निवेदन दिएमा हेजिङ्ग गर्ने संस्थाले हेजिङ्ग सेवा उपलब्ध गराउन सक्नेछ।
(२) हेजिङ्ग सेवाको किसिम, अवधि र अन्य सर्तहरू सम्बन्धित निवेदक र हेजिङ्ग गर्ने संस्थाबीचको हेजिङ्ग सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।
१७. नेपाल सरकारले हेजिङ्ग गर्न सक्ने: (१) नेपाल सरकारले कुनै परियोजना कार्यान्वयन गर्न कुनै दातृमूलकुवा संस्थाबाट लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्न त्यस्तो ऋण रकम हेजिङ्ग गर्ने संस्था मार्फत हेजिङ्ग गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम नेपाल सरकारले हेजिङ्ग गरेकोमा हेजिङ्ग शुल्क र सोको भुक्तानी तथा अन्य व्यवस्था नेपाल सरकार र हेजिङ्ग गर्ने संस्थाबीच भएको सम्झौता बमोजिम हुनेछ।
१८. विदेशी मुद्राको सटही सुविधा र खाता: (१) हेजिङ्ग गर्ने संस्थालाई नेपाल राष्ट्र बैंकले प्रचलित दरमा विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउनेछ।
(२) नेपाल राष्ट्र बैंकले हेजिङ्ग गर्ने संस्थालाई बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम स्थापित बैङ्क तथा वित्तीय संस्थाहरूमा विदेशी मुद्रामा खाता खोली सञ्चालन गर्न स्वीकृति प्रदान गर्नेछ।
१९. विवरण तथा प्रतिवेदन: (१) हेजिङ्ग गर्ने संस्थाले नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नियमित रूपमा हेजिङ्ग सुविधा तथा हेजिङ्ग सेवा सम्बन्धी विवरण, कार्यतालिका, जोखिमको अवस्था, विदेशी मुद्राको आप्रवाह, बहिर्गमन तथा कोषको अवस्थाको विवरण मन्त्रालय र नेपाल राष्ट्र बैंकमा पेश गर्नु पर्नेछ।
(२) हेजिङ्ग गर्ने संस्थाले प्रत्येक वर्ष हेजिङ्ग सुविधा सम्बन्धमा भएका काम कारबाहीको प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र मन्त्रालय र नेपाल राष्ट्र बैंकमा पेश गर्नु पर्नेछ।
२०. नियमन तथा निर्देशन: नेपाल राष्ट्र बैंकले हेजिङ्ग गर्ने संस्थालाई आवश्यक नियमन गर्न तथा निर्देशन दिन सक्नेछ।
२१. समन्वय तथा परामर्श गर्नु पर्ने: यस नियमावली बमोजिम हेजिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धमा हेजिङ्ग गर्ने संस्थाले मन्त्रालय, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड, परियोजनासँग
सम्बन्धित मन्त्रालय, नेपाल सरकारका अन्य निकाय र सम्बन्धित परियोजना तथा त्यसको लगानीकर्तासँग आवश्यक समन्वय तथा परामर्श गर्न सकिनेछ।
२२. विदेशी विनिमयको संरक्षण: हेजिङ्ग सुविधा तथा हेजिङ्ग सेवा उपलब्ध गराइएको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकसँगको समन्वयमा हेजिङ्ग गर्ने संस्थाले ऐनको दफा ६ को उपदफा (२) बमोजिमको कामको लागि राखिएको विदेशी विनिमयको रुपमा संरक्षण गर्नेछ।
२३. खारेजी र बचाउ: (१) हेजिङ्ग सम्बन्धी नियमावली, २०७५ खारेज गरिएको छ।
(२) हेजिङ्ग सम्बन्धी नियमावली, २०७५ बमोजिम भए गरेको काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
अनुसूची-१ (नियम ८ को उपनियम (१) सँग सम्बन्धित) हेजिङ्ग सुविधा प्राप्त गर्नको लागि दिइने निवेदनको ढाँचा
श्री ..................................... ....................................।
विषय: हेजिङ्ग सुविधा उपलब्ध गराई पाऊँ।
महोदय, देहाय बमोजिमको विवरण तथा कागजात सहित हेजिङ्ग सुविधा उपलब्ध गराई दिनको लागि हेजिङ्ग नियमावली, २०७९ को नियम ८ को उपनियम (१) बमोजिम यो निवेदन पेश गरेको छु/छौँ।
(१) परियोजनाको विवरण: (क) कम्पनीको नाम: (ख) परियोजनाको नाम: ठेगाना: फ्याक्स नम्बर: फोन/मोबाइल् नम्बर: इमेल ठेगाना: (२) सम्पर्क व्यक्ति/लगाानिकर्ताको नाम: पद: फोन/मोबाइल् नम्बर: इमेल ठेगाना: (३) हेजिङ्ग सुविधा लिने विदेशी मुद्रा: (४) हेजिङ्ग गर्न चाहेको अवधि: (५) ऋण भुक्तानीको शर्त र अवधि: (६) ऋण लगानी गर्ने मुलुक वा संस्था: (७) कम्पनीका मुख्य सञ्चालक र शेयर संरचना: माथि उल्लेखित विवरणहरू सत्य र ठीक छन्, झुट्टा ठहरे प्रचलित कानून बमोजिम सजाय भोग्न तयार छु/छौँ।
संलग्न कागजात: (क) परियोजना कार्यान्वयन सम्बन्धमा सम्बन्धित निकायबाट प्राप्त अनुमतिपत्रको प्रतिलिपि, (ख) परियोजनामा हुने विदेशी ऋण लगानी सम्बन्धी सम्झौता वा आशयपत्रको प्रतिलिपि, (ग) प्रचलित संघीय कानून बमोजिम विदेशी ऋण लगानी गर्न तथा विदेशी मुद्रा ल्याउन स्वीकृति पाएको पत्रको प्रतिलिपि,
(घ) लगानी गर्ने वा परियोजना सञ्चालन गर्ने कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि, (ङ) नेपाल सरकारले हेजिङ्ग सुविधा उपलब्ध गराउने भनी निर्णय गरेको परियोजनाको हकमा मन्त्रालयले दिएको जानकारीपत्रको प्रतिलिपि, (च) विदेशी मुद्राको आप्रवाह र बहिर्गमनको प्रक्षेपित विवरण।
मिति:- निवेदकको, दस्तखत:- नाम, थर:- ठेगाना:- पद:
अनुसूची-२ (नियम १० को उपनियम (३) सँग सम्बन्धित) हेजिङ्ग सोलुसि प्रमाणपत्रको ढाँचा
श्री .............................. ...............................।
हेजिङ्ग सोलुसि प्रमाणपत्र
प्रमाणपत्र नं: प्रमाणपत्र जारी मिति:- १. कम्पनीको नामः २. परियोजनाको नामः ३. हेजिङ्ग सुविधा नं.: ४. स्वीकृत भएको मिति: ५. स्वीकृति प्राप्त गर्दा कुनै शर्त तोकिएको भए त्यस्तो शर्त: ६. सुविधा प्राप्त गर्ने अवधिः- ....................... देखि ........................ सम्म ७. हेजिङ्गको मुद्रा र रकम: ८. कायम गरिएको विनिमय दरः ९. स्थिर (लक) गरिएको नेपाली रकमः १०. ऋण भुक्तानी हुने अन्तिम मिति: ११. प्रतिवर्ष कायम गरिएको हेजिङ्ग शुल्कको प्रतिशत: १२. हेजिङ्ग सम्झौता सम्पन्न गर्नु पर्ने समयसीमा:
हेजिङ्ग गर्ने संस्थाको छापः प्रमाणपत्र जारी गर्नेको: नामः पदः दस्तखत:
(प्रमाणपत्रको पृष्ठभागमा रहने) हेजिङ्ग सुविधा वा हेजिङ्ग सेवाको विवरण