सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१
प्रमाणीकरण र प्रकाशन मिति २०८१।०३।१८
सं्वत २०८१ सालको ऐन नं. ०२ सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: सुरक्षण मुद्रण सामग्रीको देशभित्र नै सुरक्षित, भरपर्दो र गुणस्तरीय मुद्रणको लागि सुरक्षण मुद्रण केन्द्रको स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले,
संघीय संसदले यो ऐन बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१" रहेको छ। (२) यो ऐन प्रमाणीकरण भएको मितिले एकमिसौँ दिनदेखि प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- (क) "अध्यक्ष" भन्नाले दफा ६ बमोजिमको सञ्चालक समितिको अध्यक्ष सम्झनु पर्छ। (ख) "उत्पादनस्थल" भन्नाले सुरक्षण मुद्रण सामग्री तयार गर्ने, डिजाइन गर्ने, प्रि-प्रेसको कार्य गर्ने, छपाई वा उत्पादन गर्ने वा छापिएका वा उत्पादित सुरक्षण मुद्रण सामग्रीको भण्डारण गर्ने स्थल सम्झनु पर्छ र सो शब्दले सुरक्षण मुद्रण सामग्रीको लागि आवश्यक पर्ने कागज वा कच्चा पदार्थ बनाउने उद्योगलाई समेत जनाउँछ। (ग) "कार्यकारी निर्देशक" भन्नाले दफा १८ बमोजिमको कार्यकारी निर्देशक सम्झनु पर्छ। (घ) "कार्यालय" भन्नाले केन्द्रको केन्द्रीय कार्यालय सम्झनु पर्छ र सो शब्दले केन्द्र अन्तर्गतको कार्यालयलाई समेत जनाउँछ।
(ङ) "केन्द्र" भन्नाले दफा ३ बमोजिमको सुरक्षण मुद्रण केन्द्र सम्झनु पर्छ।
(च) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(छ) “बैङ्क नोट” भन्नाले नगदको रूपमा चलन चल्तीमा रहेको बैङ्क नोट सम्झनु पर्छ।
(ज) "मन्त्रालय" भन्नाले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्झनु पर्छ।
(झ) "वैयक्तीकरण" भन्नाले नेपाल सरकार वा नेपाल सरकारको सम्बन्धित निकायबाट प्रचलित कानून बमोजिम जारी हुने नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा अन्य यस्तै प्रकारका लिखत वा कागममा उल्लेख गरिएको सम्बन्धित व्यक्तिको वैयक्तिक विवरण सम्झनु पर्छ र सो शब्दले सम्बन्धित व्यक्तिको वैयक्तिक विवरण प्रविष्टि गर्ने कार्यलाई समेत जनाउँछ।
(ञ) "सञ्चालक समिति" भन्नाले दफा ६ बमोजिमको सञ्चालक समिति सम्झनु पर्छ।
(ट) "सदस्य" भन्नाले सञ्चालक समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले सञ्चालक समितिको अध्यक्षलाई समेत जनाउँछ।
(ठ) "सुरक्षण मुद्रण" भन्नाले अनधिकृत व्यक्तिले हुबहु नक्कल गर्न नसक्ने गरी विशेष चिह्न, प्रक्रिया, प्रविधि र विशेष प्रकारको मसी, कागज जस्ता छपाई सामग्री प्रयोग गरी सुरक्षाको प्रत्याभूतिका साथ सुरक्षण मुद्रण सामग्रीको मुद्रण गर्ने कार्य सम्झनु पर्छ।
(ड) "सुरक्षण मुद्रण सामग्री" भन्नाले प्रयोगका लागि तयार गरिएको नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, बैङ्क नोट, भिसा स्टिकर, हुलाक टिकट, अन्तः शुल्क स्टिकर, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी दर्ता
प्रमाणपुर्जा सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सुरक्षा मुद्रण सामग्री भनी तोकिदिएका अन्य सामग्रीलाई समेत जनाउँछ।
परिच्छेद-२ केन्द्रको स्थापना तथा काम, कर्तव्य र अधिकार
३. केन्द्रको स्थापना: (१) सुरक्षा मुद्रण सामग्रीको छपाई सम्बन्धी कार्य गर्न सुरक्षा मुद्रण केन्द्रको स्थापना गरिएको छ।
(२) केन्द्रको केन्द्रीय कार्यालय नेपाल सरकारले तोकेको स्थानमा रहनेछ।
(३) केन्द्रले आवश्यकता अनुसार नेपालभित्र अन्य कार्यालय खोल्न सक्नेछ।
४. केन्द्र स्वायत्त र संगठित संस्था हुने: (१) केन्द्र अविच्छिन्न उत्तराधिकारवाला एक स्वायत्त र संगठित संस्था हुनेछ र यसले कानूनी व्यक्तित्व प्राप्त गर्नेछ।
(२) केन्द्रले कानूनी व्यक्तिको हैसियतले प्रचलित कानून बमोजिमको अधिकारको प्रयोग, कर्तव्यको पालना र दायित्व निर्वाह गर्नेछ।
५. केन्द्रको काम, कर्तव्य र अधिकार: यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) सुरक्षा मुद्रण सामग्रीको प्रबन्ध तथा तयारी गर्ने र सुरक्षा मुद्रण सामग्री मुद्रण गर्ने,
(ख) केन्द्रको छापाखाना, उत्पादनस्थल वा तयार भएका सुरक्षा मुद्रण सामग्रीको विश्वसनीय र भरपर्दो सुरक्षाको व्यवस्था गर्ने,
(ग) सुरक्षा मुद्रण सम्बन्धी सेवा प्रदान गर्ने सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बोलपत्रमा भाग लिने,
(घ) सुरक्षा मुद्रणको काममा बाधा नपर्ने गरी अन्य छपाई सम्बन्धी काम गर्ने,
(ङ) सुरक्षा मुद्रण सम्बन्धमा आवश्यक अध्ययन, अनुसन्धान गर्ने वा गराउने,
(च) नेपाल सरकारको स्वीकृति लिई सुरक्षा मुद्रण सम्बन्धी अन्तर्राष्ट्रिय व्यावसायिक संगठनको सदस्यता लिने, र
(छ) सुरक्षण मुद्रणको कार्यलाई भरपर्दो र विश्वसनीय बनाउने सम्बन्धमा नीति निर्माण गर्न नेपाल सरकारलाई आवश्यक सुझाव दिने।
परिच्छेद-३ सञ्चालक समितिको गठन तथा काम, कर्तव्य र अधिकार
६. सञ्चालक समितिको गठन: (१) केन्द्रको तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम, कारबाहीको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न देहाय बमोजिमको एक सञ्चालक समिति रहनेछ:-
(क) सचिव, मन्त्रालय - अध्यक्ष (ख) सहसचिव, अर्थ मन्त्रालय - सदस्य (ग) सहसचिव, गृह मन्त्रालय - सदस्य (घ) सहसचिव, परराष्ट्र मन्त्रालय - सदस्य (ङ) सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय - सदस्य (च) सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय - सदस्य (छ) मान्यताप्राप्त विश्वविद्यालयबाट विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ्ग, वाणिज्यशास्त्र वा सूचना प्रविधि विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र सम्बन्धित विषयमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएका व्यक्तिहरूमध्येबाट मन्त्रालयले मनोनित गरेको कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य (ज) कार्यकारी निर्देशक - सदस्य-सचिव
(२) उपदफा (१) को खण्ड (छ) बमोजिमका सदस्यको पदावधि चार वर्षको हुनेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि मनोनीत सदस्यले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा वा केन्द्रको हित विपरीत कुनै काम गरेमा मन्त्रालयले निजलाई पदबाट हटाउन सक्नेछ।
(४) उपदफा (३) बमोजिम पदबाट हटाउनु अघि निजलाई सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
(५) उपदफा (१) को खण्ड (छ) बमोजिमको सदस्य मनोनीत गर्दा समावेशी सिद्धान्तलाई अनुसरण गर्नु पर्नेछ।
७. सञ्चालक समितिको काम, कर्तव्य र अधिकार: यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) केन्द्रको नीति, योजना, बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, (ख) केन्द्रले प्रदान गर्ने सेवाको शुल्क निर्धारण गर्ने, (ग) केन्द्रको सुरक्षाको लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने, (घ) केन्द्रमा कार्यरत कर्मचारीको लागि आचारसंहिता बनाई लागू गर्ने, (ङ) सुरक्षण मुद्रण सामग्रीको उत्पादनस्थल लगायत प्रशासनिक कार्यको अनुगमन, निरीक्षण तथा सुरक्षा व्यवस्था सम्बन्धी नीतिगत कार्य गर्ने, र (च) केन्द्रले सम्पादन गरेको काम कारबाहीको आवधिक मूल्याङ्कन गर्ने।
८. सञ्चालक समितिको बैठक सम्बन्धी कार्यविधि: (१) सञ्चालक समितिको बैठक आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(२) सञ्चालक समितिको सदस्य-सचिवले बैठकको कार्यसूची सहितको सूचना बैठक बस्नुभन्दा कम्तीमा अठचालिस घण्टा अगावै सबै सदस्यलाई उपलब्ध गराउनु पर्नेछ।
(३) सञ्चालक समितिले आवश्यकता अनुसार कुनै विशेषज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ। तर त्यस्तो आमन्त्रित विशेषज्ञलाई मत दिने अधिकार हुने छैन।
(४) सञ्चालक समितिको कुल सदस्य सङ्ख्याको बहुमत सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ।
(५) सञ्चालक समितिको बैठकमा बहुमतको राय सञ्चालक समितिको निर्णय मानिनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ।
(६) अध्यक्ष र सदस्य-सचिवले बैठकको निर्णय प्रमाणित गर्नु पर्नेछ।
(७) सञ्चालक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुनेछ।
परिच्छेद-४ सुरक्षण मुद्रण सम्बन्धी व्यवस्था
९. सरकारी सुरक्षण मुद्रण सम्बन्धी कार्य केन्द्रले गर्ने: (१) यो ऐन प्रारम्भ भएपछि सुरक्षण मुद्रण, सो सम्बन्धी प्रेस मेसिनरी, यन्त्र वा उपकरण बनाउने वा पैठारी गर्ने, सुरक्षण मुद्रणमा प्रयोग हुने वाटरमार्क वा सेक्युरिटी थ्रेड भएको कागज बनाउने वा पैठारी गर्ने, डाई, प्लेट वा उपकरण बनाउने, उत्पादन वा पैठारी गर्ने वा सुरक्षण मुद्रण सम्बन्धी अन्य विकसित प्रविधिको प्रयोग गर्ने लगायतको सुरक्षण मुद्रण सम्बन्धी सम्पूर्ण काम केन्द्रले गर्नेछ।
(२) उपदफा (१) बमोजिम केन्द्रले सुरक्षण मुद्रण सम्बन्धी सामग्रीको मुद्रण गर्दा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैङ्क नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्रको मुद्रण सम्बन्धी काममा बाधा नपर्ने गरी अन्य सरकारी सुरक्षण मुद्रण सम्बन्धी सामग्रीको मुद्रण गर्नु पर्नेछ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि केन्द्रले सुरक्षण मुद्रण सम्बन्धी कार्य सञ्चालन नगरेसम्म वा कार्यसञ्चालन गरेको भए तापनि माग बमोजिम कुनै
सुरक्षण मुद्रण सामग्रीको मुद्रण गर्न सक्ने अवस्था नभएमा त्यस्तो सुरक्षण मुद्रण सामग्री प्रचलित कानून बमोजिम मुद्रण गर्न वा गराउन सकिनेछ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैङ्क नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र बाहेकका अन्य सुरक्षण सामग्री सम्बन्धी काम गर्न गरी नेपाल सरकारले नेपाल सरकारको अधिकांश शेयर वा स्वामित्व भएको निकाय वा संस्थालाई स्वीकृति दिन सक्नेछ।
(५) उपदफा (४) बमोजिम नेपाल सरकारको अधिकांश शेयर वा स्वामित्व भएको निकाय वा संस्था समेतले सम्बन्धित सरकारी निकायको माग बमोजिम सुरक्षण मुद्रणको कार्य गर्न नसक्ने जानकारी दिएमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैङ्क नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र बाहेकका अन्य सुरक्षण मुद्रण सम्बन्धी कार्य नेपाल सरकारको स्वीकृति लिई सम्बन्धित सरकारी निकायले खरिद सम्बन्धी प्रचलित कानून बमोजिम अन्य स्वदेशी व्यक्ति वा संस्थासँग प्रतिस्पर्धा मार्फत गराउन सक्नेछ।
१०. माग र प्राविधिक विवरण (स्पेसिफिकेशन) पठाउनु पर्ने: (१) सुरक्षण मुद्रण सामग्री निष्काशन गर्ने, जारी गर्ने वा प्रयोगमा ल्याउने सम्बन्धित सरकारी निकायले एक आर्थिक वर्षको लागि आफ्नो कार्यसम्पादन गर्न आवश्यक पर्ने सुरक्षण मुद्रण सामग्रीको माग प्रक्षेपण गरी सोको माग र प्राविधिक विवरण (स्पेसिफिकेशन) सुरक्षण मुद्रण गर्नुभन्दा कम्तीमा छ महिना अगावै केन्द्रमा पठाउनु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विशेष अवस्था परी सुरक्षण मुद्रण सामग्री आवश्यक भएमा सम्बन्धित सरकारी निकायले त्यसको कारण खुलाई सुरक्षण मुद्रणको लागि केन्द्रमा तत्काल अनुरोध गर्न सक्नेछ।
११. सुरक्षण मुद्रण गरी आपूर्ति गर्नु पर्ने: केन्द्रले दफा १० बमोजिम माग र प्राविधिक विवरण (स्पेसिफिकेशन) प्राप्त भएपछि माग गर्ने सम्बन्धित सरकारी निकायसँग समन्वय गरी त्यस्तो निकायको माग बमोजिम सुरक्षण मुद्रण सामग्रीको सुरक्षण मुद्रण गरी आपूर्ति गर्नु पर्नेछ।
१२. सुरक्षण मुद्रण प्रविधि, सामग्री तथा चिह्न: (१) केन्द्रले सुरक्षण मुद्रण गर्दा आवश्यकता अनुसार उपयुक्त प्रविधि, सुरक्षण मुद्रण सामग्री र चिह्नको छनौट गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम प्रविधि, सुरक्षण मुद्रण सामग्री र चिह्नको छनौट गरी सुरक्षण मुद्रण सामग्रीको सुरक्षण मुद्रण गर्न वा तयार गर्न लगाउने सरकारी निकाय र केन्द्रबीचको आपसी सहमतिबाट गर्नुपर्नेछ।
(३) सुरक्षण मुद्रणको प्रविधि, सुरक्षण मुद्रण सामग्री तथा चिह्नको छनौट सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
१३. जानकारी गराउनु पर्ने: (१) केन्द्रले कुनै कारणवश कुनै खास किसिमको सुरक्षण मुद्रण सामग्रीको सुरक्षण मुद्रण गर्न नसक्ने भएमा त्यसको जानकारी दफा १० बमोजिम माग प्राप्त भएको पन्ध्र दिनभित्र सम्बन्धित सरकारी निकायलाई दिनुपर्नेछ।
(२) उपदफा (१) बमोजिम जानकारी प्राप्त भएमा त्यस्तो सरकारी निकायले प्रचलित कानून बमोजिम सुरक्षण मुद्रण सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ।
१४. सुरक्षण मुद्रण सामग्री, पूर्वाधार तथा उत्पादनस्थलको सुरक्षा: नेपाल सरकारले केन्द्रको अनुरोधमा सुरक्षण मुद्रण सामग्री, सुरक्षण मुद्रणको लागि आवश्यक पर्ने पूर्वाधार, उत्पादनस्थल तथा सुरक्षण मुद्रण सामग्रीको ढुवानीको सुरक्षाको लागि आवश्यक व्यवस्था गर्नेछ।
परिच्छेद-५ केन्द्रको कोष, लेखा, लेखापरीक्षण तथा वार्षिक प्रतिवेदन
१५. केन्द्रको कोष: (१) केन्द्रको नाममा एउटा छुट्टै कोष रहनेछ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकम रहनेछन्:-
(क) सुरक्षण मुद्रणको कार्य गरे बापत प्राप्त हुने शुल्क, (ख) नेपाल सरकारबाट प्राप्त अनुदान, र (ग) अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त सहयोग रकम।
(३) उपदफा (२) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि नेपाल सरकारको अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ ।
(४) केन्द्रको तर्फबाट गरिने सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोराइनेछ।
१६. केन्द्रको लेखा तथा लेखापरीक्षण: (१) केन्द्रको आय-व्ययको लेखा नेपाल सरकारको स्वीकृत ढाँचा बमोजिम राखिनेछ।
(२) प्रचलित संघीय कानून बमोजिम केन्द्रको कोषको आन्तरिक लेखापरीक्षण गराउनु पर्नेछ।
(३) केन्द्रको कोषको आय-व्ययको अन्तिम लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ।
(४) मन्त्रालयले जुनसुकै बखत केन्द्रको हिसाब किताब जाँच गर्न वा गराउन सक्नेछ।
१७. वार्षिक प्रतिवेदन सम्बन्धी व्यवस्था: (१) केन्द्रले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेस गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा देहायका विवरण समावेश भएको हुनु पर्नेछः-
(क) केन्द्रबाट सम्पादित काम कारबाहीको विवरण, (ख) केन्द्रको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी विवरण, र (ग) लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित विषय।
परिच्छेद-६ कार्यकारी निर्देशकको नियुक्ति तथा काम, कर्तव्य र अधिकार
१८. कार्यकारी निर्देशकको नियुक्ति: (१) केन्द्रको प्रशासकीय प्रमुखको रूपमा काम गर्न नेपाल सरकारले खुला प्रतिस्पर्धाको आधारमा एकजना कार्यकारी निर्देशकको नियुक्ति गर्नेछ।
(२) कार्यकारी निर्देशकको पदावधि पाँच वर्षको हुनेछ।
(३) उपदफा (१) बमोजिम खुला प्रतिस्पर्धाको आधारमा कार्यकारी निर्देशकको नियुक्तिकी लागि नेपाल सरकार समक्ष नाम सिफारिस गर्न देहाय बमोजिमको एक सिफारिस समिति रहनेछ:-
(क) सचिव, मन्त्रालय - संयोजक (ख) सुरक्षण मुद्रण सम्बन्धी क्षेत्रको अनुभवप्राप्त व्यक्तिमध्ये मन्त्रालयबाट मनोनीत एकजना विज्ञ - सदस्य (ग) सहसचिव, मन्त्रालय - सदस्य-सचिव
(४) सिफारिस समितिले कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि सिफारिस गर्न दफा १९ बमोजिमको योग्यता पुगेका उम्मेदवारहरूलाई आवेदन पेस गर्न कम्तीमा सात दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ।
(५) उपदफा (४) बमोजिम प्राप्त हुन आएका आवेदनमध्येबाट योग्य उम्मेदवारको अल्पसूची तयार गरी त्यस्तो उम्मेदवारलाई अन्तर्वार्ता, व्यावसायिक कार्ययोजना र सोको प्रस्तुतीकरणको लागि आमन्त्रण गर्नु पर्नेछ।
(६) उपदफा (५) बमोजिमका उम्मेदवारमध्येबाट सिफारिस समितिले अन्तर्वार्ता, व्यावसायिक कार्ययोजना र सोको प्रस्तुतीकरणबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने बढीमा तीनजना उम्मेदवारको नाम नेपाल सरकार समक्ष सिफारिस गर्नेछ।
(७) सिफारिस समितिले कार्य प्रारम्भ गरेको एक महिनाभित्र उपदफा (६) बमोजिम योग्य उम्मेदवारको नाम सिफारिस गरिसक्नु पर्नेछ।
(८) सिफारिस सम्बन्धी अन्य कार्यविधि सिफारिस समितिले निर्धारण गरे बमोजिम हुनेछ।
(९) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले देहायको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्नेछः-
(क) कार्यक्षमताको अभाव भएमा, (ख) खराब आचरण भएमा,
(ग) इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्य पालना नगरेमा,
(घ) कार्यसम्पादन सम्झौता बमोजिम काम नगरेमा,
(ङ) केन्द्रले तयार गर्ने वा तयार गरेका सुरक्षण मुद्रण सामग्रीको गोपनीयता भङ्ग गरेमा,
(च) अनधिकृत व्यक्तिलाई सुरक्षण मुद्रण सम्बन्धी सूचना उपलब्ध गराएमा वा सूचनाको चुहावट गरेमा,
(छ) नेपाल सरकार वा केन्द्रको हित विपरीत हुने कुनै काम गरेमा, वा
(ज) मानसिक वा शारीरिक अस्वस्थताको कारण कार्यसम्पादन गर्न असमर्थ भएमा।
(१०) उपदफा (९) बमोजिम कार्यकारी निर्देशकलाई पदबाट हटाउनु अघि सफाई पेस गर्ने मनासिब मौका दिनु पर्नेछ।
(११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम भ्रष्टाचारको मुद्दाु दायर भएको कारण कार्यकारी निर्देशक निलम्बनमा रही तीन महिनाभन्दा बढी अवधिको लागि कार्यसम्पादन गर्न नसक्ने भएमा नेपाल सरकारले उपदफा (३) बमोजिमको समितिको सिफारिसमा बाँकी अवधिको लागि अर्को कार्यकारी निर्देशक नियुक्ति गर्न सक्नेछ।
१९. कार्यकारी निर्देशकको योग्यता: देहायको योग्यता पुगेको व्यक्ति कार्यकारी निर्देशक पदमा उम्मेदवार हुन योग्य हुनेछः-
(क) कम्तीमा तीस वर्ष उमेर पूरा भएको नेपाली नागरिक,
(ख) मान्यताप्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ्ग, इलेक्ट्रिकल इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग, मेकानिकल इन्जिनियरिङ्ग, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको,
(ग) व्यवस्थापकीय तहमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको,
(घ) भविष्यमा सरकारी सेवा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व रहेको संस्थाको सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको,
(ङ) भ्रष्टाचार, जबरजस्ती करणी, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण, सङ्गठित अपराध वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, र
(च) कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र वा नागरिकता नलिएको।
२०. कार्यकारी निर्देशकको पद रिक्त हुने: देहायको अवस्थामा कार्यकारी निर्देशकको पद रिक्त भएको मानिनेछः-
(क) नेपाल सरकार समक्ष राजीनामा दिएमा, (ख) पदावधि पूरा भएमा, (ग) साठी वर्ष उमेर पूरा भएमा, (घ) दफा १८ को उपदफा (९) बमोजिम पदबाट हटाइएमा, (ङ) दफा १९ बमोजिमको योग्यता नरहेमा, वा (च) मृत्यु भएमा।
२१. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार: कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) केन्द्रको नीति, योजना, कार्यक्रम तथा वार्षिक बजेट तर्जुमा गरी स्वीकृतिका लागि सञ्चालक समिति समक्ष पेस गर्ने, (ख) सञ्चालक समितिबाट स्वीकृत नीति, योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने वा गराउने, (ग) केन्द्रको काम कारबाहीका सम्बन्धमा अन्य निकायसँग समन्वय गर्ने, (घ) सञ्चालक समितिको निर्णय कार्यान्वयन गर्ने वा गराउने,
(ङ) केन्द्रको वार्षिक प्रतिवेदन लगायत अन्य प्रतिवेदन तयार गरी सञ्चालक समितिमा पेस गर्ने,
(च) केन्द्रबाट सम्पादन गरिने कामको अनुगमन गर्ने वा गराउने,
(छ) सुरक्षण मुद्रण सामग्री उत्पादनस्थलको बाह्य तथा आन्तरिक सुरक्षाको आवश्यक व्यवस्था मिलाउने,
(ज) उत्पादन गरिएका वा भण्डारणमा रहेका वा सम्बन्धित निकायलाई हस्तान्तरण गरिएका प्रत्येक सुरक्षण मुद्रण सामग्रीको अभिलेख दुरुस्त राख्न लगाउने,
(झ) मुद्रणको लागि आदेश प्राप्त भएका सुरक्षण मुद्रण सामग्रीको शुल्क निर्धारणका लागि समितिमा पेस गर्ने,
(ञ) सुरक्षण मुद्रण सामग्रीको उत्पादन, भण्डारण, ढुवानी, हस्तान्तरण, अभिलेखीकरण सम्बन्धी काम गर्ने वा गराउने, र
(ट) सञ्चालक समितिले प्रत्यायोजन गरेका काम गर्ने।
२२. कार्यसम्पादन सम्झौता गर्नु पर्ने: (१) कार्यकारी निर्देशकले मन्त्रालयको सचिवसँग कार्यसम्पादन सम्झौता गर्नु पर्नेछ।
(२) कार्यसम्पादन सम्झौतामा कार्यकारी निर्देशकका काम मापन गर्न सकिने सूचकहरू उल्लेख गरिएको हुनु पर्नेछ।
२३. कार्यकारी निर्देशकको पारिश्रमिक तथा अन्य सुविधा: कार्यकारी निर्देशकले नेपाल सरकारले तोके बमोजिमको पारिश्रमिक तथा अन्य सुविधा पाउनेछ।
२४. अन्यत्र कार्य गर्न नहुने: कार्यकारी निर्देशकले अन्यत्र कुनै पनि प्रकारको नोकरी गर्न, आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गर्नु हुँदैन।
२५. केन्द्रका कर्मचारी: (१) केन्द्रले आफ्नो काम कारबाही सञ्चालन गर्नको लागि मन्त्रालयले स्वीकृत गरेको दरबन्दी बमोजिमका कर्मचारी नियुक्ति गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमका कर्मचारीहरूको नियुक्ति, सेवाका सर्त, पारिश्रमिक तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि केन्द्रमा आफ्नै कर्मचारी नियुक्ति नभएसम्मको लागि वा केन्द्रको अनुरोधमा नेपाल सरकारले नेपाल सरकार वा नेपाल सरकारको अधिकांश स्वामित्व भएको कुनै सार्वजनिक संस्थाका कर्मचारीलाई केन्द्रबाटै तलब भत्ता पाउने गरी काम गर्नका लागि खटाउन सक्नेछ।
२६. स्वीकृति लिनु पर्ने: (१) केन्द्रले तोकिए बमोजिमको सुरक्षण मुद्रण सम्बन्धी प्रेस, मेसिनरी, यन्त्र वा उपकरण पैठारी गर्न मन्त्रालयको पूर्वस्वीकृति लिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको पूर्वस्वीकृति प्रदान गर्ने सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
परिच्छेद-७ कसुर तथा सजाय
२७. सुरक्षण मुद्रण सम्बन्धी काम गर्न नहुने: (१) केन्द्र बाहेक कसैले दफा ९ को उपदफा (४) वा (५) बमोजिम स्वीकृति नलिई सुरक्षण मुद्रण सामग्री मुद्रण गर्ने, सो सम्बन्धी प्रेस, मेसिनरी, यन्त्र वा उपकरण बनाउने वा पैठारी गर्ने लगायतका सुरक्षण मुद्रण सम्बन्धी काम गर्न हुँदैन।
(२) उपदफा (१) को प्रतिकूल हुने गरी कसैले देहाय बमोजिमको सुरक्षण मुद्रण सामग्री मुद्रण गरेमा त्यस्तो सामग्री जफत गरी कसुरको मात्रा हेरी देहाय बमोजिमको सजाय तथा जरिवाना हुनेछः- (क) नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र वा राहदानी - बाह्र वर्षसम्म कैद र पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना, (ख) बैङ्क नोट - बाह्र वर्षसम्म कैद र बिगो खुलेकोमा बिगो बमोजिम जरिवाना र बिगो नखुलेकोमा पन्ध्र लाख रुपैयाँसम्म जरिवाना,
(ग) हुलाक टिकट सात वर्षसम्म कैद र बिगो खुलेकोमा बिगो बमोजिम जरिवाना र बिगो नखुलेकोमा सात लाख रुपैयाँसम्म जरिवाना,
(घ) अन्त:शुल्क स्टिकर पाँच वर्षसम्म कैद र बिगो खुलेकोमा बिगो बमोजिम जरिवाना र बिगो नखुलेकोमा पाँच लाख रुपैयाँसम्म जरिवाना,
(ङ) खण्ड (क), (ख), (ग) र (घ) मा तीन वर्षसम्म कैद र बिगो खुलेकोमा उल्लिखित बाहेकका अन्य सुरक्षण बिगो बमोजिम जरिवाना र बिगो मुद्रण सामग्री मुद्रण गरेमा नखुलेकोमा पाँच लाख रुपैयाँसम्म जरिवाना।
(३) उपदफा (१) को प्रतिकूल हुने गरी कसैले सो उपदफा बमोजिमको प्रेस, मेसिनरी, यन्त्र वा उपकरण बनाएमा वा पैठारी गरेमा त्यस्तो प्रेस, मेसिनरी, यन्त्र वा उपकरण जफत गरी दुई वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
२८. वाटरमार्कन वा सेक्युरिटी थ्रेड भएको कागज बनाउन वा पैठारी गर्न नहुने: (१) केन्द्र बाहेक कसैले पनि केन्द्रले सुरक्षण मुद्रणको लागि प्रयोगमा ल्याउने वा ल्याएको चिह्न वा अक्षर भएको वाटरमार्कन वा सेक्युरिटी थ्रेड भएको कागज बनाउन वा पैठारी गर्न हुँदैन।
(२) उपदफा (१) को प्रतिकूल हुने गरी कसैले वाटरमार्कन वा सेक्युरिटी थ्रेड भएको कागज बनाएमा वा पैठारी गरेमा त्यस्तो कागज जफत गरी तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
२९. डाई, प्लेट वा उपकरण बनाउन वा पैठारी गर्न नहुने: (१) कसैले पनि केन्द्रले सुरक्षण मुद्रण गरे जस्तो देखिने गरी मुद्रण गर्ने प्रयोजनको लागि डाई, प्लेट वा सो सम्बन्धी उपकरण बनाउन वा पैठारी गर्न हुँदैन।
(२) उपदफा (१) को प्रतिकूल हुने गरी कसैले त्यस्तो सामग्री तयार गर्ने डाई, प्लेट वा सो सम्बन्धी उपकरण बनाएमा वा पैठारी गरेमा त्यस्ता सामग्री जफत गरी तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
३०. मागभन्दा बढी मुद्रण गर्न नहुने: (१) दफा ११ बमोजिम सुरक्षण मुद्रण गर्दा सम्बन्धित सरकारी निकायको मागभन्दा बढी सुरक्षण मुद्रण गर्न हुँदैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नमूना परीक्षणको लागि वा प्राविधिक त्रुटि हुन गई मागभन्दा बढी छपाई हुन गएमा त्यस्तो बढी सुरक्षण मुद्रण सामग्री मुचुल्का तयार गरी तुरुन्त नष्ट गर्नु पर्नेछ।
(३) उपदफा (१) वा (२) विपरीत सम्बन्धित सरकारी निकायको मागभन्दा बढी सुरक्षण मुद्रण गरेमा वा बढी भएको सुरक्षण मुद्रण सामग्री नष्ट नगरेमा जिम्मेवार पदाधिकारी वा कर्मचारीलाई दफा २७ को उपदफा (२) बमोजिम सजाय हुनेछ।
३१. गोपनीयता भंग गर्न नहुने: (१) कसैले पनि कानून बमोजिम तोकिएको अधिकारीलाई बाहेक अन्य कसैलाई सुरक्षण मुद्रण सामग्रीको प्राविधिक विवरण (स्पेसिफिकेशन) को बारेमा जानकारी दिन वा सो सम्बन्धी गोपनीयता भंग गर्न हुँदैन।
(२) उपदफा (१) को प्रतिकूल हुने गरी कसैले सुरक्षण मुद्रण सामग्रीको प्राविधिक विवरण (स्पेसिफिकेशन) को बारेमा जानकारी दिएमा वा गोपनीयता भंग गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(३) यस ऐन बमोजिम सुरक्षण मुद्रणको क्रममा प्रयोग भएका वैयक्तिक विवरणको गोपनीयता भंग गरेमा वा बदनीयतपूर्वक कसैलाई सूचना दिएमा गोपनीयता सम्बन्धी प्रचलित कानून बमोजिम सजाय हुनेछ।
३२. अनधिकृत तरिकाले परिसर बाहिर लैजान नहुने: (१) अख्तियारवाला अधिकारीको लिखित आदेश भएको अवस्थामा बाहेक कसैले पनि केन्द्रको उत्पादनस्थल, छापाखाना वा भण्डारण गरिएको स्थानबाट अनधिकृत तरिकाले सुरक्षण मुद्रण सामग्री बाहिर लैजान हुँदैन।
(२) उपदफा (१) को प्रतिकूल हुने गरी कसैले केन्द्रको उत्पादनस्थल, छापाखाना वा भण्डारण गरिएको स्थानबाट अनधिकृत तरिकाले सुरक्षण मुद्रण सामग्री बाहिर लगेमा त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद वा सो सामग्रीको बिगो खुलेकोमा बिगो असुल गरी बिगो बमोजिम जरिवाना वा दुवै सजाय र बिगो नखुलेकोमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
३३. वैयक्तीकरण नगरिएका खाली सुरक्षण मुद्रण सामग्री अनधिकृत तरिकाले बाहिर लैजान नहुने: (१) कसैले पनि वैयक्तीकरण नगरिएका खाली सुरक्षण मुद्रण सामग्री अनधिकृत तरिकाले केन्द्रको उत्पादनस्थल, छापाखाना वा भण्डारण गरिएको स्थानबाट बाहिर लैजान हुँदैन। (२) उपदफा (१) को प्रतिकूल हुने गरी कसैले वैयक्तीकरण नगरिएका खाली सुरक्षण मुद्रण सामग्री अनधिकृत तरिकाले केन्द्रको उत्पादनस्थल, छापाखाना वा भण्डारण गरिएको स्थानबाट बाहिर लगेमा त्यस्तो व्यक्तिलाई एक वर्षसम्म कैद वा सो सामग्रीको बिगो खुलेकोमा बिगो असुल गरी बिगो बमोजिम जरिवाना वा दुवै सजाय र बिगो नखुलेकोमा एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
३४. वैयक्तीकरण गरिएका सुरक्षण मुद्रण सामग्री अनधिकृत व्यक्तिलाई बुझाउन नहुने: (१) कसैले पनि केन्द्रमा वैयक्तीकरण गरिएका सुरक्षण मुद्रण सामग्री अनधिकृत व्यक्तिलाई बुझाउनु हुँदैन। (२) उपदफा (१) को प्रतिकूल हुने गरी कसैले वैयक्तीकरण गरिएका सुरक्षण मुद्रण सामग्री अनधिकृत व्यक्तिलाई बुझाएमा एक वर्षसम्म कैद वा सो सामग्रीको बिगो खुलेकोमा बिगो असुल गरी बिगो बमोजिम जरिवाना वा दुवै सजाय र बिगो नखुलेकोमा एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
३५. पुनः कसुर गरेमा हुने सजाय: यस ऐन बमोजिम सजाय हुने कसुरमा सजाय पाएको व्यक्तिले यस ऐन बमोजिमको कसुर पुनः गरेमा सम्बन्धित कसुरमा हुने सजायको अतिरिक्त थप पचास प्रतिशत सजाय हुनेछ।
३६. नेपाल सरकार वादी हुने: यस परिच्छेद बमोजिम सजाय हुने मुद्दा नेपाल सरकार वादी भई चल्नेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ।
परिच्छेद-८ विविध
३७. उद्योग स्थापना गर्न सक्ने: केन्द्रले सुरक्षण मुद्रण सामग्री मुद्रणको लागि आवश्यक पर्नु पर्ने कागज, धागो, रसायन लगायत कच्चा पदार्थको उत्पादन गर्न मन्त्रालयको स्वीकृति लिई उद्योग स्थापना गर्न सक्नेछ।
३८. अधिकार प्रत्यायोजन: सञ्चालक समितिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये केही अधिकार आवश्यकता अनुसार अध्यक्ष, सदस्य वा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गर्न सक्नेछ।
३९. निहित व्यक्तिगत स्वार्थको उपयोगमा बन्देज: (१) केन्द्रको काम कारबाहीसँग आफ्नो वा आफ्नो परिवारको सदस्य वा नजिकको नातादारको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै व्यापारिक स्वार्थ भएमा सदस्यले सो विषयमा सञ्चालक समितिलाई जानकारी दिनु पर्नेछ। (२) सदस्यको निजी स्वार्थ भएको कुनै प्रस्तावउपर सञ्चालक समितिमा छलफल हुँदा त्यस्तो सदस्यले भाग लिन पाउने छैन।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि "नातादार" भन्नाले सदस्यको पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सौतेनी आमा, बाजे, बज्यै, सासु, ससुरा, दाजु, भाइ, दिदी, बहिनी, भाउजु, बुहारी, जेठानी, जेठु, देवर, जेठानी, देउरानी, आमाजु, नन्द, काका, काकी, ठूलोबुबा, ठूलीआमा, सानोबुबा, सानीआमा, भतिजा, भतिजी, भाञ्जा, भाञ्जी, भिनाजु, ज्वाइँ, मामा, माइजु, फुपू, फूपाजु, साला, साली, जेठान, साढुदाइ, साढुभाइ, तिनका श्रीमती र छोराछोरी सम्झनु पर्छ।
४०. प्रचलित कानून बमोजिम सजाय गर्न बाधा नपर्ने: (१) यस ऐन अन्तर्गत कसुर ठहरिने कुनै कार्य अन्य प्रचलित कानून बमोजिम पनि कसुर ठहरिने रहेछ भने त्यस्तो कसुरउपर छुट्टै कारबाही चलाई सजाय गर्न यस ऐनले बाधा पुर्याएको मानिने छैन।
तर एकै कसुरमा एकभन्दा बढी मुद्दा चलाइने र सजाय गरिने छैन ।
(२) केन्द्रमा कार्यरत कर्मचारीले यस ऐन बमोजिम सजाय हुने कसुर गरेमा निजलाई सेवा सम्बन्धी कानून बमोजिम विभागीय कारबाही समेत हुनेछ ।
४१. आवश्यक सेवामा समावेश भएको मानिने: केन्द्रले गर्ने कार्य प्रचलित कानून बमोजिम आवश्यक सेवाको सूचीमा समावेश भएको मानिनेछ ।
४२. नेपाल सरकारसँग सम्पर्क गर्ने: केन्द्रले नेपाल सरकारसँग सम्पर्क राख्दा मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
४३. सहयोग लिन सक्ने: केन्द्रले नेपाल सरकारको स्वीकृति लिएर विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ वा संस्थाबाट सुरक्षण मुद्रण सम्बन्धी मेसिनरी, औजार, यन्त्र, उपकरण तथा प्रविधि र विशेषज्ञता सम्बन्धमा आवश्यक सहयोग लिन सक्नेछ ।
४४. नियम बनाउन सक्ने: (१) यो ऐन कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।
(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायका विषयमा नियम बनाउन सकिनेछः-
(क) कर्मचारीको सेवा शर्त र सुविधा सम्बन्धी, (ख) आर्थिक प्रशासन सम्बन्धी, (ग) सुरक्षण मुद्रण सम्बन्धी, (घ) कोष सञ्चालन सम्बन्धी, र (ङ) वार्षिक प्रतिवेदनमा समावेश गर्ने विषय ।
४५. विनियिम वा कार्यविधि बनाउन सक्ने: (१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही केन्द्रले आवश्यकता अनुसार केन्द्रका कार्यकारी निर्देशक तथा कर्मचारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा तथा केन्द्रको कार्य सञ्चालनका सम्बन्धमा आवश्यक विनियिम बनाउन सक्नेछ ।
(२) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही केन्द्रले आवश्यकता अनुसार केन्द्रले गर्ने सुरक्षण मुद्रण सम्बन्धी कामलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि बनाउन सक्नेछ।
(३) उपदफा (१) बमोजिम विनियम बनाउँदा नेपाल सरकारलाई थप आर्थिक दायित्व पर्ने भएमा नेपाल सरकारको अर्थ मन्त्रालयको पूर्वस्वीकृति लिनु पर्नेछ।
४६. ऐन कार्यान्वयन मापन: यो ऐन प्रारम्भ भएको मितिले पाँच वर्ष पूरा भएको एक वर्षभित्र र तत्पश्चात प्रत्येक पाँच वर्ष पूरा भएको एक वर्षभित्र मन्त्रालयले ऐन कार्यान्वयनको मापन गर्नेछ र सोको प्रतिवेदन संघीय संसदको दुवै सदनको सम्बन्धित समितिमा पेस गर्नु पर्नेछ।
४७. खारेजी र बचाउ: (१) सुरक्षण मुद्रण विकास समिति (गठन) आदेश, २०७३ खारेज गरिएको छ।
(२) उपदफा (१) बमोजिमको गठन आदेश बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।
(३) उपदफा (१) बमोजिमको गठन आदेश बमोजिम नियुक्त भएका कार्यकारी निर्देशक र कर्मचारीहरू यसै ऐन बमोजिम नियुक्त भएका मानिनेछन्।