होटेल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन, २०२३
लालमोहर र प्रकाशन मिति २०२३।६।९
संशोधन गर्ने ऐन १. न्याय प्रशासन ऐन, २०४८ २०४८।२।१६ प्रमाणीकरण र प्रकाशन मिति
२. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६♦ २०६६।१०।०७
३. लैङ्गिक समानता कायम गर्ने तथा लैङ्गिक हिंसा अन्त्य गर्ने केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ २०७२।६।१४
४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३
५. केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ २०७४।६।३०
६. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
♦ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको ।
२०२३ सालको ऐन नं. १८
होटेलको व्यवस्था तथा मदिराको बिक्री वितरणमा नियन्त्रण गर्न बनेको ऐन
प्रस्तावना : सर्वसाधारण जनताको सदाचार, सुविधा, स्वास्थ्य एवं आर्थिक हित कायम राख्नको लागि होटलको व्यवस्था तथा मदिराको बिक्री वितरणमा नियन्त्रण गर्न वाञ्छनीय भएकोले,
श्री ४ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाई वक्सेको छ ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “होटेल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन, २०२३” रहेको छ ।
(२) यो ऐन नेपाल *.............. भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यो ऐनमा,–
(क) “होटेल” भन्नाले भोजन (खानपिन) को प्रबन्ध भई वा नभई बसोबासको सुविधा दिने गरी व्यावसायिक आधारमा चलाइएको होटल सम्झनु पर्छ र यो शब्दले रेष्टुराँ समेतलाई जनाउँछ ।
(ख) कुनै होटल वा पसलका सम्बन्धमा “मालिक” भन्नाले होटल वा पसलको कारोबारमा अन्तिम नियन्त्रण भएको व्यक्तिहरु सम्झनु पर्छ र यो शब्दले
त्यस्तो होटल वा पसलको काम चलाउन म्यानेजर वा म्यानेजिङ एजेण्ट नियुक्त भैराखेको भए निजलाई समेत जनाउँछ ।
(ग) “ग्राहक” भन्नाले होटलमा बसोबास गरी वा नगरी भोजन (खानापिना) को लागि होटलमा आउने ग्राहक सम्झनु पर्छ ।
(घ) “मदिरा” भन्नाले फलफूल वा अन्न कुहाई वा अन्य कुनै तरिकाले तयार गरिने विदेशी वा स्वदेशी सबै किसिमको रक्सी र बियर समेतलाई सम्झनु पर्छ ।
(ङ) “पसल” भन्नाले भट्टी पसललाई समेत जनाउँछ ।
(च) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियमहरुमा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।
३. होटल वा पसलको मालिकले मदिरा बेच्न र खुवाउनमा नियन्त्रण : (१) मदिरा खुवाउने व्यवस्था भएको होटल वा पसलको मालिकले यो ऐन प्रारम्भ भएपछि दिउँसो १२ बजे भन्दा पहिले र शुक्रबारको हकमा राती १ बजेपछि र अन्य वारको हकमा राती १२ बजेपछि आफ्नो होटल वा पसलमा कसैलाई मदिरा बिक्री गर्न वा खुवाउन हुँदैन ।
(२) होटल मालिकले शुक्रबारको दिन राती १ बजेपछि र अन्य वारको हकमा राती १२ बजेपछि ग्राहकहरुको निमित मनोरञ्जन वा नाच गानको व्यवस्था गर्न हुँदैन ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो उपदफाहरुमा लेखिएको समयमा आवश्यकता अनुसार घटबढ गर्न सक्नेछ ।
४. होटेलमा अश्लील वा लज्जाजनक मनोरञ्जन वा नाँच गान देखाउन नहुने : होटेल मालिकले आफ्नो होटेलमा सार्वजनिक सदाचार वा नैतिकतामा नराम्रो असर पर्ने किसिमका मनोरञ्जन वा त्यस्ता नाँच गान देखाउन हुँदैन ।
५. होटेल मालिकको कर्तव्य : (१) होटेल मालिकको देहाय बमोजिमको कर्तव्य हुनेछ :–
(क) होटेलमा आएका ग्राहकको नाम, नागरिकता, पेशा, आएको मिति र ठेगाना समेतको विवरण लेख्ने ।
(ख) होटेलमा कोठा खाली भएमा सरुवा वा संक्रामक रोग पीडित ग्राहक बाहेक अरु ग्राहकलाई बस्न दिनु पर्ने ।
(ग) होटेलमा आएका ग्राहकलाई मुनासिब नाफिमाको दाममा शुद्ध तथा पवित्र भोजन खुवाउने ।
(घ) ग्राहकलाई आफूले सक्दो सुरक्षा वा हेर विचार गर्ने, गराउने ।
(ङ) ग्राहकको मालसामान नगद रुपैयाँ वा अरु कुनै मूल्यवान चीज ग्राहकले जिम्मा दिन चाहेमा ग्राहकले माग गरेको बखतमा फिर्ता दिने गरी आफ्नो जिम्मा लिई त्यसको रसीद दिने ।
(च) मदिरा बेच्दा वा खुवाउँदा शान्ति सुरक्षाको ख्याल गर्ने ।
(छ) होटेल सफा सुग्घर राख्न लगाउने ।
(ज) ग्राहकलाई मदिरा खुवाउँदा होस हवास हराउने गरी वा ग्राहकले आफूलाई नियन्त्रण राख्न नसक्ने गरी धेरै मात्रामा मदिरा खुवाउन नहुने ।
(झ) मदिरा खुवाउँदा होटेलको भित्री भागमा खुवाउने व्यवस्था गर्ने ।
(२) उपदफा (१) को खण्ड (ङ) बमोजिम जिम्मा लिएको मालसामान दैवी घटनाबाट नासिएमा त्यस्तो मालसामानको जवाफदेही होटल मालिकको हुने छैन ।
६. ग्राहकको मालसामान लिलाम गर्ने : ग्राहकले होटलमा बस्दा र खाँदाको खर्च नतिरी आफ्नो मालसामान छोडी हिँडेमा यसरी हिँडेको मितिले ७ दिनपछि त्यस्ता मालसामानको विवरण र ग्राहकको पूरा नाम र बतन खोली पैंतीस दिनको म्याद दिई स्थानीय पत्रपत्रिकामा विज्ञापन गरी होटल मालिकले सो मालसामान लिलाम बिक्री गर्न सक्नेछ र सो लिलाम बिक्री गर्दा आएको रकमबाट आफूले लिनु पर्ने रकम र लिलाम बिक्री गर्दा लागेको खर्च कटाई बाँकी बचेको रकम ग्राहकले लिन आएका बखत बिजलाई बुझाई दिनु पर्छ ।
७. नाबालक र मदिराले मातेको व्यक्तिलाई मदिरा बेच्न खुवाउन नहुने : $\text{※}$ अठार वर्ष मुनिका बालबालिका र मदिराले मातिसकेका व्यक्तिलाई कुनै पनि होटल वा पसलको मालिकले मदिरा बेच्न वा खुवाउन हुँदैन ।
८. खास खास होटल वा पसल र क्षेत्रमा मदिरा बेच्न र खुवाउन नहुने : दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि $\text{†}$ नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले तोकिए बमोजिमका होटल, पसल वा क्षेत्रमा आवश्यकता अनुसार नेपाल राजपत्र, प्रदेश राजपत्र वा स्थानीय राजपत्रमा सूचना प्रकाशित गरी सोही सूचनामा तोकेको होटल, पसल वा क्षेत्रमा मदिरा बेच्न र खुवाउन निषेध गर्न सक्नेछ ।
$\text{※}$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित । $\text{†}$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
९. मदिरा खाई मातेको ग्राहकलाई प्रवेश निषेध : कुनै होटल वा पसलको मालिकले मदिरा लागी मातेका व्यक्तिलाई जानी जानी आफ्नो होटल वा पसलमा प्रवेश गराउन हुँदैन ।
१०. दण्ड सजाय : (१) दफा ३, ५ वा ७ को विखिलाफ काम गर्ने होटल मालिक वा दफा ३ वा ७ को विखिलाफ काम गर्ने कुनै पसलको मालिकलाई तोकिएको अधिकारीले बढीमा एक लाख रुपैयाँसम्म जरिवाना गर्न र आवश्यक देखिए त्यस्तो होटल वा पसल बन्द गर्ने आदेश दिन सक्छ ।
(२) दफा ४ को विखिलाफ काम गर्ने होटल मालिकलाई तोकिएको अधिकारीले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्छ र सो दफाको विखिलाफ होटलमा भै रहेको वा हुने भएको मनोरञ्जन वा नाच गान बन्द गराउनेछ ।
(३) दफा ८ वा ९ को उल्लङ्घि गर्ने होटल वा पसलको मालिक वा अन्य कुनै व्यक्तिलाई तोकिएको अधिकारीको आदेशले बढीमा ३ महीनासम्म कैद वा पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।
११. पुनरावेदन : दफा १० बमोजिम दिइएको सजायमा चित्त नबुझ्ने व्यक्तिले सो सजायको आदेश उपर जिल्ला अदालतमा पुनरावेदन गर्न सक्छ ।
१२. नियम बनाउने अधिकार : यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियम बनाउन सक्छ ।
१३. बचाउ : यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरुमा लेखिएको जति कुरामा सोही बमोजिम र अरुमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।