लालमोहर र प्रकाशन मिति २०२७।१२।३०
संशोधन गर्ने ऐन १. न्याय प्रशासन सुधार ऐन, २०३१ (२०३१।४।१८) २. न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३ (२०४३।७।२४) ३. न्याय प्रशासन ऐन, २०४८ (२०४८।२।१६)
प्रमाणीकरण र प्रकाशन मिति ४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ (२०६६।१०।०७) ५. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०७२ (२०७२।६।१४) ६. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ (२०७२।११।१३)
२०२७ सालको ऐन नं. १६
समुद्रयात्रा गर्ने नेपाली पानी जहाजका प्रमाण–पत्र र रोजनामचाहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : समुद्रयात्रा गर्ने नेपाली पानी जहाजका प्रमाणपत्र र रोजनामचाहरूको सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।
परिच्छेद– १ प्रारम्भिक
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “नेपाली पानी जहाज (प्रमाणपत्र र रोजनामचा) ऐन, २०२७” रहेको छ ।
(२) यो ऐन नेपाल “............ भर लागू हुनेछ र जहाँसुकै रहेको भए तापनि पानी जहाज दर्ता ऐन, २०२७ बमोजिम दर्ता गरिएको र दर्ता गर्नुपर्ने पानी जहाज र सो पानी जहाजका धनी, नाविक र कर्मचारीहरूलाई समेत लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “नेपाल पानी जहाज कार्यालय” भन्नाले पानी जहाज दर्ता ऐन, २०२७ अन्तर्गत स्थापित नेपाल पानी जहाज कार्यालयलाई सम्झनु पर्छ ।
(ख) “पानी जहाज” भन्नाले कम्तीमा १० ग्रस रजिष्टर टन भारवहन क्षमता भएको समुद्रयात्रा गर्ने जलयान (भेसेल) लाई सम्झनु पर्छ ।
(ग) “यात्रुवाहक पानी जहाज” भन्नाले १२ भन्दा बढी संख्यामा यात्रु ओसारन अधिकार प्राप्त पानी जहाजलाई सम्झनु पर्छ ।
(घ) “मालवाहक पानी जहाज” भन्नाले यात्रुवाहक पानी जहाज बाहेक अरू सबै पानी जहाजलाई सम्झनु पर्छ ।
(ङ) “ट्याङ्कर” भन्नाले ठूलो परिमाणमा तरल माल ढुवानी गर्नको लागि निर्मित वा परिवर्तित मालवाहक पानी जहाजलाई सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।
३. प्रमाणपत्र र रोजनामचा : (१) प्रत्येक नेपाली पानी जहाजले यो ऐन बमोजिमका प्रमाणपत्र र रोजनामचाहरू राख्नु पर्छ ।
(२) त्यस्ता प्रमाणपत्र र रोजनामचाहरूले सो पानी जहाजको परिचय, समुद्रयात्रा गर्ने क्षमता र समुद्रयात्रा गर्ने पानी जहाजमा हुनुपर्ने अरू आवश्यकता पूरा भएको प्रमाणित गर्नेछन् ।
(३) त्यस्ता प्रमाणपत्र र रोजनामचाहरूको भाषा नेपाली हुनेछ । तर नेपाली भाषाको साथै दोस्रो भाषाको रूपमा अंग्रेजी भाषा पनि प्रयोग गर्न सकिनेछ ।
(४) त्यस्तो प्रमाणपत्र र रोजनामचाहरू सधैँ सो पानी जहाजमा नै राखिनु पर्छ र अधिकार प्राप्त कुनै पानी जहाज कार्यालयको अधिकृत वा * नेपाली कूटनैतिक वा वाणिज्य प्रतिनिधिबाट चाहेको बखत पेश गर्नु पर्छ ।
परिच्छेद– २ पानी जहाजका लिखतहरू
४. दर्ताको प्रमाणपत्र : प्रत्येक नेपाली पानी जहाजले पानी जहाज दर्ता ऐन, २०२७ बमोजिम प्राप्त दर्ताको प्रमाणपत्र साथमा राख्नु पर्छ । त्यस्तो प्रमाणपत्रले सो पानी जहाजको राष्ट्रियता, लगाइएको काम र नौपरिवहनको श्रेणी प्रमाणित गर्नेछ र त्यसमा पानी जहाजको स्वामित्व र सो पानी जहाजलाई लगाइएको दायित्व (चाजेज) र प्रतिबन्धहरू (रेस्ट्रिक्शन्स) अभिलिखित हुनेछ ।
५. राष्ट्रियताको अस्थायी प्रमाणपत्र : पानी जहाज दर्ता ऐन, २०२७ बमोजिम दर्ता भै नसकेको नयाँ खरिद भएको वा दर्ताको प्रमाणपत्र हराएको वा क्षतिग्रस्त भएको पानी जहाजले सो ऐनबमोजिम प्राप्त राष्ट्रियताको अस्थायी प्रमाणपत्र साथमा राख्नु पर्छ ।
६. नाविक सूची : (१) प्रत्येक नेपाली पानी जहाजले तोकिएबमोजिमको नाविक सूची राख्नु पर्छ । त्यस्तो सूचीमा सो पानी जहाजका नाविकहरूको नाम, उमेर, नियुक्तिो हैसियत, योग्यता र नागरिकता उल्लिखित हुनेछ ।
(२) त्यस्तो सूचीमा नौपरिवहनको सुरक्षाको आवश्यकता पूरा गर्न आवश्यक न्यूनतम नाविक संख्या र त्यसको गठन पनि उल्लिखित हुनेछ ।
७. सुरक्षाको प्रमाणपत्र : नेपाल सरकारले पत्याएको अधिकार प्राप्त वर्गीकरण संस्था (क्लासिफिकेसन सोसाइटी) द्वारा समुद्रमा जीवनको सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी (इण्टरनेशनल कन्भेन्सन फर द सेफ्टी अफ लाइफ एट सी) १९६० को व्यवस्था अनुसार कुनै नेपाली पानी जहाजको समुद्रयात्रा गर्ने क्षमता प्रमाणित भएपछि देहायका पानी जहाजलाई देहायका सुरक्षाका प्रमाणपत्रहरू तोकिएको दस्तुर लिई नेपाल पानी जहाज कार्यालयका नौपरिवहन निरीक्षकद्वारा प्रदान गरिनेछ र त्यस्ता प्रमाणपत्रहरूका ढाँचा तोकिएबमोजिम हुनेछ :–
(१) यात्रुवाहक पानी जहाजलाई– यात्रुवाहक पानी जहाजको सुरक्षाको प्रमाणपत्र ।
(२) मालवाहक पानी जहाजलाई–
(क) ५०० टन वा सो भन्दा बढी ग्रस टनेज भएकालाई मालवाहक पानी जहाजको निर्माणको (कन्स्रक्शन) सुरक्षाको प्रमाणपत्र ।
(ख) ५०० टन वा सो भन्दा बढी ग्रस टनेज भएकालाई मालवाहक पानी जहाजको उपकरणको सुरक्षाको प्रमाणपत्र ।
(ग) १६०० टन वा सो भन्दा बढी ग्रस टनेज भएकालाई मालवाहक पानी जहाजको रेडियो टेलिग्राफिको सुरक्षाको प्रमाणपत्र ।
(घ) ३०० टन भन्दा बढी तर १६०० टनभन्दा घटी ग्रस टनेज भएका र रेडियो टेलिग्राफ स्टेशन जडान नभएकालाई
मालवाहक पानी जहाजको रेडियो टेलिफोनीको सुरक्षाको प्रमाणपत्र ।
(३) खण्ड (१) र (२) मा उल्लेख भएका सबै पानी जहाजलाई समुद्रयात्रा गर्ने क्षमताको सि आदिननेस प्रमाणपत्र ।
(४) १५० टन वा सो भन्दा बढी ग्रस टनेज भएको यात्रुवाहक वा मालवाहक पानी जहाजलाई अन्तर्राष्ट्रिय भार रेखा (लोड लाइन) को प्रमाणपत्र ।
(५) असाधारण अवस्था परी कुनै पानी जहाजलाई समुद्रयात्रा गर्नु परेमा त्यस्ता पानी जहाजलाई सो पानी जहाजमा समुद्रमा जीवनको सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी (इण्टरनेशनल कन्भेन्सन फर द सेफ्टी अफ लाइफ एट सी) १९६० मा केही आवश्यकताहरू पूरा नभएको भए तापनि एक पटक समुद्रयात्रा गर्नलाई सम्म सुरक्षा पर्याप्त छ भन्ने छूटको प्रमाणपत्र ।
८. टनेजको प्रमाणपत्र : (१) प्रत्येक नेपाली पानी जहाजले तोकिएबमोजिमको टनेजको प्रमाणपत्र प्राप्त गर्नुपर्छ । त्यस्तो प्रमाणपत्रले सो पानी जहाजको ग्रस र नेट टनेज प्रमाणित गर्नेछ ।
(२) त्यस्तो प्रमाणपत्र तोकिएको दस्तुर लिई नेपाली पानी जहाज कार्यालयको नौपरिवहन निरीक्षकद्वारा प्रदान गरिनेछ ।
९. मूसा निमूलनको प्रमाणपत्र : (१) मूसा पीडित पानी जहाजले मूसा निमूलन सन्तोषजनकरूपले पूरा गरेको प्रमाणको लागि तोकिएबमोजिमका मूसा निमूलनको प्रमाणपत्र प्राप्त गर्नुपर्छ ।
(२) कुनै पानी जहाज मूसा पीडित नभए वा मूसा पीडित भएको शङ्का गरिएको नभए वा मूसाको संख्या नगण्य हुने स्थितिमा स्थायीरूपले राखिएको भए सो पानी जहाज मूसा
पीडित छैन भन्ने कुराको प्रमाणपत्र र त्यस्तो पानी जहाजलाई कुनै खास अवधिसम्म मूसा निर्मूलन गर्नबाट छूट पाएको छ भन्ने कुराको प्रमाणपत्र समेत प्राप्त गर्नुपर्छ ।
(३) नेपाली पानी जहाज अडिने जुनसुकै बन्दरगाहको स्वास्थ्य अधिकारीले प्रदान गरेको मूसा निर्मूलनको प्रमाणपत्र वा मूसा निर्मूलनबाट छूटको प्रमाणपत्र मान्य हुनेछ ।
१०. प्रमाणहरूको अवधि : (१) दफा ७ को खण्ड (१), र (२) र (३) बमोजिमको प्रमाणपत्रहरूको म्याद १ वर्षको हुनेछ र सो म्याद बढीमा १२० दिनको लागि थप गर्न सकिनेछ ।
तर, समुद्रयात्रा गर्ने क्षमताको (सी ओर्डिनेन्स) प्रमाणपत्रका हकमा भने त्यस्तो म्याद बढीमा १५० दिनको लागि थप गर्न सकिनेछ ।
(२) कुनै पानी जहाज क्षतिग्रस्त भई त्यसको समुद्रयात्रा गर्ने क्षमता प्रतिकूल असर परेमा सो पानी जहाजलाई दफा ७ बमोजिम प्राप्त सबै प्रमाणपत्र अमान्य हुनेछ ।
(३) अन्तर्राष्ट्रिय भार रेखा (लोड लाईन) को प्रमाणपत्र सो प्रमाणपत्रमा तोकिएको म्याद भुक्तान भएपछि अमान्य हुनेछ ।
तर, त्यस्तो म्याद तोक्दा जारी भएको मितिदेखि ५ वर्षभन्दा बढी अवधिको लागि तोकिने छैन ।
(४) छूटको प्रमाणपत्र जारी भएको अवधिभन्दा बढीको लागि मान्य हुनेछैन ।
११. पानी जहाजको रोजनामचा : (१) ५० टन वा सो भन्दा बढी ग्रस टनेज भएको समुद्र यात्रा गर्ने र जतिसुकै टनेज भएको भए पनि १५० अश्व शक्ति (हर्स पावर) भन्दा बढी चालन शक्ति (मोटिभ पावर) भएको नेपाली पानी जहाजले तोकिएबमोजिमको पानी जहाजको रोजनामचा राख्नु पर्छ ।
(२) त्यस्तो रोजनामचा नौपरिवहन, सो पानी जहाजमा हुने काम, नाविकहरू, यात्रुहरू, मौसम सम्बन्धी अवलोकन, समुद्रमा भएका ठूलो दुर्घटना र विपत्तिहरूका विवरण र पानी जहाज कार्यालयका अधिकारीहरू, पानी जहाजका धनीहरू, पानी जहाजबाट माल पठाउने वा पठाउनेहरू, बिमकहरू, अन्डरराइटरहरू र सम्बन्धित सबै व्यक्तिहरूलाई चासो लाउने घटनाहरूका विवरण लेखिनेछ ।
१२. इञ्जिनको रोजनामचा : (१) ५० टन वा सो भन्दा बढी ग्रस टनेज भएको र १५० हर्स पावर वा सो भन्दा बढी चालन शक्ति (मोटिभ पावर) भएको समुद्रयात्रा गर्ने प्रत्येक नेपाली पानी जहाजले तोकिएबमोजिमको इञ्जिनको रोजनामचा राख्नु पर्छ ।
(२) त्यस्तो रोजनामचा पानी जहाजमा जडान गरिएको चालन शक्ति (मोटिभ पावर) सम्बन्धी विवरण खासगरी जडानहरू (इन्सटलेशन) को स्थिति, कार्य सञ्चालन (फक्सनिङ्ग) र इन्धनको उपभोग, पुनर्नविन (ओभर हल) को मिति, गरिएको कामको किस्म र तिनको सञ्चालन (अपरेसन) र सेवा सम्बन्धी सबै विवरण लेखिनेछ ।
१३. आरोग्यता (स्टेनिशन) सम्बन्धी रोजनामचा : (१) ४०० टन वा सो भन्दा बढी ग्रस टनेज भएको समुद्रयात्रा गर्ने प्रत्येक नेपाली पानी जहाजले तोकिएबमोजिमको आरोग्यता सम्बन्धी रोजनामचा राख्नु पर्छ ।
(२) त्यस्तो रोजनामचा सो पानी जहाजको नाविक र यात्रुहरूको आरोग्यता सम्बन्धि स्थिति, पानी जहाजमा खोपिएका (भ्याक्सिनेशन गरिएका नाविक) र यात्रुहरूको नाम, उमेर, नागरिकता, घरको ठेगाना, पेशा र यात्राको बखत नाविक वा यात्रु बिरामी भए वा घाइते भए त्यसको विवरण र पानी जहाजमा आरोग्यता सम्बन्धमा अपनाएका उपाय सम्बन्धी विवरण लेखिनेछ ।
(३) त्यस्तो रोजनामचामा पानी जहाजको मास्टर (प्रमुख अधिकारी) ले हस्ताक्षर गर्नुपर्छ र पानी जहाज आइपुग्ने कुनै बन्दरगाहको स्वास्थ्य अधिकारीले वा .....नेपाली कूटनैतिक वा वाणिज्य प्रतिनिधिले हेर्न चाहेको बखत देखाउनु पर्छ ।
१४. रेडियोको रोजनामचा : (१) रेडियो टेलिग्राफको उपकरण जडान भएको प्रत्येक नेपाली पानी जहाजले तोकिएबमोजिमको रेडियोको रोजनामचा राख्नु पर्छ । त्यस्तो रोजनामचा यात्राको बखत रेडियो टेलिग्राफ सञ्चालन गर्ने कोठामा राखिनेछ ।
(२) त्यस्तो रोजनामचामा रेडियो अधिकारीले आफ्नो नाम, रेडियो चालू वा बन्द गरेको समय, समुद्रमा जीवनको सुरक्षाको लागि महत्वपूर्ण लागेको रेडियो सेवा सम्बन्धित सबै घटनाहरू लेख्नेछन् ।
१५. कार्गो बूक : ५०० टन वा सो भन्दा बढी ग्रस टनेज भएको वा माल ढुवानी गर्ने प्रत्येक नेपाली पानी जहाजले तोकिएबमोजिमको कार्गो बूक राख्नु पर्छ । त्यस्तो कार्गो बूकमा सो पानी जहाजमा लादिएको माल सम्बन्धी विवरण खासगरी मालको किसिम र परिमाण सम्बन्धी विवरण र कहाँ कसरी लादिएको भन्ने कुरा समेत लेखिनेछ ।
१६. प्रमाणपत्र र रोजनामचाहरू फिर्ता गर्ने : (१) कुनै नेपाली पानी जहाजको दर्ता बदर भएमा त्यसको सबै प्रमाण–पत्र र रोजनामचाहरू नेपाल पानी जहाज कार्यालयमा दाखिल गर्नु पर्छ ।
तर, विदेशमा हस्तान्तरण भएका पानी जहाजका हकमा त्यस्तो प्रमाणपत्र र रोजनामचाहरू दाखिल गर्नु पर्दैन ।
(२) समुद्रयात्रा गर्ने कुनै नेपाली पानी जहाजको कुनै रोजनामचा पूरा उपयोग गरी सकिएपछि १ वर्षसम्म सो पानी जहाजमा नै राखी त्यसपछि नेपाल पानी जहाज कार्यालयमा दाखिल गरिनेछ ।
(३) यस दफाबमोजिम प्राप्त भएका पानी जहाजका प्रमाणपत्र र रोजनामचाहरू नेपाल पानी जहाज कार्यालयले प्राप्त भएको मितिले १० वर्षसम्म सुरक्षित राख्नेछ ।
परिच्छेद– ३ विविध
१७. दण्ड सजाय : (१) यो ऐनबमोजिम प्रमाणपत्र र रोजनामचा नभएको कुनै पानी जहाजलाई नौपरिवहन गर्न अनुमति दिने व्यक्ति वा संगठित संस्थालाई रू. ८,०००/- सम्म जरिवाना हुनेछ ।
(२) यो ऐनबमोजिम रोजनामचा नभएको कुनै नेपाली पानी जहाज समुद्रयात्रामा लगिएमा वा प्रमाणपत्रहरूको म्याद नाघेका पानी जहाज नौपरिवहनको लागि काममा लगाइएमा त्यसरी समुद्रयात्रामा लग्ने वा काममा लगाउने व्यक्ति वा संगठित संस्थालाई रू. १५००/- सम्म जरिवाना हुनेछ ।
(३) देहायका अवस्थामा कुनै पानी जहाजको मास्टर (प्रमुख अधिकारी) लाई रू. १०००/- सम्म जरिवाना हुनेछ ।
(क) पानी जहाजमा यो ऐनबमोजिम राख्नु पर्ने कुनै लिखत नराखेमा । (ख) रोजनामचाहरू उचित ढङ्गले नराखेमा ।
(ग) अधिकार प्राप्त अधिकारीबाट चाहिएको बखत पानी जहाजका प्रमाणपत्र र रोजनामचाहरू पेश नगरेमा ।
(घ) दर्ता बदर भएका पानी जहाजको प्रमाण–पत्र र रोजनामचाहरू नेपाल पानी जहाज कार्यालयमा दाखिल नगरेमा, वा
(ङ) पूरा उपयोग गरिसकिएको रोजनामचाहरू दफा १६ को उपदफा (२) मा तोकिएको म्यादसम्म पानी जहाजमा नराखेमा ।
(४) यो ऐन बमोजिम गर्नु पर्ने काम कारवाई नगर्ने नाविकलाई रू. ५००।– सम्म जरिवाना हुनेछ ।
१८. मुद्दा हेर्ने : (१) यो ऐनबमोजिम दण्ड सजाय हुने कुनै कसूर सम्बन्धी मुद्दाको शुरू कारवाई र किनारा गर्ने अधिकार नेपाल पानी जहाज कार्यालयको रजिष्टारलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिम कारवाई र किनारा गर्दा रजिष्टारले प्रचलित नेपाल कानूनबमोजिम जिल्ला अदालतलाई प्राप्त सबै अधिकार प्रयोग गर्नेछ र सो अदालतको कार्यविधि अपनाउनेछ ।
(३) रजिष्टारले आवश्यक सम्झेमा आफैं वा अन्य अधिकृत खटाई नेपाल * बाहिर पनि आवश्यक जाँचबुझ गर्न सक्नेछ ।
(४) उप–दफा (१) बमोजिम रजिष्टारले गरेको निर्णय उपर चित्त नबुझ्नेले ३५ दिन भित्र जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
१९. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ र सो नियमहरू नेपाल राजपत्रमा प्रकाशित भएपछि लागू भएको मानिनेछ ।
द्रष्टव्यः केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ बमोजिम रूपान्तर भएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।