पानी जहाज दर्ता ऐन, २०२७
लालमोहर र प्रकाशन मिति २०२७।१२।३०।२
संशोधन गर्ने ऐन १. पानी जहाज दर्ता (पहिलो संशोधन) ऐन, २०२९ २०२९।६।५।५ २. न्याय प्रशासन सुधार ऐन, २०३१ २०३१।४।१८।६ ३. न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३ २०४३।७।२४ ४. न्याय प्रशासन ऐन, २०४८ २०४८।२।१६
प्रमाणीकरण र प्रकाशन मिति ५. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६◆ २०६६।१०।०७ ६. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०७२ २०७२।६।१४ ७. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३ ८. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० २०८०।१२।३०
◆ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको ।
२०२७ सालको ऐन नं. १७
नेपाली पानी जहाजको दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : नेपाली पानी जहाजको दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।
परिच्छेद – १ प्रारम्भिक
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “पानी जहाज दर्ता ऐन, २०२७” रहेकोछ ।
(२) यो ऐन नेपाल ................. भर लागू हुनेछ र जहाँसुकै रहेको भए तापनि यस ऐनबमोजिम दर्ता भएको कुनै पनि पानी जहाज र सो पानी जहाजको धनी, नाविक र कर्मचारीहरुलाई समेत लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा,–
(क) “पानी जहाज” भन्नाले लाभका उद्देश्यले नौपरिवहन गरिएको भए तापनि वा नभए तापनि नौपरिवहनको लागि सुहाउँदो जतिसुकै टनेज वा जुन सुकै वर्णनको जलयान (भेसेल) सम्झनु पर्छ र यस शब्दले पाल, बहना, वाफ वा
मोटरले चल्ने जुनसुकै श्रेणी वा आकारको कुनै पनि जलयानको पेट (हल) नौल (कील) रिगिङ र उपकरणलाई समेत जनाउँछ ।
(ख) “व्यापारिक पानी जहाज” भन्नाले समुद्रबाट मानिस वा मालसामान ढुवानी गर्ने वा माछा मार्ने, तान्ने वा समुद्रमा अरु कुनै प्रकारको नौपरिवहन कार्य सञ्चालन गर्ने काममा प्रयोग गरिएको वा गरिने १० ग्रस रजिष्टर टन वा सो भन्दा बढी पारवहन क्षमता भएको समुद्रयात्रा गर्ने पानी जहाजलाई सम्झनु पर्छ ।
(ग) “डुङ्गा” भन्नाले मानिस वा मालसामान ढुवानी गर्ने वा माछा मार्ने, तान्ने वा पानीमा अरु कुनै प्रकारको नौपरिवहन कार्य सञ्चालन गर्ने काममा प्रयोग गरिएको वा गरिने १० ग्रस रजिष्टर टनभन्दा कम पारवहन क्षमता भएको नौपरिवहन यान (नेभिगेटेड क्राफ्ट) सम्झनु पर्छ ।
(घ) “नेपाल पानी जहाज कार्यालय” भन्नाले दफा ४ को उपदफा (३) बमोजिम स्थापना भएको नेपाल पानी जहाज कार्यालयलाई सम्झनु पर्छ ।
(ङ) “रजिष्टार” भन्नाले यस ऐनको दफा ४ को उपदफा (३) बमोजिम नियुक्त भएको रजिष्टार सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेका नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
परिच्छेद – २
पानी जहाजको राष्ट्रियता
३. पानी जहाजलाई राष्ट्रियता प्राप्त हुने : दफा ४ बमोजिम दर्ता भई नेपाल "........." को व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्ने अधिकार र कर्तव्य भएको पानी जहाजलाई नेपाली राष्ट्रियता प्राप्त हुनेछ र त्यस्तो पानी जहाजलाई नेपाली पानी जहाज मानिनेछ ।
परिच्छेद – ३ सामान्य व्यवस्था
४. पानी जहाज दर्ता गर्ने : (१) देहायको कुनै व्यापारिक नेपाली जहाज यस ऐन बमोजिम नेपाल पानी जहाज कार्यालयको पानी जहाज दर्ता किताबमा दर्ता गराउनु पर्नेछ :–
(क) कम्तीमा पानी जहाजका ५१ प्रतिशत शेयर नेपाली नागरिक वा प्रचलित नेपाल कानूनबमोजिम स्थापना भएको संगठित संस्थाको भएको,
(ख) खण्ड (क) बमोजिमको संगठित संस्थाको कारोबारको मुख्य स्थान नेपाल "........." भित्र रहेको,
(ग) पानी जहाज चलाउने संगठित संस्थाको सञ्चालनको निमित्त नियुक्त भएको व्यवस्थापक र गठन भएको सञ्चालक समितिको बहुसंख्यक सदस्य नेपाली नागरिक भएको,
(घ) नेपाल पानी जहाज कार्यालयको पानी जहाज दर्ता किताबमा आफ्नो पानी जहाज दर्ता गराउन पानी जहाजका स्वामी वा सह–स्वामीहरु मञ्जुर भई दरखास्त दिएको, र
(ङ) पानी जहाजको पहिलेको विदेशी दर्ता भए सो खारेज गरिएको ।
(२) पानी जहाज दर्ता गर्ने दस्तुर र कार्यविधि तोकिएबमोजिम हुनेछ ।
(३) पानी जहाज दर्ता गर्ने कामको निमित्त नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपाल पानी जहाज कार्यालयको स्थापना र रजिष्ट्रारको नियुक्ति गर्नेछ ।
५. मास्टर (मुख्य अधिकृत) र अरु नाविक नेपाली नागरिक हुन पर्ने : (१) नेपाली पानी जहाजको मास्टर (मुख्य अधिकृत) र अरु नाविक मध्ये कम्तीमा ७५ प्रतिशत नाविक नेपाली नागरिक हुन पर्नेछ ।
तर विशेष आवश्यकता परेमा अस्थायी व्यवस्थाको रुपमा नेपाल सरकारले कुनै नेपाली पानी जहाजको मास्टर (मुख्य अधिकृत) अरु नाविक र अधिकृतहरुमा सो पानी जहाज दर्ता भएको दोस्रो वर्षदेखि प्रारम्भ समानुपातिक प्रतिशतको हिसाबले आठौ वर्षसम्म ७५ प्रतिशत पुग्ने गरी नेपाली नागरिकहरुको नियुक्ति गर्दै जाने गरी नेपाल सरकारले अनुमति दिन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिए तापनि नेपाल "........." सँग युद्धको स्थितिमा रहेको देशको नागरिकलाई नेपाली पानी जहाजको मास्टर (मुख्य अधिकृत) नाविक वा कर्मचारी नियुक्त गर्न सकिने छैन ।
(३) नेपाली पानी जहाजको मास्टर (मुख्य अधिकृत) नाविक वा कर्मचारीको नियुक्ति गर्दा नेपाली नागरिकलाई ग्राह्यता दिनु पर्नेछ ।
परिच्छेद– ४
पानी जहाजको दर्ता किताब
६. दर्ता किताब : नेपाल पानी जहाज कार्यालयमा नेपाली पानी जहाजको दर्ता किताब रहनेछ र सो दर्ता किताबलाई सार्वजनिक किताब र त्यसको उतारलाई सार्वजनिक लिखत मानिनेछ । त्यस्तो दर्ता किताब वा उतार चाहाने जोसुकै व्यक्तिले हेर्न सक्नेछ ।
७. दर्ता किताब दुई किस्मको हुने : (१) पानी जहाजको दर्ता किताब देहाय बमोजिम दुई किस्मका हुनेछन् :–
(क) व्यापारिक पानी जहाजको दर्ता किताब, र (ख) डुङ्गाको दर्ता किताब ।
(२) १० ग्रस रजिस्टर टन वा सो भन्दा बढी भारवहन क्षमता भएको व्यापारिक पानी जहाजहरु व्यापारिक पानी जहाजको दर्ता किताबमा दर्ता गरिने छन् र जुनसुकै उद्देश्यको लागि काम लगाइए (सेवा योजना गरिए) को भएपनि वा जुनसुकै जलमार्गमा नौपरिवहन गरिने भएपनि १० ग्रस रजिस्टर टन भन्दा घटी भारवहन क्षमता भएका जलयानहरु (भेसेल) डुङ्गाको दर्ता किताबमा दर्ता गरिनेछ ।
(३) दर्ता किताबहरुको ढाँचा तोकिए बमोजिम हुनेछ ।
८. डुङ्गाको दर्ता किताब : डुङ्गाको दर्ता किताब परिचयको चिन्ह वा अड्ढुलाई दर्ताको क्रमले सूचीवद्ध गरिएको नेपाली डुङ्गाहरुको एक अभिलेख हुनेछ र त्यसमा डुङ्गाको सबै आवश्यक परिचयात्मक विवरणहरु सहित त्यसको धनीको नाम, ठेगाना र कारोबारको मुख्य ठाउँ समेत अभिलिखित हुनेछ ।
९. व्यापारिक पानी जहाजको दर्ता किताब : (१) व्यापारिक पानी जहाजको दर्ता किताब देहायका लिखतहरु भएको व्यापारिक पानी जहाजको अभिलेख हुनेछ :–
(क) मुख्य किताब (मेन बूक), र
(ख) त्यसका सहायक लिखतहरु (सेट अफ सपोर्टिङ डकुमेन्ट्स) ।
(२) मुख्य किताब एउटै जिल्दभित्र राखिएका समाविष्ट भागहरु (इन्स्टेड पाट्स) को हुनेछ र प्रत्येक समाविष्ट भाग देहायका कागजातहरु भएको हुनेछ :–
(क) विवरण सम्बन्धी पाना (डिस्क्रिप्टिभ फोलियो), (ख) स्वामित्व सम्बन्धी पाना (ओनरशिप फोलियो), र (ग) भार तथा प्रतिबन्धहरु सम्बन्धी पाना (फोलियो अफ चार्जेज एण्ड रेस्ट्रिक्शन्स)।
(३) प्रत्येक व्यापारिक पानी जहाज मुख्य किताबको छुट्टै समाविष्ट भागमा दर्ता गरिनेछ र प्रत्येक समाविष्ट भागको जिल्दमा समाविष्ट भाग नं. भनै जनाई मुख्य किताबको क्रमसूचक संख्या, सम्बन्धित पानी जहाजको नाम तथा सांकेतिक (काडा) अड्ढ वा अघर वा दुवै उल्लेख गरी शीर्षक राखिनेछ ।
१०. विवरण सम्बन्धी पाना : मुख्य किताबमा समाविष्ट भागको विवरण सम्बन्धी पाना खण्डमा सम्बन्धित पानी जहाजको देहायका विवरणहरु अभिलिखित हुनेछ :–
(क) चालन शक्ति (मोटिभ पावर) (जस्तो हक पाल, वाफ, टर्बाइन, डिजेल, डिजेल–विद्युत आदि) अनुसारको पानी जहाजको किसिम, (ख) दर्ता गरिएको ठाउँ, (ग) डेक, मस्तूल (मास्ट) र फनेलको संख्या, (घ) ग्रस र नेट रजिष्टर टनेज, (ङ) पानी जहाजको प्रकार र त्यसलाई काममा लगाइने उद्देश्य,
(च) के वस्तुले बनेको हो सो कुरा (जस्तो कि काठ, कंक्रीट, फलाम, इस्पात वा मिश्रित),
(छ) मुख्य आयामहरु (प्रिन्सपल डाइमेन्शन्स) (मुख्य डेकमा स्टेर्नदेखि रटन पोष्टसम्म नाँदा हुन आउने पूरा लम्बाई, सिरीको चौडाई, पीथडेक मुख्य डेक्सम्मको उचाई),
(ज) चालन शक्तिका विवरण (इञ्जिनहरुको संख्या र प्रकार, सिलिण्डरको संख्या, हर्स पावर, ब्वायलरको संख्या र प्रकार, इञ्जिन निर्माताको नाम र बनेको साल),
(झ) पानी जहाज निर्माताको नाम, र पानी जहाज बनेको ठाउँ र पानीमा उत्रेको साल,
(ञ) ग्रिस्म भार रेखाले देखाउने भारवहन क्षमता (ड्राफ्ट अन दि समर लोड लाइन),
(ट) ग्रिस्म भार रेखा (समर लोड लाइन) मा कूल वजन क्षमता (डेड वेट क्यापासिटी),
(ठ) इञ्च र सेण्टीमिटरमा व्यक्त गरिएको समर लोड लाइनबाट फ्री बोर्ड,
(ड) बालास्टमा र पूरा भार लादिएको अवस्थामा पानी जहाजको अधिकतम गति,
(ढ) राख्न सकिने यात्रुको संख्या,
(ण) नौपरिवहनको सुरक्षाको निमित्त आवश्यक नाविक र कर्मचारीहरुको न्यूनतम संख्या,
(त) अघि कहीँ दर्ता गरिएको भए दर्ता गरिएको ठाउँ तथा अघिको राष्ट्रियता,
(थ) हालको दर्ता मिति तथा दर्ताको प्रमाणपत्र जारी गरिएको मिति, र
(द) पानी जहाजको परिचयको निमित्त आवश्यक पर्न उपलब्ध भएसम्मका अरु विवरण ।
११. स्वामित्व सम्बन्धी पाना : (१) मुख्य किताबमा समाविष्ट भागको स्वामित्व सम्बन्धी पानामा पानी जहाजका धनी वा धनीहरुको नाम र ठेगाना तथा कारोबारको मुख्य स्थान समेत जनाइनेछ ।
(२) पानी जहाजका धनीहरु दुई वा दुईभन्दा बढी भएमा प्रत्येकको हिस्सा वा लिएको शेयरको संख्या समेत स्वामित्व सम्बन्धी पानामा उल्लेख गरिनेछ र स्वामित्व सम्बन्धी पानामा पानी जहाजको धनी भनी जनाइएका व्यक्ति वा संगठित संस्था मात्र पानी जहाजको वास्तविक धनी मानिनेछ ।
१२. दायित्व (चाजा) तथा प्रतिबन्ध सम्बन्धी पाना : (१) मुख्य किताबमा समाविष्ट भागको दायित्व तथा प्रतिबन्ध सम्बन्धी पानामा सम्बन्धित पानी जहाजमा त्यसको केही भाग माथि दायित्व लगाउने बन्धकी इत्यादि को हक, ती हकहरु माथिको प्रथमिक, भाडा (किराया) का करारहरू, प्रयोग र उपभोग गर्न पाउने हक, खरिद गर्ने प्राथमिकताको हक र साथै पानी जहाजको बेचबिखन गर्नमा लागेका सबै प्रतिबन्धहरु जनाइने छन् ।
(२) प्रत्येक समाविष्ट भागमा सो भागमा जनाइएका कुराहरुको पुष्टि गर्ने सबै लिखतहरु हुनेछन् र ती लिखतहरुलाई मिलाइ राखिनेछ ।
१३. नेपाल पानी जहाज कार्यालयमा रहने अन्य किताबहरु : नेपाल पानी जहाज कार्यालयमा पानी जहाजको दर्ता किताबको अतिरिक्त देहायका किताबहरु समेत रहनेछन् :–
(क) कुनै खास पानी जहाजको दर्ताको सम्बन्धमा परेका दरखास्त, उजूरी तथा विरोधहरुलाई प्राप्त भए अनुसार सूचीमा चढाई राख्नको निमित्त मुख्य किताबसंग संलग्न एउटा पुस्तिका,
(ख) पानी जहाज दर्ता गरिएको दर्ता किताब र त्यसमा समाविष्ट भागसमेत उल्लेख गरी पानी जहाजहरुको वर्णानुक्रम अनुसार तयार गरिएको एउटा सूची, र
(ग) पानी जहाजमा हक लाग्ने व्यक्ति वा संगठित संस्थाको नाम जनाइएको दर्ता किताब र त्यसमा समाविष्ट भाग समेत उल्लेख गरी त्यस्ता व्यक्ति वा संस्थाहरुको वर्णानुक्रम अनुसार तयार गरिएको एउटा सूची ।
* परिच्छेद – ५
राष्ट्रियताको प्रमाणपत्र
१४. दर्ताको प्रमाणपत्र : (१) कुनै व्यापारिक पानी जहाज नेपाल पानी जहाज कार्यालयको दर्ता किताबमा दर्ता गरिएपछि रजिष्टारले दर्ता किताबमा जमिएको व्यहोरा समेतको दर्ता उतार तोकिएको दस्तुर लिई प्रदान गर्नेछ र यसरी प्रदान गरिएको दर्ता उतार नै पानी जहाजको राष्ट्रियताको प्रमाणपत्र हुनेछ र यसलाई दर्ताको प्रमाणपत्र मानिनेछ । यसको दर्ताको प्रमाणपत्रको ढाँचा तोकिएबमोजिमको हुनेछ ।
(२) उपदफा (१) बमोजिम प्रदान गरिएको दर्ताको प्रमाणपत्र हरबखत पानी जहाजमा राख्नु पर्नेछ ।
(३) दर्ताको प्रमाणपत्र एक सार्वजनिक लिखत मानिनेछ ।
* पहिलो संशोधनद्वारा थप ।
(४) पानी जहाजको नाम, टनेज, श्रेणी वा अन्य मुख्य मुख्य विवरणमा हेरफेर भएको खण्डमा त्यस्तो पानी जहाजलाई तोकिएको दस्तुर लिई नयाँ दर्ताको प्रमाणपत्र प्रदान गरिनेछ ।
१५. दर्ताको प्रमाण–पत्रमा थपघट गर्न नहुने : दर्ताको प्रमाणपत्रमा पानी जहाजको धनी वा मास्टर (मुख्य अधिकृत) वा अरु कसैले कुनै थप घट गर्न हुँदैन ।
१६. राष्ट्रियताको अस्थायी प्रमाण–पत्र : (१) $^०$........ नेपाली वाणिज्य दूतावास वा कूटनैमिक कार्यालयले देहायको अवस्थामा कुनै पानी जहाजलाई तोकिएको दस्तुर लिई नेपाली राष्ट्रियताको अस्थायी प्रमाणपत्र प्रदान गर्न सक्नेछ ।
(क) नेपाली पानी जहाज राख्न पाउने व्यक्तिहरुले नेपाल पानी जहाज कार्यालयको सिफारिस प्राप्त गरी कुनै विदेशी बन्दरगाहमा रहेको पानी जहाजको स्वामित्व प्राप्त गरेमा त्यस्तो स्वामित्व प्राप्त गर्ने व्यक्तिहरु वा सो मध्ये कुनैले सो पानी जहाज नेपाल पानी जहाज कार्यालयमा दर्ता गर्ने इच्छाको घोषणा गरी नेपाली राष्ट्रियताको अस्थायी प्रमाणपत्रको लागि सबैभन्दा नजिकको ........नेपाली वाणिज्य दूतावास वा कूटनैमिक कार्यालयमा दरखास्त दिएमा वा त्यस्तो घोषणा गरी दरखास्त दिन अख्तियार दिएको भनी सो पानी जहाजको मास्टर (प्रमुख अधिकृत) ले दरखास्त दिएमा ।
(ख) विदेशी बन्दरगाहमा रहेको अवस्थामा कुनै नेपाली पानी जहाजको दर्ताको प्रमाणपत्र हराएमा वा क्षतग्रस्त भएमा वा त्यस्तो प्रमाणपत्रमा उल्लिखित विवरणहरुमा कुनै परिवर्तन भएमा नेपाली राष्ट्रियताको अस्थाई प्रमाणपत्रको
$^०$ केही नेपाल कानून संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।
लागि सो पानी जहाजको मास्टर (प्रमुख अधिकृत) ले सबभन्दा नजिकको ....... नेपाली वाणिज्य दूतावास वा कूटनैतिक कार्यालयमा दरखास्त दिएमा ।
(२) राष्ट्रियताको अस्थायी प्रमाणपत्रको ढाँचा तोकिएबमोजिम हुनेछ र त्यसमा देहायको विवरण खुलाइएको हुनुपर्छ :–
(क) पानी जहाजको नाम, (ख) पानी जहाज खरिद भएको मिति र ठाउँ, (ग) पानी जहाज खरिद गर्ने व्यक्तिहरुको नाम र ठेगाना, (घ) मास्टर (मुख्य अधिकृत) को नाम, र (ङ) पानी जहाजको टनेज, बनौट र वर्णन सम्बन्धी विवरण ।
१७. राष्ट्रियताको अस्थायी प्रमाणपत्र कायम रहने अवधि : पानी जहाजको दर्ताको निमित्त कारवाई चलिरहेको अवस्थामा राष्ट्रियताको अस्थायी प्रमाणपत्र जारी गरिएको मितिले ६ महीना सम्म वा पानी जहाज भारत वा पाकिस्तानको कुनै बन्दरगाहमा आई नपुगेसम्म जुन पहिले हुन्छ सो मितिसम्म राष्ट्रियताको अस्थायी प्रमाणपत्र बमोजिम पानी जहाज चलाउन पाइनेछ र यस्तो अवस्थामा राष्ट्रियताको अस्थायी प्रमाणपत्र दर्ताको प्रमाणपत्र सरह मानिनेछ ।
तर, दफा १६ को उपदफा (१) को खण्ड (ख) बाहेक कुनै पानी जहाजले एक पटकभन्दा बढी अस्थायी प्रमाणपत्र प्राप्त गर्ने छैन ।
१८. अस्थायी प्रमाणपत्र फिर्ता गर्ने : यस ऐनको दफा १६ बमोजिम राष्ट्रियताको अस्थायी प्रमाणपत्र प्रदान गरिएको पानी जहाजलाई दर्ताको प्रमाणपत्र प्राप्त भएपछि त्यस्तो पानी
जहाजकोNationalityको अस्थायी प्रमाण–पत्र नेपाल पानी जहाज कार्यालयमा फिर्ता गर्नु पर्नेछ ।
*परिच्छेद–६
पानी जहाजको नाम र दर्ताको स्थान
१९. पानी जहाजको नाम : (१) प्रत्येक नेपाली व्यापारिक पानी जहाजको नाम हुनुपर्छ । त्यस्तो नाम रजिष्ट्रारको अनुमति बिना बदल्न पाइने छैन र दुई नेपाली पानी जहाजको एउटै नाम राख्न सकिने छैन ।
(२) रेडियो प्रसारण स्टेशन वा रेडियो टेलिफोनको व्यवस्था भएको नेपाली व्यापारिक पानी जहाजको अन्तर्राष्ट्रिय रुपमा दर्ता गरिएको संकेत (कोड) नाम पनि हुनु पर्नेछ ।
(३) प्रत्येक नेपाली व्यापारिक पानी जहाजको मोहोडाको (बो) दुबैतर्फ त्यसको नाम लेखिएको हुनु पर्नेछ र स्टर्नमा त्यसको नाम र दर्ताको स्थान लेखिएको हुनु पर्नेछ ।
२०. दर्ता स्थान : सबै नेपाली पानी जहाजको दर्ताको स्थान काठमाडौं हुनेछ ।
*परिच्छेद– ७
पानी जहाजको हस्तान्तरण
२१. पानी जहाजको हस्तान्तरण दर्ता किताबमा जमिनने : नेपाली व्यापारिक पानी जहाज वा निर्माण हुन लागेको नेपाली पानी जहाजको हस्तान्तरण तथा त्यस्तो पानी जहाजमाथि लागेको कुनै भार चार्ज पानी जहाजको दर्ता किताबमा जनाइनेछ ।
* पहिलो संशोधनद्वारा थप ।
२२. हस्तान्तरण बारे बयान दिनु पर्ने : दर्ता भएको पानी जहाज वा त्यस्तो पानी जहाजको शेयर कुनै व्यक्ति वा संगठित संस्थाको नाममा हस्तान्तरण गरिएमा, त्यसरी हस्तान्तरण गरी लिने व्यक्तिले र संगठित संस्थाले हस्तान्तरण गरी लिएकोमा त्यस्तो संस्थाको तर्फबाट अख्तियार प्राप्त व्यक्तिले नेपाली पानी जहाज राख्न पाउने योग्यता भएको प्रमाण सहित त्यस्तो हस्तान्तरणको सम्बन्धमा रजिष्ट्रारको सम्मुख बयान दिई دستखत नगरे सम्म सो व्यक्ति वा संस्था पानी जहाजको धनीमा रहने छैन ।
२३. विदेशीको नाममा हस्तान्तरण गर्न नपाउने : दफा ४ को विपरीत हुने गरी कुनै नेपाली पानी जहाजको शेयर वा आंशिक स्वामित्व कुनै विदेशी नागरिक वा विदेशी संगठित संस्थाको नाममा हस्तान्तरण गर्न वा नेपाली पानी जहाजमा यस्तो विदेशी नागरिक वा संस्थाप्रति दायित्व हुने गरी कुनै कारोबार गर्न पाउने छैन ।
२४. दर्ता बदर हुने अवस्था : (१) कुनै नेपाली पानी जहाज देहायका अवस्थामा परेमा सो पानी जहाजको दर्ता बदर हुनेछ :–
(क) समुद्री व्यापारबाट स्थायीरुपमा झिकिएमा, (ख) हराएमा, (ग) नष्ट भएमा, (घ) स्थायी रुपमा उपयोग हुन नसक्ने भएमा, र
(ङ) दफा ४ वा ५ मा उल्लिखित शर्तहरूको पालना नभएमा ।
(२) कुनै पानी जहाज उपदफा (१) बमोजिमको अवस्थामा परेपछि सो पानी जहाजको धनीले सो कुरा थाहा पाएको मितिले १५ दिनभित्र रजिष्ट्रारलाई त्यसको सूचना दिनु पर्नेछ ।
२४क. नेपाल सरकारले निरीक्षण गराउन वा विवरण माग गर्न सक्ने : (१) नेपाल सरकारले जुनसुकै बखत अधिकृतहरुको टोली खटाई यस ऐन बमोजिम दर्ता भएको नेपाली पानी जहाजको निरीक्षण तथा त्यस्तो पानी जहाज सञ्चालनको व्यवस्था गर्ने संगठित संस्थाको काम कारवाईको जाँचपडताल गर्न सक्नेछ ।
(२) यस ऐन बमोजिम पानी जहाज सञ्चालनको व्यवस्था गर्ने संगठित संस्थाको काम कारवाई सम्बन्धी आवश्यक विवरण तथा कार्य प्रगति सम्बन्धी प्रतिवेदन पेश गर्न नेपाल सरकारले घटीमा पन्ध्र दिनको म्याद तोकी आदेश दिन सक्नेछ र त्यस्तो आदेश भएमा त्यस्तो विवरण वा प्रतिवेदन पेश गर्नु सम्बन्धित संगठित संस्थाको प्रमुख व्यक्तिको कर्तव्य हुनेछ ।
२४ख. सामुद्रिक डकैती (पाइरेसी) गरेको मानिने : (१) कसैले पानी जहाजलाई कब्जामा लिई वा पानी जहाजमा रहेको कसैलाई तत्कालै ज्यान लिने वा गम्भीर चोट पुर्याउने, डर, त्रास देखाई वा जोखिमि हातहतियार प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई पानी जहाजमा रहेको व्यापारिक सामान (कागो) लुटपाट गरेमा वा त्यस्तो उद्देश्यले सो पानी जहाज वा
त्यसमा रहेको कुनै मालसामानमा क्षति पुर्याएमा सामुद्रिक डकैती (पाइरेसी) गरेको मानिनेछ।
(२) कसैले सामुद्रिक डकैती (पाइरेसी) गरेको सामान हो भन्ने जानीजानी त्यस्तो सामान खरिद गर्न, प्रयोगमा ल्याउन वा कसैलाई बिक्री, वितरण गर्नु हुँदैन।
*परिच्छेद–९
विविध
१२५. पानी जहाज विरुद्धको कसूर र सजाय : (१) देहायको कसूर गर्नेलाई देहाय बमोजिमको सजाय हुनेछः-
(क) दफा ४ को उपदफा (१) विपरीत पानी जहाज दर्ता नगरी सञ्चालनमा ल्याएमा वा झुट्टा विवरण दाखिल गरी पानी जहाज दर्ता गराएमा त्यस्तो पानी जहाजको धनीलाई दुई वर्षसम्म कैद वा एक लाख रूपैयाँसम्म जरिबाना वा दुवै सजाय,
(ख) दफा १५ विपरीत दर्ताको प्रमाणपत्रामा कुनै थपघट गरेमा त्यस्तो कार्यलाई प्रचलित कानून बमोजिम लिखत सम्बन्धी कसूर मानी सोही बमोजिमको सजाय,
(ग) दफा २४ख. को उपदफा (१) बमोजिमको कसूर गरेमा दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र बिगो बराबरको जरिबाना,
* पहिलो संशोधनद्वारा थप । † सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा संशोधित।
(घ) दफा २४ि. को उपदफा (२) बमोजिमको कसूर गरेमा पाँच वर्षदेखि सात वर्षसम्म कैद र बिगो बराबरको जरिवाना।
(२) उपदफा (१) को खण्ड (क) बमोजिमको सजाय भएकोमा त्यस्तो पानी जहाजको सञ्चालनमा रोक लगाउन वा नेपालको व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्ने अधिकार छिन्न वा केही अवधिको लागि निलम्बन गर्न सकिनेछ।
(३) उपदफा (१) को खण्ड (ग) वा (घ) बमोजिम सजाय भएकोमा कसूरको बिगो जफत गरी सम्बन्धित धनीलाई भराई दिनु पर्नेछ। कसूरदारले बिगो मासिसकेको भएमा त्यस्तो बिगोको मूल्य बराबरको रकम कसूरदारबाट सम्बन्धित धनीलाई भराई दिनु पर्नेछ।
(४) दफा १९ विपरीत पानी जहाजमा लेख्नु पर्ने नाम र दर्ताको स्थान नलेखेमा वा अनधिकृत नाम लेखेमा वा रजिष्ट्रारको अनुमति बिना पानी जहाजको नाम बदलेमा वा दफा २४क. बमोजिम नेपाल सरकारले माग गरेको विवरण तथा कार्य प्रगति सम्बन्धी प्रतिवेदन पेश नगरेमा रजिष्ट्रारले त्यस्तो पानी जहाजको धनीलाई पहिलो पटकको लागि पचास हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिपछि पटकैपिच्छे दोब्बर जरिवाना गर्न सक्नेछ।
(५) उपदफा (१) बमोजिमको कसूर हुने कार्यमा षडयन्त्र, दुरुत्साहन, मदद वा उद्योग गर्ने वा त्यस्तो कार्य गर्न सल्लाह दिई, कुनै किसिमले सहभागिता जनाई वा अन्य कुनै किसिमले सहजीकरण गर्ने वा मतियार हुने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजाय सरह सजाय हुनेछ।
२५क. नेपाल सरकार वादी हुने : यस ऐन बमोजिमको मुद्दा नेपाल सरकार वादी भई चल्नेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ।
२६. मुद्दा हेर्ने अधिकार : यस ऐन बमोजिमको मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको जिल्ला अदालतलाई हुनेछ। त्यसरी नतोकएसम्म त्यस्तो मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार काठमाडौँ जिल्ला अदालतलाई हुनेछ।
२७. करार सम्बन्धी केही व्यवस्था : यो ऐन बमोजिम दर्ता भएको वा दर्ता हुने पानी जहाज भाडामा लिने वा दिने, माल वा यात्री ढुवानी गर्ने वा कुनै नौपरिवहन काममा लगाउने सम्बन्धी गरिने करारको प्रकार यो ऐन र प्रचलित नेपाल कानूनसंग नबाझिने गरी यस ऐन अन्तर्गतको नियमद्वारा व्यवस्था भए बमोजिम हुनेछ।
२८. पानी जहाज सञ्चालन गर्ने संगठित संस्थाको योग्यता : यो ऐन बमोजिम दर्ता भएको वा दर्ता गरिने पानी जहाज सञ्चालनको व्यवसाय गर्ने कुनै संगठित संस्थामा ५१ प्रतिशत शेयर नेपाली नागरिक वा नेपाल सरकारको हुनु पर्नेछ।
२९. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ। सो नियमहरु नेपाल राजपत्रमा प्रकाशित भएपछि लागू भएको मानिनेछ।
$\rightarrow$ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप। $\dagger$ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा संशोधित।